• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
विवेक पोखरेल
२०७९ बैशाख १० शनिबार ०६:५३:००
रिपाेर्ट

माछा मार्न छाडी सामूहिक खेती

कृषक सुरेन्द्र बोटे भन्छन्– अब कहिल्यै विदेश जान्नँ । सकेको काम यतै गर्छु

२०७९ बैशाख १० शनिबार ०६:५३:००
विवेक पोखरेल

बुधबार बिहानै भरतपुर– १३ गंगानगरको चौकीडाँडामा पुग्दा सन्तोष बोटे तरकारी बारीमा बोडी टिप्दै थिए । केही ग्राहक बिहानै बारीमा तरकारी लिन पुगेका थिए । केही ग्राहकले भने सन्तोषलाई फोन गरेर तरकारी कति वेला आउँछ भन्दै सोधिरहेका थिए ।


बिहानै तरकारीबारीमा व्यस्त देखिने सन्तोषको विगत भने त्यस्तो थिएन । उनी कुनै वेला घामको पहिलो झुल्कोसँगै हातमा जाल र कम्बरमा गेद्रा लिएर माछा मार्न खोलामा पुग्थे । खोलामा माछा मार्नु बोटे समुदायको परम्परागत कर्म थियो । अहिले उनीहरू माछा मार्न छाडेर व्यावसापयिक तरकारी खेतीमा लागेका छन् । सन्तोष चार वर्षअघिका दैनिकी सुनाउँछन्, ‘राम्रोसँग मुख पनि नधोई घरछेउकै राप्ती नदीमा माछा मार्न जाने र साँझ फर्कने गथ्र्यौँ । तर, अहिले बिहानैदेखि साँझसम्म खेतबारीमा हुन्छौँ ।’ तीन परिवारका ६ जना मिलेर चार वर्षदेखि उनीहरूले ‘विषादीरहित तरकारी उत्पादन कृषक समूह’मार्फत सामूहिक व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।


सन्तोषकी श्रीमती सन्तोषी माझी बोटे समूहकी अध्यक्ष हुन् । समुहकी सचिव रचना महतो बोटेका अनुसार समूहको पदाधिकारीमा महिलाको संख्या बढी छ । ‘समूहको मुख्य मान्छे हामी बन्यौँ । पुरुषहरूले पनि सघाउनुभयो । हाम्रा लागि यो नयाँ काम हो ।’ रचना सुनाउँछिन् । ‘हामी बोटे समुदायको पहिलेदेखि चलिआएको पेसा हो माछा मार्ने । त्यसैले घर खर्च जुटाउन श्रीमान् र उहाँका साथीहरू दिनहुँ खोलामा माछा मार्न जानुहुन्थ्यो,’ सन्तोषी बोटे भन्छिन्, ‘तर अहिले बारीको कामले खोलामा जाने फुर्सद नै हुँदैन । कहिलेकाहीँ जाँदा माछा बेचेर आएको आम्दानी तरकारी खेतीमै लगानी गर्छौँ ।’ माछा बेचेर बचत गरेको ६० हजार रुपैयाँले नै सन्तोषी र सन्तोषले तरकारी खेती सुरु गरेका हुन् । सन्तोषी भन्छिन्,‘सुरु–सुरुमा ट्र्याक्टर खर्च, मल किन्ने पैसा पनि माछा बेचेरै जुटाएका थियौँ ।’

 

यसरी सुरु भयो कृषि कर्म
सधैँझैँ चौकीडाँडाका बोटे युवाहरू माछा मार्न राप्ती नदीमा गएका थिए । मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष छविलाल न्यौपानेसँग उनीहरूको भेट भयो । न्यौपानेले नै उनीहरूलाई आत्मनिर्भर हुने फरक तरिका सुझाए । समूहमार्फत खेती गर्न भन्दै उत्प्रेरणा दिए । सन्तोष भन्छन्,‘२०७६ सालमा उहाँ आएर १८ जना बोटे युवाहरूलाई राखेर विषादीरहित तरकारी उत्पादन कृषक समूह स्थापना गर्नुभयो । केही रकम र विरुवा पनि उपलब्ध गराउनुभयो । त्यही वेलादेखि हाम्रो व्यावसायिक तरकारी खेती सुरु भयो ।’ उनीहरूले १० कट्ठा जमिनमा काँक्रो, फर्सी र खुर्सानी रोपेर खेती सुरुवात गरे ।

‘हामी बोटे समुदायको पहिलेदेखि चलिआएको पेसा हो माछा मार्ने । त्यसैले घर खर्च जुटाउन श्रीमान् र उहाँका साथीहरू दिनहुँ खोलामा माछा मार्न जानुहुन्थ्यो,’ सन्तोषी बोटे भन्छिन्, ‘तर अहिले बारीको कामले खोलामा जाने फुर्सद नै हुँदैन ।’

 

पछि विस्तार गर्दै लगे । सन्तोष भन्छन्, ‘हामी सबै ऐलानी जमिनमा बस्छौँ । हामीसँग प्रशस्त जमिन छैन । अहिले एक बिघा जमिन भाडामा लिएर खेती गरिरहेका छौँ ।’  सुरुमा १८ जना बोटे युवाहरू जुटे पनि अहिलेचाहिँ तीन परिवारका ६ जनाले मात्रै जिम्मा लिएर काम गरिरहेका छन् । महासंघका अध्यक्ष न्यौपानेले सुरुमा निकै सहयोग गरे । त्यसपछि युवाहरूले आफैँ सक्रिय भए । उनीहरूले विषादीरहित तरकारी खेती गर्ने तरिका सिक्ने माध्यम रोजे इन्टरनेट । सन्तोष भन्छन्, ‘हामीले अहिलेसम्म तालिम लिएका छैनौँ । नजानेको कुरा युट्युब हेर्दै सिक्छौँ ।’

