त्यस बखत एउटा गाउँ जिउँदो–जाग्दो थियो । आफैँले उब्जाएका अन्न, सागपात खान्थ्यो । मेला, पर्म, छिमेकी थिए । थिए आफ्नै माटोबाट उब्जिएका चाडपर्वको रौनक ।
त्यो गाउँ अहिले मरिरहेछ । र, छ अधमरो ।
म काँठ भन्दिनँ, गाउँ भन्छु । काँठ शब्द त मैले धेरै पछि सुनेको हुँ । काँठे होइन, म आफूलाई पाखे सम्झिन्थेँ, अलग्गै दुनियाँको ।
लेले गाउँ सहर र दक्षिण ललितपुरको बीचमा छ । दक्षिण ललितपुर महापाखो हो, जसलाई देख्दा मलाई रिँगटा छुट्छ । त्यत्तिकै रिँगटा छुट्छ सहर र सहरका अभिमानले हुप्प फुलेका मानिस देख्दा ।
हामी यस्तो महानगरमा बसेर झुठमुठको घमन्ड गर्र्छौं, जसको छेवैमा महापाखो छ । ओठ लेप्राउन, नाक खुम्च्याउन हामीले जति अरू कसैले जानेकै छैनन् ।
हो, त्यस वेलाको गाउँ अहिले छैन । छ, कतै स्मरणमा, मुटुको कुनै कुनामा ।
त्यसवेलाको स्कुल, आउनेजाने बाटो, खोला, माछापोखरी, जंगल अहिले छैनन् ।
त्यसवेलाका मानिस अहिले छैनन् ।
भारी बोकेर आउने भरियालाई पिँढीमा बसेर पानी खुवाउने हाम्री हजुरआमा पनि छैनन् ।
‘छैनन्’ को लहर लामो न लामो छ अर्थात् गाउँ बदलिएको छ । अर्थात् गाउँ मरिरहेछ ।
समाजशास्त्री चैतन्य मिश्र भन्छन्– गाउँले मर्नैपर्छ । काँठ त झन् पहिले नै मरिसक्नुपथ्र्यो, मरिरहेछ ।
गाउँलाई अब गाउँ र सहरको सम्मिश्रण भन्नुपर्छ । अंग्रेजीमा सेमी–अर्बान वा रुरल–अर्बान भन्नुपर्छ । अब त्यो ग्रामीण, ग्रामीण छैन, त्यो सहरउन्मुख भइसक्यो, सहरमा समाहित हुँदै छ गाउँ, सहरको संसर्गविना गाउँ बाँच्न नसक्ने भएको छ । यस्तो निचोड छ, समाजशास्त्री मिश्रको । यसको सोझो अर्थ हो, गाउँको आत्मनिर्भरता धुलिसात भइसक्यो । गाउँ अब पहिलेजस्तो एक्लै उभिन सक्दैन । झन् काँठको व्यथा असंहार छ । सहरको सानो प्वाँख नै काँठलाई हल्लाउन काफी हुन्छ ।
इतिहास पढ्नुहोस्– सहर निर्माण हुन उत्पादन सम्बन्ध फेरिनुपर्छ, उद्योग कलकारखाना खुल्नुपर्छ, रोजगारीका नयाँ आयाम थपिनुपर्छ । त्यो काँठमा कहाँको उद्योगधन्दा खुल्नु, कहाँको उत्पादन सम्बन्ध फेरिनु । काँठ त आफूलाई बेचेर, उत्पादन हुने सारा फाँट, खेतबारी सहरलाई बुझाएर सहर हुन खोजिरहेछ । धान पाकेर पहेँलपुर हुने फाँटमा तीन, चार तलाका बिल्डिङ ठडिएका छन् । डोजर अगाडि लगाउँदै हातमा घन, गल र पिक लिएर मानिस पहाड कोतर्न निस्किरहेका छन् । विकास भन्नु खेत, खलियान होइन, डोजर र टिफरका लस्कर हुन् भन्ने मान्यता जबर्जस्ती स्थापित छ । खानी, क्रसर, इँटा कारखानाले ढुंगा, माटो खाइरहेछन् अर्थात् काँठलाई चपाइरहेछन् । सार्वजनिक बस चल्छन्, आउन–जान सहज छ, तर दुःख त उस्तै छ काँठतिर ।
सहरको आहारा बन्नुअघि निकै निरीह देखिन्छ काँठ । जग्गा नाप्ने फित्ता बढेपछि अलि–अलि रौनक छ, तर यो रौनक बिक्रीको हो । बेचिइरहेछ काँठ । बेचिन अभिशप्त छ काँठ ।
