• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
किरण दहाल
२०७८ माघ २९ शनिबार ०७:४३:००
सम्झना

 संग्रौला र संवाद : देशलाई अर्को डोज क्रान्ति अनिवार्य भएको छ

२०७८ माघ २९ शनिबार ०७:४३:००
किरण दहाल

लेखक खगेन्द्र संग्रौलासँग अनुवादकर्म र लेखकीय प्रतिपक्षताबारे किरण दहालले संवाद गरेका छन् :

 

 संग्रौला र अनुवाद


तपाईंको पहिलो अनुवाद ‘अजम्मरी गाउँ’को जन्म र प्रभावको कथा सुन्न पाइएला कि ? अनुवाद गर्न यो किताब नै किन रोजियो ? यो कसरी छापियो ? तपाईंको अनुवाद अनुभवको लामो यात्रामा यसको महत्ता र स्थान के हो ? 


हो, ‘अजम्मरी गाउँ’ मेरो पहिलो अनुवाद हो । ख्यालख्यालमै भएको पहिलो अनुवाद । खासमा ‘अजम्मरी गाउँ’ अनुवादको मेरो पहिलो पाठशाला हो । स्वनिर्मित पाठशाला । बिएको जाँच दिएर म काठमाडौँमा खाली बसेको थिएँ । असन–इन्द्रचोकतिर फाटफुट ट्युसन पढाउँथेँ । बाँकी समयमा गर्नलाई मसँग केही थिएन । संयोगवश, निरञ्जन गोविन्द दाइको भोटाहिटीको पसलमा एउटा उपन्यास फेला पर्‍यो– ‘द भिलेज द्याट उडन्ट डाई’ । लेखक रहेछन् न्युयेन न्होक, काका होची मिन्हको देशका तगडा क्रान्ति–योद्धा । छापामार पृष्ठभूमि र अनुभवले सुसज्जित । सरल भाषाको त्यो उपन्यास मलाई औधी मन पर्‍यो । कथानक छ फ्रान्सेली उपनिवेशवादविरोधी संग्रामको । लडाकु छन् आँटिला र अथक वीर–वीराङ्गना सामान्य जनता । भियतनामीहरूसँग आदिम प्रकृतिका परम्परागत हतियार मात्र छन् । फ्रान्सेलीहरू छन् टुप्पीदेखि पैतालासम्म आधुनिक हतियारले सज्जित । फ्रान्सेलीहरू भियतनामीहरूका आँगन कब्जा गर्न आएका छन् ।

 

भियतनामीहरू आफ्नो आँगन आफ्नो बनाउन लडिरहेका छन् । फ्रान्सेलीहरू अतिक्रमण र अन्यायका पक्षमा छन् । भियतनामीहरू छन्, मुक्ति र न्यायको पक्षमा । हाम्रो नेपाल पनि उँधोको विस्तारवादबाट पीडित थियो । मिचाहा विस्तारवाद कहिले सीमास्तम्भ साथ्र्यो, कहिले दमपच पाथ्र्यो । कहिले पारिकाले वारिका हाम्रालाई लुट्थे, कहिले कुट्थे । विस्तारवादपीडित नेपालीका लागि यो पुस्तक रोचक, प्रेरक र उपयोगी होला भन्ने लाग्यो मलाई । र लाग्यो, यो हाम्रो लाल अभियानमा एक उपयोगी पाठ पनि कसो नहोला ? बस्, अनुवाद कर्म सुरु भयो । प्रजापति प्रसाईं थिए मेरा कोठे सहभागी । उनको सुतीखेती थियो टुरिस्ट गाइड । उनमा लाल झुकाब र साहित्यमा रुचि थियो । उनी आफैँ त लेख्दैनथे तर लेख्नेहरूलाई उनी सहृदयी भावले प्रेरित र प्रोत्साहित गर्थे । वास्तवमा ती दिन म उनको आर्जनले पालिएको थिएँ । कोठाका सहबासीहरू मेरो अनुवादका दैनिक श्रोता थिए । प्रजापति प्रसाईं, विष्णु प्रसाईं, सूर्य कन्दङवा र भक्तराज कन्दङवा । तिनको हाई हाईले मलाई नित्य हौस्यायो र उपन्यासको अनुवाद सकियो । 


