• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
आकांक्षा झा
२०७९ बैशाख २४ शनिबार ०७:०५:००
समाज

रोबोट होइन, मान्छे बन्ने शिक्षा देऊ

२०७९ बैशाख २४ शनिबार ०७:०५:००
आकांक्षा झा

हामी २१औँ शताब्दीको विकसित भनिएको युगमा बाँचिरहेका छौँ । अहिलेको मानवलाई ‘मेसिनरी’ मानव जाति भन्न रुचाउँछु । मेसिनरी यो अर्थमा कि हामी मेसिनजस्तै द्रुत, दुरुस्त र पर्फेक्ट तरिकाले काम गर्न खोजिरहेका छौँ । हामी भावनालाई छाडेर मस्तिष्कले भनेअनुरूपको काम मात्र गर्न रुचाउन लागेका छौँ । हाम्रा लागि आफ्नो रुचिका विषय, भावना, इच्छा, नाता सम्बन्ध यी सबैथोक परपर भागिरहेका छन् । किनभने, हामीले हाम्रो आर्थिक फाइदा, मेसिनरी जीवनशैली, भौतिकवादी सुखलाई मात्र प्राथमिकता दिइरहेका छौँ । आफ्नो रुचि, चाहना, बौद्धिकताका विषयलाई छाडेर मात्र आर्थिक रूपले सबल हुने कार्यमा आफनो मस्तिष्क, दक्षता तथा समयको लगानी गरिरहेका छौँ, जसले हामीलाई भौतिक सुख त दिइरहेको छ, तर आत्मिक सुख, मानसिक शान्ति, पर्यावरणीय सन्तुष्टि कदापि महसुस गर्न दिइरहेको छैन । हामी प्रतिस्पर्धा, नेम र फेमको दुनियाँमा बाँचिरहेका छौँ र यहीँ सबथोक हाम्रा लागि महत्वपूर्ण बनिरहेको छ । अब यी सबै विषयलाई एकछिन छेउमा राखेर सोचौँ । यस्ता भौतिकवादी बानी–व्यवहार, कार्यशैली र जीवनस्तरको विकासक्रम हुनुमा महत्वपूर्ण भूमिका कसको छ ?


यो सबैको जरा भनेकै हाम्रो शैक्षिक प्रणाली र प्रतिस्पर्धात्मक सामाजिक जीवनशैली हो । तपाईंले एक सयजना अभिभावकमा कतिजनाले आफ्ना छोराछोरीलाई कलाकार, लेखक, नाटककार बन्नुपर्छ भनेर सल्लाह दिएको देख्नुभएको छ ? पक्कै पनि त्यस्तो सिर्जनात्मक क्षेत्रतिर लाग्नुपर्छ भन्ने अभिभावकको संख्या विरलै पाइन्छ । यसो हुनुको एउटै कारण आर्टिस्ट, राइटरजस्ता व्यक्तिले सजिलै पैसा कमाउन नसक्नु, यी क्षेत्रमा लागेका व्यक्तिलाई सम्मानको दृष्टिले नहेरी हेयको नजरले मूल्यांकन गर्नु पनि हो । त्यसैले अभिभावकहरूले सकेसम्म आफ्ना छोराछोरी डाक्टर, इन्जिनियर, पाइलट, वकिलजस्ता उच्च मानिएका विषय जसरी पनि पढून् भन्ने चाहन्छन् । त्यहीँ अर्कोतर्फ यस्ता अभिभावक र विद्यार्थी पनि छन् जसले चाहेर पनि स्रोत–साधन सहयोगको अभावमा त्यस्ता विषय पढ्न पाउँदैनन् । आफ्नो रुचिभन्दा परका विषय पढ्न बाध्य हुन्छन् । परिणामस्वरूप उनीहरूको व्यक्तिगत सिर्जनशीलताको प्रस्फुटन नै हुन नपाई विद्यालय तथा विश्वविद्यालयले सर्टिफिकेटमा सफल जनशक्तिको स्टाम्प लगाइदिन्छ ।


