• वि.सं २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
प्रतीक ङेसुर तामाङ
२०७८ फाल्गुण ७ शनिबार ०६:४२:००
समाज

मातृभाषामा शिक्षा : प्रभावकारिता, उत्साह र चुनौती

२०७८ फाल्गुण ७ शनिबार ०६:४२:००
प्रतीक ङेसुर तामाङ

‘लास्सो ... फ्याफुल्ला सर’, कक्षाका सबै विद्यार्थीले एकै स्वरमा अभिवादन गरे । ललितपुरको कोन्ज्योसोम गाउँपालिका नल्लुको महांकाल आधारभूत विद्यालयमा पुग्दा बिहानको ११ बजेको थियो । पुसको पहिलो साता, दिउँसो पनि चिसो उस्तै थियो । जाडो छल्न विद्यार्थीहरूलाई खुला चौरमा कक्षाअनुसार अलगअलग राखिएका थिए । घाम ताप्न पाउँदा न्यानो पनि हुने, कक्षा सञ्चालन गर्न पनि सजिलो हुने ।


यही वर्षदेखि लागू गरिएको मातृभाषामा पठनपाठनको अवस्था बुझ्न पाठ्यपुस्तक लेखकका हैसियतले हामी (मोहनकुमार तामाङ, लीलाबहादुर स्याङ्तान र दर्पण ब्लोनसहित) अनुगमनमा निस्किएका थियौँ । हामी पुग्ने खबर पहिल्यै भइसकेको थियो । विषय शिक्षक र प्रधानाध्यापक पनि विद्यार्थीहरूसँगै उभिरहेका थिए । औपचारिकताका सामान्य संवादलगत्तै हामीले प्रधानाध्यापक काहिँला ग्लानसँग विषयवस्तुमा कुरा थालिहाल्यौँ । मातृभाषामा पठनपाठनको अवस्थाबारे हाम्रो जिज्ञासापछि उनले सरसर्ती आफ्नो बुझाइ राखे, ‘विद्यार्थीहरूमा अति उत्साह देखिएको छ । विद्यालय नियमित आउँछन् । पठनपाठनमा रुचि बढेको छ । प्रायः विद्यार्थीहरू कक्षामा शिक्षकसँग खुलेर बोल्न थालेका छन् ।’


विषय शिक्षक विना ङेसुर तामाङको अनुभव सुन्न पनि हामीलाई हतार थियो । उनले अनुभव सुनाउन थालिन्,‘मातृभाषाको पाठ्यपुस्तक नै तयार गरी पढाउँदा विद्यार्थीहरू रमाउन थालेका छन् । उनीहरू अत्यन्तै रमाइलो महसुस गर्छन् । पुस्तकलाई माया गर्ने, जतन गर्ने गर्छन् । तामाङ मातृभाषाको पठनपाठनले अरू विषयमा पनि सहयोग पुगेको छ ।’ 


ससाना विद्यार्थीलाई शिक्षक विनाले आफूसँगसँगै तामाङ पाठ्यपुस्तकको एउटा गीत गाउन लगाइन् । विद्यार्थीले पनि हाउभाउ नक्कल गर्दै गीत गाए, 


‘‘हाऊ आले हाऊ, 
हाऊ आङा हाऊ, 
गाङरी दिनी फेजिन्जी, 
लि खु्रबारी ब्राअु ।’ (आऊ भाइ आऊ, आऊ बहिनी आऊ, डाँडामा घाम झुल्किसक्यो मुख धुन जाऊ ।)


सबै वर्ण चिनिनसकेका बालबालिकाहरूले तामाङ भाषाका गीत निर्धक्क भएर सुनाए । शिक्षक विद्यार्थीको गीतले घमाइलो वातावरण थप रमाइलो भयो । 
अनुगमनकै क्रममा हामी भारदेउको बालेश्वरी माध्यमिक विद्यालयमा पुग्यौँ । त्यहाँको कक्षाकोठा र विद्यार्थीहरूको प्रस्तुति लोभलाग्दो थियो । कक्षाकोठामा शिक्षकले माछाको चित्र बनाउँदै गरेको देखियो । एकजना विद्यार्थीलाई सोध्यौँ, 


