• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपेन्द्र ढुंगाना
२०७८ माघ ८ शनिबार ०८:०४:००
सम्झना

‘जीवन सपना भइदिए हुन्थ्यो नि’

२०७८ माघ ८ शनिबार ०८:०४:००
दीपेन्द्र ढुंगाना

रातो टिसर्टमा सजिएकी नन्दा सुनारको हातमा धागो र कुरुस छ । सुर्खेत ड्याङड्याङकी उनको हातमा कुनै समय बन्दुक हुन्थ्यो । राज्य व्यवस्था परिवर्तनका लागि भन्दै बन्दुक बोकेकी सुनार आजभोलि दुई छाक जोहो गर्ने बाध्यताले पिरोलिन्छन् । नन्दा ०५७ सालमा १७ वर्षकी थिइन् । मुलुकमा माओवादी सशस्त्र संघर्ष चर्किएको थियो । यही संघर्षमा होमिइन् उनी । जनयुद्धमा होमिँदा राज्य व्यवस्था नै परिवर्तन गर्ने जोस, जाँगर थियो उनीसँग । आफू र आफूजस्ता लाखौँ देशवासीको सहज जीवनका लागि युद्धमा होमिएका सुनारको जीवन युद्धले नै असजिलो बनाइदियो ।

 

६ कक्षा पढ्दै थिइन् नन्दा, युद्धमा सामेल हुँदा । माओवादीले गर्ने हक–अधिकारका जोसिला भाषण उनलाई खुब मन पर्‍यो । त्यसपछि उनी भूमिगत भइन् । भूमिगत भएको एक वर्ष नपुग्दै उनी घाइते भइन् । युद्ध सकिएको दशकपछि राजधानीमा थाङ्का बनाइरहेकाे अवस्थामा भेटिएकी नन्दा सम्झिन्छिन्, ‘सुरुसुरुमा त कमान्डरको झोला बोक्ने, बन्दुक पुछ्ने काम गर्नुपथ्र्यो ।’ बन्दुक छुनसमेत डराउने सुनारले बन्दुक पुछ्ने अभ्यासबाटै बन्दुक चलाउन पनि सिकिन् । त्यसपछि बन्दुक चलाउन पोख्त हुनका लागि उनले दैलेखको कुनै जंगलमा तालिम नै लिइन् । ‘३२ नम्बरको प्लाटुन थियो होला,’ स्मृतिको गर्तबाट विगत कोट्याउँछिन् उनी, ‘तालिम लिएपछि त म पनि जनमुक्ति सेना भैगएँ ।’


युद्धको कम अनुभव र उमेर पनि सानै भएकाले उनी लडाइँको अग्रमोर्चामा भन्दा पछिल्लो मोर्चामा धेरै खटिइन् । अगाडि होस् वा पछाडि, युद्ध युद्ध नै थियो । दैलेखबाट उनीहरू हाई पोस्ट कब्जा गर्ने भनेर हिँडे । तर, बाटैमा रोल्पाको लिस्ने जंगलमा बास बस्ने क्रममा तत्कालीन शाही नेपाली सेनाले उनीहरूमाथि आक्रमण गर्‍यो । त्यही आक्रमणमा घाइते भइन् उनी ।


यतिखेर उनले बन्दुक चलाउन त सिकेकी थिइन् । तर, लड्न सिकेकी थिइनन् । कतिसम्म भने आफ्नो टोलीमा कतिजना छन् भन्ने पनि उनलाई थाहा थिएन । ‘मेरा लागि पहिलो र अन्तिम युद्ध नै त्यही बन्यो,’ उनले सुनाइन् । त्यहाँबाट उम्केर बाँचेकी उनी रोल्पाकै गाम आक्रमण गर्ने टोलीमा मिसिइन् । गाम आक्रमणका लागि जाँदै गर्दा राति उनी भिरबाट लडेर घाइते भइन् । भिरबाट लडेकी उनको कम्मरभन्दा तलको शरीर हलचल गर्न नमिल्ने भयो । त्यसपछि राज्यसँग संघर्ष गर्न हिँडेकी उनी आफैँसँग संघर्ष गर्नुपर्ने अवस्थामा पुगिन् । उनका सहयोद्धाहरूले उपचारका लागि भारतसम्म पनि पुर्‍याए । तर, भारतमा पनि उनी र उनका साथीलाई भारतीय प्रहरीले तीन दिन थुनामा राख्यो । त्यसपछि उनीहरू उपचार नै नगरी नेपाल फर्के ।


