जन्म तिम्रो इच्छा होइन, तर जीवन तिम्रो इच्छा हो । जीवनका लागि उत्साह छ भने अज्ञानताले पनि बाटो देखाउँछ । ब्रह्माण्डले दिशा बदल्छ । युवाभित्र चिरयुवा जन्मिन्छ ! हिँड्दाहिँड्दै काठमाडौंका सडकका पेटी हराएजस्तै देशभित्र देशका युवा हराइरहेका छन् । देशबाट देशका युवा हराइरहेका छन् । युवा हुन नसकेका युवाले आज आफूलाई युवा भनिरहेका छन् ।मान्छेले मान्छेको उन्मत्त उमेरलाई ‘युवा’ र ‘युवती’ शब्दले चिनाउँदै आएको छ । तर, मान्छे उमेरले मात्र युवा हुँदैन । युवा हुनका लागि सकारात्मक खतरा मोल्न तयार हुनुपर्छ– जुनसुकै उमेरमा ।
समाजका आँखा बूढा भइसकेका छन् । पुरुष होस् वा स्त्री ! समाजका बूढा आँखाले स्त्रीको बाटुलो वयलाई युवती र पुरुषको बटारिएको शरीरलाई युवा देख्छन् । तिमी पनि तिनै बूढा आँखाले हेर्छौ । त्यही देख्छौ । शरीरमा बल छ, उमेर छ त्यसैले भन्छौ– म युवा हुँ ! बलले युवा हुँदैन– तिमीभन्दा कम उमेरको साँढे तिमीभन्दा बलियो छ । साँढे सधैँ युवा हुनुपर्ने !
युवाको कुनै उमेर हुँदैन । जवान हुँदैमा युवा हुन सक्दैन । ‘योङ्ग’ देखिदैमा, ‘युथ’ हुन सक्दैन । तिमीमा प्रसादपूर्ण सुन्दरता छ । अपार्थिव कान्ति छ । महिमापूर्ण आकर्षण छ । तिम्रा ओठमाथि उम्रेका जुँगा र छातीमा फुलेका थुँगाले तिमीलाई युवा–युवती बनाउँदैन । जवानी छ । शरीर पुष्ट छ । शारीरिक सुन्दरता स्वाभाविक हो । शरीर र सुन्दरतामा घमण्ड छ । केटीले आफूलाई युवती ठान्छे । केटाले युवा ठान्छ । तर, शारीरिक सुन्दरतामा घमण्ड गर्नु मूर्खता मात्र हो, युवा–युवती हुनु होइन ।
युवाको सौन्दर्य शरीरमा होइन विचार र चेतनामा हुन्छ । जीवन भौतिकभन्दा बढी मानसिक हो । यद्यपि ‘युवा र युवती’ शब्द स्वयंले लिंगभेद गरिरहेका छन् । युवा शब्दलाई म ‘युनिसेक्स’ शब्द मान्छु । पुराना पद प्रतिस्थापन गर्ने साहस पनि गर्नुपर्छ । पुरुष हौ वा स्त्री– तिमी युवा हौ, यदि युवत्व छ भने । युवत्व ! युवत्वको पहिलो योग्यता उमेरसँगै बुद्धिशीलता हो । दोस्रो, बुद्धिशीलतासँगै चेतनशीलता र तेस्रो चेतनशीलतासँगै निडरता हो । बुद्धि, चेतना र निडरताभित्र विचारको सघनता र गहनता हो, युवत्व । बुझ, जीवनको गौण गणित हो– उमेर । जवानीको उत्क्रोश होइन, जीवन उत्क्रान्ति हो, युवत्व !
