• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
डेनियल हन्टर
२०७९ जेठ ७ शनिबार ०७:०५:००
समाज

परिवर्तनकारीका लागि निर्वाचन गन्तव्य होइन, साधन मात्र हो

२०७९ जेठ ७ शनिबार ०७:०५:००
डेनियल हन्टर

जर्ज फ्लाइडलाई श्वेत प्रहरी अधिकारीले घाँटीमा घुँडा राखेर हत्या गरेपछि सुषुप्त प्रायः रहेको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन पुनः जुर्मुराएर उठ्यो । त्यस आन्दोलनको आलोकमा कैयौँ नसोचेका परिवर्तन भए । अमेरिकाका कैयौँ नगरपालिकाले तिनका प्रमुख चोकमा ठडिएका नश्लवादी व्यक्तित्वका सालिक हटाए । ठूला कर्पोरेसनले तिनले उत्पादन गर्ने नश्लवादी ब्रान्डको नाम बदल्न बाध्य भए । केही नगरले प्रहरी फौजमाथि गरिरहेको लगानी घटाएर अपराधको मूल जरा उपचार गर्ने पूर्वाधारमा लगानी मोडे । ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनका यति ठुल्ठूला प्रभावका बाबजुद कैयौँ मानिस भने जर्ज फ्लोयडको मृत्युले निम्त्याएको शोक र आक्रोशलाई ब्यालेट बक्समार्फत अभिव्यक्ति गरे मात्र ठूलो परिवर्तन आउन सक्ने भनाइ राखिरहेका छन् । यस्तो विचार राख्नेहरूमा आन्दोलनकारीको प्रशंसा गर्ने नेता, सेलेब्रिटी तथा सामुदायिक नेतासमेत छन् ।


वयस्क भएपछि मैले धेरै आन्दोलनमा सहभागी जनाएको छु । र, मैले धेरैजना आन्दोलनप्रति सकारात्मक धारणा पाउन सकेको छैन । मानिसहरू या त आन्दोलनप्रति पूर्णतः नकारात्मक सोच राख्छन् या यसको प्रभावप्रति त्यति विश्वस्त हुँदैनन् । प्रायजसो आन्दोलनले निर्वाचनलाई रणनीतिका रूपमा प्रयोग गर्ने गर्छ । तर, यही आधारमा केहीलाई निर्वाचन नै परिवर्तनको साध्य हो भन्ने भ्रम पर्छ । तर, निर्वाचन परिवर्तनको एक माध्यम मात्र हो । आमसर्वसाधारणमा सामाजिक परिवर्तन कसरी हुन्छ भन्ने विषयप्रति ठूलो भ्रम व्याप्त छ । यस्तो भ्रमले परिवर्तनका लागि आवश्यक हुने ऊर्जामा पानी खन्याउने काम गर्छ ।

 

इतिहासका ठुल्ठूला परिवर्तन निर्वाचनबाट भन्दा पनि सामाजिक आन्दोलनको बलले निम्तिएको देखिन्छ । आन्दोलनकै बलमा अमेरिकामा दासप्रथा उन्मूलन भयो । न्यूनतम ज्याला, बालश्रमसम्बन्धी कानुन पनि श्रमिक आन्दोलनको लामो प्रयासपछि कार्यान्वयन गरिएका हुन् । आन्दोलन नगरिएसम्म महिला तथा अश्वेत अमेरिकीले मत हाल्नसमेत पाएका थिएनन् । अर्थात् इतिहासका कैयौँ महत्वपूर्ण परिवर्तन मतपत्रबाट नभएर सामाजिक स्थितिसँग असन्तुष्ट भएर तिनलाई बदल्न निरन्तर संघर्ष गर्ने अभियानकर्मीका जोडबलबाट आएका हुन् । चुनावले मैदानमा खेलाडी फेर्ने गर्छ भने सामाजिक आन्दोलनसँग मैदान नै बदलिदिने सामर्थ हुन्छ ।


सामाजिक आन्दोलनबारे धेरैमा के भ्रम छ भने यो अकस्मात उठ्छ । जस्तो रोस पार्कले उनी बसेको सिटबाट उठेर अश्वेतहरूका लागि छुट्याइएको पछाडि सिटमा जान भन्दा नमानेपछि सन् ६० को दशकमा अमेरिकामा सिभिल राइट आन्दोलन उठ्यो भन्ने मिथक चर्चित छ । तर, अश्वेत अधिकारसम्बन्धी आन्दोलनलाई उठाउन पृष्ठभूमिमा धेरै पक्ष वर्षौँदेखि सक्रिय रूपमा लागिरहेका थिए । अर्को प्रसंगले यसलाई थप प्रस्ट्याउँछ । सन् १९७९ मा थ्री माइल नामक टापुमा रहेको आणविक ऊर्जा संयन्त्र आंशिक चुहावट हुँदा आणविक शक्तिको जोखिमबारे चिन्तित मानिसहरू विरोधमा उत्रिए । तर, त्यसअघि सन् १९६६ मा मिसिगनस्थित एन्रिको फर्मी संयन्त्रमा झन्डै–झन्डै पूर्ण चुहावट हुँदासमेत कुनै आवाज उठेको थिएन । फरक के थियो भने दुई घटनाबीच विभिन्न संगठनले स्थानीय समूहलाई सशक्तीकरण गर्ने, राष्ट्रिय सञ्जाल निर्माण गर्ने, आणविक नीति पक्षधरविरुद्ध तर्क बनाउने र वैकल्पिक नीतिगत प्लाटफर्म विकास गर्नेजस्तो धेरै काम गरिसकेका थिए । 


