
ढाल्नुपर्ने कुराहरू धेरै छन्
बाल्नुपर्ने कुराहरू पनि धेरै छन्
सोचिरहेको छु
कहाँबाट झोस्न सुरु गरौँ
यो आगो ?
आफ्नै कविता कृति ‘गाउँ हराएको साँझ’ का यी पंक्तिलाई झल्झली सम्झिरहेको छु आज । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्युदय भइसक्दा पनि हामीले बाल्नुपर्ने धेरै कुरा बोल्न र ढाल्नुपर्ने धेरै कुरा ढाल्न सकिरहेका छैनौँ । तथापि, गणतन्त्र स्थापनापश्चात् हामीले प्राप्त गरेका केही थान उपलब्धिमध्ये नेपालको नयाँ राष्ट्रगान पनि एक हो । यो नेपाली जनताको बलिदानले प्राप्त भएको हो ।
व्यक्तिको विरुदावली गाइएको पुरानो गानलाई ५ जेठ २०६३ मा हटाउने निर्णय गरिएपछि नयाँ गानका लागि मार्ग प्रशस्त भएको थियो । नयाँ राष्ट्रगानमा व्यापक जनसहभागिता गराउने उद्देश्यसाथ प्रतियोगिता नै गराएर छान्ने निर्णय भएको थियो । ०६७ मा संस्कृति मन्त्रालयले उत्कृष्ट गानहरूको संकलन निकालेको छ । यसमा उल्लेख भएअनुसार कुल १२७२ वटा रचना प्राप्त भएका थिए । तिनीहरूमध्ये म पनि एक प्रतियोगी थिएँ । सौभाग्यले भनौँ या दुर्भाग्यले दोस्रो स्थानसम्म पुग्न सफल भएको थिएँ । ०७६ को ७ वैशाखमा ‘झन् नयाँ’ मा प्रिय लेखकद्वय आहुति र आभासका राष्ट्रगानसम्बन्धी विचारोत्तेजक आलेख पढ्न पाउँदा धेरै खुसी लाग्यो । साथै मेरो अवचेतनमा दबिएर बसेका केही कुराहरू उजागर भएर आए ।
सम्झिन नचाहेको सम्झना
२०६३ को १४ मंसिर बिहीबार, साँझको समय । छिटोमा राति ११ बजे सुत्ने मेरो दैनिक कार्यतालिका त्यस दिन अलि भंग भएको थियो । कारण थियो बेफ्वाँकमा आएको ज्वरो । अलिकति जाउलो खाएर आठै बजे सुतेको थिएँ । करिब ९ बजेतिर हुनुपर्छ । रेडियो सगरमाथाबाट दीपकराज पाण्डेले फोन गरेर ‘बधाई छ’ भन्नु भयो । केको बधाई हो भन्ने मेसो नपाउँदा म ट्वाँ परेको थिएँ । ‘तपाईं राष्ट्रगान लेखनमा दोस्रो हुनुभएको छ ।’ यो वाक्य सुनेपछि एकाएक मेरो मुटुको चाल बढेको थियो । ज्वरो एकैछिनमा हराएको थियो ।
सिरक फालेर उठ्दा पसिना खलखली आएको थियो । उठौँ कि बसौँ या के गरौँ । छटपटी, चिटचिटाहट अनि बेचैनी । मलाई यस्तो मनोदशाले छोएको थियो कि मैले केही सोच्नै सकेको थिइनँ । यो दुखद खबर हो कि सुखद, त्यो पनि छुट्याउन सकेको थिइनँ । दीपकजी त्यतिखेर संगीत सरोवर कार्यक्रम चलाउनुहुन्थ्यो । थप्नुभयो, ‘तपाईंको गीत मलाई टिपाउनुहोस् त केके लेख्नुभएको थियो । यहाँ श्रोताहरूको जिज्ञासा मेटाउनुपर्ने भयो । म तपाईंलाई १० मिनेटपछि फोन गर्छु ।’ त्यसपछि मेरो नोकिया सेटको रिङटोन लगातार बजेको बज्यै गर्न थाल्यो ।