हाम्रो क्यालकुलेटर र कम्प्युटरजस्तो जीवनशैलीको जरा भनेकै शैक्षिक प्रणाली र सामाजिक प्रतिस्पर्धात्मक जीवनशैली हो । हामी प्रतिस्पर्धामा होमिन र उच्च देखिन हरेक किसिमको दौडमा सहभागी हुन्छौँ । तर, दौडमा सहभागी भएर प्राप्त हुने उपाधिभन्दा आफ्नो सिर्जनाको धावनमार्गमा बिस्तार हिँडेरै प्राप्त हुने सपना र आत्माको सन्तुष्टि अरूसँग तुलना हुन सक्दैन । तर, हामी बस्ने समाज र हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई आफ्नो रुचि, चाहना र सपना केही बुझ्दैन । विद्यालय र विश्वविद्यालयले सिर्फ योग्यताको सर्टिफिकेट थमाइदिन्छ । 


हाम्रो शिक्षालयले कला, संगीत, लेखनजस्ता सिर्जनशील क्षेत्र पनि महत्वपूर्ण छन् भनेर बुझाउन सकेको छैन जसले गर्दा सिर्जनशील विधामा विद्यार्थी अगाडि बढ्न डराइरहेका हुन्छन् । संगीत शिक्षा, पत्रकारिताजस्ता क्षेत्रलाई हाम्रो समाजले स्तरहीन शिक्षाको रूपमा मूल्यांकन गर्छ । जसले गर्दा विद्यार्थीहरू निरुत्साहित हुन्छन् । यसैको फाइदा उठाउँदै आर्थिक रूपले सम्पन्न अभिभावक आफ्ना बालबच्चालाई दबाब दिएर भए पनि समाजको नजरमा विशेष देखिने डाक्टर, इन्जिनियर, पाइलट र वकिलजस्ता विषय पढ्न बाध्य पार्छन् । यसको असर विद्यार्थीलाई आफू के बन्नु छ, के पढ्नु छ भन्ने नै थाहा हुँदैन र यहीँबाट सुरु हुन्छ सिर्जनशील शिक्षाको अवसान ।


हाम्रो अस्तव्यस्त भौतिकवादी जीवनशैली र व्यापारिक शैक्षिक प्रणालीले पैसा कमाउनु मात्रै ठूलो कुरा हो भन्ने सिकाइरहेको छ । तर, शिक्षाको साथसाथै सिर्जनशीलताको विकास गर्नु, मानवीयताको रक्षा गर्नु र हरेक सामाजिक वर्गलाई सम्मानको दृष्टिकोणले व्यवहार गर्न सिकाउनु पनि शिक्षाको अर्को महत्वपूर्ण पाटो हो भनेर सिकाउन अझैसम्म हाम्रो शिक्षाले सकेको छैन । यही कारणले कवि बन्ने मान्छे इन्जिनियर बन्दछन्, इन्जिनियर बन्ने मान्छे डाक्टर र डाक्टर बने मान्छे अरू नै केही बन्छन् । अहिलेको नयाँ पुस्ताले आफू के बन्ने भन्ने नै बिर्सिसकेका छन् । यसैको प्रभाव अहिलेको पुस्ता अभिभावकको करबलमा सिर्जनशील नबनी किताबी किरा मात्र बन्न पुग्छन् । 


