• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ फाल्गुण २१ शनिबार ०६:३४:००
इतिहास

नेपाल–बेलायत सुगौली सन्धिका २०६ वर्ष

पूर्वमा मेचीदेखि टिस्टासम्म, पश्चिममा महाकालीदेखि सतलजसम्म रगतले साटेका भूभाग नेपालले अंग्रेजलाई ४० दिनभित्र खाली गर्नुपर्‍यो

२०७८ फाल्गुण २१ शनिबार ०६:३४:००

सन् १८१४ जुनमा बेलायत सरकारले नेपालसँग कूटनीतिक सम्बन्ध रद्द गर्दै युद्धको घोषणा गर्न भारतमा शासन गरेको उसको इस्ट इन्डिया कम्पनी सरकारलाई निर्देशन जारी गर्‍यो । इस्ट इन्डिया कम्पनीले नोभेम्बर १ मा नेपालविरुद्ध युद्धको घोषणा भयो । त्यतिवेला महाकालीभन्दा पश्चिमका क्षेत्रमा तत्कालीन गोर्खाली फौज नेपाल एकीकरणको अभियानमा थिए । नेपाली फौजले कुमाउँ, गढवाल र पन्जाब हिल स्टेटमा आधिपत्य स्थापित गरिसकेका थिए । एङ्ग्लो गोर्खा वार भनिने युद्ध घोषणा हुने वेलामा नेपाल टिस्टादेखि सतलजसम्म थियो । युद्धको १७ महिनापछि मार्च ४, १८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच शान्ति तथा मैत्री सन्धि भयो, जसलाई सुगौली सन्धिका नामले चिनिन्छ । नेपालले युद्धबाट जितेको एकतिहाइ भूभाग गुमाएको सन्धिलाई इतिहासको नमिठो दिनका रूपमा सम्झना गरिन्छ । 

नेपाल र बेलायत सरकारबीच सुगौली सन्धिमा हस्ताक्षर भएको यही शुक्रबार २०६ वर्ष पुगेको छ । सुगौली सन्धिपछि नेपाल र भारतमा रहेको ब्रिटिस औपनिवेशिक सरकारबीच दुईपटक पूरक सन्धि भयो । नेपालको वर्तमान सिमाना सुगौली सन्धि र दुई पूरक सन्धिको व्यवस्थाअनुसार पूर्वमा मेची र पश्चिम महाकाली कायम भएको हो । 


जानकारहरूका अनुसार पश्चिम नेपालको बुटवलस्थित पालिही, स्युराज, माझखण्ड, खजहनी भूभागमा अंग्रेजले दाबी गरेपछि विवाद भएको थियो । ती भूभाग लखनउका नबाब भएको अंग्रेजको दाबी थियो, तर ती भूभाग पाल्पाको सेन राज्यअन्तर्गत भएका कारण नेपालको आधिपत्य रहेको नेपालको दाबी थियो । यही बहानामा युद्ध सुरु भएको सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायतको दाबी छ । 


नेपाल र अंग्रेजबीच करिब १७ महिना युद्ध चलेको थियो र युद्धमा नेपाली सैनिकले बहादुरी प्रदर्शन गरे पनि अंग्रेजलाई कुनै पनि मोर्चामा जित्न सकेन । महाकाली पश्चिममा नेपालको हार भएसँगै अंग्रेजले पूर्वतिरबाट काठमाडौँ कब्जा गर्ने हल्ला फैलाए र सँगसँगै नेपालसँग सन्धिको प्रस्ताव गरे । अंग्रेजले २ डिसेम्बर १८१५ मा शान्ति तथा मैत्री सन्धिको मस्यौदा नेपाललाई पठायो । तर, एकतिहाइ भूभाग गुमाउने प्रस्ताव तत्कालीन प्रधानमन्त्री भीमसेन थापालाई मान्य भएन । तर, दरबारभित्र कलह, भाइभारदारभित्रको आपसी मनोमालिन्यका कारण नेपाल युद्ध लड्न सक्ने अवस्थामा थिएन । अन्ततः बाध्यतावश नेपालले सन्धि स्वीकार गर्न बाध्य भयो । 


