• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सुजित महत
२०७९ बैशाख ३१ शनिबार ०७:०७:००
सम्झना

बुथ कैप्चर

२०७९ बैशाख ३१ शनिबार ०७:०७:००
सुजित महत

 

हिजो हिंसामार्फत भोटर प्रभावित गरिन्थ्यो भने आज पैसामार्फत प्रभावित गर्ने चलन संस्थागत हुँदै छ 

 

डिस्क्लेमर : मधेसको कुरा भएकाले कैप्चर (क्याप्चर–कब्जा), कन्डिडेट (क्यान्डिडेट/उम्मेदवार) आदि जनजिब्रोका केही शब्द टपक्क टिपिएका छन् 

 

०४३को वैशाख महिना, गते पत्ता लाउन सकिएन । साबिक नेत्रगन्ज गाउँपञ्चायत– ७ (हाल लालबन्दी नगरपालिका–१) स्थित निम्नमाध्यमिक स्कुल(जहाँ म कक्षा २ सम्म पढेको थिएँ)मा मतदान भइरहेको छ । मतदानको समय उत्तरार्धतिर पुग्दा पनि लाइन त लामै छ । लाठी/उठी लिएका ट्रकभरि मान्छे ‘पन्जा छाप/पन्जा छाप’ चिच्याउँदै बुथमा आइपुग्छन् । ट्रकमा झिंजाली भनेर चिनिने केटाहरू पनि छन्, जो सोही पञ्चायतको १ र २ नम्बर वडावासी हुन् । जत्था बाक्सा (मतपेटिका)तिर अघि बढ्छ । हवाई फायरिङ हुन्छ– डुडुङ–डुडुङ । बुथमै रहेका राजुदाइ (प्याकुरेल) बाक्सानेर पुग्छन्, टाउकोमा लाएको ‘काउब्वाय क्याप’ हावामा फाल्छन्, जुन फनन्न घुम्दै उनकै हातमा आइपुग्छ । भोट हाल्ने पालो कुरेर लाइनमै उभिएका मतदाता तितरबितर हुन्छन्, हामी रमितेको पनि खेततिर भागाभाग हुन्छ । सासै रोकेर खेतैखेत भागेकाले बुथ कैप्चरको डिटेल थाहा भएन । त्यसै बखत अलि उमेर पुगिसकेका कोही प्रत्यक्षदर्शी भेटिन्छन् कि भनेर गाउँतिर सम्पर्क गरे पनि फेला परेनन् ।

 

मामा रामजीबाबु थापा उम्मेदवार भएकाले बाल्यावस्थामै चुनावी रन्कोले छोएको थियो । गाउँ–बजारमा अरू उम्मेदवारका पोस्टर छ्याप्छ्याप्ती भइसक्ता पनि मामाको पोस्टर नदेखिँदा मन अधैर्य हुन्थ्यो । आमालाई मामाको पोस्टर किन आएन भन्दै सोध्थेँ पनि । ढिलो आयो कडा आयो, अरूका पोस्टरलाई माथ ख्वाउने पोस्टर टाँसिन थाले । आकारमा अलि ठूलो र पोस्टरमा मामा स्वयं प्रकट भइ जम्ल्याहा हात जोडेको भान पर्ने श्यामश्वेत पोस्टर थियो । फुरुंग परेर घरघरै टाँसियो पनि । जुन पन्जा छापका लागि चुनावका दिन बुथ कैप्चर गर्ने जत्था आएको थियो, त्यो चुनाव चिह्न मोहनविक्रम अधिकारीको थियो । दक्षिणको मधेसी वस्ती सिसौटियाका पहाडिया जमिन्दार अधिकारी चुनावका वेला अर्कै कारणले चर्चित थिए, चुनाव खर्चका लागि काठमाडौं पुतलीसडकको घर २२ लाखमा बेचेका कारण । उनको खर्चिलो प्रचारमा त्यो प्रतिबिम्बित पनि भइरहेको थियो । चुनावको केहीपछि बर्खेे बिदामा काठमाडौं आउँदा पुतलीसडकमै ठूलोबुबाको घरनेर रहेको चुनाव खर्चका लागि बेचिएको घर देख्न पाइएको थियो । शंकरदेव क्याम्पसतिर लाग्ने मोडैनेर मेनरोडमा भयंकर घर थियो, त्यो ।

 

