• वि.सं २०७९ जेठ ९ सोमबार
  • Monday, 23 May, 2022
मनोज घर्तीमगर
२०७८ चैत ५ शनिबार ०७:१०:००
इतिहास

शाहवंश र मगरको सम्बन्ध

पृथ्वीनारायण आफैँले आफूलाई म मगर हुँ भनेर कहिल्यै नभने पनि ‘मगरातको राजा मै हुँ’ भन्ने उद्घोष गरेको पाइन्छ

२०७८ चैत ५ शनिबार ०७:१०:००
मनोज घर्तीमगर

 

नेपालमा लामो समय शासन सत्ताको बागडोर संहालेको शाहवंशबारे विवादित बहस खासै नौलो होइन । शाहवंशलाई धेरै विद्वान्ले आर्यखलक भनी व्याख्या गरेका छन् । शाहवंशका आदि पुर्खाहरूमा खान्चा र मिन्चाजस्ता नामहरू देखिएको तथा उनीहरूले खान उपाधि जोडेकाले मुसलमान रहेको एकथरी विद्वान्हरूको अनुमान छ । अर्कोतिर धेरैपछि लेखाइएका गोर्खा वंशावलीले भारतका राजपूत घरानासँग जोड्ने गरेका छन् । यी सबै अनुमान र तर्कहरू खास बलिया देखिँदैनन् । बरु शाहहरूको पुर्खा मगर थियो कि भन्ने तथ्यहरूको फेहरिस्त भने प्रशस्तै भेटिन्छन् । तसर्थ शाहवंश र मगरको सम्बन्ध कस्तो छ ? के शाहवंश मगरबाटै उकालिएको हो त ? कि आर्यखलक भनी व्याख्या गरिएका भारतका राजपूत नै हुन् ? यस्तै जिज्ञासा मेटाउन यो आलेख तयार गरिएको छ । 

शाहवंशको जग
एकछत्र राज गरेको भन्दै शाहवंशलाई दुत्कार्नेको जमात नेपालमा ठूलै छ । तिनै शाहवंशको पूजा गर्ने जमात पनि उत्तिकै छ । नेपालको मगर समुदाय पनि शाहवंश आलोचक रहँदै आएको छ । खासगरी शाहवंशको उदयपछि मगरहरू राजाका रूपमा नभई रैतीका रूपमा रहे । हुन त अहिलेको समयमा राजतन्त्र इतिहासको गर्तमा गइसकेको छ । यो अवस्थामा शाहवंशलाई मगरसँग जोडेर मगरलाई के फाइदा भन्नेहरूको जमात पनि उत्तिकै छ । कुरो त्यसो होइन, गोरखा राज्य विस्तार गरी अहिलेको नेपाल बनाउने अभियानमा लागेका पृथ्वीनारायण शाहको पुर्खा को थिए ? भनेर निक्र्योल गर्नु इतिहास लेखनको एउटा महŒवपूर्ण पक्ष हो । नेपालमा अहिले पनि पृथ्वीनारायण शाहको प्रशस्तीगान उत्तिकै गाइन्छ, जति विरोध गरिन्छ । अरूको राज्यमाथि आक्रमण गरी कब्जा गरे वा सगुता बनाएर उनले आफ्नो अधीनमा लिइसकेपछिको राज्य नै अहिलेको नेपाल हो ।


अहिलेको नेपाल खडा गर्ने पृथ्वीनारायणकै पुर्खाबारे अन्योल हुनु नेपाली इतिहासको भद्दा मजाक हो । शाहवंशको आदि पुर्खा खान्चा र मिन्चा खान मानिएको हुँदा यतैबाट गहिरिएर इतिहास खोजी गर्दा शाहवंशको पुर्खा र उनीहरूको मगरसँग रहेको सम्बन्ध पत्ता लगाउन सहज देखिन्छ । 