चु तिका, पाङगो ओम । (यो के हो ? भन त ।)
उनले आफ्नो मातृभाषामा जवाफ दिए, ‘तार्ङा’ (माछा) ।
‘तार्ङादा इङलिसरी तिका बिबा मुला’ (माछालाई अंग्रेजीमा
के भनिन्छ ?)
अरू दुई–चारजनाले पनि स्वर मिसाएर भने, ‘फिस ।’
‘फिस बिबा तिका’ (फिस भनेको के हो ?)
सबैले भने, ‘तार्ङा ।’ 
भित्तामा रहेको बिरालोको चित्र देखाउँदै सोधियो,
‘चु तिका’ (यो के हो ) ?
‘तावार’ (बिरालो) ।
‘तावारदा इङलिसरी तिका बिला’ (बिरालोलाई अंग्रेजीमा
के भनिन्छ ) ?
‘क्याट ।’
‘क्याट बिबा तिका’ (क्याट भनेको के हो) ?


‘तावार ।’ एक–दुईजनाले ‘सिएटी क्याट’ पनि भन्दै थिए । यसैगरी हामीले अन्य कुरा पनि तामाङ भाषामा सोध्यौँ । उनीहरूले तामाङ र अंग्रेजी भाषामा अरूअरू पनि शब्द फूर्तिलो भएर सुनाए । विषय शिक्षकले अलिकति मात्रै मिहिनेत गरेर जाँगर चलाउने हो भने अंग्रेजी भाषा पनि उत्तिकै छिटो र राम्रोसँग सिक्न र सिकाउन सकिन्छ भन्ने यो गजबको उदाहरण हो । 


पुसको अन्तिम साता काभ्रेको मन्डनदेउपुर नगरपालिकाका मातृभाषा शिक्षा कार्यक्रम लागू भएका सामुदायिक विद्यालयमा अनुगमनका लागि गयौँ । पुस २६ गते पहिले नगरकोटछेवैमा रहेको श्री जनसेवा आधारभूत विद्यालय पुग्यौँ । त्यहाँ पनि कक्षा एकका विद्यार्थीलाई तामाङ मातृभाषाको पाठ्यपुस्तकका केही अक्षर पढ्न लगायौँ । विद्यार्थीहरूले व्यञ्जन वर्ण सरसर्ती पढेर सुनाए । लेखेर पनि देखाए । 


छेउमा उभिरहेका शिक्षिकाले सुनाइन्, ‘तामाङ विद्यार्थीको फूर्तिलोपना असाध्यै बढेको छ । उनीहरू निकै रमाएर विद्यालय आउँछन् । तामाङ भाषाको पाठ्यपुस्तक भनेपछि हुरुक्कै हुन्छन् । पुस्तकलाई अति माया गर्छन्, जतनले झोलामा राख्ने र झिक्ने गर्छन् । कक्षामा नबुझेको कुरा पनि मज्जाले सोध्छन् ।’ मातृभाषा विषयको पठनपाठनले विद्यार्थीहरूमा नयाँ उत्साह पैदा गरेको उनको निचोड थियो । 

पुस्तकको एउटा चित्र देखाउँदै एकजना विद्यार्थीलाई सोधियो, 
‘चु तिका’ (यो के हो ?)
उनले कति पनि विलम्ब नगरी भने, ‘मामला गाल्दा’ (हजुरआमाको थैली) ।
डोकाकोे चित्र देखाउँदै फेरि सोधियो, ‘चुचा तिका ओम’ (योचाहिँ के हो त ?)’ 
उनले भने ‘छाङ ।’
‘छाङ हाल्से राबा मुला’ (डोको कसले बुन्छ ?) 
उनको उत्तर थियो, ‘छाङ मी म्हेमेसे राबा मुला’ (डोको त बाजेले बुन्नुहुन्छ) ।
अर्का विद्यार्थीलाई गाईको चित्र देखाउँदै सोधियो, 
‘चु तिका’ (यो के हो ?) 
उनले भने, ‘म्हे’ (गाई) । 
‘म्हेदा इङलिसरी तिका बिबा मुला ?’ (गाईलाई अङ्ग्रेजीमा
के भनिन्छ ?)
‘सिओडब्लु काऊ ।’ 
‘काउ बिबा तिका ओम’ (काउ भनेको के हो त) ? 
‘म्हे ।’ 
‘म्हे बिबा काउ ।’ 
हामीले सोध्दै गयौँ । उनीहरूले भन्दै गए, र्‍याट बिबा नाम्युङ (र्‍याट भनेको मुसा), काउ बिबा म्हे (काउ भनेको गाई), क्याट बिबा तावार (क्याट भनेको बिरालो), फिस बिबा तार्ङा (फिस भनेको माछा) ।
‘म्हेसे तिका चाबा मुला’ (गाईले के खान्छ) ? उनीहरूलाई थप सोधियो ।
‘छे’ (घाँस) ।
‘म्हेसे ह्याङ्दा तिका पिन्बा मुला’ (गाईले हामीलाई के दिन्छ) ?
‘ङ्हे’ (दूध) ।


