• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
आहुति
२०७६ बैशाख ७ शनिबार १२:४९:००
साहित्य

राष्ट्रगानको राजनीति

२०७६ बैशाख ७ शनिबार १२:४९:००
आहुति

६२/६३ को जनआन्दोलनपछि सामन्ती राजतन्त्रसँग जोडिएका पुराना परिचय हटाउने विषय जनस्तरबाटै सुरु भएको थियो । चोक, क्याम्पस आदिका नामबाट राजाहरूका नाम हटाएर गणतन्त्रलाई व्यक्त गर्ने नामहरू राख्ने लहर नै केही समय चल्यो । त्यही वेला स्वाभाविक रूपमा नेपालको पुरानो राष्ट्रगान पनि फेर्नुपर्ने आवश्यकता जन्मियो । किनभने बुझिएकै कुरा हो, ‘श्रीमान् गम्भीर ...’ वाला पुरानो राष्ट्रगान ‘भूपति’ अर्थात् राजाको स्तूतिगीत थियो । सरकारले हतार–हतार नयाँ राष्ट्रगान तयार पार्न प्रशासनिक तरिका अपनाउन सुरु गरेको थियो । पुरानो मानसिकताको मन्त्रालयको कर्मचारीतन्त्र त्यस कार्यमा निकै सक्रिय देखिन्थ्यो । गणतन्त्रका निम्ति लडेका साहित्यिक क्षेत्रलाई त्यो अपारदर्शी तरिकाद्वारा नयाँ राष्ट्रगान बनाउन लागेको प्रकरण पटक्कै स्वीकार्य हुनै सक्दैनथ्यो । त्यसैले त्यस प्रकरणको गम्भीर विरोध सुरु भयो । तत्कालीन माहोल यस्तो थियो, आन्दोलनकारी जमात बोल्न थालेपछि सरकार तुरुन्त सहमत हुनैपथ्र्यो । 

त्यसपछि नै नयाँ राष्ट्रगान तयार पार्न मन्त्रालयले थालेको प्रक्रिया रोकेर संस्कृतिविद् सत्यमोहन जोशीको संयोजकत्वमा ०६२/६३ को जनआन्दोलनकारी पक्षहरूको प्रतिनिधित्व रहने गरी ‘राष्ट्रगान छनोट कार्यदल’ बन्यो । कार्यदलका सदस्यमा अम्बर गुरुङ, रामेश, मोदनाथ प्रश्रित, अमर गिरी, बेन्जु शर्मा, नन्दकृष्ण जोशी, श्रवण मुकारुङ, गोपाल ठाकुर, दुर्गालाल श्रेष्ठ, वैरागी काइँला, संस्कृति मन्त्रालयका एक सहसचिव र म थियौँ । संस्कृति मन्त्रालयका सहसचिव कार्यदलमा सदस्यसचिवको भूमिकामा थिए । सहसचिवको मनस्थिति राष्ट्रगान निर्माणको काम झटपट टुंग्याउने देखिन्थ्यो । करिब ४ सय गीत संकलन भइसकेको, विगतदेखि योगदान गरेका सिंगै राष्ट्रले मानेका व्यक्तित्वका गीत आइसकेको, अनावश्यक लफडामा अब फस्न नहुनेलगायत विषयमा पहिलो बैठकमा सहसचिवले व्याख्यान दिएपछि प्रस्ट भएको थियो कि कार्यदल मन्त्रालयले संकलन गरेको भनिएको गीतहरूमध्येको कुनै एकमाथि सहीछाप गर्न पो रहेछ । तर, सहसचिवको त्यो आशयसँग कार्यदलका कोही पनि सहमत हुने स्थिति नै थिएन । हामीले त्यो अस्वीकार ग¥यौँ । यसरी सुरुमै सरकार र कार्यदलको कुरा नमिले झैँ भयो । सदस्यसचिवले त्यो विषय मन्त्रालय लिएर गए । अन्ततः मन्त्रालयले आफ्नो कार्यविधि आफैँले बनाउने गरी नै कार्यदल गठन गरिएको खबर पठायो । नयाँ शिराबाट काम सुरु गर्ने बाटो खुल्यो । पुनः सार्वजनिक रूपमा गीत आह्वान गर्ने निर्णयबाट काम अघि बढ्यो ।