निराशा, सन्देह, भय र अन्धविश्वास मानिसको उमेरका अवस्था होइनन्, मानसिक दुरावस्था हुन् । निराशालाई आशामा बदलेर आत्मविश्वासको उज्यालो पोत्नु । सन्देहको पर्खाल भत्काएर निःसन्देहको ढोका खोल्नु । भयको भूतलाई नर्भयको आगोले भष्म गर्नु । अन्धविश्वासको अन्धकारलाई विश्वासको प्रकाशले मेटाउनु । सोचलाई जीवन्त र जवान राख्नु हो युवत्व । निरीहता होइन, निर्बन्ध निर्भयता हो युवत्व । जीवनको वास्तविक वास्तविकताको उत्खनन हो, युवत्व ।
जवानी र यौवनसँग बाँधिएको हँुदैन युवत्व । उमेरको उपज मात्र हो जवानी र यौवन । तिमीलाई उमेरले युवा बनाउला, तर युवत्वको निर्माण तिमी आफैँले गर्नुपर्छ । युवत्व जीवनको कला हो– आफैँले आफैँभित्र सिर्जना गर्ने एक महान् कला । त्यो कलाको पौरखी पनि आफैँ हो, पारखी पनि आफैँ हो र सारथि पनि आफैँ हो । कला र सिर्जनाको सर्वकालीन चर्चित नाममध्ये एक नाम हो– पाब्लो पिकासो । उनी भन्छन्– युवा हुन धेरै समय लाग्छ ।यौवन र युवत्व ! यौवन शारीरिक अवस्था हो भने युवत्व मानसिक स्वस्थता हो । फरक हुन् यी । शारीरिक आकृति र मानसिक मनोवृत्तिजस्तै फरक । युवत्वको अस्तित्व शरीरको आकार होइन, चेतनाको आयतनसँग बाँचेको हुन्छ ।
युवत्वसँगै युवा र युवती शब्दको सम्बन्धलाई पनि हाम्रा बूढा आँखाले सधैँ यौवन र यौनसँग जोडेर हेर्छन् । तर, यौवन र यौन जीवनका संयोगपूर्ण योग मात्र हुन् । उमेर संक्रमणको एक अवधिको योग र संयोग । शरीर, शारीरिक क्रियाको प्राकृतिक प्रक्रिया हो भने चेत–चेतना र विवेक मानसिक क्रिया–प्रक्रियाको प्रतिक्रिया हुन् । जीवन–दर्शन चिहाउने आँखीझ्यालका प्वाल पनि हुन् यी । चेत–चेतना र विवेक नै युवत्वका प्राणवायु हुन् । त्यसैले युवत्व आफैँमा मानवीय जीवनदर्शनको एक दर्शन पनि हो !
जवानी ! जसलाई हामी यौवन पनि भन्छौँ । यौवनसँग बुद्धिको स्थान कहाँ छ ? मानिस किन एकसाथ जवान र बुद्धिमान हुन सक्दैन ? किन सजिलो छैन यौवनसँगै बुद्धि र बुद्धिसँगै यौवन हिँडाउन ? किनभने यौवन जीवनको एक अप्रिय काल पनि हुन सक्छ । यौवनकालमै मानिस सिर्जनशील र विवेकपूर्ण हुनबाट चुक्छ । वास्तवमा जीवनको एक अप्ठ्यारो अवधि हो, यौवन । एक दुरुह द्विविधा पनि हो, यौवन ।
जीवनको बाटोभित्र बाटो, बाटोमाथि बाटो, बाटोसँग बाटो हिँडेको बाटोहरूको बाटो हो, यौवन । यद्यपि यौवनले कहिलेकाहीँ कुनै बाटो देख्दैन । कुनै बाटो ठम्याउन सक्दैन । सक्ने भए बालकृष्ण समले अन्धवेग लेख्ने नै थिएनन् होला ! यौवन धेरैका लागि अवसाद पनि बनेको छ । त्यसैले यौवन मूर्खता पनि हो, तर यौवन चेतना पनि हो । यौवन ‘स्टेरियोटाइप’ पनि हो । यौवन ‘क्लासिक’ पनि हो । यौवन ‘मोडल’ पनि हो । यौवन आफैँमा भावुकताको गहिराइ पनि हो । यौवन जीवनको सर्वोत्कृष्टता पनि हो ।
