• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सबिन निङ्लेखू
२०७९ बैशाख ३१ शनिबार ०७:४३:००
समाज

जनकपुरको केशरीकरण  : अन्तर्य कि आवरण ?

२०७९ बैशाख ३१ शनिबार ०७:४३:००
सबिन निङ्लेखू

जब केशरिया रंगले जनकपुरलाई छोप्दै लान्छ, तब इतिहासका पात्र फेरि नयाँ अवतारमा शासन गर्न आइपुगेको अनुभूति हुन्छ

 

‘देखा है पहेली बार, साजनकी आँखोमें प्यार’
‘मय से, मिना से ना साकी से, ना पैमाने से,
दिल बहलता है मेरा, आप कि आजाने से ।’ 

 

८०–९० को दशकको यी बलिउड गाना सुन्दै हुर्केका मजस्ताहरूको मन छ्याप्पै छुने गर्छ । यस्ता शब्द र यिनका धुनले । त्यसैले त हिँड्दा–हिँड्दै थचक्क बसेँ, एउटा चोकमा, टेम्पोको छतमाथिको लाउड स्पिकरबाट यिनै धुन जो घन्किरहेको थियो । जनकपुरको गर्मीले थला पारेको ज्यानलाई शीतल दिने यी धुनहरूले ठन्डा दिमागलाई सोच्ने सामग्री पनि सँगसँगै पस्किँदै दियो । जनकपुरमा टेम्पोका लर्कोले हाँक्दा रहेछन् चुनाव । आफ्नो शरीर जम्मै पार्टीको झन्डा, चुनाव चिह्न अनि उम्मेदवारहरूको फोटो बोकेको ब्यानरले ढाकेका टेम्पु, नब्बेको बलिउडमा किन यति बिघ्न रम्छ, भन्छु म । चुनाव र बलिउडको यो कस्तो रमाइलो संगम ? आफ्नो देब्रे कानलाई टेम्पोको दिशातिर अलि लम्काउँदा पो थाहा भो, धुनले बोक्ने शब्द त फेरिएका रहेछन् । धुन त्यही, तर शब्दहरूले बोकेछन् अर्कै अर्थ, ‘विरोधीके दिल पे मारो चोट, साइकिल छापमे दियो भोट’ ‘सिजन आमका, भिजन बलरामका ।’

 

साइकल त साइकल भैगो, आम छाप स्वतन्त्रका तर्फबाट मेयरका लागि लड्दै गरेका बलराम महतोको चुनाव चिह्न रहेछ । उनी रमण कन्स्ट्रक्सनका मालिक । उच्च श्रेणीको व्यापारी । भिजन त थाहा भएन, तर सिजन उनकै जस्तो देखियो । बजारका सडक अनि गल्लीमा गीतको शैलीमा नारा घन्काउन्दै हिँड्ने टेम्पोको लर्कोले बोक्ने चिह्न आँप नै प्रायः । आम चिन्हले आममान्छेको अन्तर्यमा कस्तो छाप छोड्ला, उनका जिब्रोमा कस्तो स्वाद बस्ला, समयले बताउँला । तर, अहिलेलाई यति कुरा प्रस्ट – जति धेरै पैसा, उति धेरै हो–हल्ला ।

 

बजारका पसलदेखि सरकारी भवन र भवनका भित्ताहरू मात्र नभई भवन र भित्ताभित्र कार्यरत कर्मचारी शुद्ध केशरिया रंग र वस्त्रमा सज्जित छन् 

 

टेम्पोले लिने दाम, दिनको पन्ध्र सय, खाइपिइ गरेर । कथाको माग नै त्यही भो । तर, महतोको उम्मेदवारी चुनाव र राजनीतिको उग्र–व्यापारीकरणको एउटा प्रस्ट दृष्टान्त हो, जनकपुरभित्र र बाहिर । व्यवसायीहरूले राजनीतिलाई ‘वस्तु’ देखे । चिन्तनको विषय यत्ति हो कि व्यापारले राजनीतिलाई जुन गतिमा वस्तुकरण गर्दै छ, आमवृत्तमा त्यसको सामान्यीकरण त्यही गतिमा भइरहेछ । 

