• वि.सं २०७६ जेठ ११ शनिबार
  • Saturday, 25 May, 2019

धन्यवाद ‘डाक्टर’ जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ

व्यक्ति

२०७६ बैशाख १४ शनिबार ०८:२४:०० | काठमाडौं

बिरामी पर्दा हाम्रो आँखामा ठोक्किन आइपुग्छ, अस्पतालको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत ३ वर्षदेखि पाँच रुपैयाँमै बिरामीको उपचार गरिरहेका छन् । उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्राङ्गु फेन्दे क्लिनिक’का डाइरेक्टर हुन् । काभ्रेस्थित नमोबुद्धको थाङ्गु टासी याङ्जे गुम्बामा रहेको क्लिनिकबाट दैनिक सयौँले सेवा लिइरहेका छन् । 

गुम्बामा आउनुअघि वाङ्चुक गाउँगाउँमा स्वास्थ्य शिविर चलाउँथे । शिविर चलाउँदा–चलाउँदै बिरामी भएपछि उनको मुटुको अप्रेसन भयो । डाक्टरले आराम गर्नु भनेका छन् । तर, आराम गर्दैनन् ।  गुम्बाका लामासँगै गाउँलेको उपचारमा उनी खटिइरहेका छन् । स्वास्थ्य क्षेत्रमा उनको योगदानको कदर गर्दै विश्वकै धनी व्यक्ति बिल गेड्सको नाममा रहेको बिल गेड्स फाउन्डेसनले प्रत्येक वर्ष दिने अवार्डमा उनी पनि छानिएका छन् । बेलायती संस्था ‘वन योङ वल्र्ड’बाट उनी नेपालको तर्फबाट युथ अम्बास्डर पनि हुन् । अन्य थुप्रै अवार्ड र सम्मान पाएका छन् वाङ्चुकले ।  

चौँरीको पछिपछि
नमोबुद्धबाट देखिने पश्चिमी डाँडाबाट घाम अस्तायो । हावाको मन्द झोक्काले लुङ्दार फर्फराइरहेको थियो । बेलुकीको वातावरण बदलिदियो । कुहिरोको ससानो थुम्का छिचोल्दै केही चराका बथान तिमालतिर गइरहेका थिए । गेरुवस्त्र लगाएका वाङ्चुकले सुनाए– गणेश हिमालको फेदीमा चौँरीको पछिपछि हिँडेका दिनहरूदेखि आयरल्यान्ड, अमेरिका र बेलायतका सहरमा पुग्दासम्मका अनभूति । 

गोरखाको विकट गाउँ छेकम्पारमा जन्मिए वाङ्चुक । उनको बुबा चौँरी गोठालो । बुबासँगै उनी पनि चौँरी गोठमा गए । चौँरी गोठमा बिताएका क्षण उनको स्मृतिमा ताजै छन् । भन्छन्, ‘वर्षामा एकदमै दुःख हुन्छ । कुहिरो लाग्छ । नजिकैको चौँरी पनि देखिँदैन ।’ चौँरी गोठमा उनले ७ महिना बिताए । त्यतिन्जेल उनका लागि स्कुल भन्नु नै चौँरी गोठ थियो । गीतकार तथा संगीतकार आभासको एउटा गीत छ – लेकका हामी केटाकेटी कुहिरोभित्र स्कुल छ... । हो, वाङ्चुकको बाल्यकाल गीतले भनेजस्तै कुहिरोभित्र बित्यो । चौँरी चराउँदै बित्यो । गणेश हिमाल र मनास्लु हिमालको काखमा याकको पछिपछि हिँड्दा–हिँड्दै बित्यो । 

परिवारका माइला छोरा वाङ्चुक । उनी ७ वर्षको हुँदा परिवारले गाउँकै गुम्बामा पढ्न पठायो । त्यहाँ पढ्दा–पढ्दै थप लामा विद्या पढ्न ०५४ सालमा उनी बुबाको पछिपछि काठमाडौं आए । त्यो दिन सम्झिँदै भन्छन्, ‘घरबाट १० दिन हिँडेर काठमाडौं आइपुगियो ।’ उनी बौद्धको थाङ्गु टासी थेलिङ गुम्बामा लामा पढ्न थाले । 