कसको रचना पहिलो भयो सोध्न पनि बिर्सेछु । त्यतिकैमा अर्का मित्र उद्धव कार्कीको फोन आयो । उहाँले भन्नुभयो, ‘व्याकुल माइला प्रथम भए तर उनको व्यापक विरोध भइरहेको छ । तपाईंको कस्तो थियो कुन्नि ?’ त्यसपछि इष्टमित्र, शुभचिन्तक र पत्रकार साथीहरूको फोन लगातार आइरह्यो । १० मिनेटपछि आउने भनेको दीपकजीको फोन आउनै पाएन सायद । एघार बजेसम्म फोन आइनै रह्यो । निद्रा त केको नजिक परोस् अब । मैले पुरानो डायरी पल्टाएर पुनः एकचोटि हेरेँ । एउटा मन आत्मगौरवले भरिएर आउँथ्यो । अर्को मनले खुच्चिङ भन्थ्यो । रुनु न हाँस्नुको अवस्था भनेको कस्तो हुन्छ, त्यो दिन मैले राम्ररी महसुस गर्ने मौका पाएको थिएँ ।
दुई नम्बरी लेखक
भूपि बाले यो हल्लै हल्लाको देश हो भने झैँ त्यसपछि हल्लाका सहस्र शृंखलाहरू सुरु भए । राष्ट्रगान छनोटको नीति, विधि र मापदण्डमाथि नै प्रश्नचिह्न खडा भए । कार्यदलका पदाधिकारी र कार्यविधिमाथि घोचपेचले भरिएका आलेखहरूले छापा भरिन थाले । कोही कोही मिडियाकर्मी साथीहरू, ‘तिमीलाई त दोस्रोमा झारिएको रे नि त’ सम्म भन्ने गर्थे । मेरो अन्तरआत्माले भन्थ्यो– त्यस्तो त होइन होला ।’ केही दिन होहल्ला र टीकाटिप्पणी भए । त्यसपछि मानिसले हामीलाई बिर्सिए । एक किसिमले भन्नुपर्दा प्रत्येक वर्ष आउने राष्ट्रिय कविता महोत्सवमा द्वितीय र तृतीय हुने व्यक्तिको जति पनि हाम्रो चर्चा भएन ।
व्याकुलजीका पक्ष र विपक्षमा जुहारी चल्न थाल्यो । कोही व्याकुलजीलाई खुइल्याउन व्यस्त हुन थाले । कोही देवत्वकरणमा लागे । हामी त टाढा कतै छोडियौँ । खासमा म आफू दोस्रो भएको आधिकारिक जानकारी कतैबाट आएको थिएन । कसलाई सोध्ने ? के भनेर सोध्ने ? त्यसमाथि मैले दुईवटा रचना बुझाएको थिएँ । कुन दोस्रो भएको हो रनभुल्लामा थिएँ । तपाईंको गान दिनुस् भन्ने मानिसलाई यहीचाहिँ हो भनेर ढुक्कसित दिन सक्ने अवस्थामा थिइनँ । यसैबीच ०६३ साल मंसिर २४ गते आइतबार कान्तिपुर राष्ट्रिय दैनिकमा दोस्रो र तेस्रो राष्ट्रगान प्रकाशित भए । दोस्रोमा मेरै नाम थियो भने तेस्रोमा रामप्रसादज्ञवाली सरको ।
त्यसपछि मलाई राष्ट्रगान छनोटबारे थप जानकारी पाउने उत्कण्ठा जागेर आयो । मैले कार्यदलका एक हस्तीलाई डराइडराई फोन गरेँ । सायद त्यस दिन उहाँ कुनै तनावमा हुनुहुन्थ्यो । अलि रुखो र करिब करिब हप्काउने शैलीमा भन्नुभयो, ‘राष्ट्रगानमा दोस्रो र तेस्रो भन्ने हुँदैन । हामीलाई सरकारले एउटा प्रथम छान्ने कार्यभार दिएको थियो । हामीले प्रथम छान्यौँ ।’ म एकछिन तिलमिल भएँ । मेरो बबुरो दिमागले मैसित प्रश्न ग-यो, ‘पहिलो हुने, दोस्रो तेस्रो नहुने यो कस्तो खेल हो ?’ मैले फेरि उहाँलाई सोधे, ‘उसो भए उत्कृष्ट दश कसरी छानियो त हजुर ? अनि पत्रिकाहरूले त मलाई दोस्रो भनेर छापेका छन् ।’ उहाँले मलाई विश्वस्त पार्दै भन्नुभयो, ‘तपाईं दोस्रो होइन, दुई नम्बरको हो ।’ फेरि मलाई एकचोटि रुनु न हाँस्नु भयो । म दोस्रो होइन, दुई नम्बरको रे । त्यस दिन फेरि मेरो मुटु निकैबेर चिसो भयो ।
०६७ मा संस्कृति मन्त्रालयले उत्कृष्ट गानहरूको संकलन निकालेको छ । यसमा उल्लेख भएअनुसार कुल १२७२ वटा रचना प्राप्त भएका थिए । तिनीहरूमध्ये म पनि एक प्रतियोगी थिएँ । सौभाग्यले भनौँ या दुर्भाग्यले दोस्रो स्थानसम्म पुग्न सफल भएको थिएँ । केही साथी भन्थे, ‘तिमीलाई त दोस्रोमा झारिएको रे नि त !’ मेरो अन्तरआत्माले भन्थ्यो– त्यस्तो त होइन होला ।’