मानव जीवनको एक महान् अवसर हो– यौवन । यौवन आउँछ, अवसर पनि आउँछ । तर, दुवै सधैँ आउँदैनन् । गएपछि दुवै फर्किंदैनन् । समयका बहान हुन् यौवन र अवसर । छुटेका अवसरहरूको अवधि हुनु हुँदैन यौवन । जीवनको ब्लुप्रिन्ट हो– यौवन । उमेर होइन, अवसरले मानिसलाई यौवन बनाउनुपर्छ ।
जवानी जीवनको अपरिपक्वसमय पनि हो, तर त्यो समय नै जीवनको अमूल्य समय पनि हो । स्वर्णिम समय भने पनि हुन्छ । परिपक्वताको प्वाँख पलाउने समय ! जीवनको एक ‘पावरफुल पोटेन्सियल पिरियड’ हो जवानी । जवानीमा जसले यौवनको दुरुपयोग गर्छ त्यो कहिल्यै युवा हुन सक्दैन ।
जवानी दोषपूर्ण भयो भने बुढ्यौली अफसोसपूर्ण हुन्छ । युवावस्थाको दुरुपयोग आफैँमाथिको एक चरम अपराध हो । जर्ज बनार्ड शाले त्यसै भनेका होइनन्– ‘जवानी युवाको बर्बादी हो ।’ तर बर्बादी र विनाश होइन, विनिर्माण हो– युवा । चर्चित अमेरिकी लेखक माया एन्जलुलाई बुढ्यौलीसम्म पनि कहिल्यै पछुतो भएन । उनी भन्थिन्– ‘मैले मेरो केही यौवन ज्ञानका लागि त्यागिदिएँ, तर नोक्सानीभन्दा धेरै मूल्यवान् थियो मेरो फाइदा ।’ हो, त्यसैले युवा आफैँमा एक संकल्प पनि हो र शक्ति पनि हो । चेतन मस्तिष्क नै जागरुकताको शक्ति हो । त्यही शक्ति नै युवा हो ।
बीसौँ शताब्दीका समृद्ध कलाकार थिए उनै पाब्लो पिकासो । युगले प्रेम र ईश्वरीय आरधानाका चित्र कोरिरहेको थियो । पिकासोले स्त्रीका यौनाङ्गमा मानिसका आँखा गाडिएका देखे । चित्रमा उतारे । युगीन परम्परामाथि आफैँमा एउटा विद्रोह थियो, त्यो । तर, त्यो विद्रोह मात्र थिएन युवा चेत थियो, त्यो । समृद्धिसँगै उनको चर्चा र विवाद पनि चुलियो । उनै पिकासोले आफू सधैँ र जुनसुकै उमेरमा युवा हुन सक्ने उद्घोष पनि गरे– ‘युवाको कुनै उमेर हुँदैन ।’ वास्तवमा बुढ्यौली जीवनको इच्छा होइन, अपरिहार्यता हो । तर, युवा हुन बुढ्यौलीले रोक्दैन । इच्छा जवान छ भने उमेर बाधक हुँदैन । मनको ‘मिटिओरिक मिटर’ घुमिरहनुपर्छ ।
युवा त्यो हो, जो आज्ञाकारी होइन, प्रश्नकारी हुन्छ । युवा त्यो हो, जो ‘माइन्डसेट’को जेल ब्रेक गर्छ । युवा त्यो हो, जो ‘रेडिमेड सलुसन’को ‘इलुजन’बाट बाहिर निस्केर आफू भएर बाँच्न सक्छ । आफ्ना आँखाले हेर्न सक्छ । आफ्नै मस्तिष्कले सोच्न सक्छ ।
जीवन ! जीवन आफैँमा एक जंगल पनि । आजको एक ‘जनेरेसन’ आफ्नै जीवनको जंगलमा हराएको छ । त्यो त्यही ‘जनेरेसन’ हो, जसले आफूलाई युवा भन्छ ।
पुरातन विचारका विपर्याय विचारक ओशो पनि युवालाई उमेरभित्र होइन, मानसिक चेतनाको उत्कृष्टताभित्र खोज्छन् । उनी भन्छन्– ‘युवा हुनु एक गहिरो घटना हो ।’ आध्यात्मिक भौतिकवादका अविचलित चिन्तक ओशोका विचारले आफूलाई आफैँभित्रको जंगलमा खोज्ने बाटो दिन सक्छन् ।संसार ! सांसारिक झूटको एक्स्पाएर्ड क्याप्सुल खाएर बाँचेको छ, यो संसार । तिमी पनि त्यही क्याप्सुल निर्धक्क निलेर बाँचिरहेका छौ । आफूलाई युवा भन्छौ तर ‘एडिक्टेड’ छौ !
