• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
गोविन्द मरासिनी 
२०७९ बैशाख १७ शनिबार ०८:४७:००
सम्झना

आमाविनाको आमा औँसी

२०७९ बैशाख १७ शनिबार ०८:४७:००
गोविन्द मरासिनी 

 

 

सन्दर्भ : मातातीर्थ औँसी

 

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन आफूलाई जन्मदिने आमालाई श्रद्वापूर्वक सम्मानका साथ खुसी बनाएर मीठोमीठो खानेकुरा खुवाएर प्रसन्न बनाउने गरिन्छ । सबैले आफ्ना जन्मदिने आमाहरूसँगै बसेर औँसी मनाउँदै गर्दा मेरा भने विगत सात वर्षयताका आमा औँसीहरू निराशामा बितेका छन् । 

 

२०७२ सालमा जन्मदिने आमाले छाडेपछिका औँसीहरूमा आमासँग बिताएका पल सम्झेर आँखा रसाउनुबाहेक अरू कुनै विकल्प नै भएन । सबैले आफ्नी आमाहरूसँग बिताएका रमाइला पलका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्टाउँदै गर्दा आफ्नो पनि मन भारी नहुने त कहाँ हो र ? तर, सबैसँग त्यो भाग्य कहाँ हुन्छ र ? आफूसँग छन् त केवल सम्झनाका लागि दुई–चारवटा तस्बिर मात्र । 

 

आज सामाजिक सञ्जालमा तस्बिर राखेर सबैले आफ्नी आमाप्रति माया देखाउन खोज्छन्, तर आजको दिनमा यसो गर्दैमा अन्य दिनहरूमा आमालाई कतिको माया दिन्छौँ होला एकपटक त्यसतर्फ पनि सोचौँ त ? सामाजिक सञ्जालमा तस्बिर पोस्टाएर मात्रै पनि आमाप्रति सच्चा माया होला र ? आमालाई बाँचुन्जेल दुःख, पीडा नदिएर खुसी दिलाउन सकियो भने न आमाप्रतिको सच्चा माया हुन्छ, तर पछिल्लो समय आमा आँैसीहरू देखावटी भइदिएका छन् । 

 

अध्ययनका लागि काठमाडौं बसियो । त्यसवेला व्यस्तताले आमाको उपचारका लागि समेत समय छुट्याउन हम्मेहम्मे भयो । आमालाई रोगले ग्रस्त बनाइसकेको रहेछ, तैपनि पछिल्लो केही समय काठमाडौंमै राखेर उपचार गराउन पाउँदा मनले आनन्द र आमासँगको आत्मीयता महसुस भएको थियो । काठमाडौं बसेर पढ्दै गर्दा गाउँ जानै मुस्किल । त्यसैले गाउँ जाँदासमेत आमासँगको न्यास्रो मेटिन नै धौधौ थियो । त्यसैले पनि होला, आफूसँगै राखेर उपचार गराउँदा न्यास्रो मेटिने क्रममै थियो । तर, भगवान् पनि निष्ठुरी भइदियो र आमालाई मबाट टाढा बनायो । आमाको काखमा जुन आनन्द र खुसी झल्किन्छ, त्यसको अगाडि स्वर्ग पनि फिक्का पर्छ भनेझैँ अब त्यो आमाको काखको आनन्द मेरा लागि कहिल्यै पनि हुनेछैन । 

 

राजधानीमा बसेर अध्ययन गर्नु भनेको संघर्षकै पाटो हो । सुरुवाती दिनमा काठमाडौं बसेर पढ्दा मलाई आमाले नै गाउँबाट चामल, दाल, हर्लिक्सको सिसामा भैँसीको घ्यू, तरकारी, मस्यौरा, आलुलगायतका खानेकुराहरू पोको पारिदिनुहुन्थ्यो । त्यसरी सामान ल्याउनका लागि मैले त्यसवेलामा एउटा छुट्टै ‘जेब्रा’ झोलासमेत बनाएको थिएँ । त्यो झोला गाउँबाट ओहोरदोहोर गर्दा मात्रै प्रयोग गर्थेंँ । झोला केही समयअघिसम्म पनि सुरक्षित नै थियो । 

 

