
धेरैको भनाइमा नेपाली साहित्यकारहरूमध्ये जति बुझ्यो उति बुझ्न कठिन पात्र हुन्, सिद्धहस्त निबन्धकार शंकर लामिछाने । उनले कथा, कविता र उपन्यास पनि लेखे, कुशल अन्तर्वार्ताकारका रूपमा अन्तर्वार्ताको शैली नै परिवर्तन गरिदिए, तर सबैभन्दा बढी ओजस्वी निबन्धकारको रूपमा नै ख्याति कमाए । अन्तर्राष्ट्रिय साहित्य चोरीको आरोप खेपेका र त्यसलाई सामना गर्दै अन्ततः साहित्यबाटै सन्न्यास लिएका दुर्लभ नेपाली साहित्यकार लामिछाने नै हुन् । यति हुँदाहुँदै उनी ‘प्रयोगवादी’ भनिने साहित्यकारहरूमाझ सबैभन्दा अब्बल कोटिका हुन् । समालोचकहरूले स्वीकार गरेका छन्, ‘नेपाली निबन्धमा प्रयोगशीलताका पर्याय भनेकै लामिछाने हुन् ।’
विश्वविद्यालयको उपल्लो उपाधि हासिल नगरे पनि जस्तोसुकै बौद्धिक भनिनेको माथमथिंगल हल्लाइदिन सक्ने ल्याकत लामिछानेमा थियो । कलाकार लैनसिंह बाङ्देलको प्रेरणामा उनले लेखेको र निबन्ध विधामा पहिलोपटक प्रतिष्ठित मदन पुरस्कार प्राप्त कृति ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ले आज पनि धेरैको दिमाग घुमाएकै छ । पारिजातको ‘शिरीषको फूल’का लागि उनले लेखेको भूमिका समग्र कृतिभन्दा पनि ओजनदार भएको समालोचकहरू बताउँछन् । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सक्ने विशेष क्षमता भएका लामिछानेको मदिराप्रति अत्यधिक मोह थियो ।
मदिरामोहबारे उनी स्वयं शंकर लामिछानेका दृष्टिमा (२०३२)मा लेख्छन्, ‘म पूर्ण रूपेण रक्स्याहा भएँ । अंग्रेजीमा त्यस अवस्थालाई अल्कोहलिक भनिन्छ । अलिकति नखाईकन हातखुट्टा स्थिर नहुने, मगजले काम नगर्ने । खाएपछि आत्महीनता कम हुँदै जाने, आफू सक्षम छु, अझै केही बिग्रेको छैन, अझै परिस्थितिसँग जुध्न लायक छु भन्ने बोध हुने । नखाँदा मेरा आफन्तहरूले धोका दिए भन्ने मात्र भावना आउने, खाएपछि म तिनलाई फेरि वशीभूत गर्न सक्छु, तिनलाई फेरि मेरो अगाडि निहुराउन सक्छु वा पूर्ण रूपले बहिष्कार गर्न, तीविना पनि मेरो जीवन अपरिपूर्ण रहँदैन भन्ने भावना ।’ यसबीच उनको व्यक्तिगत जीवनमा पनि उतारचढाव आइरह्यो । मेनिन्जाइटिस (मस्तिष्कघात)का कारण उनले ४८ वर्षको अल्पायुमै २०३२ साल माघ १० गते मृत्युवरण गरे ।
वि.सं. १९८४ चैत्र ५ गते राजधानीमा जन्मिएका लामिछानेको बाल्यकाल बनारसस्थित मामाघरमै बित्यो । डेढ वर्षकै उमेरमा बनारस पुगेका लामिछाने ११ वर्षको प्रवास बसाइपछि पुनः राजधानी आए । २००६ सालमा पिता हरिहरप्रसादको निधनपछि उनका कठिन दिन सुरु भए । त्रिचन्द्र क्याम्पसमा उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट बालकृष्ण समको शिष्य हुने सौभाग्य पाए । देवकोटा र समका अतिरिक्त गोपालप्रसाद रिमालबाट पनि अत्यन्त प्रभावित उनका रचना प्रगति, इन्द्रेणीलगायतका साहित्यिक पत्रपत्रिकामा प्रकाशित भएपछि युवा साहित्यकारका रूपमा उनको नाम पनि दर्ज भयो ।
