• वि.सं २०८१ माघ ७ सोमबार
  • Monday, 20 January, 2025
 पवन बराइली
२०७९ बैशाख ३ शनिबार ०७:१६:००
साहित्य

चर्चा नेपाली चलचित्रकर्मीको अभिलेख

२०७९ बैशाख ३ शनिबार ०७:१६:००
 पवन बराइली

‘सत्य हरिश्चन्द्र’ पहिलो चलचित्र मान्ने हो भने नेपाली चलचित्रको इतिहास झन्डै सात दशक बढी छ । ०२२ सालमा नेपालमै छायांकन भएको पहिलो चलचित्र ‘आमा’लाई मान्दा पनि ६ दशक पुग्न लागिसकेको छ । यो कालखण्डमा थुप्रै कलाकार तथा चलचित्रकर्मीको उदय भयो । नेपाली चलचित्र यहाँसम्म आइपुग्न एकजना व्यक्तिको प्रयासले मात्रै सम्भव थिएन । तर, दुर्भाग्य नेपाली चलचित्रको विकासक्रम, चलचित्रकर्मीहरूको भूमिका, योगदान, विगतका भोगाइ र तिनको इतिहास ज्यादै न्यून भेटिन्छ । नेपालमा चलचित्रसम्बन्धी गहन अध्ययन–अनुसन्धान र बहस कमै हुने गरेको पाइन्छ । 


आज पनि कुनै कलाकार, निर्देशक तथा चलचित्रकर्मीको पूर्ण अभिलेख खोज्दा भेटिँदैन । नेपाली चलचित्रको इतिहास र चलचित्रकर्मीको योगदान खासै चर्चा हुँदैन । उनीहरूको योगदानको अभिलेख नहुँदा इतिहास मेटिँदै गइरहेको पनि छ । नेपाली चलचित्रकर्मीको अभिलेखको अभाव पूर्ति गर्न पत्रकार जीवन पराजुलीले ‘क्लोज–अप’ प्रकाशनमा ल्याएका छन् । यो एउटा विशुद्ध चलचित्रको इतिहासको दस्ताबेज हो । पुस्तकमा केही प्रतिनिधि चलचित्रकर्मी चयन गरेर उनीहरूले भोगेका अनेक कालखण्डका यथार्थ विवरण र तिनको दस्ताबेजलाई अभिलेखीकरण गरिएको छ । पुस्तकमा लेखकले ती पात्रहरूका जीवनका उतार–चढावलाई मात्रै प्रस्तुत गरेका छैनन्, चलचित्रकर्मीका योगदानलाई पनि समेटेका छन् ।


यो पुस्तक चलचित्रका विद्यार्थी, पारखी, जिज्ञासु र चलचित्रसँग सरोकार राख्नेहरूका लागि पनि पठनीय छ । ३६३ पृष्ठको यो पुस्तकमा नेपाली चलचित्रको सुरुवातदेखि वर्तमानसम्मको आरोह–अवरोह चित्रण गरिएको छ । पुस्तक ६ खण्डमा विभाजन गरी लेखिएको छ । प्रत्येक खण्डमा पात्रहरूका परिचय, भोगाइ र बुझाइ समेटिएको छ । लेखकले ती पात्रसँग अन्तर्वार्ता गरेर उनीहरूको अनुभवलाई लिपिबद्ध गरेका छन् ।

 

यो पुस्तक चलचित्रका विद्यार्थी, पारखी, जिज्ञासु र चलचित्रसँग सरोकार राख्नेहरूका लागि पनि पठनीय छ । ३६३ पृष्ठको यो पुस्तकमा नेपाली चलचित्रको सुरुवातदेखि वर्तमानसम्मको आरोह–अवरोह चित्रण गरिएको छ । पुस्तक ६ खण्डमा विभाजन गरी लेखिएको छ ।


पुस्तकको पहिलो खण्डमा नेपाली चलचित्रको प्रारम्भिक यात्राको जानकारी राखिएको छ । नेपाली चलचित्रको इतिहासबारे यादव खरेल र चेतन कार्कीले छुट्टाछुट्टै व्याख्या गरेका छन् । यसमा दरबारको सक्रियतामा सुरु भएको शाही नेपाली चलचित्र संस्थानको गठन, भूमिका र समग्र इतिहास कोट्याउने प्रयास गरिएको छ ।
पुस्तकको दोस्रो खण्ड राजेश हमालबाट सुरु हुन्छ । यसमा हमालसँग जोडिएका प्रमुख पात्रहरू अभिनेत्री करिश्मा मानन्धर, निर्देशक दयाराम दाहाल, नारायण पुरीलगायतको अनुभव समेटिएको छ । साथै नेपाली चलचित्र उद्योगमा करिश्माको आगमनपछिको घटनाक्रमबारे चर्चा गरिएको छ । लेखकले राजेश र करिश्माको पहिलो भेटको रोचक प्रसंगसँगै रहस्यमय भित्री पाटाहरू पनि केलाएका छन् ।


तेस्रो खण्डमा भारतबाट आएर नेपाली चलचित्रमा योगदान गरेका कलाकार, निर्देशक तथा प्राविधिकहरूको अनुभव छ । चौथो खण्डमा महिला निर्देशकको भूमिका समेटिएको छ । यसमा पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठसँगै निर्देशक रक्षा सिंह राणा, सम्झना रौनियार उप्रेती, दीपा श्री निरौला, झरना थापा, रेखा थापा, रेनाशा बान्तवा राई, संगीता श्रेष्ठलगायतको जीवन संघर्ष र सफलताका कथा समेटिएका छन् । पुस्तकमा महिला निर्देशकले भोग्नुपरेका अप्ठ्याराको चर्चा गरिएको छ ।


पाँचौँ खण्डमा पत्रकारिताबाट चलचित्र क्षेत्रमा आएकाहरूको अनुभव समेटिएको छ । जसमा यादव खरेल, नयराज पाण्डे, मोहन निरौला, नवीन सुब्बा, विश्व बस्नेत, भुषण दाहाल, नारायण पुरीदेखि मनोज पण्डित, दीपेन्द्र लामा, फूलमान बललगायत चलचित्रकर्मीका अनुभव समेटिएका छन् । छैटौँ खण्डमा सन् १९७० को दशकतिर बम्बईमा गायक मुरलीधर निर्देशक शम्भु प्रधान, अभिनेता टीका पहाडी र गायक उदितनारायण झाका संघर्ष र सम्बन्धका अनुभव समेटिएको छ ।लेखक पराजुलीको यो प्रयासले चलचित्रको अध्ययन–अनुसन्धानको एउटा ढोका खोलिदिएको छ । यो पुस्तक भविष्यका अनुसन्धाताका लागि एउटा आधार बन्न सक्छ, भोलिका पुस्ताका लागि प्रेरणाको स्रोत पनि हुन सक्छ ।