पुतलीसडकको घर, खर्चिलो चुनावका कारण मोहनविक्रम र पन्जा छाप ‘टक अफ द गाउँ’ थियो नै, अप्रत्यक्ष चुनावमार्फत अघि नै राष्ट्रिय पञ्चायतमा पुगिसकेका पुराना राजनीतिज्ञ रामजीबाबु पनि चर्चाबाहिर थिएनन् । ‘बूढाले यसपालि जित्छन्’ गाउँघरमा सुनिन्थ्यो । राष्ट्रिय पञ्चायतका लागि चुनावी मैदानमा उत्रिने तयारी गरिरहेका तत्कालीन जिल्ला पञ्चायत सभापति रामनारायण सिंह जेलमा थुनिएपछि उम्मेदवारी दिएकी उनकै श्रीमती लक्ष्मी सिंहको चुनावी चर्चा खुब थियो, चौतारो–चियादोकानतिर । रामनारायणलाई फसाइएकोमा स्थानीय एकमत थिए, लक्ष्मीको पक्षमा सहानुभूतिको लहर सुनिन्थ्यो । हालै नेपाल पुलिसबाट रिटायर भएका सिंहका छोरा मुकेशका अनुसार त्योवेला गजेन्द्रनारायण सिंहको सद्भावना परिषद् (त्यही सद्भावना परिषद्लाई सिंहले ०४६ को परिवर्तनपछि सद्भावना पार्टी बनाए)को नाममा मधेसीमाथि भेदभाव भएको उल्लिखित पर्चा छरिएको थियो, सदरमुकाम मलंगवालगायत ठाउँमा । पर्चा छर्न रामनारायणकै संलग्नता भएको प्रहरी प्रतिवेदन बनाएर साम्प्रदायिक द्वेष फैलाएको आरोपमा शान्ति सुरक्षा कानुनअन्तर्गत पक्राउ गरी गौर जेलमा थुनिएको थियो, बहालवाला जिल्ला पञ्चायत सभापतिलाई । बखानसिंह गुरुङको समूहमा पञ्चायत प्रवेश गरेका र त्यतिवेला सूर्यबहादुर थापाको समूहमा रहेका सिंह पञ्चहरूकै आपसी गुटबन्दी र एक–अर्कालाई सिध्याउने खेलको सिकार भएको ठान्छन्, छोरा मुकेश । ‘उहाँको झुकाव सद्भावनातिर भएको भए त पञ्चायतको अवसानपछि गजेन्द्रनारायणले घरमै बारम्बार आएर अनुरोध गर्दा सद्भावनामै जानुहुन्थ्यो नि,’ भन्छन्, ‘बुबा मान्नुभएन, सुर्यबहादुर नेतृत्वको राप्रपा ज्वाइन गर्नुभयो ।’ चुनाव लड्नबाट वञ्चित गर्नकै लागि अनाहकमा जेलमा कोचिएकामा मर्माहत शुभचिन्तकहरूले जोडबल गरेर लक्ष्मीलाई चुनावमा उतारेका थिए । ‘घुम्टोबाट ननिस्किएकी परम्परागत राजपुत आमा निरक्षर हुनुहुन्थ्यो,’ मुकेश सम्झिन्छन् ।

 

नरेन्द्रराज पौडेलले ‘सिडिओका १७ वर्ष’मा लेखेअनुसार प्रजातन्त्र पुनर्स्थापनापछि सल्यानको सिडिओ भएर पुग्दा सिडिओको बेडरुममै दलिन काटेर भ्वाङ पारी पुनश्च टालेको देखियो । कार्यालय सहयोगी रतिरामलाई सोध्दा पञ्चायतको चुनावमा बाक्सा साटफेर गर्न त्यो भ्वाङ पारिएको रहेछ ।

 