अहिलेको शिक्षाले हामीलाई नैतिकवान, प्रतिभावान र सक्षम व्यक्ति बनाउनुको साटो भौतिकवादी तामझाम अपनाउन मात्रै सिकाउँछ । हाम्रा शिक्षानीतिमा ‘शिक्षाको उद्देश्य व्यक्तिको सर्वांगीण विकासमा गराउन टेवा पुर्‍याउनु हो’ भनेर उल्लेख त गरिएको छ, तर वास्तविकता ठीक उल्टो छ । शिक्षाको उद्देश्य केही थान सर्टिफिकेट थुपार्नु र पैसा कमाउनमा मात्रै सीमित हुन लागिसकेको छ । आजको शिक्षाले हामीलाई मानवीयता के हो ? हामी को हौँ ? प्रकृति के हो ? मानव र प्रकृतिबीचको सम्बन्ध कस्तो हुनुपर्ने ? यस्ता कुरा केही पनि सिकाउँदैन । अहिलेको शिक्षाले सिर्जनशीलताविना कुनै पनि नयाँ खोज र आविष्कार हुन सक्दैन भन्ने कुरा पूर्णतया बिर्सिसकेको छ । विद्यार्थीलाई खुला स्वतन्त्र रूपमा केही बुझ्न र मनन गर्न दिनुको सट्टा केही पूर्वनिश्चित पाठ्यांश तथा पाठ्यक्रमको दाम्लोले बाँधी सुगा रटानको तरिकाबाट अरूको सिद्धान्त घोक्न मात्रै सिकाउँछ । शिक्षाको नाममा विद्यार्थीको शिरमाथि अनावश्यक भारी मात्रै लादिरहेको छ । त्यति मात्रै नभएर समयानुसार परिमार्जन नगरी १५ वर्षसम्म एउटै विषय पाठ्यक्रममा राखी यसैका आधारमा परीक्षासमेत दिन बाध्य पारिरहेको छ । ६–६ महिनामा शिक्षामन्त्री फेरबदल हुने देशमा दशकौँ बितिसक्दा पनि पाठ्यक्रम फेरबदल हुँदैन । यो कस्तो शिक्षानीति हो ?

किताबको भारीबाहेक हामीलाई चाहिएको छ, रंगसँग सम्बन्ध बनाउन प्रेरित गर्ने शिक्षा, शब्दमा समाज चित्रण गर्न सक्ने शिक्षा, भावनाको भारी बिसाउन सघाउने शिक्षा, आफूलाई चिनाउन सक्ने शिक्षा, पैसा कमाउने रोबोट होइन, असल मान्छे बनाउन सक्ने शिक्षा ।


वर्षौँ पहिले तयार पारिएको पाठ्यक्रम अहिलेको सन्दर्भमा उपयोगी छ छैन भन्ने विषयमा कसैले सोधखोज नगर्नु, यस्ता विषयले विद्यार्थीहरूलाई भोलिका दिनमा कति असर पर्छ भन्ने नसोच्नु, सर्टिफिकेट मात्रै वितरण गरिरहनुको के अर्थ ? हामीले हेरिरहेका छौँ यी मुद्दाहरू एकदमै महत्वपूर्ण छन्, तर यसलाई सम्बोधन गर्न कसैले ध्यान दिइरहेका छैनन् । मात्र राम्रो नम्बर र आकर्षक आम्दानीको पछाडि भाग्ने र भगाउने काम मात्रै भइरहेको छ । यस अर्थमा हाम्रो शिक्षा आफूलाई चिनाउन नसक्ने शिक्षाको रूपमा स्थापित हुँदै छ । त्यसैले अब यस्ता मुद्दालाई सम्बोधन गर्नका लागि हामीले शिक्षासँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरूलाई झस्काउन जरुरी छ । हामीले आवाज उठाएनौँ भने हाम्रो शिक्षा प्रणालीले शिक्षित व्यक्ति होइन, मेसिनरी व्यक्तिलाई मात्रै उत्पादन गरिररहनेछ । 
अहिलेको युवा पुस्तालाई पनि पुरानै शैलीको शिक्षा प्रदान गरिरह्यौँ भने समाजमा मानवता, प्रकृति, सभ्यता र संस्कृति नबुझ्ने मान्छे उत्पादन हुनेछ र त्यो शिक्षा पूर्णतया काम नलाग्ने हुनेछ । हामीलाई सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक र नैतिक रूपले क्रान्तिको विगुल फुक्ने साहस प्रदान गर्ने शिक्षाको खाँचो छ । हामीलाई एउटा ठोस र सफल शिक्षानीतिको खाँचो छ ।


