
‘भगवान्ले मान्छे बनायो या मान्छेले भगवान् ?’ यो बहसको चरण अब लगभग सकिएको छ । भगवान् मान्छेको शक्तिशाली कल्पना हो भन्नेमा अब विज्ञानजगत्मा कतै द्विविधा छैन । भौतिक जगत् र प्रकृति नै अन्तिम हो भन्ने दृष्टिकोण धेरै कोणबाट प्रमाणित भइसकेको छ । कण–कणमा बस्ने भगवान् आजभोलि मान्छेको मनमा मात्र बस्न थालेका छन् । विज्ञानमा जसरी क्रान्ति भइरहेको छ, आउँदा दशकमा भगवान् मनबाट पनि अलबिदा हुनुपर्ने निश्चितजस्तै छ । के मान्छे अब प्रकृतिभन्दा पनि शक्तिशाली बन्दै छ ? आजको बहस यो हो । प्रकृतिले डोर्याउँदै डोर्याउँदै यहाँसम्म ल्याइपुर्याएको मान्छे के अब प्रकृतिलाई नै डोर्याउने चरणमा आइपुगेको हो ? के उद्विकासको नियम अब संकटमा पर्दै छ ? अबको बहस यता केन्द्रित हुँदै छ ।घोडाको पखेटा किन हुन्न ? हात्तीको कान किन लामो हुन्छ ? मान्छेको पुच्छर किन हरायो ? भैँसीको सिङ किन आयो ? आजसम्म यी सबै प्रश्नहरूको उत्तर उद्विकासको नियमले दिँदै आएको छ ।
घोडालाई प्रकृतिमा बाँच्नका लागि पखेटाको कहिल्यै आवश्यकता परेन, त्यही भएर घोडासँग पखेटा छैन । जमिनबाट आक्रमण गर्ने शत्रुसँग जोगिन घोडालाई पखेटाभन्दा बलियो शरीर र फुर्तिलो खुट्टा चाहिन्थ्यो, त्यसैले प्रकृतिले घोडालाई पखेटा होइन, बलियो खुट्टा र शरीर भएको प्राणीको रूपमा छनोट ग¥यो । पौराणिक कथाहरूको वायुपंखी घोडाको प्रकृतिमा कहिल्यै आवश्यकता परेन । जीवन र जगत्का कैयौँ प्रश्नको जवाफ आजसम्म डार्बिनको उद्विकास र मेन्डलको अनुवांशिकाको सिद्धान्तले दिँदै आएका छन्, तर आजको जेनेटिक इन्जिनियरिङको क्षेत्रमा जुन विकास भइरहेको छ, लाग्छ विकासवादका सिद्धान्तहरू पनि संकटमा पर्न थालेका छन् । त्यो कसरी भन्ने बुझ्नका लागि केही घटना केलाएर हेरौँ ।
घटना एक
सन् २०१८ मा चीनका एक वैज्ञानिक (बायोकेमिस्ट) हे जियानक्वेले प्रयोगशालामा सुटुक्क गरेको एउटा प्रयोगले ‘जेनेटिक इन्जिनियरिङ’को क्षेत्रमा एउटा ठूलो भूकम्प ल्यायो । उनले ‘क्रिस्पर केस नाइन’ नामक एक विधिको प्रयोग गरेर मान्छेको ‘जिन’भित्रको डिएनएलाई सम्पादन गरे । उनले एड्स रोग लागेको आमाबुबाबाट जन्मिएका दुई जुम्ल्याहा छोरीको भ्रूण अवस्थामै जिन सम्पादन गरे । ती दुई छोरीहरूमा जन्मिँदा एड्सको भाइरसलाई परास्त गर्न सक्ने क्षमताको विकास भएको पाइयो । अब ती दुई बच्चा र ती बच्चाहरूबाट भविष्यमा जन्मिने अरू बच्चाहरूमा एड्सको भाइरस निष्प्रभावी हुने भयो ।