००७ सालको परिवर्तनपश्चात् जिल्लाको राजनीतिमा वर्चस्व जमाएको जमिन्दार परिवारका रामचन्द्र राय त ०३८ सालमै पनि जितेका, चर्चाबाहिर हुने कुरै थिएन । कुनैवेला काठमाडौंमा चुनावैपिच्छे उम्मेदवारी दिने लक्ष्मणसिंह खड्काजस्तै एकाध उम्मेदवारपनि ‘टक अफ द गाउँ’ हुन्थे । ०३८ सालको चुनावका कन्डिडेट दिलचन हजारीको नारा ‘दिलचन हजारी, पैदल सवारी’ जनजिब्रोमै थियो । साइकलमा मकैको झुत्तो झुण्डाएर घोगा छापको पर्चा बाँड्दै हिंड्ने अकलु रायचाहिँ सायद त्यही चुनावमा थपिएका थिए । धनुषाको दुवै सिट परिवारकै पोल्टामा पार्न हेमबहादुर मल्ल श्रीमती शारदासहित मैदानमा थिए, नजिकै सर्लाहीसम्म चर्चा नहुने कुरै थिएन । मल्ल र मदन गिरी डकैत जत्थाले सुसज्जित भई बस्छन् भनेर कुरा हुन्थ्यो । काठमाडौंमा पद्मरत्न तुलाधर जित्दै छन् भन्ने खबर राजमार्ग छेउछाउका पहाडिया बस्तीसम्मै पुगिसकेको थियो ।

 

चुनाव सकिएपछि भोटगन्तीमै हेराफेरी भएका अपुष्ट खबरहरू चियापसल, चौतारामा भइरहेका हुन्थे । लक्ष्मी सिंहप्रति सहानुभूति भोटमै परिणत भयो । त्यतिवेलासम्म मधेसमा जातका आधारमा मतदान उतिसारो हुँदैनथ्यो, नत्र सहानुभूतिका बाबजुद अल्पसंख्यक राजपुत चुनाव जित्ने कल्पना गरिँदैन । त्यतिवेला भख्खरै कलेज पढ्न थालेका मुकेशका अनुसार दरबारबाटै सरकारी उम्मेदवारी तोकिने यो समयमा राय र मोहनविक्रम नै सरकारी कन्डिडेट थिए । सरकारी उम्मेदवारलाई नै जिताउन भोट काउन्टिङमै हेराफेरी नभएको पनि हैन । ‘तर आमाको पक्षमा जनलहर यस्तो थियो कि तिनले केही गर्न नसक्ने अवस्था बन्यो,’ उनी सम्झिन्छन् । पञ्चायतको ०३८ र ०४३ मा भएको राष्ट्रिय पञ्चायतको चुनावमा तराईका अधिकांश जिल्लाबाट बढी भोट ल्याउने दुईजना विजयी हुन्थे । सिंहका साथै रामचन्द्र राय विजयी भए । रामजीबावुले एक वर्षपछि रायकै सहोदर भाई नागेन्द्रलाई पराजित गरी जिल्ला सभापति भए, पञ्चायतको अन्त्यसँगै राजनीतिक जीवन अन्त्य गरे ।

 

नरेन्द्रराज पौडेलले ‘सिडिओका १७ वर्ष’मा लेखेअनुसार प्रजातन्त्र पुनर्स्थापनापछि सल्यानको सिडिओ भएर पुग्दा सिडिओको बेडरुममै दलिन काटेर भ्वाङ पारी पुनश्चः टालेको देखियो । कार्यालय सहयोगी रतिरामलाई सोध्दा पञ्चायतको चुनावमा बाक्सा साटफेर गर्न त्यो भ्वाङ पारिएको रहेछ । बेडरुमको सोझै तलको कोठामा बाक्सा राखेर कन्डिडेट र तिनका प्रतिनिधि ताल्चा लगाई हिँडेपछि त्यो भ्वाङ पारिएको रहेछ । सिडिओको आदेशानुसार तिनै रतिरामले मध्यरातमा बाक्सा साटफेर गरेका रहेछन् । निश्चित संख्या र निश्चित बुथका बाकस कोठाभित्र राख्ने अनि सोही बुथका उत्ति नै बाकस त्यही भ्वाङबाट झिक्ने काम सावधानीपूर्वक भएछ । भोलिपल्ट सुरु भएको भोटगन्तीमा सरकारी कन्डिडेट अत्यधिक भोटले जिते । सरकारी कन्डिडेटचाहिँ चुनावपछि प्रधानमन्त्री बन्नुका साथै प्रजातन्त्रकालमा एकथरीले राष्ट्रवादी नेताका रूपमा सम्झिने मरिचमान सिंह ।

 