अंग्रेजले पठाएको सन्धिको मस्यौदामा नेपाललाई १५ दिनमा हस्ताक्षर गर्न भनिएको थियो । नेपालले अलमल गरिरहेको अवस्थामा अंग्रेजले काठमाडौँ र पूरै नेपाल नै कब्जा गर्ने प्रचारबाजी गरेपछि राजा गीर्वाणयुद्ध विक्रम शाहका प्रतिनिधिका रूपमा राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई सन्धिको जिम्मेवारी दिइयो । अंग्रेजले मस्यौदा पठाएको ९३औँ दिनमा १८१६ मार्च ४ मा नेपालले हस्ताक्षर गरेको थियो । तत्कालीन समयमा सुगौली पुगेका चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले सन्धिमा हस्ताक्षर गरे । अंग्रेजका तर्फबाट लेफ्टिनेन्ट कर्णेल प्यारिस ब्राडसाले हस्ताक्षर गरे । सन्धिको सम्पूर्ण विषयवस्तु अंग्रेजले एकपक्षीय रूपमा तयार पारेका थिए । गभर्नर जनरल डेभिड अक्टरलोनीले त्यही दिन सन्धिमा हस्ताक्षर गरेर स्वीकृति दिएका थिए । दुवै देशका उच्च तहमा हस्ताक्षर नभए पनि प्रतिनिधिको तहमा हस्ताक्षर भएसँगै सन्धि लागू भयो । नेपालले रगतले साटेका भूभाग अंग्रेजलाई ४० दिनभित्र खाली गर्नुपर्‍यो । त्यहीबीचमा युद्धमा सहभागी भएका कमान्डहरू बिरक्तिएर लाखापाखा लाग्नुप¥यो ।


भारतको विहारमा रहेको सुगौलीमा पुगेर नेपालका तर्फबाट सन्धिमा हस्ताक्षर भएको एक पक्षको भनाइ छ । सन्धिमा ब्राडसाले हस्ताक्षर गरेर पठाइसकेका थिए । सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायतले भने हाल मकवानपुरको हेटौँडा नगरपालिका–९ मा रहेको सुगौली भन्ने ठाउँमा नेपालले हस्ताक्षर गरेको आकलन गरेका छन् । 


सुगौली सन्धिसँगै नेपालले पूर्वमा मेचीदेखि टिस्टासम्म र पश्चिममा महाकालीदेखि सतलजसम्मको जमिन गुमाएको थियो । त्यस्तै, बुटवलबाहेक कोसीदेखि महाकालीसम्मको सम्पूर्ण तराई पनि नेपालले गुमाएको थियो । मेचीदेखि कोसीसम्मको तराई मात्रै सुरुमा नेपालको थियो । सुगौली सन्धिको ९ महिनापछि नेपालले राप्तीपूर्व कोसीसम्म तराईका भूभाग फिर्ता पायो । अंग्रेजले सुगौली सन्धिबापत नेपालका असन्तुष्ट भाइभारदारका नाममा वार्षिक दुई लाख रुपैयाँ दिने भनेको थियो । त्यो दिनुभन्दा अंग्रेजले तराईको भूमि नेपाललाई दिनु उपयुक्त ठान्यो । त्यही वर्ष अर्थात् ११ डिसेम्बर १८१६ मा अंग्रेजले राप्तीदेखि कोसीसम्मको भूभाग नेपाललाई फिर्ता दियो । पूरक सन्धिमार्फत नेपालले पूर्वी तराई फिर्ता पाएको थियो । सुगौली सन्धि सदा कालका लागि भनिए पनि पूरक सन्धिले त्यसलाई खण्डन गरिदिएको छ ।

