• वि.सं २०७९ जेठ १० मंगलबार
  • Tuesday, 24 May, 2022
अन्जु केसी
२०७९ बैशाख १० शनिबार ०७:५३:००
समाज

विभेदको पुस्तान्तरण

२०७९ बैशाख १० शनिबार ०७:५३:००
अन्जु केसी

‘आमा दलितले पकाएको खानु हुँदैन ?’

 

‘हुँदैन,’ मेरो बालसुलभ प्रश्नको जवाफ दिँदै आमाले भन्नुहुन्थ्यो ।


‘किन खानु हुँदैन ?’ मैले पुनः प्रश्न गरेँ । 


‘हुँदैन भनेपछि हुँदैन,’ आमाले भन्नुभयो । त्यसपछि मैले आमालाई प्रश्न गरिनँ । 


एक दिन स्कुलमा साथी राधिका परियारले नुन र काँक्रो ल्याइन् । मेरा गैरदलित साथीहरूले ‘दमाईं’का छोरीले ल्याएको खानेकुरा खानु हुँदैन भने । किन साथीहरूले त्यसो भने थाहा पाउन मैले आमालाई प्रश्न सोधेकी थिएँ । आमाले दलितले छोएको खानु हुँदैन भनेपछि दलितले छोएको खाइएला भन्ने डर लाग्थ्यो । तर, कैयौँपटक जानीनजानी दलित साथीले छोएको खाँदा बिमार भएको कुनै ठोस प्रमाण थिएन । त्यसैले चित्तबुझ्दो तर्क नभेट्दा द्विविधा हुन्थ्यो । 


मेरो बाल्यकाल बितेको अर्घाखाँचीको पालीमा दलित र गैरदलितको मिश्रित बस्ती थियो । विद्यालय आउँदा–जाँदा धारामा पानी पिउँथ्यौँ । त्यतिवेला पानी आउने पाइप बिच्छ्याइएको ठाउँमा दलित पुग्छन् कि पुग्दैनन् भन्ने सोच्थे । हाम्रो परिवार सन्धिखर्क बसाइँ सर्‍यो । त्यहाँबाट बिदा मनाउन ठूलापोखरा जाँदा बाटोमा कलात्मक ढंगले रातोमाटोले पोतिएका दुईवटा घर पर्थे । जिमेरथुमबाट अगाडि लागेपछि सल्लीकोट नपुग्दासम्म बाटैमा पर्ने ती दुई घर मात्र थिए । भाइ र म त्यो बाटो हिँड्दा कैयौँपटक ती घरमा पानी पिएका छौँ । टलक्क टल्कने काँसको अम्खोरामा सत्कारपूर्वक दिएको पानीले धित मरून्जेल तिर्खा मेटाउँथ्यौँ । दुई दशकभन्दा बढी भइसक्यो मेरो मानसपटलमा अहिले पनि त्यो स्थान र घर उस्तै ताजा छन् ।काकीसँग एक दिन ठूलापोखरा जाँदा ती घर दलितको भएकाले पानी पिउनु हुँदैन भन्नुभयो । ‘हामीले त खान्थ्यौँ त काकी’ मैले भनेँ । ‘पहिला खाए पनि अब नखानू,’ काकीले भन्नुभयो । यसरी मैले अभिभावकबाटै विभेद सिकेँ ।


गैरदलित सामाजिकीकरण
हामी बोल्न र हिँड्न सक्ने भएदेखि नै जात, धर्म, संस्कार, संस्कृतिको नाममा दलितले छोएको खानु हुँदैन, घरमा जानु हुँदैन, छुनु हुँदैन भन्ने सिकाइयो । सुरुमा परिवारकै सदस्यबाट विभेद गर्न सिकाइयो । त्यति मात्र होइन, जातका नियम पालना नगरेमा परिवार र सार्वजनिक जीवनबाट बहिष्कार गरिन्थ्यो । कलिलो बालमष्तिस्कमा पाप, धर्म, जन्म, मृत्युलाई छुवाछुतसँग जोडेर दलित–गैरदलितबीच पर्खाल खडा गरियो । यसरी दलित साथीहरूसँग सम्बन्ध स्वतः टाढिँदै जान्थे ।
मेरा दलित साथीहरूले धारा, पँधेरा, मठमन्दिर, विद्यालयमा मात्र होइन, गैरदलितको बस्तीदेखि सार्वजनिक बाटोमा समेत विभेदको सामना गर्नुपथ्र्याे । दलित बालबालिकालाई बोलाउँदा उनको वास्तविक नामबाट नबोलाई जातलछित होचिलापेचिला शब्दहरूले वा नाम बिगारी एकार लगाएर बोलाइन्थ्यो । अपवादबाहेक दलित बालबालिकाका लागि विद्यालयमा पुरस्कार, प्रोत्साहन र दण्ड–सजायको छुट्टै प्रावधान हुन्थ्यो । म निमावि तहमा पुग्दासम्म धेरै दलित साथीहरू विद्यालयमा देखिन छाडिसकेका थिए । 