बुथ कैप्चरिङको कुरा गर्नु अनि रौतहटको कुरा नगर्नु– यो त हुनैसक्दैन । सर्लाहीमा त्यही बेल्ट बुथ कैप्चरिङका साथै अरू अपराधका लागि कुख्यात थिए, छन् पनि जुन पहिला रौतहटमै रहेका अनि पछि बागमती पूर्व सबै सर्लाही, पश्चिम रौतहट भएपछि सर्लाहीले पाएका गाउँ हुन् । रौतहटकै मूल वासिन्दा पत्रकार किरण नेपाल सोसल मिडियामै वेलावेला ‘रौतहटका ढेला बोलेला’ भन्ने गर्छन्, मतलब रौतहटमा त माटोका डल्ला पनि बोल्छ । यसको एउटा कारण जिल्लाका दबंग नेताहरूले गर्ने बुथ कैप्चर पनि एक हो । हालै मात्र सर्वोच्च अदालतद्वारा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरिएका निलम्बित सांसद मोहम्मद आफताब आलम जुन जघन्य अपराधमा जेलमा छन्, त्यसको जरिया बुथ कैप्चरिङमै पुग्छ । कैप्चरिङको तयारीका लागि बम बनाउने क्रममा विस्फोट भई उक्त घटना भएको थियो । उनीमाथि फिलहाल दुईजनाको ज्यान गएकोमा मुद्दा हो । तर, विस्फोटमा १०/१२ जनाकै मृत्यु भएको अडकलबाजी हुनेगर्छ । बाँकी मृतक भारतीय भएकाले सोधीखोजी नै नभएको ठानिन्छ । घटनापछि मृतशरीरलाई इँटा पोल्न दन्किरहेको दावानलमा जलाउने, इँटाभट्टा नै पुरेर त्यहाँ खेतीबारी सुरु गर्नेजस्ता घटना भएको त्यसको जडमा बुथ कैप्चरिङ नै थियो ।

 

रौतहटको बुथ कैप्चरिङ र यस्तो जघन्य अपराध खोतल्दै गए उही पञ्चायतकालमै पुगिन्छ । पञ्चायतमा जिल्लाको राजनीति जमिन्दारद्वय गुन्जेश्वरीप्रसाद सिंह र द्रोणशमशेर राणाको वरपर घुम्थ्यो । आ–आफ्नो प्रभाव क्षेत्रमा बुथ कैप्चर भइरहन्थ्यो । सिंहकै खलकका प्रशान्त सिंहले एकचोटी ‘बाल्यकालमा चुनावका वेला घरमै बम बनाएको देखिन्थ्यो नि ।’ विश्लेषक सिके लालका अनुसार मधेसमा जमिन्दारहरू जति बढी उति नै बढी बुथ कैप्चरिङ हुन्थ्यो । सप्तरीमा राजपुत, यादव जमिन्दार, रौतहटमा राजपुत, राणा जमिन्दार, सिराहामा यादव जमिन्दार– कैप्चरिङ पनि जोडकै हुन्थ्यो ।

 

गोर्खा परिषद् हुँदै कांग्रेसबाट अविराम प्रजातन्त्रका लागि संघर्ष गरेका शेष इद्रिसले सिंह र राणाको राजनीतिक विरासत धानेका त थिएनन्, चुनावमा बुथ कैप्चरको विरासतचाहिँ सर्लक्कै बोकिदिए । त्यसो त इद्रिसलाई चुनावमा कडा चुनौती सामना गर्नुपरेको थिएन । तर, मान्छेको लोभी जातलाई पहिले त चुनाव जित्नुपर्‍यो, जित सुनिश्चित छ भने जतिसक्दो बढी मतान्तरले जित्नु पर्‍यो । इद्रिसको परिवारले त्यही गरेको थियो । इद्रिस त किशुनजी निकटस्थ नेता, हल्का गान्धीवादी पनि सुनिने । चुनाव जिताउने जिम्मा भाइ शेष जरनैलको हुन्थ्यो, उनैले सबै फत्ते गर्थे । इद्रिसको निधनपछि अफताब उत्तराधिकारी बने/बनाइए, उनको त हाउभाउ कटाक्ष सबै दबंग थियो, चुनाव शैली नहुने कुरै थिएन । रौतहटमै साथीहरू सुनाउँथे उनको चुनावी नारा हुन्थ्यो, ‘जितेंगे तो पिटेंगे, हारेंगे तो मारेंगे ।’ जिते भने पिट्ने हो भने हारेँ भने मार्ने हो । अब मतदाताले मर्नुभन्दा पिटाइ खानु बेस भनेर भोट हाल्नुपर्ने ।

