
युद्धका कथाहरू लेखिन बाँकी नै छन् । लेखिएका कथाहरू अपूरा छन्, किनभने त्यो समयका प्रत्येक मानिससँग आ–आफ्नै अनुभव छन् । दुई घन्टाको एउटा नाटकमा जनयुद्धकालको पूर्ण ‘प्याकेज’ खोज्नु आफैँमा अस्वाभाविक हुन्छ । थिएटर भिलेजले मण्डला नाटकघरमा प्रस्तुत गरिरहेको नाटक ‘पल्पसा क्याफे’ पनि त्यो समयको एउटा अंश हो ।
नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’लाई सुरज सुवेदीले नाट्य रूपान्तरण गरेका हुन् । लामो उपन्यासलाई दुई घन्टामा समराइज गर्नसक्नु आफैँमा चुनौती हुँदै हो । त्यसको भावलाई रंगमञ्चमा उतार्न निर्देशक विमल सुवेदीले गरेको मिहिनेत अतुलनीय छ ।
एउटा पाठकको नजरबाट मात्र नाटकलाई हेरियो भने थिएटरमा तपाईं निराश बन्न सक्नुहुन्छ । पुस्तक जसरी बग्छ र लेखनमा जति सिमाना हुँदैनन् थिएटरमा त्यसका आफ्नै बाध्यता हुन्छन् । त्यो झल्को पुस्तक पढेर थिएटर छिर्नेहरूले आभास गर्छन् ।
युद्ध र प्रेमको कथालाई बुझ्न विगतमा फर्कनै पर्छ । सबैलाई विगतको इतिहास थाहा नहुन सक्छ । इतिहास थाहा नहुनेहरूलाई नाटक बुझ्न कठिन हुन सक्छ । उपन्यास नपढेका नयाँ दर्शकलाई पनि नाटक बुझ्न् मस्तिष्क मन्थन गर्नुपर्ने हुन्छ ।
नाटकमा निर्देशक सुवेदी, सृष्टि श्रेष्ठ, संगीता थापा, दिपेश राई, बच्चु हिमांशुलगायत देखापर्छन् । उनीहरूले आफ्नो अभिनयमार्फत पात्रप्रति सकेको न्याय गर्न अन्तिमसम्म प्रयास गरिरहन्छन् ।
कवि श्रवण मुकारुङको कविता ‘ल्याम्प पोस्टमुनि आगो तापिरहेछन् नानीहरू’ स्टेज खुल्नासाथ गुन्जिन्छ । नाटकको बीचमा पनि कलाकारले गीतबाट कथा भन्न खोज्छन्, यसले दर्शकलाई जगाउँछ । संकटकालको झल्को नाटकघरको ढोकैदेखि सुरु हुन्छ । नाटकघर पस्दै गर्दा ढोकैमा बन्दुक बोकेर बसेका सैनिकले झसंग बनाउँछन् ।
लामो उपन्यासलाई दुई घन्टामा जति न्याय दिन सकिन्थ्यो त्यति प्रयास गरिएको छ । विगतको समय बिर्सिँदै गएको पुस्तालाई नाटकले इतिहासतर्फ फर्काइदिएको छ ।
नेपालमा जनयुद्ध सुरु भएको २७ वर्ष पुगिसकेको छ । १० वर्षसम्म चलेको युद्ध शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १६ वर्ष बितिसकेको छ । तर, यसको समीक्षा सकेको छैन । युद्धका घाउ ओभाउन बाँकी नै छन् । तर, यसले ल्याएका परिवर्तन संस्थागत हुने प्रक्रियामै छन् । नाटकमा यी विषय देखिँदैनन् । एकसरो यसका पीडाका दृष्य देखिन्छन् । जनयुद्धले देखाएका राजनीतिक परिवर्तन देखिँदैनन् । युद्धका दुष्परिणाम नाटकमा मूल दृश्य हुन् ।