तर पहिले नै चर्चित भइसकेको गीतलाई राख्ने कि नराख्ने, मरिसकेको व्यक्तिको गीत राख्ने कि नराख्ने भन्ने जस्ता विषय वेलावेलामा फुत्तफुत्त सदस्यसचिवले बैठकमा उतार्थे । पुरानो चर्चित गीतलाई राख्नुपर्छ भन्ने पनि कुरा उठ्यो । ‘म राष्ट्रकविले राष्ट्रगान लेख्न किन नपाउने ?’ भन्ने जस्ता अभिव्यक्ति पनि सार्वजनिक रूपमै सुनिए । पुरानो सामन्तवादी समयका हालीमुहालीकर्ताले नयाँ राष्ट्रगानका रचनाकार पुरानै साहित्यिक जर्नेलहरू होऊन् भन्ने आशयले सकेजति जोडबल लगाउने थिए, लगाए । सुरुसुरुमा बैठक सुरु नहुँदै राम भण्डारबाट मगाइएको खाजाको प्याकेट बाँड्दै र निर्णय पुस्तिकामा उपस्थितिमा हस्ताक्षर गराउँदै, ‘हजुरहरू जस्तो व्यक्तित्वको निम्ति सचिवसरहको बैठक भत्ता पनि कम नै हो तर केही छैन, कार्यविधि बनाउने नै यसैले भएपछि बैठकहरू बढाउन पनि सकिहाल्छ’ भन्दै सदस्यसचिवले कार्यदलमा आफैँ हाबी हुन खुब प्रयत्न गरेका थिए । तर, कार्यदलले उनको भनाइलाई कहिल्यै महŒव नदिएपछि उनी बल्ल सदस्यसचिवको कारिन्दा भूमिकामा सीमित भए । कार्यदलका सदस्यले उनलाई यसकारण भाउ दिँदैनथ्यो कि उनका हाकिम मन्त्रीहरू कार्यदलका सदस्यका भर्खरकै सहयोद्धाहरू थिए र कर्मचारीतन्त्रले गणतान्त्रिक माहोललाई स्वीकार गरिसकेको छैन भन्ने कुरा राम्ररी बुझेका थिए ।

राष्ट्रगानलाई कसैले ‘बालगीत’ भनेको पनि सुनियो । ‘संसारका उत्कृष्ट राष्ट्रगानमध्ये नेपालको राष्ट्रगान पनि प¥यो’ भन्ने पनि सुनियो । कसैले के भनेर बालगीतजस्तो भने, अर्काले के भनेर संसारको उत्कृष्ट राष्ट्रगानमा राखे, यस्तो विमर्श भइरहेकै जाती । 

