• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
किरण दहाल
२०७८ माघ ८ शनिबार ०६:५०:००
यात्रा

संग्रौला र सवाल–१ ‘सडक मेरो संसार, सडकै मेरो सत्ता’

जब कारणवश म सडकमा गयल पर्छु, मेरो गतिमान् जीवनको मिति पुग्न पो लाग्यो कि भनी मलाई पिर लाग्छ

२०७८ माघ ८ शनिबार ०६:५०:००
किरण दहाल

 

लेखक खगेन्द्र संग्रौला र सडकको नाता गहिरो छ । अन्याय र पश्चगमनका खिलाफ हुने हरेक आन्दोलनमा उनी अग्रमोर्चामा हुन्छन् । अनगिन्ती पटक सडकबाट गिरफ्तार भएका संग्रौलाको सडकमोह ७६ वर्षको उमेरमा पनि उस्तै जवान छ । सडकमा गयल भएको दिन उनलाई आफ्नो गतिमान् जीवनको मिति पुग्न लाग्यो कि भन्ने पिर लाग्छ । सडकप्रतिको उनको निष्ठाको एउटै कारण हो– यहाँबाट सत्तालाई हाँक दिन सकिन्छ । संग्रौलाले आफ्नो समग्र लेखन र सिंगो जीवन विद्रोह र प्रतिरोधमा खन्याएका छन् । साहित्य लेखेर मात्र, अखबारमा अनुहार देखाएर मात्र उनी बागी कहलिएका होइनन् । सदाबहार बागी लेखकका रूपमा बनेको उनको प्रसिद्धिमा सडकको पनि भूमिका छ । सडक त उनको जीवनको एउटा अभिन्न पाटो भइहाल्यो । त्योसहित जीवनका अन्य आयामबारे किरण दहालले लेखक संग्रौलासँग बुँदागत संवाद गरेका छन् :


१‍‍.संग्रौला र साथी 
यही साल ७६ वर्ष लाग्नुभो । लोकले जानेका तपाईंका साथी–सर्कलमा एकजना पनि समवयी छैनन् । किन तन्नेरी साथीहरूसँग मात्रै बढी सरसंगत गर्नुहुन्छ ? 
यसमा मेरा दुइटा कुरा छन् । हो, मेरा अधिकांश समवयी साथी मसँगको जीवन्त सम्पर्क र रचनात्मक आदान–प्रदानबाट छुटे । अझ ती मेरो जीवनबाटै हराए भनूँ । कसैले जीवन बिसाए । कसैले विस्मरणमा गएर आफैँलाई धरि बिर्से । कोही ‘मैले देशलाई के मात्र दिइनँ, देशले मलाई के दियो’ भन्दै रुनमा तल्लीन भए । कोही सत्तासीन प्रभुको जी–हजुरीपथमा लागेर प्रज्ञा प्रतिष्ठान नामक अश्वशालामा सरकारी दानापानी ग्रहण गर्न गए ।

 

कोही प्रगतिशील लेखक संघलाई लाभका पदमा उक्लिने भर्‍याङ बनाएर त्यतैतिर लाम लागे । कोही ठगीकर्मबाट वर्गोन्नति भई ढोँगी उपदेशपथमा प्रवृत्त भए । कोही शोषक सत्तामा उक्लेर बिचौलियाका मित भई बिलासपथमा लिप्त भए । यसरी मेरा सबैजसो समवयी साथी गायब हुँदै गए । र, म एक्लो हुँदै गएँ, नितान्त एक्लो । यो एक्लोपनको रिक्तता, उच्चाट र उदासीबाट जोगिन म तन्नेरीहरूको संगतको शरण परेँ । अर्को कुरा, तन्नेरीहरूको न्यायप्रेम, समयबोधी चेतना, जीवन्त आवेग, आक्रामक हस्तक्षेप, प्रतिरोधकारी आँट र गतिमय जीवनले मलाई चुम्बकलेझैँ  तिनीहरूतर्फ खिच्यो । अघिल्लो कारण मेरो बाध्यता हो, पछिल्लो कारण मेरो रोजाइ हो ।

 

पत्रकार क्रान्ति पाण्डेदेखि लेखक उज्ज्वल प्रसाईंसम्म, पत्रकार बिनु सुवेदीदेखि लेखक वन्दना ढकालसम्म तपाईंका रोजाइका साथीहरू चालीस नकाटेका युवा छन् । आफ्ना उमेरका साथीहरूबाट पाइने अनुभव र परिपक्वता यी युवा साथीबाट पाउनुहुन्छ त ? 


