• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कुन्साङ
२०७८ चैत १२ शनिबार ०६:५२:००
साहित्य

हिउँको ताल्चा

झुल हिमालैमा सेतो हिउँको ताल्चा, हिउँको ताल्चा खोल्ने घाम अब कहिले लाग्ला ?

२०७८ चैत १२ शनिबार ०६:५२:००
कुन्साङ

वाङ्मुु घरबाट निस्किँदा हिउँ जमिसकेको थिएन । एक बोतल छ्याङ र अलिकति बासी मःम झोलामा हालेर ऊ बिहानै घोडा खोज्न हिँडेकी थिई । रातिदेखि हिउँ परिरहेकाले जाडो निकै बढेको थियो । वाङ्मु साङथोला डाँडामा पुग्दा अलि–अलि हिउँ जम्न थालिसकेको थियो । साङ्थोला डाँडाबाट फर्केर हेर्दा खगाल गाउँ निकै सुन्दर देखिन्थ्यो । एपी (हजुरआमा)ले सुनाउने बयुलको कथाजस्तो । कर्णालीको डिलमाथि बसेको गाउँलाई चारैतिरका अग्ला–होचा हिमालले आफ्नो हत्केलामा राखेजस्तो देखिन्थ्यो । 


नेपथ्यमा गुञ्जिरहेको थियो– चराहरूको गीत । डाँफेहरू हिमालबाट गाउँनजिकैको जंगलमा बसाइँ सर्दै थिए । सधैँ चहलपहल भइरहने गाउँ दिउँसै चकमन्न देखिन्थ्यो । मान्ठहरू आगो तापेर घरमै बसिरहेका थिए । हरेक घरको चिम्नीबाट निस्केको बाक्लो धुवाँले यही बताउँथ्यो । साङथोलाबाट हेर्दा लाग्थ्यो, कुइरोलाई चुनौती दिन निस्केको हो– धुवाँ ।


वाङ्मुको पाइलासँगै हिउँको उचाइ बढिरह्यो । तर उसको पाइला रोकिएन । ऊ निरन्तर हिँडिरहेकी थिई । उँभो–उँभो चढ्दै जाँदा हिउँ झन्–झन् बाक्लो पर्न थालेको थियो । अरू वेला हिउँ पर्न थालेपछि वनमा छोडेका जोपा, जुमा, चौँरी र घोडाहरू आफैँ गाउँतिर झर्थे । तर, यसपटक चौँरी र जोपा गाउँ फर्किए पनि घोडाहरू फर्किएका थिएनन् । घोडा खोज्न थालेको पनि तीन दिन भइसकेको थियो ।


००० 
ऊ ठोबमा पुग्दा हिउँ घुँडासम्म पुगिसकेको थियो । ठोबको पानी जमेर ऐनाजस्तै देखिएको थियो । ठोबको बुढो पीपलको रुख ऐना हेर्न निहुरिएको जस्तोदेखिन्थ्यो । वरिपरिका रुख बिरुवाहरू पनि जाडोले कठ्यांग्रिएर टक्क अडिएकाजस्ता देखिन्थे । मात्र कर्णाली सुसाइरहेको सुनिन्थ्यो । अनकन्टार जंगलमा कर्णाली सुसाएको सुन्दा उसको मन अलि शान्त भयो, कुनै विरानो ठाउँमा आफ्नो मान्ठ भेटेजस्तो । 


उसले ठोब डाँडाबाट चारैतिर हेरी, मात्र कुइरो देखिन्थ्यो । घोडाको घाँटीमा झुन्ड्याएको ठिलुक र करङ्को आवाज कान थापेर सुनी । ठुल्ठूलो आवाजमा घोडाको नाम लिएर बोलाई, तर कुनै आवाज आएन । वातावरण उस्तै शान्त थियो । चाल्नाबाट निस्केको पिठोजस्तै गरी बाक्लो हिउँ परिरहेको थियो । ऊ ठोबबाट सरासर उँभो जुलतिर लागी । भर्खर परेको हिउँ खुट्टामा टाँसिएर हिड्न झनै गाह्रो भइरहेको थियो । बाटो नभए पनि स–साना बोटबिरुवामा समातेर ऊ हिमाल आरोही जस्तै गरी हिँडिरहेकी थिई । बोटबिरुवामा समात्दै जाँदा कैयौँपटक उसको हात काँडामा बिझेको थियो । 

