• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
हीरादेवी वाइबा
२०७८ माघ ८ शनिबार ०७:२९:००
साहित्य

मलाई चिन्यौ, म को हुँ ?

२०७८ माघ ८ शनिबार ०७:२९:००
हीरादेवी वाइबा

तिमीले हजारौँ वर्ष थुनेर
सती बनाई
चितामा जलाउँदा जलाउँदै उम्केका
बोक्सी बनाएर मलमूत्र खुवाइखुवाई
हत्या हुनबाट बाँचेका 
मेरा मामहरू,
बोजुहरू,
हजुरआमाहरूको
यो शताब्दीमा बाँकी अस्तित्वको 
जिउँदो अवशेष हुँ म
तिनीहरूकै नातिनी पुस्ता हुँ म !
मलाई चिन्यौ, म को हुँ ?

 

जंगबहादुरको मुलुकी ऐनले
मास्दै–मास्दै ल्याउँदा
जोगाइँदै–जोगाइँदै यहाँनेर आइपुगेको 
मासिन्या मतवालीको नमासिन्या बिज हुँ म
तिमीहरूले जिब्रो थुतेर आवाजविहीन,
भूमिहीन बनाएर,
दास मात्रै देखिरहेको 
पिपाहरूको हुँकार हुँ म ।

 

दासत्वको साँङ्लोले बाँधेर मलाई 
जब निस्कियौ तिमी नश्लीय अहंकारको यात्रामा,
जब निस्कियौ तिमी विशाक्त मर्दांगी प्रदर्शन गर्दै
तानाशाही जुलुसमा,
हो त्यति नै खेर,
तिमीले फुटाउन बाँकी रहेका आँखाहरूले 
मलाई उज्यालो बाटो देखाए,
थुतिन बाँकी जिब्रोहरूले 
मेरो आत्मसम्मान र स्वतन्त्रताको गीत गुन्गुनाए
पगालिएको धातुले
पिल्स्याउन बाँकी कानहरूले
आफ्नो आवाज चिनाए
अँध्यारोमा बाँच्न बाध्य
पारिएकाहरूको क्रन्दन सुनाए,
चिच्याहट बुझाए
छिनाल्न बाँकी औँलाहरूले
मेरो भूगोल देखाए
तिम्रो जन्जिरमा थुनिएर पनि
प्रतिबन्धित हुन नसकेको
विचारहरूले प्रतिरोध सिकाए ! 
यिनै यिनै संयोगले
बाँकी रहेका अस्तित्वहरू मिलेर
मलाई पूर्ण बनाए ।

 

मलाई चिन्यौ, म को हुँ?
तिमीले नबिर्सिनुपर्ने हो,
चोलो सिलाउँदै गरेका हातहरूले आफ्नो लय बिर्सिँदा
बिस्टिनीले डामिदिएको हातहरूले डोर्‍याउँदै-डोर्‍याउँदै
ल्याएको चेतना हुँ म !

 

बम्बैको कोठीमा बेचिनबाट जोगिएकी 
फुलमाया बल आंगी,
दाइजोको निहुँमा मारिने सम्भावना टारिएकी
सतीदेवी सदा,
सतित्व जोख्न आगोमा हुत्याइएका
आगोको लप्काले निल्न नसकेका 
आगै खाएर यहाँसम्म आइपुगेका 
काकी–माइजूहरूको 
आगो ओकल्ने 
भान्जी–भतिजी पुस्ता हुँ म ।
पितृसत्ताको लेन्सले 
छोरी हो भन्ने थाहा पाइसकेपछि पनि 
भ्रूण हत्या गरिनबाट बाँचेर 
जबर्जस्ती यो जीवन जित्ने
‘फेटस’ हुँ म ।

 

जाँड र पुरुष अहंताको उन्मादले मात्तिएर
छातिमा बज्रिरहने काका, बाउ, मामाहरूको
बुट–जुत्ताहरू खोस्दै
मुस्किलले एकमुट्ठी प्राण जोगाई भागेका 
जब्बर आमाहरूको, छोरी पुस्ता हुँ म ।
धार्मिक जडता 
कुसांस्कृतिक अभ्यासमा उभिएर
अति सहनशील, अति सहिष्णु 
महान् कहलिएका महिलाहरूको
अत्यन्तै उग्र,
अत्यन्तै प्रतिरोधी छोरी पुस्ता हुँ म ।

 

यौनांगमा सम्भावित मृत्यु बोकेर
संयोगले बाँचिरहेकी
यो देशद्वारा निधारमा दोस्रो दर्जाको ट्याग लगाइएकी
आफ्नो गर्विलो अस्तित्वको लडाइँमा होमिएर
हेला होचो गर्ने तिम्रो कानुनलाई औँला ठड्याइरहने
प्रतिरोधी पहिचान हुँ म !

 

चिन्यौ मलाई,
म को हुँ ?