नेपाल फर्किंदै गर्दा उनलाई बाँकेमा पक्राउ गरियो । बाँकेको गुलरिया प्रहरी चौकीको हिरासतमा तीन महिना बिताइन् उनले । सुनारको तल्लो शरीर नचल्ने प्रमाणित भएपछि उनी हिरासतमुक्त भइन् । ‘त्यसै पनि आधा ज्यान चल्दैन थियो,’ सुनार प्रहरी हिरासतको यातना सम्झिन्छिन्, ‘त्यसमाथि पुलिसका बुट बर्सिन्थे ।’ हिरासतमा प्रहरीले नियमित औषधीसमेत खान दिँदैनथे । पीडाका यी दिन उनलाई सम्झन पनि मन छैन । ‘हाम्रो शरीर भनेको त त्यहाँका पुलिस, आर्मीको बुट बजार्ने मैदानजस्तो भएको थियो,’ उनी भन्छिन् । समयमै उपचार पाएको भए ! घाइते ज्यानमाथि सुरक्षाकर्मीका लाठी र बुट नबर्सिएको भए, सुनारको जीवन ह्विल चेयरमा सीमित हुँदैन थियो होला । 


‘ममी तपाईं पनि हामीजस्तै गरी हिँड्नुस् न,’ सुनारको चारवर्षे छोरा किरण आमाको हात समाउँदै भन्छन्, ‘यी यसरी खुट्टा टेक्नु त ।’ स्कुल जाने समयमा हरेक दिन सुनारको छोरा जिद्दी गर्छन् । छोराको आग्रह पूरा गर्न सक्दिनन् उनी । ‘ठुलो भएपछि कुरा बुझ्छ होला,’ सुनार चित्त बुझाउँछिन् । आफ्नो वैवाहिक जीवनका बारेमा धेरै खुल्न चाहिनन् सुनार । होमनाथ राईसँग प्रेम विवाह गरेको मात्र सुनाइन् उनले । जीवनको मध्यान्तरमा आइपुगेर गलैँचा उद्योगमा काम गरिरहेकी सुनार वेला–वेला विगतमा फर्किन्छिन् ।

 

आफू घाइते हुँदा भात खुवाउने, उपचारका लागि भारत पुर्‍याउने कमरेडहरू सहिद भएको कुरा उनलाई अहिले पनि विश्वास लाग्दैन । ‘मलाई भारतमा उपचार गर्न लैजाने दाइलाई नेपाल फर्किंदा मारे,’ सुनार सुनाउँछिन्, ‘मर्ने त सहिद भए, तर हामी आधा ज्यान लिएर बस्नेहरूलाई पो गाह्रो भयो ।’१७ वर्षे जोवनमा माओवादी संघर्षमा सामेल भएकी उनी १८ वर्ष पुगेसँगै आधा शरीर लिएर घर फिरिन् । खान, बस्न, उठ्न, शौचालय जान उनलाई अरूको सहारा चाहिने भयो । अनि गाउँलेले पनि त खिसिट्युरी गर्न सुरु गरे । यी सबै लाञ्छना सहेर उनी चार वर्ष गाउँमै बसिन् । ०६२/०६३ को जनआन्दोलनपछि उनी जनमुक्ति सेना राखिएको क्यान्टोनमेन्टमा आइन् । २०६८ मा माओवादी सेना समायोजन भएसँगै उनी फेरि घर फिरिन् ।

सत्रवर्षे जोवनमा माओवादी संघर्षमा सामेल भएकी उनी १८ वर्ष पुगेसँगै आधा शरीर लिएर घर फिरिन् । खान, बस्न, उठ्न, शौचालय जान उनलाई अरूको सहारा चाहिने भयो । अनि गाउँलेले पनि त खिसिट्युरी गर्न सुरु गरे । यी सबै लाञ्छना सहेर उनी चार वर्ष गाउँमै बसिन् ।
 


क्यान्टोनमेन्टमा रहँदासम्म उनलाई सजिलो थियो । उपचार पनि सहज थियो । साथ, सहयोगका लागि कमरेडहरू थिए । ‘हाम्रो उपचारको जिम्मा कसको हो ?,’ सुनार प्रश्न गर्छिन्, ‘समायोजनका क्रममा मिलेको पाँच लाख पनि उपचारमै सकियो ।’सुनारजस्ता धेरैका लागि आज मूल पार्टी माओवादी सग्लो छैन । सरकार त उनीहरूका लागि निकै दूर छ । ज्यानको आहुति चढाउन हिँडेका सुनारजस्ता धेरैले आज आफूलाई एक्लो र असहाय महसुस गर्छन् ।