 

०५६ सालमा रौतहटमा बुथ कैप्चरिङका प्रयास, प्रतिकारबीच थुप्रै बुथमा चुनाव रद्द/स्थगित भएको थियो । त्यो चुनावमा एमालेका महासचिव माधवकुमार नेपाल दुईवटा क्षेत्रबाट प्रत्याशी थिए । क्षेत्र नम्बर १ मा नेपालसँग भिडिरहेका कांग्रेस प्रत्याशी ब्रजकिशोर सिंहले भारतबाट भारी संख्यामा बम, गोलीगट्ठासहितको जत्था भित्र्याइरहेको सूचना पाएपछि परिचालित प्रहरी र नेपाल भित्रिरहेको जत्थाबीच गोलीबारी भएको थियो । रौतहटका तत्कालीन प्रहरी प्रमुख टपेन्द्रध्वज हमालका अनुसार बम, बारुद बोकेर आएको टोली सीमापारि नै फर्किनुपरेको थियो । आक्रोशित ब्रजकिशोर समर्थकले नेपाललाई ‘छे इन्च छोटा करदेंगे’ भन्दै आक्रमण गर्न खोजेको थियो । कांग्रेस–एमालेको संयुक्त चुनावी भएका कारण कांग्रेसको पक्षमा काम गर्न सम्भव थिएन । पहिलोचोटि प्रत्यक्ष चुनावका लागि उत्रिएका माधवकुमारले रौतहटका दुवै क्षेत्रबाट चुनाव जिते ।

 

पहिले बम बनाउनेदेखि कैप्चर गर्दिने विज्ञ पारि सस्तैमा पाइन्थ्यो । अब त्यो पनि गाह्रो हुँदै गएको छ । मधेस विश्लेषक तुलानारायण साहका अनुसार डकैतीजस्तै बुथ कैप्चर नियन्त्रण बाटोघाटो, मोबाइल आदिसँग जोडिन्छ । बाटोघाटो सुगम भएका कारण घन्टौँ बुथ कैप्चर गरी भोटिङ गर्न असम्भव हुँदै गयो ।

 

रौतहटको रँडाकोबाट पाठ सिक्न सर्लाहीको सुरक्षा निकायलाई समय थियो, चुनाव दोश्रो चरणमा परेकाले । नभन्दै चुनाव शान्तिपूर्ण भयो । सम्भवतः एउटा बुथमा मात्र पुनःनिर्वाचन भयो । बमले लैस ट्याक्टर भोटगन्तीस्थलमा पुलिसले फेला पार्‍यो, ट्र्याक्टर राजेन्द्र महतोको भन्ने पत्ता लाग्यो । अघिका दुवै चुनावमा पराजित महतोका लागि ०५६ सालको चुनावलाई जीवन–मरणको प्रश्न बनाएका थिए । श्रीसम्पत्ति जिल्लाकै नामुद मिटरब्याजी शम्भु मैनालीलाई दृष्टिबन्धक गरी ३६ प्रतिशतमा ऋण लिएको चर्चाले चुनावी माहोल तताएको थियो, १३ वर्षअघि मोहनविक्रमले बेचेको पुतलीसडकको घरले जस्तै । पराजयको ह्याट्रिक हुने स्थितिमा डाङडाङडुङडुङ गर्ने हिसाबले तयारी गरेका थिए भन्ने अडकलबाजी गरियो । पुलिसले गहिरो अनुसन्धानमा उदासीन देखायो, महतोको सफेद धोती/कुर्ता बेदाग नै रहिरह्यो ।

 

पहिलो चुनावमै दुई क्षेत्रबाट चुनाव जितेका माधवले रौतहट– ४ छाडेपछि भएको उपचुनावमा कांग्रेसले बिपीपुत्र प्रकाश कोइरालालाई टिकट दिएपछि बलिउडकी व्यस्त नायिका मनीषा पनि बुबालाई चुनाव जिताउन रौतहट आइन् । कोइराला परिवारको अस्थायी आवास चन्द्रनिगाहपुरमा मेरी सानिमाको घरमा भएको हुँदा धेरै दिन बिताइयो । उपचुनाव भए पनि कांग्रेस एमालेका शीर्ष नेता रौतहट नपुग्ने सायदै थिए । गृहमन्त्री खुमबहादुर खड्काले रौतहटमै डेढ घन्टा जमाएर चुनावी अभियानको संयोजन गरिरहेका थिए । आफूलाई त भिआइपीहरूको ओहोरदोहोर हुने घरमै बस्ने/खाने सुविधा प्राप्त थियो, धेरै दिन बिताइयो । काठमाडौंबाट पुगेका एकाध पत्रकारलाई मनीषाको छोट्छोटा अन्तरवार्ता पनि दिलाइयो ।