एउटा कुरा बदलिएको छैन, त्यो हो ‘कोलाको ढिक’ । यो त्यही ढिक हो, जहाँबाट झरेर बेँसीको बजारमा नुन किन्न आउनुपथ्र्यो । हामी ओरालो उकालो गर्दा उछलकुद गर्ने ढिक । कोलाको ढिक उस्तै भए पनि आँखाको परिधि फेरिएको छ, क्षितिजको रङ बदलिएको छ ।
समग्रमा काँठको सरगम फेरिएको छ ।
०००
१०/१२ सालमै खुलेको एउटा पुरानो सरकारी विद्यालय छ लेलेमा, जुन स्कुलमा मैले पाँच कक्षासम्म पढेको थिएँ । ऐंसेलु खाँदै पाखाभित्तो दौडिएका यादहरू ताजै छन् । ताजै छन् झलक सर, मुरली सरका अनुहार र सुकुलमा बसेर कखरा पढेको पराले छाप्रो । हामी पढ्दा कक्षा १० सम्म नै पढाइ हुन्थ्यो, नत्र कक्षा पाँच पढेपछि किटिनी वा काठमाण्डू आउनुपथ्र्यो । बाले हामीलाई सुन्दर भविष्य खोज्दै दुःखजिलो गरेर आफू पढेको स्कुलमै ल्याए, विश्व निकेतन । कुपन्डोल डेराबाट बाग्मती नदी तरेर पारि त्रिपुरेश्वरमा पढ्न जान्थ्यौँ । नदीमा पानीको तह बढेको वेला थापाथली पुलबाट आउनेजाने गथ्र्यौं । त्यो भीमसेन थापाले बनाएको भनिएको फलामको गाडा, बग्गी हिँड्न मिल्ने ऐतिहासिक पुल भत्काएर अहिले मोटर गुड्ने पक्की पुल बनाइएको छ । बाग्मती नदीलाई कोरिडरको नाममा कुलो जत्रो बनाइएको छ । हामी त बाग्मतीमा नुहाउने, लुगा धुने गथ्र्यौं ।
चाडबाड र वेलामौकामा हामी लेले जाने गथ्र्यौंं । सहरमा त को नै थिए र हाम्रो ? घर जाने भनेपछि त्यहाँको हावा, पानी, रनवनको सुगन्ध नाकमै ठोक्किन आइपुग्थ्यो । जिउमा नयाँ उमंग कुँदेर उत्पातै रमाइलो हुन्थ्यो, अनुहार चम्केर अर्कै बन्थ्यो । ४२, ४३ सालमा बसको सुविधा थिएन, चापागाउँबाट एकघन्टा हिँडेपछि लेले पुग्थ्यौँ । चोर लाग्ने जंगलको त्यो बाटो, अनि त्यो भञ्ज्याङ चौतारो जहाँ लेलेको ताजा हावाले छुन्थ्यो, ढुङ्गा चढाएर हामी लेले भञ्ज्याङ ओर्लन्थ्यौँ । यस्तो थियो हाम्रो विगत, काँठको विगत । जागिर खानेले आउन जान औधी कठिन थियो, डेरा खोजेरै बस्नुपथ्र्यो । हाम्रा ठूलाबा थिए, कहिल्यै गाडी चढ्न नसक्ने । ससुराली थियो नैकाप । ती हिँडेरै नैकाप पुग्थे । नख्खुडोलमा बिहे भएको थियो फुपूदिदीको । म एकाधपटक हजुरआमासँग डेढ–दुई घन्टा हिँडेर नख्खुडोल पुगेको छु ।
सहर पनि बदलिएको छ । सहर बदलिएर बर्मुडा क्षेत्रजस्तो भएको छ । लखरलखर हिँड्दा बाटोमा समाहित हजुरआमाका पाइला सहरले मेटिदिएको छ । त्यो हिँड्ने सर्पिलो बाटो पनि कता हो कता हराइसकेको छ । अब म हिँडेर त्यो नख्खुडोल पुग्न सक्दिनँ । नख्खुडोलको स्वत्वलाई भैँसीपाटीले निलिसकेको छ ।