झूटको क्याप्सुल बनाउने सबैभन्दा थोत्रा कारखाना तिम्रा मातापिता पनि हुन् । ती मातापिता, जसले आफ्नो स्वार्थपूर्ण वर्तमानको तगारो सन्तानको भविष्यको बाटोमा तेस्र्याउँछन् । सन्तानप्रतिको शोषण हो, यो । आफू सधैँ आफू हुनुपर्छ । आफ्ना सन्तानलाई पनि सधैँ आफू हुन दिनुपर्छ । हरेक मान्छे आफू भएर बाँच्न सक्नुपर्छ । आफू भएर बाँच्न नसक्नेहरू सधैँ आज्ञाकारी सन्तान हुन्छन् । युवा हुन सक्दैनन् । आज्ञाकारी सन्तान र आज्ञाकारी जनता उस्तै हुन्– घरका रैती र देशका रैती ।
आज्ञाकारी होइन, प्रश्नकारी बन । प्रश्नले तिम्रो योग्यता दर्साउँछ । प्रश्नले समस्या बढाउने होइन, समाधान खोज्ने हो । असल सन्तान त्यो हो, जो समाधान खोज्न प्रश्न गर्न सक्छ– बुद्धजस्तै । प्रश्नकारी सन्तान र प्रश्नकारी जनता पनि उस्तै हुन्– घरका नागरिक र देशका नागरिक । यही फरक छ रैती र नागरिकमा । तिमी एउटा कपटपूर्ण अर्थबोधमा अल्झिएका छौ । ‘माइन्डसेट’ हो यो ‘आज्ञाकारी’ शब्द । पशु मात्र पूर्ण आज्ञाकारी हुन्छ, मानिस हुँदैन । युवा त्यो हो, जो आज्ञाकारी होइन, प्रश्नकारी हुन्छ । युवा त्यो हो, जो ‘माइन्डसेट’को जेल ब्रेक गर्छ । युवा त्यो हो, जो ‘रेडिमेड सलुसन’को ‘इलुजन’बाट बाहिर निस्केर आफू भएर बाँच्न सक्छ । आफ्ना आँखाले हेर्न सक्छ । आफ्नै मस्तिष्कले सोच्न सक्छ ।
युवा त्यो हो, जो परिवर्तनको पुञ्ज बन्छ । जसले पुराना र कथित बासी विचार र अर्थहीन अभ्यास विस्थापित गर्छ । समाजलाई नयाँ ज्योति दिन्छ । युवा नै त्यो शक्तिशाली उपकरण हो, जसले सधैँ परिवर्तनको पथ निर्माण गर्छ । कथित समाज, शिक्षक, गुरु–महात्मा, धर्म, संस्कार, परम्परा, रीतिरिवाज र राजनीति ! चलचल्तीका बकवास पनि हुन् यी सब । यी सब झूटको क्याप्सुल बनाउने कर्पोरेट कारखाना हुन् । तिमी तिनै थोत्रा कारखानाको पाले बनेर सुरक्षा दिइरहेका छौ । तिमी तिनै थोत्रा कारखानाबाट निस्किने निश्चेतनाको धुवाँको मुस्लोको अन्धकारमा हराएका छौ । आफूलाई गुमाइसकेका छौ । अझै तिमी आफूलाई युवा भन्छौ । तिमी त्यतिवेला युवा हुन्छौ, जब त्यहाँबाट आफूलाई फिर्ता ल्याउँछौ– जहाँबाट तिमी हराएका थियौ । गुमेका थियौ । तिमी तब मात्र युवा हुन्छौ, जब तिमीले आफूलाई खोज्ने शक्ति आफैँभित्र निर्माण गर्छौ । प्राप्त गर्छौ ।
भ्रमको गहिरो भासजस्तो भावलाई पूर्वीय दर्शनले ‘माया’ भन्छ । भ्रमलाई मानवीय चेतबाट दूर गर्न सकेनन् पुराना दर्शनले । मानव चेतनाको ‘आउट अफ फियर फम्र्याट’को चेतभावबाट जन्मिएका छन् नित्सेका ‘क्रोम–ब्राइट’ विचार । उनका विचारले स्वयंका बारेमा अलग किसिमले सोच्ने र बुझ्ने ल्याकत दिन सक्छ । उनको आत्मस्वतन्त्रता बोल्छ, ‘आफ्नो मास्टर आफैँ बन ।’ उनै नित्से भन्छन्– ‘सामान्यतया एउटा देशले आफ्ना युवालाई राजनीतिको बिरामी ओछ्यानमा सुताएर नवीकरण गर्छ ।’
राजनीतिको त्यही बिरामी ओछ्यानमा सुतेर सधैँ नवीकरण हुँदै छन् देशका युवा । आफूलाई युवा भन्ने आजका युवा आजै बूढा भएर निस्किँदै छन् । पैँतीस वर्षीय ग्यब्रियल बोरिक चिलीका राष्ट्रपति चुनिए । हाम्रा पैँतीय वर्षीय जुँगामुठे जमात पचहत्तर वर्षीय गन्धेनेताको पाउपूजामा माथा घोट्छन् । खराउपुजारी बनेर बाँचेको छन् ती कथित ‘युवा !’