बिरल अपवादलाई छाडेर आफ्नो उमेरका साथीहरूबाट म प्रायः समृद्ध अनुभव र परिपक्वता होइन, केवल कुण्ठाग्रस्त गनगन, रुढ विचार र आत्मकेन्द्रित जिद्दी पाउँथेँ। बरु यस्ता युवाबाट पो म रचनाशील रहन उत्साह र उमंग, जोस र आँट पाइरा’छु । 


तपाईंको मित्र–वृत्तमा चल्ने गफगाफका विषय र बान्कीबारे केही सुनाउनुस् न । 
समाजको व्यापक फलकमा को कहाँको हो त्यसअनुसार गफगाफका विषय फरक हुन्छन् । मधेसी मित्रसँग मधेसमाथिको उत्पीडन र उत्पीडित मेधसीका प्रतिरोधी आकांक्षाका कुरा हुन्छन्, जनजाति मित्रसँग जनजातिका कुरा । दलित मित्रसँग दलितकै कुरा हुन्छन्, महिला मित्रसँग महिलाकै कुरा । सुपरिचित मित्रहरूसँगको गफगाफको बान्की नितान्त अनौपचारिक हुन्छ । त्यसमा किञ्चित् हास्यरस हुन्छ, किञ्चित् व्यंग्यरस हुन्छ, किञ्चित् कटाक्षरस हुन्छ । यदाकदा त्यसमा स्वयंप्रति खिसिट्युरी पनि हुन सक्छ । तर, कम परिचित मित्रहरूसँगको गफगाफ अलि औपचारिक, अलि अह्ररो हुन्छ । केही थोरै मित्रहरू छन्, जोसँग अपेक्षाकृत बौद्धिक लवजमा संकीर्ण जातिवाद र अन्यद्वेषी राष्ट्रवाददेखि पर अन्तर्राष्ट्रवादका, विश्व मानवतावादका गफगाफ हुन्छन् । 


तपाईंको साथीहरूको सूचीमा केही वर्षयता  ‘ट्विटर’ पनि सामेल भएको छ । के देखिन्छ भने तपाईंको यो साथीले तपाईंलाई मनग्य ‘दुस्मन’ आर्जन गर्न सघाइरहेको छ । दुस्मनको कमी थियो र, तपाईंको जिन्दगीमा ? 
ट्विटर खासमा मजस्ता वृद्धोन्मुख अल्छीको अनुर्वर समय कटनी गर्ने खास्साको बसिबियाँलो हो । मैले ट्विटरलाई केवल समय बिताउने साथीका रूपमा ग्रहण गरेको छु । यसबाट मैले आर्जन गरेका जीवहरूलाई म ‘दुस्मन’ भन्दिनँ, मालिकका अरौटे कुल्ली भन्छु । राज्यसत्ता र शक्तिपीठहरूदेखि आम समाजसम्म अमानवीय दक्षिणपन्थी पश्चगमन व्याप्त छ । यी नानाओली मठहरूका मठाधीशहरूले आफ्ना कुकर्महरूको ढाकछोप गर्न कुल्ली भर्ती गरेका छन् । ती कोही अरिंगाल सेनाको औतारमा छन्, कोही साइबर सेनाको औतारमा छन् । तिनमध्ये कोही स्वेच्छाले वा लहडले वा बहकाउले निःशुल्क कुल्ली कर्ममा लाग्या होलान्, तर तिनमध्ये अधिकांश भाडाका जीव हुन् । अन्यायी मठ र भ्रष्ट मठाधीशहरूमाथि छिसिक्क टिप्पणी गर्‍यो कि टिप्पणीकर्ताहरूमाथि यी भाडाका जीवहरू सलहको बथानसरि झ्वाम्मै खनिन्छन् । यी जो ममाथि खनिन्छन्, यी होइन, यिनका मालिकहरूचाहिँ मेरा ‘दुस्मन’ हुन् ।हो, जीवनमा मलाई ‘दुस्मन’को कमी थिएन । तथापि ट्विटरमार्फत  ‘दुस्मन’ बढाएकोमा मलाई स्वयंप्रति कुनै खेद छैन । जीवनमा न्याय र अन्यायबीचको कठोर घर्षणमा एकातिर म छु, अर्कातिर यी भाडाका जीव र यिनका ख्वामित उर्फ मेरा ‘दुस्मनहरू’ छन् । म छु, त्यसैलेयी छन् । यी छन्, त्यसैले म छु । यो जीवनको द्वन्द्ववाद हो । 