लगनखेलसम्म हिँडेर आउनेको कथा अझै बाँकी छन्, जो भर्खर पचास वर्षमाथि उक्लिएका छन् । अर्थात्, यो कथा धेरै पुरानो छैन । यो ३०–३५ वर्षको कहानी हो, अलिखित इतिहास हो । साधारण मानिसको दुःख, वेदना र व्यथाको इतिहास मनमै लेखिने हो । मानिस मरेपछि त्यो इतिहास पनि मर्छ, हराउँछ । हिँड्नेहरूको दुःखका कथा, इतिहास छातीमा अझै ताजा छन् । लगनखेल आउन लाग्थ्यो जम्मा तीन घन्टा । दश दिन हिँडेर मात्र गाउँ छिचोल्नेको पीडाको अगाडि यसको कुनै अर्थ छैन । तर, सहरलाई भेट्न यसरी हिँडिरहनुको पीडा काँठसँग मात्रै छ । नख्खिपोट क्षेत्रको सिस्नोघारीको कथा, स्याल कराउने कथा बाँकी छन्, तिनका छातीभित्र । काँठले यसरी सहरलाई न नजिक भेट्टायो, न त टाढा । असनलाई सहर भन्ने लेखक/कवि आहुति नैकापलाई काँठ भन्थे । आहुतिको त्यो काँठलाई सहरले निलिसक्यो । त्यो काँठ सक्किसक्यो, बाँकी छैन । लेलेको काँठपन केही–केही बाँकी छ । नैकापको अगाडि लेले त दुर्गम नै भयो । ललितपुरको पनि बीच भाग । गोटिखेल, ठूला दुर्लुङ, आश्राङ, प्युटार कति छन् कति, नपुगेका र नदेखेका गाउँ ।
०००
काँठको दुःखमा आकाश–पाताल केही फरक छैन, तर काँठको भोल्युम बढेकोबढेकै छ । पुराना घरका ठाउँमा सिमेन्टका घर ठडिएका छन्, खेतीयोग्य जमिन घट्दै छ । कसरी घर बनाउनु भो ? एउटा सदाबहार प्रश्न तेस्र्याउँदा उत्तर रेडिमेड छ । कि त जग्गा बेचेको छ कि विदेशमा काम गरेर कमाएका छन् । अझ भन्नुहुन्छ भने पुख्र्यौली छाला बेच्नेको संख्या अधिक छ । सहर फैलिँदै गएपछि काँठमा फित्ता लिएर जमिन नाप्नेको ताँती पनि बढ्छ । काँठको श्रम सौन्दर्यलाई सहरले निमोठ्दै गएको छ ।
शिक्षाको सिंहासनमा बस्नेलाई भनिदिऊँ– अझै कलेज छैनन् लेलेमा । बसमा कोचिएर कलेजका पोसाक लगाएर लगनखेलसम्म पढ्न हिँडेका विद्यार्थीको अर्को ताँती भेटिन्छ । ६ बजेको कलेज भ्याउन राति २, ३ बजे नै उठ्नुपर्छ । नत्र ४ बजेको पहिलो बस छुट्न सक्छ । ११ बजेसम्म पढेर घर फर्किंदा १, २ बज्छ । खाना खान ढिला भएर ती केटाकेटी ग्यास्ट्रिकको बिरामी हुन सक्छन् । बाटोमै बित्ने घन्टौँ समय विनाशले पढाइको स्तर माथि उक्लिन मुस्किल छ । बसको के कुरा गर्नु ? यात्रु कुर्दै चिप्लेकिराझैँ हिँडेर नाफा कमाउन ती चतुर भइसकेका छन् । जोसुकैलाई ढिला होस्, उनीहरूलाई के बाल मतलब भोे ? ढिला भएको कारण ड्राइभरसँग भनाभन नभएको कुनै सिफ्ट हुँदैन । अफिस आउने, जानेको पीडा यस्तै छ । यसरी काँठ काँठ नै रहेको छ । अर्कोतर्फ मोटरसाइकलमा कुद्नेको संख्या बढिरहेको छ, सेकेन्डह्यान्ड गाडी किनेर नाक फुलाउने काँठेको संख्या वृद्धि भइरहेकोे छ । काँठ भनेको सहरको सेकेन्डह्यान्ड जीवन भइरहेछ । जे पनि सेकेन्डह्यान्ड । सेकेन्डह्यान्ड घमन्ड । सेकेन्डह्यान्ड राजनीति । सेकेन्डह्यान्ड लभ । सेकेन्डह्यान्ड किताब । सेकेन्डह्यान्ड संस्कृति । सेकेन्डह्यान्ड फेसन । सेकेन्डह्यान्ड लवज । सेकेन्डह्यान्ड आकृति । आदि इत्यादि ।
चिया पसलको रौनक गज्जब छ, काँठतिर अझै पनि । मौसमी काम भएपछि मानिस चिया पसलमा रल्लिँदै देश, विदेशका गफ चुटिरहेका हुन्छन् । सबैजना सबै कुरा जान्ने । गफ त लडाउने कुरा न हो । फेसबुकका कुरा मेसेन्जरमा होइन, भेटेरै गर्नुको मज्जा छ काँठमा । पहिले पाका मानिस भेटिन्थे चिया पसलमा । अहिले महिला पनि बराबर भेटिन्छन् । केटाकेटी पनि हुन्छन् । बेरोजगार, अर्धबेरोजगार मानिसको दैनिकी नियाल्न सायद काँठ नै जानुपर्छ ।
