• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
ओमप्रकाश कश्यप
२०७८ माघ ८ शनिबार ०७:०९:००
इतिहास

सिन्धुघाँटीको सभ्यता र आर्य श्रेष्ठताको ‘मिथ’

७० लाख मानिस सिन्धुघाँटीका बासिन्दा थिए । २०–२२ लाख वर्गकिलोमिटरमा फैलिएको यति ठूलो जनसंख्यालाई कहिलेकाहीँ सय, हजारको समूहमा आउने आर्यहरूले विस्थापित गर्न सक्दैनथे ।

२०७८ माघ ८ शनिबार ०७:०९:००
ओमप्रकाश कश्यप

 

क्षेत्रीयताको आधारमा भारतीय संस्कृतिलाई दुई भागमा विभाजन गर्न सकिन्छ । उत्तर भारतको संस्कृति, जसलाई आर्य संस्कृति, वैदिक संस्कृति अथवा सीधा–सीधा भाषामा ‘ब्राह्मण संस्कृति’ भनिन्छ । अर्को अनार्य संस्कृति अथवा द्रविड संस्कृति जसको जरा सिन्धु सभ्यतासम्म पुग्छ । भारतको सांस्कृतिक इतिहास यिनै संस्कृतिहरूका बीच समय–समयमा भएका संघर्ष र सम्मिलनको लिखत हो । सिन्धु सभ्यताको पतनसँगै त्यसको संस्कृति पनि विनाश भएको कुरा स्वीकार्य भइसकेको छ । अहिले जुन भारतीय संस्कृति छ त्यो मूलतः हिन्दू अर्थात् ब्राह्मण संस्कृति हो । के साँच्चिकै यस्तो हो त ? सिन्धु सभ्यताजस्तै त्यसको संस्कृति पनि के पूर्ण रूपमा मरिसकेको छ त ?


खास गरेर, भारतीय संस्कृतिको जरा खोज्ने क्रममा हामी ३५ सयदेखि चार हजार वर्षअगाडि पुग्छौँ । सुरुवात सिन्धु घाँटीको सभ्यताबाट हुन्छ । सिन्धु नदीको छेउछाउको इलाकाहरूमा इसापूर्व ३३०० देखि इशापूर्व १७५० वरिपरि एक समृद्ध नगर सभ्यता विद्यमान थियो भन्ने कुरा ज्ञात तथ्य हो । आफ्ना समकालीन सभ्यताहरूमध्ये सबैभन्दा उन्नत सिन्धु सभ्यताको विस्तार करिब नौ लाख वर्ग किलोमिटर क्षेत्रमा भएको थियो जुन आधुनिक पाकिस्तानको क्षेत्रफलभन्दा ठूलो हो ।

 

आफ्नो वैभवकालमा सिन्धु सभ्यताको सबैभन्दा विकसित सहर मोहोन्जोदारोको अनुमानित जनसंख्या ३५ हजारदेखि ४१ हजारसम्म, हरप्पाको जनसंख्या करिब २३ हजार पाँच सयदेखि ३५ हजारको बीचमा थियो । ३५ देखि ४० लाख आवादी भएका आधुनिक महानगरहरूको अगाडि यो आवादी थोरै लागे पनि सय–पचास जनसंख्या हुने उतिवेलाका गाउँहरूलाई हेर्दा ती आफ्नो समयका महानगर कहलाउनका लागि हकदार थिए । सिन्धु नदीको उब्जाउ भूमिमाथि बनेको त्यो एउटा समृद्ध सभ्यता थियो । त्यहाँबाट प्राप्त विभिन्न किसिमका आभूषण, विशाल अन्न भण्डार र व्यवस्थित नगर संरचना यसका प्रमाण हुन् । उत्खननको क्रममा हातहतियारहरू धेरै कम मात्रामा भेटिनुले सिन्धु सभ्यताका नागरिक शान्त जीवन जिउनमा विश्वास गर्थे भन्ने कुरालाई दर्साउँछ । ती मानिसहरू लडाकु थिएनन् र उनीहरूलाई बाहिरी आक्रमणको आशंका पनि कम थियो । (हिन्दु सभ्यता, राधाकुमुद मुखर्जी )