 

जाना–अन्जानासँग चिया पसलहरूमा गफिँदा, सडकपेटीमा ठोक्किँदा थाहा भयो, जनकपुरका मेयरले समात्नुपर्ने प्रमुख मुद्दा भनेको फोहोर । पछिल्लो पाँच वर्षका मेयर अनि यसपालिको प्रमुख दाबेदारमध्ये एक मानिने लाल किशोर साहले फोहोर सफा गर्न सकेनन् । उनको कार्यकाललाई असफल ठान्नेहरू उनलाई फोहोर–मैलाको तराजुमा राखेर यसरी जोख्दा रहेछन् । जनताले चाहेअनुसार जनकपुरको फोहोर व्यवस्थित हुँदो हो त साहले फेरि मेयर पड्काउँदो हो, भन्ने गर्छन् कोही–कोही । साहले किन सकेनन्, त्यसका अनेकन कारण होलान् । फोहोर के लाई भन्ने प्रश्न पनि आफ्नो ठाउँमा होला । तर, साहको कार्यकालमा फोहोर व्यस्थापनले तार्किक निष्कर्ष लिन नसके पनि एक किसिमको सौन्दर्य–दृष्टिले मूर्त रूपचाहिँ अवश्य लिएको हो । केशरीया रंगले लत्पतिएको सौन्दर्य–दृष्टि ।

 

पत्रकार महासंघ कार्यालयको आडमा एउटा सानो चिया पसल छ । चार दशकभन्दा पुरानो यो पसल रामविलास यादवको हो । गैरस्थानिक व्यक्ति–व्यक्तित्वले कुनै स्थानका बारेमा तयार पारेको कृतिप्रति तब सम्मान झन् गहिरो हुन्छ, जब स्थानीयहरू खुदले त्यो कृतिलाई आधार मानेर आफ्नो स्थानिक ऐतिहासिक अवस्थितिका बारेमा कुरा गर्छन् । जनकपुरका स्थानीय कलाविद् होस् या पत्रकार, लेखक होस् या राजनीतिज्ञ, सबैले गैरस्थानिक मानवशास्त्री स्वर्गीय रिचर्ड बरघर्ट लिखित ‘द हिस्ट्री अफ जनकपुरधाम’को नाम चियागफको सिलसिलामा घरिघरि उच्चारण गर्ने गर्छन् । रामविलास दाइबाट थाहा भयो, बरघर्ट मनका पनि असल थिए रे । यादवदाइ बिहारबाट अनि बरघर्ट लन्डनबाट करिब–करिब एकै समयमा जनकपुर आइपुगेछन् । भेट भयो, मित्रता गढ्यो । उनले उनलाई अंग्रेजी सिकाउने । उनले उनलाई मैथिली । ‘द हिस्ट्री अफ जनकपुरधाम’का लागि सामग्री जुटाउने काम त्यही भेटघाट र मित्रताको समयमा भयो । सामग्री सत्तरीको दशकमा जुटे पनि, करिब पाँच वर्षअगाडि मात्र किताबको रूपमा बाहिर आयो, सोसियल साइन्स बाहा मार्फत ।

 