 
नेपालले सुगौली सन्धि गरेको ४४ वर्षपछि राप्तीदेखि पश्चिमको तराई प्राप्त भयो । सन् १८५७ मा भारतमा उठेको सिपाही विद्रोह साम्य बनाउन सैनिक सहयोग गरेर तत्कालीन प्रधानमन्त्री जंगबहादुरले अंग्रेज सरकारलाई खुसी पारे । त्यहीबापत अंग्रेजले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई दिए । नोभेम्बर १, १८६० मा पूरक सन्धिमार्फत नेपालले नयाँ मुलुक भनिने चार जिल्ला फिर्ता पाएको थियो । पश्चिमी भूभागमा लडाइँका आधारमा नेपालले जमिन गुमायो । तर, मेचीदेखि टिस्टासम्म नेपालले अंग्रेजसँग लडाइँ नै गरेको थिएन, तर जमिन अंग्रेजलाई दिन बाध्य भयो । 

नेपाल र अंग्रेजबीच करिब १७ महिना युद्ध चलेको थियो र युद्धमा नेपाली सैनिकले बहादुरी प्रदर्शन गरे पनि अंग्रेजलाई कुनै पनि मोर्चामा जित्न सकेन । महाकाली पश्चिममा नेपालको हार भएसँगै अंग्रेजले पूर्वतिरबाट काठमाडौं कब्जा गर्ने हल्ला फैलाए र सँगसँगै नेपालसँग सन्धिको प्रस्ताव गरे ।


सुगौली सन्धिमा हस्ताक्षर गर्ने इस्ट इन्डिया कम्पनीका लेफ्टिनेन्ट कर्नेल प्यारिस ब्राडसाले भनेका छन्, ‘गोर्खालीहरूले सुगौली सन्धि ढिलो स्वीकार गर्नुमा अरू कारण थिएन, उनीहरूको साम्राज्यको आधाभन्दा कम मात्रै उनीहरूसँग बाँकी रहनु थियो । वास्तवमा गर्विला गोरखाली जनताका लागि सन्धि साह्रै नै दुःखदायी थियो ।’ उनले यतिसम्म भनेका छन्, ‘हामीसँग सेनाको ठूलो संख्या थियो, तर शत्रु पक्ष (नेपाल)का सेनासँग सीप र बहादुरी थियो । उनीहरूसँग साधनस्रोत पर्याप्त हुन्थ्यो भने गोर्खालीले पूरै एसियामा शासन गरिसक्ने थिए ।’ (रि डिस्कोभर्ड हिस्ट्री अफ गोर्खाज)सुगौली सन्धि नेपाली इतिहासको सबैभन्दा दुःखको दिन थियो । अमरसिंह थापाजस्ता देशभक्तका लागि सन्धि सबैभन्दा पीडादायी भयो । युद्धमैदानबाट फर्केर उनी भिक्षुका रूपमा गोसाइँकुण्ड गए र त्यहीँ देहत्याग गरे । काजी अमरसिंह थापाले युद्ध मैदानबाट राजा गीर्वाणयुद्ध विक्रम शाहलाई पठाएको चिठीमा लेखेका छन्, ‘अंग्रेजले हाम्रो ठूलो भूभाग लिए । तर, उनीहरूभन्दा हामी कति धेरै बहादुर छौँ ।’ सुगौली सन्धिपछि नेपालको एकीकरण अभियानमा पूर्णविराम लाग्यो । 