‘हामी त परिवर्तनका लागि लडेका थियौँ,’ सुनार गुनासो गर्छिन्, ‘राजा जोगाउन लडेका थिएनौँ, अनि हामीलाई किन पाखा लगाइयो ?’माओवादी र त्यसका नेताहरू बारम्बार सत्तामा पुगे पनि घाइते, अपांगहरूको सही व्यवस्थापन गर्न नसकेकोमा उनको गुनासो छ । ‘अहिलेको दुःख सम्झिँदा किन म युद्धमा गएछु जस्तो लाग्छ,’ सुनार पछुतो मान्छिन्, ‘हाम्रै रगत, पसिनाले आर्जेको संविधान र लोकतन्त्र दिवसमा समेत हामीलाई सम्झिँदैनन् ।’सत्ता परिवर्तनका लागि बन्दुक उठाएकी सुनारसँग वर्तमान सत्ताका लागि प्रश्न र गुनासाको चाङ छ । ‘हामीजस्तै उत्पीडनमा परेका गरिब, निमुखा, दलित, सीमान्तकृतहरूले नै लडेर अहिले नेताहरूलाई यहाँ पुर्‍याएका हौँ । सत्तामा पुग्नेबित्तिकै हामीलाई बिर्सिए ।’


सुनार जनयुद्धकै उपलब्धि ठान्छिन् आजको गणतन्त्र, संघीयता र नयाँ संविधान । तर, संविधान, गणतन्त्र र संघीयताको चहकिलो प्रकाशमा सुनारजस्ताको अनुहार भने देखिँदैन । सत्ताको चास्नीमा रमाएका नेताहरू देख्दा उनलाई फेरि बन्दुक उठाऊँ जस्तो झोँक चल्छ । तर, यथार्थमा उनले ह्विल चेयरमा बस्न पाएको पनि धेरै भएको छैन । कहीअगाडिसम्म उनीसँग ह्विल चेयरसमेत थिएन । जनयुद्धका घाइतेहरूको पहिलो राष्ट्रिय सम्मेलनमा काठमाडौँ आउँदा उनले पहिलोपटक ह्विल चेयर देखेकी हुन् । पछाडि पानीको बोतल राख्न मिल्ने आफैँ पनि गुडाउन मिल्ने ह्विल चेयर देखेपछि उनलाई आफूले पनि त्यो पाउन पाए हुन्थ्यो जस्तो लागेको थियो । 


‘त्यतिखेर त त्यसमा बस्न पाए आफूले गर्दा अरूलाई भएको दुःख अलिकता भए पनि कम हुन्थ्यो जस्तो लागेको थियो,’ उनले सम्झिइन् । अनि उनले हारगुहार गरेर ह्विल चेयर जुटाइन् । अहिले उनी त्यही ह्विल चेयरमा बसेर गलैँचा बुन्छिन् । उपचारका लागि जोरपाटीस्थित अर्थोपेडिक अस्पताल आउजाउ गर्छिन् । अस्पतालको पुनस्र्थापना केन्द्रमा बसेपछि उनलाई आफ्नो अपांगताप्रतिको वितृष्णा केही कम भयो ।


बुर्जुवा शिक्षा भन्दै ६ कक्षा पढ्दापढ्दै पढाइ त्यागेकी सुनारले ०७१ सालमा दश जोड दुई उत्तीर्ण गरिन् । पढाइकै क्रममा विवाह गरेकी सुनार र उनका श्रीमान् मिलेर अहिले थाङ्का बुन्ने काम गर्छन् । त्यही कामबाट भएको आम्दानीले आफ्नो गुजारा चलाउँछन् । छोरा पढाउँछन् । औषधी उपचारको जोहो पनि गर्छन् ।उनका श्रीमान् पूर्वक्रिकेटर पनि हुन् । ह्विल चेयर दौडमा सहभागी हुन्छिन् सुनार । बास्केटबल पनि खेल्छिन् । यसरी विभिन्न प्रतियोगिताबाट पनि थोरबहुत पैसा जोहो गर्छिन् । ‘तर, नियमित आउने बाटो नहुँदा गाह्रो हुँदो रहेछ,’ सुनार सुनाउँछिन् ।


त्यसो त सरकारले पनि उनलाई मासिक ६ हजार रुपैयाँ भत्ता दिन्छ । तर, त्यो पैसा लिन जानै सकस छ । ‘सरकारले दिने पैसा त लुगा धुन, अस्पताल जाने खर्च पनि पुग्दैन,’ सुनारले सुनाइन्, ‘सबैतिर सहयोगी चाहिन्छ, सार्वजनिक बसले अपांग देखेपछि बोक्न मान्दैन, ट्याक्सी चढ्नुपर्छ ।’ यस्ता समस्या त कति छन्, कति ? सहरमा अपांगमैत्री शौचालय नै छैनन्, डाइपर लगाउनुपर्छ । डाइपरमै दिसा–पिसाब गर्नुपर्दा बारम्बार पिसाब हुने संक्रमणको जाँच गराउनुपर्छ । व्यवस्था परिवर्तन गर्न हिँडेकी सुनारको जीवनकै लय परिवर्तन भयो । सुनारको जीवनको व्यवस्था झन् बिग्रियो । ‘कहिलेकाहीँ त लाग्यो, यो जीवन सपना भइदिएहुन्थ्यो नि,’ सुनार कल्पना गर्छिन्, ‘तर, अब सोचेर के नै हुन्छ र ! यथार्थ यही हो ।’