म को हुँ, कहाँ छु, कहाँ के छ हाल
लिएको छु के कर्म कस्तो छ चाल
बालखै छँदा पढेको लेखनाथ पौडेलको कविताका यी हरफले आजकाल जवाफ मागिरहन्छन् मसँग । जवाफ खोज्न लामै यात्रा छिचोल्नुपर्नेछ । खुट्टा उचाल्न लाग्दै फ्याट्ट मनले भनिहाल्छ– आमस्वास्नीमान्छे । कहिले मनसँगै सहमत भैबस्छु कहिले द्वन्द्व चल्छ मनैमन, कम्तीमा मान्छे अगाडिको विशेषण त हट्नुपर्छ । अटेर मन ज्यान गए मान्दैन । ‘आममान्छे’सम्मको परिचय नभएकी आफूसँग औधि दया लाग्छ ।
‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तो बाल्यकालमा त्यस्तो कुनै चमत्कारिकता मैले देखाउन सकिनँ । बरु सिकुटे ज्यान (उति वेला दुब्लो मान्छेलाई खान नपाएको, दुुःखी मान्छेको रूपमा बुझिन्थ्यो । अझै पनि त्यो मान्यता पूरै हटिसकेको छैन ।), घुँग्रिएको कपाल र कालो छाला हुनुको विशेषताले औसतभन्दा कम केटी भएँ । गाउँमा घर हुनु र बजारको स्कुलमा हिँडेर पढ्न जानुपर्नाले घरबाट निस्कनासाथ स्कुल पुग्ने बजारिया साथीहरूका सामु सधैँ गाउँले हुनुको दुःखबोध गराइरह्यो ।
उनीहरू आफ्नो अधिकारै सम्झेर हामीलाई धम्क्याई बयर, तित्री, आँप, लिच्ची, सुपाडी ल्याउन अह्राउँथे । मानाैँ बजारिया हुनु नै उनीहरूको विशेषाधिकार थियो हामी गाउँलेलाई कज्याउन । अहिले सोच्छु यी कुरा हाम्रा बजारिया साथीहरूलाई किताब–कापी बोक्न सिकाउनुअगाडि नै कसले सिकायो होला ? उनीहरूले पनि त गाउँले हुन नपाएकोमा हामीसँग डाहा गर्नुपर्ने थियो । यसो भइदिएको भए, एकअर्कामा डाहा बाँडिन्थे, मैले बालकालमै भोग्नुपरेको मानसिक यातनाको जन्मै हुने थिएन, मस्तिष्कमा तँ कमजोर मान्छे होस् भनेर भरिएको हीनताबोधलाई निकालेर फाल्न यत्तिका वर्ष मिहिनेत गर्नु परिरहेको ऊर्जा बच्ने थियो ।
नदीजस्तो समय सधैँ सुल्टो बग्दैन । कहिलेकाहीँ मात्रै नदीले धार फेर्छ र कहिलेकाहीँ मात्रै समय सीधा बाटो हिँड्छ । यी सबको परिणाम म आपूmलाई कम मूल्यांकन गर्ने, कम आत्मबल भएकी केटी भएँ जसको सपनामा सुन्दर हुने, सम्पन्न हुने, बजारिया हुनेभन्दा बढी कुरा देखापरेनन् । परिवार, आफन्त, समाज, साथीभाइले परिभाषित गरिदिए मेरो परिचय । म त्यही बनेँ जो अरूले ठानिदिएँ । म त्यही भएँ जो अरूले मानिदिए । म को हुँ ? आफैँसँग बेखबर थिएँ । मेरो कुन खबर ठिक, कुन बेठिक ? आफैँ अन्योलमा थिएँ ।