यस्तो सुसमृद्ध र फलेफुलेको सभ्यता करिब १७५० इसापूर्व प्राकृतिक कारणहरूले पतनतर्फ अगाडि बढिसकेको थियो । सिन्धुवासीहरूलाई सभ्यताको अवसानकालमा एक मानवजनित प्रकोपको सामना पनि गर्नुपरेको थियो । त्यो आर्य कविलाहरूले २००० देखि १५०० इसापूर्वमा गरेको आक्रमण थियो । (ए ब्रिफ हिस्ट्री अफ इन्डिया, ज्युडिथ इ. वाल्स) तिनै आक्रमणहरूले नै अनार्यहरूलाई उत्तर–पश्चिम दिशाबाट विस्थापनका लागि विवश पारेको मानिन्छ । अपेक्षाकृत रूपमा, आर्य उच्च सभ्यताका दाबेदार थिए भनेर इतिहासकारहरूले दाबी गर्छन् । अमरकोश’(७.३)मा त्यसलाई ‘महाकुल कुलीन आर्य सभ्य सज्जन साधवः’ महाकुल, कुलीन, आर्य, सभ्य, सज्जन, साधु बताइएको छ । यी कुराबाहेक आर्यहरू भारत आउनुभन्दा पहिलाको प्राचीन सभ्यताका बारेमा हामीलाई केही पनि थाहा छैन । यस्तो कुनै पनि प्रमाण छैन जसले त्यो समय उनीहरूको सभ्यतालाई सिन्धुघाँटीका आदिवासीहरूको सभ्यताभन्दा श्रेष्ठ दर्साउन सकोस् । तथ्यहरूलाई पर्गेल्ने हो भने अनार्यहरूको सिन्धुघाँटीबाट भएको विस्थापनको एक मात्र कारण आर्यहरूको अनपेक्षित आक्रमण थियो भन्ने तर्क पनि विश्वास लाग्दैन ।

 

इतिहासकारहरूका अनुसार आर्यहरू फरक–फरक समयमा कविलाका रूपमा भारत प्रवेश गरेका थिए । अर्कोतर्फ, अनार्य सिन्धुवासीहरू आफ्नो समयको सबैभन्दा विकसित नगर सभ्यताका निर्माताहरू थिए । उनीहरू पशुपालक अर्थव्यवस्थालाई पार गरेर उन्नत कृषि र व्यापार केन्द्रित अर्थव्यवस्था हासिल गरिसकेका थिए । उनीहरूले भविष्यका लागि अन्न सग्रह गर्न जानेका थिए । ऋग्वेदमा ‘पणि’ शब्द धेरै ठाउँमा आएको छ । ‘निरुक्त’का अनुसार पणि ‘व्यवसायी’हरू थिए । उनीहरू नै सिन्धु उपत्यकाका व्यापार प्रधान सभ्यताका निर्माता थिए । ऋग्वेदमा उनीहरूलाई आर्यहरूका विरोधीका रूपमा दर्साइएको छ । पणिहरूले ऋषिगणको धन खोसेर लैजान्थे भनेर बनाइएको छ । एक ठाउँमा सोम (ऋषि)ले लालची पणिहरूलाई नष्ट गर्न प्रार्थना गरेका छन् । (ऋग्वेद ६.५१.१४) पशुपालक अर्थव्यवस्थामा अन्तर्निहित हुने यायावर जीवनशैलीले नै आर्यहरूलाई भारतीय प्रायद्वीपसम्म तानेर ल्याएको हो ।