राजा, महन्त अनि साधुबीचको परिवर्तित शक्ति–सम्बन्धलाई केन्द्र बिन्दुमा राखेर तयार पारिएको यो धार्मिक, सामाजिक र भौगोलिक दस्तावेजले सन् १९७० देखि करिब तीन सय वर्षअगाडि देखिको जनकपुरको परिवर्तनशील इतिहास मिहीन ढंगले ओकल्छ । ७० पछिको पाँच दशकमा जनकपुरधामबाट जनकपुर हुँदै जनकपुर फेरि जनकपुरधाम हुने यात्रा तय गर्दै छ । जनकपुर रेल्वे, जनकपुर चुरोट कारखानाको उदयदेखि अवसानसम्म र पञ्चायतदेखि प्रजातन्त्र अनि लोकतन्त्र हुदैं गणतन्त्रसम्म आइपुग्दा दुई–दुईवटा मधेस आन्दोलनको उदय र अहिले करिब–करिब अवसान देखिरहेको जनकपुर या जनकपुरधामले पछिल्लो पाँच दशकमा धेरै काँचुली फेरिसकेको छ । अहिलेको काँचुली अलि फरक छ । यसले रंग बोकेको छ । रंग केशरिया छ । सीताको सहरमा सीता खासै कतै देखिन्नन् । तर, केशरिया रंगले राम बोक्छ, केशरिया रंगले हनुमान बोक्छ अनि रामको धनुकाण पनि बोक्छ । यो जताततै देखिन्छ । बिम्बका रूपमा अनि बिल्डिङहरूमा । 

 

बजारका पसलदेखि सरकारी भवन र भवनका भित्ताहरू मात्र नभई भवन र भित्ताभित्र कार्यरत कर्मचारी शुद्ध केशरिया रङ र वस्त्रमा सज्जित छन् । कति रहरले त कति करले । यो सौन्दर्य–दृष्टिले मूूर्त रूप लिएको छ पिडारी चोकदेखि केही किलोमिटर उत्तर, हाइवेको बीचमा भर्खर निर्मित ‘सहिद द्वार’का रूपमा । धनुष आकारको बडेमानको यो द्वार मधेस आन्दोलनका सहिदहरूका स्मृति स्मारक । सहिदहरूका मुहार जमिनको तहबाट हाइवेको दुईतिरैबाट उठाइएका दुई–तीन फिट अग्लो भित्ताहरूमा उतारिएको छ, उनका नामसहित । द्वारमाथिको धनुषको टुप्पोमा उभिएका छन् भगवान् राम, आकाशतिर आफ्नो धनुकाण तन्काउँदै । ‘सहिदभन्दा माथि राम ! यो द्वारले न सहिदको सम्मान गर्न सक्यो, न रामकै ।’ सटिक टिप्पणी थियो लेखक रोशन जनकपुरीको । ‘हाइवेले ओझेल पारेका सहिदहरू’, भन्दै थिए अर्का एकजना मित्र । लगभग चार करोड बजेटमा निर्मित सो द्वारमाथि कुनै अपरिचितले टिप्पणी गरे, ‘यही पैसा फोहोर व्यस्थापनमा खर्चेको भए !’

 

जनकपुर या जनकपुरधामले पछिल्लो पाँच दशकमा धेरै काँचुली फेरिसकेको छ । अहिलेको काँचुली अलि फरक छ । यसले रंग बोकेको छ । रंग केशरिया छ । सीताको सहरमा सीता खासै कतै देखिन्नन् । तर, केशरिया रंगले राम बोक्छ, केशरिया रंगले हनुमान बोक्छ अनि रामको धनुकाण बोक्छ ।

 

बहुसंख्यक ‘सामान्य’ स्थानीयहरूले आ–आफ्ना जीवन–दैनिकीहरू चलाउने क्रममा केशरियालाई त्यसरी खासै नअथ्र्याउने रहेछन् । फुर्सद पनि नहुँदो हो । चुनावी प्रचार–प्रसारको समयमा पनि रंगको कुरा चुनावी राजनीतिमा कतै बिम्बित भइसकेको छैन । उसो त पछिल्लो पाँच वर्षका मेयर लालकिशोर साहले सुरु गरेको जनकपुरको ‘केशरीकरण’विरुद्ध स्थानीयबाटै विरोध पनि विभिन्न समयमा भएको रहेछ – धर्मलाई राजनीति, शासन र व्यवसायसँग जोड्न हुँदैन भन्दै । तर, एक जनकपुरवासी लेखकले भनेझैँ, रंगले बोकेको ‘अन्डरकरेन्ट’लाई ‘अन्डरएस्टिमेट’ गर्नुहुन्न । उनीसँग सहमति जनाउंदै एकचोटि फेरि बरघर्ट तिर फर्कौं ।  