 

अन्तिम चुनावी सभामा भाषण गर्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला खुद चन्द्रनिगाहपुर पुगेका थिए । गृहमन्त्री खड्काले राष्ट्रिय अनुसन्धानमा भर्ती गरेका केटाहरू पनि कांग्रेसलाई चुनाव जिताउन रौतहट उत्रिएको त मैसँग कलेज पढेका साथीसँग चन्द्रनिगाहपुरमा भेट भएपछि थाहा पाइहालियो । चुनावकै दिन पनि चन्द्रनिगाहपुरमै थिएँ । दिउँसो नै सबै काम तमाम भइसकेको (आधाउधीजसो बुथ कैप्चर) अनि कोइरालाको जित सुनिश्चित भएको खबर चन्द्रनिगाहपुरसम्म आएको थियो ।

 

बिहार बेगुसरायको रचियाही गाउँमा १९५७ मा विधानसभा चुनावका क्रममा भएको बुथ कैप्चरिङलाई भारतको पहिलो बुथ क्याप्चरिङ भनिँदोरहेछ । बिहारको दोस्रो विधानसभा चुनावमा कांग्रेसका सरयुप्रसाद सिंह र भाकपाका चन्द्रशेखर सिंहबीच प्रतिस्पर्धा थियो । कांग्रेस कन्डिडेटले कामदेवप्रसाद सिंह नामका गुन्डानाइकेको अगुवाइमा बुथ कैप्चर गराएका थिए, चुनाव पनि उनैले जितेका थिए । बुथ कैप्चरिङ दुई थरीका हुने रहेछन्– शान्तिपूर्ण र हिंसात्मक । कुनै उम्मेदवारले आफ्नो वर्चस्व भएको क्षेत्रमा अधिक मत प्राप्त गर्न बल प्रयोगका साथै पैसाको प्रयोग गरी सबैलाई मिलाएर बुथ कैप्चरिङ गर्छ । यस्तोमा उक्त बुथमा भएका अरू राजनीतिक दलहरूलाई समेत थोरथोरै भागबन्डा गरी मतदान गरिन्छ । ०५६ सालको चुनावको दिन बुथबुथ पुगेका पत्रकार नेपालले केही रोचक–घोचक घटना बताएका छन् । मदनपुर बलुवातिर जाँदै गर्दा गाउँनेर पुग्दा एकजना स्थानीयले चुनाव तो ओढियागेलै (चुनाव त सकियो) भने, बिहानै १० बजे । कसरी यति चाँडै सकियो भनेको त दुई पार्टी मिलेर ६०–४० को दरले भोट भागबन्डा गरेछन्, सकियो । गम्हरिया बिर्तामा चाहिँ एउटा पार्टीले आफ्नै मात्र भोटरलाई लाइनमा लगाएर अरूलाई लाइन लाग्नै दिइएको रहेनछ, अर्को पार्टीको उम्मेदवारले अम्खोराभरि पानी बक्सामा खन्याइदियो, चुनाव कैन्सिल भन्दै चल्दियो । ‘यस्ता दृश्य सम्भवतः रौतहटमैमात्र देखिन्थे,’ उनी थप्छन् ।

 