पारिजातदेखि सोनाम साथीसम्म तपाईंका साथी थिए । तपाईंको जीवनलाई उनीहरूले कत्तिको प्रभावित गरे ?
ममाथि यी असल मानवको गहिरो प्रभाव छ । दार्शनिक प्रभाव, बौद्धिक प्रभाव, रचनागत प्रभाव । जीवनको दिशाबोधकारी प्रभाव । जीवनको कठिन यात्राका कष्टकर क्षणहरूमा प्रेरणा, आशा र साहस सञ्चारकारी प्रभाव । मेरो जीवनमा आएका यी नामको लाममा श्यामप्रसाद, गोविन्द भट्ट, निर्मल लामा, भवानी घिमिरे, टीआर विश्वकर्मा, रूपलाल विश्वकर्मा, केवलपुरे किसान आदिको लामै लाम थपिन्छ । र, अरू थुप्रै त्यस्ता नाम छन्, जसको नाम नलिँदा कृतघ्न भइने डर छ ।

 

२ संग्रौला र सुरा
सहरमा के हल्ला छ भने संग्रौला मदिराप्रेमी होइन कि मदिरा संग्रौलाप्रेमी भइसक्यो । पहिलोपटक कहिले उचालियो रक्सीको गिलास ?
सहरका अजासु अर्थात् अति जान्नेसुन्ने प्रतिभाहरू यथार्थलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्न कुशल छन् । यो भनाइ खासमा त्यही अतिरञ्जनाको दसी हो । अतिशय अतिरञ्जना यथार्थको विकृतीकरण हो । तथापि अतिरञ्जना सर्वथा झुट भने हुँदैन । यथार्थको मौलिक रूपबाटै त्यो विस्तारित हुने हो । यथार्थ के हो भने म मदिरापान गर्छु । मन मिल्ने मित्रहरूसँग उमेर, पाचन सामथ्र्य र खल्तीको औकात हेरी मदिरा पान गर्न मलाई मजा लाग्छ । 

अँ, पहिलोपटक गिलास होइन, डबका उचालियो, सानो डबका । म एघार वर्षको हुँदाको कुरा हो यो । पुस महिना थियो । रमिते डाँडामुनिको हाम्रो गाउँ साह्रै ओसिलो थियो । एक बिहान बाले मलाई केही काममा एक लिम्बू मितबाकहाँ जान अह्राए । जाडाले स्युस्यु काम्दै मितबाकहाँ पुगेँ म । मितबा पिँढीमा बसेर डबकामा केही घुट्क्याउँदै रहेछन् । देखेँ, मितबाका गाला राता भएका छन्, कान पनि रातै छन् । मितबाले मितआमालार्ई लिम्बू भाषामा केही भने । मितआमा सानो डबका बोकेर बाहिर निस्किन् । डबकाबाट पतपत बाफ आउँदै थियो । मितबाले भने– ‘हाव केटा, जाडो छ । कान पो तता हाव !’ के होला भनेर खुल्दुली मान्दै मैले हल्का मात्रा सुरुस्प पारेँ । तरल तत्व टर्रोटर्रो, न्यानो–न्यानो रहेछ । मेरो पालो सुरुपसुरुप पार्दै डबका रित्याएँ । पलभरमै मेरो अगाडिका सारा जिच फन्फनी घुम्न थाले । त्यसपछि मलाई के भयो, दुःखको कुरा, त्यो देखिजान्ने मितबा अहिले दृश्यलोकमा छैनन् । 

सडक आम भुइँमान्छेको खुला संसद् हो । सडक अन्यायको पोल खोल्ने र न्यायको आवाज बोल्ने डबली हो । सडक अत्याचारी शासकलाई आक्रोशको भाकामा हाकाहाकी हाँक दिने थलो हो । सडक मेरा लागि सामान्यजनसँग संगत गर्ने स्थान हो ।


