• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दुर्लभ काइँला
२०७९ जेठ १४ शनिबार ०६:४८:००
साहित्य

पश्चगमनको अर्धचेत लोरी

२०७९ जेठ १४ शनिबार ०६:४८:००
दुर्लभ काइँला

अठार घन्टा खटिनुपर्ने समयमा
नौ जवानहरू आलस्य निदाइरहेछन्
‘पसिनाको गन्धले मातिएर
शासक बौलाएपछि
लाग्छ– समय पनि आलस्य निदाइरहेछ
–यसरी व्यतीत हुन्छ एक युवाको उर्वर समय
जस्तो कि– नफली सिक्रा भएर गुज्रिन्छ रूखको जीवन ।
भोकले मर्छु– जिम्मावालकोमा बस्दिनँ हली
कारखाना खोज्दै आइपुगेको हो ऊ सहर ।


अधियाँ खेतीले आधा वर्ष नधानेपछि
बाँझै छन् भूपतिको जमिन
कहाँ छ ? वैज्ञानिक खेती प्रणाली
एक पैताला टेक्न खोज्ने जमिन किसानको छैन रे
कमलरी दिदीमाथिको ज्यादती
बिनाबाउको बच्चा जन्मिएपछि
कुलीन वर्गले गर्नेछ न्वारन–खाते
चोर औँला मुखैसामु ठड्याउँदै
स्वउ...सांकेतिक भाषामै धम्क्याउँछ–पञ्चले
न्यायको तराजु असमानताको भारीले थिचेर
किनारा लागेको गन्तव्यहीन– लाटीको छोरा
पोहोर हर्के पार्सल बाकसमा आएपछि
छोरा अरब नजा भन्नुहुन्छ आमा
उत्पादन र उद्योगधन्दा बन्द छन्
सम्झौता बदर गरेर
ज्याला–भुक्तानी नगरी भागेकोछ
बहुराष्ट्रिय कम्पनीको ठेकेदार
कसरी बल्छ मजदुरको चुलोमा आगो ?
चरमबिन्दुमा पुगेकोछ बजार भाउ
दिनभरिको हाजिराले चैनसंग कट्दैन रातको आधापेट
केटाकेटी गल्लीमा चिच्याइरहेछन्
‘वर्षौँदेखि आमा भेन्टिलेटरमा छिन्
जीर्ण छ जीर्ण विधि र विधान
दर्शन र वादमाथिको सांघातिक आक्रमण
कसरी हिँड्छ ठिक समय संसार ?
कोशौँ टाढा छ समाजवाद
तिर्खाले आजित जतिबेलै ढल्न सक्छ कम्रेड युगीन
कसले पूरा गर्नेछ बाँकी क्रान्ति ?

 

अठार घन्टा खटिनुपर्ने समयमा
नौ जवानहरू आलस्य निदाइरहेछन्
कसरी समृद्ध बन्छ देश ?

 

यो सहरका महल र दरबारभन्दा
सुन्दर र अग्ला–अग्ला वर्गीय सपनाको उन्मुलन
चराजस्तै उन्मुक्तिका चाहना
क–कसले कैद ग¥यो पुँजीपतिको खोरमा ?
मान्छे रूपान्तरित भेडाको टाउको
घाँस खा भन्दै पेस्तोल देखाउँछ
राज्यले पालेको पेसेवर आपराधिक बर्डिगार्ड
हलचल गरिस् भने...
कतै लेखिस् भने...
तरबार देखाउँछ दलाल मासु पसले
र भन्छ यसको जिब्रो र गिदी
मालिकलाई–सितन
रगत र पसिना– सोमरस

 

हिटलरको टाउको
निस्फिक्री लगाएर बजाइरहेकोछ–निरो
पृष्ठभूमिमा जल्दै छ–जनताको जनवाद
जलिरहेकोछ–गणतन्त्र
बेपता बाउजस्तो–लापत्ता छन् असली पहरेदार
यस्तो कारुणिक दृश्यमा
फ्रस्टेसन र डिप्रेसले
आत्महत्या गर्न नसकेर
थकित कार्यकर्ताहरूको इमान्दार हालत
ढुलमुलिएको सर्वहारा भविष्य
के स्कुलिङ भइरहेको छ नयाँ पिँढीमा ?

 

डाक्टरहरू बताउँदैनन्
सीधा–सीधा–आमाको नाजुक स्थिति
विशेषज्ञहरू दिँदैनन्
अचुक उपाय–घाउ कुहिसक्यो
अस्पष्टताले साइकोपन बढाउँछ
निजी सम्पत्तिले क्रुर प्रवृत्ति मौलाउँछ
पुँजीवादले जार तानाशाह जन्माउँछ
शासक मातिएर बौलाएपछि
अठार घन्टा खटिनुपर्ने समयमा
नौ जवानहरू आलस्य निदाइरहेछन्
देशव्यापी बजिरहेको –
पश्चगमन ... पश्चगमन...
पश्चगमनको अर्धचेत लोरीमा
धिमा–धिमा गतिमा,
–उसले घरप्रतिको जिम्मेवारी बिर्सिँदै गएको छ 
–देशप्रतिको दायित्व बिर्सिँदै गइरहेको छ
साँच्चै ऊ सजीव छ कि निर्जीव ?
–ऊसले आफैँलाई बिर्सिँदै गइरहेको छ

 

पसिनाको गन्धले
मातिएर शासक बौलाएपछि
बिर्सिएर अक्टुबर यात्रा उत्तरार्ध
आफैँलाई जलाउन कुदिरहेछ मलामी
हानेर इलेक्ट्रो कन्भल्सिभ थेरापीका झड्का
फर्काउ... फर्काउ... फर्काउ
हामीलाई समाजवादको‘तीन चुला’मा
पकाउनु छ समताको रोटी ।