त्यतिवेला राजनीतिक घटनाक्रम तीव्र उतारचढावमा थियो । छिटोभन्दा छिटो नयाँ राष्ट्रगान तयार पार्न सक्दा गणतान्त्रिक राजनीतिक प्रक्रियालाई थप जोड पुग्थ्यो । त्यसैले काम छिटोछिटो अघि बढाइएको थियो । अन्ततः कार्यदलले राष्ट्रगानका लागि गीत आह्वानपछि सात सयभन्दा बढी संख्यामा नयाँ गीत छनोटका निम्ति प्राप्त भयो । अब सात सय गीतलाई कसरी छान्ने ? त्यसको वैज्ञानिक विधि बनाउनु थियो । अब बहस फेरि तात्यो । पुराना स्थापित कविहरू (मृत या जीवित) को गीतलाई राख्नुपर्छ भन्ने जबर्जस्त कुरा उठ्यो । त्यस्ता पाका कवि गीतकारप्रति कार्यदलकै कतिपय सदस्यको भावनात्मक लगावसमेत प्रकट भयो । सात सयको सूचीमा गोपालप्रसाद रिमालको ‘रातो र चन्द्र सूर्य, जंगी निसान हाम्रो’, भीमनिधि तिवारी, युद्धप्रसाद मिश्रका गीत पनि आए भनियो । यही विषयमा केही मिटिङ लम्बियो । त्यसपछि कार्यदलले अर्को समझदारी बनायो । त्यो थियो– जनआन्दोलनको विरुद्धमा रहेका र मृत्यु भइसकेका व्यक्तिको रचनालाई छनोट प्रक्रियामा सामेल नगर्ने । जनआन्दोलनकै विरुद्धमा रहेका व्यक्तिले गणतान्त्रिक भावना पक्रन सक्दैन र मृत्यु भइसकेको स्रष्टालाई अहिलेको परिवेश नै थाहा हुँदैन भन्ने बलियो तर्कका आधारमा त्यो समझदारी बन्न सम्भव भएको थियो । यो समझदारीपछि सत्ताको काखीकाखीबाट घुसेर जहिले पनि मुठीभर व्यक्ति सदाबहार सिर्जना–जर्नेल हुने खाता बन्द भयो । त्यो दिनपछि सदस्यसचिवले कहिले पनि कुनै आफ्नो मत प्रकट गरेनन्, कार्यदलको पक्का सहयोगीका रूपमा क्रियाशील भए ।

सात सयभन्दा बढी प्राप्त गीतबाट एउटा गीत कसरी छनोट गर्ने ? वेलावेलामा कुराकानी हुन्थ्यो, ‘यो त गीत प्रतियोगिताजस्तो भयो, यदि कुनै गीत पनि ठिक आएन भने खराबमध्येको एउटालाई राष्ट्रगान बनाउन सिफारिस गर्न सकिन्छ ?’ सिर्जना क्षेत्रका मान्छेका लागि ती प्रश्न निकै नै गम्भीर थिए । संसारका विभिन्न देशका राष्ट्रगान कसरी बने भन्ने इतिहास खोज्दा त्यतिवेलाको विजयी राजनीतिक नेता डफ्फाले जुन रोज्यो, त्यही गीत राष्ट्रगान भएको देखिन्थ्यो । म के बुझ्थेँ भने राष्ट्रगान मूलतः राजनीतिक हो, त्यसपछि मात्रै कलासामग्री । त्यतिवेला नयाँ राष्ट्रगान बनाउँनुभन्दा पुरानोलाई विस्थापित गर्नुपर्ने राजनीति महŒवपूर्ण थियो । पुरानोलाई विस्थापित गर्दा नयाँ मन नपरे त अर्काे नयाँ बनाउँन कसले रोक्छ र ? यसरी पुरानो विस्थापनको चटारो नै कार्यदलका निम्ति मुख्य बनेको थियो । तसर्थ, नयाँ राष्ट्रगानको चयन मूलतः एउटा राजनीतिक कार्यभार थियो ।

त्यसको अर्थ फेरि जे गरे पनि हुने त थिएन, त्यसैले सबै प्राप्त गीतमा गीतकारको नाम छोपेर कोड नम्बर हाल्ने निर्णय गरियो र त्यो काम प्रशासनले गरोस् ताकि कार्यदल त्यसमा नमुछियोस् । गीतहरूलाई जाँच्ने कस्तो विधि बनाउँने ? यो फेरि अर्काे समस्या थियो । भाषा, शैली, छन्द, विचार आदिलाई कसरी मूल्यांकनको आधार बनाउने ? आफैँ सिर्जनामा क्रियाशील कार्यदलका सदस्यलाई थाहा थियो नै सिर्जनालाई अंकका आधारमा मूल्यांकन सम्भव हुँदैन तर त्यो राजनीतिक आवश्यकता थियो । त्यसपछि बनाइयो चल्दो, मिलाइँदो जाँचकी विधि, अर्कोे उपाय पनि थिएन । 