लहडैलहडमा अनुवाद त गरियो, अब यसलाई गर्ने के ? दिलदार मित्र शशी शेरचनले अनुवाद खुब मन पराए । उनले यो छाप्ने मनसुवाले साथीभाइहरूबाट आनासुकी बटुल्न खोजे । तर, जति बटुलियो, त्यो केवल हात्तीका मुखमा जिरोसरह भयो । शशी र मेरा एकजना साझा साथी थिए, ताप्लेजुङे केबी श्रेष्ठ । उनी थिए रेफ्रिजेटर मर्मतकर्ता । शशीले आग्रह गरेर हो वा उनको आफ्नै अन्तःप्रेरणाले हो म जान्दिनँ, केबीले अनुवाद छाप्न उनको रोलेक्स घडी बेचे । र यसरी यो अनूदित उपन्यासले प्रकाशनको उज्यालो देख्न पायो । 


त्यो परिवेश र त्यो संगतमा त्यसरी ‘अजम्मरी गाउँ’ अनुवाद भएर नछापिएको भए सायद म अनुवादक बन्ने थिइनँ । ‘द भिलेज द्याट उडन्ट डाई’को अनुवाद भयो र छापियो, र सुरु भयो मेरो अनुवाद कर्मको लामो यात्रा । मैले जति पुस्तक अनुवाद गरेँ, ‘अजम्मरी गाउँ’ ती सबैको जननी हो । योे जननीको जायजन्म नहुँदो हो त ती सबैको जायजन्म हुने थिएन । त्यसैले मेरा सबै अनुवाद ‘अजम्मरी गाउँ’को अनुवादप्रति कृतज्ञ छन् । 


यो ‘अजम्मरी गाउँ’ पचास वर्षपछि हालसालै पुनः प्रकाशित हुँदा तपाईंलाई कस्तो लागेको छ ? अनुवादमा पाँच दशक बिताइसक्नुभयो । अनुवादका मजा के रहेछ ?


अहिले पचास वर्षपछि यो अनुवादको चौथो संस्करण छापिँदा मेरो मनको एक छेउ प्रसन्न छ, मनको अर्को छेउ खिन्न छ । कथानकको ओज, शिल्पको आकर्षण र अनुवादको जेनतेन पठनीयताका कारण ‘अजम्मरी गाउँ’को संस्करणपछि संस्करण छापियो । तर, यसको जायजन्ममा जजसको प्रेरणा र योगदान थियो, ती कोही नै रहेनन् । काका होची मिन्ह रहेनन् । न्युयेन न्होक रहेनन् । प्रजापति प्रसाईं, सूर्य कन्दङवा र भक्तराज रहेनन् । अस्ति मात्र शशी शेरचन उर्फ स्वनाम साथीले पनि जीवन बिसाए । साथी केबी श्रेष्ठ दैहिक रूपले जीवितै छन्, तर विस्मरणको व्यथाले गर्दा उनी आफैँलाई धरि चिन्दैनन् । एउटा रोचक कुरा, विषय र शिल्पमा दम भएको रचनाको आयु यसका प्रेरक, लेखक र अनुवादको भन्दा लामो हुँदो रहेछ । त्यसैले पो लेखक न्युयेन न्होकले उपन्यासको नाम ‘अजम्मरी गाउँ’ राखेका हुन् कि !

