• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
निर्मल अर्याल
२०७९ जेठ ७ शनिबार ०७:३०:००
सम्झना

गोपाल गाथा

२०७९ जेठ ७ शनिबार ०७:३०:००
निर्मल अर्याल

साङ्गीतिक क्षेत्रमा लागेकामध्ये कसैको गला उत्कृष्ट हुन्छ त कसैको कला (सङ्गीत भर्ने ज्ञान) । कला, गलासहित कलम पनि उत्कृष्ट हुने यस क्षेत्रमा बिरलै हुन्छन् । वरिष्ठ गीतकार चेतन कार्की (दिवङ्गत) को शब्दमा कला, गला र कलम तीनै विधामा उत्तिकै सशक्त थिए, नेपाली साङ्गीतिक विधाका यशस्वी साधक गोपाल योञ्जन । योञ्जनले आफ्नो भौतिक चोला बिसाएको २५ वर्ष पूरा भइसके पनि नेपाली साङ्गीतिक क्षेत्रमा उनलाई ‘द्रोणाचार्य’ मान्नेहरूको संख्यामा कुनै कमी छैन । सङ्गीतकर्मी भूपेन्द्र खड्काका अनुसार योञ्जन नेपाली सङ्गीतका एक ग्वाला हुन्, जसले नेपाली सङ्गीतमा सुनका धारा दूध दिने गाई पाले र आजीवन नेपालीलाई उही स्वर्ण गाई सुम्पेर गए । 

 

दार्जिलिङमा जन्मे पनि नेपाललाई कर्मभूमि बनाएर सुगम सङ्गीतको स्वर्णिम युग जन्माउने महान् स्रष्टा हुन्, सङ्गीत साधक गोपाल योञ्जन । चिनामा ‘शिकन्दर’ नाम लेखिएका योञ्जन कालान्तरमा नेपाली सुगम सङ्गीतको वास्तविक सिकन्दर नै प्रमाणित भए । छोरीहरू मात्र रहेका डाक्टर बुद्धिमान योञ्जन र छेकुडोल्मा योञ्जनको परिवारमा ‘मेडिसियन बुद्ध’को पूजा लगाएपछि सन् १९४३ अगस्ट २६ मा जन्मिएका योञ्जन जीवनभर बुद्धकोे सच्चा अनुयायी भएर बाँचे । फूलभन्दा कोमल, हिउँभन्दा शीतल, हिमालभन्दा अग्लो र समुद्रभन्दा गहिरो भएर दार्शनिक जीवन बिताएका योञ्जन साङ्गीतिक क्षेत्रका एक ‘महाप्राज्ञ’ हुन् । वरिष्ठ सङ्गीतकार दीपक जंगमका अनुसार योञ्जन आफैँमा एक ‘इन्स्टिच्युसन’ थिए, जसबारे मिहिन अनुसन्धान अझै हुन सकेको छैन ।

 

बुबा डाक्टर बुद्धिमान योञ्जन छोरालाई चिकित्सक बनाउन चाहन्थे । तर, कलेजमा जीवविज्ञानका विद्यार्थी योञ्जनमा मृत भ्यागुतो चिर्न सक्ने ल्याकत पनि थिएन । शान्त, सौम्य तथा लजालु स्वभावका योञ्जनको ध्यान सानैबाट सङ्गीतमै थियो । आमाले तरकारी किन्न पठाएको पैसाबाट बचेको रकम जम्मा गरी योञ्जन बाँसुरी किन्थे । बाँसुरी बजाउने उनको अद्भूत कलाको चर्चित भारतीय निर्देशक सत्यजित रोयले मुक्तकण्ठले प्रशंसा गर्दै उनलाई जुनसुकै वेला जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताएका थिए ।

 