सबैभन्दा महत्वपूर्ण कुरा के छ भने आर्यहरूले सिन्धुघाँटीमा पाइला राख्ने वेलासम्म पनि उनीहरू लिपिसँग अपरिचित थिए । जबकि सिन्धुवासीहरूसँग ३९६ वटा अक्षरहरू भएको समृद्ध लिपि थियो । उनीहरू गणितको प्रयोग गर्ने सवालमा पनि अब्बल थिए । सिन्धुवासीहरूको साहित्यका बारेमा अहिलेसम्म केही जानकारी पाइएको छैन । आर्यहरूको पद्य रचनाहरूका बारेमा हामीलाई थाहा छ जसलाई उनीहरू कण्ठ पारेर राख्ने गर्दथे । राधाकुमुद मुखर्जीका अनुसार ‘धेरै विद्वान् के मान्छन् भने भारत वर्षमा ८०० इसापूर्व अगाडिसम्म लेखनकलाको ज्ञान थिएन । यो मत सबैलाई मान्य नभए तापनि भारतमा लिपिभन्दा पहिले साहित्यको विकास भएको थियो भन्ने कुरामा कुनै सन्देह छैन ।’ स्पेन, फ्रान्स र भारतको भीमबेटकाको गुफाहरूमा बनेका भित्तेचित्रहरूबाट के थाहा हुन्छ भने मानिसले ३० हजारदेखि ३५ हजार वर्षसम्म कहानी बनाउन सिकिसकेका थिए । सिन्धुघाँटीका आदिवासीहरूको पनि लिखित होस् वा मौखिक कुनै न कुनै साहित्य अवश्य थियो होला भनेर मान्न सकिन्छ । त्यो आफैँ मेटियो अथवा मेटाइयो भन्ने कुरा प्रमाणहरूको अभावमा केही भन्न सक्ने अवस्था छैन ।


गाईहरूले भरिएको लामो र चौडा धरती (गोमती) अर्थात् पृथ्वी वा ‘उर्वी’बाहेक नगर वा पुर तथा सयवटा खम्बा भएको (शतभुजी), ढुंगाबाट बनेको (अश्वमयी) र शरद ऋतुमा काम आउने (शारदी) गढीहरूका बारेमा ऋग्वेदमा वर्णन गरिएको छ । जसलाई बाढी आएको समयमा मानिसहरूले आत्मरक्षा गर्नका लागि प्रयोग गर्दथे । (हिन्दू सभ्यता, राधाकुमुद मुखर्जी) तथापि ती गढीहरूका निर्माता आर्यहरू नै थिए भनेर दाबीका साथ भन्न भने सकिँदैन । किनकि इसापूर्व ८०० अर्थात् लिपिको आविष्कारको आसपासमा नै वेदलाई लिपिबद्व गरिएको थियो । त्यतिवेला आर्यहरू भारत आएको सात, आठ शताब्दी भइसकेको थियो । त्यसकारण, भारत आइसकेपछि आर्यहरूले जुनजुन नयाँ ऋचाहरूको रचना गरे तिनमा सिन्धु सभ्यताका मूल नागरिकहरूले बनाएका नगरहरूको वर्णन पनि सामेल हुन सक्ने कुराको पनि पर्याप्त सम्भावना रहेको छ । ऋग्वैदिक सभ्यतालाई सिन्धु सभ्यताको ‘पूर्वगामिनी (पूर्व दिशातर्फ गएको) अथवा उत्तराधिकारिणी’ भन्नबाट राधाकुमुद मुखर्जी जोगिएका छन् ।

 

जुन ऐतिहासिक वा भौतिक परिस्थितिमा ऋग्वेदको रचना भयो त्यतिवेला आर्यइतरका मानिसहरूको संस्कृति एवं जीवनपरिस्थितिहरूसँग आर्यहरू परिचित हुनु स्वाभाविक थियो र त्यसमध्ये केहीको ऋग्वेदमा उल्लेख भएको छ । साथै, त्यो मोहोन्जोदारोबाट प्राप्त भएका सामग्रीसँग मिल्दोजुल्दो रहेको छ । यसको तात्पर्य के हो भने ऋग्वेदमा उल्लेख भएका आर्यइतरका मानिसहरू ती मानिस हुन सक्छन् जसले सिन्धु सभ्यताको निर्माण गरेका थिए । (हिन्दू सभ्यता, राधाकुमुद मुखर्जी) एक ठाउँमा उनी लेख्छन, ‘सिन्धुघाँटीमा आर्यहरूको टकराव एउटा उन्नत सभ्यतासँग भयो जुन अनेक नगरहरूमा फैलिएको थियो ।’ (हिन्दू सभ्यता, राधाकुमुद मुखर्जी) ‘शरद ऋतुमा काम आउने (शारदी) गढीहरू जसलाई बाढी आएको समयमा मानिसहरूले आत्मरक्षा गर्नका लागि प्रयोग गर्दथे ।’ यो भन्नुको आशय पनि आर्य कविलाहरू ती गढीहरूका निर्माता नभएर उपयोगकर्ता मात्र थिए भन्नु नै हो । यस्तो अवस्थामा आर्यहरूको संस्कृतिको स्तरलाई आर्यइतरका सिन्धुवासीहरूको सभ्यताभन्दा उन्नत देखाउनुको कुनै औचित्य छैन ।

