• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
कृष्णप्रसाद पौडेल
२०७८ फाल्गुण २१ शनिबार ०७:५०:००
विज्ञान प्रविधि

कृत्रिम बौद्धिकता र हाम्रो भविष्य

२०७८ फाल्गुण २१ शनिबार ०७:५०:००
कृष्णप्रसाद पौडेल

कम्प्युटर युगले छलाङ मारेर स्मार्ट भएको १५ वर्ष मात्र भएको छ । तर, यसले हामी धेरैले पत्याउन नै नसक्ने चमत्कारका कामसमेत गरेको छ । सोफिया भनिने मानवरूपी यन्त्रमानव अहिलेसम्मकै सबैभन्दा परिष्कृत कृत्रिम बौद्धिकता भरिएको यन्त्र हो, यद्यपि यसको क्षमतालाई बढाइचढाइका साथ प्रस्तुत गरिएको भन्ने एकथरीको तर्क पनि छ । हङकङमा रहेको हानसन रोबोटिक्स कम्पनीले सन् २०१६ मा सोफिया नामको रोबोट बनायो । 


यसको अनुहार भने आजभन्दा लगभग ३५०० वर्षजति पहिले प्राचीन इजिप्टकी रानी नेफरटिटीको आकृतिसँग मेल खाने बनाइएको छ । संयोगले यो समयभन्दा केही अगाडि मात्र कवि कालिदासले मेघदूत नामक काव्यमा उठाएको बादलमा खबर लेख्ने कल्पनाशीलताको प्रसंगसँग मेल खाएको छ, जसको जगमा आजको ताररहित इन्टरनेट र खबर आदानप्रदान गर्ने विचार बने होला भन्दा धेरै फरक पर्दैन ।


यो विश्व चर्चित रोबोटले संयुक्त राष्ट्र संघको विकास कार्यक्रम (युएनडिपी)को नवीन खोजकर्ताको पहिचान र साउदी अरबको नागरिकतासमेत पायो । मार्च २०२० मा यसलाई युएनडिपीले आयोजना गरेको ‘सार्वजनिक सेवा तथा विकासमा प्रविधि’ नामक सम्मेलनमा मुख्य वक्ताको रूपमा बोल्न काठमाडाैं ल्याइयो र यसले नेपालीमै भाषण ठोक्यो ।


प्रकृतिको शाश्वत नियमविपरीत खाना पनि नखाने र सन्तान पनि नहुने मानवजस्तो देखिने यन्त्रमानव बनाउने क्रम निरन्तर बढिरहेको छ । अहिलेसम्म सोफियाजस्तै बुद्धिकत्ता भएका नौवटा यसका सन्तान (क्लोन) बनिसकेका र यसको जस्तै व्यवहार गर्न सक्ने अरू धेरै यन्त्रमानव बनाउने होड चलिरहेको छ । यस्ता थरीथरीका यन्त्रमानवको कृत्रिम बौद्धिकता अहिले कम्प्युुटर इन्जिनियरले सामान्य यन्त्रमा समेत भर्ने गर्छन् । केही हप्ताअघि नेपालमै बनेको परी नाम गरेको यन्त्रमानव निकै चर्चामा थियो ।


यस्ता कृत्रिम मानव र कृत्रिम बौद्धिकताका कार्यक्रमको उत्पादन गर्ने बिग फाइभ याने ठूला पाँच कम्पनी अमेजोन, एप्पल, फेसबुक, गुगल र माइक्रोसफ्ट हुन् । स्पेस एक्स यसैका सहायताले अर्कै ग्रहमा बस्ती बसाउने सपना बाँड्छ । यी सबै गर्न एकाधिकार लिएका कम्पनीका मालिकहरू नै अहिले संसारका धनी मानिसमा दरिएका छन् । 