लोकमानसमा आशा जगाउन, लोकदृष्टिमा उज्यालो भर्न र सन्तापग्रस्त सपनाको उद्धार गरी सत्ताको यो चरम भ्रष्टता र सत्तासीन चिन्तनको यो चरम पश्चगमनलाई ठोकठाक, धोई–पखाली र सुधार–परिष्कार गर्न देशलाई अर्को डोज क्रान्ति अनिवार्य भएको छ ।


अँ, अनुवादको मजा अनुवाद गर्नुमै छ । जब मन परेको कृतिको निष्ठा र इमानसाथ अनुवाद गरिन्छ, त्यसबाट प्राप्त हुने मजा शब्दातीत छ । अनुवादमा अनुवादकले सिर्जनशील हल्काराको भूमिका निर्वाह गर्छ । र, एउटा भाषा र संस्कृतिको श्रेष्ठ रचना अर्को भाषा र संस्कृतिमा स्थानान्तर गर्छ । खासमा अनुवाद भाषा–भाषाबीच, संस्कृति–संस्कृतिबीच र जनता–जनताबीच मितेरी साइनो गाँस्ने भावनात्मक, वैचारिक एवं सांस्कृतिक सेतु हो । यस्तो सेतुको निर्माणमा केही योगदान गर्न पाउनु अनुवादकका लागि कम मजाको कुरा होइन ।


अनि नमज्जाचाहिँ के रहेछन् ? 


अनुवादका नमज्जा अनेक छन् । एक, अनुवाद मौलिक सिर्जनाजस्तै सिर्जन कर्म हो । तर, कतिपय ज्ञानीहरू अनुवादलाई केवल प्राविधिक कर्म हो भनेर अनुवादक र अनुवादको महत्ताको अवमूल्यन गर्छन् । दुई, अनुवाद सधैँ कठिन काम हो । मौलिक सिर्जनाभन्दा पनि कठिन । मौलिक सिर्जनामा सर्जक आफ्ना  अनुभूति र अनुभवको क्षेत्रभित्र सीमित भई कार्य गर्न स्वतन्त्र हुन्छ । अनुवादमा चयनको त्यो स्वतन्त्रता हुँदैन । अनुवाद गरिने कृतिले अनुवादकलाई बहुधा त्यस्तो क्षेत्रमा प्रवेश गराउँछ, जसबारे उसमा ज्ञान, अनुभूति र अनुभव नहुन सक्छ । त्यस्तोमा अनुवादकसामु नितान्त नयाँ विषय बोध गरी अनुवाद गर्नुपर्ने जटिल हाँक आइलाग्छ । तीन, प्रकाशकले प्रायः अनुवादकलाई अनुवाद कर्ममा भएको श्रमको लगानीको उचित फल दिँदैन ।

 

मौलिक लेखनमा पुस्तकको लेखकस्व लेखकमा निहित हुन्छ । अनुवादको हकमा प्रकाशक भन्छ– यो तिम्रो मौलिक लेखन वा सिर्जना होइन, तसर्थ अनुवादकस्वको हक तिमीलाई छैन । अनुवादको दोस्रो संस्करणदेखि प्रकाशकले अनुवादलाई निजी सम्पत्तिजस्तो बनाउँछ र अनूदित कृतिको फल उसले सिंगै खान्छ । यस विषयमा मेरा प्रकाशक भोटाहिटीका वैद्य दाइसँग एकचोटि मेरो सानोतिनो खडाजंगी नै पर्‍यो । उनी भन्ने– ‘कृति माओको, अनुवादक तिमी । पहिलो संस्करणपछि तिमीले पारिश्रमिकको दाबी गर्न कसरी मिल्छ ?’ मेरो प्रतिवाद– ‘कृति माओको, अनुवादक म । पहिलो संस्करणपछि सबै लाभ भोग गर्ने हक मेरो हो भनी जिरह गर्न प्रकाशकलाई कसरी सुहाउँछ ?’ खडाजंगी त्यत्तिकै ढिममिस भो । र, लाभको दाउ वैद्य दाइले जिते, मैले हारेँ ।


दर्जनौँ कृति अनुवाद गर्नुभयो । सबैभन्दा आनन्द कुन किताबले दियो ? 