योभन्दा पहिले न ऊ कहिल्यै एक्लो भएकी थिई, न कहिल्यै एक्लै बसेर सोच्न पाएकी थिई । आफैँले मन पराएर ल्याएको लोग्ने अरूसँग भागेर जाँदा पनि एक्लै बसेर सोच्न पाएकी थिइन । पहिला ऊ आमा र आपाकी छोरी मात्रै थिई, अब ऊ पनि दुइटी छोरीकी आमा भइसकेकी थिई ।


बिर्सिङ, बाराक्ची, सबैतिर खोजी । घोडाहरू भेटिएन । घोडाको नाम बोलाउँदै–बोलाउँदै ऊ जुल पुगी । हरेकपटक उसको आवाज हिमालहरूमा ठोक्किएर फिर्ता आउँथ्यो । तर, यो उसले घोडाको आवाज पनि सुनी । आवाज पछ्याउँदै जाँदा उसले देखी घोडाहरू रुखमुनि बसिरहेका थिए । हावा चल्दा रुखमा अड्किएको हिउँ बुर्र घोडाको ढाडमा खस्थ्यो । हिउँबाट बच्न रुखमुनि बसेका घोडाहरू हिउँमा जमेको ढुंगा जस्तै देखिन्थे । जाडोले कठ्यांग्रिएका घोडाहरूको पातलो रौँ भर्खर नुहाएको बच्चाको कपालजस्तो देखिएको थियो । वाङ्मुलाई देखेपछि तीनवटै घोडाहरू खुसीले जोडजोडले कराउन थाले । उसको नजिकै आउँन खोज्थे, तर बाक्लो हिउँमा हलचल गर्ने ठाउँसम्म थिएन । मुखले हिउँ पन्छाएर एकअर्काको नजिक आउने कोसिस गरे पनि घोडाहरू एक–दुई पाइलाको दूरीमै थिए । त्यो दृश्य देखेर वाङ्मुुका आँखा रसाए । बाँच्न संघर्ष गरिरहेका घोडाहरू मायालाग्दो गरी उसलाई हेरिरहेका थिए । हात, खुट्टाले हिउँ फालेर घोडाहरूलाई नजिकैको टोङलाई (खर्क बस्ने घर) मा हुल्दा रात परिसकेको थियो ।  


गाउँ फर्किन सक्ने अवस्था थिएन । जाडोले उसको शरीर थरथर कामेको थियो । टोङलाईमा दाउरा र घाँस भए पनि आगो बाल्न ऊसँग सलाई थिएन । ढुंगा घोटेर आगो बाल्न खोजी । तर, चिसो दाउरामा आगो सल्किएन । चिसो भएर उसको खुट्टा झमझम गर्दै निदाएको थियो । भोकले पेट पनि दुख्न थालेको थियो  घोडाहरूसँगै त्यहीँ बसेर छ्याङ र मःम खान थाली । उसले घोडाहरूलाई एउटा एउटा मःम खुवाई ।  


बिहान घरबाट हिँड्दा सानो टर्च पनि उसले झोलामा हालेकी थिई । टर्चको मधुरो उज्यालोमा उसको आँखा आफ्नो हातमा प¥यो । चिसोले उसका हातका औँलाहरू सुन्निएर कालानिला भइसकेका थिए । छुँदा पनि केही थाहा हुँदैनथ्यो, मानौँ ती औँला उसका हुँदै होइनन् । छ्याङ र मःम खाएपछि हिउँमा कठ्यांग्रिएका औँला तातिएर फेरि झमझमाउन थालेका थिए । हिउँसँग लड्दै हुर्किएको भए पनि यस्तो डरलाग्दो दिन उसले कहिल्यै देखेकी थिइन ।