शाहवंशको पुख्र्यौली 
पृथ्वीनारायण शाहको पुख्र्यौली अन्वेषण गर्दै जाँदा यिनीभन्दा माथिका १५औँ पुस्तामा जैन खान देखिएका छन् र त्यहाँदेखि माथिका पुस्तामा द्रव्य शाह, आठौँ पुस्तामा राम शाह र १४औँ पुस्तामा नरभूपाल शाह देखिन आएका छन् (आचार्य, बाबुराम । ‘श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१) । ललितपुर ः साझा प्रकाशन पृष्ठ ५) । कालीगण्डकीको रिडीघाटदेखि वारितिर यस नदीका बायाँ किनारमा रहेको वैघा (वइघा) नामक डाँडामा लसर्घानामक एक सानो बस्ती छ । त्यहीँ आएर जैन खानले पहिला अल्पकालिक स्थायी बास जमाएको देखिन्छ । पछि उनले आँधीखोलाका दायाँ किनाराका खिलुङको बन्जर जमिन आवाद गरी रैती रसाइ बोलाएर भिरकोट नामक ठकुराइको जग बसाएको देखिन्छ (आचार्य, उही, पृ. ६ ) । 


जैन खानका छोरा सूर्य खान भएका र यिनका पनि दुई छोरा खान्चा खान र मिन्चा खान भएका देखिन आएका छन् । पछि खान्चाका वंशधरहरूमा एकजना जेठा भाइले भिरकोटबाट ढोर नामक सानु ठकुराइ छुटाएर लिएका हुनाले ‘खान’ थर भएका पाँच ठकुराइ बनेका देखिन्छन् । यी पाँचै ठकुराइ मगर बस्तीमा रहेका थिए (आचार्य, उही, पृ. ६) । यसलाई आधार मान्ने हो भने शाहवंशका आदि पुर्खा स्याङ्जाको लसर्घामा आएर राजा भएको मान्नुपर्छ । लसर्घा मगरबहुल क्षेत्र हो, जहाँ मगरहरूको राजकाज थियो । कुनै पनि परदेशी तथा पाहुनालाई कसैले पनि तुरुन्त र सजिलै गद्दी त्यागिदिँदैन ।

यदि गद्दी खोस्न कोही आइहाले पनि त्यसको प्रतिकार हुन्छ । आफ्नो सत्ता अरूलाई सहजै कसैले दिएको इतिहास पाइँदैन । यसकारण मगरबहुल त्यो क्षेत्रमा कोही बाहिरिया व्यक्ति आएर सहजै राजा भएको भन्ने तर्क त्यति बलियो मान्न सकिन्न । जातिपाति, उँचोनिचो मान्नु हुँदैन भन्ने अहिलेको समय र मगर भाषाको समेत समूल नष्ट हुनै लागेको यो समयमा त मगरबहुल क्षेत्रमा बाहिरियाले सहजै बसोबास गर्न कठिन हुन्छ । किनकि मगरबहुल क्षेत्रमा हत्तपत्त बाहिरियालाई सहजै घुलमिल गराउन मुस्किल पर्छ । सामूहिकतामा विश्वास गर्ने भएकाले सजातीय मगरहरू नै झुरुप्प भएर बस्ने चलन छ ।

अहिले पनि मगरबहुल क्षेत्रमा हम्मेसी अरू जातिका व्यक्तिको बसोबास भेटिन्न । हालको समयमा, त्यहाँ फलामको काम गर्न कामी र सिलाइको काम गर्न दमाईंका एक–दुई घरबाहेक लगभग शतप्रतिशत मगर परिवारको घर पाइन्छन् । हिन्दू वर्णाश्रम व्यवस्था मगरातमा छिर्नुभन्दा पहिलेसम्म मगरहरू आफैँ खानी खन्थे, हातहतियार बनाउँथे, कपडा बुन्थे र लगाउँथे । त्यो समयमा सो ठाउँमा मगरहरू मात्रै भएको अनुमान गर्न सकिन्छ । यसैले पनि १५औँ शताब्दीको मगर बस्तीमा भाषा, रहनसहनलगायत अनेकन् समस्या हुने भएकाले बाहिरियालाई सहजै प्रवेश गराएर राजा माने होलान् भनेर पत्याउन मुस्किल हुन्छ । त्यो जमानामा कुनै लडाइँ नै नगरी मगरले आफ्नो सत्ता सहजै बाहिरियालाई सुम्पिएको मान्न सक्ने बलियो आधार भेटिँदैन । 