आनन्द अनुवाद कर्मबाट प्राप्त हुने नितान्त मनोगत अनुभूति हो । आनन्दको मात्रा मापन गर्ने तराजु हुँदैन । मैले सबै अनुवादबाट आनन्द प्राप्त गरेँ । कुनबाट बढी, कुनबाट कम म जान्दिनँ । आफ्नाे  हरेक अनुवादबाट आनन्दित नहुँदो हुँ त म कसरी पो यतिविधि पुस्तक अनुवाद गरिसक्दो हुँ र ?


तपाईंले एउटा अन्तर्वार्तामा ‘मेरो अनुवाद कर्म मिसन वा उदात्त उद्देश्यसँग सम्बन्धित छ, सम्बन्धित रचनाले नेपाली पाठकको मन–मानसलाई वैचारिक वा कलात्मक दृष्टिले थौरै भए पनि समृद्ध तुल्याओस् भन्ने मेरो कामना रहन्छ’ भन्नुभएको थियो । यसमा आफू कति सफल भएजस्तो लाग्छ ? 


अनूदित कृतिले पाठकमा पार्ने प्रभावको कुनै मूर्त मानक छैन । तथापि केही कुरा छन्, जसको आधारमा अनूदित कृतिको प्रभावको मोटामोटी आकलन गर्न सकिन्छ । पहिलो आधार हो, अनूदित कृतिले आफ्ना संस्करणहरू देख्न पाउनु । अनुवाद प्रकाशन प्रकाशकको निष्काम कर्म किमार्थ होइन । स्ष्ट छ, यो प्रकाशकद्वारा लाभका लागि गरिने धन्दा हो । संस्करणपछि संस्करण छापिनुको अर्थ हो, अनूदित कृतिका पाठकहरू छन् । तसर्थ अनूदित कृतिको बजार छ । अनुवादबाट पाठक भावनात्मक वा वैचारिक दृष्टिले लाभान्वित हुन्छ, द्रव्य हातलागीका दृष्टिले प्रकाशक लाभान्वित हुन्छ । मेरो विचारमा यी दुइटा लाभ अनुवादको सफलताका मापक हुन् । अनूदित कृतिको प्रभाव आकलन गर्ने दोस्रो आधार हो, अनुवादले पाउने चर्चा र सराहना । यी दुई आधारका दृष्टिबाट हेर्दा मेरा अनुवादहरूले पाठकगणको मन–मानसमा केही न केही प्रभाव पारे होलान् भन्ने लाग्छ । अलिकता आनन्ददायी प्रभाव, अलिकता प्रेरणादायी प्रभाव, अलिकता आशा र उमंगको सञ्चारकारी प्रभाव, अलिकता जीवनको अर्थ र महत्ताको खोजी गर्ने मार्गमा प्रवृत्त हुने प्रभाव । 


भनिन्छ, बजारमा झुर अनुवादको बाढी आएको छ । यो बाढीले अनुवादलाई पाठकले दिने ‘भाउ’ नै बगायो भने के हुन्छ ? 


सत्य हो, बजारमा अनुवादका नाममा श्रेष्ठ लेखक वा व्यक्तित्वहरूका कृति र नामको ओज र गरिमा बेचिखाने चुत्थो धन्दाको बिगबिगी छ । यो काँटको अनुवाद निष्ठा र इमानयुक्त अनुवाद होइन, अनुवादका नाममा सरासर कलंक हो यो । हेर्नोस्, कतिपय मानिसका झुर कर्मबाट अरू मानिसका उदात्त कर्मको चमक र आकर्षण कदापि घट्दैन, बरु बढ्छ । चोरको चोरी कर्मले साधुको साधुपनाको मूल्यवत्ता घटाउँछ र ?


