• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कृष्ण विश्वकर्मा
२०७८ माघ १ शनिबार ०७:३३:००
साहित्य

हिउँको साम्राज्य 

२०७८ माघ १ शनिबार ०७:३३:००
कृष्ण विश्वकर्मा

हिउँ स्वयम् जान्दछ 
ऊ कति चिसो छ ! 

 

ऊ नित्य कर्म ठान्छ
– जम्नु/जमिरहनु 
–जमाउनु/जमाइरहनु 

 

गतिशीलता,
उसलाई सर्वथा अप्रिय लाग्छ ! 
प्राचीनपन्थ/यथास्थिति
उसले निर्माण गरेको 
उसको सर्वप्रिय साम्राज्य हो ! 

 

उसलाई मन पर्दैन 
हिउँबाट हिम बनेको ।

 

उसलाई झनै मन पर्दैन 
–हिमबाट हिमनदी बनेको 
–हिमनदी बनेर गतिशील यात्रा तय गरेको । 

 

बोकेर अन्तरंगमा आदिम अँध्यारो
पहिरिन्छ ऊ पर्वतमा सफेद आवरण ।

 

उसको सफेद आवरण 
मौलाएकै छ युगौँदेखि
ईश्वरहरूको खेतीजस्तै ।

 

आफ्नो सिमानामा सूर्यलाई निषेध गर्न 
ऊ जान्दछ तैनाथ राख्न हुस्सु/कुइरोहरू । 

म देख्दै छु 
भोकले सर्वाङ्ग नग्न भएकाहरू पनि 
हिउँकै भयले भएका छन् हायलकायल 
मानौँ कि हुस्सु र कुइरोभित्र हराएका कागहरू हुन् ! 

 

बढेको छ चिस्यान
–मन/मस्तिष्कहरूमा 
–चेतना/सोचहरूमा

 

हिउँको ठिही, 
व्याप्त छ कणकणमा 
भ्रामक ईश्वरजत्तिकै 
भूमण्डलीकृत पुँजीवादजत्तिकै 
मेरो झुप्रो अटेको भूगोल 
कक्रिएको छ दलाल पुँजीवादी ठिहीले 
नपाएर विद्रोही समय चेत 
बाध्य छ ओथारो बस्न सिंगो गतिशीलता 

 

अँध्यारो जतिसुकै बलवान् होस् 
जतिसुकै गाढा बनोस् 
जसरी,
टिक्न सक्दैन प्रदीप्त टुकीसँग 
उसैगरी, 
परास्त हुनेछ हिउँको साम्राज्य 
झुप्रोकै अगेनामा प्रज्वलित आगोसँग 

 

हिमठिहीलाई चुनौती दिँदै 
उसैको साम्राज्यमा सल्किसकेको छ आगो । 

 

भर्भराउँदै छ आगो 
दर्शनको ओदानमा ।

 

सिद्धान्त/ विचारधाराले 
बनाउँदै छ उत्तप्त फिलिंगोहरू  । 

 

उत्तप्त फिलिंगोहरूले 
हिउँको साम्राज्यमा खडा 
एक–एक हिमथुप्रो भत्काउनेछन् 
परास्त हुनेछन् 
हिउँका पहरेदार हुस्सु/कुइरोहरू । 

 

अन्तत : 
ढल्नेछ हिउँको साम्राज्य 
बन्नेछन् सबै सँगसँगै बहने 
एक शीतल नदीका समान बुँदहरू ।