इतिहासकारहरूका अनुसार आर्यहरू फरक–फरक समयमा कविलाका रूपमा भारत प्रवेश गरेका थिए । अर्कोतर्फ, अनार्य सिन्धुवासीहरू आफ्नो समयको सबैभन्दा विकसित नगर सभ्यताका निर्माता थिए । उनीहरू पशुपालक अर्थव्यवस्थालाई पार गरेर उन्नत कृषि र व्यापार केन्द्रित अर्थव्यवस्था हासिल गरिसकेका थिए ।


के आर्यहरूले सभ्यताको स्तरमा सिन्धुवासीहरूको श्रेष्ठतालाई कहिल्यै स्वीकार गरे ? अनार्यहरूका बारेमा संस्कृत साहित्यमा जुन अपमानजनक टिप्पणी गरिएको छ त्यसलाई देख्दा त कहिल्यै पनि गरेजस्तो लाग्दैन । वास्तुकलाको दृष्टिमा ऋग्वेदको भाषा ध्वंशको भाषा हो । बिस्तारै–बिस्तारै नष्ट भइरहेको उक्त सभ्यतालाई आर्यहरू भारत आइसकेपछि पनि सम्हाल्ने कोसिस गरेनन् । सायद उनीहरूका लागि त्यो सम्भव पनि थिएन । सिन्धु सभ्यताको भग्नावशेषले आर्यहरूको मानसपटलमा भौतिक सभ्यताप्रति गहिरो नैराश्यलाई जन्म दिएको थियो । यो कुरा संस्कृत साहित्यमा भौतिक जगत्प्रति देखाइएको जुन नकारको स्थायी भाव छ त्यसले दर्साउँछ । प्राकृतिक शक्तिहरूका सामु मानिसको शक्ति नगण्य छ भन्ने बोधलाई जन्माइदिएको थियो । सायद त्यसैबाट जन्मिएको डर नै पछि गएर ब्राह्मणहरूको धर्मदर्शनमा मायावाद (ब्रह्म सत्य जगत् मिथ्या मान्ने पूर्वीय दर्शनको एक सिद्धान्त) प्रबल हुनुको कारण बन्यो । डराएका आर्यहरूले वनजंगललाई आफ्नो वासस्थान बनाए । प्राकृतिक शक्तिहरूको प्रार्थनाका लागि रचिएका मन्त्रहरूलाई त्यहीँ बसेर लिपिबद्ध गरे ।


वनजंगलमा रहँदा आगो बालेर बस्यो भने सुरक्षा हुने भरोसा हुन्थ्यो । प्रकारान्तरमा त्यसैबाट यज्ञको जन्म भयो । सम्भवतः मानिसहरूलाई यज्ञको औचित्य बुझाउनका लागि प्राकृतिक स्रोतहरूको अति मानवीकरणको सुरुवात भयो । सूर्य, वरुण, चन्द्र, उषाजस्ता मानवरूपी देवताहरू निर्माण हुन थाले । इन्द्र नामक नायकको परिकल्पना गरियो । उसलाई ‘पुर’हरूलाई तोड्ने मानिस (पुरन्दर) घोषणा गरियो । 