अपमानको भारी
राष्ट्रगानको विरोधमा स्वरहरू उर्ली नै रहे । कसैले तुरुन्तै खारेज गरेर अर्को प्रक्रियामा जानुपर्छ भने । कसैले लेखकहरू छानेर सहलेखन गराउनुपर्छ सम्म भन्न भ्याए । पहिलो, दोस्रो र तेस्रो बीचमा भोटिङ गर्न जनताकोमा लानुपर्छ भन्ने आवाजसमेत उठ्यो । काग कराउँदै गर्छ पिना सुक्दै जान्छको शैलीमा मुद्दा बिस्तारै सेलाउँदै जान थाल्यो । केही समय राष्ट्रगानको वक्ररेखा ओरालो लाग्यो ।
मानिसबीचमा एउटा विश्वास अझै जिउँदै थियो । संगीत भरेपछि गाना राम्रो हुनेछ । अम्बर गुरुङ, रायन, रामकृष्ण दुवाल, न्ह्यु बज्राचार्यलाई छुट्टाछुट्टै संगीत भर्न दिइएको गाइँगुइँ पनि सुनिन थाल्यो । फेरि ०६४ को वैशाखमा अम्बर गुरुङ एक्लैलाई संगीत भर्ने जिम्मा दिइएको कुरा पनि बाहिर आयो । ०६४ को श्रावण १८ गते पत्रकार सम्मेलन गरी गणतान्त्रिक नेपालको पहिलो राष्ट्रगानलाई सार्वजनिक गरियो । राष्ट्रगान सार्वजनिक समारोहमा दुनियाँ अटायो, हामी अटाएनौँ ।
२७ असोज ०६४ मा राष्ट्रगानसित सम्बन्धित सबैलाई सम्मान गरिएर भोज भतेर गरिएको रहेछ । गायनमा र वाद्यवादनमा सहभागी १८–२० जनालाई समेत सम्मान गरिएको रहेछ । बेलुका टेलिभिजनले राष्ट्रगानका उत्कृष्ट दश लेखकलाई समेत सम्मान गरिएको समाचार सुनायो । थाहा पाउनेहरूले तिमी किन नगएको भनेर प्रश्न गर्न थाले । मसित केही जवाफ थिएन । ‘त्यतिखेर खबरै आएको थिएन अनि नगएको’ भन्न पनि अप्ठ्यारो लाग्यो ।
उत्कृष्ट दशमा परेका गीतलाई संगीत भरेर एल्बम निकाल्ने कुरा भएको थियो । आज, भोलि भन्दाभन्दै त्यो पनि त्यत्तिकै गुपचुप भयो । करिब एक महिना समय बितिसकेपछि संस्कृति मन्त्रालयका तत्कालीन सह–सचिव जलकृष्ण श्रेष्ठले तपाईंको सम्मानपत्र मन्त्रालयमा छ लिन आउनुस् भनेर फोन गरे । त्यो फोन मलाई जिस्काउन गरिएजस्तो लाग्यो । त्यस्तोखाले सम्मान खासमा सम्मानै होइन । अपमान हो ।
‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली’ प्रति मेरो असीम श्रद्धा थियो, अझै छ । तर, राष्ट्रगानसित सम्बन्धित भएर आउने कुरामा हामीलाई धकेल्नै खोजियो । ठीकै छ, म दोस्रो नै सही । अझ दुई नम्बरी नै सही । तर, संसारको कुनै पनि प्रतियोगितामा पहिलो नम्बर र दोस्रो नम्बरबीच यति ठूलो दूरी र खाडल सिर्जना गरिँदैन । नेपालकै ताजा उदाहरण हेरौँ । बाह्रखरी अनलाइनले आयोजना गरेको कथा प्रतियोगितामा उत्कृष्ट २५ पच्चीससम्मलाई हालसालै देखाइएको आदरभाव मननयोग्य थियो ।
राष्ट्रगान प्रतियोगितामा दोस्रो भएको सुनेपछि एकाएक मेरो मुटुको चाल बढेको थियो । ज्वरो एकैछिनमा हराएको थियो । सिरक फालेर उठ्दा पसिना खलखली आएको थियो । उठौँ कि बसौँ या के गरौँ ! छटपटी, चिटचिटाहट अनि बेचैनी !