त्यसपछि कार्यदलमा उपस्थित गराइए गीतकारका नामविहीन गीतहरू । ती गीतलाई सम्पूर्ण कार्यदलका सदस्यहरू सँगै बसेर पढ्ने, आवश्यक छलफल गर्ने र व्यक्तिगत अंक दिने विधि लागू गरियो । सबै सहमत हुँदा कुनै गीतलाई अंक नै नदिई सूचीबाट हटाउने तरिका पनि थुप्रै गीतका सन्दर्भमा कार्यकारी भयो । आज यसो फर्केर सोच्दा लाग्छ, त्यतिवेलाका अधिकांश स्थापित गीतकारले छनोटका लागि गीत नपठाउँनुले पनि कार्यदलका लागि निकै सजिलो भएको हो । होइन भने एउटा गीतको टुंगोपछि सिर्जनशास्त्रमा आधारित प्रश्नहरूको भूमरीमा कार्यदल सदासदा विवादास्पद बनिरहन्थ्यो सायद । मरेका र जनआन्दोलनविरोधीको रचना छनोटमा नराख्ने विधिमाथि अधिकांश स्थापित कवि गीतकारले रचना नपठाउँदा कार्यदललाई काम गर्न खुँदो पल्टेको थियो ।

लोकतन्त्रको समय सुरु भएको थियो । सुझाव संकलन भन्ने कर्मकाण्ड पनि जरुरी थियो । गीतहरू प्राप्त भइसकेपछि सुझाव संकलनले गुणात्मक अर्थ राख्दैनथ्यो, कस्तो गीत माग गर्ने भन्ने विषयमा सुझाव संकलन भए अर्थ हुन्थ्यो होला । तैपनि सुझाव संकलनको रीति पूरा गर्न देशका चार–पाँच स्थानमा अन्तत्र्रिmया कार्यक्रम भए । मादलको जुनसुकै तालपछिको बिसाउनीको रनी घिन्ताङ जस्तै सबै औपचारिकता पूरा गर्दै सात सयभन्दा बढी गीतबाट तीन सय पचासमा र अन्ततः एक सयमा झारियो । एक सयमा झार्न करिब दुई महिना लाग्यो । सयवटा गीतलाई घटाएर दशवटामा झार्न सबैभन्दा बढी समय लागेको म अझै सम्झन्छु । सबैको नाम छोपिएकाले त्यसवेलासम्म बहस छलफलबाट अघि बढ्न खासै पूर्वाग्रहले समस्या उत्पन्न गरेको अनुभूति भएन । दशबाट तीनवटा छान्दा सबैभन्दा सजिलो भयो, एकै मत भएको थियो । वास्तवमा भन्दा कार्यदलका सदस्यहरू एकप्रकारले निराशजस्तै भएका थियौँ, मलाई त्यस्तो लागेको थियो । सुरुमा जसरी एकसे एकबीचबाट छान्नुपर्ला भनी गर्धन अररो बनाइएको थियो, अन्त्यमा त चल्दोमिल्दो पनि नभेटिएला कि क्या हो भन्ने स्तरमा हालत उपस्थित थियो ।