बरु के अनुमान गर्न सकिन्छ भने जैन खान पनि मगर खलककै हुन सक्छन् । पछि उनले छुट्टै राज्य खडा गरेको हुन सक्ने तर्क मान्न सकिन्छ । खान र शाह भनेको पदवी हो । खानको अर्थ भनेको प्रमुख राजा हो । शाह भनेको पनि त्यही हो । हिजो भारतका शक्तिशाली मुस्लिम राजाहरूले आफूलाई शाह तथा खान भनेर चिनाउँथे । त्यो वेला मुस्लिमहरूको प्रतिष्ठा र प्रभुत्वको जगजगी थियो । यसरी आफूहरूलाई पनि शक्तिशाली र प्रतिष्ठित तुल्याउन मगर राजाहरूले खान र शाहको पदवी ग्रहण गरेका थिए । किनकि गण्डकी क्षेत्रका मगरहरूले निकै उन्नति गरेर बाह्र खान (राजाहरू) को संघ खडा गरी ‘बाह्र मगरात’ नामको राज्य खडा गरेका थिए । यी सबै स्थानमा आ–आफ्ना खान (राजा) थिए । तर पनि भिरकोटका खान (राजा) लाई बडाखानको मनितो थियो (यादव देवकोटा, ‘कान्तिपुर दैनिक कोसेली’ ‘बाह्र मगरातमा शाही कटक’ मिति २०७६ भदौ २८ गते प्रकाशित ।)


लसर्घाको आलमदेवी जैन खानको दुर्ग हो । दुर्गमा दुर्गा भवानीको विजयध्वजा फहराउने गरिन्छ । विजयध्वजालाई मगर भाषामा ‘आलम’ भन्ने गरिन्छ । त्यसैकारण दुर्गा भवानीलाई आलमदेवी भन्ने भनिन्छ । आलमदेवी आठटीकाका खान एवं साही–शाहवंशका कुलदेवी हुन् । आलमदेवीको पूजा विवाह नभएका कुमार मास्की रानामगर केटाबाट हुने गर्छ (डा.जगमान गुरुङ ‘गण्डकी प्रशवणक्षेत्रको सांस्कृतिक सम्पदा’ (२०६७) काठमाडौं ः पश्चिमाञ्चल विकास मञ्च, पृष्ठ १०२)। स्थानीयले आलामठान भन्ने गर्छन् । मगर भाषामा आलाकओं लाम ओं ठान, अर्थात् उताको बाटोमा पर्ने ठान÷तीर्थस्ल भन्ने अर्थ पनि लाग्छ । सो ठाउँमा काली वा दुर्गाको मूर्ति लामो समय थिएन । तर दुई–चार वर्षअघि मात्र सो मूर्ति स्थापना गर्न राज्य सफल भएको छ । काठमाडौंमा शाहवंश गद्दीनसीन छउन्जेल राजदरबारबाट वर्षैपिच्छे एक असर्फी आलमदेवीलाई जाने गथ्र्यो । यसरी खान भनेको राजा भन्ने अर्थ पनि लगाएको पाइन्छ । कतिले तत्कालीन राजाले खान उपाधि लिएको पनि उल्लेख गरेका छन् । 