उनको औपचारिक शिक्षा भने प्रवीणता प्रमाणपत्र तहमै सीमित रह्यो । प्रेम र यौनका विषयमा विना कुनै आडम्बर आफ्नो भनाइ राख्न खप्पिस लामिछानेको साहित्यिक जीवन प्रेमपत्रको लेखनीबाट सुरु भयो । उनले सगर्व भनेका छन्, ‘साहित्यिक जीवको सुरुवातमा मैले प्रेमपत्र आफ्नो निमित्त लेखेँ र अर्काका निमित्त पनि ।’ साहित्य सिर्जनाबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रममा पनि उनी मिहीन रुचि राख्थे । गोरखापत्रदेखि टाइम्स र न्युज विक्लीका नियमित पाठक थिए । सायद, त्यसैले होला उनका रचनाहरूमा अन्तर्राष्ट्रिय पात्र र परिवेशको गतिलै चर्चा पाइन्छ ।
लामिछानेको रचनामा नेपाली माटोको गन्ध आउँदैन भन्नेहरूलाई उनले ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’को भूमिका लेखनबाटै कडा दनक दिएका छन् । भूमिकामा उनी लेख्छन्, ‘हुन सक्ला, कुनै–कुनै लेखमा म विदेशी झल्किउँला, तर मेरा सभ्य समालोचकले मलाई प्रवासी ठाने हुन्छ, जो विदेशमा पनि नेपाली संस्कृतिको झन्डा बोकेर हिँडेको छ, लुगा उसले सुट नै लाएको किन नहोस्’ युरोपमा चित्रकला र मूर्तिकलाको क्षेत्रमा त्यतिवेला चलेको आधुनिक लहरका बारेमा पनि उनी जानकार थिए । तुलसीनाथ ढुंगेल, भीमदर्शन रोका, भूपी शेरचन, उत्तम नेपाली, भैरवबहादुर थापालगायतको मित्रमण्डलीसँग बसेर टुँडिखेलमा लामिछाने साहित्यसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उतारचढावबारे गतिलै प्रवचन दिन्थे । विशेष गरी, अंग्रेजी भाषामा उनको दखलबाट प्रभावित हुनेको संख्या अधिक थियो । नृत्यशास्त्री भैरवबहादुर थापा स्मरण गर्छन्, ‘शंकर लामिछाने, मदनमणि दीक्षितसहितको विद्वान्हरूको जमघट प्राज्ञहरूको सभालाई चुनौती दिने किसिमकै हुन्थ्यो जसलाई लामिछानेले ‘क्वाँच मण्डली’ नामाकरण गरेका थिए ।
सुरपानसहित क्वाँच मण्डलीमा कला, साहित्य, धर्म, संस्कृति, शास्त्रलगायत अन्य मूर्त–अमूर्त विषयमा पनि घन्टौँ भलाकुसारी हुन्थ्यो । ब्राह्मण समुदायमा जन्मे पनि लामिछानेले पुरातनवादी त्यस समयमा दार्जिलिङकी रत्ना राईलाई अर्धांगिनीका रूपमा भित्र्याएर क्रान्तिकारी छवि देखाएका थिए । जीवनको उत्तरार्ध भने उनले दोस्रो पत्नी (सुवर्ण) सँग बिताए । बगैँचाको स्याहारसुसारसहित कुकुर, बिरालोजस्ता घरपालुवा जनावरप्रति उनको अचम्मको मोह थियो । समाजसेवामा पनि उनी सक्रिय थिए । २०२५ सालमा पूर्वी नेपालमा बाढी–पहिरोका कारण पीडितहरूको सहयोगार्थ उनकै अध्यक्षतामा ‘स्वदेश प्रवास बाढी–पहिरो सहायता समिति’ गठन गरी सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । ‘हाम्रो बिहेवारी’ शीर्षकको कार्यक्रममा लामिछाने नै उद्घोषकको भूमिकामा देखिए ।