बिहानै उठेर निराशाका कुरा नगरौँ कि, सोच्दै छु ! तर, आशा गर्नु नै निराशालाई निम्तो दिनु होइन र ? मेरो त खुसीकै अनुभव पनि सुनाउन लायक हँुदैनरहेछ । अस्ति एक भेटमा कवि शुभलक्ष्मी दिदीलाई मैले पहिलोचोटि कोक पिउँदाको अनुभव गज्जब छ भनेपछि दिदीले आरिसे भावमा भन्नुभयो, ‘गाउँकै मान्छेका हुन्छन् मज्जाका अनुभव, आफ्नो त केही छैन ।’ यति हल्का वाक्यले पनि मन खुसीले गद्गदायो । गाउँले हुनुको हीनताबोध उवेलादेखिको कति जब्बर भएर बसेकोरहेछ ।
यस्तो झिनामसिना कुरामा रमाउने मन उत्ति नै सामान्य कुरामा दुःख दिन्छ भन्नेकुरा थाहा नहुनु असामान्य कुरा रहेछ ! औपचारिक भेला, सभा, समारोहमा हामी खुब विचारेर बोल्नुपर्छ भनी सोच्छौँ । लेख्ने वेलामा उस्तै सचेत हुन्छौँ, तैपनि कतिपटक चिप्लिन्छौँ । तर, विचारै नगरी बोलिने अनौपचारिक कुुरा र हाम्रा व्यवहार भने एकदमै घटिया हुन्छन् जसले थाहै नपाई अरूको आत्मसम्मानमा चोट पु¥याइरहेको हुन्छ । मेरा बजारिया साथीले उक्त एक वाक्य सुन्नलाई तड्पिने गरी मेरो मस्तिष्कमा छाप छोडेजस्तै ।
मैले आफ्नो कपालमाथि सन्तुष्ट हुन थालेको धेरै भएको छैन । केही वर्षअघि क्रिया नामक भारतमा अवस्थित एक गैरसरकारी संस्थाले चालीसभन्दा बढी देशका पाँच सयभन्दा बढी महिला तथा एलजिबिटिआइक्यू+ व्यक्तिहरूलाई एक ठाउँ भेला गरेर काठमाडौंमा भव्य कार्यक्रम गरेको थियो । जहाँ नेपालीभन्दा बढी विदेशी हुने नै भए । मेरो ध्यान भने सहभागीहरूको कपालमा गइरहेको थियो । त्यहाँ अधिकांशको कपाल कर्ली थियो । र, त्योभन्दा ठूलो कुरा उनीहरूले आफ्नो कपाललाई मैलेजस्तो हीनताका साथ दोबारेर, गाँठो पारेर लुकाएका थिएनन् ।
पाँच दिने कार्यशालामा धेरै कुरा सिके पनि मैले पाएको एउटा महत्वपूर्ण उपलब्धि भने आफ्नो कपालमाथिको आत्मविश्वास थियो । त्यसयताका दिनमा मैले कपाललाई गाँठो पार्न छोडिदिएँ । म जहाँ जन्मेँ, हुर्केँ त्यहाँ, त्यो समय कर्ली कपाल हुनु तेरो अवगुण हो भनेर बुझाइएको थियो । गाउँमा गुन्द्रुक प्रशस्त हुनु, त्यसलाई निम्नस्तरको तरकारी मानिनु र गाउँलेले कर्ली शब्द नजान्नुको अभाग मैले व्यहोर्नुपर्यो । गुुन्द्रुकजस्तै बटारिएको मेरो कपालले गुन्द्रुके विशेषण पायो । पछि कलेज पढ्दा सर्लक्क कपाल बटारेर साथीहरूले कर्ली गरेको देखे पनि मेरो मस्तिष्कमा भने गुन्द्रुके कपाल र कर्ली कपाल एकै होइन भन्ने मनोविज्ञान शिलालेखमा झैँ कुँदिएको थियो । जसकारण, कतै हिँड्ने वेलामा कपाल सधैँ घाँडो हुन्थ्यो । बाट्ने गरी लामो नहुने, छोड्न आँट नहुने । अन्तिममा गुन्ठुन्यायो, हिँड्यो ।
