• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर
२०७८ चैत १२ शनिबार ०७:२४:००
यात्रा

काठमाडौंदेखि कालापत्थरसम्म

२०७८ चैत १२ शनिबार ०७:२४:००
मञ्जु टेलर

यो वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कालापत्थरमा मनाइने भएपछि एक महिनादेखि पदयात्राको तयारी गरिरहेकी थिएँ । पदयात्रामा निस्कने दिन नजिकिँदै गर्दा उत्साहसँगै डर पनि थपिँदै थियो । उचाइ बढ्दै जाँदा हुने ‘हाई अल्टिच्युडको समस्या’ सम्झिँदै डर लाग्ने भइसकेको थियो । तर, विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका ४२ जना महिलाहरूसँग झन्डै दुई हप्तासँगै हिँड्न पाउने भएपछि उत्साहित थिएँ । उत्साहकै बीच सुरु भयो काठमाडौंदेखि कालापत्थरसम्मको पदयात्रा । 

 

सामाजिक सञ्जालमा देखिने सेतो हिमाल र यथार्थमा देखिने हिमालबीच धेरै भिन्नता पाएँ । फोटोमा देखिनेजति सुन्दर रहेनछ हिमाल । तीव्र जलवायु परिवर्तनले बर्सेनि हिमालको स्वरूप फेरिँदै गएकोरहेछ । हिमालहरू फागुन सुरु नहुँदै सुक्खा देखिन थालेका छन् । लुक्ला विमानस्थलबाट सगरमाथा आधार शिविर टेक्दासम्म देखिएका सुक्खा पहाडहरूले हिमालको गौरवलाई गिज्याइरहेजस्तो लाग्यो । यस्तो लाग्थ्यो, हिमालको परिभाषा फेरिँदै छ ।लुक्लाबाट २८ फेब्रुअरीमा हिँडेका हामी ७ मार्चमा मात्रै सगरमाथा आधार शिविर पुग्यौँ । काठमाडौंबाट पदयात्रामा ४२ जना निस्किएका थियौँ । तर, सगरमाथा आधार शिविरसम्म हिँडेरै पुग्नेहरू २७ जना मात्र थिए ।

 

यात्राको पहिलो दिन काठमाडौंबाट लुक्ला विमानस्थल ओर्लेपछि पदयात्रा सुरु भयो । खराब मौसमका कारण काठमाडौंबाट लुक्लाको फ्लाइट तीन घन्टा ढिला भयो । हिमाली भेगमा अकस्मात् आउने कुहिरोका कारण फ्लाइट रद्द हुनु सामान्य मानिन्छ । तर, संयोगवश केही घन्टामै कुहिरो फाटेपछि हामी बिहानको ११ बजे लुक्ला विमानस्थल झर्‍याैँ । सोलखुम्बुको सिमाना छिर्दा डाँडा छोइएलाझैँ गरी विमान उडेको देख्दा मेरो सास रोकिएलाझैँ भयो । विमान हल्लिँदा छेउको सिटमा रहेकी ट्रेकिङ गाइड मिङ्मायान्जी शेर्पाले सोलखुम्बुको परिवेश, लुक्ला वरिपरिका डाँडामा रहेको साइक्लिङ रुट, झ्यालबाट देखिने हिमालयन रेन्ज देखाइरहेकी थिइन् । त्यतिमात्रै होइन, उनले नजिकका डाँडामा ठोक्किएर कुनै वेला विमान दुर्घटना भएको घटना पनि सुनाइन् । मेरा लागि काठमाडौंदेखि लुक्लासम्मको विमानको यात्रा नै एडभेन्चरस भइसकेको थियो । 