गोरखा राजवंशका मूल पुरुष जैनका सन्तानले वनारसका मिश्र ब्राह्मणहरूसँग र कुमाउका बार्खौला पाँडेहरूसँग मन्त्र सुनेर गुरु तुल्याए पनि पूर्वीया ब्राह्णमहरूमध्ये कालीगण्डकीदेखि पश्चिपट्टिका ‘सिंह’ थर भएका ठाकुरका इस्मा नामक ठकुराइमा मूल घर भएका अज्र्याल ब्राह्मणलाई पुरोहित गराएर भान्से पनि यिनै अज्र्याललाई गराउने नियम चलिआएको हुनाले जैन पनि पूर्वीया ठाकुर देखिन्छन् । ठकुराइको स्थापना गरेपछि ‘अध्यक्ष, सर्दार र बडा प्रतिष्ठित व्यक्तिका अर्थमा व्यवहार हुने तुर्की भाषाको ‘खान’ उपाधि ग्रहण गरेको देखिन्छ (आचार्य,२०६१ः३९) । मिन्चाका छोरा विचित्र खानका उत्तराधिकारी कस्केली राजा नरराजले ‘खान’ उपाधि छाडेर ‘साही’ उपाधि लिएकाले लमजुङका ठाकुर यशोब्रह्म पनि ‘शाही कहलाए (आचार्र्य, उही, पृ. ५) । तत्कालीन समयमा शासकले आफूलाई अब्बल देखाउन विभिन्न पद र थर लिने गरेको इतिहासमा पढ्न पाइन्छ । त्यसैगरी कास्कीका राजा नरराज (जगती खान) ले पनि ‘शाही’ उपाधि लिएको हुन सक्ने तथ्यलाई नकार्न सकिँदैन । तर, इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार जैनलाई पूर्वीया ठाकुर (अहिले ठकुरी । रुकुमतिर अहिले पनि ठकुरीलाई ठाकुर भनिन्छ ।) भनेका छन् । 

शाहहरूको पुर्खा मगर थियो कि भन्ने तथ्यहरूको फेहरिस्त भने प्रशस्तै भेटिन्छन् । तसर्थ शाहवंश र मगरको सम्बन्ध कस्तो छ, के शाहवंश मगरबाटै उकालिएको हो त, कि आर्यखलक भनी व्याख्या गरिएका भारतका राजपूत नै हुन् ?


भिरकोटका ठकुरीघरानाका ऋषिकेश शाहले भूपालका छोरा खान्चा र मिन्चाको मगर भाषाको शुद्ध उच्चारण ‘कर्हान्चा’ र ‘मिर्हान्चा’ देखाएर संस्कृतका लेखकहरूले गलत व्याख्या गरी ‘खान्चा’ र ‘मिन्चा’ लेखेका छन् भन्दै ती दुई मूल शब्दको अर्थ पहिला र दोस्रा छोरा हुन् भनेका छन् । ऋषिकेश शाहले भनेको कुरा सत्यको नजिक छ । मगर भाषामै ‘कर्हान्च’ र ‘मिर्हाच’ भनेको ठूलो र सानो अर्थात् जेठो र कान्छो भन्ने अर्थ लाग्छ । मगर भाषा नबोल्नेहरूलाई ‘कर्हान्चा’ र ‘मिर्हान्चा’ उच्चारण गर्न निकै मुस्किल पर्छ । भाषा भनेकै सूचना आदानप्रदान गर्नलाई चाहिन्छ । भाषा जति सजिलो भयो, उति छिटो प्रचार–प्रसार हुन्छ । अप्ठ्यारो भएमा त्यसको प्रयोग कम हुँदै जान्छ । मगरभाषीले समेत धेरै खस नेपाली बोल्नु त्यसकै ज्वलन्त उदाहरण हो । किनभने सबैले बुझ्ने भाषा यही हो भन्दै सजिलोतिर लागे ।

यति अप्ठ्यारो शब्द तीन–चार पुस्ता बितेपछि धार्मिक कृत्यमा व्यवहार हुने नाम भुलिएर संस्कृतका लेखकहरूले यिनको नाम लेख्न आवश्यक पर्दा यी नामहरूको संस्कृत रूप बनाएर खान्चा र मिन्चा गराएको देखिन्छ । गैरमगरले ‘कर्हान्चा’ र ‘मिर्हान्चा’लाई सही उच्चारण गर्न गाह्रै पर्छ । अहिले पनि मगर भाषाका नामलाई संस्कृत हुँदै खस–नेपालीकरण गर्ने परम्परा कायमै छ भने बोल्न सजिलो हुने गरी त्यतिवेला पनि ‘कर्हान्चा’ र ‘मिर्हान्चा’लाई खान्चा र मिन्चा बनाइएन भनी शंका गर्ने ठाउँ छैन । यदि शाहको आदि पुर्खा मगर थिएनन् वा चितौरगढबाट आएका राजपूत घरानाका थिए भने स्थानीय मगर बोलीमा नै ‘कर्हान्चा’ र ‘मिर्हान्चा’ किन भन्नुप¥यो ? त्यसरी भन्नैपर्ने बाध्यता केही पनि थिएन । यसबाट पनि सहजै अनुमान गर्न सकिन्छ, शाहको पुर्खा को थिए ? यसो लेख्दा धेरैलाई अप्रिय लाग्न सक्छ ।
जुम्लाका कल्याल राजाहरूले सुरुमा राई र पछि साही उपाधि धारण गरेको राजपदवी कास्कीका जगति या नरराज खानले अनुकरण गरेको देखिन्छ । राम शाहको पालामा लेखाइएका पुस्तकमा साही र साह दुवै प्रयोग भएको देखिन्छ । त्यस समयमा दिल्लीमा जहाँगिर शाह सत्तासीन रहेकाले त्यसैको सिकोमा जुम्ली ‘साही’को ठाउँमा दिल्लीतिर प्रचलित ‘साह’ लेखाउन रहर गरेको बुझ्न सकिन्छ । तर, साहीको प्रयोग भने पृथ्वीनारायणको समयसम्म सर्दै आइरहेकै देखिन्छ (देवकोटा, उही) ।