‘गाउँमा चिठीपत्र, टेलिफोन केही पनि थिएन, बुबासँग छुटेपछि धेरै वर्षसम्म परिवारका कोहीसँग पनि भेट भएन,’ बोल्दाबोल्दै उनी रोकिए । बाल्यकाल आमाबुबाको साथविनै बित्न थाल्यो । उनलाई घरको यादले सतायो । हिमालको फेदीले न्यास्रो बनायो । गुम्बाको माथि बसेर उत्तरतिर फर्किएर गाउँ सम्झिँदै धेरै रोए । 

वाङ्चुक गुम्बाको चार दिवारभित्र आमा सम्झेर, गाउँघर सम्झेर रोइरहँदा उता उनकी आमा (फुर्बुबुटी लामा) जन्डिससँग लड्दै थिइन् । गाउँलेहरूले झारफुक गरे । झाँक्री लगाए । हिमाली जडीबुटी खुवाए । तर, बिरामी बीसको उन्नाइस भएन । बिरामी कुर्न गाउँभरिका मानिस उनको घरमा जम्मा हुन थाले । कोसेलीका रूपमा कसैले रक्सी लिएर गए । कसैले क्लोल्दो (घिउमा पिठो मिसाई बनाउने परिकार) लिएर गए । तर, उनकी आमालाई जन्डिसले झन् कमजोर बनाउँदै लग्यो । माइँला छोरा भेट्न नपाएको ९ वर्ष बितिसकेको थियो । वाङ्चुक घरको न्यास्रो लागेर टोलाइरहेको एक साँझ उनकी आमाले सधैँका लागि संसार छाडेर गइन् । 

यता वाङ्चुकलाई आमाले छाडेर गइसकेको थाहा दिइएन । पढाइ नबिग्र्रियोस् भनेर उनलाई कसैले यो घटना भनेनन् । निकैपछि अरूबाटै आमा बितिसकेको खबर पाए । सुन्नेबित्तिकै उनी गाउँ गए । उस्तै थियो गाउँ । उस्तै थियो हिमालको फेदी । उस्तै थियो बारीमा फलिरहेको गहुँको बाला । उस्तै थियो चौँरी र याकको बथान । तर, फरक थियो उनको घर ।  भन्छन्, ‘जुन चकटीमा बसेर आमाले खाना पस्किनुहुन्थ्यो, त्यहाँ आमा हुनुहुन्थेन । त्यसपछि म बेस्सरी रोएँ ।’ 

धेरै दिनसम्म घरमा धुमधुम्ती बसिरहे वाङ्चुक । बुबा (ठुक्देन लामा)लाई समयमै जानकारी नदिएको भन्दै गाली गरे । आमाको मृत्युको कारण सोधे । सबै कारण जन्डिस नै देखे । जन्डिस लागेको समयमै थाहा पाएको भए आज आमा आफ्नो कपाल सुमसुम्याइरहेको हुने उनले ठाने । त्यसपछि गाउँको अनभिज्ञता, गाउँको पछौटेपन, स्वास्थ्यप्रति गाउँको पुरानै मान्यता उनले देखे । अब उनलाई लाग्यो– लामा विद्या मात्रै पढेर केही हुन्न । भन्छन्, ‘डाक्टर बन्न नसके पनि एचए (हेल्थ असिस्टेन्ट) सम्म बनेर भए पनि स्वास्थ्य क्षेत्रमा केही गर्छु भन्ने अठोट गरेँ ।’ मनभरि अठोट अनि आमाको याद बोकेर वाङ्चुक सहर फर्किए ।  