कम कृतिहरू लेखेर पनि सधैँ चर्चाको शिखरमा रहने साहित्यकारको नाममा लामिछानेको नाम पनि अग्रपंक्तिमा आउँछ । उनको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’बाहेक ‘गोधूलि संसार’, ‘गौँथलीको गुँड’ र ‘बिम्ब प्रतिबिम्ब’ मात्र पुस्तकारमा छन् । उनका फुटकर निबन्धहरू संग्रह गरी साहित्यिक अन्वेषक शिव रेग्मीको सम्पादनमा ‘शंकर लामिछानेका निबन्ध’ कृति पनि बजारमा आएको छ । उनले २०२२ सालमा लेखेको ‘नजन्मेको छोरालाई’ शीर्षकको कविता पनि निकै चर्चित छ । मित्र उत्तम कुँवरसँगको कुराकानीमा लामिछानेले विभिन्न समस्यापूर्तिका निमित्त लेखिएका विभिन्न रचनामा आफूलाई मन पर्ने ६—७ वटा रचनाको नाम लिएका छन् । जसअनुसार उनका प्रिय रचनाहरूमध्ये ‘वैज्ञानिक कथामा माया नम्बर ६५३, भविष्य व्याकरण अँगाली लेखेकोमा ‘म भोलि जन्मनेछ’, निबन्धमा ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ कथामा ‘अर्धमुद्रित नयन र डुब्न लागेका घाम’ जीवनांकित रेखामा ‘शंकर लामिछाने÷शंकर लामिछानेको दृष्टिमा’ कवितामा ‘नजन्मेको छोरालाई’ र भूमिकामा पारिजातको ‘शिरीषको फूल’ छन् । आफ्नाबाहेक अन्यको हकमा उनले लक्ष्मीप्रसाद देवकोटाका कविताहरू, अम्बर गुरुङका गीतहरू, भूपी शेरचनका व्यंग्यहरू, गोविन्दबहादुर मल्ल गोठालेका कथाहरू, विजय मल्लका एक–दुई नाटक र गोपालप्रसाद रिमालका गद्यहरूलाई उत्कृष्ट भनेका छन् । विदेशी साहित्यकारहरूमध्ये उनी विलियम सारोयान, हेनरी मिलर, टेनेसी विलियम, लरेन्स डुरेल स्लाजिन्जरबाट बढी प्रभावित थिए ।
लामिछाने नेपाली साहित्यका एक त्यस्ता विशेष पात्र पनि हुन् जसले अग्रिम पारिश्रमिकविना कुनै पनि साहित्यिक पत्रिकाका लागि लेख लेखेनन् । लामिछानेको लेख छापिएपछि पत्र–पत्रिकाको बिक्री नै बढ्ने गरेको रूपरेखाका सम्पादक÷प्रकाशकसमेत रहेका लामिछानेका घनिष्ठ मित्र उत्तम कुँवरले लेखेका छन् । अभिव्यक्तिका प्रधानसम्पादक नगेन्द्रराज शर्माका अनुसार लामिछानेले आफ्ना लेखको मूल्य पहिला नै तय गरिसकेका हुन्थे । लेख–रचना लिन लामिछानेको निवास पुगेका शर्मा स्मरण गर्छन्,‘लामिछानेले आफ्नो लेख–रचनाको मूल्य दुई सयदेखि पच्चीस रुपैयाँसम्म निर्धारण गरेका हुन्थे, हामी निजीस्तरबाट सञ्चालित साहित्यिक पत्रिकाका लागि उनले सरकारी रेटभन्दा केही कम तोकेका थिए ।
गोरखापत्रले समेत लेख–रचना जहिले बुझाए पनि हुने गरी उनलाई अग्रिम भुक्तान गथ्र्यो । विशेष गरी, गोरखापत्रका लेख–रचना सम्पादक नारायणबहादुर सिंह नै लामिछानेको लेख रचनाका लागि मरिहत्ते गर्थे । क्वाँच मण्डलीमा लामिछानेले ‘क्वाँच’ शीर्षककै निबन्ध वाचन गरेपछि मन्दमुक्त भई साहित्यकार/पत्रकार मदनमणि दीक्षितले तत्काल चलनचल्तीको रकम भुक्तान गर्दै चीलझैँ लामिछानेको हातबाट निबन्ध खोसेर आफ्नो कोटको खल्तीमा घुसारेको नृत्यशास्त्री थापा बताउँछन् । २०२३ जेठ २९ को ‘समीक्षा’मा छापिएपछि अत्यन्त चर्चित भएको ‘क्वाँच’ निबन्धको अंग्रेजीमा