श्रम, सीप, खेतीपाती र अन्य काममा खटाइने हुँदा घरमा दलितहरूको आवतजावत दैनिक हुन्थ्यो । उनीहरूको खानपिनका लागि केही भाडा छुट्याएर गोठछेउमा राखिन्थ्यो । खाइसकेपछि भाँडा सफा गरी पुनः त्यही ठाउँमा राख्नुपर्ने हुन्थ्यो । घरका ठूलाबडाले नछुने पुराना, कुच्चिएका र सिलाबरका ती भाँडा छुनु वा सार्नुपरेमा घरका साना केटाकेटीलाई लगाइन्थ्यो । यी सबै देख्दा द्विविधा र चिन्ताले पिरोलिन्थेँ । त्यसवेला दलित साथी सँगसँगै खाजा खाएको थाहा पाउँदा पनि घर छिमेकमा निन्दा हुन्थ्यो । त्यस्तो विभेदपूर्ण सोचबाट बाहिर आउन मलाई धेरै वर्ष लाग्यो । 


विभेदको पुस्तान्तरण
प्रायः सबैजसो ठाउँमा अहिले पनि छुवाछुत प्रथा ज्यूँका त्यूँ छ । जातीय–विभेदविरुद्धको कानुन बनेपछि केही सार्वजनिक ठाउँमा आवत–जावत र हिँडडुलमा केही सहज भए पनि कथित दलित परिवारको सदस्य गैरदलितको घरभित्र जाँदा होस् या गैरदलित व्यक्तिसँग छोइँदा, छोइछिटो गर्ने र अशुद्ध मान्ने चलन यथावत् छ । ग्रामीण भेगमा मात्र नभई राजधानीमा पनि गैरदलित परिवारले दलित बालबालिकालाई भेदभाव गर्नु, आफ्ना छोराछोरीलाई दलित समुदायका बालबालिकासँग साथीसंगत र खेलकुदमा सहभागी हुन रोक लगाउनू, घुलमेल हुन र घनिष्टता बढाउन नदिनाले विभेदपूर्ण सिकाइको अभ्यासलाई निरन्तरता दिइएकै छ । केही सहरी क्षेत्रमा तरिका र भाषामा परिवर्तन आए पनि विभेदपूर्ण मानसिकता र व्यवहारमा परिवर्तन आएको छैन । अहिले पनि कथित–दलित कथित–गैरदलितबीचको सम्बन्ध र सहकार्यमा प्रश्न र पर्खाल यथावत् छन् ।


सहरीकरण र आधुनिकीकरणमा जतिनै फड्को मारे पनि राजधानीवासीले समेत छरछिमेकमा दलित गैरदलितको समावेशी बस्ती स्विकार्न सकेका छैनन् । यस्तो अवस्थाले देशविकासको अवस्था र देशवासीको मानसिकता प्रस्ट्याउँछ । राजधानीलगायत विभिन्न सहरी क्षेत्रमा समेत दलितले गैरदलितको घरमा कोठाभाडा बस्न नपाएका घटनासँगै दलितको घरमा घरभाडा लगाउन खोज्दा गैरदलित छिमेकिबाटै असहयोग भएका घटनाहाम्रै अगाडि छन् । 

कसैलाई जन्मकै आधारमा यस्तो अमानवीय व्यवहार गर्नु कस्तो सामाजिक अभ्यास हो ? कस्तो रीतिरिवाज हो ? अछुत मानिने दलितको मिहिनेत, परिश्रम, र पसिनाचाहिँ चल्ने, तर मान्छेले मान्छेलाई छुनचाहिँ किन नहुने ?