त्यो घटना
आमाको मृत्युपछि वाङ्चुकको यात्रा मोडियो । भन्छन्, ‘मेरो जस्तै घटना अरूले व्यहोर्न नपरोस् भन्ने लाग्यो ।’ त्यसपछि गुम्बाभित्रै बसेर ‘नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी’ (निम्स) ग्वार्कोमा एचए पढ्न थाले । पढ्दा–पढ्दै उनले गाउँगाउँमा स्वास्थ्य शिविर चलाए । गुम्बामा बस्दा बनाएका विदेशी साथीहरूसँग सहयोग लिए । उनीहरूलाई नेपाल बोलाए । ती साथीहरूलाई लिएर गाउँगाउँमा स्वास्थ्य शिविर चलाए । निःशुल्क स्वास्थ्य शिविर चलाउँदै उनी गोरखा, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, धादिङ पुगे । शिक्षाबाट वञ्चित मानिसहरूलाई आधारभूत स्वास्थ्य शिक्षा दिए । भन्छन्, ‘मेरो आमाको जस्तै अवस्था अरूको पनि नहोस् भन्ने लागिरहन्छ ।’ 

वाङ्चुकले ०७० मा एचए सके । तर, बिरामीहरू उनलाई ‘डाक्टर’ भन्छन् । तर, एक वर्ष बित्दानबित्दै वाङ्चुकको जीवनमा अर्को दुःखद् घटना भयो । स्वास्थ्य शिविर लिएर गाउँगाउँ घुम्दाघुम्दै उनलाई टन्सिल भयो । टन्सिल निको भएन । चिसोले होला भन्ने ठाने । तर, महिनौँ निको नभएपछि अस्पताल गएर जँचाए । रिपोर्ट आउँदा उनी छाँगाबाट खसेजस्तै भए । रिपोर्टमा एएसडी (मुटुमा प्वाल पर्ने रोग) देखियो । उनलाई विश्वास लागेन । फेरि जँचाए । रिपोर्ट उही आयो । भन्छन्, ‘त्यसवेला मलाई आमाको सम्झनामा गाउँगाउँमा पुगेर स्वास्थ्य शिविर चलाउने सपना अपूरै हुने डरले सतायो ।’

वाङ्चुकको ओपन हार्ट सर्जरी गर्नुपर्ने भयो । डा. ज्योतिन्दर शर्माले उनको अप्रेसन गरे । करिब ९ घन्टा बेहोस भएपछि उनी होसमा आए । उनले पुनर्जीवन पाए । छातीको दाग देखाउँदै उनले भने, ‘मेरो अप्रेसन सफल भयो । अब म बाँच्छु भन्ने लाग्यो ।’ उपचार सफल हुँदा–नहुँदै उनको जीवनमा अर्को मोड थपियो । त्यो मोड सुखद मोड थियो । 

विश्वरभरिका स्वास्थ्यकर्मी समाजसेवीको आयरल्यान्डको डब्लिनमा हुने ‘वन योङ वल्र्ड कन्फेरेन्स’ मा उनी सहभागी भए । त्यही कन्फेरेन्सबाट उनी नेपालको तर्फबाट ‘युथ अम्बास्डर’ बने । लन्डनको ‘हेप्पोक्रेटिक पोस्ट’ पत्रिकाबाट अवार्ड पाए । यही सेप्टेम्बरमा उनलाई ‘विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ले प्रत्येक वर्ष वितरण गर्ने ‘गोल्ड किपर्स अवार्ड–२०१८’ बाट सम्मानित गर्ने भएको छ । संसारकै धनी व्यक्तिको फाउन्डेसनबाट सम्मानित हुन पाउँदा वाङ्चुक खुसी छन् ।

वाङ्चुक नमोबुद्ध गुम्बाको ‘ठ्राङ्गु फेन्दे क्लिनिक’मा काम गर्छन् । उनी एचए हुन् । तर, बिरामी उनलाई ‘डाक्टर’ भन्छन् । उनी क्लिनिकमा डाइरेक्टरका रूपमा कार्यरत छन् । भन्छन्, ‘मेरो कुनै तलब छैन । यही गुम्बामा बस्छु । लामाहरूको उपचार गर्छु । गाउँलेहरूको उपचार गर्छु ।’ 