अब तीनबाट एउटा छान्नुपर्ने थियो । तीनमध्ये सबैभन्दा सरल अहिलेको राष्ट्रगान थियो । अरू दुई गीत पनि भावका दृष्टिले धेरै फरक र गलत थिएनन् । सरल धेरैले अर्थ बुझ्ने खालको होस् भन्नेमा कार्यदल लगातार एकमतमा थियो । ती अन्य दुई गीतमा क्लिष्ट शब्दहरू अलि बढी थिए । अन्ततः सबैको सहमतिमा अहिलेको राष्ट्रगान नै ठिक हुन्छ भन्ने भयो । तर, यही गीत छान्दा पनि केही शब्द सम्पादन नगरी त राष्ट्रगान बनाउँन अप्ठ्यारो पर्ने स्थिति देखाप¥यो । बहस गर्दै जाँदा गीतलाई सम्पादन गरेर मात्रै टुंग्याइने सहमति भयो । मलाई त्यतिवेला खुसी लाग्यो, किनभने सबैले राष्ट्रगान चयनलाई राजनीतिक कार्यभारका रूपमा नै ग्रहण गरेका रहेछन् । गीत सम्पादन गर्ने जिम्मा मोदनाथ प्रश्रित र मेरो थियो । गीतलाई सम्पादन गर्ने भनेपछि लेखकको नाम थाहा पाउनुपर्ने भयो । लेखकसँग अनुमति लिनुपर्ने भयो । त्यसपछि लेखकको नाम मगाइयो । गीतकार निक्लिए व्याकुल माइला । उनलाई श्रवण मुकारुङले मात्रै चिनेका रहेछन् । अरूले कसैले चिनेकै थिएन । कार्यदलका साथीहरूले सोधे, ‘व्याकुल माइला भन्ने मान्छे साँच्चै हो ?’ श्रवण मुकारुङले भने, ‘हो ।’ गीत सम्पादन गर्नुपर्ने भएकाले व्याकुल माइलालाई बोलाएर भन्यौँ, ‘तपाईंको गीत पनि छनोटको अन्तिम गीतहरूमध्येमा आइपुगेको छ । यदि तपाईंको गीत छनोट भयो भने गीतमा एकाध शब्दहरूलाई भाव र लय मिलाउन सम्पादन गर्नुपर्ला । तपाईंको सहमति हुन्छ कि हुँदैन होला ?’ उनले सहज रूपमा अनुमति दिए । त्यसपछि केही लय र भाव मिलाउन शब्द सम्पादन गरियो । त्यही गीतलाई अन्तिम गरेर मन्त्रालय पठाइयो । सधैँ ठुस्स देखिने सदस्यसचिव फूर्तिसाथ फाइल बोकेर हिँडेका थिए ।
०००
बहस र थोरै तीतामीठा घटना भए पनि यहाँसम्म सरल ढंगले काम अघि बढ्यो । मन्त्रालयमा प्रस्तावित राष्ट्रगान बुझाएको दुई दिनपछिबाट विरोध चर्किन थाल्यो । विरोध गर्नेमा गणतन्त्रका निम्ति लडेका केही वामपन्थी साहित्यकार र माओवादी जनयुद्धसँग सम्बन्धित साथी थिए । विरोधको कारण ‘व्याकुल माइला राजावादी कवि हुन्’ भन्ने आरोप थियो । त्यो आरोप सुनेपछि मेरो दिमाग ‘त्रिलोक चौध भुवन’ वाला रन्थनाइमा परेको थियो । गीत छनोटमा परेपछि कविबारे विस्तृत जानकारी लिनैपथ्र्यो, त्यो गल्ती भइसकेको थियो । त्यसो गरेको भए आजको राष्ट्रगान यहाँसम्म आउँथ्यो कि के हुन्थ्यो भन्न सकिन्नँ । कविबारे पूरा जानकारी नराखेकोमा मलाई धेरै अप्ठ्यारो महसुस भएको थियो । विरोधमा कार्यक्रम हुन थालेपछि कार्यदलका सदस्यहरू कोही पनि अगाडि आएर बोलिरहेका थिएनन् । सम्पर्क गर्न खोज्दा पनि त्यतिवेला कसैसँग सम्पर्क हुन सकेन । कार्यदलका सदस्यहरूमा म नै युवापुस्ताको प्रत्यक्ष राजनीतिमा समेत सक्रिय साहित्यिक व्यक्ति थिएँ । मेरा निम्ति व्याकुल माइलाबारेको विवाद नमिठो तर पिँधमा पुग्नैपर्ने विषय बन्न पुग्यो । व्याकुल माइलाबारे उनको जिल्लाका साहित्यकार यज्ञनिधि दाहालसम्म भ्याएजतिलाई सोधियो । दसी–प्रमाण के–के छन् बुझियो । वास्तवमा व्याकुल माइलाप्रति वा सत्यप्रतिको निष्ठाभन्दा पनि त्यो विषय मेरो समग्र राजनीतिक क्षमतामाथि नै प्रश्नचिह्न बन्ने खतराका कारण म सक्रिय भएको थिएँ । सत्य यही नै हो । मलाई निराशा हात लागेको भए के हुन्थ्यो होला, भन्न गाह्रो छ, तर हात लाग्यो शतप्रतिशत आशा !