काँठ भनेको सहरको सेकेन्डह्यान्ड जीवन भइरहेछ । जे पनि सेकेन्डह्यान्ड । सेकेन्डह्यान्ड घमन्ड । सेकेन्डह्यान्ड राजनीति । सेकेन्डह्यान्ड लभ । सेकेन्डह्यान्ड किताब । सेकेन्डह्यान्ड संस्कृति । सेकेन्डह्यान्ड आकृति ।
सहरको विकृति मल्टिप्लाई भएर काँठ पुग्छ । लखरलखर हिँड्ने ऊर्जाशील युवाको ऊर्जा घुमेरै बितेको छ, ती घरमा बस्दैनन्, करेसाबारी र गोठमा रमाउँदैनन् । नयाँ–नयाँ मन्दिर बनेका छन्, व्यापारका नयाँ केन्द्र । घुम्न आउने जोडीका लागि नयाँ डेस्टिनेसन । व्यापार चम्किएका छन् । कसरी काँठबाट नाफा निकाल्ने हो, होटेल लजले आँखा गाडेका छन् । नयाँ–नयाँ भट्टी खुलेका छन् ।
०००
नाक काटिएको काँठ । लिच्छिवि र मल्लकालमा काँठ सहर थिए, इतिहासमा उल्लेख गरिएको छ । अहिले पनि यहाँ पुराना मन्दिर, दरबारको भग्नावशेष भेट्न सकिन्छ । ढुंगामा खोपिएका शिलालेख पनि छन्, तर ती बेवारिसे छन् । विकास भन्नु बाटो अनि मन्दिर बनाउनु एउटा मानक बनेको छ मानिसको मनमा, नेतृत्वको दूषित मस्तिष्कमा । हो, भटाभट मन्दिरको पुनर्निमाण हुँदै छन् । तर, ती कहिल्यै सकिएका छैनन् । महायज्ञ लगाएर ठूलै रकम जम्मा गरियो, नेतागणमा सहयोग गर्ने प्रतिस्पर्धा चल्यो । महायज्ञ विकासले काँठलाई पनि अँठ्याएको छ । टाउकोमा कलश राखेर हर हर महादेव भन्नेको पंक्ति भेटिन्छन् प्रायः ।
काँठ भनेको नाक हो अर्थात् नाका । कुनै समय कर उठाउने नाका थियो काँठ । हिँडेर आउने जानेको लर्को लाग्थ्यो । भारी बिसाउने, मोलतोल गर्ने संगम थियो काँठ । लिच्छिवि र मल्लकालमा यसको ख्याति व्यापक थियो, त्यसवेला यसको रौनक बेग्लै थियो । अहिले त्यो ताँती छैन, त्यो रौनक छैन । अहिले निसान गाडीमा सामान ओसारिन्छ । काँठ ठन्डाराम भएर हेरी बस्छ । पुट्ठा सुकेको मान्छेजस्तो भइरहेछ काँठ । बिल्लिबाँठ छ काँठतिर । पहिले पृथ्वीनाराण शाहले कीर्तिपुरवासीको नाककान काटेका थिए, अहिले सहर र आधुनिकताले काँठको नाक काटिरहेछन् । सहरको आहारा बन्नुअघि निकै निरीह देखिन्छ काँठ । जग्गा नाप्ने फित्ता बढेपछि अलि–अलि रौनक छ, तर यो रौनक बिक्रीको हो । बेचिइरहेछ काँठ । बेचिन अभिशप्त छ काँठ ।
नाक गुमाइसकेको काँठ कहिल्यै अब्बल बन्न सकेन । न त यसले संस्कृतको वेद पढ्न सक्यो, न त चलाउन सक्यो धारिलो हतियार । काँतर पनि हो यस मानेमा । राजनेता लुक्ने स्थान पनि बनेन काँठ । यहाँ न अहिलेसम्म एउटै पिएचडी भेट्नुहुन्छ, न त उच्चस्तरीय सरकारी अधिकृत । काँठे गफाडी हुन्छन्, राजनीतिका कुरा हाँक्छन् भनेर के गर्नु ? यहाँ एउटै नेता भेटिन्न । भेटिन्न भन्दा चित्त दुख्छ, तर ती नेता वडास्तरका, ताली बजाउने स्तरका हुन्छन्, दुई–चारजनाका नेता ।
