कविता
तिमीलाई आजकल परिवर्तित देख्नु
आकाशमा देखिने र
छिनमै हराउने यी इन्द्रेणीजस्तै
अति चिसो हुनु र
अति तातो हुनुको मझधारमा
म कहिले चिसिन्छु यी चिसो हिमालझैँ
म कहिले तातिन्छु
जलवायुका यी परिवर्तित स्वरूपझैँ ।
तिम्रो मन वनजंगलमा
डढेलो लागेकोजस्तै देख्छु
तिम्रो तन गहिरो पैरोमा
भासिएकोजस्तै देख्छु
सागरका यी निला छालजस्तै
एक तमासले हतारिएको देख्छु
आखिर सम्झिनु हो बितिगएको पल
आखिर देखिदिनु न हो
देखेर आएको सबैसबै
मैले लेखिदिएँ
यी हतासले दगुरेका
समुन्द्रका छालमा तिम्रो उच्छृंखल
तिमी ईष्र्याले पग्लिदिएको त्यो पल
जसरी हिमालहरू पग्लिरहेछन्
उष्ण हावाको कारण ।
आजकल–
हिमशिखर पग्लिएर ताल भरिएको छ
जसरी यी बेगनास र फेवातालहरू
निलो पानीले भरिएका छन्
तर मैले तिम्रो आशुँका मुहान देखिदिएँ
यी बगिगएका पहाडी खोलालाई
तिम्रो नयनबाट झरेका यी आँसुहरूलाई ।
पृथ्वीको उत्तरी गोलार्धको कुनै अफिसपमा बसेर
मैले पहिलोपटक सोचेँ यो वायुमण्डलमा
हरितगृह ग्यास भरिएजस्तै
तिमीमा तृष्णा चढेको देख्नु
सायद हाम्रो प्रेमको अन्तिम सत्य थियो ।
आजकाल
चुरे पर्वत भूक्षयग्रस्त बनेर मधेस डुबानमा परेजस्तै
म डुबिसकेको छु तिम्रो स्पर्शमा
तिमीबाट टाढा हुनुको दुःखमा
म मेरा बैँसालु इच्छाहरू
सबै लुकाएर गहिरो चिन्तामा डुबेको छु
र मलाई थाहा छ
तिमी पनि उस्तै हालतमा छौँ प्रिय ।
कसैले तटबन्धन निर्माण गरिदिएर
तिम्रो जीवनको धार अन्तै मोडिदियो कि ?
किन हो
दुःखका भेलहरू सबै
तिम्रै आँगनतिर पसेको देख्छु ।
तिमी आजकाल अलग–अलग देखिनु
यी पर्यावरणको बदलिँदो आकारजस्तै
एउटा दुर्घटना हो हाम्रो जीवनको
त्यसैले–
यो उच्च तापमानले ग्रस्त
पृथ्वीलाई शीतल पृथ्वी बनाउनु छ ।
मभित्र तिम्रो प्रेमको अनुभूतिले
निर्माण गरेको शीतलताजस्तै
यही उत्सवमा
म इको–डेटिङमा तिमीलाई भेट्न
बागमती किनारमा आउनेछु ।
(कवि हितान पेसाले अवकाशप्राप्त ब्रिटिस आर्मीका इन्जिनियर हुन् । हाल बेलायत सरकारमा वातावरण विज्ञका रूपमा कार्यरत छन् । उनी एक दशकभन्दा लामो समयदेखि वातावरण साहित्य लेखनमा सक्रिय छन् ।)