जर्ज फ्लोयडको हत्यापछि ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन जुन सशक्त रूपमा उठ्यो । त्यसमा पनि पृष्ठभूमिमा लामो समयदेखि जारी प्रयासले महŒवपूर्ण सहयोग गरेको थियो । सन् २०१४ मा अश्वेत किशोर माइकल ब्राउनलाई श्वेत प्रहरी अधिकृतले हत्यापछि फर्गुसनमा आन्दोलन उठेको थियो । त्यस समय अमेरिका र क्यानडाभरि ‘ब्ल्याक लाइभ्स म्याटर’का स्थानीय सञ्जाल विकसित गरिएको थियो । ‘ब्ल्याक युथ प्रोजेक्ट १००’ र ‘मुभमेन्ट फर ब्ल्याक लाइभ्स’जस्ता समूहले बृहत् नीतिगत प्लाटफर्म बनाए । त्यहीँबाट ‘डिफन्ड द पुलिस’ (प्रहरीहरूलाई दिइरहेको कोष कटौती गरौँ) क्रान्तिकारीको माग उठ्यो ।

धेरै मानिस सही नेतृत्वलाई चुन्न सक्यौँ भने सुधार हुन्छ भन्ने भ्रममा पर्छन् ।तर, इतिहास हेर्दा चुनावले ठूलो परिवर्तन ल्याएको देखिँदैन । चुनाव जसले जिते पनि सामाजिक न्याय चाहनेले अगाडिका ठूला संघर्षका लागि तयारी गरिरहनुपर्छ ।

 

यस सम्बन्धमा ‘ब्ल्याक लाइभ्स म्याटर’की एक नेता जेसिका बाइर्डले यस सम्बन्धमा टाइम म्यागजिनसँगको अन्तर्वार्तामा भनेकी थिइन्, ‘हरेकपटकका आन्दोलनलाई त्यसअघिका आन्दोलनले सघाउ पुर्‍याउँछन् । ब्ल्याक लाइभ्स म्याटरका अघिल्ला आन्दोलनले जर्ज फ्लोयडको हत्यापछि उठेको आन्दोलनलाई बढी प्रभावशाली बनाउन सघायो ।’ तर, पृष्ठभूमिका प्रयासबारे अन्जान एक चरणको सडक प्रदर्शन सकिएपछि आन्दोलन नै सकिन्छ भन्ने भ्रममा पर्छन् । तिनै तप्का परिवर्तनलाई संस्थागतका लागि गर्नुपर्ने ‘वास्तविक’ काम अर्थात् मतदानमा ध्यान दिनुपर्ने बताउँछन् । आन्दोलनलाई बुझेका मानिसलाई के थाहा छ भने मतदान गन्तव्य होइन, यो त प्रक्रियाको एक हिस्सा मात्र हो ।


आन्दोलनले जटिल प्रश्नलाई बेवास्ता गर्न नसकिने गरी समाजको अगाडि उभ्याइदिन्छ, जब कि निर्वाचनमा यी प्रश्न सामान्य उल्लेख मात्र भइरहेका हुन्छन् । जस्तो– जर्ज फ्लोयडको हत्यापछि भएको आन्दोलनले : ‘मानसिक स्वास्थ्य संकटलाई सल्टाउन सशस्त्र प्रहरी प्रयोग गर्नु कत्तिको उचित हो ?’, ‘सैनिकको प्रयोगका लागि बनाइएका हतियार बोक्ने प्रहरीको सुधार सम्भव छ ?’, ‘प्रहरी प्रणालीको व्यावहारिक विकल्प हुन सक्छ ?’ जस्ता प्रश्नमाथि चर्को बहस गरायो । मानिसको दृष्टिकोण बदल्दै लगेर आन्दोलनले नीति–निर्मातामाथि दबाब सिर्जना गर्छ ।

 

आन्दोलनको सफलताको मापन इच्छाइएको व्यक्तिले निर्वाचन जित्यो कि जितेन वा निश्चित कानुन परिवर्तन भयो कि भएन भन्नेजस्ता अल्पकालीन विषयमा भन्दा पनि समस्याप्रति आममानिसको धारणा बदल्न सक्यो कि सकेन भन्ने कुरामा हुन्छ । सन् १९६० को दशकमा विद्यार्थीका धर्नाले तत्कालै अश्वेतप्रति विभेदकारी सेग्रेसन(अलग–अलग राखिने व्यवस्था)विरुद्ध कानुन ल्याउन सकेन । वासिङ्टनको विशाल विरोधसभाको एक वर्षपछि मात्र १९६४ ‘सिभिल राइट्स एक्ट’ कानुन बन्यो । धेरै मानिस सही नेतृत्वलाई चुन्न सक्यौँ भने सुधार हुन्छ भन्ने भ्रममा पर्छन् । तर, इतिहास हेर्दा चुनावले ठूलो परिवर्तन ल्याएको देखिँदैन । चुनाव जसले जिते पनि सामाजिक न्याय चाहनेले अगाडिका ठूला संघर्षका लागि तयारी गरिरहनुपर्छ । व्यक्तिगत रूपमा म चुनावमा आफ्नो मत हाल्ने गर्छु, तर देश बदल्ने एक मात्र औजार मतदान हो भन्ने भ्रममा भने पर्दिनँ ।

(‘विल्डिङ अ मुभमेन्ट टु इन्ड द न्यु जिम क्रो’ पुस्तकका लेखक हन्टर ‘३५० डट ओआरजी’को ग्लोबल ट्रेनिङका सहनिर्देशक पनि हुन् । यो लेख ‘द न्युयोर्क टाइम्स’बाट श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)