भ्रूण अवस्था जिन सम्पादन भन्नाले यहाँ भ्रूणको ‘जर्म सेल’ (एक प्रकारको कोष) मा गरेको सम्पादन भनेर बुझ्नुपर्ने हुन्छ । सुरुमा यो कामका लागि उनको संसारभरि नै प्रशंसा भयो, तर जब यो कामको दीर्घकालीन प्रभावको चर्चा हुन थाल्यो, उनको तीव्र आलोचना सुरु भयो । एड्स रोगलाई अनुवांशिकाकै तहमै परास्त गर्न सक्ने गरी डिएनए सम्पादन गर्ने काम सतहमा हेर्दा क्रान्ति नै जस्तो देखिए पनि यो कामले मानव समाजको विकासक्रमलाई नै चुनौती दिने देखिएपछि यो कामको व्यापक आलोचना भयो ।
एकपल्ट भ्रूण अवस्थामा ‘जर्म सेल’मा डिएनए सम्पादन गरिसकेपछि सम्पादन गरिएको मान्छेबाट त्यो गुण नयाँ पुस्तामा पनि सर्दै जान्छ । यसको अर्थ यो हो कि अब ती दुई सन्तानबाट जन्मिने हरेक पुस्तामा यो जिन सर्दै जान्छ र मान्छेको एउटा जैविक गुण नै परिवर्तन हुँदै जान्छ । एउटा सन्तानबाट भोलि हजारौँ सन्तानमा युगौँसम्म सर्दै जाने यो गुणलाई चाहेर पनि फर्काएर पुरानो अवस्थामा लैजान नसकिने हुन्छ । अर्थात्, हे जियानक्वेले प्रयोगशालाबाट प्रकृतिमा अरू मान्छेभन्दा पृथक् जैविक गुण भएका लुलु र नाना नाम दिइएका दुई सन्तानलाई जन्माउने काम गरे । उद्विकासको नियमअनुसार प्रकृतिसँग संघर्ष गरेर जन्मिनुपर्ने गुण यसपालि प्रयोगशालामा जन्माइयो ।
हे जियानक्वेको यो कामलाई मानव समाजविरोधी रहेको ठहर गर्दै उनको अनुसन्धानमाथि तत्काल प्रतिबन्ध लगाइयो । त्यति मात्र नभएर चीन सरकारले उनलाई कतै कैद गरेको भन्नेसमेत समाचार आउने गरेको छ । लुलु र नाना नाम गरेका ती दुई बालिकाहरूको अवस्था पनि चीन सरकारले गोप्य राखेको छ ।
घटना दुई