(ऋग्वेद, १÷१०३÷३) बिस्तारै–बिस्तारै देवताहरूको कल्पनालोक खडा गरिँदै लगियो । यसप्रकारले सिन्धु सभ्यताका भग्नावशेषहरू इन्द्रलगायतका काल्पनिक देवताहरूको पराक्रम एवं सौर्य कथाहरू रचना गर्नका लागि काम आउन थाले । त्यसपछि जसरी यज्ञ संस्कृतिको विस्तार भयो, प्राकृतिक स्रोतको अति मानवीकरण र तिनको प्रशस्तिमा रचिएको मिथकीय साहित्य, आर्यहरूले आफूलाई अनार्यहरूभन्दा विकसित र सभ्य देखाउने एक मात्र माध्यम बन्यो ।कर्मकाण्ड प्रधान भएको ब्राह्मण संस्कृतिमा देखावटीपन वास्तविकताभन्दा धेरै महत्वपूर्ण थियो । सम्भवतः सिन्धु सभ्यतालाई देखेर जन्मिएको कुण्ठाले उनीहरूलाई आडम्बरको शरणमा जानका लागि उक्साइरहेको थियो । त्यसैक्रममा इन्द्रलगायतका देवताहरूको महिमामण्डन गर्नका लागि ऋग्वेदमा आर्य–अनार्य सद्भर्षका ठुल्ठूला रूपक कथाहरू रचना गरिए ।

 

युद्धभूमिमा ५० हजार ‘कृष्ण–योनी’ दासहरूको संहार गरेको कुरा एक ठाउँ  (४/१६/१३)मा उल्लेख गरिएको छ । त्यसैगरी, मन्त्र ४/३०/२१ मा ३० हजार दासहरूलाई ‘माया’ले मूर्छित गरेको उल्लेख गरिएको छ । पुराणमा जस्तै चामत्कारिक विवरणहरूको सुरुवात ऋग्वेदको समयमा नै भइसकेको थियो भनेर भन्न सकिन्छ । वर्चस्वको लडाइँ केवल आर्यहरू र अनार्यहरूको बीचमा मात्र नभई आर्यहरू स्वयंको बीचमा पनि थियो । ऋग्वेदमा वर्णन गरिएको विश्वामित्र र वशिष्ठको लडाइँको कहानीले फस्टाइसकेका दुई समानान्तर संस्कृतिहरूको अन्तद्र्वन्द्वलाई दर्साउँछ ।


ऋग्वेदमा सुदास र कविलाहरूका दास राजाहरूबीचको युद्ध तथा त्यसमा अनार्य कविलाहरूको पराजय उल्लेख गरिएको छ । अरू युद्धहरूमा इन्द्रले कृष्णासुरलाई पराजित गरेको देखाइएको छ । यसप्रकार अरू पनि धेरै युद्ध छन् जसमा इन्द्रले अनार्यहरूको बध गरेको र तिनीहरूको किल्लालाई ध्वस्त गरेको बताइएको छ । यिनै कुराका आधारमा इतिहासकारहरूले आर्यहरूको हमलाबाट पराजित भएका सिन्धु कविलाहरूको दक्षिण र उत्तर–पश्चिमतर्फ पलायन सुरु भयो भन्ने विचार बनाए । तर, रमाप्रसाद चन्द्रका अनुसार ऋग्वैदिक इतिहासको सम्बन्ध आर्यहरू तथा इन्द्रपुजक राजाहरूको घरेलु युद्धसँग थियो ।

 

उनले एक ठाउँमा के लेखेका छन् भने अनार्यहरूको एउटा जाति निषाद नै यति ठूलो संख्यामा थियो कि उक्त जातिलाई समाप्त गर्न सजिलो थिएन । निषाद जाति उत्तिकै शक्तिशाली पनि भएकाले उनीहरूलाई दास बनाउन अथवा एकैसाथ लखेट्न पनि सम्भव थिएन । त्यसकारण, उनीहरूले निषादहरूसँग सम्झौता गर्नमा नै आफ्नो भलाइ हुने ठाने । (द इन्डो–आर्यन रेसिस, रमाप्रसाद चन्द्रा) सिन्धुघाँटीका वस्तीहरूको जनसंख्याले पनि रमाप्रसाद चन्द्राको निष्कर्षलाई पुष्टि गर्दछ ।इसापूर्व २००० मा भारतीय प्रायद्वीपको कुल अनुमानित जनसंख्या ६० लाख थियो । तीमध्ये ५० लाख मानिस सिन्धु क्षेत्रका स्थानीयवासी थिए । उक्त जनसंख्या ९.४ प्रतिशत प्रतिशताब्दीका दरले वृद्धि भइरहेको थियो । 