दार्जिलिङस्थित कलेजमा काठमाडौँबाट पढ्न आएका विद्यार्थीमध्ये उनका सबैभन्दा घनिष्ट थिए कवि÷गीतकार नगेन्द्र थापा । वयस्क उमेरका प्रेमिल जोडीभन्दा पनि आत्मीय थिए, नगेन्द्र र योञ्जन । बिएको परीक्षा सकेर नगेन्द्र काठमाडौँ फर्के, तर योञ्जनविनाको जीवन उनलाई निरर्थक लाग्यो, योञ्जनविना जिउनै नसक्ने अवस्था आएपछि नगेन्द्र रुँदै आमा छेकुडोल्माको शरणमा पुगे, योञ्जनलाई सुम्पन अनुनय–विनय गरे । आफ्ना सहोदर दाजु सूर्यबहादुर थापा नेपाली राजनीतिमा ‘जल्दोबल्दो’ अवस्थामा रहेकाले योञ्जनका लागि ‘केही गर्न सक्छु’ भन्ने आत्मविश्वास नगेन्द्रमा थियो । योञ्जनप्रति नगेन्द्रको आत्मीयता देखेर छेकुडोल्माको ‘आमा–मन’ पग्लियो, उनी स्तब्ध भइन् । अन्ततः आफ्नो प्राणप्रिय छोरा नगेन्द्रकै जिम्मा लगाइन् । छेकुडोल्माले पछिसम्म पनि आफ्नो पूजाकोठामा छोरा योञ्जनसँगै नगेन्द्रको तस्बिर राखेकी थिइन् । काठमाडौँको खाल्डोमा अपरिचित योञ्जनलाई नगेन्द्रले हरहिसाबले सहयोग गरे । 

 

नगेन्द्र र योञ्जन २०१९ (वि.सं) तिर दार्जिलिङमा बिए पढ्दै गर्दा नारायणगोपाल बडोदामा शास्त्रीय सङ्गीतका विद्यार्थी थिए । नारायणगोपाल घुम्नका लागि दार्जिलिङ आउँदा कवि/गीतकार ईश्वर बल्लभमार्फत उनीहरू (नगेन्द्र, योञ्जन) को भेट भयो । ईश्वर बल्लभका केही गीत गाएर चर्चा बटुलिसकेका नारायणगोपालको उच्चकोटीको स्वरबारे नगेन्द्र, योञ्जन र कर्म योञ्जनबीच बारम्बार कुराकानी हुन्थ्यो । ईश्वर बल्लभ योञ्जनको प्रतिभाबाट पनि प्रभावित थिए । दुइटा ‘गोपाल’लाई सँगै राख्न सकियो भने नेपाली सुगम सङ्गीतले छलाङ मार्न सक्छ भन्ने सोचेका थिए, बल्लभ र नगेन्द्रले । बल्लभकै पहलमा नगेन्द्र र कर्मलाई साक्षी राखेर दार्जिलिङको महाङ्काल डाँडामा मकलमा आगो बाल्दै दुई गोपालको ‘मित’ लगाइएको क्षण नेपाली साङ्गीतक क्षेत्रको अविस्मरणीय अध्याय हो ।

 

बीसको दशकको बीचमा नगेन्द्र थापाको शब्द, योञ्जनको सङ्गीत र नारायण गोपालको स्वरमा रकेर्ड भएका कालजयी गीतहरूले नेपाली साङ्गीतिक क्षेत्रमा ‘क्रान्ति’ नै ल्याए । त्रिमूर्तिको सहकार्य नेपाली सुगम सङ्गीतमा स्वर्ण अक्षरले लेखियो । कहिल्यै नरिसाउने योञ्जन र रिसाएपछि मान्छे पिट्न पनि पछि नपर्ने नारायणगोपालबीच वर्षौंसम्म आफूले ‘स्यान्डविच’को काम गरेको थापा सगर्व स्विकार्छन् । ‘मितज्यू’बीचको सहकार्य १२ वर्षसम्म मात्र कायम रह्यो । त्यसपछि दुवै आ–आफ्नो बाटो लागे ।