व्याकुल माइलालाई राजावादी भनी किन आरोप लगाइएछ भने उनले एउटा गीतको पुस्तक सम्पादन गरेका रहेछन् । त्यस पुस्तकका लागि लेखकहरूलाई चिठी लेखेछन् । लेख्ने क्रममा गीतकार जी. शाह अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई पनि अनुरोध लेखेछन् । जी. शाहले पनि गीत पठाएछन् । शाहले गीत पठाएबापत उनले संकलित गीति पुस्तकको सम्पादकीयमा धन्यवाद ज्ञापन गरेका रहेछन् । त्यतिवेला राजालाई मौसुफ भनेर सम्बोधन गर्नुपथ्र्यो, उनले त्यही बान्कीमा सम्बोधन गरेका रहेछन् । त्यहीकारण ‘उनी राजावादी हुन्’ भनिएको रहेछ ।

व्याकुल माइला नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको ओखलढुंगाको उपाध्यक्ष रहेछन् । वकिल पनि भएकाले वकिलको साझा संगठन बार एसोसिएसनका सदस्य पनि रहेछन् । ०६२÷६३ को जनआन्दोलनमा उनी वकिलहरूको तर्फबाट सहभागी भएका रहेछन् । जनआन्दोलनमा उनको सहभागिताको फोटोसहित सबै दसी प्रमाणित थियो । उनी राजावादी नभएको पुष्टि भयो । ०६२÷६३ को जनआन्दोलनको पृष्ठभूमिभन्दा पहिले उनी संगठित पार्टी नेपाली कांग्रेसले संवैधानिक राजतन्त्र मान्ने भएपछि राजालाई स्वतः सम्मानको दृष्टिले उनले पनि हेर्ने नै थिए । गीत संकलन गर्दा सम्पादकको नाताले उनले राजालाई धन्यवाद दिएका मात्रै रहेछन्, त्यतिवेला एमाले मार्काका वामपन्थीले पनि आइपर्दा त गर्ने त्यही त चलन थियो । त्यसैले राष्ट्रगान प्रकरणमा व्याकुल माइलाको उपस्थिति कुनै घुसपैठ, छलकपट वा छद्म रूप देखिएन । व्याकुल माइलाको माउ पार्टीका राजनीतिक लाइन दिने नेता गिरिजाप्रसाद कोइराला गणतान्त्रिक प्रधानमन्त्री हुन मिल्ने, त्यो जायज मात्र होइन, सर्वस्वीकार्य हुने अनि त्यही राजनीतिमा हिँडेर आज गणतन्त्रको पक्षमा नेतासँगै आन्दोलनकारी हुँदा एउटा निमुखो गीतकार कसरी अपराधी ? ज्ञानेन्द्रको खुट्टामा पैसा राखेर ढोग्ने नेताहरू गणतन्त्रको पक्षमा लडेपछि महान् लाग्न थाल्ने, अनि एउटा कवि गणतन्त्रको पक्षमा लडेपछि पनि ‘राजतन्त्रवादी’ कोपमा सताइनुपर्ने ? यो त सीधा–सीधा अन्याय थियो ।
त्यतिवेला व्याकुल माइलाको गीत चयनको विरोध तीन कोणबाट भएको पाउँछु । एक, एकाएक धेरै नसुनिएको जनजाति यति माथिको काममा उदाएको देखेर परम्परागत ब्राह्मणवादी चेतनालाई असह्य भएको थियो । 

दुई, माओवादी आन्दोलन शान्ति प्रक्रियामा आइपुगे पनि सरकारमा सामेल नभइसकेको हुँदा छनोट समितिमा त्यस पार्टीको प्रतिनिधित्व थिएन । त्यसमाथि राजावादीको गीत छनोट भयो भनी सुन्दा त्यस पार्टीका साहित्यकार विरोधमा आउनु स्वाभाविक थियो ।