मूर्खहरूले बोल्ने सबैभन्दा सस्तो बोली हो जिन्दावाद र मुर्दावाद । ओकल्दै निर्लज्ज हिँडेका छन् ती कथित ‘युवा ।’ युवाभित्र ‘युवा’ मरेका युवा । युवत्वमाथिको स्वयंको बलात्कार हो यो । निजत्वको चिरहरण हो यो । देशमा असहनीय शून्यता छाएको छ । देशको समस्या समाधान गर्ने देशका नेता देशकै लागि ठूलो समस्या भएका छन् । देशको बोझ उठाउनुपर्ने राजनीतिक नेतृत्व देशकै लागि विशाल बोझ भएको छ । त्यही समस्यामाथिको समस्या, त्यही बोझमाथिको बोझ भएका छौ तिमी । अझै तिमी आफूलाई युवा भन्छौ तर तिमी युवा होइन । कहिल्यै युवा हुन नसकेको कथित ‘युवा’मात्र हौ तिमी । त्यही बोझिलो समयले घिसारिरहेको बोझमाथिको बोझ हौ तिमी ।
युवा कहिल्यै कसैको बोझ बन्दैन । युवा सधैँ समयको बोझ बोकेर हिँड्छ । फोहर फ्याँकेजस्तै फ्याँक्छ त्यो बोझ । चेतन मस्तिष्कभित्र तिरष्कारको पात्र होइन मानवीय मूल्यको आविष्कार बन्नुपर्छ युवा । राजनीति ! नीतिमध्येको सबैभन्दा महान् र शुद्ध नीति हो राजनीति । आज सबैभन्दा तुच्छ र फोहोरी भएको छ, त्यो नीति । भ्रष्टाचार, अत्याचार, दुराचार, बलात्कार, हत्या, हिंसा, बेइमानी, लुट र ठगीजस्ता शब्दहरू राजनीतिको पर्यायवाची शब्द बनेका छन् । नेताका अनुहारमा चोरको बिम्ब पोतिएको छ । बुद्धको देश नेपाल । सगरमाथाको देश नेपाल । आज भ्रष्टहरूको देश नेपाल भएको छ । भ्रष्टको अनुसरण बढ्दो छ ।
आफूलाई युवा भन्ने आजका युवा आजै बुढा भएर निस्किँदै छन् । पैँतीस वर्षीय ग्यब्रियल बोरिक चिलीका राष्ट्रपति चुनिए । हाम्रा पैँतीस वर्षीय जुँगामुठे जमात पचहत्तर वर्षीय गन्धेनेताको पाउपूजामा माथा घोट्छन् । खराउपुजारी बनेर बाँचेका छन्, ती कथित ‘युवा !’