तपाईंले खाएको सबैभन्दा महँगो रक्सी कुन हो ? आफैँले किनियो कि अरूले खुवायो ? 
डबल ब्ल्याक, सिभास रिगल र सिंगल माल्टमध्ये कुन महँगो हो, म जान्दिनँ । कारण यी महँगा जिनिस आफैँ किनेर खाने मेरो औकात छैन । त्यसैले यी जिनिस मैले कहिल्यै किन्या छैन । मित्र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा दसैँमा बडो प्रेमले मलाई डबल ब्ल्याक पठाइदिए । पहिलोचोटि महँगो र मिठोे मदिरापान गरेको त्यही दसैँमा हो । बस्, सद्भाव मित्र बाबुरामजीको, खास्साको स्वाद डबल ब्ल्याकको ! 


मन लागेको तर खान नपाएको कुनै रक्सी छ कि ? 
छ । आजसम्म किसुनजी ब्रान्ड खान पा’छैन । माने, माने ब्लु लेभल ।

 

तपाईंको लेखनमा मदिराको धेरथोर योगदान छ, वा थोप्पै छैन ? 
योगदान जम्मा एक थोपो छ, केवल एक थोपो । कहिल्यै कसैलाई नभनिएको यो घटना रोचक छ । कुरा म कान्तिपुरको स्तम्भकार हुँदातकको हो । भोलिपल्टको स्तम्भ लेख्न बसेँ । फिटिक्कै मेलो चलेन । मनमा विषयको मूर्त आकार बनेको छैन । तर नलेखी भा’छैन । कनेर लेख्न खोज्दा न भाषा मिल्यो, न लेखनीले लय समात्यो । मलाई छटपटी भयो । अब गर्ने के ? यसो हेरेँ, ल्यापटपको टेबुलमुनि आधा क्वाटर मदिरा रहेछ । स्वदेशी सिलप्याक । घरमा कोही थिएन । मेरो पालो पिँढीमा बसेर निलो आकाश हेर्दै मुडका छिद्रहरू खोल्न चुस्सचुस्स चुस्की लगाएँ । गजप भयो ! लेख्न बसेको त सब कुरा मिलेर गयो । भाषा मिल्यो । विचार–प्रवाह मिल्यो । तर्क मिल्यो । दृष्टान्त मिल्यो । अनुच्छेद र पूर्ण संरचना सबै मिल्यो । त्यस दिन, केवल त्यसै दिन, केवल एकै थोपो भए पनि मेरो लेखनीमा मदिराले योगदान गर्‍यो । गजप भयो ! तर त्यसपछि मैले त्यो प्रयोग कहिल्यै दोहोर्‍याइनँ । 


विश्वव्यापी रूपमा लेखक र मदिराको यस्तो अटुट साइनो किन भएको होला ?
मदिरासँग सबै पेसा–व्यवसायका मनुवाहरूको अटुट साइनो छ, लेखकको मात्र होइन । लेखक शब्दका माध्यमले नित्य प्रकृति र समाजसँग घर्षणयुक्त क्रिया–प्रतिक्रिया गरिरहने सार्वजनिक जीव हो । त्यसैले उसले मदिरापान गरेको सुनियो र देखियो । र, त्यो सार्वजनिक टिप्पणी र कटाक्षको विषय बन्यो । र, एउटा यस्तो बिम्ब रचियो, मानौँ लेखक र मदिरा एकअर्काका पर्याय हुन् । छ मदिरा, छ लेखक, छैन मदिरा, छैन लेखक भनेजस्तो गरियो । यस्तो एकाङ्गी सोच वास्तवमा मदिरापान नगर्ने उत्कृष्ट लेखकहरूमाथि घोर अन्याय हो । 
 
३‍‍. संग्रौला र सडक 
सारा संसार सत्तामा पुग्न लालायित छ । तपाईंचाहिँ सधैँ किन सडक रोजिबस्नुहुन्छ ?
सडक आम भुइँमान्छेको खुला संसद् हो । सडक अन्यायको पोल खोल्ने र न्यायको आवाज बोल्ने डबली हो । सडक अत्याचारी शासकलाई आक्रोशको भाकामा हाकाहाकी हाँक दिने थलो हो । सडक मेरा लागि सामान्यजनसँग संगत गर्ने स्थान हो, त्यसैले...। 