भौतिक पूर्वाधार विकासका निम्ति ठुल्ठूला भाषण, क्रान्ति, आन्दोलन आवश्यक होला, तर एउटा व्यक्ति निर्माण हुन हामीले ख्यालै नगरेका ससाना कुराले अर्थ राख्छन् । जबसम्म त्यसले आममान्छे/स्वास्नीमान्छे वा आफूलाई परिचयमा अरू नै केही भेट्ने मान्छेले अनुभूत गर्ने हरेक कुरामा आत्मसम्मान महसुस गराउन सक्दैन तबसम्म जुनै तन्त्र वा सत्ता आए पनि फरक पर्दैन ।
यहाँ पल–प्रतिपल कसै न कसैसँग जोखिइनुपर्छ, तौलिइनुपर्छ । हामीलाई जन्मजात बुझाइएको छ, तँ कोहीभन्दा कम छस् या बढी । यस्तोमा म को हुँ ? थाहा पाउनु बढो जटिल प्रश्न हो । सुनले लालगेडीसँग जोखिइनुपरेकोमा दुखेसो गर्छ अरे । लहरा लहरा डुलिहिँड्ने लालगेडीलाई सुनसँग तौलिइँदा के खुसी होला ? हामीलाई दुईतर्फी भएर सोच्न कहिले सिकाइएन । फलतः म पनि दास बन्नुपरेकोमा दुःखी हुने र त्यो दुःखको पुर्ताल एक दिन मालिक बनेर लिने सपना देख्ने मान्छेजस्तै भएँ । अर्थात् दास जन्माएर म मालिक अवतारमा विराजमान हुन चाहने मान्छे । यस्ता मान्छे जहीँतहीँ छ्यालब्याल छन् । राणाशासन फाल्न क्रान्ति गरेका कांग्रेसहरू अन्ततः नयाँ बोतलका पुराना रक्सी निस्किएजस्तै । पञ्चायत फाल्न कम्मर कसेको एमाले नाम फेरिएको पञ्च बनेजस्तै । गणतन्त्र ल्याउन लडेको माओवादी राजा फालेर आफैँ सिंहासनमा विराजित भएजस्तै । वैकल्पिक राजनीति गर्ने मिश्र विचारभन्दा देश ठूलो, देशभन्दा पद ठूलो भन्ने निष्कर्षमा पुगेजस्तै ।
बाहिरबाट हेर्दा अरूले मिलेको देख्ने परिवारमा सासू वा बुहारीले कति त्याग गर्नुपरेको छ परिवार नामको संस्था चलाइदिन घर नामको झ्यालखानामा बसेर । त्यसको अन्दाज कमैलाई होला ।
तर, म मान्छे मात्र भइनँ, स्वास्नीमान्छे भएँ ।म आफ्ना सद्गुणले अरूले ठानेजस्तो सज्जन भएकी होइन । मभित्र कैयौँ लुप्त आपराधिक सोचहरूको वास छ । जसलाई हुर्काउने कुअवसर कसोकसो नियमित आकस्मिकताभित्र नपरेर म हालको अवस्थामा देखिन पुगेकी हुँ । म अरूलाई लागेजस्तो खराब पनि छैन । मभित्र बुद्धत्व प्राप्त गर्न सक्ने आत्माको वास छ । सम्भावना छ एक महामानव बन्न सक्ने, रिस, राग, द्वेष, घृणा, लोभ, क्रोध, माया, मोह त्यागेर कसैको आँखामा नबिझाई बस्न सक्ने हुन । यी सब सम्भावनाको हिसाब–किताब नमिलेर आज म औसतमा ठिक्ककी स्वास्नमान्छे मात्रै भएकी छु ।
बाआमाको भाषामा नेपालको पढाइ सकेकी, तर कहिल्यै जेहेन्दार भएर पुरस्कार नथापेकी आमविद्यार्थी मात्रै भएँ । रुचि लाग्ने विषयको गहिराइमा हामफाल्न नसकेपछि रुचि पनि सोखभन्दा बढी भएन । धार्मिक बनेर पूजापाठ, व्रत, जप, ध्यान पनि गर्दिनँ तर अभरमा भगवान् ! भन्न पनि छोड्दिनँ । म कसैलाई आदर्श मान्न नसक्ने हठी मान्छे हुँ । मलाई कोही कसैको अचाक्ली फ्यान भएको देख्दा उल्का लाग्छ । म कहिले कोहीबाट त्यतिबिघ्न प्रभावित हुन सकिनँ कि उसको तस्बिर देखेरै श्रद्धाले शिर झुकोस्, कुरा सुन्दै आँसु आओस् ।