वि.सं. १८११ मा पृथ्वीनारायणले ढलाएको मोहरमा उनले साही उपाधि नै राखेका छन् । उनकै समयकालमा अविवाहितापट्टिका सन्तानलाई ‘साही’ र विवाहितापट्टिका सन्तानलाई ‘साह’ उपाधि व्यवहार गर्ने प्रवृत्ति देखिन्छ । शूर र वीरलाई जनाउन तुर्की भाषामा प्रयोग गरिने ‘बहादुर’ उपाधि पाल्पाली मुकुन्द सेन (द्वितीय) ले प्रयोग गरेकाले त्यसैको सिकोमा हुन सक्छ, तरबार र लडाइँको अर्थमा प्रयोग हुने फारसीको ‘शम्शीर’ र ‘जंग’ शब्दका साथमा ‘बहादुर’ जोडेर ‘शमशेर जंगबहादुर’को उपाधि धारण गरेका थिए, पृथ्वीनारायणले (आचार्य, उही, पृ.३९–४१) । त्रिभुवनको पालामा फारसीको शुद्ध रूप ‘शाह’ बिग्रेर ‘साह’ बन्न गएको व्याख्या गराई त्यसपछिका व्यवहारमा ‘शाह’ उपाधि लेखाउन थालेको पाइन्छ (देवकोटा, उही) ।


शाह वंशावली सच्याउने प्रयास
नेपालका राजखलक शाहहरूको वंशावली धेरै पछि मात्रै लेखिएको÷लेखाइएको हो भन्नेमा धेरै विद्वान् सहमत देखिन्छन् । गोर्खाका राजा राम शाहले चित्रविलासलाई लेख्न लगाएको ‘राजवंशावली’ले शाहहरूको पुख्र्याैली चित्तौरगढमा जोड्न पुगेको देखिन्छ । गोर्खाको राजवंश चन्द्रवंशी र चित्तौरको रावलवंश सूर्यवंशी भएकाले साहीहरूलाई चित्तौरमा जोड्ने राम शाहको प्रयास उदांगियो । यसरी वंश फरक भएकोमा सर्वसाधारणले नपत्याउने हुँदा राम शाहकै समयमा चित्रविलासले लेखेको वंशावलीलाई टाल्न धरणीधरलाई ‘गोरक्ष वंशावली’ लेख्न लगाई सच्याउन खोजेको देखिन्छ (आचार्य, उही पृ.२६) । यसपटक भने साहीवंशलाई सूर्यवंशी राजा अयतिवुमदेखि उठाएर सूर्यवंशी देखाउन खोजिएको छ । राजेन्द्रविक्रमको पालामा लेखाइएको ‘गोरक्षधीश–चम्पु’मा गोर्खाली शाहवंशलाई चित्तौरगढका राणावंश साबित गर्ने प्रयास गराइएको छ । चितौरगढका पाँचौँ राजा भूपति राणाजी रावाका कान्छा छोरा भूपाल राणा रिडीमा
आई लसर्घामा केही साल रहेर भिरकोटको खिलुङ्गमा रजाए भन्ने लेखिएको छ । राजेन्द्रकै पालामा शेरमान सिंह र उनका भाइ बुद्धिमान सिंहले लेखेको ‘जीवनचरित्र’ र ‘गोर्खा वंशावली’ले पनि शाह वंशावलीलाई चित्तौरका ऋषिराज भट्टारक राणाजी रावमा जोड्न पुगेकोछ (आचार्य, उही पृ.३१) । 