नालापानीको लडाइँ लडेका बलभद्र कुँवर अंग्रेजलाई पराजित गरेर भारतीय उपमहाद्वीपबाटै धपाउन पन्जाबका राजा रणजित सिंहको सेनामा सहभागी भए । तर, उनी अफगानिस्तानमा मारिए । नालापानी लडाइँमा सहभागी ब्रिटिस विलियम फ्रेसरले भनेका छन्, ‘गोर्खाहरू विश्वका सबैभन्दा उत्कृष्ट सैनिक हुन् ।’ नेपालले १७९० मा कुमाउँ, १८०४ मा गढवाल त्यसपछि पन्जाब हिल स्टेट जितेर गोर्खालीले शासन चलाएका थिए । यद्यपि काठमाडौँ (सरकार)ले पश्चिमा सहभागी सैनिकलाई रासनपानीको यथोचित प्रबन्ध नगरेको गुनासो थियो । महाकाली पश्चिममा गोर्खाली सैनिकले स्थानीयमाथि दमन गरेको पनि आरोप लाग्ने गरेको छ । जसका कारण गोर्खाली सेनामा भर्ना भएका स्थानीय युवाले पनि विद्रोह गरेर ब्रिटिसलाई साथ दिएका थिए । गोर्खालीको हारको त्यो पनि एउटा कारण रहेको इतिहासविद्हरूले उल्लेख गरेका छन् । नेपालको पश्चिम मोर्चामा लडाइँ भएको थियो । त्यहीँको हारले ब्रिटिससँग नेपाल युद्ध गर्न बाध्य भयो । 


१८०९ मा काँगडामा युद्ध हारेको नेपालले त्यसपछि क्रमशः हार्दै गएको थियो । नालापानीमा बलभद्र कुँवरको हारपछि अमरसिंह थापाले काठमाडौंलाई लेखेको चिठीमा उल्लेख छ, ‘६०० जना साधारण मानिस लिएर खुकुरीको भरमा तीनदेखि चार हजार शत्रुलाई बलभद्रले क्षति पुर्‍याएका छन् । हामी शत्रुको पर्खाइमा राजगढमा छौँ ।’ अमरसिंह थापा, भक्ति थापाहरूले लडाइँ जित्न सकेनन्, नेपालको हालत बहादुरीमा सीमित भयो । त्यसवेला करिब १२ हजारजति नेपाली फौज लडाइँमा थिए । इतिहासअनुसार जमुनाहा पश्चिम चार हजार, जमुनाहदेखि कालीसम्म दुई हजार, कालीपूर्व जम्मा ६ हजार सक्रिय फौज थिए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापाजस्ता योद्धाले लडाइँको नेतृत्व गरेका थिए । नेपालविरुद्धको युद्धमा ब्रिटिस कमान्डहरूमा मेजर जनरल बानेट मार्ले, मेजर जनरल जोन सुलिभान उड, मेजर जनरल रोलो जिलेस्पी र कर्नेल डेभिड अक्टरलोनी थिए । मेजर जनरल जिलेस्पी नालापानी युद्धमा मारिएका थिए । 


१८१४ नोभेम्बरपछिको लडाइँमा गोर्खाली फौज पराजित भयो । पश्चिम नेपालमा भएको लडाइँमा गोर्खालीले बहादुरी प्रदर्शन गरे, तर जित्न सकेनन् ।गोर्खालीहरूको संस्कार, बहादुरी र बफादारितालाई ध्यानमा राख्दै बेलायतले उसको सेनामा नेपाली युवाहरूलाई लिन थाल्यो । ब्रिटिस गोर्खा सैनिकमा नेपाली वा गोर्खालीहरूको भर्ती सुगौली सन्धिकै आसपासबाट सुरु भएदेखि आजसम्म जारी छ । ब्रिटिससँगको युद्धपछि नेपालले जमिन गुमायो, तर बहादुरी कमाए । नेपालीहरूको बहादुरी त्यही वेला बेलायतीहरूले गरेको मूल्यांकनको उपज थियो । 

सुगौली सन्धि नेपाली इतिहासको सबैभन्दा दुःखको दिन थियो । अमरसिंह थापाजस्ता देशभक्तका लागि सन्धि सबैभन्दा पीडादायी भयो । युद्धमैदानबाट फर्केर उनी भिक्षुका रूपमा गोसाइँकुण्ड गए र त्यहीँ देहत्याग गरे ।


