• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हरिशरण परियार
२०७९ जेठ ७ शनिबार ०६:५८:००
साहित्य

स्वाभाविक

२०७९ जेठ ७ शनिबार ०६:५८:००
हरिशरण परियार

अस्वाभाविक तरिकाले
तिमी चिच्याइरहेछौ
स्वाभाविक... स्वाभाविक... स्वाभाविक... 

 

कर्णहरू हारेर सधैँ  
अर्जुनहरूले जित्नु–
स्वाभाविक

 

एकलव्यको रगतमा
सधैँ द्रोणाचार्यहरू पुजिनु–
स्वाभाविक

 

शम्बूकहरू रेटिएर
रामहरू मर्यादा पुरुष बन्नु–
स्वाभाविक 
तिमी चाहन्छौ
जदौमा झुकून् शिरहरू
नबोलून् निमुखाहरू
डसिरहन सकोस्
तिम्रो मनुस्मृतिले मस्तिष्क 

 

महाशय !
खेल्नु– औजारहरूसँग 
गाल्नु– आफरमा फलाम 
अर्जाप्नु– धार
घन, छिनोले फोर्नु– पहाड
यी सबै स्वाभाविक लाग्छन् मलाई 

 

र, स्वाभाविक लाग्छ
भत्काउनु– तिमीले स्वाभाविक ठानेका
सबै अस्वाभाविकहरूलाई