अनेकानेक वंशावली लेखाएर नेपालका राजखलक शाहवंशलाई भारततिर जोड्ने प्रयास गरिए पनि त्यस्तो कार्य सफल हुन सकेको छैन । तत्कालीन समयमा शासकले आफूलाई शक्तिशाली देखाउन विभिन्न उपाधि लिने र अन्य क्षेत्रका शक्ति–सम्पन्न राजघरानासँग साइनो जोड्न खोजेको तथ्य छिपेको छैन । त्यसैले नेपालको शाहवंशले पनि पटक–पटक आफ्नो कुलवंश छिपाएर कहिले चन्द्रवंशी, कहिले सूर्यवंशी त कहिले ऋषिराज भट्टारक राणाजी रावसँग जोड्न खोजेको छ । आफ्नै कुलकुलायन छिपाउन प्रयास गरे पनि शाहवंशको जरो अहिलेसम्म पनि मगरतिरै सोझिन्छ । 


शाहको कुलपूजामा मगर पुजारी 
पृथ्वीनारायणको मावली पाल्पाली सेन राज्य थियो । उनकी माता कौशल्यावती पाल्पाली राजा गन्धर्व सेनकी छोरी थिइन् । विभिन्न वंशावली, टिपोट, बिहेवारीले मगर देखाएका पाल्पाली सेनहरूसँग गोर्खाली/भिरकोटे खान/शाहहरूको बिहेवारी चल्नु रोचक मात्रै छैन, त्यसको गहनताले शाहवंशको खास जरो खोज्न सघाउँछ । गोरखाको शाहवंशसँग मगरहरूको साइनो सुरुदेखि नै नजिकको रहँदै आएको छ । पृथ्वीनारायणका नजिकमा मगरहरूको संख्या उल्लेख्य रहेको पाइन्छ । अर्कोतिर पृथ्वीनारायणलाई हुर्काउने जिम्मा नै ददा सुरथसिंह रानामगरले लिएका थिए । पृथ्वीनारायण आफैँले आफूलाई म मगर हुँ भनेर कहिल्यै नभने पनि ‘मगरातको राजा मैं हुँ’ भन्ने उद्घोष गरेको पाइन्छ । शासनसत्तामा शाहहरूले ६ थर घरअन्तर्गत मगरहरूलाई राखेको पाइन्छ । अर्को कुरा पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्दा मगरलाई सबैभन्दा धेरै साथ लिएको देखिन्छ । उनी भन्थे– ‘अदालतमा ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी थाप्नु...।’ यसलाई सजातीयलाई साथसाथै लिएको अर्थ पनि लगाउन सकिन्छ ।


कुनै पनि वंशको कुलपूजा हुने मन्दिरमा आफ्नै वंशको मात्रै पुजारी रहने प्रचलन छ । हरेक परिवार, गोत्र, वंशहरूको सर्वमान्य प्रचलन हेर्ने हो भने यही हो । जो पुर्खादेखि अलिखित रूपमा चल्दै आएको एउटा सांस्कृतिक परम्परा पनि हो । उसो भए खान/शाहहरूको कुलपूजा गर्ने आलमदेवी थानमा किन मगर पुजारी रहे ? यदि शाहवंश र मगरको सम्बन्ध नहुँदो हो त उनीहरूको कुलापूजा एकै ठाउँमा हुने थिएन । अर्को कुरा मगरहरूको मन्दिर हुँदैन थान हुन्छ । मगरले आफ्नो कुलपूजा गर्ने ठाउँलाई जहिले पनि थान भन्ने गरेका थिए । जो चलन अहिले बिस्तारै हराउँदै गएर थानको ठाउँ मन्दिरले लिए पनि धेरै मगर गाउँमा अहिले पनि थान नै भन्ने गरिन्छ । भिरकोटे ‘खान’ बाट विस्तारित हुँदै साही÷शाह भएकाहरूको कुलपूजा हुने आलमदेवीथानमा अहिले पनि मास्की रानामगर कुमार केटा पुजारी छन् । जहाँ राजखलक शाहवंश र मास्की रानामगरको कुलपूजा सँगै हुन्छ । एउटै थानमा कुलपूजा क–कसले गर्छन्, हरेक जातिलाई यो विषय भलिभाँती जानकारी छँदै छ । 