लुक्लादेखि सुरु भएको पदयात्रा फाक्दिङ, नाम्चे, तेङबोचे, देङबोचे, लोबोचे, गोरख सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न हामीलाई नौ दिन लाग्यो । उचाइ बढ्दै जाँदा घट्दो अक्सिजन लेभलले निम्त्याउने स्वास्थ्य समस्यासँग जुध्दै उकालो यात्रा तय गर्नु निकै कठिन थियो । बढ्दो उचाइसँगै बढ्दै गएको हाई अल्टिच्युडको समस्याले लगभग सबैजना बिरामी परिसकेका थिए । अक्सिजन कमीका कारण सास फेर्न कठिन हुने, लगातार बान्ता हुने, पखाला लाग्नेजस्ता स्वास्थ्य जटिलता थपिँदै गएका थिए । हाई अल्टिच्युडको समस्या नाम्चे बजार पुग्दानपुग्दै सुरु भइसकेको थियो । स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि तीनजना सहभागीलाई देङबोचेमै दुई दिन आरामका लागि छोडियो ।


उडाउलाझैँ गरेर बहने चिसो सिरेटो, माइनस डिग्री तापक्रम र आँखा पोल्ने गरी आउने हिमालको प्रकाशले सगरमाथा आधार शिविर आफैँमा ‘एडभेन्चरस’ लाग्यो । लगातार पग्लिरहेको ग्ल्यासियरले आधार शिविरको रूपरेखा प्रत्येक साता फरक देखिने यसअघि नै गाइडहरूले बताइसकेका थिए । हिमालबाट आउने सेतो प्रकाशले आँखा बिगार्ने भन्दै गाइडहरूले चस्मा नखोल्न बारम्बार भनिरहेका थिए ।


चिसो तापक्रम र तीव्र हावाले गर्दा आधार शिविरमा लामो समय बस्न स्वास्थ्यका लागि उचित थिएन । घट्दो अक्सिजन लेभलले बेसक्याम्पमा बितिरहेका हरेक सेकेन्ड मूल्यवान लागिरहेको थियो । सगरमाथाको फेदलाई मोबाइलको फ्रेममा अटाउन सक्नेजति खिचिसकेर पनि मन अघाएको थिएन । कहिले समूहमा त कहिले छुट्टै फोटो खिच्दाखिच्दै दुई घन्टा बित्यो । लोबुचेबाट हिँड्न अप्ठ्यारो भएर आधार शिविरसम्म घोडाको सहायता लिएकाहरूसमेत त्यहाँ पुगेपछि फ्रेस देखिन्थे । आधार शिविरमा पुग्दा ठूलो लक्ष्य हासिल गरेको अनुभूति गरेँ ।

 
दैनिक ६ देखि नौ घन्टासम्मको लगातार हिँडाइ र घट्दो अक्सिजनले गर्दा तेङबुचे (३८७५ मिटर उचाइ) पुग्दा नपुग्दै टाउको दुख्न थालिसकेको थियो । हाई अल्टिच्युडको औषधि प्रयोग गरे पनि आइपर्ने समस्याप्रति प्रत्येकपटकको यात्रा ब्रिफिङमा गाइडहरूले सम्झाइरहनुभएको थियो । तर, गोरख सेपको माइनस २६ डिग्री तापक्रममा मार्च ८ को बिहान मेरा लागि सबैभन्दा चुनौतीपूर्ण क्षण साबित भयो ।

 
मार्च ८, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमका लागि कालापत्थर जाने तयारी भइरहेको थियो । कालापत्थरमा चल्ने तीव्र हावामा दिउँसो कार्यक्रम गर्न नसकिने भन्दै बिहानको ६ बजे नै कालापत्थरका लागि हिँड्ने योजना बन्यो । तर, गोरख सेपबाट कालापत्थरको उकालो चढेको आधा घन्टा नबित्दै एकाएक बान्ता र रिंगाटा लाग्न थाल्यो । त्यसपछिको लगभग एक घन्टाजति मैलै आपूmलाई महसुस गर्न सकिनँ । 