ताज्जुप लागेका कुरा
संसारका अरू मुलुकका राष्ट्रगानलाई अध्ययन गर्ने हो भने सम्बन्धित मुलुकलाई विश्वमा चिनाउने कुराप्रति गर्व गर्दै ती कुराहरूलाई समेट्ने प्रयास गरिएको पाइन्छ । मलाई के लागेको थियो भने नेपाललाई संसारमा चिनाउने कुनै दुईवटा मात्रै कुरा उल्लेख गर्नु प-यो भने सगरमाथा र बुद्धको नाम नलिई हुँदैन । तर, कार्यदलका एक सदस्यका अनुसार मेरो त्यही बुद्ध शब्दलाई लिएर बहस भएको थियो रे ।
एकजना संगीतकार मित्रले तिनताका मलाई भन्नुभयो, ‘तपाईंको गानमा प्रयुक्त ‘बुद्ध’ शब्दलाई संशोधन गर्ने हो भने म व्यक्तिगततवरबाट संगीत भरेर रेकर्ड गराउने व्यवस्था मिलाउँछु ।’ उहाँको यो अभिव्यक्ति मलाई सिस्नाको आँठोले मुटुमा हानेको जस्तो भयो । हो, मुलुकमा धर्मनिरपेक्षता आएको छ । कुनै एउटा धर्मको पक्षपोषण गर्नुहुँदैन । मेरा विचारमा बुद्ध भनेको कुनै धर्म मात्रै होइन, यो सारा नेपालीको ढुकढुकी हो ।
लाइट अफ एसिया भनेर सारा दुनियाँले अदव गर्छ । कसैले बुद्ध नेपालमा जन्मिएको होइन भन्यो भने हामीलाई रिस उठ्छ । हामी आन्दोलन गर्छौँ । लुम्बिनीमा प्रत्येक पश्चिमा मुलुकले गुम्बा, स्तूपा र बुद्धमूर्ति निर्माण गरेको देख्दा हामी गर्व गछौँ । सय रुपैयाँको नोटमा बुद्ध नेपालमा जन्मिएका हुन् भनेर लेख्दा हामी नाक फुलाउँछौँ । बुद्ध नेपालमा जन्मिएका हुन् भनेर प्रमाणित गर्न विभिन्न अभियान चलाउछौँ । राष्ट्रगानमा बुद्ध शब्द उल्लेख गर्दाचाहिँ तर्सिन्छौँ । यो कस्तो दोहोरो मापदण्ड हो हाम्रो ?
पुछारमा,
बिर्सिसकेका केही कुरा ‘झन् नयाँ’ ले स्मरण गरायो । हामीले एकथान राष्ट्रगान पाइसकेका छौँ । ५० शब्दभित्रको एउटा रचनामा कसै गरे पनि सबै कुरा अटाउन सकिन्न । र, सबैलाई चित्त बुझाउन पनि सकिन्न । जिन्दगीमा अरू गीत, कविता र साहित्य लेख्ने अनेक अवसर आउन सक्छन् । राष्ट्रगान लेख्न पाउने अवसर भने हतपती आउँदैन । ठूलै क्रान्ति, उथलपुथल या समयको जबरजस्त माग नभई राष्ट्रगान लेख्न पाइँदैन ।
राष्ट्रगान कसैको सनक, लहड र खुसीका लागि फेरिने कुरा पनि होइन । यो कसैले धारण गरेको वस्त्र पनि होइन, जसलाई मन लागेको वेलामा फुकालेर अर्को लगाउन पाइयोस् । ‘सयौँ थुंगा फूलका हामी’ अब नेपाली जनबोलीमा भिजिसकेको छ । यसको लोकप्रियता पनि बढ्दै गएको छ । भोलि युगले ठूलै फड्को मा-यो या उथलपुथल नै भयो भने फेरि अर्को लेखौँला । तर, मलाई यस्तो लाग्दैन कि यो लेख्ने अवसर पटकपटक आइरहन्छ ।