सुगौली सन्धिमा नेपालले ठूलो भूभाग गुमायो, तर सार्वभौम मुलुकका रूपमा नेपाल अक्षुण्ण रह्यो । कारण जेसुकै भए पनि नेपाल ब्रिटिस अधीनस्थ हुनुपरेन । नेपालको अन्तर्राष्ट्रिय पहिचान बच्न सफल भयो । बेलायतले औपचारिक रूपमा नभने पनि त्यसपछि नेपाललाई स्वतन्त्र मुलुकका रूपमा व्यवहार गरेकै हो । सन् १९२३ मा ब्रिटिससँगै भएको शान्ति तथा मैत्री सन्धिमा नेपाललाई उसले स्वतन्त्र एवं सार्वभौम मुलुकको रूपमा मान्यता दियो । त्यसकै जगमा नेपाल र भारतबीच १९५० जुलाई ३१ मा शान्ति तथा मैत्री सन्धि भयो । सन्धिले नेपालको स्वतन्त्र र सार्वभौम पहिचानलाई स्थापित गरेको छ । 


 सन्धिको सक्कल बेपत्ता
सुगौली सन्धिमा हस्ताक्षरकर्ता तत्कालीन इस्ट इन्डिया कम्पनी सरकार वा ब्रिटिस सरकारले १९४७ मा भारत छाड्ने क्रममा सक्कल कपी लिएर गएको अनुमान छ । नेपाल सरकारसँग अहिले सुगौली सन्धिको सक्कल कपी नभएको परराष्ट्रमन्त्री डा. खड्काले गत मंसिरमा सार्वजनिक गरेपछि यसबारे प्राज्ञिक र बौद्धिक तहमा बहस सुरु भएको छ । सुगौली सन्धिअनुसार नेपालले महाकालीपूर्वका सबै भूभाग पाउने स्पष्ट छ र त्यहीअनुसार लिम्पियाधुरासम्म आफ्नो दाबी प्रस्तुत गरेको छ । तर, सन्धिको सक्कल प्रति नेपालको अर्काइभमा नहुँदा भविष्यमा नेपाल–भारत सीमा वार्ता प्रभावित हुने भय व्याप्त छ । 


बेलायतदेखि अमेरिका पुगेका सीमाविद्हरूले अहिलेसम्म सुगौली सन्धिको मूल कपी फेला पार्न सकेका छैनन् । सिंहदरबारको आगलागी हुँदा जलेको हुन सक्ने एकथरीको अनुमान छ । अर्काथरीको अनुमानमा राजदरबारमा सन्धिको कपी छ, तर राजा ज्ञानेन्द्रको बहिर्गमनपछि कागजपत्रहरूका बारेमा कसैलाई थाहा छैन । यद्यपि सम्बन्धित निकायले यसबारे यथार्थ सार्वजनिक गरेको छैन । 


सरकारी संयन्त्रले सुगौली सन्धिको मूल कपी खोजबिन गरेको छैन । योगी नरहरिनाथले सुगौली सन्धिको प्रति दाबी गर्दै आफ्नो पुस्तक सन्धिपत्र संग्रहमा राखेका छन् । उनले किताबमा केही दस्ताबेजको प्रतिलिपि राखेका छन् । तर, ती कागजात पनि सही हुन् कि होइनन् भन्ने प्रमाणित भएको छैन । त्यसलाई प्रमाणित गर्ने कुनै आधार छैन, अरू कुनै दस्ताबेजको सक्कल भेटिएको छैन । सन्धिको हिस्सेदारको हैसियतले नेपाल सरकारसँग एक प्रति सक्कल हुनुपर्ने हो, तर संस्थागत स्मरण र अभिलेख नहुँदा यति महत्वपूर्ण दस्ताबेज राज्यले भेटेको छैन । त्यसैले सर्वोच्च अदालतले सुगौली सन्धिको सक्कल पेस गर्न आदेश दिँदा पनि सरकारले बुझाउन सकेको छैन । 

बेलायतदेखि अमेरिका पुगेका सीमाविद्हरूले अहिलेसम्म सुगौली सन्धिको मूल कपी फेला पार्न सकेका छैनन् । सिंहदरबारको आगलागी हुँदा जलेको हुन सक्ने एकथरीको अनुमान छ । अर्काथरीको अनुमानमा राजदरबारमा सन्धिको कपी छ, तर राजा ज्ञानेन्द्रको बहिर्गमनपछि कागजपत्रबारे कसैलाई थाहा छैन ।


केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २२ जेठ ०७७ मा लिम्पियाधुरासम्मको नक्सासँग सम्बन्धित प्रमाण (सुगौली सन्धिसमेत) खोजबिनका लागि गठन गरेको समितिले पनि सुगौली सन्धि फेला पार्न सकेन । नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. विष्णुराज उप्रेती नेतृत्वको कार्यदलमा सूर्य सुवेदी, अप्सरा चापागाईं, जगत भुसाल, विपिन अधिकारी, रमेश ढुंगेल, तोयानाथ बराल र हिमालय थापा सदस्य थिए । उनीहरूले पनि सुगौली सन्धिको सक्कल कतै फेला पार्न सकेनन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले बेलायतमा पुगेर १९५० को सन्धिको सक्कल कपी फेला पारे, तर सुगौली सन्धिको मूल वा सक्कल कपी फेला पार्न सकेनन् ।

सुगौली सन्धिमा के छ ? 
१. इस्ट इन्डिया कम्पनी र नेपालका महाराजाधिराजबीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ । 
२. युद्धभन्दा अगाडि झगडा उठेका सम्पूर्ण भूभागउपर नेपालका राजाले आफ्नो दाबी छाड्नेछन्, ती भूभागउपर इस्ट इन्डिया कम्पनीको प्रभुत्व रहनेछ । 
३. नेपालका राजाले निम्न क्षेत्रउपर सदाका लागि इस्ट इन्डिया कम्पनीको अधिकार मान्नुपर्नेछ । 

  •   काली र राप्ती नदीबीचको तराई 
  •    बुटवल खासलाई छाडी राप्ती र गण्डकी नदीबीचको सम्पूर्ण तराई 
  •   गण्डकी र कोसी नदीबीचको तराई 
  •    मेची र टिस्टा नदीबीचको तराई 
  •   नगरकोटको सम्पूर्ण क्षेत्र एवं मोरङबाट पहाडतर्फ जाने नगरकोटको घाँटीको साथै त्यसनजिकको समस्त स्थल र मेची नदीपूर्वको समस्त पहाडी क्षेत्र

४. माथिको व्यवस्थाका कारण नोक्सानमा परेका नेपालका सरदार र भारदारको क्षतिपूर्ति गर्न ब्रिटिस सरकारले सालाखाला वार्षिक दुई लाख रुपैयाँ दिनेछ । र, यो रकम नेपालका राजाले आफ्नो तजबिजले बाँड्न पाउनेछन् । 
५. नेपालका राजाले कालीनदी पश्चिमका प्रदेश र त्यसका निवासीसँग कुनै सम्बन्ध राख्न पाउनेछैनन् । 
. नेपालका राजाले सिक्किमका राजाको अधिकारमा भएको कुनै भागमाथि कुनै किसिमको दाबी गर्न पाउनेछैनन् । नेपाल र सिक्किमका प्रजाबीच कुनै झगडा वा विवाद उठेमा कम्पनी सरकारको मध्यस्थताका लागि प्रेषित
गरिने र उसको निर्णय नेपाल सरकारले मान्नुपर्नेछ ।
. ब्रिटिस सरकारको अनुमतिविना नेपालका राजाले कुनै ब्रिटिस, युरोपेली वा अमेरिकीलाई आफ्नो सेवामा राख्न पाउनेछैन । 
८. दुवै राष्ट्रबीच कायम रहेको
मित्रता एवं शान्तिको सम्बन्ध सुदृढ पार्न एवं उन्नत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछन् । 
९. यो सन्धिपत्रमा नेपालका
राजाले १५ दिनभित्रै हस्ताक्षर गरी लेफ्टिनेन्ट कर्नेल ब्राडसासमक्ष बुझाउने र उनले २० दिनभित्रै वा सम्भव भए त्योभन्दा शीघ्र गभर्नर जनरलको स्वीकृति दिलाउनेछन् ।