सहर बन्ने धुन सवार छ काँठमा । भन्छन् नि सहरउन्मुख । तर, सहरभन्दा धेरै पछि छ काँठ । यसका धान झुल्ने फाँटमा सहरको गिद्दे नजर खसिसक्यो । अब जग्गा सस्तो छैन, यसको अर्थ काँठ पूरापूर बिक्री भइसक्नै लाग्यो ।
ठूला नेतालाई भेट्न, सेल्फी खिच्न अनि फेसबुकमा चिप्काउनसमेत जान्दैनन् काँठेले । त्यसैले यिनले गरी खाँदैनन्, गरी खाएका छैनन् । नेताको दैलो चहार्न पटक्कै नसक्ने, नजान्ने । यो मेरो मात्र प्रवृत्ति होइन, अनुभवले, देखेर, भेटेर, आम कुरा बकिरहेको छु । त्यसैले लाग्छ, काँठको नाक छैन । कुनै मुद्दा–मामिला चलोस्, चौकी धाउन परोस्, ती छेरभालु हुन्छन्, कारण तिनको पहुँच पुग्दैन, तिनका कोही आफ्ना हुँदैनन् । दया लिन जान्दैनन्, चाहँदैनन् ।
साला काँठमे क्या हे ! काँठको दुर्नियति भन्नु नाम र दाम कमाएका सदस्यले यसलाई चटक्कै छोड्नु हो । काँठ छाडेर सहरको केन्द्रमा बस्नेको संख्या बढिरहेको छ । ती निम्न ओहोदादेखि अलि–अलि हुनेखाने सरकारी कर्मचारी छन्, जो मध्यमस्तरको जागिरमा पुगेका छन् । बिजिनेस नै गर्ने काँठे त्यति धेरै छैनन् । अचम्म, तिनले एउटा संस्था खोलेका छन्, ‘...एकता समाज’ । पत्रिका निकाल्छन् र समय–समयमा भेटघाट गर्छन् । अब रवाफ हेर्नुहोस्– तिनको आँखामा घमन्ड सवार भएको देखिन्छ । धेरै त चाडबाडमा मात्र फर्किन्छन्, कोही–कोही कहिलेकाहीँ गाउँ आउँछन् जस्तो तिनको पुर्खौली खेतीपाती गाउँमै हुन्छ र आफूलाई नयाँ ठाउँमा नयाँ मानिस आएझैँ प्रस्तुत गर्छन् । तिनको प्रस्तुति मीनबहादुर विष्टको कवितामा लाहुरेको जस्तै हुन्छ, अलि मिलाएर भनौँ– साला काँठमे क्या हे ! यस्तो परिवारको संख्या बढी छ, तर अहिले जग्गा बेचेर ठुल्ठूला घर निर्माण भएका छन् । सहर बन्ने धुन सवारमा छ काँठ । भन्छन् नि सहरउन्मुख । तर, सहरभन्दा धेरै पछि छ काँठ । यसका धान झुल्ने फाँटमा सहरको गिद्दे नजर खसिसक्यो । अब जग्गा सस्तो छैन, यसको अर्थ काँठ पुरापूर बिक्री भइसक्नै लाग्यो ।
‘सहरलाई एकछिन छाडेर गाउँमा टहलिन लेले लैजानोस् न केशवजी ।’ यसो भनिरहेछन् साथीहरू । २०६२ सालमा खगेन्द्र संग्रौला, विमल निभा, श्यामल, गोविन्द वर्तमान, विक्रम सुब्बा, अभय श्रेष्ठ, पदम गौतम, नमर्देश्वर प्रधान अनि यज्ञनिधि दाहाललगायत पुगेर निर्दयी राजसंस्थाविरुद्ध असहमतिका स्वर घन्काइएको थियो । केही कार्यक्रम गरियो, तर यहाँका मानिसले बिउँझने हिम्मत गरेनन् । राजन मुकारुङ, विनोदविक्रम केसी, स्वप्नील स्मृति, चन्द्रवीर, विकास बस्नेत, नविन विभास, छम गुरुङ पुगेका छन् लेलेको जङ्गलमा मर्निङ वाक गर्न । उन्मुक्त कविता सुनाउन पुगेका थिए प्रकाश गुरागाईँ, केवल बिनावी, मुक्तान थेवा, माधव घिमिरे ‘अटल’, सुमनराज श्रेष्ठ । अब त्यो काँठ पहिलेजस्तो छैन । कुन काँठ देखाउन लैजानु अब ?