 संग्रौला र रहर 


एउटा जमघटमा तपाईंले ‘मलाई यो देशमा अर्काे एउटा ठूलो क्रान्ति भएको हेर्ने रहर छ’ भन्नुभयो रे ! देशलाई क्रान्तिको डोज अझै नपुगेको हो र ? 
कुनै पनि समाज अग्रगति र प्रगतितर्पm उन्मुख भइरहनका लागि क्रान्ति अविच्छिन्न प्रक्रिया हो । समुद्रमा नित्य गतिमान् रहने ज्वारभाटाजस्तै क्रान्ति उठ्छ र दबिन्छ । फेरि उठ्छ र फेरि दबिन्छ । फेरि–फेरि दबिरहन्छ र फेरि–फेरि उठिरहन्छ यो । क्रान्ति उठ्नु र दबिनु एवं दबिनु र उठ्नु गतिको द्वन्द्वान्तक प्रकृति हो । हो, यो देशलाई क्रान्तिको अर्को डोज अनिवार्य भइसकेको छ । तपाईं मलाई सोध्नुहोला– आखिर किन ? किनभने उलटपुलटकारी क्रान्तिका नायकहरू छानाका फर्सीझैँ कुहेर रातारात प्रतिक्रान्तिका खलनायकमा पतीत भए ।

अनुवादमा अनुवादकले सिर्जनशील हल्काराको भूमिका निर्वाह गर्छ । र, एउटा भाषा र संस्कृतिको श्रेष्ठ रचना अर्को भाषा र संस्कृतिमा स्थानान्तर गर्छ । खासमा अनुवाद भाषा–भाषाबीच, संस्कृति–संस्कृतिबीच र जनता–जनताबीच मितेरी साइनो गाँस्ने भावनात्मक, वैचारिक एवं सांस्कृतिक सेतु हो

 

अहिले यी पतीत पात्रहरू स्वयं पत्याउनै नसकिने गरी बयलगाडे सिद्धान्तको मार्गमा लाम लागेका छन् । सत्तावृत्तमा यो भयावह पतनको प्रभाव भयो के ? भयो के भने भ्रष्ट सनातनी सत्ता झनै सर्वांग भ्रष्ट भयो । अनि सत्ता र सरकार लेस मात्र पनि आममानिसका सेवक, शुभेच्छुक र सहयोगी रहेनन् । सत्ता र सरकार बिचौलिया, दलाल र चोरहरूका मात्र एकलौटी भए । तिनकै सेवक, तिनकै शुभेच्छुक, तिनकै सहयोगी । नतिजास्वरूप राजनीतिक दल र राजनीतिक नेतृत्वप्रति मात्र नभई विचारधारप्रति नै लोकमानसमा अत्यासलाग्दो वितृष्णा पैदा भयो । अहिले सत्तावृत्तबाट भ्रष्टाचार र दुराचार एवं ठगी र विश्वासघातसिवाय लोकमानसमा लेस मात्र पनि आशा र उत्साह, उमंग र हौसला एवं जोस र आँट पैदा हुने समाचार निःसृत हुन छाडेका छन् । लोकमानसमा क्रान्तिले जगाएको आशा अहिले घायल भएको छ, सपना चूरचूर भएको छ, र लोकमासनमा कष्टकर अँध्यारो, चिसो र उदासी व्याप्त छ । त्यसैले मैले भनेको हुँ– लोकमानसमा आशा जगाउन, लोकदृष्टिमा उज्यालो भर्न र सन्तापग्रस्त सपनाको उद्धार गरी सत्ताको यो चरम भ्रष्टता र सत्तासीन चिन्तनको यो चरम पश्चगमनलाई ठोकठाक, धोई–पखाली र सुधार–परिष्कार गर्न देशलाई अर्को डोज क्रान्ति अनिवार्य भएको छ । 


बन्दुक पड्काउनेले सत्ता पड्काएपछि अन्ततः जनताकै बाह्र बजाउने रहेछन् । यस्तो किन भइरहेको छ ?


