• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
शान्ति तामाङ
२०७८ माघ २२ शनिबार ०७:५१:००
फिल्म

ओझेलमा डान्स डाइरेक्टर

२०७८ माघ २२ शनिबार ०७:५१:००
शान्ति तामाङ

कोरोनाबाट सिंगो नेपाली चलचित्र जगत्ले धक्का व्यहोर्नुपर्‍यो । मातृभाषी चलचित्र क्षेत्र पनि कोरोनाको कहरबाट अछुतो रहेन । मूलधारका चलचित्रकर्मी फाट्टफुट्ट विभिन्न गतिविधिमा देखिए पनि मातृभाषी चलचित्रकर्मी हिजो पनि गुमनाम थिए, कोरोना कहरमा झनै गुमनाम भए । गुमनाम नै भए पनि मातृभाषी चलचित्रकर्मी आफ्नो कर्मबाट भने विचलित भएका छैनन् । त्यस्तै गुमनाम मातृभाषी चलचित्रकर्मीमध्ये एक हुन्, नृत्य निर्देशक अजय स्याङ्तान । 


अजयले ‘मार्मेङ’, ‘आप्ल्येङला नाम्सा’, ‘म्युङ पुजु’जस्ता तामाङ भाषाका चलचित्र पनि निर्माण गरिसकेका छन् । ‘आप्ल्येङला नाम्सा–२’ को पनि छायांकन सकिएको छ । उनको परिचय तामाङ चलचित्र निर्देशकमा मात्र सीमित छैन । सर्लाही बरहथवामा जन्मेका उनले ९० वटाभन्दा धेरै नेपाली भाषाका चलचित्रको गीतमा नृत्य निर्देशन पनि गरिसकेका छन् । एक सय ५० भन्दा धेरै तामाङ चलचित्रका गीतमा पनि नृत्य निर्देशन गरिसकेका छन् । अजयले मगर, गुरुङ, राईलगायत मातृभाषाका दुई सयभन्दा धेरै चलचित्रको गीतमा नृत्य निर्देशन गरिसकेका छन् । एक हजारभन्दा धेरै म्युजिक भिडियोमा नृत्य निर्देशन गरिसकेका छन् ।


यहाँसम्म आइपुग्न अजयलाई सहज भने थिएन । न घर परिवारको साथ, न साथीभाइको साथ । पढाइमा अब्बल उनलाई परिवारले चलचित्र क्षेत्रमा लागेकै कारण राम्रो मानेन । सानैदेखि नाच्न मरिहत्ते गर्ने उनी विद्यालय, गाउँघर र जिल्ला तहका नाच्ने कार्यक्रममा सहभागी भइरहन्थे । पुरस्कार पाएरै छाड्थे । ‘स्कुलमा त जुनसुकै डान्स कार्यक्रममा सहभागी हुन्थेँ । गाउँमा पनि बाजागाजा बजेको देख्नै नहुने, नाच्न कुदिहाल्थेँ,’ उनी भन्छन्, ‘प्रतियोगिताहरूबाट रेडियो, घडी, वाकमेन उपहार पाउँथेँ ।’


नाच्ने सपनाले उनलाई सर्लाहीबाट काठमाडौँ तान्यो । २०५३ सालमा आँखाभरि सपना बोकेर काठमाडौँ पसे । फिल्म सुटिङ हुने ठाउँहरू खोज्दै धाइरहे । खोज्दै जाँदा अजयले बिजुलीबजार नजिकै राजेन्द्र खड्गी, जल शाह, मेलिना मानन्धरहरूलाई देखे । त्यसपछि उनी लगातार त्यो ठाउँ धाइरहे । ‘मैले त्यहाँको पालेबाट नृत्य प्रशिक्षक कमल राई हुनुहुन्छ भन्ने थाहा पाएँ । त्यसपछि उहाँलाई भेट्न १५ दिनजति प्रत्येक दिन तीन चार घन्टा कुरेँ तर भेट गर्न पाइनँ,’ उनी सम्झिन्छन् । उनको कोसिस सफल भएन । निराश भएर फेरि सर्लाही फर्किए । 


गाउँ पुगे पनि फिल्ममा नाच्ने सपनाले अजयलाई चुपचाप बस्न दिएन । २०५५ सालमा फेरि काठमाडौँ आए । बल्लबल्ल ‘घामछाया’ फिल्ममा साइकल चलाउने सानो भूमिका पाए । तर बिडम्बना ! उनलाई त्यतिवेला साइकल नै चलाउन आउँदैनथ्यो । उनको सपना पूरा भएन । त्यसपछि उनले सोल्टी होटेलका काम पाए ।
साइकल चलाउन नआउने रहेछ भनेर निकालिएपछि पनि उनको सपना टुटेन । भन्छन्, ‘त्यसवेला साह्रै मन दुख्यो । तर, जसरी भए पनि फिल्ममा नाच्छु भन्ने सपना देख्न छाडिनँ । अब मलाई फिल्ममा नाचिछाड्ने नशा नै चढेजस्तो भयो ।’ फिल्म लाइनमा लाग्न उनले पढाइ छाडे ।


जागिर छाडेर फेरि गाउँ गए । अजयका लागि जागिरभन्दा ठूलो आफ्नो सपना थियो । २०५८ मा एसएलसी पहिलो श्रेणीमा पास गरेर फेरि काठमाडौँ फर्के । विज्ञान विषय पढ्न त्रिचन्द्र क्याम्पसमा नाम पनि निकाले । तर, पढ्नुभन्दा कता नाच्न पाइन्छ भनेर दगुर्नु उनको दैनिकी हुन थाल्यो । दोस्रोपटक फेरि पढाइ छाडेर चलचित्र क्षेत्रमै लागे ।