अक्सिजन लेभल घटेर ५६ पुगेकाले मलाई तत्काल उद्धार गरिएको थियो । हाइपोथर्मिया र अक्सिजन कमीका कारण म सोच्न नसक्ने अवस्थामा थिएँ । गोरख सेपमा रहेको होटेलमा केही घन्टा आराम गरियो । शरीरमा अक्सिजनको अभावका कारण अन्य अंगले काम गर्नै छाड्ने भएकाले सामान्यतया उचाइमा बिरामी परिन्छ । अक्सिजनको मात्रा कम हुँदा मस्तिष्कले समेत काम गर्न छोड्छ । स्वास्थ्यमा सामान्य सुधार भएपछि गोरख सेपमा बिताइएको लगभग आधा घन्टा मेरो जीवनको सबैभन्दा लामो र महत्वपूर्ण समय थियो । त्यहाँ मैले मृत्युलाई नजिकबाट महसुस गरेँ । परिवार र साथीभाइको महत्व राम्रोसँग बुझेँ । 


यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवस जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गर्न कालापत्थरमा मनाइयो । विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका ४२ जना महिलाले पदयात्रा गरेर विश्वले सामना गरिरहेको जलवायु परिवर्तनको असर र महिलाका मुद्दासम्बन्धी दशबुँदे घोषणापत्रसमेत जारी गरियो । कार्यक्रम ‘साथसाथै’को आयोजनामा भएको थियो । विश्वको सर्वोच्च शिखरको आधार शिविरमा पुगेर जलवायु परिवर्तनले सम्पूर्ण मानव स्वास्थ्यमा पारिरहेको असरबारे विश्वलाई ध्यानाकर्षण गर्न यसपटक पृथक् तरिकाले महिला दिवस बनाइयो । 


नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आमनागरिक तहमा मनाउन थालिएको चार दशक मात्र भएको छ । २०४६ सालको आन्दोलनपछि ८ मार्चलाई ‘महिला दिवस’ भन्न थालिए पनि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि ‘श्रमिक महिला दिवस’ नाम दिइएको थियो । श्रम कानुन ०७४ (दफा ४१)ले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा किटान गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने निर्णय गरेको थियो । 


सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल कालापत्थरको यात्राबारे भन्छिन्, ‘विशेष गरी जलवायु परिवर्तनले महिलाहरूको जनजीवनमा पारेको प्रभावबारे वकालत र समस्या न्यूनीकरणका लागि दबाब दिन पदयात्रा गरिएको हो ।’ श्रमिक महिला दिवसको अवसरमा जारी गरिएको घोषणापत्रमा जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार गर्नुपर्नेमा जोड दिइएको छ । तीव्र जलवायु परिवर्तनले ल्याएको असर न्यूनीकरणमा महिलाको भूमिका परिभाषित गर्ने प्रयासका लागि कालापत्थरसम्मको पदयात्रा गरिएको आयोजकको भनाइ छ ।

 

 तीव्र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई पहाडी र तराई क्षेत्रमा बर्सेनि आउने प्राकृतिक विपत्ति बढ्दै गएकाले समयमै न्यूनीकरणको उपाय खोज्नुपर्ने बताउँछिन्, अभिनेतृ मनीषा कोइराला । महिला दिवसको अवसरमा कालापत्थरमा पुगेकी अभिनेतृ कोइराला विश्वभर नै जलवायु परिवर्तनको चपेटामा परिरहेका महिलाहरूको वकालतमा महिला दिवस मनाउनु निकै सार्थक भएको बताउँछिन् । 


जलवायु परिवर्तनले महिलाको जीवनमा पारेको प्रभाव र त्यसमा न्याय खोज्न महिलाको भूमिका स्थापित गर्न कालापत्थर यात्रा सफल भएको बताउँछिन्, न्यायाधीश मल्ल । उनी भन्छिन्, ‘जलवायु परिवर्तन मात्रै नभई हरेक विषयमा राज्यलाई उत्तरदायी बनाउन यो कार्यक्रम मार्गदर्शक बनेको छ ।’