५ रुपैयाँमा उपचार
०७३ सालदेखि वाङ्चुक नमोबुद्धको गुम्बामा रहेको ‘ठ्राङ्गु फेन्दे क्लिनिक’ मा कार्यरत छन् । सुरुमा क्लिनिक इन्चार्ज र अहिले उनी डाइरेक्टरका रूपमा कार्यरत छन् । भन्छन्, ‘मेरो कुनै तलब छैन । यही गुम्बामा बस्छु । लामाहरूको उपचार गर्छु । गाउँलेहरूको उपचार गर्छु ।’ क्लिनिक हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार आममानिसका लागि खुला हुन्छ । अन्य दिन गुम्बाभित्रैका लामाहरूको उपचार हुन्छ । क्लिनिकमा ओपिडी सञ्चालनमा छ । क्लिनिकमा एकजना एमबिबिएस, एकजना बिसिएस, एकजना ल्याब टेक्निसियन र एकजना सिएमए कार्यरत छन् । 

क्लिनिकमा टाढा–टाढाबाट मानिस उपचार गर्न आउँछन् । ‘काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुलीबाट पनि बिरामी आउँछन्,’ उनले भने । गाडी नै रिजर्व गरेर मानिसहरू आउने गरेको उनको अनुभव छ । भन्छन्, ‘कतिपय बिरामी काठमाडौंमा उपचार नहुने भएपछि यहाँ आउँछन् ।’ मानिसहरू वाङ्चुक कार्यरत क्लिनिकमा जानुका केही कारण छन् । धार्मिक आस्थाले आउने बिरामी पनि होलान् । तर, त्यहाँ मात्रै पाँच रुपैयाँमा उपचार हुने भएपछि बिरामीहरू आउने गरेको उनी बताउँछन् ।  भन्छन्, ‘ओपिडी कार्डको ५० रुपैयाँ लिने गरेका छौँ । त्यसपछि क्लिनिकमा उपलब्ध सम्पूर्ण सेवा पाँच रुपैयाँमा हुन्छ । ५ रुपैयाँभित्रैबाट बिरामीले औषधि आवश्यकताअनुसार लैजान पाउँछन् ।’ 

क्लिनिकमा रुघाखोकी, झाडापखाला, घाउखटिरा, ज्वरो, सुगर चेक, युरिक एसिट चेकलगायतको उपचार हुन्छ । त्यस्तै प्यारालाइसिसका बिरामीको समेत उपचार हुन्छ । भन्छन्, ‘एक्कुपञ्चर विधि र आयुर्वेदिक उपचार पनि हुन्छ ।’ दैनिक ६० देखि सयजनासम्मलाई सेवा दिइरहेको उनी बताउँछन् । नमोबुद्ध नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक दिनमान गुर्मछान नगरपालिकाबाट स्वीकृति लिएर क्लिनिक सञ्चालन भइरहेको बताउँछन् । वाङ्चुकबारे उनी भन्छन्, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा एकदमै सक्रिय समाजसेवी हुनुहुन्छ उहाँ ।’ 

ओपन हार्ट सर्जरी गरेका वाङ्चुकलाई डाक्टरले धेरै भारी काम नगर्नू भनेका छन् । तर, उनी खटिइरहन्छन् । क्लिनिकसँगै उनी कहिले पुग्छन् स्वास्थ्य शिविर लिएर गाउँगाउँमा, कहिले पुग्छन् अनाथालयमा । कहिले पुग्छन् मासिक रिपोर्ट लिएर नगरपालिका कार्यालय । उनले भूकम्पपछि आमाको सम्झनामा गोरखामा हेल्थपोस्ट पनि बनाए । उनी रोकिएका छैनन् । भन्छन्, ‘यो जुनीमा समाजसेवा गरेर जीवन बिताउने मेरो योजना हो । म हिँडिरहन्छु ।’ 
०००
गुम्बाभित्र पढाइ सकेर विद्यार्थीहरू बाहिर निस्कन थाले । गुम्बामा साँझको बत्ती झलमल बल्न थाल्यो । पश्चिमी आकाश अब पूरै अँध्यारो भइसकेको थियो । वाङ्चुक हाँस्दै आफ्ना जीवनकथा सुनाइरहेका थिए । भर्खरै विश्व अनाथ दिवसमा बालबालिकालाई लत्ताकपडा बाँडेर आएको पनि सुनाए । आगामी सपनाबारे उनले भने, ‘मानिसहरू सिटामोल खान नपाएर मरिरहेका छन् । म उनीहरूकै लागि निरन्तर लागिरहनेछु ।’

 

प्रतिकृया दिनुहोस