त्यसवेला गाउँ जाँदा आमालाई केही लैजान मन थियो, तर चाहेर पनि सामर्थ्य थिएन । अहिले केही लैजाने सामर्थ्य छ, तर आमा नै हुनुहुन्न । अहिले सम्झन्छु, आमा साथमै भएको भए उहाँलाई के–के आवश्यकता थियो, सोध्न मन थियो, तपाईंलाई के मन पर्छ किनिदिन्छु भन्न मन थियो । 

 

अध्ययनसँगै सानोतिनो जागिर थियो । न्यून तलब, राजधानीको महँगी, यताउता गर्दा पुर्‍याउनै कठिन । त्यसमाथि घरबाट बुबालाई समेत उपचारका लागि महिनाकै लाखौँ रकम निकाल्नु सानो कुरा थिएन । आमालाई उपचारका लागि काठमाडौंमै सँगै राख्दा बिताएका छोटो समयका तितामीठा ती दिनहरू सम्झनामै छन् । 

 

समय बितेसँगै परिस्थिति फेरियो । त्यसवेला गाउँ जाँदा आमालाई केही लैजान मन थियो, तर चाहेर पनि सामर्थ्य थिएन । अहिले केही लैजाने सामथ्र्य छ, तर आमा नै हुनुहुन्न । अहिले सम्झन्छु, आमा साथमै भएको भए उहाँलाई के–के आवश्यकता थियो, सोध्न मन थियो, तपाईंलाई के मन पर्छ किनिदिन्छु भन्न मन थियो । 

 

गाउँमा दसैँ, तिहारलगायतका ठूला पर्वहरूमा आमाको छत्रछायामा लुट्पुटिएको सम्झनाले आजभोलिका सबै चाडबाडमा सायद आमा नहुनुभएकाले होला गाउँघरको यादले पनि त्यति सताउँदैन । दसैँमा आमाको हातले पकाएका सेलरोटी र तिहारमा त्यही हातले बनाएको मीठा परिकार नचाखेको पनि वर्षौँ भइसक्यो ।

 

साँच्चै भन्ने हो, आमाविनाको घर, गाउँ र समाज नै पूरै फिक्का लागेको छ । अरू सबै चिज भएर पनि आमाविना के नपुगे के नपुगेजस्तो, मान्छेको स्वभाव नै अनौठो छ जुन कुरा आफूसँग छ, खासै वास्ता नहुने, तर नभएपछि एकदमै महत्व हुने । अहिले आमाको साथ पनि त्यस्तै भएको छ । आफ्नी आमा साथमा नहुँदाको पीडा केबल नहुनेहरूलाई मात्र थाहा हुन्छ । 

 

भनिन्छ नि, ‘आमालाई बिर्सेर ईश्वरलाई सम्झन सकिन्न ।’ त्यसो त आमाको अभावमा आमा भन्नेहरू धेरै थिए र छन् पनि । तर, आफ्नै जन्मदिने आमाको मायामा अरू सबै फिक्का छन् । आमाको निधनपश्चात् धेरैले आमा समानको माया–ममता दिने प्रयास त गरे होलान्, तर जन्मदिने आमाको जस्तो निःस्वार्थ माया कहाँ हुँदोरहेछ र ? तर, आमाको निधनपश्चात् केहीको हेपाहा र एक्ल्याउने प्रवृत्तिले भने कहिलेकसो पीडा नदिएको कहाँ हो र ? यद्यपि आमाको अभावमा पनि सम्पूर्ण आफन्तजन र शुभचिन्तकहरूले दिएको साथ, सहयोग, माया र स्नेहले भने जिन्दगीमा थप हौसला प्रदान गरेको महसुस हुन्छ । 

 

अमेरिकाका पूर्वराष्ट्रपति एवं विश्वप्रख्यात दार्शनिक अब्राहम लिंकनले ‘जो व्यक्तिसँग आफ्नी भगवान्जस्ती आमा छिन्, त्यो व्यक्ति नै धनी व्यक्ति हो’ भनेझैँ आज मलाई जन्मदिने आमा मेरो साथमा नहुँदा सबैजना भएर पनि भगवान् नै साथमा नभएको आभास र भविष्यमा जति नै धनी भए तापनि आमाविना त्यो अपूरो रहेको महसुस हुनेछ नै । आजको यस विशेष दिनमा मेरी स्वर्गीय आमासहित सम्पूर्ण आमाहरूप्रति नमन । 

 

[email protected]