अहिले स्वचालित यन्त्र, गुगलको नक्सा, आवाज र अनुहारको पहिचान, लेखरचनाको स्वरसम्पादन, प्राकृतिक संरचना र प्रक्रियाको अनुमान र सुझाव, च्याटबोर्ड, सामाजिक सन्जाल, ई–भुक्तानीजस्ता काममा यसको व्यापक प्रयोग बढेको छ । अहिले संसारभरका आधाभन्दा बढी मानिसले चलाउने स्मार्टफोनमा यो कृत्रिम बुद्धिमत्ता राखिएको छ । नेपालमा पनि यसको प्रयोगको व्यापकता भएको छ । 


 यन्त्रमानवसम्मको यात्रा
चिनियाँहरूले सामान्य हिसाब गर्न ३००० वर्षअघि बनाएको ‘सौन पान’ अर्थात् ‘एबाकस’लाई आधुनिक गणितको पुर्खा मानिन्छ । यो अहिले पनि प्रचलनमै छ । भनिन्छ यसको गणितीय प्रयोग भने पाँचौँ र छैटाैँ शताब्दीमा भारत वर्षका आर्यभट्टले अंक र वह्रमगुप्तले शून्य अर्थात् थोप्लोको प्रयोग गरेसँगै व्यापक भयो । त्यसो त दुई हजार वर्ष पहिले नै रोमनहरूले हिसाब गर्न रोमन अंक प्रयोग गरेका थिए जुन अहिले पनि प्रचलनमा छ, तर त्यसमा शून्य (०) थिएन । 


यही ० र १ अंक जसलाई वाइनरी गणितीय प्रणाली भनिन्छ, त्यो नै अहिलेको कम्प्युटरको आधार संकेत हुन् । यही संकेतका आधारमा पहिलोपटक एटानासफ्ट बेरी कम्प्युटर बनेको थियो । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिकत्ता) भनिने कृत्रिम मानवको सुरुवात यसैबाट भएको हो । यस्ता खोज र आविष्कार प्रकृति मानव अन्तरसम्बन्धमा सिर्जित मानव चेतनाका उपज हुन्छन् । यिनको लामो ऐतिहासिक र क्रमिक प्रक्रिया हुन्छ । न्युटनको स्याउ, आर्कमिडिजको नुहाउने पोखरी, आइन्सटाइनले लन्डनमा राखिएको घडी देखेर यसलाई उल्टाए के होला ? भनेर गरेको कल्पना क्रमशः गुरुत्वाकर्षण, पिण्ड र आयतन, समयको खोजका सन्दर्भ हुन् । 


सानोमा हजुरआमाले सुनाएको निदुलीको कथा जसमा एउटा ज्वाइँ ससुराली जाँदा बाहिर पिँढीमा बसेर सेलरोटीको झ्वाइँसँगै भाँचेका सिन्का हिसाब गर्ने गणितको आविष्कार थियो । यस्तै, भित्तामा धर्का कोरेर अहिले पनि हिसाब राख्ने चलन गाउँघरमा जीवितै छ । यो रोमनको अंकभन्दा कुनै पनि अर्थमा कम थिएन ।इन्टरनेटको जन्मको पनि आफ्नै इतिहास छ । यसअघिका खोजकर्ताहरूले गरेको खोजका आधारमा ग्रामबेलले टेलिफोन, ग्यालिलियो मार्कोनीले रेडियोको आविष्कार गरे । त्यसैगरी, प्राकृतिक स्रोत दोहनका लागि सस्तो र कुशल उपायको खोजी गरिएको खानी उत्खननको प्रयासले बाफ इन्जिनको आविष्कार भयो । यसले ऊर्जाबारेको मानवीय चेतना उजागार भयो । 


