• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सुकन्या वाइबा
२०७९ जेठ ७ शनिबार ०७:४१:००
साहित्य

म पिपाको छोरो

२०७९ जेठ ७ शनिबार ०७:४१:००
सुकन्या वाइबा

ऊ वेला सहरमा ठूला भवनहरू बनाउन के–कसो गर्थे थाहा भएन, तर जनसाधारणको घर बनाउँदा भने ‘ड्याम्प प्रुफ’ गर्ने चलन थिएन । त्यसैले भुइँतला चिसो हुन्थ्यो । भुइँतला अर्थात् छिँडीका कोठाहरू विनाप्रयोग छोडिएका हुन्थे । बहालमा लिन चाहे सस्तोमा पाइन्थ्यो । यसरी सस्तोमा पाइएका हुनाले म, बाआमा र दिदी सिंहदरबारनजिकै, यस्तै एउटा कोठामा बस्थ्यौँ ।

 

बा सिंहदरबारमा तैनाथ सिपाहीहरूका निम्ति पिपा जागिरमा खटिएर आएका थिए । उनको मूल थलो चरिकोट हो, तर त्यहाँ खेती–किसानी गर्ने आफ्नो आधार नभएकाले काठमाडौँ आउन बाध्य भएका रहेछन् । त्यसो त उनी मात्र होइनन्, उनका केही आफन्त पनि यही जागिरमा तैनाथ थिए । पिपा भनेको के हो ? तपाईंलाई जिज्ञासा भयो ? सुन्नुस्, हामी तामाङ जाति मात्रका निम्ति पिपा नामक एउटा दस्ता नै खडा गरेका थिए रे महाराजले, जसको काम मिलिटरी ब्यारेकमा कार्यरत सिपाहीहरू चढ्ने घोडाहरूको स्याहार सम्भार गर्ने, मालिस गर्ने, मलमूत्र सोहोर्ने, दानापानी खुवाउने, पिलाउने । यसअतिरिक्त दाउरा ओसार्ने, चिर्ने, भाँडा माझ्ने काम पनि पिपा जागिरअन्तर्गत नै पर्थे रे ! 


अझ सुन्नुहोस् । महाराज पृथ्वीनारायण शाहको शासनकालमा तामाङ जातिलाई तिग्य्राहा, मासिने जात भनेर झन्डै अछुतलाई जस्तै बर्ताव गरिन्थ्यो रे ! तामदानमा राजखलकका रानीहरू, सुकुमारी राजकुमारीहरू कति बोक्यौँ रे कति ? भीमफेदीदेखि राजधानी काठमाडाै‌ंसम्मै, भिरालो, साँघुरो बाटोमा राजघरानाका निम्ति झिकाइएका गाडीहरू, मिसिनहरू, लक्जरीका सामानहरू अनगिन्ती बोक्यौ रे ! तर विडम्बना ! अरू जातका भरियालाई खाजालगायत ज्यालास्वरूप तीन पैसा ठेकिएको थियो रे ! तर, तामाङ जातका भरियालाई ‘खाजा मात्र दिनू ज्याला नदिनू’ भन्ने उर्दी नै थियो रे ! कति अनौठो ! अझ महाराज रणबहादुर शाहले त तामाङ जातिका मानिसलाई जहाँ देख्यो, त्यहीँ सिध्याइदिनू भन्ने ऐलान गरेका थिए रे ! 


मैले त ठूलो भएपछि मात्र उक्त तथ्य थाहा पाएँ । उसवेला त ‘मेरा बा पिपा’ भनेर छाती ठोक्थेँ । आठै वर्षको त थिएँ कति पो बुझ्नु र, यस्ता राजनीति । मेरो आफ्नै पारिवारिक पृष्ठभूमि केलाएर हेर्दा सम्झना आउँछ, मझौला कदकी मेरी आमा, चौपट्टै फुर्तिली, जाँगरिली तर अपवादस्वरूप रिसाहा स्वभावकी । त्यस टोलभरि मेरी आमाजस्ती छरिती र जाँगरिली अरू कोही थिएन । पैसा होस्–नहोस् दिल खोलेर चाडबाड मनाउनुपर्ने । लामा, झाँक्री, पण्डित–पुरोहितमा हदभन्दा बढी आस्था राख्ने । झाँक्री विषयका त उनीसँग ठेलीका ठेली कथाहरू थिए ।