 उल्लिखित विभिन्न तथ्यलाई आधार मान्दा शाहवंश र मगरको गहिरो सम्बन्ध रहेको देखिन्छ । ‘दुःख आइपरे मगर गाउँ पस्नू’ भन्ने उखान त्यत्तिकै बनेको होइन । हिजो हिन्दू आर्यहरू मुस्लिम आक्रमणबाट भागेर नेपालका गण्डकी क्षेत्रका मगरबस्तीमा आएका थिए । भरपर्दो, उदार र दयावान् मगरबस्ती उनीहरूका लागि पहिलो रोजाइ बन्यो । लोक र परलोकको छट्टु हिन्दू धार्मिक भाग्यवादको काल्पनिक आख्यानको तरबारले मगरको मौलिकता ध्वस्त बनाइयो । बच्चाको न्वारानदेखि मृत्युको काजकिरियासम्ममा हिन्दू पुरेतहरूलाई मगरहरूले पोसे । मगरलाई मात्र होइन, मगरका राजालाई समेत हिन्दू बनाइयो । मगर राजालाई त जनै नै भिराइदिएर आफ्नो मगर समाजबाट यसरी अलग्याइयो कि ‘मेरो पुर्खा मगर हो’ भन्न ग्लानि हुने अवस्था शाह राजाहरूमा सिर्जना गराइयो । अर्कोतिर मगरहरूले चाहिँ ‘शाह राजाको पुर्खा मगर थियो’ भन्दा विश्वास नै नलाग्ने गराइयो ।

नेपालका तत्कालीन शाह राजाहरूको नश्ल वर्णशंकर हो । मगर राजालाई हिन्दू बनाएर जनै भिराएपछि उनीहरूको नक्कली वंशावली तयार बनाउन लगाई आर्य कन्याहरूसँग विवाह गराइएको इतिहास छ । यसले पछिका पुस्ताहरूको नश्ल आर्यजस्तो देखिन गएको हो । यसरी राजाका सन्तानहरू वर्णशंकर हुँदै ज्ञानेन्द्रसम्म आइपुगेका हुन् । पहिलो नश्ललाई दोस्रो नश्लमा रूपान्तरण गर्न दोस्रो नश्लसँग लगातार तीन पुस्तासम्म वैवाहिक सम्बन्ध गराइयो भने त्यो पहिलो नश्ल दोस्रो नश्लको गुणमा बदलिने विज्ञानले पुष्टि गरेको छ । पृथ्वीनारायण शाहको तिखो नाक र भासिएको आँखा भएको तस्बिर पछि कलाकारलाई स्केच गर्न लगाइएको हो । राजपरिवारमा मामाकी छोरी बिहे गर्ने प्रचलन थियो ।

त्रिभुवनका पिता पृथ्वीविक्रमले आफ्नो मामा वीरशमशेरको छोरी बिहे गरेका थिए । यो चलन मगरको हो । मगर समुदायमा मूल थर घर्ती, रोका, बुढा, पुन, थापा, आले र राना हुन् । तिनका उपथर अहिले एक हजार पचासभन्दा बढी छन् । त्यसैले यी यावत् तथ्यको फेहरिस्तले शाहवंश र रानाभित्रको मास्की राना मगरको पुर्खा एउटै हो । किनकि मास्की राना मगर र शाहवंशको कुलायनदेवी एउटै हुन् स्याङ्जाको आलमदेवी, जहाँ मास्की रानामगर र निवर्तमान राजपरिवारका सदस्यबाहेक अन्य थरगोत्र वा जातका मानिसलाई प्रवेश निषेध छ ।