यी सबैको एकीकृत रूप आधुनिक विज्ञानको चमत्कार भनिने आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिकता हो । यसैका आधारमा अमेजन, फेसबुक, युट्युब, सबैले व्यक्तिगत चाहनालाई नियन्त्रण गर्ने कार्यक्रम बनाएका छन् । जसरी माइक्रोेसफ्टले हाम्रो कम्प्युटरको विन्डोज र कम्प्युुटर कप्पनीले अन्य कार्यक्रम स्वचालित रूपले आवधिक गर्छ त्यसरी नै यिनले पनि हाम्रो खोजका सामग्री स्वचालित मेसिनकै सहायताले तयार पारेर राखिदिन्छ । यो आममानिसलाई नियन्त्रण गर्ने सबैभन्दा सरल विधि हो । उदाहरणका लागि हामीले सबैभन्दा बढी हेर्ने सामग्रीका वरिपरि नै हाम्रोे चाहना विकसित गराएर हामीलाई थाहै नपाई व्यापारिक कम्पनीले हामीलाई नियन्त्रणमा लिएका छन् । यो एक हिसाबले विज्ञापनबाट आकर्षित बच्चाले चाउचाउ र अन्य पत्रु खाना रोजेजस्तै हो । 


यस्तो कुराकोे लत बसेपछि हाम्रा इच्छा–चाहना त्यसैका वरिपरि नै केन्द्रित हुन्छन् । अहिले हामीले चलाउने फेसबुक, अमेजनमा रोज्ने किताब या युट्युबमा सुन्ने गीत, हेर्ने भिडियो र खेल्ने खेलसमेत सजिलै यी कार्यक्रमले पस्केर दिन्छन् । अझ अहिले एप्पलको सिरिज खोलेर राखेको छ भने त हामीले गरेको कुराकानीका आधारमा हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत यी कुराकानीका सन्दर्भ सामग्री पठाइसकेको हुन्छ । 


 यो आविष्कार कि खोजी ?
विडम्बना, अहिले ठूला कम्पनीले हजारौँ वर्षदेखि अन्वेषण, खोज र सिर्जनशीलताका यी सबै प्रविधिलाई आफ्नो आविष्कार भनेर बौद्धिक सम्पत्तिको अधिकारका नाममा नियन्त्रणमा राख्ने गरेका छन् । औैपनिवेशिक नियन्त्रणको यो तरिका नै हामी सबैलाई नियन्त्रण गर्नेे कारक हो । खास समय र सन्दर्भमा यी सिर्जना र आविष्कारको अभिलेख कसले राख्छ भन्ने कुराले यसको नियन्त्रण प्रभाव, विस्तार र फाइदा कसले लिन्छ भन्नेमा धेरै नै फरक पर्छ । यही कारणले नै यस्ता आविष्कारको चोरी सँगसँगै दुरुपयोग हुने गर्छ । यस्ता आविष्कारका चोरी र दुरुपयोग गरी शक्तिशाली बन्ने गरिएका धेरै सन्दर्भ छन् । एटम बम, कृत्रिम विषका भण्डार, एमोनिया, र अहिले सर्वत्र फैलिएको कृत्रिम बौद्धिकता यसका बलिया उदाहरण हुन् ।


आज उपयोगमा आएका हजारौँ प्रविधि प्रकृतिको भौतिक अस्तित्व खासगरी प्रकृतिको ऊर्जा, गति, जीव तथा प्राणीमा भएका रासायनिक र जैविक गतिविधिको सूक्ष्म अध्ययन र परीक्षणबाट सम्भव भएको हो । गतिको सिको गरी गतिशील यन्त्र र रासायनिक प्रक्रियाको सिको गरेर कृत्रिम ऊर्जा र मानिस र अन्य जनावरमा भएको रासायनिक र यौगिकहरू जैविक प्रक्रियाको सिकोसँगै कृत्रिम तरिकाले यिनको गुण परिवर्तन गर्ने तरिका आविष्कार भएका हुन् । 

 

भारतीय मूलका अमेरिकी प्राध्याापक तथा लेखक राजीव मल्होत्राले ‘कृत्रिम बौद्धिकताः शक्तिको रणमैदान’ नामक पुस्तकमा अहिले जागिर, विश्वराजनीति, स्थानीय मौलिकता, स्वाभिमान र संस्कृतिसमेत नियन्त्रण गर्ने होडसँगै विश्वव्यापी शक्ति–संघर्षमा यही कृत्रिम बौद्धिकताको दुरुपयोग भइरहेको कुरा उल्लेख गरेका छन् ।