 

रीतिरिवाज, चोखोनितोलाई लिएर अति कट्टर । केही समय दरबार बसेकी, त्यसैले सामानहरू चिटिक्क मिलाएर राख्न र सफासुग्घर भएर बस्नमा माहिर । सुनिन्थ्यो, उनको नाता पर्ने एक तामाङ सुन्दरी महाराज चन्द्रशमशेरकी भित्रिनी थिइन् । जसले महाराजको देहावसानपछि उनको आत्मा रथमा चढेर आकाशतिर उडेको देखिन् रे ! लामो दरबार बसाइले निकै सम्पत्ति कमाएकी तर उनीबाट केही सहयोग भएको थाहा पाइनँ । आमाको अर्को विशेषता– उनी आगोले पोलेको घाउमा लगाउने लेप बनाउँथिन् । लेप लप्सीको गेडा र बाख्राको बर्कुला पोलेर बनाइन्थ्यो, जसमा नरिवलको तेल मिसाइन्थ्यो । दुई–चारचोटि यस्तो लेप तयार गरेर कसैलाई पठाएको सम्झना आउँछ । 


बाको कमाइले एक छेउ पनि नपुग्ने भएकाले ताका परेका वेला आमा छिमेकमा सानोतिनो धन्दा गरेर केही थेग्थिन् । छिँडीको सानो कोठाको एक कुनामा माटोको एकमुखे चुल्हो, फलामको कराहीमा मासको दाल उम्लिने वेलामा उक्त दालमा एक मुठी गुन्द्रुक हालेको तिहुनसँग भात खाँदा ख्याल मिठो हुन्थ्यो ? नसोध, त्यस वेलाको भोक र स्वाद । 


तर मेरी आमाको धार्मिक कट्टरपनाको परिणामस्वरूप एघार वर्षको उमेर छँदा, बाको मृत्युपश्चात् १३ दिनसम्मको काजकिरिया मैले सम्पन्न गर्नुपरेको थियो । जाडो महिना, बागमतीमा दिनको दुईचोटि स्नान, नुनरहित एक छाक खाना र परालको ओछ्यान । किरिया सम्पन्न भएपछि म नराम्रोसँग बिरामी परेँ । अहिले बुझ्दा हामी बौद्घधर्मावलम्बी र हाम्रो धर्मानुसार नुन बार्नु नपर्ने, १३ दिन कष्टकर दिनहरू बिताउनु नपर्ने रहेछ । 

बा सिंहदरबारमा तैनाथ सिपाहीहरूका निम्ति पिपा जागिरमा खटिएर आएका थिए । उनको मूल थलो चरिकोट हो, तर त्यहाँ खेती–किसानी गर्ने आफ्नो आधार नभएकाले काठमाडौँ आउन बाध्य भएका रहेछन् । त्यसो त उनी मात्र होइनन्, उनका केही आफन्त पनि यही जागिरमा तैनाथ थिए ।


मेरा बा मझौला कद, श्याम वर्णका पिपा घिउ सोझा थिए । हामी केटाकेटी मात्र होइन, बा पनि आमासँग डराउँथे । मेरी दिदी, मभन्दा पाँच वर्ष जेठी, खुट्टा नचल्ने रोगले मरिन् । अहिले बुझ्दा पोलियो रोग रहेछ । बिरामी छँदा उनलाई अस्पतालको होइन, झाँक्रीको निगरानीमा राखियो । खुट्टा मालिस गरेर ‘मचक्क टेक्, मचक्क टेक्’ भनेर बलजफ्ती टेक्न लगाइन्थ्यो । उनी पोलियोले होइन, बढी सास्ती खप्न नसकेर मरिन् ।

 
एकपल्टको घटना । गाउँबाट मामामाइजू गाउँले कोसेलीसहित हामीलाई भेट्न आएका थिए । कोसेलीमा मकै, भटमास, गुन्द्रुक, मस्यौरा थिए । तर, मकैचाहिँ अरू एक–दुई दिन घाममा सुकाउनुपर्ने थियो । फर्किने वेलामा मामामाइजूले मलाई एक मोहर दिनुभयो । टोलका बच्चा सबैसँग चंगा थियो, मेरो थिएन । मैले एउटा रातो रंगको चंगा किनेँ र खुसीले गदगद हुँदै सडकको पेटीमा उभिएर उडाउन थालेँ । मलाई त्यहाँ देखेर आमाले एक नाङ्लो मकै ल्याएर पेटीमा सुकाउनुभयो र मलाई ‘हेर है, गाईले खाला’ भन्नुभो । मलाई भने संसार जितेजस्तो भइरहेको थियो । चंगामा नै मस्त भएछु । गाईले नाङ्लोको मकै सखाप पारेछ ।