अनुगमनका लागि हामीसँगै पुगेका नगरपालिकाका शिक्षा अधिकृत लोकेन्द्र विष्ट सबै दृष्य निकै चाख लिएर हेरिरहेका थिए । अुछेन लिपिमा लेखिएका वर्णहरू फटाफट पढेर सुनाएको, सरसर्ती लेखेर देखाएको अनि कतिपय शब्दहरू तामाङ र अंग्रेजीमा बोलेको देखेर उनी दंग परे । सायद उनलाई बालबालिकाले देवनागरी र रोमन लिपिबाहेकका लिपिमा लेखिएका वर्णहरू एक डेढ महिनाको कम समयमै त्यति सहज तरिकाले पढ्न र लेख्न सक्छन् भन्ने लागेकै थिएन । उनले भने, ‘तपाईंहरूले तयार गर्नुभएको पुस्तकका अक्षर सिक्न धेरै समय लाग्छ होला भन्ने लागेको थियो । नानीहरूले खुरुखुरु पढेको देखेर साँच्चिकै मलाई त अचम्मै लाग्यो ।’


ती विद्यार्थीले तामाङ भाषामा सोधिएका प्रश्नको उत्तर मात्र दिइरहेका थिएनन् । खासमा उनीहरूले घरपरिवारभित्र आफूले आर्जन गरेका ज्ञान पनि सुनाइरहेका थिए । मातृभाषामै संवाद गरिएकाले उनीहरूलाई आफ्नो स्तरअनुसारको ज्ञान बाँड्न सहज भएको अनुमान गर्न कुनै गाह्रो थिएन । ‘हजुरआमाले गाल्दा (थैली) बोक्नुहुन्छ, त्यसमा पैसा राखिन्छ, हजुरबुबाले डोको बुन्ने काम गर्नुहुन्छ, गाईले घाँस खान्छ । त्यसले दूध दिन्छ’ भन्ने विषयहरू उसले आफ्नो घरवरिपरि हासिल गरेका ज्ञानका विषय हुन् । विद्यालयमा मातृभाषा माध्यम र त्यही भाषामा संवाद गर्न पाएकाले उनीहरूले निर्धक्क भएर आफ्नो ज्ञान अरूलाई सुनाउन सकेका हुन् । मातृभाषाबाहेक अरू भाषामा उनीहरूलाई सोधिएको भए ती बालबालिकाहरूले पक्कै पनि त्यति खुलेर बोल्न सक्ने थिएनन् । शिक्षा अधिकृत विष्टको थप प्रतिक्रिया थियो, ‘नौलो मान्छेसँग पनि बालबालिका यति सहजरूपमा संवादमा जुटेको पाउँदा साह्रै मन छोयो । सायद भाषाकै कारणले होला ।’

आफूले परिवारमा सुन्दै नसुनेको नौलो भाषालाई शिक्षकले पठनपाठनको माध्यम भाषा बनाउँदा बालबालिकाले सिक्नुपर्नेजति सिक्न र बुझ्न सक्ने सम्भावना नै रहँदैन । किनकि मातृभाषाबाहेकका अरू भाषामा उसको शब्दभण्डार नै रित्तो हुन्छ ।


आफ्नो ज्ञानको विषय अरूलाई सुनाउन पाउँदा विद्यार्थीहरूको आत्मबल बढ्छ नै । यही आत्मबलकै आधारमा उनीहरूले हरेक विषय राम्रोसँग सिक्न सक्छन् । कमजोर आत्मबल सिकाइको मूल बाधक हो । प्रारम्भिक ज्ञान आर्जन गर्ने अवस्थादेखि नै बालबालिकाहरूको आत्मबल विकास हुँदै जाँदा उनीहरूको व्यक्तित्व विकासमा समेत टेवा पुग्ने निश्चित छ ।