तीन, राजनीतिक परिवर्तनले जुन स्तरको सपना अगाडि ल्याएको थियो, त्यो स्तरको राष्ट्रगान नभएको ठान्ने साहित्यिक जमातको असन्तुष्टि । यीमध्ये पनि जनजातिवाला प्रसंग नै विरोध गर्ने जबर्जस्त जमातलाई सह्य भइरहेको थिएन । नहुन पनि सक्छ, तर मलाई भने त्यस्तै लाग्यो र आज पनि मेरो बुझाइ त्यही नै छ । मैले सप्रमाण बोल्न थालेपछि राष्ट्रगान र व्याकुल माइलाको न्यायको पक्षमा मिहिनेतपूर्वक रेडियो नेपालका दाहाल यज्ञनिधिजस्ता व्यक्तिहरू देखापरे । गीतप्रति असहमत थुप्रैलाई उनले सहमत गराउनसमेत भूमिका खेले । त्यसवेला कुनै जनजातिले बोलेको भए त्यसको अर्थ हुँदैनथ्यो । त्यतिवेला एउटा ब्राह्मणले बोल्नु र एउटा दलितले बोल्नुको धेरै ठूलो अर्थ हुन्थ्यो । उनले त्यो काम गरे । त्यसपछि क्रमशः वातावरण उज्यालिँदै गयो, सबै समुदायका साथीहरू बोल्न थाले । अन्ततः गीत स्वीकृत र स्वीकार्य भएर गुञ्जिन थाल्यो ।
०००
नेपालमा राजाको गुणगानमा राष्ट्रगान गाइयो । विशुद्ध सामन्तको चिरायुको कामना गरिएको गीतलाई नै राष्ट्रगान भनियो । गणतन्त्रमा पुरानै राष्ट्रगान सम्भव थिएन । राष्ट्रगानमा कसैमाथि विभेद गरिएको शब्द हुनु हुँदैन । अहिलेको राष्ट्रगानले मोटामोटी सकारात्मक भाव नै समेट्न खोजेको छ भन्न सजिलै मिल्छ । योभन्दा राम्रो हुन सक्दैनथ्यो भन्दा सक्थ्यो भनी जसरी उत्तर दिन सकिन्छ, त्यसैगरी योभन्दा कमसल पनि हुन सक्थ्यो भन्ने सम्भावना पनि सँगै आउँछ । किनकि खास समयको आवश्यकता र संयोगले कुनै पनि चिज अस्तित्वमा आउने न हो । राष्ट्रगान छनोट लोकतान्त्रिक विधिबाट भएन भन्ने पनि सुनियो । राष्ट्रगान छनोट गर्ने विधि यस्तै हुन्छ भनेर कुनै विधि र सिद्धान्त पनि कतै थिएन र छैन । नेपालमा त्यतिखेर अपनाइएको छनोटको विधि एक प्रकारको औपचारिक लोकतान्त्रिक विधि थियो । त्यो नै सर्वाेत्तम विधि थियो भन्ने पनि होइन । अड्कोपड्को तेलको धूप भनेजस्तो फगत एउटा विधि मात्र थियो । 
राष्ट्रगानले सामान्यतया राष्ट्रको अस्तित्वको गौरव बोल्नुपर्ने हुन्छ । त्यसले राष्ट्रको सपनाको दिशा बोल्नुपर्ने हुन्छ र राष्ट्रका रूपमा रहेका मानिसहरूका विविध झुण्डको सम्मान र तिनीहरूबीचको न्यायपूर्ण एकता बोल्नुपर्ने हुन्छ । मुलुकको भोलिको सपना देखाउने हो । अहिलेको राष्ट्रगानले ती भाव बोक्ने चेष्टा राम्रैसँग गरेको छ । तर, राष्ट्रगानको भाव र मुलुकको राज्यव्यवस्थाबीच भने अहिले अन्तरविरोध देखिएको छ ।

राष्ट्रगानले राष्ट्रको अस्तित्वको गौरव बोल्नुपर्छ । त्यस देशको सपनाको दिशा बोल्नुपर्छ ।तर, अहिले राष्ट्रगानको भाव र राज्यव्यवस्थाबीच अन्तरविरोध देखिएको छ ।