 

विदेशमा भन्दा राम्रो आम्दानी
सुरेन्द्र बोटे तीन वर्ष मलेसिया बसेर आए । मलेसियाबाट नेपाल फर्कने क्रममा उनलाई त्यहाँका स्थानीय लुटेराहरूले आक्रमण गर्‍यो । कमाएको पैसा लुटेर लग्यो । शरीरभरि चोटैचोट लाग्यो । घर आउनुभन्दा तीन दिनअघि भएको घटना उनको जीवनमा कहिल्यै बिर्सन नसकिने दुःखद क्षण बन्यो । उनको अनुहारमा अझै चोटको निसानी देखिन्छ । सुरेन्द्र भन्छन्, ‘अब कहिले विदेश जान्नँ । सकेको काम यतै गर्छु ।’


सुरेन्द्रसँगै तरकारी टिप्दै गरेकी उनकी श्रीमती रचना बोटे भन्छिन्, ‘सबै कुरा पैसा मात्रै पनि त होइन । यहाँ घरपरिवारसँगै बसेर काम गर्न पाइएको छ । अहिले हामी घरको सबै कामसँगै गर्छौँ ।’ सन्तोष पनि साढे तीन वर्ष कतार बसेर आएका हुन् । दीपक बोटे पनि डेढ वर्ष साउदीमा बसेर आएका हुन् । दीपक सुनाउँछन्, ‘कामको खोजीमा स्वदेश–विदेश कताकता चाहार्‍यौँ । तर, अहिले आफ्नै घरगाउँमा काम भ्याइनभ्याइ छ ।’


वैदेशिक रोजगारीमा जानु रहर नभई बाध्यता भएको दीपक सुनाउँछन् । भन्छन्, ‘पहिले–पहिले माछा मार्न जाँदा डरैडर बोक्नुपथ्र्यो । कहिले आर्मीको डर, कहिले जंगली जनावरको डर । तर, अहिले केहीको पनि डर छैन । घरमै बसेर मीठो खान पाइएको छ, राम्रो लगाउन पाइएको छ । परिवार छिमेकी सबैले प्रशंसा गर्नुहुन्छ ।’

 

अनुदान र पुरस्कार 
कृषि ज्ञान केन्द्र चितवनबाट उनीहरूले समग्र लगानीको ५० प्रतिशत अनुदान पाएका छन्, जसबाट दुईवटा टनेल प्राप्त गरेका छन् । पैसा अभावमा उनीहरूले चारवटा टनेल राख्न सकेनन् । अहिले दुईवटा मात्रै छ । ‘सुरुसुरुमा धेरै चिन्ता थियो । ऋण दिने मान्छे पनि थिएनन् । बैंकमा जाऊँ भने हामीसँग धितो राख्ने लालपुर्जा छैन,’ सन्तोष सुनाउँछन् । बिस्तारै सरकारबाट अनुदान पनि पाएपछि उनीहरू उत्साहित हुँदै गएका छन् । तरकारीका लागि आवश्यक बिउ र अन्य सामग्री उनीहरूले अनुदानस्वरूप पाएका छन् ।


उनीहरूको उत्साहमा युवा तथा खेलकुद मन्त्रालयले पनि साथ दियो । उनीहरूले यस वर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान नगद एक लाखसहित पाए । सन्तोष खुसी हुँदै सुनाउँछन्, ‘पहिलेपहिले नेपाली सेना देख्दा हामीलाई लैजाने हो कि, माछा खोस्ने हो भन्ने डर लाग्थ्यो । तर, अहिले सरकारी गाडी हाम्रो गाउँतिर आउँदै गरेको देख्दा हामीलाई सहयोग गर्न आउनुभयो होला भन्ने लाग्छ ।’


अहिले उनीहरूले नाफाभन्दा लगानीमा जोड दिइरहेका छन् । अहिले उनीहरूलाई तीन लाख ऋण छ । सन्तोष भन्छन्, ‘तर हामी कमाउन सक्छौँ भन्ने विश्वास छ ।’ उनीहरू अर्गानिक मल आफैँ उत्पादन गर्छन् । त्यो मलबाट विषादीरहित तरकारी उत्पादन गरिरहेका छन् । रचना भन्छिन्, ‘बिहान उठ्नेबित्तिकै बारीमा हेर्न जाने बानी परिसक्यो । हामी सबैजना बारीमा खट्छौँ । अहिले हामीसँग साग, टमाटर, बोडी बिक्रीका लागि तयार छ ।’


२०६८ सालको जनगणनाअनुसार बोटे समुदायको संख्या देशभरि करिब १० हजार छ । उनीहरूमध्ये आधाभन्दा बढी चितवन र नवलपरासी जिल्लामा बस्छन् । यस क्षेत्र भएर बग्ने नारायणी, राप्ती नदी तथा अन्य खोलाआसपासमा बोटे समुदायको बसोवास छ । धेरै बोटेहरूले अहिले पनि यिनै नदी, खोलाको माछा मारेर बिक्री गरी गुजारा चलाइरहेका छन् ।