मध्यम वर्गीय परिवारकी आमछोरी, बुहारी हुँ । बाआमाले सोचेअनुसार न म धार्जे, सुन्दर, सुकुमारी, लक्ष्मीजस्ती छोरी बनेर चुपचाप घर बसेँ, न आफूले चाहेअनुसार क्रान्तिकारी छलाङ मारेर परिवारमा पहिरो जाने गरी कुनै उत्पातै मच्चाउने अवस्था आयो । आत्मनिर्भर बन्ने, बिहे नगर्ने, भरसक लिभिङ टुगेदरमा बस्ने, बिहे गरे पनि बाआमाले भनेजस्तो जात मिल्नेसँग नगर्ने, बिहे नगरी बच्चा जन्माउने, ब्वाइफ्रेन्डसँग साँझ–बिहान, राति मन लागेको समयमा निर्धक्क घुम्ने, डुल्ने, एक्लै लामो यात्रामा जाने, आदि हरकोही वयस्क व्यक्तिका निम्ति चाहिने स्वतन्त्रताका यी सामान्य सुविधा उपभोग गर्न हाम्रो समाजमा असामान्य सोच नराखी सम्भव छैन । अझै धेरैलाई यस्तो सोच्नु नै पापजस्तो लाग्न सक्छ । तर, सोचभन्दा माथि उठेर उक्त कुरा व्यवहारमा लागू गर्ने हिम्मत नभएकी म ठिक्ककी छोरी मात्रै भएँ ।
आमाभन्दा छोरी, सासूभन्दा बुहारी प्रगतिशील हुनु प्राकृतिक नियमै हो । सायद म पनि यो प्राकृतिक प्रगतिशीलभन्दा बढी हुन सकिनँ कि ? कहिलेकाहीँ आफ्नै क्रान्तिकारी सोचसँग शंका लाग्छ । हरकोही आफ्नो समयमा क्रान्तिकारी बन्छ र नयाँ पुस्ताका लागि खुंखार पुरातनवादी पनि । जस्तै, मेरी आमाले बिहे गरेपछि चलनअनुसार घरमा जेठाजू ढाक्ने घुम्टो ओड्नुुभएन । बिस्तारै ठूलीआमाहरूले पनि घुम्टो ओड्न छोडिदिनुभयो । गाउँका अरूले पनि छोडे । अहिले हामीलाई त्यो चलन सुन्दै अनौठो लाग्छ ।
प्रथम रजस्वला हुँदा मैले अर्काको घरमा जानुपरेन, सुतिराखेको ओछ्यान छोड्नुपरेन । उत्तिकैमा मेरा साथीहरू आफन्तकोमा गएर बसेको दिग्दारी सुनाइरहेका थिए । यो मानेमा मेरी क्रान्तिकारी आमा धन्यवादकी पात्र हुनुहुन्छ । तर, उहाँको क्रान्ति अधमरो थियो । मेरा लागि थाल, बोटुका, गिलास अलग्गै राखिन्थे, सधैँ एउटै हुन्थे । भान्सा र पूजाकोठाको ढोका बन्द हुन्थ्यो । यी नै विभेद मलाई चिढ्याउन र विरोध गर्न पर्याप्त थिए । धेरैपछि पढेर, सुनेर, महिनावारी भनेको प्राकृतिक कुरा हो न कि धार्मिक भन्ने बुझिसकेपछि पनि मनको कुनै कुनामा खानेकुरा छोइदिँदा, पूजाकोठा छिर्दा पाप पो लाग्ने हो कि भनी डर लागिरहन्थ्यो ।