सन् २०१९मा ‘सिकल सेल एनेमिया’जस्तो जटिल वंशानुगत रोग भएकी भिक्टोरिया ग्रे नामक बिरामीमा पनि एउटा प्रयोग गरियो । अमेरिकाका डाक्टर हैदर फ्र्यान्गौलले भिक्टोरियाको सोमाटिक सेल(एक प्रकारको कोष)को ‘डिएनए रिपेयर’ गर्ने काम गरे । डिएनएमा रहेको सिकल सेल एनेमिया प्रभावित अंशलाई सम्पादन गरेपछि भिक्टोरिया ग्रे बिस्तारै–बिस्तारै निको भइन् । यसको अर्थ यो थियो कि भिक्टोरिया ग्रे अब ‘सिकल सेल एनेमिया’ नामक वंशानुगत रोगबाट मुक्त भइन् । यो काम सम्पन्न गर्ने ती डाक्टरको संसारभर प्रशंसा भयो ।
अब प्रश्न यो उठ्छ कि त्यही डिएनए सम्पादन गरेको हुनाले चीनका वैज्ञानिक हे जियानक्वे जेल जानुपर्ने र त्यही डिएनए सम्पादन गरेर अमेरिकाका वैज्ञानिक डाक्टर हैदर फ्र्यान्गौल प्रशंसा कमाउने किन भयो ? यो बुझ्नका लागि जर्म सेल र सोमाटिक सेलबीचको अन्तर बुझ्न जरुरी हुन्छ । ‘जर्म सेल’ भनेको ‘रिप्रोडक्टिभ सेल’ (प्रजनन गर्न सक्ने कोष) हो भने ‘सोमाटिक सेल’ भनेको ‘नन रिप्रोडक्टिभ सेल’ (प्रजनन गर्न नसक्ने कोष) हो । ‘जर्म सेल’मा गरिएको छेडखानी आउने पुस्तामा स्थानान्तरण हुन्छ भने ‘सोमाटिक सेल’मा गरिएको परिवर्तन त्यही व्यक्तिमा मात्र सीमित हुन्छ । नयाँ पुस्तामा स्थानान्तरण हुँदैन ।
चीनका वैज्ञानिकले गरेको डिएनए सम्पादनले आगामी पुस्ता सबैलाई प्रभावित पार्ने प्रकारको थियो । उनले विनापर्याप्त अध्ययन मान्छेको जिन सदाका लागि परिवर्तन गर्ने काम गरेका थिए । अमेरिकाका डाक्टरले भिक्टोरिया ग्रेमा गरिएको प्रयोग भने उनीमा मात्र सीमित थियो । भिक्टोरिया ग्रेको सन्दर्भ हेर्ने हो भने उनको शरीरमा भएको रोगको मात्र उपचार भएको थियो । उनमा विकास भएको नयाँ जैविक गुण अरूमा स्थानान्तरण भएको थिएन । लुलु र नानामा विकास गरिएको नयाँ जैविक गुण भने आउँदा पुस्ताहरूमा स्थानान्तरण हुन्थ्यो ।
दुवै वैज्ञानिकले प्रयोग गरेको विधि भने ‘क्रिस्पर केस नाइन’ नै थियो । यो विधिको सफल प्रयोग भएपछि जेनेटिक इन्जिनियरिङको क्षेत्रमा क्रान्ति नै भएको मानिन्छ । विज्ञानको एउटा महत्वपूर्ण क्षेत्रमा क्रान्ति नै ल्याउन सक्ने ‘क्रिस्पर केस नाइन’ भन्ने विधि भने न ती चिनियाँ वैज्ञानिकले आविष्कार गरेका थिए, न ती अमेरिकी वैज्ञानिकले । उनले त केवल यो विधिको सफल प्रयोग गरेका थिए । ‘क्रिस्पर केस नाइन’ भन्ने विधि आविष्कार हुनुपछाडिको कथा भने झनै आश्चर्यजनक छ ।
के हो क्रिस्पर केस नाइन प्रविधि ?