अजयले मगर, गुरुङ, राईलगायत मातृभाषाका दुई सयभन्दा धेरै चलचित्रको गीतमा नृत्य निर्देशन गरिसकेका छन् । एक हजारभन्दा धेरै म्युजिक भिडियोमा नृत्य निर्देशन गरिसकेका छन् । तर, उनी मूलधारमा गुमनाम छन् ।

 

अजयले मगर, गुरुङ, राईलगायत मातृभाषाका दुई सयभन्दा धेरै चलचित्रको गीतमा नृत्य निर्देशन गरिसकेका छन् । एक हजारभन्दा धेरै म्युजिक भिडियोमा नृत्य निर्देशन गरिसकेका छन् । तर, उनी मूलधारमा गुमनाम छन् ।


अवसरको खोजीमा दौडिरहँदा उनलाई एक्कासि जनकपुरबाट केही मानिस लिन आए । उनीहरूको प्रस्ताव थियो– मैथिली चलचित्र ‘पानकी दोकान’मा नृत्य निर्देशन गर्नुपर्ने । ‘ढुंगा खोज्दा देउता मिले’जस्तै उनी तुरुन्तै जनकपुर दौडिए । अब सुरु भयो अजयको सपनाको यात्रा । ‘पानकी दोकान’ चलचित्र उनले नृत्य निर्देशन गरेको पहिलो चलचित्र बन्यो । त्यो फिल्मपछि उनी झनै उत्साहित भए । उनको काम मन परेर अरू पनि कामको प्रस्ताव आउन थाल्यो । नृत्यमै केही गर्ने सपनाले अब उनलाई मुम्बईसम्म पुर्‍यायो । २०५९ सालमा फिल्ममा नाच्न उनी मुम्बई हानिए । ६ महिना नृत्य सिके । हैदराबाद आएर फेरि एक वर्ष नृत्य सिके । त्यहाँको बी ग्रेड, सी ग्रेडका फिल्ममा खुब नाचे । तर, सुनिल सेठ्ठी, सञ्जय दत्त, साहरूख खान, सलमान खानजस्ता बलिउडका कलाकारसँग नाच्ने इच्छा भने पूरा भएन ।


मुम्बईबाट फर्केर ‘सिरिमा सिरी’ बोलको म्युजिक भिडियोमा नृत्य निर्देशकको रूपमा काम गरे । ‘साथीहरूले पहिलादेखि नै तपाईंमा फिल्म नै निर्देशन गर्न सक्ने क्षमता छ भनेर हौसला दिन्थे । मेरो आँट थिएन । मलाई नेपाली फिल्म ‘बुलेट’ निर्देशनका लागि भनिएको थियो । तर, नाच्नेभन्दा अरू नगरौँ भनेर गरिनँ,’ उनी भन्छन् । भूकम्पपछि दोर्जे तामाङले लेखेको ‘आप्च्याङ्ला नाम्सा’ भन्ने चलचित्र निर्देशन गरे ।


पाँचवटा तामाङ भाषाका चलचित्र निर्माण गरिसकेका उनी कथा हेरेर मात्र निर्माण कार्यमा हात हाल्छन् । तर, जति पनि तामाङ भाषाका चलचित्र बने, ती चलचित्रका प्रायः कलाकारमा कलामा मिहिनेत अझै नपुगेकाले र चलचित्र पनि खँदिलो नभएकाले मूलधारका चलचित्रसँग प्रतिस्पर्धा गर्न नसकिएको उनको बुझाइ छ । ‘हाम्रो समुदायमा पैसा भए हिरो–हिरोइन भइन्छ भन्ने छ,’ उनी भन्छन् ।


‘आप्च्याङ्ला नाम्सा’लगायत पाँच तामाङ चलचित्र निर्माण गरिसकेका उनी पछिल्लो समय भने राम्रा कथा र कला बोकेका चलचित्र र कलाविहीन चलचित्र छानिँदै गएको बताउँछन् । उनी भन्छन्, ‘तामाङका पनि आफ्नै कथा छन्, इतिहास छ । यसबारे अब फिल्म बन्नुपर्छ ।’ दुःखद् पक्ष के छ भने तामाङ भाषाका कुनै पनि चलचित्रले प्रदर्शनका लागि सिनेमा घर पाउँदैनन् ।

 

सिनेमा घरसम्म कोही पुर्‍याउन चाहँदैनन् पनि, च्यारिटीमै सकिन्छ । जसका कारण तामाङ भाषाका चलचित्र गुमनाम हुन पुगेको उनको भनाइ छ । ‘६० देखि ७० प्रतिशत तामाङ फिल्म तामाङ संघ–संगठनमार्फत विदेश जान्छन् । त्यतै लगेर चलाउने गरिन्छ । उतैबाट लगानी उठाइन्छ,’ उनी भन्छन्, ‘मातृभाषी फिल्महरू गुमनाम हुनुको कारण भाषा पनि हो । हामीले हल पाउँछौँ । वितरकले भाषा अनुवाद गरेर ल्याऊ पनि भन्छन् । तर, हेर्नलायक फिल्म नै हुँदैन । त्यसैले मूलधारको फिल्मसँग हामीले प्रतिस्पर्धा गर्न सकेका छैनौँ । बुद्धि तामाङ, जयनन्द लामाजस्ता कलाकार पनि अब तामाङ फिल्ममा फर्किनुपर्छ । अनि मात्रै हामी मूलधारसँग प्रतिस्पर्धा गर्न सक्छौँ ।’