००० 
हिउँ निरन्तर परिरहेको थियो । उसले बनाएको बाटो हिउँले पुरिसकेको थियो । बाहिर हिउँसँगै डरलाग्दो हावा पनि चल्न थालेको थियो । जाडोमा कठ्यांग्रिएर मरिने पो हो कि ! ऊ निकै डराएकी थिई । हिउँमा कठ्यांग्रिएर मरेका मान्छेहरूका बारेमा उसले धेरै सुनेकी थिई । उता घरमा आमा, बुबा र बच्चाहरू उसैको पर्खाइमा थिए । हिउँदमा घाम पर्खिएजसरी उसका बच्चाहरू साङ्थोला डाँडामा टर्चको मधुरो उज्यालो पर्खिरहेका थिए । 


रात छिप्पिँदै जाँदा मनमा अनेक विचार आउन थालेको थियो । योभन्दा पहिले न ऊ कहिल्यै एक्लो भएकी थिई, न कहिल्यै एक्लै बसेर सोच्न पाएकी थिई । आफैँले मन पराएर ल्याएको लोग्ने अरूसँग भागेर जाँदा पनि एक्लै बसेर सोच्न पाएकी थिइन । पहिला ऊ आमा र आपाकी छोरी मात्रै थिई, अब ऊ पनि दुइटा छोरीकी आमा भइसकेकी थिई । हरेक काम आफैँले गर्नुपथ्र्यो । कहिल्यै एक्लै बस्ने फुर्सद पनि त पाएकी थिइन । 


त्यो रात विगतको ऐनामा आफैँलाई हेरी । उसले आफ्नो विगत अरूको जस्तो सामान्य पाइन । छोरी जन्माएपछि उसकी आमाले जीवनभर अनेक कुरा सुन्नुपरेको थियो । पछि वाङ्मुले घरको, बाहिरको काम अरूबराबर गर्न थालेपछि कुरा काट्न छाडेका थिए । ऊ गाउँको सानो–ठूलो सभामा गएर अरूको कुरा सुन्थी, आफ्नो कुरा पनि राख्थी । प्रश्न गर्थी, जवाफ पनि खोज्थी । गाउँमा हुने साना–ठूला सभा, जहाँ अधिकांश पुरुष मात्र हुन्थे । छोरी जन्मिएकोमा उसकी आमाले जस्तै उसले अरूको कुरा सुन्नुपरेको थिएन । उसका छोरीहरूले पनि आमा र एपी (बजै)को जस्तो कुराहरू सुन्नुपरेन । वाङ्मुको साहस देखेर कुरा काट्नेहरू पनि उसका अघि कुरा काट्न सक्दैनथे । 


टोङलाईको ढोकाबाट मुन्टो निकालेर बाहिर हेरी । हिउँ झन्–झन् बढ्दै गइरहेकोजस्तो देखिन्थ्यो । हिउँमा कठ्यांग्रिएका घोडाहरू बल्ल तंग्रिएका थिए । घोडाहरू पनि उसको नजिकै आएर बसेका थिए । उसलाई हेरेर वेला–वेलामा पुच्छर हल्लाउँथे । टाउको हल्लाउँथे । यस्तो लाग्थ्यो, घोडाहरू उसलाई आफ्नो माया देखाइरहेका छन् ।


गाढा अँध्यारो रातमा लुँबु खोला एकनासले सुसाइरहेको थियो । लुँबु भूतको कथा सुन्दै हुर्किएकी उसलाई त्यो रात भूतसँग डर लागेन । तर, बाघभालुको डरले उसलाई छाडेन । सुनसान ठाउँमा खाना खोज्दै–खोज्दै बाघ आउन सक्थ्यो, भालु आउन सक्थ्यो । अरू जंगली जनावर पनि आउन सक्थे । 


घाँस र स्याउलामाथि बसेपछि उसको शरीर बिस्तारै तातिन थालेको थियो । चिसो र थकानले हैरान भएको ज्यान वेला–वेलामा निदाउन खोज्थ्यो । निदाउन लागेका वेला घोडाहरू टाउकोले उसलाई धकेल्थे । फेरि ऊ ब्युँझिहाल्थी । त्यसपछि उसले आपmूलाई निदाउन दिइन । ऊ रातभर अनिँदो बसिरही । अनिँदै बितेका रातहरू उसलाई निकै लामा लाग्थे । बितेका तमाम लामा रातभन्दा यो रात उसको जिन्दगीको सबैभन्दा लामो रात थियो ।   