भन्नेहरू के भन्दा रहेछन् भने संग्रौला ‘आफू सडकमा पुगिनँ भने कुनै पनि आन्दोलन सफलै हुँदैन भन्ने ठान्छन् ।’ हो ?
भन्ने ज्ञानीहरूको गलत बुझाइ हो यो । ममा न त्यत्रो सामथ्र्य छ, न त्यस्तो अहंकार नै छ । सत्य के हो भने सडकमा पुग्नु मेरा लागि नित्य अभ्यासबाट बसेको एक किसिमको लत हो । मेरो जीवनशैलीकै एक अभिन्न अंग हो यो । जब कारणवश म सडकमा गयल पर्छु, मेरो गतिमान् जीवनको मिति पुग्न पो लाग्यो कि भनी मलाई पिर लाग्छ । 


तपाईं आजका मितिसम्म कतिचोटि सडकबाटै पक्राउ पर्नुभएको छ ? 
विद्यार्थीकालदेखि गन्दा कम्तीमा दशचोटि ।


तपाईं संलग्न भएका सडक–आन्दोलनहरूले धेरैलाई संसद्सम्म पुर्‍याए । र, तिनले फेरि जनतालाई सडकमै पुर्‍याए । यो निरन्तर शृंखला देख्दा कहिलेकाहीँ दिक्दार लाग्दो हो नि ?

सरदर जनझैँ म एक सामान्य मानिस हुँ । सुखद घटनाबाट खुसी हुने, दुःखद घटनाबाट दिक्दार हुने । हो, मलाई अवश्य दिक्दार लाग्छ । तर, जीवन उकाली र ओरालीको, क्रान्ति र प्रतिक्रान्तिको, उत्थान र पतनको, विश्वास र विश्वासघातको शृंखला हो भन्ने महसुससँगै मेरो दिक्दारी भूमिगत हुन्छ ।


सडकमा त्यस्तो के आकर्षण छ, जसले सधैँ तपाईंलाई बाँधिराखेको छ ?
सडक बागी बौद्धिकको आधा कर्मथलो हो । आधा कर्मथलो एकान्त कोठा हो, जहाँ ऊ जीवन पढ्छ, जीवनउपर घोत्लिन्छ र जीवन लेख्छ । न्यायको आवाजले अन्यायीका कान घोच्न जब लिखित शब्दको सामथ्र्य अपर्याप्त हुन्छ, तब बौद्धिक सडकमा ओर्लिन्छ । सडकमा युवा आवेग, युवा आक्रोश र युवा न्यायचेतनाका लहरहरू उठ्छन् । मेरा लागि सडकको आकर्षण न्याय चेतनाका तिनै उमंगकारी लहरहरूमा एकाकार हुनुमा छ । 

 ४.संग्रौला र स्वैरकल्पना 
मान्नुस्, तपाईं संयुक्त राष्ट्रसंघको महासचिव हुनुभयो । अमेरिकाको दादागिरी रोक्न के गर्नुहुन्छ ? 
यस्ता असम्भव प्रश्नको उत्तर असम्भवै हुन्छ । खासमा म न संयुक्त राष्ट्रसंघको महासचिव हुनु, न त्यो भएर मैले अमेरिकाको दादागिरी रोक्ने यत्न गर्नु ! मनचिन्ते कल्पनामा म संयुक्त राष्ट्रसंघको महासचिव भएँ रे लौ । अब म के गर्छु ? म राष्ट्रसंघका अमेरिकाको दादागिरी पीडित सदस्यहरूमाझ कूटनीतिक कौशलका माध्यमले सुटुक्क दरिलो ऐक्यबद्धता कायम गर्छु । र, राष्ट्रसंघको मताधिक्यद्वारा दादागिरीकारी अमेरिकालाई अन्य सदस्य राष्ट्रसरह साइजमा ल्याउन म यत्न गर्छु ।


मान्नुस्, तपाईं भारतका लागि नेपाली राजदूत हुनुभयो । भारतको हेपाहा प्रवृत्ति र व्यवहारविरुद्ध तपाईंले गर्ने पहिलो काम के हुन्छ ? 
मेरो पहिलो काम हुनेछ, कालापानीबाट भारतीय मिचाहा दादाको सैन्य शिविरलाई घर फर्काउने चेष्टा गर्नु । र, अन्तहीन भारतीय दादागिरीको असली चित्र र चरित्र विश्वसामु उजागर गर्नु । 