(एटलस अफ वल्र्ड पपुलेसन हिस्ट्री, कोलिन म्याकएभ्डी र रिचर्ड जोन्स) यसप्रकार, आर्यहरूले भारतभूमिमा कदम राख्दा इसापूर्व १५०० देखि १६०० तिर यहाँको कुल अनुमानित जनसंख्या लगभग ८५ लाख थियो । तीमध्ये ७० लाख मानिसहरू सिन्धुघाँटीका बासिन्दा थिए । २०–२२ लाख वर्ग किलोमिटरमा फैलिएको यति ठूलो जनसंख्यालाई कहिलेकाहीँ सय, हजारको समूहमा आउने आर्यहरूले विस्थापित गर्न सक्दैनथे । त्यसकारण, यदि आर्यहरूलाई सिन्धु क्षेत्र खाली गराउनुपरे पनि त्यसको पछाडि आर्यहरूको हमलाभन्दा पनि केही अपरिहार्य परिस्थितिहरूको बढी योगदान थियो । सिन्धु सभ्यताका वासिन्दाहरूको मुख्य व्यवसाय खेती थियो । अनि, मौसममा आधारित खेतीको आफ्नै बिडम्बना हुन्छन् । कहिले बाढी आउँछ भने कहिले खडेरी पर्छ । सिन्धु नदी किनाराको जनसंख्या बढ्दै गर्दा बाढी आउने क्षेत्रमा खेतीपातीको अनिश्चितताले उनीहरूलाई सुरक्षित स्थानको खोजीका लागि प्रेरित गरिरहेको थियो । सुरक्षित स्थानको खोजीले नै अनार्यहरूलाई गंगा र यमुनाको मैदानसम्म पुर्‍याइदिएको थियो भनेर भन्न सकिन्छ । यो विस्थापन आर्यहरू भारत आइसकेपछि भन्दा पनि सिन्धु सभ्यताको प्रारम्भिक समयदेखि नै सुरु भएको थियो ।


हरप्पा सभ्यताका बारेमा गरिएका नयाँ पुरातात्विक  अनुसन्धानहरूले पनि यसलाई पुष्टि गरेका छन् । भारतीय पुरातत्व विभागद्वारा राखीगढीको उत्खननलाई लिएर जारी गरेको रिपोर्टका अनुसार सिन्धुघाँटी सभ्यता उत्तरमा जम्मु–कास्मिरको तराई क्षेत्रमा पर्ने मन्दा तथा माथिल्लो अफगानिस्तानको सोर्तुघाईदेखि लिएर दक्षिणमा देमावाडसम्म १६०० किलोमिटर तथा पूर्वमा आलमगिरपुरबाट लिएर पश्चिममा सुक्ताघर डोइसम्म १६०० किलोमिटरभन्दा धेरै क्षेत्रमा त्यसको विस्तार थियो । सिन्धु सभ्यताका दुई प्रमुख नगरहरू मोहोन्जोदारो र राखीगढीका बीचमा नै करिब एक हजार किलोमिटरको भन्दा धेरै दूरी छ । ( डा. अमरेन्द्रनाथ, एक्स्काभेसन एट राखीगढी) रिपोर्टका अनुसार इसापूर्व १८०० को वरिपरि त्यस क्षेत्रले भीषण खडेरीको सामना गर्नुपर्‍यो । वर्षौंँ लामो खडेरीबाट व्याकुल भएर सिन्धुवासीहरू उत्तर–पूर्वतर्फ बसाइँ सर्न थाले । त्यही कुरा नै हरप्पा सभ्यताको विनाशको कारण बनेको थियो । (डा. अमरेन्द्रनाथ, एक्स्काभेसन एट राखीगढी) आधुनिक अनुसन्धानले पनि यसलाई पुष्टि गर्छ ।