पनि उल्था गरियो । क्वाँचको अंग्रेजी अनुवाद एक रूसी पत्रकारले पढेपछि त्यसबाट प्रभावित भएर उनले लामिछानेको व्यापक खोजी गरेको र संयोगवश ती पत्रकारलाई समीक्षाका सम्पादक मदनमणि दीक्षित स्वयंले रुसको राजधानी मस्कोमा भेटेको रोचक प्रसंग थापाले आफ्नो कृति ‘समर्पण’मा उल्लेख गरेका छन् । क्वाँचको अर्थ नेपाली शब्दकोषमा भेटिन्न । तर, लामिछानेको मनोविज्ञानअनुसार ‘कुनै पनि अनौठो आकर्षण भएका स्वाद, सुगन्ध, सौन्दर्य र नयाँ विचार आदि पक्षमा अभिव्यक्त गरिने गुणगान वाचक शब्द नै ‘क्वाँच’ हो’ भन्छन्, उनीसँग लामो सङ्गत गरेको नृत्यशास्त्री थापा ।
प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईका अनुसार लामिछाने तर्कशील, चिन्तनशील र बृहत् अध्ययन भएको पाश्चात्य चेतना र शैलीलाई नेपालीमा प्रयोग गर्ने प्रथम व्यक्ति हुन् । त्यसैले भट्टराई लामिछानेलाई समकालीन विश्वचेतनाका अग्रदूत भन्न रुचाउँछन् । ‘सुलेख’ साहित्यिक मासिकमा भट्टराई लेख्छन्, ‘लामिछानेले नै बेलायती साहित्यमा भर्जिनिया उल्फद्वारा स्थापित स्ट्रिम अफ कन्सस्नेस (चेतना प्रवाह शैली)को नेपालीमा प्रथम प्रयोग गरे । लामिछानेकोे विलक्षण चेतना र सोहीअनुसारको प्राप्तिले उनीमाथि कति आरोप (विदेशी साहित्य चोरेको) पनि लागे जसले उनलाई ज्यादा निराश बनायो । भट्टराई अगाडि लेख्छन्,‘लामिछाने एउटा सामान्य विषयवस्तुलाई टिपेर अभिव्यक्तिको कलात्मकतासँगै चिन्तनको दार्शनिक तह छुन्छन् । पाश्चात्य दर्शन, चिन्तन साहित्य सिद्धान्तलाई ग्रहण गर्ने अग्रणी नेपालीमध्ये उनी एक हुन् । उनले त्यसलाई पचाएर, आत्मसात् गरेर, पूर्वीयसँग जोडेर बौद्धिक सारमा प्रस्तुत गर्दछन्, सामान्य घटनामा जीवनका रहस्यको उद्घाटन गर्दछन् । भट्टराईका अनुसार लामिछाने एउटा व्यापक वैश्विक चेतनाले सञ्चालित स्थानीयताबाट उठेर समकालीन विश्व लेखनस्तरमा पुगी त्यसबाट प्रभावित स्रष्टा थिए । तर, यसैलाई बुज्रुकहरूले ‘चोरी’को रूपमा बुझे ।’
नेपाली रम्य रचनाका विराट प्रतिभा भैरव अर्यालले आफ्नो कृति दश अवतारमा लामिछानेको लेखनशैली र व्यक्तिगत आनीबानीबारे दिल खोलेर लेखेका छन् । ‘शंकर दाइ र फ्रैंक क्यापरा’ शीर्षकको आलेखमा अर्याल लेख्छन्,‘नेपाली लेखकमा थौरै मात्र पाइने अध्ययनशील र कला, विज्ञान, दुवैतिरका समसामयिक अनुसन्धान प्रयोगहरूतिर सजग भई आज र भोलिका मानवचिन्तन र मानवचरित्रलाई साहित्यकांकन गर्ने गुन शंकर दाइमा पाइन्छ ।’ अर्यालका अनुसार लामिछानेका लेखमा बान्कीमा मात्र होइन, विचारमा पनि नयाँ–नयाँ कोण उघारिएको हुन्छ । त्यसैले उहाँको जीवनदर्शन वा कथादर्शन एउटै ठम्याइमा उभिँदैन, एक शब्दमा प्रयोगशीलता नै शंकर लामिछानेको विशेषता हो ।’ अर्याल अगाडि लेख्छन्, ‘शंकर दाइलाई पैसाले कहिल्यै पनि पुग्दैनथ्यो । त्यसैले एकपछि अर्को गर्दै उनले धेरै कामधन्दा गरे । तर, कामधन्दामा ठुल्ठूला कुर्सी र आय पाउँदा पनि र काम नपाई रल्लिँदा पनि एकै प्रकारको मस्त, अध्ययनशील र लेखनशील व्यक्तित्व कायम राख्न सक्नु शंकर दाइको स्थितप्रज्ञता हो, कर्मण्यता हो ।’