००० 
भत्केको भित्तामा बुझो हालेको भोजपत्र निकालेर बाहिर चियाउँदा आकाशमा मिदुन (बिहान हुनुभन्दा पहिले निस्किने सातवटा तारा) उदाएका थिए । ताराहरू थिए, तर जून थिएन । प्वालबाट चियाउँदा उसले थाहा पाई– अब हिउँ पर्न छाडेको थियो । चुपचाप बसिरहेका घोडाहरूतिर हेरेर उसले भनी, ‘मिदुन उदाएको केहीबेरमा कार्चेन उदाउँछ । कार्चेन उदाएको केहीबेरमा उज्यालो हुन्छ, अनि म घर जान्छु । तीनचार दिनपछि तिमीहरूलाई लिन आउँछु ।’ उसको कुरा बुझेझैँ गरी घोडाहरूले टाउको र पुच्छर हल्लाए । बुढो घोडा ङाँङ्वले चिहहह... उसलाई छाडेर नजाऊ भनेझैँ ग¥यो । 


उता घरमा आमालाई पर्खिंदापर्खिंदै बच्चाहरू निदाइसकेका थिए । तर, वाङ्मुका आमाबुबा निदाउन सकेनन् । उनीहरूले कोन्ज्योकसुमको नाम जपेरै रात बिताए । उज्यालो हुनेबित्तिकै टर्च झोलामा हालेर वाङ्मु जुलबाट हिँडी । ऊ हिँड्न खोज्दा तीनवटै घोडाले उसको बाटो छेके । बूढो घोडा त झन् ढोकामै उभिएको थियो । घोडाहरूको माया देखेर फेरि उसका आँखा रसाए । घोडाहरूको घाँटी कन्याउँदै बच्चाहरूलाई सम्झाएझैँ गरी उसले सम्झाई । घोडाहरूले पनि उसको कुरा बुझेर बाटो छाडिदिए । ढोकाबाट निस्किने वेलामा उसले घोडाहरूलाई हेरी । घोडाहरू मायालाग्दो गरी उसलाई हेरिरहेका थिए । 


हिउँ निरन्तर परिरहेको थियो । उसले बनाएको बाटो हिउँले पुरिसकेको थियो । बाहिर हिउँसँगै डरलाग्दो हावा पनि चल्न थालेको थियो । जाडोमा कठ्यांग्रिएर मरिने पो हो कि ! ऊ निकै डराएकी थिई । हिउँमा कठ्यांग्रिएर मरेका मान्छेहरूको बारेका उसले धेरै सुनेकी थिई ।
 


वरिपरिका अग्ला लहरूतिर हेर्दा लाग्थ्यो, छ्योर्तेनको टुप्पोमा सेतो खादा बाँधेको हो । सल्ला, धुपी र भोजपत्रका रुखमा फुलेका थिए– सेता फूल । टोङलाईको भान्ना हिउँमा कतै देखिएको थिएन । माटो र भोजपत्रले छाएको टोङलाई हिउँले सल्र्लक निलेको थियो । हिउँ वाङ्मुको कम्मरसम्म पुगेको थियो । कसरी हिँड्ने ! ऊ एकछिन अल्मल्ल परी । एउटा खुट्टा उचाल्दा अर्को खुट्टा हिउँमा भासिन्थ्यो । हिउँ नपरे पनि चिसो हावा चलेको थियो । 


जुलभन्दा केही तल पुग्दा ऊ निक्कै थाकेकी थिई । हिउँमा भासिँदा–भासिँदै उसको पूरै शरीर दुख्न लागेको थियो । तर, हिँड्नुपर्ने बाटो निकै लामो थियो । हिउँमाथि बसेर ऊ के–के सोच्दै गर्दा यार्चा टिप्न जाँदाको घटना सम्झिई । यार्चा टिप्दा घुँडा र हात टेकेर हिँड्नुपथ्र्यो । त्यसपछि ऊ त्यसैगरी हिँड्न थाली । अघिल्लो दिन परेको हिउँ जमिसकेको थियो । हात र घुँडा टेकेर हिँड्न सजिलो भए पनि चिसोले हातका आँैला झमझमाउ थालेका थिए ।  