अर्को कुरा, अनार्यहरूको सिन्धु क्षेत्रबाट विस्थापन हुनुको प्रमुख कारण आर्यहरूसँगको पराजय हुन्थ्यो भने भारतीय सभ्यता र संस्कृतिमा आज जस्तो प्रभाव देखिन्छ त्यस्तो प्रभाव अवश्य छोड्न सक्दैनथे । आर्य संस्कृतिको तीन हजार वर्ष पुरानो इतिहासले पनि त्यसलाई मेटाउन सकेन । यसमध्ये केहीको चर्चा गरौँ । पहिलो हो लिंग पूजा । ऋग्वेदमा ( ७/२१/५, १०/९३/३) आर्यइतर मानिसहरूका बारेमा के भनिएको छ बने उनीहरू ‘मात्र आफ्ना नियमको पालना गर्नेहरू’ ( अन्यवृत्त) तथा ‘लिंग पूजक’ (शिश्नदेवा) थिए । सिन्धुवासीहरूको संस्कृतिमा पनि लिंग पूजाको विशेष स्थान थियो । सिन्धुघाँटीबाट विस्थापित भएका अनार्यहरू जहाँजहाँ गए त्यहाँ उनीहरूको साथमा लिंग पूजा पनि गयो । हाम्रो देशमा आज लिंग पूजा, मूर्ति पूजाको सबैभन्दा प्रचलित रूप हो । ब्राह्मणहरूले भलै ब्रह्मालाई सृष्टिको निर्माताको दर्जा दिएका हुन् तैपनि ‘महादेव’को दर्जा त अनार्य देवता ‘शिवजी’ वा ‘पशुपति’लाई नै प्राप्त छ । गाउँघरतिरका मन्दिरहरू तथा पूजा गर्ने ठाउँमा कुनै मूर्ति भए–नभए पनि शिवलिंग अवश्य देखिन्छ ।


सिन्धु सभ्यतामा मातृदेवी पूजाको संकेत पनि भेटिन्छ । केही स्त्री मूर्तिहरू भेटिएका छन् र धेरैजनाको मतअनुसार यी मूर्तिहरू महामातृदेवी (महीमाता) वा मातृस्वरूपमा बसेकी प्रकृतिका मूर्तिहरू हुन् । ऋग्वेदका आदित्यहरूकी माता अदिति यिनै हुन् । आजसम्म आर्य अथवा अनार्य दुवै प्रकारका भारतीय जनताहरू भुइँयालगायतका ग्रामदेवीहरूदेखि लिएर अम्बिका वा मातृदेवीका अनेक रूपहरूको पूजाआजा गर्दै आइरहेका छन् । (हिन्दू सभ्यता, राधाकुमुद मुखर्जी) केही वर्ष पहिलेसम्म गाउँघरतिर मन्दिर भए नभए पनि कुनै न कुनै देवीको थान अवश्य हुन्थ्यो जसलाई कतै ग्रामदेवी (गाउँ विशेषकी देवी) त कतै चामुण्डा भने कतै अरू नै नामले चिनिन्थ्यो । तथाकथित तल्ला जातिहरूले तिनै देवीहरूको पूजा गर्दथे । आज पनि गाउँहरूमा यस्ता देवीस्थान प्रशस्त मात्रामा पाइन्छन् ।


सिन्धुवासीहरूको तेस्रो र सबैभन्दा महत्वपूर्ण योगदान लिपिको क्षेत्रमा थियो । सिन्धुघाँटीमा आउनुभन्दा पहिले र आइसकेपछि इसापूर्व ८०० सम्म जेजस्तो साहित्यको रचना गरे ती सबै मौखिक थिए । इ. थोमसको विचार के थियो भने आर्यहरूले विभिन्न देशहरूको भ्रमण गर्दै कुनै लिपिको आविष्कार गरेको नभई उनीहरू जुन देशमा गएर बसे त्यहीँको लिपिलाई आफ्नो भाषा लेख्नका निम्ति प्रयोग गरे । (हिन्दू संस्कृति, राधाकुमुद मुखर्जी) सिन्धु लिपि अहिलेसम्म पढ्न नसकिए तापनि भाषाशास्त्रीहरूका अनुसार ब्राह्मी लिपिका कतिपय अक्षरहरू सिन्धु लिपिबाट नै लिइएका हुन् । जर्ज बुलरले अशोककालीन ब्राह्मी लिपि र प्राचीन सिन्धु लिपिको तुलनात्मक अध्ययन गरेका थिए । उनले एउटा सूची बनाएका थिए र त्यसअनुसार ब्राह्मी लिपिका कम्तीमा पनि छत्तीस अक्षरहरू सिन्धुघाँटीमा पाइएको लिपिबाट लिइएको थियो । (द इन्दुस स्क्रिप्ट, एस लेंगडन) यसका अलवा जन्तर, रूख र पशुहरूलाई देवता वा अर्धदेवताका रूपमा पूजा योग जुन आज पनि भारतीय संस्कृतिको अभिन्न हिस्सा हो, यी सबै कुरा सिन्धु सभ्यताका देन हुन् । यिनलाई पछि थोरै–धेरै परिवर्तनका साथ ब्राह्मण संस्कृतिले अपनायो ।