मान्नुस्, तपाईं लोकदोहोरी प्रतिष्ठानको अध्यक्ष हुनुभयो । अहिले बजारमा चलेका फोहोरी दोहोरीलाई नियन्त्रण गर्न तपाईं के गर्नुहुन्छ ?
हैट्, यो अर्को असम्भव प्रश्न ! मानौँ कि कुनै दुर्लभ सपनामा म लोकदोहोरी प्रतिष्ठानको अध्यक्ष भएँ । अब म गर्छु के ? मेरो विचारमा फोहोरी दोहोरीका रचनाकारहरूलाई अर्ती–उपदेश दिएर, हप्कीदप्की गरेर, गिज्याएर वा प्रशासनिक कोर्रा लगाएर सफा दोहोरीतर्फ आकृष्ट गर्न कदापि सकिँदैन । यो प्रयोजनका लागि गर्नुपर्ने वास्तवमा सघन वैचारिक कर्म हो । गर्नुपर्ने वास्तवमा निरन्तर सांस्कृतिक प्रशिक्षण हो । गर्नुपर्ने वास्तवमा फोहोरका स्रष्टाहरूको सौन्दर्य चेतनाको उत्थान हो । त्यसैले जति सक्छु, म त्यही गर्छु । 

 मेरा अधिकांश समवयी साथी मसँगको जीवन्त सम्पर्क र रचनात्मक आदान–प्रदानबाट छुटे । अझ ती मेरो जीवनबाटै हराए भनूँ । कसैले जीवन बिसाए । कसैले विस्मरणमा गएर आफैँलाई धरि बिर्से । कोही ‘मैले देशलाई के मात्र दिइनँ, देशले मलाई के दियो’ भन्दै रुनमा तल्लीन भए । कोही सत्तासीन प्रभुको जी–हजुरीपथमा लागेर प्रज्ञा प्रतिष्ठान नामक अश्वशालामा सरकारी दानापानी ग्रहण गर्न गए ।


मान्नुस्, तपाईंको कटाक्षले मर्माहत भएर प्रधानमन्त्रीले ‘यो देश तपाईं आफैँ चलाउनुस्’ भने । त्यो घडीको सामना तपाईं कसरी गर्नुहुन्छ ? 
म डटेर सामना गर्छु । म थपक्क प्रधानमन्त्रीको बागडोर सम्हाल्छु । र, सबै जीवित पूर्वप्रधानमन्त्रीको सम्पत्तिको मिहिन जाँच गराउँछु । कडिकडाउसाथ । एकदम तीव्र गतिमा । र, कमसेकम एक–दुई पूर्वप्रधानमन्त्रीलाई न्यायिक विधिले भ्रष्टाचारी साबित गरी हतकडी लगाएर म जेल चलान गर्छु । अनि म के गर्छु, अनुमान गर्न सक्नुहुन्छ ? प्रधानमन्त्रीको पद त्यागेर म टाप कस्छु । किन, थाहा छ ? किनभने मलाई केही वर्षपछि भ्रष्टाचारी साबित भएर थोडै जेल जानु छ र ?

 

मान्नुस्, केपी ओली एक साँझ तपाईंको घरमा आइपुगे र ‘ल संग्रौलाजी, आज दारु खाऔँ, काजु मैले नै ल्याएको छु, रक्सी तपाईं झिक्नुस्’ भने । तपाईंहरू खान बस्नुभो । ओलीले तपाईंलाई ‘मेरो किन यस्तरी खेदो खन्नुहुन्छ ?’ भनेर सोधे भने तपाईंको जवाफ के हुन्छ ? हेक्का रहोस्, उनी तपाईंका साँझका पाहुना हुन् ।
 

गजपको संयोग हो यो ! प्रश्नकर्ताको कल्पनामै सही– केपी ओली मेरो घरमा आइपुगे रे लौ । एक साँझ, त्यो पनि दारु खान ! ओली सरले ल्याएका काजु काँचा होलान्, पहिले म भुट्छु । मलाई थाहा छ, मेरा अतिथिलाई भुटेको काजु मनपर्छ । समस्या छ, अब दारुको दर्जाको । ओली सर परे ठूला मान्छे, धनी मान्छे ।