उही तहको जागिर र समान सामाजिक भूमिकामा पनि आफूलाई उच्च जात मान्नेहरूले दलितहरूलाई अलग व्यवहार र भेदभाव गरिरहेकै देखिन्छ । उस्तै, प्रकृतिको गल्ती वा अपराधका लागि कानुनी र संवैधानिक व्यवस्था एउटै भए पनि समाजमा गैरदलितको जमातले दलितको जातलाई आधार बनाई निन्दा गरिन्छ । सामान्य भेटघाटमा पनि विनाप्रसंग जातथर खोतलिन्छ । समाजमा साथी समूह होस् या भेटघाटका कार्यक्रममा विभिन्न बाहानामा दलित छिमेकि तथा साथीलाई समावेश गराउन खोजिन्न । यी सबै विभेदपूर्ण अभ्यासलाई निरन्तरता दिइएका उदाहरण हुन् ।


आज पनि कुनै दलितले गैरदलितलाई छुँदा र घरमा प्रवेश गर्दा सजाय पाएकै छन् । कुनै दलितले गैरदलितलाई प्रेम र विवाह गरेकै कारण विभिन्न शारीरिक, मानसिक, यातना र कतिपय अवस्थामा ज्यानसमेत गुमाइरहेका छन् । गैरदलित र दलितबीचको विवाह र सम्बन्धलाई गैरदलित परिवार र समाजमा सजिलै स्विकारिँदैन ।


परिवर्तनको आवश्यकता 
बाल्यकालमा देखेका यस्ता अपत्यारिला, अकल्पनीय घटना र दृश्यले मलाई आज पनि बिथोलिदिन्छ । मनमा अनेकौँ प्रश्न आउँछन् । कसैलाई जन्मकै आधारमा यस्तो अमानवीय व्यवहार गर्नु कस्तो सामाजिक अभ्यास हो ? कस्तो रीतिरिवाज हो ? अछुत मानिने दलितको मिहिनेत, परिश्रम, र पसिनाचाहिँ चल्ने, तर मान्छेले मान्छेलाई छुनचाहिँ किन नहुने ? एउटा मानवले अर्को मानवलाई गर्ने सामान्य शिष्टाचारको आवश्यकता किन नपर्ने ? बाल्यकालमा जेजस्तो सिकँे, देखँे, अबका पुस्ताले चाहिँ त्यो मिथ्या नसिकोस् भन्नेमा सचेत हुनुपर्दछ । अबका दिनमा कुनै पनि बालबालिकाले यस्तो अवस्था भोग्न नपरोस् । बाल्यकालमै यस्तो विभेदपूर्ण गह्रुँगो बोझ बोकेर कोही नहुर्कियोस् ।


हरेक परिवारमा अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई मानवीय व्यवहार र शिष्टाचार सिकाउँ । नयाँ पुस्तालाई एउटा मानवले अर्को मानवसँग गर्ने विभेदरहित मानवीय व्यवहार मात्र सिकाईदिए पुग्छ । आफ्ना सन्ततीलाई जात मिलाएर संगत गर्नुभन्दा पहिला दलित–गैरदलित सबैसँग समान मानवीय व्यवहार गर्न सिकाऔँ । आफ्ना सन्ततीलाई सभ्य व्यवहार मात्रै सिकायौं भने एकदिन हाम्रो समाजको मुहार पक्कै फेरिनेछ । 


हामी विभेद गर्ने र विभेद भोग्ने वर्गमा विभाजित छौँ । यो विभाजित मानसिकताको अन्त्य जरुरी छ भन्ने स्वीकार गरेर मात्रै विभेदको अन्त्यको सुरुवात गर्न सकिन्छ । ‘मैले त विभेद गरेको छैन । म सँगै बसेर खाना खान्छु । मेरो घरभित्र लैजान्छु । तर, कसै कसैले गर्छन् । गाऊँघरतिर मात्रै जातीय–विभेद बाँकी छ,’ भन्ने जस्ता तर्कहरूले समस्याको समाधान गर्दैन । जानीनजानी, प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हामी जातीय विभेदमा सहभागि बनिरहेका हुन्छौँ । कतिपय अवस्थामा संरचना र अज्ञानताका कारणले यसको भागीदार बनिरहेका हुन्छौँ । यसको अन्त्य गर्नु हामी सबैको दायित्व हो भन्ने आधारभूत मान्यतामा सहमति भयौँ भने यो अन्यायपूर्ण प्रथाको अन्त्य गर्न समय लाग्नेछैन ।