भ्रष्टका अनुयायी पनि भ्रष्ट नै हुन्छन् । झन् ठूला भ्रष्ट । तिमी आफूलाई युवा ठान्छौ तर आफैँ भ्रष्ट छौ । भ्रष्टको अनुयायी बनेका छौ । भ्रष्ट पिँढी कहिल्यै युवा
हुन सक्दैन । देशमा सामूहिक बलात्कार बढेको छ । आफूलाई युवा ठान्ने दसौँ बज्रस्वाँठहरू एउटी नारीको अस्तित्व लुटिरहेका छन् । आफूलाई नेता मान्ने सयौँ गन्धे बूढाहरू देशको अस्तित्व लुटिरहेका छन् । देश मरिरहेको छ । तिमी मौन मलामी बनेका छौ । आफूलाई अझै युवा ठान्छौ ? युवा भएको देश निरीह हुँदैन । युवाजस्तै सशक्त हुन्छ ।
कायरता होइन, वीरता हो युवा । अशक्तता होइन, सशक्तता हो युवा ।तिमी अलकापुरी कान्तिपुरी नगरीको फोहोर कुल्चेर हिँडिरहेका छौ । तिम्रा नेता तिम्रो अस्तित्व र भविष्य कुल्चेर हिँडिरहेका छन् । वर्षौंदेखि हिँडिरहेका छन् । निर्बाध हिँडिरहेका छन् । फोहोरको उपयोग सबैभन्दा बढी राजनीतिमै हुन्छ । अमेरिकाका ३१औँ राष्ट्रपति हर्वट हुभर भन्थे– ‘बूढाहरू युद्धको घोषणा गर्छन् । युवाहरू लड्छन् र मर्छन् ।’
तिमी सधैँ ती बिकामे बूढाहरूका लागि लडिरहेका छौ । जिउँदै मरिरहेका छौ । ती आमजनता तिमीजस्तै जिउँदै मरिरहेका छन् । ती आमजनता देशको नागिरको हैसियतबाट सधैँ वञ्चित छन् । आज देशमा सबैभन्दा निरीह कोही छ भने तिमी ‘युवा’ छौ र ती आमजनता छन् । निरीहताको पार्थिव–प्रतिमा बनेका छौ । अझै आफूलाई युवा भन्छौ ? युवा निरीहताको पार्थिव प्रतिमा होइन, सामथ्र्यको शौर्य हो ।
तिमीसँग आफ्नो टाउको पनि छैन । त्यो टाउकोलाई तिमी आफैँले तिनै गन्धे नेताको निजी पाइखाना बनाएका छौ । नैतिक धरातलबाट पूर्ण स्खलित ती गन्धे नेताबाट निःसृत मलमूत्र र विकार थाप्न हानथाप गर्दै तिमी टाउको अघि सार्छौ । तिनका इसारमा त्यो फोहोरी टाउको हल्लाउँछौ । के अझै पनि तिमी आफूलाई युवा भन्छौ ?
युवा हुने तिम्रो हकबाट तिमी आफैँ वञ्चित छौ । युवाले अग्रजलाई सम्मान गर्छ । देशलाई दूषित, दुःखित र पीडित बनाउने नालायक, फोहोरी र गन्धे बूढाहरूलाई विस्थापित गर्छ । दासैदासको देशजस्तो भएको छ आज देश । जहाँका धेरै युवा कहिल्यै युवा हुन सकेका छैनन् । उमेरले आफूलाई युवा ठानेका छन् तर ती युवामा युवत्व बाँचेको छैन– मानिसमा अस्तित्व नबाँचेजस्तै ।
समाज दासहरूको समूह पनि हो । सामथ्र्यलाई समाजले स्वीकार गर्दैन, तर सामथ्र्यले नै नयाँ समाजको निर्माण गर्छ ।सामथ्र्य अर्थात् अठोट ! अठोटसँग आँट, आँटसँग जोस, जोससँग जाँगर, जाँगरसँग चेत, चेतसँग चिन्तन, चिन्तनसँग निष्ठा, निष्ठासँग नीति, नीतिसँग निरन्तरता, निरन्तरतासँग उद्देश्य, उद्देश्यसँग लक्ष्य, लक्ष्यसँग शक्ति र साहस । म त्यही शक्ति र साहसलाई युवाशक्ति भन्छु । त्यो शक्ति, जुन शक्ति कुनै अनैतिक शक्तिसँग कहिल्यै झुक्दैन । युवा त्यो होइन, जो कहिल्यै युवा हुन सकेन । युवा त्यो हो, जसले चुनौती लिएर परिवर्तन दिने सपना देख्छ । आफ्नै सामथ्र्यमा विश्वास गरेर पूरा गर्छ त्यो सपना । त्यो सपना नै कुनै दिन यो संसारको एक महान् सपना हुन्छ ।