ऊ टोँब पुग्दा आकाश सफा हुन थालेको थियो । कर्णालीबाट उठेका कुइरोहरू हतारहतार उँभो जुल ल चढ्दै थिए । कर्णाली उसैगरी सुसाइरहेको थियो । चिसोले उसको हात निदाइसकेको थियो । झम्झमाउन पनि छाडेका थिए । चिमोट्दा पनि केही थाहा हुँदैनथ्यो । सुनिएका औंलाहरू डरलाग्दा देखिएका थिए ।

ल ती झुल ल कार्वु खाह हिक गुल्ज्या  
गुल्ज्या बेसिङ–बेसिङ सच्र्युङ ङिँमी बेसिङ
(झुल हिमालैमा सेतो हिउँको ताल्चा ।) 
हिउँको ताल्चा खोल्ने घाम अब कहिले लाग्ला ?)
वाङ्मुले पनि कर्णालीलाई गीत सुनाई । उसको तीखो स्वर हिमाल–हिमालमा ठोक्किएर झन् तीखो भएर गुञ्जिरह्यो । 
आँ ङ्योँ, ओ ! आँ ङ्योँ गो फे 
(घाम आमा, ओ घाम आमा ढोका खोल ।)
टिन हिक खाङ्म ल मे छ्युक
(बादलको घरामा आगो लगाइ देऊ ।)
ओ आँ ङ्यो ... । 


आमालाई पर्खिरहेका उसका छोरीहरू बिहानैदेखि ढोकामा बसेर आँ ङिँमालाई आकाशको ढोका खोल्न अनुरोध गरिरहेका थिए । अरू बच्चाहरूका लागि घाम अकु (काका)भए पनि वाङ्मुकी छोरीहरूका घाम सधैँ आमा थिई । उनीहरू घाम आमासँग आफ्नो आमाका लागि घर आउने बाटो सजिलो बनाइदिन अनुरोध गरिरहेकी थिई ।    

      
कहिले हिउँमा भासिँदै, कहिले हात र घुँडा टेकेर, ओरालोमा चिप्लिँदै ऊ साङ्थोला पुगी । साङ्थोला डाँडाबाट तल ओर्लेपछि जंगलको बाटो निकै अप्ठ्यारो थियो । तैपनि साङ्थोलाबाट गाउँ देखेपछि उसलाई घर पुगेको जस्तो लाग्यो । हिउँ पर्न छाडेपछि मान्छे थाडामा जमेको खेमले हिउँ फाल्दै थिए । यत्ति बाक्लो हिउँ कहिले फाल्नु ! गाउँतिर हेरेर उसले लामो सुस्केरा हाली । त्यही बसेर निकैबेर ऊ टोलाइरही । हिउँमा पुरिएका थिए– घरहरू । मात्र ढोकाहरू खुला देखिन्थे । साङ्थोलाबाट हेर्दा गाउँ हिउँको बर्काे ओडेर चुपचाप निदाइरहेको जस्तो देखिन्थ्यो । 


बाटो अप्ठ्यारो भए पनि गाउँ नजिकै देखेर उसको मनसँगै शरीर पनि हल्का भएको थियोे । साङ्थोला डाँडाबाट तल ओर्लेर जंगलको बाटो लाग्ने वेला ङ्योँका काङ्ब (घामका किरण ) हरूले हिउँमा टेकेका थिए । उसले हात निधारमा राखेर आकाशतिर हेरी, ङ्योँ आकाशको बीचमा पुगेको थियो । मानौँ, बच्चाहरूको गीत सुनेर आँ ङ्योँले ढोका खोलेको हो । हिउँको उज्यालोले उसको आँखा तिरमिरायो । घाममा शरीर तातेर फेरि झम्झमाउन थालेको थियो । शरीर तातिँदै जाँदा झम्झमाएर दुख्न पनि थालेको थियो । तर, ऊ निरन्तर अघि बढ्दै थिई ।