दार्शनिक सुकरातले भनेका छन्,‘जन्मजात शक्तिको विकास गर्नु नै शिक्षा हो ।’ अर्थात् व्यक्तिमा रहेको अन्तर्निहित गुणलाई मजबुत बनाउनु, विकसित गर्नु नै शिक्षाको काम हो । तसर्थ, जबर्जस्ती टाउकोमा भारी बोकाउने शिक्षाभन्दा अन्तर्निहित शिक्षाका स्वरूपलाई प्रकाशमा ल्याउनु महत्वपूर्ण हुन्छ । सिर्जनाविनाको शिक्षा प्राणविmनाको प्राणीजस्तो हुने भएकाले बालबालिका तथा युवा पुस्तामा रहेको आन्तरिक ज्ञान क्षमतालाई बाहिर निकाल्न सक्नु असल शिक्षाको गुण हो भनेर शिक्षाविद् फ्रावेलले पनि भनेका छन् । तर, अपसोच हामी रटन्ते शिक्षाको भरमा देशमा गाडी कुदाउन खोजिरहेका छौँ । 


हामीमध्ये धेरैजनाले बलिउड मुभी ‘थ्री इडियट्स’ हेरेका छौँ होला । उक्त मुभीको एउटा गीत एकदमै सान्दर्भिक छ, ‘९९ प्रतिशत मार्कस लाओगे तो घडी वर्ना ।’ यहाँ पनि यो गीतले के देखाउन खोजेको छ भने हामी बालबालिकाहरूलाई भनौँ वा विद्यार्थीहरूलाई, विभिन्न डर त्रास र लोभको भरमा उच्च नम्बर ल्याउन बाध्य पारिन्छ, जुन सरासर बालबालिकाको सिर्जनामाथि लगाइएको अंकुश हो । यसले उनीहरूलाई अगाडि बढ्न दिइरहेको हुँदैन । त्यसैले यस किसिमको शैक्षिक रीतिरिवाजको अन्त्य गर्न एकदमै जरुरी छ ।


अमेरिकी शिक्षाविद् तथा शैक्षिक सिद्धान्तका प्रतिपादक जोन हार्टले पनि विभिन्न नीति–नियममा बाँधिएको संस्थाले, स्कुलले कसरी बालबालिकाको सिर्जनामाथि बाधा पु¥याउँछ भन्नेबारे ‘स्कुल इज ब्याड फर चिल्ड्रेन’ शीर्षकको एउटा निबन्ध लेखेका थिए । उक्त निबन्ध सन् १९६९ मा अमेरिकाको ‘द सर्ट–डे इभिनिङ’ नाम गरेको पत्रिकामा प्रकाशित गरिएको थियो । जसमा स्कुले शिक्षा वा जबर्जस्ती दिइने शिक्षाले बालमस्तिष्कमा असर पु¥याई कसरी उनीहरूको सिर्जनशीलता नष्ट गरिरहेको छ भन्ने कुरा उल्लेख गरेका छन् ।


त्यसैले किताबको भारीबाहेक हामीलाई चाहिएको छ, रंगसँग सम्बन्ध बनाउन प्रेरित गर्ने शिक्षा, शब्दमा समाज चित्रण गर्न सक्ने शिक्षा, भावनाको भारी बिसाउन सघाउने शिक्षा, आफूलाई चिनाउन सक्ने शिक्षा, आफ्नो अस्तित्व स्थापित गराउन सक्ने शिक्षा र पैसा कमाउने रोबोट होइन, असल मान्छे बनाउन सक्ने शिक्षा ।