 

बरघर्टको किताबमा तीन प्रमुख पात्र छन्– राजा, महन्त अनि साधु । विगतमा तीनै आ–आफ्नै हिसाबले शक्तिशाली थिए । राजा त राजा भइगए, तर महन्त परे महापुरुष । राजा क्षेत्राधिकारी । तर, राजाभन्दा माथि धर्म, अनि धर्मले वास गर्ने मठमन्दिर आफैँमा एक राज्य, अनि महन्त तिनका प्रमुख । साधु बिछट्ट बेग्लै । उनी सांसारिक वासना–लालसाबाट मुक्त । अतः पुनर्जन्मको कैदबाट पनि उनि मुक्त । जनकपुरधाम उनका लागि न भूगोल, न ठाउँ न क्षेत्र न त समय नै । धाम उनका लागि ध्यान मात्र, प्रगाढ ध्यान । करिब तीन सय वर्ष लामो इतिहासमा यी तीन पात्रहरू बीचको शक्ति–सम्बन्धको वरिपरि जनकपुर, जनकपुरधाम बन्छ अनि फेरि जनकपुर बन्छ । ७० को दशकसम्मको अध्ययन बोकेको छ बरघर्टको किताबले । अब किताब छोडौँ । 

 

७० पछिका दशकहरूमा पनि जनकपुर÷जनकपुरधाम उत्तिकै परिवर्तनशील छ । महेन्द्रले गुठी प्रणाली ल्याए, भूमि ऐन ल्याए, बजारको उदारीकरण भयो, भूमिमाथि व्यक्तिगत स्वामित्व बढ्यो । महन्त कर्मचारी बने, कोही व्यवसायी, राजा बिस्तारै बिलाए, अनि साधुले सामान्य नागरिकको अवतार धारण गरे । जनयुद्धले निर्माण गरेको राजनीतिक, सामाजिक र वैचारिक ‘कन्डिसन’माथि टेकेर, मधेस आन्दोलित बन्यो । ‘प्रजातन्त्र’को लोकतान्त्रकिरण भयो । नेपाल ‘नयाँ’ भयो । नेपाल ‘संघयि लोकतान्त्रिक गणतन्त्र’ बन्यो अनि जनकपुर नयाँ नेपाललाई नयाँ दिशा दिने केन्द्रीय सहरहरूमध्ये एक बन्यो । 

 

द्वारमाथिको धनुषको टुप्पोमा उभिएका छन् भगवान् राम, आकाशतिर आफ्नो धनुकाण तन्काउँदै । ‘सहिदभन्दा माथि राम ! यो द्वारले न सहिदको सम्मान गर्न सक्यो, न रामकै ।’ सटिक टिप्पणी थियो लेखक रोशन जनकपुरीको ।

 

तर, मधेस आन्दोलनको राप–तापमा बनेको २०७४ साल पछिको स्थानीय सरकारले आन्दोलनले दिएको विरासत बोक्न सकेन भन्छन् स्थानीयहरू । नयाँ नेपालले नयाँ ‘नागरिक’को परिकल्पना गर्न सकेन । जब मेयरले प्रशासनको सहारा लिँदै केशरिया भेषमा सहरको शासन गर्न निस्कन्छ, जहाँ नगरपालिका भवन पनि केशरिया रंगमा पोतिन्छ अनि कर्मचारी सबै उही रंगको वस्त्रमा हुन्छन्, समग्रमा जब केशरिया रंगले जनकपुरलाई छोप्दै लाग्छ, तब इतिहासका तिनै पात्रहरू (राजा, महन्त अनि साधु) फेरि नयाँ अवतारमा शासन गर्न आइपुगेको अनुभूति हुन्छ । फरक यति मात्र छ, यहाँ राजा, महन्त अनि साधु तीनैजनाको अवतार मेयरमै देखिन्छ । 