 

आमाले मेरो हातबाट चंगा थुतेर टुक्रा–टुक्रा पारेर च्यात्दा पो झसंग भएँ । म बेस्कन रोएँ । ‘ला, तेरो सम्पत्ति यही होइन ?’ चंगा खुट्टाले समेत किचेर गाईले मकै खाएको प्रतिशोध लिइन् । रिसले दाह्रा किटेकी थिइन्, साथसाथै आँखाबाट आँसुको धारा पनि बग्दै थियो । यो घटना मैले कहिल्यै बिर्सन सकिनँ । आमाको प्रतिक्रिया र मेरो बालसुलभ इच्छामा हाम्रो गरिबी बोलेको थियो । आखिरकार म एक शोषित पिपाको छोरो न थिएँ । 

सुनिन्थ्यो, उनको नाता पर्ने एक तामाङ सुन्दरी महाराज चन्द्रशमशेरकी भित्रिनी थिइन् । जसले महाराजको देहावसानपछि उनको आत्मा रथमा चढेर आकाशतिर उडेको देखिन् रे !


त्यसपश्चात् समयले केही कोल्टे फेर्‍यो । कुनै सहृदयी दाताको सहयोगमा कक्षा ६ सम्म पढ्ने सुअवसर पाएँ । घरको परिस्थितिले जागिरको खोजी नै गर्नुपर्ने आवश्यक थियो । एक सहृदय महानुभवको कृपाले खलासीको जागिर भेटियो । बिस्तारै चालकमा उक्लिन सफल भएँ । म केही जागरुक थिएँ क्यार ! समय निकालेर अध्ययन जारी राखेँ । प्राइभेट एसएलसी दिएँ । हाल प्लस टुको कोर्स गर्दै छु । तर, ड्राइभर जागिर छाडेको छैन । 


ड्राइभिङको दौरान कहिले फुसलिङ, मुगलिङ हुँदै भारतको सीमासम्म पुग्छु । सैलानीहरूको सोखअनुसार कहिले टिस्टुङ कहिले पालुङ । कहिले प्यासेन्जरहरूलाई धादिङ पुर्‍याउनुपर्ने हुन्छ । अरेरे ! यी नामहरू त तामाङ भाषाका हुन् । कसरी भए ? के तामाङहरू नै त्यस ठाउँहरूका मुख्य बासिन्दा थिए ? अझ विस्तृत अध्ययन गर्दा काठमाडौँ, ललितपुर, भक्तपुरवरिपरि रहेका जिल्लाहरू, जस्तै– नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुरमा पनि तामाङकै बाहुल्य भएको सुन्छु । यहीँ काठमाडौँमा पनि ठाउँ–ठाउँमा यी नेपाल भाषाका नामहरू– मरुहिटी, ठहिटी, खिचापोखरी, चाबहिल, ठबहिल (ठमेल), गोंगबु, च्यासल आदि–इत्यादि नामहरू छन् । फेरि बसोबास नेवार जातिकै थिए, अझ छन् पनि । 


फेरि तामाङ शब्दको अर्थ केलाएर हेर्दा ‘ता’ को अर्थ ‘घोडा’ र ‘माङ’ को अर्थ ‘सवार’ । के हामी घोडसवार अर्थात् ‘रिसल्ला’ थियौँ ? तिग्य्राहा भन्नाले बलिया पिडौँला भएका जवानलाई बोध गर्छ । वरिपरि छरिएर बसेका यी बलिया रिसल्लाहरूले कुनै पनि वेला आक्रमण गर्न सक्छ भनेर उठ्नै नदिई, मासिने स्थिति सिर्जना गरेका हुन् कि ?  आजभोलि मनमा यस्तै प्रश्नहरू लिएर घोत्लिरहन्छु । के गरूँ ? आखिर म पनि त पिपाकै छोरो हुँ ।