 

चेतन कार्कीकै शब्दमा यी दुई विशिष्ट प्रतिभा आ–आफ्नो बाटो लाग्दा दुवैलाई व्यक्तिगत रूपमा कुनै क्षति भएन किनकि दुवै आ–आफ्नो क्षेत्रमा पोख्त थिए । तर, समग्रमा नेपाली सुगम सङ्गीत पनि धेरै पछि पर्‍यो । योञ्जनसँग ३४ वर्ष र नारायणगोपालसँग झन्डै २८ वर्ष अत्यन्त निकट रहेका थापाले पनि अहिलेसम्म ‘मितज्यू’को सहकार्य टुट्नुको रहस्य पत्ता लगाउन सकेका छैनन् । थापा भन्छन्, ‘सायद, मेरो चित्त दुख्छ भनेर होला दुवैजनाले मसँग कहिल्यै त्यो कुरा गरेनन्, तर साङ्गीतिक सहकार्य नभए पनि मसँग एकसाथ भेट हुँदा दुई गोपालबीच उत्तिकै आत्मीय सम्बन्ध थियो ।’ योञ्जनको आँखाबाट आँसु झरेको परिवारले कहिल्यै देखेको थिएन, तर नारायणगोपाललाई पशुपति आर्यघाटमा सेलाएर घर फर्केपछि कोठा थुनेर योञ्जन रोएको हृदयविदारक दृश्य योञ्जनकी छोरी सिर्जनाले अहिलेसम्म भुल्न सकेकी छैनन् । यसबाट पनि दार्जिलिङको महाङ्कालडाँडादेखि काठमाडौँको खाल्डोसम्म ‘मितज्यू’को भावनात्मक सम्बन्ध कहिल्यै क्षय नभएको पुष्टि हुन्छ ।

 

नारायणगोपाल र गोपाल योञ्जन दुवैको परिवारको सदस्यसरह रहेका प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्‍याल आफ्नो कृति ‘आफैँलाई खोज्दा’मा लेख्छन्, ‘नारायणगोपाल र गोपाल योञ्जन केही समय सङ्गीत र गायनमा सँगै थिएनन् भन्नेबित्तिकै उनीहरूबीचका सम्पूर्ण सम्बन्धको डोरी यति सजिलै चुँडियो ?’ प्याकुर्‍याल भन्छन्, ‘मसँग एकसाथ भेट्दा दुई गोपाल उत्तिकै आत्मीय देख्थेँ, दुवैले एकअर्काका बारेमा एक शब्द आलोचना गरेको पाइनँ ।’


गीत, सङ्गीतका विषयमा गोपाल योञ्जनको सोच अत्यन्त दार्शनिक पाइन्छ । बागीनामा उनी लेख्छन्, ‘एक अर्थमा बालकले आमाको गर्भबाट बाहिर आउनासाथ गरेको क्रन्दनको च्याँ पनि गीतै हो । अनि मृत्युपश्चात् गरिने आलाप–विलाप र चीत्कार पनि गीतै हो । अर्थात् मान्छेले आफ्नो जन्म र मृत्युबीचको यात्रामा कुनै न कुनै समय र अवस्थामा गाएकै हुन्छ । फरक यति मात्र हो, कसैलै तरुनीको चुराको छमछम–तालमा गाउँछन्, कसैले ढिलो गरेर भान्सामा आउने पतिको प्रतीक्षामा दालभातको फत्काइकै तालमा गाउँछन् । यस्तै कोहीको भट्टीभित्र रक्सीको तालमा गाउँछन्, कोही मन्दिरभित्र भक्तिभावमा गाउँछन्, कोही स्नानकक्षमा नुहाउँदै गाउँछन् । यसरी हाँस्नु, रुनु जस्तै गाउनु पनि मानिसको जीवनको एक सहज प्रवृत्ति हो ।’ 