क्रिस्पर (सिआरआइएसपिआर)को पूरा रूप ‘कल्स्टर्ड रेगुलर्ली इन्टरस्पेस्ड सर्ट पालिन्ड्रोमिक रिपिट्स’ हो । ‘केस नाइन’ एक प्रकारको प्रोटिनको नाम हो । ‘क्रिस्पर केस नाइन’ एउटा यस्तो प्रविधि हो, जसले जीवको डिएनएमा भएको जिनलाई बदल्ने, डिएनएमा केही गुणहरू थपघट गर्ने र डिएनए उल्टाउनेसम्मको काम गर्न सक्छ । यो विधिलाई सरल भाषामा ‘जेनेटिक सिजर’ (डिएनए काँटछाँट गर्ने कैँची) भन्ने गरिन्छ ।
यो विधिको विकासमा धेरै वैज्ञानिकको योगदान रहे पनि यसको विकासमा सबैभन्दा बढी योगदान इमानुएल सर्पन्टायर र जेनिफर डोन्डा नामक दुई महिला वैज्ञानिकलाई जान्छ । हुन त यो आविष्कार गर्छु नै भनेर भएको पनि होइन, तर वैज्ञानिकद्वयले ब्याक्टेरियामाथि रिसर्च गर्दै गर्दा यो विधि विकास भएको मानिन्छ ।
ब्याक्टेरिया र भाइरस हजारौँहजार वर्षदेखि एकअर्काका दुस्मनजस्तै हुन् । भाइरसले मान्छेलाई आक्रमण गरेजस्तै ब्याक्टेरियालाई पनि आक्रमण गर्ने गर्छ । यहाँ अचम्म मान्नुपर्ने एउटा विषय के छ भने लाखौँ वर्षको संघर्षमा पनि भाइरसले ब्याक्टेरियालाई समाप्त पार्न सकेको छैन । ब्याक्टेरियामा भाइरससँग लड्ने आखिर त्यस्तो शक्ति के छ भनेर अध्ययन गर्दै गर्दा उनीहरूको ध्यान ब्याक्टेरियाको एउटा गुणमा पुग्यो ।
आजसम्म अफ्रिकाको मान्छेको रंग प्रकृतिले छनोट गर्दै आएको थियो । युरोपमा मान्छेहरूको आँखाको रंग प्रकृतिले छनोट गर्दै आएको थियो । एसियाका मान्छेको शारीरिक बनोट जस्तो छ, त्यो प्रकृतिले छनोट गरेको थियो । अब जेनेटिक इन्जिनियरिङमा भएको विकासले यो प्रक्रियालाई चुनौती दिने भइसकेको छ ।
भाइरसले आक्रमण गर्दा ब्याक्टेरियाले भाइरसको डिएनएको एउटा नक्कल निर्माण गरेर राख्छ र जब अर्कोपल्ट फेरि भाइरसले आक्रमण गर्छ, त्यो वेला पहिला नक्कल गरेर राखिएको डिएनएलाई भाइरसकैविरुद्ध प्रयोग गर्छ । नक्कल बनाएर राखिएको डिएनएले भाइरसको हानिकारक डिएनएलाई काट्ने गर्छ । यो ब्याक्टेरियाको रोग प्रतिरोध गर्ने प्रणालीकै एउटा हिस्सा हो । यसरी डिएनएलाई नै डिएनए काट्नका लागि प्रयोग गर्न सकिने रहेछ भन्ने कुराको आविष्कार भयो ।
ब्याक्टेरियाले भाइरसकै डिएनए काट्नु भनेको आफैँमा ब्याक्टेरियाले प्राकृतिक रूपमा गर्दै आएको एक प्रकारको जिन सम्पादन नै थियो । अध्ययन गर्दै जाँदा जेनिफर डोन्डा र इमानुएल सर्पन्टायरले ब्याक्टेरियाले प्राकृतिक रूपमा प्रयोग गरिरहेको यो विधि कृत्रिम रूपमा मान्छेमा पनि प्रयोग गर्न सकिन्छ भन्ने ज्ञानको आविष्कार गरे । सन् २०१२ मा आविष्कार भएको यो विधिको सफल प्रयोग हुन थालेपछि मात्र यो विधिको महत्व झनै प्रकाशमा आउन थाल्यो । यो विधि निकै नै क्रान्तिकारी भएको ठहर गर्दै आविष्कार भएको आठ वर्षपछि जेनिफर डोन्डा र इमानुएल सर्पन्टायरलाई संयुक्त रूपमा सन् २०२० मा रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरियो ।
के उद्विकासको नियम संकटमा पर्दै छ ?