दार्शनिक र समाजशास्त्रीय अध्ययनको गहन विषय हो यो । विश्व इतिहासमा सबै महान् क्रान्तिका कर्ताहरूमा यस्तो दुष्प्रवृत्ति दृष्टिगोचर भएको छैन । हाम्रो सन्दर्भको हकमा यो क्रान्तिको नेतृत्वकारी जत्थाको इतिहासबोधको छिपछिपेपना, वैचारिक अपरिपक्वता, सांस्कृतिक अपरिष्कार, दूरदृष्टिशून्यता, इमानको न्यूनता र एक शब्दमा लम्पटपनाको द्योतक हुनुपर्छ ।


प्रसिद्ध लेखक हुनुभयो । देश–विदेश घुम्नुभयो । सहरमा एउटा घर छँदै छ । अब पूरा हुन बाँकी व्यक्तिगत रहर के छ ? 


म जेनतेन लेखक त भएँ हुँला, तपाईंले भन्नुभएझैँ  ‘प्रसिद्ध’चाहिँ त्यत्तिकै हो । मेरो देश–विदेश घुमाइ पनि अलिकता मात्र हो । पूरा हुन बाँकी मेरो व्यक्तिगत रहर ? यो प्रश्नको सरल र सहज उत्तर हो– खासमा केही पनि छैन । हाम्रो एकबारको जुनीको दुर्भाग्य के हो भने जीवन दोहोर्‍याएर जिउन पाइँदैन । पाइँदो हो त म आफ्नै पूर्वअनुभवहरूबाट शिक्षा लिँदै जीवनलाई अलि व्यवस्थित बनाउन यत्न गर्दो हुँ, र आफ्ना सबै कृति युवावयको उल्लास र उमंगको मुद्रामा दोहोर्‍याएर लेख्दो हुँ । यो मेरो त्यस्तो धोको हो, जुन मेरो देहसँगै चितामा जलेर खरानी हुनेछ ।


थुप्रै प्रधानमन्त्री हेर्नुभयो, झेल्नुभयो । अब को प्रधानमन्त्री भएको हेर्ने रहर छ ?


व्यक्ति नायकप्रतिको अतिशय लालसा प्रणाली निर्माणप्रतिको निषेधकारी प्रवृत्ति हो । यो राजा–बास्सामा विलक्षण प्रतिभा, श्रेष्ठता, महानता र देव औतार खोज्ने सामन्ती चिन्तनको द्योतक हो । त्यसैले मलाई कुनै व्यक्तिविशेष प्रधानमन्त्री भएको हेर्ने रहर छैन । लोकतान्त्रिक प्रणाली निर्माण भएको हेर्ने रहर छ । 


साहित्यका प्रायः सबै विधामा कलम चलाउनुभयो । अझै पनि लेख्न रहर लागेको केही छ कि ? 


लेख्ने रहर डंगुर छ । तर, लेख्नलाई अब मसँग न कल्पनाशीलता बाँकी छ, न सिर्जनशीलता बाँकी छ, न पठनमा गति छ, न ग्रहणशीलता दिगो छ, न त स्मरण शक्ति नै जीवन्त र शृंखलाबद्ध छ । त्यसैले अब लेख्न बाँकी केही छैन, सिवाय सिर्जन कर्ममा बेत बसेकोे लेखकका नितान्त निजी डायरीका केही पन्नाहरू । 


संग्रौला र सत्ता


सदा सत्ताविरोधी रहनुभयो । आजसम्मका सत्ताले कहिल्यै, कुनै प्रशंसालायक ‘अच्छा’ काम गरेकै छैनन् त ? 


सत्ताले इतिहासको अल्पकालमा धेरथोर ‘अच्छा’ काम अवश्य गरेका छन् । तर, इतिहासको समयावधिको हिसाबले यो साँच्चै अल्पकाल हो । उलटपुलटकारी क्रान्तिले पुरानो जर्जर र भ्रष्ट सत्तालाई विस्थापित गरेपछिको अल्पकाल हो यो । तर, सडकको दबाबकारी राप–ताप चिसिँदै जाँदा र बौद्धिक जमातको आलोचना र खबरदारी सुस्त हुँदै जाँदा सत्ता पुनः स्वेच्छाचारी र जनविरोधी हुँदै गएका सबुतहरू इतिहासमा थुप्रै छन् ।


सत्ता चिजै खराब हो कि लेखकहरूको दृष्टि पूर्वाग्रहपूर्ण भएको हो ? 