माथि उल्लिखित उदाहरणहरूबाट के प्रस्ट हुन्छ भने आज पनि उत्तरदेखि दक्षिणसम्म भारतको जनसंस्कृति सिन्धु सभ्यताको प्रभावमा छ । त्यसोभए यसमा आर्यहरूको योगदान के हो त ? यसलाई किन ब्राह्मण संस्कृति भनिन्छ ? यसको एउटै कारण छ, भारतीय समाजको जाति अर्थात् वर्णमा आधारित विभाजन । सभ्यता अथवा संस्कृतिको नाममा भएका सबै कुरालाई ब्राह्मणहरूको देन ठान्ने प्रवृत्ति । यी सब एक दिनमा भएको होइन । ब्राह्मणहरूले धर्म र अध्यात्मको नाममा संस्कृति र ज्ञानका सबै केन्द्रमाथि कब्जा जमाएका थिए । उनीहरूका विशेषाधिकारहरूको रक्षाको आश्वासन दिने देशी–विदेशी शासकहरू पनि उनीहरूकै अनुशासनमा ढालिन्थे । बाहिरबाट आएका शासकहरूलाई पनि सम्पूर्ण समाजलाई खुसी बनाउनुभन्दा मुट्ठीभरका पुरोहित वर्गलाई सन्तुष्ट बनाएर आफ्नो पक्षमा ल्याउन सजिलो थियो ।


यही कारणले गर्दा पछिल्लो साढे दुई हजार वर्षको अवधिमा राजाहरू बदलिए, राजाहरूको धर्म बदलियो, थातथलो बदलियो तैपनि सत्ताको केन्द्रमा भने ब्राह्मण नै रहिरहे । जसरी उनीहरूलाई राजाहरू र शक्तिकेन्द्रहरू फेरिँदा केही फरक पर्दैन, त्यसैगरी देवताहरू घटबढ हुँदा, नयाँ पूजा पद्धति थपिँदा अनि केही व्यक्तिहरूले त्यसलाई वहिष्कार गर्दैमा केही फरक पर्दैन । आज पनि जबसम्म आफ्नो जातिको नाममा मिलेको विशेषाधिकारहरूमाथि ठेस लाग्दैन तबसम्म उनीहरू हरेक सम्झौताका लागि तयार रहन्छन् । आफूले पाएका विशेषाधिकारहरूको बलमा उनीहरू जे बोल्छन् त्यसलाई धर्म मान्छन्, अनि जे गर्छन् त्यो संस्कृतिको हिस्सा बन्छ ।

 

(सन् १९५९ मा भारतको उत्तर प्रदेशमा जन्मिएका ओमप्रकाश कश्यप हिन्दी बाल साहित्यमा परिचित नाम हो । इतिहास, दर्शन, समालोचना आदि क्षेत्रमा पनि उनले कलम चलाएका छन् । विभिन्न विधामा गरी करिब ४० वटा किताब लेखेका उनले सन् २००२ र २०१५ मा क्रमशः हिन्दी एकेडेमी र उत्तर प्रदेश हिन्दी संस्थान सम्मान प्राप्त गरेका छन् । फर्वाड प्रेस अनलाइनमा प्रकाशित उनको यो लेख विष्णु अधिकारीले अनुवाद गरेका हुन्)