समकालीन विश्वका प्रसिद्ध समाजशास्त्री एवं इतिहासविद् युवल नोहा हरारीले संकेत गरेजस्तै उद्विकासको नियम संकटमा पर्दै गएको छ । मान्छे प्रकृतिभन्दा पनि शक्तिशाली बन्दै गएको छ । आज ‘क्रिस्पर केस नाइन’ आफ्नो प्रारम्भिक चरणमा छ । यो विधि पनि भविष्यमा झनै विकास हुँदै जाने निश्चितजस्तै छ । उद्विकासको नियममा कसरी संकट आउन सक्छ भन्ने बुझ्नका लागि अब यो विधिले भविष्यमा बोकेका सम्भावना बुझ्नुपर्ने हुन्छ । आउनुस् ‘क्रिस्पर केस नाइन’ले भविष्यमा के–के गर्न सक्छ भन्ने तथ्यगत अनुमान गरौँ ।
लुलु र नानाको जन्मपछि के अनुमान लगाउन सकिन्छ भने मान्छेमा भएको कुनै पनि जैविक गुण काट्न, सम्पादन गर्न र थपघट गर्न आगामी दिनमा सजिलै सकिन्छ । यसको सरल अर्थ यो हो कि हामीलाई अत्यन्त ‘इन्टेलिजेन्ट’ सन्तान जन्माउन मन लाग्यो भने संसारकै अत्यन्त ‘इन्टेलिजेन्ट’ मानिएका वैज्ञानिकहरूको डिएनए ल्याएर आफ्नो सन्तानलाई दिन सकिने चरणमा हामी आइपुगेका छौँ । सन्तानको आँखा निलो बनाउने कि खैरो अब रोज्न सकिन्छ । बच्चाको कपाल पहँेलो बनाउने कि कालो रोज्न सकिने भयो । अत्यन्त सरल भाषामा भन्नुपर्दा ‘क्रिस्पर केस नाइन’ विधिले ‘जेनेटिकली इन्जिनियर्ड बेबिज’को युगमा हामीलाई ल्याइपु¥याएको छ । ‘जेनेटिकली इन्जिनियर्ड बेबिज’ अर्थात् बच्चा जन्माउनेभन्दा चाहेकोजस्तो बच्चा उत्पादन गर्ने एउटा प्रक्रियामा हामीलाई लैजाँदै छ ।
यहीँनेरबाट सुरु हुन्छ उद्विकासको नियमलाई संकटमा पार्ने मान्छेको यात्रा । आजसम्म अफ्रिकाको मान्छेको रंग प्रकृतिले छनोट गर्दै आएको थियो । युरोपमा मान्छेहरूको आँखाको रंग प्रकृतिले छनोट गर्दै आएको थियो । एसियाका मान्छेहरूको शारीरिक बनोट जस्तो छ, त्यो प्रकृतिले छनोट गरेको थियो । अब जेनेटिक इन्जिनियरिङमा भएको विकासले यो प्रक्रियालाई चुनौती दिने भइसकेको छ । अब मान्छेमा हुने गुण मान्छेले नै छनोट गर्न सक्ने अवस्था आएको छ । डिएनए सम्पादन गरेर भविष्यमा वायुपंखी घोडा पनि उत्पादन गर्न सकिन्छ । प्रकृतिलाई नचाहिएको वायुपंखी घोडा भविष्यमा मान्छेले बनाउन सक्नेछ ।
मान्छे अब स्वयं ‘जेनेटिकली मोडिफाइड’ प्राणी बन्दै छ । यो यात्रा कहाँ पुगेर रोकिन्छ भन्न सकिन्न, तर आजको समाजमा हलिवुडका काल्पनिक चलचित्रमा देखाइएजस्तै ‘जेनेटिकली मोडिफाइड’ मान्छेहरूको प्रवेश भएको छ ।