बालकालमा जब्बर गरी बसेका यस्ता अन्धविश्वासले अँध्यारोमा भूतै हुन्छ भनेझैँ ज्ञानलाई पनि वेलावेला खर्लप्पै निलिदिन्छन् । यस्तो अपराधबोधबाट मुक्त हुन वर्षौँको प्रयोग र अभ्यास चाहिन्छ । त्यसका लागि उपयुक्त वातावरण अनिवार्य भइगयो । र, वातावरण तयार पार्ने काम, त्यो पनि जब्बर, पुरातनवादी, आयुको अन्तिम सीमामा पुगेका सासूससुरासित बसेकी बुहारीका लागि हिउँमा खाली खुट्टा हिँड्नु वा ढुंगा चपाउनुबराबर छ । यसमा दुईटै मात्र दीर्घकालीन विकल्प छन्, कि त परिवार जोगाएर आफ्नो विचार, सोचाइ, बुझाइलाई पैतालामुनि राखिदिने कि परिवारिक जिम्मेवारीबाट मुक्त भएर आफ्नो खुसी गर्ने । अहिले दुवै गर्ने हिम्मत नभएर मैले तेस्रो अल्पकालीन जुक्ति अपनाएकी छुु घरबाहिर बसेर आफ्नो स्वतन्त्रता उपभोग गर्ने ।
जब भिन्नाभिन्नै परिवेशमा हुर्किएका, अलग–अलग रुचि, स्वभाव, शिक्षा, संस्कार भएका पहिलो र दोस्रो वा तेस्रो पुस्ता एउटै छानोभित्र अटाउनुपर्ने अवस्था आउँछ, त्यहाँ द्वन्द्व निश्चित छ । एकल परिवारको संरचना ह्वातै बढ्नाको मुख्य कारण पनि यही हो । तर, नेपालमा एकल परिवार भनेको धेरै छोरा हुनेका एउटा छोरा बाबुआमासँग बसेर बाँकी छुट्टिनु हो । त्यस्ता एउटा छोरावाला संयुक्त परिवारको संख्या यहाँ प्रशस्तै छन् । र, ती परिवारभित्र सासू र बुहारीले एकअर्काको रुचि, स्वभाव, स्वतन्त्रतालाई सम्मान गर्ने कुरा विरलै भेटिन्छ । बाहिरबाट हेर्दा अरूले मिलेको देख्ने परिवारमा सासू वा बुहारीले कति त्याग गर्नुपरेको छ परिवार नामको संस्था चलाइदिन घर नामको झ्यालखानामा बसेर । त्यसको अन्दाज कमैलाई होला ।
बुहारीले चप्पल लगाउनु हुँदैन भन्ने समयमा बुहार्तन खेपेकी मेरी सासू बसिबियाँलोमा आफ्नो समयको गन्थन सुनाउनुहुन्छ– माइत जाँदा घरदेखि धेरै तल रूखको फेदमा झ्यासले पुरिराखेको चप्पल लगाएर माइत जाने गरेको र फर्किँदा पनि त्यही झ्यासमा लुकाएर खाली खुट्टा घर जाने गरेको । उहाँ पनि आफ्नो समयकी क्रान्तिकारी बुहारी भएको थाहा पाउँदा उहाँकी क्रान्तिकारी बुहारीलाई खुसी र दुःख एकसाथ लाग्छ । दुःख लाग्नुका दुईटा कारण छन् । एउटा, आफू पनि अशिक्षित सासूजस्तै प्राकृतिक क्रान्तिकारीभन्दा बढी हुन सकिनँ भनेर र अर्कोचाहिँ भोलि आफ्ना छोरी, बुहारी पुस्ताका लागि म पनि मेरा लागि आमा, सासूजस्तै पुरातनवादी हुने हुँ कि भनेर ।