योञ्जनको आँखाबाट आँसु झरेको परिवारले कहिल्यै देखेको थिएन, तर नारायणगोपाललाई पशुपति आर्यघाटमा सेलाएर घर फर्केपछि कोठा थुनेर योञ्जन रोएको हृदयविदारक दृश्य योञ्जनकी छोरी सिर्जनाले अहिलेसम्म भुल्न सकेकी छैनन् ।


आफूमाथि ‘प्रवासी’को ट्याग झुन्ड्याइए पनि योञ्जनले नै नेपाल र नेपालीका लागि देशप्रेमसँग सम्बन्धित सशक्त गीतहरू (देशले रगत मागे, बनेको छ पहराले यो छाती मेरो, धेरै छ गर्नु स्वदेशको सेवा... लगायत) दिएका छन् । जब नेपालको राष्ट्रियतामाथि धाबा बोलिन्छ, तब देशभक्तिका लागि योञ्जनकै स्वरमा हिमाल, पहाड र तराईका जनता एकसाथ जुर्मुराउँछन् । ‘छातीमा मेरो यो छोटो भोटो... च्याङ्बा ओई च्याङ्बा... लगायतका लोकलयमा आधारित उनका सदाबहार लोकगीतहरू नेपालीभाषी सबैको मानसपटलबाट कहिल्यै विस्मृत नहुने खालका छन् ।

 

खेलकुदका लागि उनको ‘खेलाडी हो खेलाडी...’ बोलको गीतले खेलाडीमा अद्वितीय रक्तसञ्चार गर्ने स्वयं खेलप्रेमीहरूले स्वीकार गरेका छन् । ‘कान्छी’, ‘सिन्दुर’, ‘विश्वास’, ‘मायाप्रिती’लगायत चलचित्रमा उनले दिएको सङ्गीत पनि उत्तिकै बेजोड छ । उनले घात, प्रतिघात अनि मातका गीतहरू पनि सानदार शैलीमा लेखे । बालगीत, प्रेमगीत, भक्तिगीतसहित उनले हरेक विधाका गीत गाए । ‘गीत, सङ्गीत सस्तो लोकप्रियताका लागि होइन, सुसंस्कृत समाजको आधारशिला हुनुपर्छ’ भन्ने उच्च मान्यता राख्ने योञ्जनबाट दीक्षित भई स्थापित भएका सङ्गीतकर्मीहरूको सूची लामै छ । योञ्जनले उनीहरू धेरैलाई आफ्नै छोराछोरीसरह पढाए, आफ्नै घरको भात खुवाए, आर्थिक अवस्था कमजोर भएका कतिलाई आर्थिक सहयोगसमेत गरे ।


सङ्गीतलाई साहित्यसँग जोड्नैपर्छ भन्ने उच्च सोचका योञ्जनले गहन अध्ययन अनुसन्धानपछि माध्यमिकस्तरको पाठ्यपुस्तक ‘सङ्गीताञ्जलि’ प्रकाशित गरे । ‘बागीना’ प्रकाशनमा बलबुताले भ्याएसम्म नारायणगोपाल र नगेन्द्र थापालाई सहयोग गरे । योञ्जनले आफ्नो घरको माथिल्लो तलमा खोलेको ‘गोपालय’मा सङ्गीत सिर्जना, रेकर्डिङ र अनुसन्धनात्मक कृति प्रकाशनको पूर्वतयारी सबैथोक गरिन्थ्यो । एक हिसाबले सङ्गीतकर्मीहरूका लागि पवित्र ‘धाम’ नै बनेको थियो गोपालय । 