अमेरिकाबाट गोवा घुम्न आएकी पल्पसा र आर्टिस्ट दृश्यबीच भेट हुनुले नै नाटकलाई एकसरो बगाइरहन्छ । उनै दुईले रंगमञ्चमा कथा बोलिरहन्छन् । उनीहरूको प्रेम र हजुरआमाले बेरिरहेको रातो र सेतो धागोले गहिरो बिम्ब छोड्ने प्रयास गरेका छन् । पल्पसा डकुमेन्ट्री बनाउन चाहन्छिन्, अमेरिका फर्कन चाहन्नन् । अमेरिकामा उनले आफ्नोपन भेट्दिनन् । आफ्नोपन सबैभन्दा मायालु हुन्छ । उनले त्यो यतै खोज्ने प्रयास गर्छिन्, तर युद्धमा को आफ्नो को बिरानो । उनी यसैमा हराउँछिन् । अनि प्रेम ! जुन परिस्थितिमा भए पनि प्रेमले न हो आफ्नोपन दिने । नाटकमा यसलाई दार्शनिक ढंगबाट देखाइएको छ ।
दृश्य प्रगतिशील हुन् वा होइनन् सिद्धार्थ जो छापामार छन् उनलाई द्विविधा हुन्छ । दृश्यले बनाएको चित्रकै कारण क्रान्तिकारी भएको दाबी गर्ने सिद्धार्थलाई उनी पनि युद्धमा समाहित भइदिएहुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो । तर, दृश्यले आफ्नो चित्रको उद्देश्य त्यस्तो नभएको भनिरहन्छन् । अर्थात् नाटकले भन्न खोजेको छ सबै परिवर्तनका पक्षधर युद्धमा नै समाहित हुनुपर्दैन, आफ्नो कर्मले पनि त्यसका लागि योगदान दिन सकिन्छ । स्टेजमा सिद्धार्थको प्रवेशलाई अर्थपूर्ण रूपमा देखाइएको छ । उनलाई जनताकै बीचबाट मैदानमा आएको देखाउन खोजिएको छ । उनी दर्शकदीर्घाबाट स्टेजमा प्रवेश गर्छन् ।
नाटक हेरिरहँदा केही दृश्य पट्यार लाग्छन् । जस्तो मुखुण्डो साटिरहेको दृश्य लामो छ, तर नाटकमा त्यसको प्रयोजन के हो पुष्टि हुँदैन । थाल फालिरहेका कलाकारहरूले पनि दर्शकलाई ध्वनिमार्फत जगाए पनि नाटकमा दृश्य समायोजन गर्न सक्दैन ।
बालिका र आर्टिस्टबीचको संवादले दर्शकलाई आँखा झिम्क्याउन दिँदैन । उनीहरूबीचको दृश्यले थिएटरमा हाँसो र गम्भीरतासँगै ल्याउँछ । नाटकलाई पुस्तकमा जस्तै प्रेममा बगाउन प्रयास गरिएको छ, तर त्यो पूर्ण छैन । तर, समयसीमा जति प्रयास गरिएको छ त्यो उत्कृष्ट छ । पल्पसाको भूमिकामा देखिएकी पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको अभिनय उत्कृष्ट मात्रै होइन, प्राकृतिक लाग्छ ।
नाटकमा प्रविधिलाई निर्देशकले भरपुर प्रयोग गर्न खोजेका छन् । त्यसले नाटकलाई थप सशक्त बनाएको छ । मण्डलाको नयाँ थिएटरजस्तै नाटकको सेट उत्कृष्ट लाग्छ । समग्रमा लामो उपन्यासलाई दुई घन्टामा जति न्याय दिन सकिन्थ्यो त्यति प्रयास गरिएको छ । विगतको समय बिर्सँदै गएको पुस्तालाई नाटकले इतिहासतर्फ फर्काइदिएको छ ।