म बुहारी पनि ठिक्ककी भएँ । सासूससुराले चाहेजस्तो दिनहुँ साडीचोलो लगाएर, टीका, चुरा, पोते, सिन्दूरमा सजिएर, एक शब्दमा भन्दा बुहारीजस्ती भएर बस्न सकिनँ । नातेदारका अघि निहुरीनुपर्नेजति मेरो शिर निहुरिएन, घोप्टिनुपर्ने ठाउँमा घोप्टिएन । घरै बसेर बूढाबूढी सासूससुराको रेखदेख, स्याहारसुसार गर्नुपर्नेमा घरबाहिर निस्केर हिँडेँ । घरमै हुँदा पनि लुगा धोइदिने, चिल्लो लगाइदिनेजस्ता अपेक्षित स्याहारका काम मेरो बुताबाहिरका भए । मैले नजानेको रोटी पकाउन सिकिहेरेँ, जानिनँ । छोडिदिएँ । अनुमति मागेर होइन, जानकारी दिएर आफूलाई मनलागेको ठाउँमा हिँडेँ । यसर्थ, म घरका लागि क्रान्तिकारी बुहारी हुँ, तर म बुहारी हुँ, यही नै मलाई ठिक्ककी स्वास्नीमान्छे बनाउन पर्याप्त छ । वास्तवमा विवाह संस्थाभित्र पसेर परिवारिक संरचनाको हिस्सेदार भइसकेपछि पूर्णतः महिलावादी हुन औधी चर्को हुन्छ । चाडबाड, श्राद्ध–तिथिमा बुहारीजस्ताले पहिरन र आचरण नगरी धरै छैन । सीमित नै सही, तर सम्बन्धको जालोमा कतै न कतै बेरिएर अल्झिनुपरिरहेकै छ ।आफूले लगाएको, खाएको, बसेको हरेक कुरामा निगरानी गरिरहेका सिसिटिभीजस्ता सम्बन्ध, जसले केही नहुँदो पो देखिरहेको छ कि भनेर मनको कुनै कुनामा हरदम डर लुकिबसेकै छ ।
‘महिलावादको कुरा गर्ने धेरै महिलाको घरबारबिग्रेको छ ।’ ‘घरपरिवारलाई समेट्दै क्रान्ति गर्न सक्ने पो सक्ने ।’ कुनै महिलाले चलनविरुद्ध कुरा वा काम गरे अक्सर मान्छेले दिने प्रतिक्रिया यस्तै हुन्छन् । केही समयअघिसम्म मलाई पनि लाग्थ्यो, पारिवारिक, आर्थिकलगायतका अन्य सबै जिम्मेवारी निभाएर फुर्सदमा गर्ने काम हो क्रान्ति । अर्थात्, धेरैले बुझेको नारीवाद भनेको घरको सबै काम सकेर, पारिवारिक कर्तव्यमा केही तलमाथि नपारी भेला, गोष्ठीमा भाग लिनु, आन्दोलन, जुलुसमा सहभागी हुनु मात्र हो ।
म बुहारी पनि ठिक्ककी भएँ । सासूससुराले चाहेजस्तो दिनहुँ सारीचोलो लगाएर, टीका, चुरा, पोते, सिन्दूरमा सजिएर, एक शब्दमा भन्दा बुहारीजस्ती भएर बस्न सकिनँ । नातेदारका अघि निहुरिनुपर्नेजति मेरो शिर निहुरिएन, घोप्टिनुपर्ने ठाउँमा घोप्टिएन ।
क्रान्ति गर्नुभन्दा पहिला क्रान्ति किन गर्नुपर्नेछ भन्ने बुझ्नु अनिवार्य छ । जसरी सास नफेरे हाम्रो इहलीला समाप्त हुन्छ भन्ने थाहा छ तर पनि हामी सास फेराइमाथि ध्यान दिइरहेका हुँदैनौँ त्यसरी नै क्रान्तिविना हामी कम ‘प्रिभिलेज’प्राप्त व्यक्तिहरूले शिर ठाडो पारेर आत्मसम्मानका साथ बाँच्न सक्दैनाैँ भन्ने थाहा हुँदाहुदै पनि हामी यथास्थितिमा अभ्यस्त भइरहेका हुन्छौँ । कोहीभन्दा कम मानिस आकलन गरिनु, राज्यबाट पाउने सेवा–सुविधामा कम पहुँच पाउनु अन्याय हो भन्ने बुझेपछि सहन गाह्रो हुन्छ । र, सकेसम्म हामी सास फेरिरहेको कुरा बिर्सिएझैँ यी अन्यायलाई पनि बिर्सिन खोज्छौँ । नयाँ केही गर्नुभन्दा अन्यायविरुद्ध बोल्ने बानी परिआएको अपमान, हिंसा सहन हामीलाई सहज लाग्छ ।