अभिव्यक्तिका प्रधानसम्पादक नगेन्द्रराज शर्मा भन्छन्, ‘लामिछानेको अनुहार खासै हिस्सी परेको होइन, तर महँगा–महँगा अत्तर शरीरमा छर्केर कपालमा जेल हाल्दै उनी चमकदार व्यक्तित्व बनाउन सधैँ तल्लीन हुन्थे ।’ जीवन निर्वाहका लागि लामिछानेले कहिले न्युरोड गेटमा क्युरियो पसल खोले भने शंकर होटेलको प्रशासकीय अधिकृतको भूमिकामा पनि उनी देखापरे । तत्कालीन श्री ३ सरकार गुठी अड्डा, भारतीय दूतावास सेवाअन्तर्गतको नेपाल–भारत सांस्कृतिक केन्द्र, जनसेवा सिनेमा भवन हुँदै घरेलु शील्पकला बिक्री भण्डार प्रालिमा पनि उनले काम गरे । जानकारहरूका अनुसार ज्योतिषशास्त्रमा निपूर्ण उनले सोल्टी होटेलमा आउने विदेशी पाहुनाहरूको हात हेरी पैसा पनि कमाए ।
लामिछानेले जे–जति लेखे सोखका हिसाबले मात्र लेखे, आफूलाई कहिल्यै पनि लेखक स्विकारेनन्, साधना गरेनन् । जनताका निम्ति साहित्य लेखेर सम्पूर्ण जीवन निर्वाह गर्न सकिन्छ भन्नेमा उनलाई रत्तिभर विश्वास थिएन । अरूले त्यागेका र बिर्सेका कुरालाई टिपटाप गरी केवल आफ्नो सोख पूरा गरे । आफ्ना सिर्जनाका कौतुहलले लेखे, आफ्ना परममित्र सम्पादकहरूको आग्रहमा लेखे । कहिलेकाहीँ हल्का गुजारा चलाउन सकिन्छ कि भनेर पनि लेखे । साहित्य गम्भीर हुनुपर्छ भन्ने बुज्रुकहरूको पनि उनले धज्जी उडाएका छन् । उत्तम कुँवरसँगको वार्तामा लामिछानेले भनेका छन्, ‘साहित्यमा केको गम्भीरता, म स्वयंको जीवनलाई पनि मैले आजसम्म गम्भीर रूपमा लिएको छैनँ । बाबु र आमाको आनन्दबाट म जन्मिएँ र कैयन कीटाणुको आनन्दबाट म मर्नेछु, यहाँ गम्भीरताको ठाउँ नै कहाँ छ र ? र, फेरि मैले साहित्यमा गम्भीरता ओगटेँ भने मेरो साहित्य कसले पढिदेला ?’ लामिछानेलाई चेतना धाराप्रवाहका प्रयोक्ता नेपाली लेखकहरूमध्ये सबैभन्दा ज्यादा आस्वाध्य र सफल ठान्छन् समालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी ।
त्रिपाठीका अनुसार लामिछानेले लेखक हुन स्विकारेको भए उनको शैली अझ निक्खरा हुँदो हो र उनको बहुमुखी जिन्दगानीको अन्तर्रस अझ सशक्त रूपमा प्रकट हुँदो हो । (शंकर स्मृति) लामिछानेसँग निकट सम्बन्ध भएका नृत्यशास्त्री थापाको भनाइमा इन्द्रीयबाट अनुभव नै गर्न नसकिने अमूर्त ज्ञानलाई मूर्त रूप दिन अर्थात् निराकार ज्ञानलाई साकार गराउन सक्नु नै सौखिन लेखक लामिछानेको अद्भूत विशेषता हो । वास्तवमै आफ्नो सौखिन कलमबाट नेपाली साहित्यलाई लामिछानेले जे–जति दिए त्यो अभूतपूर्व नै मान्नुपर्छ, त्यसैका आधारमा नेपाली साहित्यमा खडा भएको ‘शंकर साम्राज्य’ युगयुगान्तरसम्म चिरस्थायी रहने निश्चित छ ।