कुरा मान्छेको मात्र होइन, यो विधि कुनै पनि अरू प्राणीमा प्रयोग गर्न सकिन्छ । फलफूल, तरकारी, अन्नहरूमा डिएनए सम्पादन गर्न थालिएको पनि चालीसौँ वर्ष भइसकेको छ, तर पुराना विधि निकै खर्चिला र जटिलतायुक्त थिए । डिएनए सम्पादन गर्नका लागि ‘क्रिस्पर केस नाइन’ तुलनात्मक रूपमा अत्यन्त सरल र कम खर्चिलो विधि हो । यसका लागि करोडौँको प्रयोगशाला पनि चाहिन्न ।
हामीले आजसम्म मान्दै आएको विकासवादी सिद्धान्त के हो भने हाम्रा जैविक गुणहरू हामीले लामो समयको अन्तरालमा प्रकृतिबाट पाएका हौँ । कुनै प्राणीले रातिमा बढी देख्ने र कुनै प्राणीहरूले दिउँसोमा बढी देख्नु पनि प्रकृतिकै नियमले गर्दा हो । चराहरूमा पखेटा र हात्तीमा हुने सुँड सबै प्रकृतिको नियमबाट आएका हुन् । तर, अब रातिमा पनि आँखा देख्न सकिने गरी मान्छेको आँखामा बाघको आँखाको डिएन सम्पादन गर्न सकिन्न भन्ने अवस्था रहेन । कुनै पनि एउटा प्राणीको गुण केही प्रयोगहरू गरेर अर्को प्राणीमा सार्न सकिने भएको छ ।
घटना तीन
सन् २०२२ को सुरुवातमै विश्वलाई नै तरंगित बनाउने एउटा समाचार आयो । अमेरिकाको मेरिल्यान्ड मेडिकल सेन्टरमा डाक्टर बार्टली ग्रिफिथले ५७ वर्षे डेभिड बेनेट नाम गरेका मुटुरोगीको शरीरमा सफलतापूर्वक बंगुरको मुटु प्रत्यारोपण गरे । मान्छेको शरीरमा जनावरका अंगहरू प्रत्यारोपण गर्ने कामलाई जेनोग्राफ्ट भन्ने गरिन्छ । यस्ता प्रयोगहरू पहिला पनि नगरिएका भने होइनन्, तर यसपालि जुन सफलता प्राप्त भयो त्यो ऐतिहासिक थियो ।
डेभिड बेनेटको शरीरमा कुनै आमबंगुरको मुटु प्रत्यारोपण गरिएको थिएन । त्यो बंगुर कुनै पूर्ण रूपले प्राकृतिक नभएर आफैँमा ‘जेनेटिकली मोडिफाइड’ थियो । त्यो बंगुर जन्मिँदा नै उसको ‘जर्म सेल’मै डिएनए सम्पादन गरेर हालिएको थियो । त्यति मात्र होइन, उक्त बंगुरको शरीरमा भएको मान्छेलाई हानि गर्न सक्ने डिएनएहरूलाई निष्क्रिय बनाइएको थियो । डिएनए सम्पादन गरेर पहिला बंगुरमा मान्छेको डिएनए हालियो, त्यसपछि मान्छेलाई हानि गर्न सक्ने बंगुरको डिएन निष्क्रिय बनाइयो ।
यो घटनाबाट सजिलै अनुमान लगाउन सकिन्छ कि अब जैविक गुणहरू प्रकृतिले होइन, मान्छेले छनोट गर्ने युगको प्रारम्भ भएको छ । मानव अंग प्रत्यारोपणकै लागि जनावरहरू विकास गर्ने समय आएको छ । मान्छे अब स्वयं ‘जेनेटिकली मोडिफाइड’ प्राणी बन्दै छ । यो यात्रा कहाँ पुगेर रोकिन्छ भन्न सकिन्न, तर आजको समाजमा हलिवुडका काल्पनिक चलचित्रहरूमा देखाइएजस्तै ‘जेनेटिकली मोडिफाइड’ मान्छेहरूको प्रवेश भएको छ । मान्छेको शरीरमा बंगुरको मुटु प्रत्यारोपण गरेजस्तै भोलि अन्य कुनै प्राणीमा मान्छेको जस्तै चेतना विकास हुने गरी मान्छेको डिएनए हाल्ने समय पनि आउँदै छ ।