गाउँ नजिकै देखिए पनि जङ्गलको बाटोमा हिउँमाथि हिँड्न निकै अप्ठ्यारो भइरहेको थियो । भोक र तिर्खाले उसलाई चक्कर पनि लाग्न थालेको थियो । ऊ वेला–वेलामा हिउँको सानो डल्लो मुखमा राख्थी । हिउँ खाँदाखाँदै उसको घाँटी दुख्न थालेको थियो । थुक निल्न पनि नसक्ने भएकी थिई । अब ऊ घाँटी बिझाउन मुुखमा हिउँको डल्लो राख्थी र हिउँ पग्लेपछि प्याच्च थुक्थी । भोक–तिर्खाले शरीर झन्–झन् कमजोर हुँदै गइरहेको थियो । घाम लागेपछि हिउँ टल्केर आँखा राम्रोसँग देख्न छाडेकी थिई । 


ठूलो सल्लाको रुखमुनि बसेर आकाशतिर हेरी, अँध्यारोबाहेक केही देखिन । एउटा हात निधारमा राखेर अर्को हातले बायाँ आँखा खेलेर हेर्दा घाम टाक्तेल हिमालको टुप्पोमा अडिएको थियो । उसको छेवैमा खुट्टामा घाइते डाँफे हिउँमा कठ्यांग्रिएर मरेको थियो । डाँफेको पूरै शरीर जमेर ढुंगाजस्तै भएको थियो । त्यो देखेर उसको मन चुकिलो भयो । फेरि घामतिर हेरी रात पर्न अब धेरै समय बाँकी थिएन । हिँड्नुपर्ने बाटो निकै थियो । जुरुक्क उठ्न खोजी, तर खुट्टा थरथर काँपिरहेका थिए । शरीर पनि उस्तै गरी काम्न थालेको थियो । चक्कर लागेर ऊ फेरि हिउँमा बसी । उठेर हिँड्ने साहस भएन । गाउँतिर हेरेर ठूलो स्वरमा कराउन खोजी, तर आवाज निस्केन । उसको घाँटी बसिसकेको थियो । मुटु छेड्ने गरी सिरेटो पनि चल्न थालेको थियो ।  


ज्ंगलबाट गाउँ राम्रोसँग देखिन्थ्यो । गाउँमा मान्ठहरू हतार–हतार हिउँ फालिरहेका थिए । उसको घरमा पनि आमा र आपा हिउँ फाल्दै थिए । कसैले देख्छ कि भन्दै उसले हात हल्लाई । आमा र आपालाई बोलाई, तर आवाज निस्केन । मरेको डाँफेतिर हेरेर उसले सोची अब म पनि यस्तै हुन्छु होला । त्यत्तिवेला उसले थाहा पाई, अहो ! उसको मनमा जीवनप्रति कत्रो लालसा थियो । नजिक आउँदै गरेको मृत्युको सन्त्रास ! निकै भयानक समय थियो । हलचल नगरी बसेकोले शरीर झन्–झन् चिसिँदै थियो । उसलाई गाउँ पर–पर सर्दै गइरहेको जस्तो लाग्यो । अलिकति हिउँ मुख राखेर निल्न खोजी, तर सकिन । शरीर झन्–झन् काँपिरहेको थियो । एउटा डाँफे मरेको डाँफेनजिकै आउँथ्यो र फेरि भुर्र उडेर जान्थ्यो । 


झमक्क रात परिसकेको थियो । शरीर हलचल गर्न सकिरहेको थिएन । बाँँच्ने आशा पनि कम हुँदै गइरहेको थियो । अचानक उसले छोरीले भनेको कुरा सम्झी । घरबाट निस्किने वेला उसकी सानी छोरीले भनेकी थिई, ‘साङ्थोलामा पुग्दा टर्च बाल्नु है आमा, म लिन आउँछु ।’त्यो सुनेर ऊ हाँस्दै घरबाट हिँडेकी थिई । छोरीको कुरा सम्झेपछि उसको मनमा अनौठो तरंग उत्पन्न भयो । फेरि बाँच्ने आशा पलायो । मानौँ, मृत्यु उसलाई छोएर फर्कियो । उसले सकी–नसकी झोलाबाट टर्च निकालेर गाउँतिर फर्काएर बाली । टर्च बाल्दाबाल्दै ऊ धर्मराउँदै हिउँमाथि लडी । एकछिनपछि थोरै टाउको उठाई । गाउँतिर सोझ्याएर हिउँको सानो ढिस्कोमाथि टर्च राखी अनि निरन्तर बालिरही ।