सत्ता चिजै खराब हो । सत्ता नियन्त्रण र दमनको दैत्याकार संरचना हो । सत्ताको अक्सर यथास्थितिको बाटो गरी पश्चगमनतर्फ ढल्किने प्रवृत्ति हुन्छ । जुनसुकै विचार र आदर्शबाहक किन नहोस्, सत्ता अक्सर निरंकुशतामुखी, सर्वसत्तामुखी हुन्छ । सत्तामा मानव चरित्रलाई लोभ्याएर र झुकाएर प्रदूषित, कलंकित र भ्रष्ट तुल्याउने कारकह हुन्छन् । ती हुन्– पद, शक्ति, सम्पत्ति, सान, ठाँटबाँट, विभूषण, पगरी, सलामी, गुलामी आदि । मानवतावादी दार्शनिकहरूले दमन र भ्रष्टताको उपकरणरूपी सत्ताको विलोपनको परिकल्पना गरेको त्यसै हो र ?


लेखनको दुनियाँमा संग्रौला पनि त खुद एक सत्ता हुन् । सत्तासीन संग्रौलालाई प्रतिपक्षी संग्रौलाले कत्तिको कटाक्ष गर्छ ?


ठीक हो, लेखनको दुनियाँमा लेखक स्वयं एक सत्ता हो । र, यो सत्तारूपी लेखकको प्रतिपक्षी अरू कोही नभएर लेखक स्वयं हो । मेरो प्रतिपक्षीले म लेखकलाई चर्को कटाक्ष गर्छ । लेखकका दुर्बलता, अक्षमता, असफलता, चुक, धरमर, भय आदि साँच्ची नै राम्रोसँग नियाल्ने र बुझ्ने लेखकतर्फ  हो, अथवा भनूँ– लेखकभित्रको प्रतिपक्ष हो । लेखकभित्रको प्रतिपक्ष लेखकउपर व्यंग्यकर्ता हो, कटाक्षकर्ता हो । र, हो यो लेखकको नित्य खबरदारीकर्ता सचेतक पनि । भन्दा ‘क्लिसे’ लाग्ला, तर सत्ताको आधारभूत चरित्र बदलिएन । माओवादीदेखि राप्रपासम्मलाई एउटै ड्याङको मुला बनाइदिने यो सत्ता भन्ने जिनिसको चरित्र बदलिन्छ चाहिँ कसरी ? 


यसलाई बदल्ने क्रान्तिको उथलपुथलकारी धक्काले हो । क्रान्ति केवल झर्रा राजनीतिक नारा, जनोत्तेजक प्रियतावाद, हिंसाको महिमामण्डन र प्रतिशोधकारी गर्जनले मात्र लडियो भने नतिजा त्यही हुन्छ, जे हाम्रोमा भयो, जसको अप्रिय नतिजा हाम्रा आँखैअगाडि छ । सांस्कृतिक एवं संस्कारजन्य रूपान्तरण क्रान्तिको अभीष्टको अभिन्न अंग भएमा क्रान्तिले सत्ताको आधारभूत चरित्र बदल्न सघाउ पुर्‍याउँछ, र क्रान्तिको फल अपेक्षाकृत दिगो हुन्छ ।

सत्ताको भत्ता खाने लेखकहरू पनि छन् । तिनले तपाईंलाई ‘क्षुद्र’, ‘गालीशिरोमणि’, ‘नकारात्मक मान्छे’ भन्छन् । तपाईंचाहिँ तिनलाई के भन्नुहुन्छ ?


तिनलाई म शुभकामना भन्छु । ठोरीका नवआविष्कृत रामले गरून्– सत्ता दलाली गरेर सत्ताको सुस्वादु भत्ता खान तिनलाई पुगिरहोस् ।