 

यो ‘अन्डरकरेन्ट’ मात्र होला । तर, यसलाई ‘अन्डरएस्टिमेट’ गर्न नमिल्ला । ‘समाज अध्ययन’ गर्ने समाजशास्त्री, पत्रकार, लेखक, कवि आदिका लागि, सीमापारिका आदित्यनाथ र मोदीजस्ता आधुनिक ‘योगी’ र ‘फकिर’हरूले केशरिया रंगलाई योजनाको केन्द्रमा राखेर प्रशासनको परिचालन गर्दै समाजमाथि शासन गर्दा समाजको एक जत्थाले रातारात नागरिकबाट अनागरिक हुनु चिन्ता अनि चिन्तनको विषय बन्नु स्वाभाविक हो र हुनुपर्छ । यी यथार्थ भनेको ‘अन्डरकरेन्ट’को स्खलित रूप हुन् । यस्ता ‘अन्डरकरेन्ट’ले बिस्तारै ‘नागरिक’ भन्ने वैचारिकीलाई ‘फोहोरी’ बनाइदिन्छ । 

 

फोहोर व्यवस्थापन प्राविधिक विषय मात्र होइन, राजनीतिक पनि हो । लालकिशोर प्रविधिमा कम, राजनीतिमा बढी चुके होला, जहाँसम्म फोहोर व्यवस्थापनको कुरा छ । तर, फोहोर व्यवस्थापनभन्दा अगाडि त्यसको उत्पादन हुन्छ । अनि त्यो उत्पादन पनि राजनीतिकै उपज होला । किनकि सहर बनाउने–भत्काउने काम राजनीतिले नै गर्छ । जिम्मेवार नागरिक उत्पादन गर्ने जिम्मा पनि राजनीतिकै हो । तर, फोहोर भौतिक मात्र हुँदैन । ‘फोहोर’ विचार पनि हो । केशरिया कसैका लागि आवरण होला, कसैका लागि अन्तर्य । जनकपुरधाम सुन्दर देखिन्छ होला, कसैको नजरमा, त्योभन्दा बढी केही नहोला । अथवा तीर्थयात्रा र पर्यटन व्यवसायलाई बढी आकर्षक बनाउने एउटा माध्यम होला । यो आफैँमा गन्तव्य नहोला । इतिहास रच्ने गन्तव्य । तर, अन्य केही पनि भएर जान सक्ला । 

 

भोलिको दिनमा यो रंगले ‘नागरिक’ भन्ने वैचारिकीलाई ‘फोहोर’ नबनाओस् । फोहोर उत्पादन र व्यवस्थापनको अर्थ–राजनीति यो चुनावको मुद्दा बन्नु थियो, बन्यो । तर, ‘फोहोर’को संस्कृति–राजनीतिक पाटो पनि मिहीन ढंगले आमवृत्तमा केलाउने वेला आयो । इतिहासको हरेक कालखण्डमा जनकपुर–जनकपुरधामको नेपाल राज्य, राष्ट्र र नागरिकी निर्माणमा विशेष भूमिका र योगदान छ । इतिहास साक्षी छ । हामी कस्तो किसिमको राष्ट्र बन्न चाहन्छौँ, कस्तो देश बन्न चाहन्छौँ, कस्तो नागरिक अनि मान्छे बन्न चाहन्छौँ, जनकपुरधामको निर्वाचनको नतिजा अनि त्यसले यस सहरलाई दिने दिशा र गतिले धेरै हदसम्म हाम्रो इतिहास र भविष्य नयाँ ढंगले देखाउने करिब तय छ ।