मगर राजालाई त जनै नै भिराइदिएर आफ्नो मगर समाजबाट यसरी अलग्याइयो कि ‘मेरो पुर्खा मगर हो’ भन्न ग्लानि हुने अवस्था शाह राजाहरूमा सिर्जना गराइयो । अर्कोतिर मगरहरूले चाहिँ ‘शाह राजाको पुर्खा मगर थियो’ भन्दा विश्वास नै नलाग्ने गराइयो ।

पूर्वपूजारी देवबहादुर मास्की रानामगरका अनुसार हरेक वर्ष फूलपातीको अघिल्लो दिन राजपरिवारका सदस्यहरू पूजा सामग्री लिएर आलमदेवी आउने र पर्वपूजाको प्रसाद दरबारमा पठाउने परम्परा थियो । आलमदेवीमा राजाहरू महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसमेत आएर पूजाआजा गरेका थिए । स्व. राजा वीरेन्द्र प्रायजसो आलमदेवीमा पूजा गर्न आइरहने र राजपरिवारबाट समय–समयमा विशेष पूजासमेत हुने गथ्र्याे (मीन श्रीसमगर, ‘मगर पुजारी रहेका प्रसिद्ध देवस्थलहरू’ (२०६८) काठमाडौं : मगर अध्ययन केन्द्र,पृ.६२) ।

राजखलकका शाह ठकुरी र मास्की रानामगरले कुलायन पूजामा थुमा भेडाको बली चढाउँछन् । कुलपूजाको प्रसाद आलमदेवीमै सपरिवार बसेर खाने चलन छ । यहाँ राँगा, परेवा, कुकुरा, हाँस बली दिइन्छ । यदि मास्की रानामगर र निवर्तमान राजाखलक शाहवंशको सगोत्री नभएको भए अहिलेसम्म सँगै कुलपूजा गरिने थिएन । राजा वीरेन्द्रले आफ्नो छोरा दीपेन्द्रको व्रतबन्धसमेत आलमेदवीमै गरिदिएका थिए । यदि आफ्नै कुल नभएको भए अर्काको कुलमा गएर कसैले पनि व्रतबन्ध गर्दैन । यही प्रचलनअनुसार आलमदेवीमा मास्की रानामगर पुजारी रहँदै आएका हुन् । 

लसर्घा आलमदेवी थानमा मात्रै होइन, मगरहरूलाई शाहवंशीय राजतन्त्रले सबैतिर आफ्नै साथमा राखेको र आफ्ना कुलदेवी र इष्टदेवीहरूको मन्दिरको पुजारी बनाएको देखिन्छ । खान/शाहहरूको प्रारम्भिक थलो मानिएको भिरकोटमा सारुमगर, गह्रौंकोटमा बरालमगर, खिलुङमा सारुमगर, नुवाकोटमा सारुमगर, सतहुँकोटमा पुलामीमगर, सराङकोटमा फेवाली राना, ढोरबारहीमा दर्लामी मगर, लमजुङमा दूधरानामगर, गोर्खा कालिकामा भुसाल/मास्की रानामगर, सल्यानकोट धादिङमा सारु/रानामगर, छाब्दी बाराहीमा थापामगर, गोर्खा मनकामनामा अस्लामी थापामगरहरू पुजारी रहेको देखिन्छ । यसले शाहहरूको वंशीय नसो मगरहरूतिरै केन्द्रित गर्न बल पुर्‍याउँछ (देवकोटा, उही) । निवर्तमान राजखलक शाहवंश र मास्की रानामगर सगोत्री हुन् । त्यसैले ठोकुवा गरेर भन्न सकिन्छ, नेपालमा यति लामो समय शासन गर्ने राजतन्त्र मास्की रानामगर हुन् । पृथ्वीनारायण शाह हिन्दू वर्ण व्यवस्थाबमोजिम जात परिवर्तन गरी मगर जाति छाडेका शासक हुन् । शाहवंश र मास्की रानामगरको आनुवंशीय अध्ययन (जेनेटिक स्टडी) गर्ने हो भने नेपालमा यति लामो समयसम्म शासन गर्ने शाहवंश को हो ? भन्ने पत्ता लगाउन गाह्रो छैन ।

 
(लेखक त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दै छन् ।)