योञ्जनले चाहेको भए आफूले लेखेका गीतमा आफ्नै स्वर पनि दिन सक्थे, उनको स्वर पनि उत्तिकै माधुर्यले भरिएको थियो । तर, उनले त्यसो गरेनन् । ‘मितज्यू’ (नारायणगोपाल) को अझ स्वर राम्रो छ भनेर आफ्ना कालजयी गीतहरू (यति चोखो यति मिठो..., गल्ती हजार हुन्छन्..., जीवनदेखि धेरै धेरै नै थाकेर..., मेरो गीत मेरै प्रतिबिम्ब होइन...) मीतज्यूकै गलाबाट गाउन लगाए । नगेन्द्र थापा पनि स्वीकार गर्छन्, ‘गोपाल योञ्जन नभएको भए नारायणगोपालको साङ्गीतिक यात्रामा धेरै नै फरक पथ्र्यो, जुन तहको नारायणको स्वर थियो, त्यो स्वरलाई रमझम पार्ने र अझ उचाइमा पुर्‍याउने काम योञ्जनको सङ्गीतसहित कालजयी शब्दले गरेकै हो ।’ गायक योगेश्वर अमात्य त योञ्जनका कालजयी गीत गाएर नै नारायणगोपाल ‘स्वर सम्राट्’ भएको दाबी गर्छन् । नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रियस्तरको बनाउने श्रेय योञ्जनलाई दिनुपर्ने सङ्गीतकार अनिल शाही बताउँछन् । सङ्गीत विशेषज्ञ तारावीर मानन्धर योञ्जनको जत्तिकै मिठासपूर्ण गीत–सङ्गीतको सिर्जना अरूबाट असम्भव भएको दाबी गर्छन् । 

 

कवि भूपि शेरचनमार्फत योञ्जनलाई चिनेका चेतन कार्की उनको सादगी जीवन र समाजसेवाबाट निकै प्रभावित थिए । कार्कीका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाले झैँ जाडोयाममा मर्निङ वाकमा जाँदा पातलो कपडा लाएर कामिरहेको व्यक्ति देखेमा योञ्जन आफूले लगाएको लङ कोट फुकालेर दिन्थे । गीत, सङ्गीतमार्फत धाराप्रवाह रूपमा जीवन दर्शन दिन सक्ने अद्भूत तथा आलौकिक क्षमता योञ्जनमा भेट्न सकिन्छ । योञ्जनका यी गीत त्यसैका उदाहरण हुन् । 

संसारसँगै तँ घुम्दै जा
अनि सारा संसार तेरै हो 
उड्दै छुन सकिस् भने जूनतारासम्म तेरै हो 
भूल हो तेरो भागिहिँड्नु जीवनदेखि डराएर 

जुनीभर अर्जेका कमाइहरूलाई 
तेरो माटाभरि म फालेर जान्छु 
ए संसार तेरो म केही लानेछैन, 
म जिउको लुगासम्म फालेर जान्छु । 
 
महाकवि लक्ष्मीप्रसाद देवकोटाका अमर रचना र उनीसँग सम्बन्धित सामग्रीको संरक्षण गर्न नसक्ने राज्यले योञ्जनका सङ्गीत सामग्रीहरूको संरक्षणमा चासो नदेखाउनु कुनै नौलो होइन । त्यसलै योञ्जनपत्नी रिन्छिनको अथक प्रयासका कारण योञ्जनका सङ्गीत सामग्री अहिले अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध कर्नेल विश्वविद्यालयको पुस्तकालयमा संग्रहित गरिएका छन् । कर्नेल विश्वविद्यालयमा यसअघि कुनै पनि सङ्गीतकर्मीका सामग्री सङ्ग्रहित गरिएका थिएनन् । कलेजोमा देखिएको समस्याका कारण योञ्जन ५४ वर्षको उमेरमै बिते पनि सरस्वतीको वरदपुत्र र उनको यही गीतको भावझैँ उनले अत्यन्त सार्थक र अर्थपूर्ण जीवन बाँचे । 

 

केवल एक शक्ति मलाई दे प्रभु
तेरा सारा वरदानको उपयोग गरूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ 
अनि हाँस्दै एक दिन तेरो काख परूँ ।