राष्ट्रगानले देखाएको भाव र राज्य व्यवस्थाबीच अन्तरविरोध देखिन पनि सक्छ । जस्तै पुरानो राष्ट्रगान ‘श्रीमान् गम्भीर...’ र जनताको चेतनाबीच अन्तरविरोध पैदा भयो । त्यसैले त्यसलाई फ्याँकियो । सत्ता गलत बाटोमा गयो भने राष्ट्रगान सत्ताविरोधी गीत पनि बन्न सक्छ । तर, राष्ट्रगान संविधान होइन र व्यवस्था पनि होइन । अहिलेको राष्ट्रगानले बोकेको दिशा प्रगतिशील नै छ । त्यसले निश्चित सिद्धान्त बोकेको छ । यो राष्ट्रगानले धर्मनिरपेक्षताको सारलाई मोटामोटी समाएको छ । नेपालमा जाति, समुदायहरू एकल छैनन्, बहुल छन् भनेको छ । राष्ट्र अग्रगामी हुनुपर्छ भनेको छ । त्यसले विभेदलाई मान्दैन । नेपाललाई सार्वभौम मुलुक मान्छ । भौगोलिक र सांस्कृतिक विविधतालाई स्वीकार गर्छ । राजा र ईश्वर मान्दैन । एकतामा जोड दिन्छ । आज राष्ट्रगान र राज्य व्यवस्थाबीच देखापरेको अन्तरविरोधमा राज्यको दोष छ । राज्य सञ्चालकको दोष छ । त्यसवेला लेखिएको राष्ट्रगानमा समावेशिताको गहिरो अपिल छ । बाह्रबुँदे सहमति र विस्तृत शान्ति सम्झौताको सार पनि छ । तर, अहिले राष्ट्रगान र राज्यव्यवस्थाको चरित्रबीच अन्तरविरोध बढ्न थालेको छ । समावेशिता, वास्तविक पहिचानमा आधारित संघीयता, धर्मनिरपेक्षता, विदेशी हस्तक्षेपमुक्त राष्ट्रको सपनाजस्ता विषयको विपरीत राज्य व्यवस्था जान थालेपछि राष्ट्रगानको भावलाई न्याय भएको छैन ।
०००
राष्ट्रगानलाई ‘बालगीत’जस्तो भनेर आलोचना गरिएको पनि सुनियो । ‘संसारका उत्कृष्ट राष्ट्रगानमध्ये नेपालको राष्ट्रगान पनि प¥यो’ भन्ने पनि सुनियो । कसैले के भनेर बालगीतजस्तो भने, अर्काले के भनेर संसारको उत्कृष्ट राष्ट्रगानमा राखे, यस्तो विमर्श भइरहेकै जाती । 

देशको आफ्नो राष्ट्रगान राख्ने चलन सामन्तवादी कालमा सुरु भयो । बेलायतको सिको गरेर नेपालमा पनि राष्ट्रगानको प्रचलन भित्रिएको हो । जुन–जुन देशमा गणतन्त्र स्थापना भए, ती देशमा गणतान्त्रिक राष्ट्रगान जरुरी हुन पुग्यो । नेपालमा पनि भएको त्यही नै हो ।
संसारमा एउटा संविधानको चिहानमाथि अर्को संविधान जन्मिन्छ भनिन्छ । परिवर्तित व्यवस्थाअनुकूल नयाँ राष्ट्रगान बनाइन्छन् । नेपालको आजको दलाल पुँजीवादी व्यवस्थाको ढिलो या चाँडो मृत्यु अनिवार्य छ । नयाँ प्रगतिशील विचारले अहिलेको व्यवस्थालाई फेरिदिएपछि त्यो समयको प्रतिनिधित्व यो राष्ट्रगानले गर्न सक्दैन । त्यसपछि यो राष्ट्रगान फेरिन्छ र नयाँ समाज व्यवस्थाअनुसार नयाँ राष्ट्रगान बन्छ, बन्नु नै पर्छ ।

याे पनि पढ्नुहाेस ः सिंगो माला उन्नै बाँकी छ