 यान्त्रिक बौद्धिकता : थोरै गुन धेरै बैगुन
यसका केही गुन देखिए पनि धेरै बैगुन छन् । यसबाट मानिसले सहजै गर्न नसकेका कैयौँ काम लिन, गति र प्रभावकारिता बढाउन सकेका सकारात्मक उदाहरण छन् । खासगरी, धेरै ठूला वा साना गति र दूरीका, जोखिमपूर्ण खोज र उपचारमा यिनको प्रभावकारिता धेरै नै देखिएको छ । तर, अहिले यस्तो यन्त्रमानवको दुरुपयोग गर्दै निहित स्वार्थका लागि मानव बुद्धिमत्ताका धेरै क्षेत्रमा हस्तक्षेप भइरहेका छन् । कृत्रिम बुद्धिमत्ताको अनियन्त्रित उपयोगले प्रकृति र समाजको नियन्त्रण र विभेद बढाउँदै लगेको र कुरा विश्वव्यापी बहस भइरहेको छ । खासगरी यसको उत्पादन र प्रयोगले समस्त मानवीय मूल्य–मान्यता र विवेकलाई घटाउँदै लगेको र कालान्तरमा मानवीय सभ्यता मै विघटित हुन सक्ने जोखिम बढेकोमा विश्वव्यापी बहस भइरहेको छ ।


यत्रो विकसित दिमाग भएको मानिसले आजसम्म गर्न नसकेको कुरा मानिसले नै बनाएको यन्त्रले यो सबै गर्न कसरी सम्भव भयो ? यो अर्को अहं प्रश्न हो । यसका जानकार भन्छन्, यसमा विद्युतीय गति र स्मृतिका ठूला तथ्य भण्डार र यसलाई सञ्चालन गर्ने ऊर्जा मात्र राखिएको हुन्छ । अरू जीवमा हुने अन्य कुनै अनुभूति, संवेग, सचेतना, संज्ञान र प्रज्ञानजस्ता कुरा केही हुँदैनन् । तर, यसको स्मृति यति धेरै हुन्छ कि यो बनाउनेले समेत यसको बुद्धिमत्तासँग प्रतिस्पर्धा गर्नै सक्दैन । तर, तथ्यका विशाल भण्डारलाई केलाएर यस्तो यन्त्रले मानवीय विवेक अनुभूति र संवेग रहेको भ्रम सिर्जना गर्न सक्छ । यस्तो क्षमताले हाम्रो मस्तिष्कमा ठूलो प्रभाव पार्छ र त्यसले नै यसप्रतिको लतसमेत बस्ने हो । यो एक हिसाबले पत्रुखानामा बालबालिकाको लत बसेजस्तै हो ।


यस्तो लत अहिले सबै मानिसमा बस्दै गएको छ । यसैमा रमाएका बच्चा देखेर अहिलेका बच्चा कति चलाख है भन्ने सामान्य थेगो नै भएकोछ । बच्चाहरू प्राकृतिक रूपमै हजुरआमा र आमाभन्दा बुद्धिमान र विवेकी हुनु नै पर्छ यो प्रकृतिको अस्तित्वको नियम नै हो । बच्चाहरूमा नयाँ कुरा सिक्ने उत्सुकता धेरै बढी हुन्छ । त्यो हिजो पनि थियो र अहिलेका बच्चामा छ । बरु अहिलेको यस्ता सामग्रीले उनीहरूको सिकाइलाई कस्तो प्रभाव पारिरहेको छ ? यसले उनीहरूलाई चलाख या बुद्धिमान र विवेकी बनाउँदै छ कि छैन ? बच्चाको मात्र के कुरा, यही कृत्रिमताको सिकार भएका सबै मानिसको विवेक र बुद्धिमत्ता कस्तो हुँदै जाला ? यसबारेमा आलोचनात्मक बौद्धिक बहस हुनुपर्ने होइन र ?