दारुको उनको रुचि र रोजाइ पनि ठूलै होला । मेरो औकातले नभ्याउने । कमसेकम स्कच ह्विस्की । संकोच मान्दै अतिथिछेउ म निवेदन गर्छु– ‘ओली सर, राष्ट्रवादीले राष्ट्रकै दारु सेवन गर्नु असली राष्ट्रवादी हुनु हो । पच्चीस रुपैयाँ गिलासको लोकल ठर्रा कसो होला ?’ कडा राष्ट्रवादी भइरहन ओली सर कडा राष्ट्रिय ठर्रा सेवन गर्न सहर्ष स्वीकार गर्लान् । र भन्लान्, ‘ट्राई गरी हेरूँ न त ! अब सुरु हुन्छ लोकल ठर्रा सेवन । कडा ठर्राको लयमा ओली सरको चित्त दुःखाइ प्रकट होला– ‘मेरो किन यस्तरी खेदो खन्नुहुन्छ ?’ क्या फसाद ! व्यक्तिको अनुपस्थितिमा उसका दुष्कर्महरूमाथि कटाक्ष गर्न सजिलो छ । सोझासोझी, हाक्काहाक्की । तर, ओली सर छन् मेरो नाकैसामु । बिरल अतिथिको जिज्ञासा तृप्त गर्न मैले उत्तर नदिई नहुने । तर, भाषा कसरी ट्याक्क मिलाएर उत्तर दिऊँ म ? मलाई अभिव्यक्तिको यो क्या संकट ! संकट टार्न चतुर्‍याइँसाथ म कूटनीतिक बाटो समात्छु । र, अतिथिछेउ नम्र निवेदन गर्छु– ‘ओली सर, एउटा कथामा उत्तर दिन म अनुमति पाऊँ ।’ अनुमति प्राप्त हुन्छ र म कथा भन्न थाल्छु । ‘एउटा देश थियो ओली सर, खुबै राजतन्त्रपीडित । राजतन्त्रका जरा उखेल्न पीडित जनगण सडकमा निस्क्यो । जनगणमाथि खुनी सत्ताको अश्रुग्यास र कटबाँस बर्सिंदै के थिए, सडकमा राजनीतिको एउटा खलपात्र प्रकट भयो । र, आन्दोलनकारीहरूलाई गिज्याउँदै उसले भन्यो– ‘छिःछिः ! राजतन्त्र फाल्ने कुरा गर्नु गोरुगाडामा चढेर अमेरिका जानुजस्तो हो !’ खलपात्रको यो नरेशप्रेमी वचनले खुनी सत्ता उत्साहित भयो, र जनगणमाथि गोलीको दनादन वर्षा भयो ।


अतिथिछेउ म अगाडि निवेदन गर्छु– ‘ओली सर, राजतन्त्र ढल्यो र गणतन्त्र आयो । गणतन्त्र धर्मनिरपेक्ष भयो । इतिहासको रंगमञ्चमा निज खलपात्र पुनः प्रकट भयो । र, उसले उद्घोष गर्‍यो, ‘धर्मनिरपेक्षता माने सनातन धर्मको रक्षा हो ! मधेसी माने विदेशी हो ! भौतिकवादी द्वन्द्ववाद माने ठोरीका रामको आविष्कार हो ! माक्र्सवाद–लेनिनवाद माने राम नाम सत्य हो ! जनवाद माने अधिनायकवाद हो ! राष्ट्रवाद माने हिन्दुत्वको पुनस्र्थापन हो ! यो देशको भगवान् माने म हुँ !’ यति भनेर म अतिथिसमक्ष जिज्ञासा प्रकट गर्छु– ‘ओली सर ! जो त्यस्तो खलपात्र हो, आज्ञा होस्– त्यसको चिन्तन, वचन र चरित्र तारिफ गर्न लायकको छ कि खेदो खन्न लायकको ?’ ठर्रा स्वाठ्ठ घुट्क्याउँदै मुख बिगारेर ओली सर जुरुक्क उठ्लान् । र, रौद्र मुद्रामा भन्लान्– ‘देवतातुल्य अतिथिको घोर अपमान हो यो ! यो असह्य हो ! यो अपाच्य हो ! यो निन्दनीय हो ! यो दण्डनीय हो ! आइन्दा यो अलच्छिनी घरमा यस्तो झुर दारु खान कहिल्यै आइनेछैन ।’ तत्पश्चात् अतिथि ओली ठर्रा थुक्दै मर्सिडिज कारमा अलप होलान् । म मनमनै अट्टहासको लयमा हाँस्नेछुु ।