आफूले परिवारमा सुन्दैनसुनेको नौलो भाषालाई शिक्षकले पठनपाठनको माध्यम भाषा बनाउँदा बालबालिकाहरूले सिक्नुपर्नेजति सिक्न र बुझ्न सक्ने सम्भावना नै रहँदैन । किनकि मातृभाषाबाहेकका अरू भाषामा उसको शब्दभण्डार नै रित्तो हुन्छ । यस्तो अवस्थामा उसले जबर्जस्ती केही त सिक्ला । तर, कमजोर शब्दभण्डारका कारणले खुलस्त भएर संवादमा उत्रने हिम्मत नै हुँदैन । आफूले जानेका विषयवस्तुबारे दोस्रो भाषामा हुबहु बताउन सक्ने क्षमता पनि हुँदैन । बिरानो भाषामा उसले न गतिलो सिक्न सक्छ न त नजानेका विषयमा प्रस्ट्याइदिनका लागि शिक्षक र कक्षाका साथीसँग जिज्ञासा नै राख्न सक्छ । 


विद्यालयको यस खालको वातावरण उसका लागि पीडादायी हुन्छ, तर व्यक्त गर्न सक्दैन । वर्तमान शिक्षाप्रणालीले गर्दा यस्तै पीडैपीडामा गैरनेपाली मातृभाषी समुदायका बालबालिकाको आधारभूत तहको समय गुज्रिरहेको छ । सबैभन्दा बढी सिक्नुपर्ने, बुझ्नुपर्ने वेलामा भाषाकै कारणले उनीहरू पछि परिरहेका छन् । यसले उनीहरूको समग्र व्यक्तित्व विकासमा समेत असर पारिरहेको छ । यही यथार्थबारे भेउ पाउन नसक्दा मातृभाषा शिक्षाप्रति अझै पनि आमरूपमा गम्भीरता देखिन सकेको छैन । परिणामस्वरूप आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम २०७६ ले पाँचौँ विषयका रूपमा ‘मातृभाषिक सीप÷स्थानीय विषयवस्तुसम्बन्धी क्रियाकलापलाई अनिवार्य बनाए पनि यसको सार्थक कार्यान्वयन हुन सकिरहेको छैन । अनेक बहानामा यो प्रावधानलाई छल्ने काम हुँदै आइरहेको छ । 


मातृभाषा शिक्षाका विषयमा कतिपय शिक्षक अभिभावकहरूमा गजबको भ्रम छ । ‘आफ्नो घरैमा बोल्ने भाषा विद्यालयमा पनि बोल्ने र पढाउने गरेमा अरू भाषा कहिले, कसरी सिक्ने ? यसो गर्नाले त बालबालिकाहरू अरू भाषामा (खास गरी अंग्रेजीमा) कमजोर भइहाल्छन् नि’ धेरैको बुझाइ छ । पठनपाठनमा मातृभाषाको प्रयोगको सन्दर्भ सुन्नेबित्तिकै उनीहरू तर्सिहाल्छन् । मातृभाषा त केवल माध्यम मात्र हो, यो माध्यमबाट अंग्रेजी, गणित, विज्ञानलगायत धेरै विषयवस्तुमा बुझाउन सकिन्छ’ भन्ने यथार्थबारे बुझाउन गम्भीर पहल नभएकाले पनि समुदायमा यस खालका भ्रमहरू देखिएका हुन् । विद्यालयमा मातृभाषालाई माध्यम बनाउँदा त अंग्रेजी भाषालाई झन् सरल तरिकाले सिकाउन सकिन्छ भन्ने तथ्य त माथि वर्णन गरिएका ललितपुर र काभ्रेका केही विद्यालयको दृष्टान्तबाटै प्रस्ट हुन्छ । महांकाल आधारभूत विद्यालय नल्लुका प्रधानाध्यापक काहिँला ग्लानको चिन्ता छ, ‘पहिले पनि यस्तो मातृभाषा शिक्षा कार्यक्रम लागू भएकै थियो । तर, के कारणले हो बीचमै हरायो । अहिलेचाहिँ त्यस्तो नहोस्, यो मातृभाषाको पाठ्यक्रमले निरन्तरता पाउनुपर्छ ।’


बालेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमप्रकाश भट्टराई र सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद घिमिरेले एकैखालका अनुभव सुनाए, ‘मातृभाषाका पाठ्यक्रम लागू गरेपछि विषय शिक्षक असाध्यै खट्नुभएको छ । उहाँको लोभलाग्दो जाँगरले साँच्चै उत्साहित भएका छौँ । यसले पक्कै पनि नतिजा सोचेअनुसारको आउनेमा आशावादी छौँ ।’ 


मगरगाउँ माध्यमिक विद्यालय, शंखुका सहायक प्रधानाध्यापक राजेश घिमिरेको त सुझाव थियो, ‘आधारभूत तहको पठनपाठनमा मातृभाषालाई माध्यमका रूपमा प्रयोग गर्नु शिक्षालाई प्रभावकारी बनाउनु हो । यसको प्रभावकरिताका विषयमा समुदायले अझै बुझ्न सकेका छैनन् । उनीहरूलाई बुझाउने खालका बहस हुनु आवश्यक छ । यो विषयमा अब समुदायकेन्द्रित अन्तर्क्रिया हुुनुपर्छ ।’


मातृभाषामा पठनपाठनलाई अघि बढाउन आफूलाई विद्यालय प्रशासनबाट पूर्ण सहयोग मिलिरहेको र अहिलेसम्म अभिभावकहरूबाट पनि खासै कुनै नकारात्मक टिकाटिप्पणी नआएको बालेश्वरी माध्यमिक विद्यालयका शिक्षक जिना लामाको भनाइ छ । कक्षा २ र ३ का विद्यार्थीहरूले पनि मातृभाषा विषय पढ्न असाध्यै रहर गरेको र कक्षा १ को पुस्तकमा समावेश गीत उनीहरूले पनि कक्षा बाहिरबाहिर सुनेरै कण्ठ पारेको कुलाचौर आधारभूत विद्यालयका शिक्षक सरिता तामाङले सुनाइन् । गुप्तेश्वर आधारभूत विद्यालय भारदेऊका शिक्षक हीरामाया घिसिङले मातृभाषा विषयलाई सघाउने खालका आकर्षक शैक्षिक सामग्री निर्माण गरेर कक्षाकोठामा राखिएको दृश्य मनै लोभ्याउने खालको थियो । उनको जाँगर प्रशंसायोग्य थियो । 


यी दृष्टान्तबाट सबै शिक्षक, अभिभावक र विद्यालय प्रशासन मातृभाषा शिक्षाप्रति उदासीन छन् भन्ने निष्कर्षमा पुग्नु पनि गलत नै हुन्छ । आवश्यक नीति, कार्यक्रम र पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा जाँदा बिस्तारै यसले गति लिन्छ भन्ने यी केही विद्यालयका गतिविधिबाट प्रस्ट हुन्छ । संविधानले प्रत्येक समुदायका बालबालिकाले आफ्नो मातृभाषामा शिक्षा लिन पाउने अधिकार प्रत्याभूति गरेको छ । शिक्षासँग सम्बन्धित ऐन कानुनले मातृभाषा शिक्षासम्बन्धी आवश्यक नीति बनाएर कार्यान्वयन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । यसर्थ मातृभाषा शिक्षालाई व्यावहारिक तहमा उतार्ने जिम्मा स्थानीय सरकारकै हो । 

 

विद्यार्थी उत्साहित छन्, विषय शिक्षकमा त्यतिकै जाँगर पलाएको छ र विद्यालय प्रशासन सकारात्मक छन् भने यसबाट उत्कृष्ट नतिजा हात पर्नेमा कुनै शंका रहन्न । यही दृष्टान्त प्रस्तुत गरिसकेपछि मन्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले त घोषणा नै गरे, ‘शिक्षामा उत्कृष्ट नतिजा हाम्रो चाहना हो । प्रस्ट भन्नुपर्दा के होला, कसो होला भन्ने आशंकाले हामीले यस वर्ष थोरै विद्यालयमा मात्र पाठ्यक्रम लागू गरेका थियौँ । सबैतिर राम्रै स्थिति छ भने अर्को वर्ष मातृभाषा शिक्षा कार्यक्रम लागू हुने विद्यालयको संख्या अवश्य बढाइनेछ ।’