हामीले बुझ्नुपर्छ, लेखपढ गर्नै नजानेका मान्छे पनि हामीभन्दा बढी क्रान्तिकारी हुन सक्छन् । हाम्रोभन्दा समन्यायिक पारिवारिक जीवन बाँचिरहेका हुन सक्छन् । ‘हेर्ने कथा’ले केही अघि देखाएको ‘सुगन्धी कथा’ यसको ज्वलन्त उदाहरण हो । मैले पनि धेरै अन्यायी कुरालाई बुझ्न बाँकी नै छ । कतिपय बुझेका कुरामाथि पनि विश्वस्त हुन बाँकी छ । केही समयअघि सामाजिक सञ्जालमा ‘ठिक्ककी फेमिनिस्ट’ भनेर द्वैध मानसिकतामा अल्झिएकाहरूलाई उपनाम दिइएको थियो ।
हरेकपटक त्यस किसिमका टिप्पणी पढ्दा कतै मलाई पो भनिएको हो कि ! भनी झसंग हुन्थेँ । मलाई ठिक्ककी फेमिनिस्ट हुनु छैन । तर, मेरो चरित्रमा स्पष्टता छैन । ‘मेकअप गरेर जुलुसमा जाने महिला फेमिनिस्ट हुन सक्दैनन्’ भन्ने सरिता तिवारी पनि मलाई ठिक लाग्छ अनि ‘मेकअप गर्नैहुँदैन भन्ने कुरा पनि अर्को जडता हो’ भन्ने सरला गौतमको तर्क पनि ठिकै लाग्छ । ‘बाउ/लोग्नेसँग मेकअप गर्न पैसा माग्नेले फेमिनिजम नसिकाउनू’ भन्ने कमेडियन सीता न्यौपानेको सच्चा फेमिनिस्ट हुन आत्मनिर्भर हुनुपर्ने कुरा पनि ठिक लाग्छ, तर आत्मनिर्भर बन्न नसकेका महिलालाई पितृसत्ताले दास बनाइरहन पाउने छुट छैन भन्ने पनि उत्तिकै अकाट्य सत्य लाग्छ । मलाई मेरी आमा, सासूजस्ता सामयिक क्रान्तिकारीको पनि थोरै मूल्यांकन त गरिनुपर्छ भन्ने लाग्छ, तर त्यसमै सीमित रहेरचाहिँ महिलाले खोजेको न्याय पाउन असम्भव छ भन्नेमा पनि विश्वस्त छु ।
यो युद्धमा समाजसँग भन्दा बढी आफ }Fसँग लड्नुपरिरहेको छ मैले । नयाँ कुरा सिक्नुभन्दा बढी पहिले सिकिएका खराब कुरा बिर्सिनु छ । गाँठो पारी हिँड्ने कपाल भर्खर फुकाउन थाल्दै छु, त्यसलाई खौरेर फाल्न कति समय लाग्ने हो थाहा छैन । मेकअप बक्स केही हल्का हुँदै छ त्यो भाँडो कहिले रित्तिने हो थाहा छैन । अस्थायी जागिर कहिले टुट्ला र स्वतन्त्रताको एउटा खुट्टो भाँचिएला भन्ने डर सधैँ भइरहन्छ । दुई छाकको जोहो कहिले पुग्ने हो थाहा छैन । अहिले त म लेखनाथ बाजेलाई यति नै भन्न सक्छु, मान्छे हुने सपना देखेकी, ठिक्ककी फेमिनिस्ट अर्थात् प्राकृतिक क्रान्तिकारी मात्रै नहुन प्रयासरत स्वास्नीमान्छे हुँ ।
नोटः मलाई विशेषण थपिएको भयंकर ठूलो मान्छे बन्ने चाहना छैन । थाहा छ, मसँग त्यो क्षमता पनि छैन । मात्र यो पृथ्वीको आममान्छे भएर बाँच्न पाऊँ ।