शान्तिपूर्णका पनि एकै थरीका हुन्नन् । कुनैमा अरू पार्टीका प्रतिनिधि विरोध गर्नसक्नेजतिलाई किनेर करिब–करिब एकलौटी छाप्नेदेखि भागबन्डासम्म हुन्छन् । हिंसात्मक पनि अनेक रूपरंगका हुन्छन् । बुथमै फायरिङ, विस्फोट गराई मतदातालाई भगाएर एकलौटी छापेको बुझ्ने गरिन्छ–बुथकैप्चर सुन्नासाथ । बलिउडी सिनेमाले बुथ कैप्चरिङ देखाउदा यस्तै देखाउँछ । एउटा तरिका त हो तर योभन्दा प्रचलितचाहिँ गौडाहरूमा विस्फोट/फायरिङ गरी मतदातालाई मतदान केन्द्रमै पुग्न अवरोध गर्ने हो । यसरी बुथ कैप्चर गर्नेले सखारै आफ्ना मतदातालाई बुथमा उपस्थित गराई भोट गिरबाइसकेका हुन्छन् । आफ्नो भोट गिरिसकेपछि अन्त मतदान गर्ने मतदातालाई अवरोध गर्ने यस्तो हर्कत हुन्छ । बुथको चारैतिर विस्फोट/फायरिङ बुथचाहिँ शान्तिपूर्ण मतदान– यो तरिका तुलनात्मक रूपमा सुरक्षित पनि छैन त ? शेष इद्रिसको पालामा र उनको शेषपछि आफताबले गर्ने कैप्चर यही स्टाइलको हो । बुथमै झडप हुँदा भोटिङ स्थगित भई पुनः चुनावको जोखिम भएकाले पनि बुथ कैप्चरको ध्याउन्न बुथलाई शान्तिपूर्ण रहन दिई वरिपरि अशान्त बनाइराख्ने हुन्छ ।

 

रौतहटकै साथीहरूका अनुसार बुथ कैप्चरिङ अब करिब–करिब इतिहास हुने क्रममा छ । पहिलो संविधानसभा चुनावपछि भएका चुनावमा हिंसाका खबर सुनिएका छैनन् । मतदानमा उपस्थित हुन नसक्नेका नाममा अरूले नै भोट हाल्नेमा सीमित हुँदै गएको छ । ०६३/६४ को चुनावसम्म आफताब घरदैलोमा हिँड्दै थिए । हात जोडेर घरघरै हिँड्न सर्माउँथे । प्रभावशाली बफादारको घरमा एकाध गाउँका मान्छे भेला गराएर भाषण गर्ने, मासुभात खुवाएर निस्किने उनको चुनाव प्रचार शैली नै थियो । तर, पहिलो संविधानसभा चुनावमा भएको घटनापछि उनले बम पड्काएर मतदाता तर्साउने काम बन्द गरी घरदैलो गर्न थाले । दोस्रो संविधानसभा चुनावमा त भान्जा मुस्ताक राजासँगै पराजित भए । घरमै उनीमाथि चुनौती थपिँदै गयो । अहिले उनकै छोरा राजपुर नगरपालिकामा मेयर कन्डिडेट भइरहँदा माओवादी केन्द्रबाट शेष जरनेलका छोरा मोहम्मद वकिल उम्मेदवार छन् भने जसपाबाट उही मुस्ताक राजाका छोरा उम्मेदवार छन् ।

 

फेरि टिएन शेषनको हस्तक्षेप अनि नितीशकुमारको गुन्डा सफायाले गर्दा बिहारकै चुनाव तुलनात्मक रूपमा ‘फ्री एन्ड फेयर’ हुँदै गयो । इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम)ले पनि कैप्चरलाई असजिलो बनाइदियो । पहिले बम बनाउनेदेखि कैप्चर गर्दिने विज्ञ पारि सस्तैमा पाइन्थ्यो । अब त्यो पनि गाह्रो हुँदै गएको छ । मधेस विश्लेषक तुलानारायण साहका अनुसार डकैतीजस्तै बुथ कैप्चर नियन्त्रण बाटोघाटो, मोबाइल आदिसँग जोडिन्छ । बाटोघाटो सुगम भएका कारण घन्टौँ बुथ कैप्चर गरी भोटिङ गर्न असम्भव हुँदै गयो । केही गडबडी हुन थाल्यो, मान्छेहरू मोबाइलको भिडियो अन गरिहाल्छन्, एकैछिनमा भाइरल भइसकेको हुन्छ । बम, गोलाबारुदको प्रयोगभन्दा पनि अनुपस्थित मतदाताको भोट अरूले हाल्दिने (बोगस भोटिङ) शैली विकास हुँदै छ । हिजो हिंसामार्फत भोटर प्रभावित गरिन्थ्यो भने आज पैसामार्फत प्रभावित गर्ने चलन संस्थागत हुँदै छ । यसैले चुनाव नै ‘फ्री एन्ड फेयर’ हुँदै गयो भन्न गाह्रै पर्ला, भोटर प्रभावित गर्ने शैली परिवर्तन हुँदै गयो भन्नु उचित होला ।