• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
बाबु साहेब
२०७९ जेठ १४ शनिबार ०६:५३:००
साहित्य

कविताको भिडमा ‘एकान्त भिड’

२०७९ जेठ १४ शनिबार ०६:५३:००
बाबु साहेब

०७४ मंसिरको एउटा साँझ । पोखराको पृथ्वीचोकमा कवि अमृत क्षेत्रीसँग भेट हुँदा करिब साढे सात भइसकेको थियो । हाम्रा दुई जोर पैतालाले सडकको लम्बाइ नाप्दैनाप्दै हिँडे । र, निस्कियौँ फेवाताललाई एक फन्को मार्न । अमृत क्षेत्री वेलावेला निकै भावुक लाग्ने, वेलावेला निकै चञ्चल । वेलावेला ‘ल एकछिन रनिङ गरौँ’ भनिहाल्ने, वेलावेला ‘ल एकछिन दुबोमै निदाऊँ’ भन्दै पल्टिने । वेलावेला एकअर्काका कविताहरू सुन्थ्यौँ । वेलावेला सम्झिन्थ्यौँ, कुनै मन पोल्ने गजलको शेर । जेहोस, मैले त्यसदिन अमृत क्षेत्रीको बहुआयामसँग खुब इन्जोय गरेँ । 


साँझ करिब ७ बजे फेवाताललाई एक फन्को लगाएर फेरि लेकसाइड आइपुग्यौँ । साँझको अनुहार अँध्यारो हुनुपूर्व अमृत क्षेत्रीलाई सोधेँ, ‘दाइ कविताको बुक कैले निकाल्ने ?’ दाइको अनुहार उज्यालो भयो ।


क्रिसमसको पूर्वसन्ध्यामा ...


फेसबुकमा अमृत क्षेत्रीले पोस्ट्याए, ‘क्रिसमस आयो, जसु आइन् र आयो एकान्त भिड ।’ यसपालि मेरो अनुहार उज्यालो भयो । एकान्त भिडलाई इन्डिगो इंकले बजारमा ल्याइपुर्‍यायो । जम्मा ७९ वटा कविता रहेको संग्रहमा चार खण्ड छन् । देश, समाज, भावना र प्रेम नामका । यहाँ तिनै चार खण्डलाई छुट्टाछुट्टै केलाउन खोजिएको छ ।


देश

देश खण्डमा ११ कविता छन् । जहाँ पोखिएका छन्, कविका गुनासा, रिस, आवेग र प्रश्न । जीवनको एक हिस्सा ऊर्जावान् समय परदेशमा बिताएका उनले देश छाड्ने वेलाका साँझहरू विरक्त लाग्ने थिएनन् । बरु थिए, कल्कलाइरहने फूलजस्ता, भ्यालेन्टाइनको पूर्वसन्ध्यामा प्रेमिल जोडीले देख्ने सपनाजस्ता वा बच्चालाई स्तनपान गराइरहेकी आमाको अनुहारजस्तो । 


जब उनी फेरि देश फर्किन्छन्, साँंझहरू फेरि उदास पाउँछन् । शासकलाई जनताका आधारभूत आवश्यकताभन्दा ज्यादै टाढा पाउँछन् । देशको विसंगतिले उनको सपनामाथि आकाश खस्छ । कविको मान्यता छ, ‘यो देशको झन्डामा यही देशको हरेक वर्गले उनेका छन्, आ–आफ्नै रङका धागाहरू ।’ तर, झन्डाको अनुहारसमेत उदास छ । कवि प्रश्न गर्छन्, ‘किन झोक्राएको छ यो देशको झन्डा ?’


तर कतैकतै कवि चिप्लिएका छन् । कवितामा कतै विसंगति भेटिन्छन् त कतै–कतै अति भावुकताले हिर्काउँछ कविलाई । र, लेखिदिन्छन्, ‘म जन्मिँदा यो देशको नक्सा मेरो मुटुमा कोरिएको थियो ।’ यसरी भावनाको उच्च आवेगमा लेखिएका शब्दहरूले ठ्याक्कै कस्तो अर्थ बोक्छन् ? कवि नै जानून् । तर समग्रमा देश खण्डका कवितामार्फत कविले देशको अराजकता र विसंगतिलाई उदांगो पारिदिएका छन् ।


समाज
समाज बहुआयामहरूको सिंगो स्वरूप हो । यहाँ अनेकन् भाषा, संस्कृति, समुदाय वा वर्गहरूको मिश्रण मात्र पाउँदैनौँ । पाउँछौँ, हाम्रा अनेकन् भावना, आगेव, प्रेम, माया वा घृणाको एउटा सिंगो स्वरूप । 


एउटा सामान्य मान्छेको आँखाबाट रुँदा केवल आँसु देखिन्छ, पीडा देखिन्छ । कवि अमृत यो मामिलामा अलिक भिन्न छन् । उनी हरेक पीडा र दुःखका पछाडि अलिकति खुसी खोजी हिँड्छन्, हरेक अँध्यारोपछाडि अलिकति उज्यालोको सम्भावना देख्छन् । उनका कविताका प्रकृतिहरू देख्दा लाग्छ, उनी उज्यालोका पथप्रदर्शक हुन् । 


‘मान्छे भएको छ’ शीर्षकको कविता पढिसकेपछि मलाई सुखानुभूति भएको छ । कवि लेख्छन् :
‘उसलाई थाहा थिएन 
आफ्नो बार्दलीमा गौंथलीले गुँड बसाएको 
आफ्नो शिरमाथि माकुराले जालो बुनेको 
सिलौटामा मसलाको कलेंटी परेको ।’

 

महत्वाकांक्षाले थिच्दै लगेर मान्छेलाई समयको कालो गुफामा धकेलिदिएको छ । छोराछोरीको घुँडामा पिलो आयो वा बाआमाको बंगारा फुस्कियो ? ऊ यी विषयमा सोच्नु, समय निकाल्नु भनेको फगत समयको बर्बादी हो भन्ने ठान्छ । ऊ कहाँ यत्तिकै रोकिन्छ र ? परिवारमा एकसाथ बसेर खाना खान, श्रीमान्–श्रीमतीको प्रेमको कुरा सुन्न वा फुर्सदले सास फेर्नसमेत फुर्सद छैन मान्छेलाई । 

कुनै कविता पढिरहँदा लाग्छ, कवि अमृत दुःख वा अभावको एउटा सागर तरेर पुगेका हुन्, आमनेपालीले देख्ने सपनाको एउटा बिन्दुमा । उनलाई दुख, गरिबी र अभावले आगोले भन्दा ज्यादा कसरी पोल्छ, राम्रोसँग थाहा छ ।


यसरी रन्थनिरहेको मान्छेलाई ज्यादै सुन्दर र फुर्सदिलो बनाएको लकडाउनको फरक आयामलाई अमृत टपक्क टिप्छन् र कविता लेख्छन् । लेख्न उनले पनि सक्थे, कविको बाँकी हिस्साले झैँ आँसु वा पीडाको बिकाउ कविता मात्र । तर, उनी यसको पछि लाग्दैनन् र आफ्नै अग्र्यानिक हस्ताक्षर बनाउने यात्रा तय गर्छन् । 
कतैकतै भने कविले महसुस गर्छन् । अचेल बिथोलिन थाल्यो एकान्त । अचेल छैन गाउँ गाउँजस्तो, सम्बन्ध छैन सम्बन्धजस्तो, र समाजको सुगन्ध, फिकाफिका बन्दै गइरहेछ । कवि भन्छन्, ‘अचेल सहरको सपनाले गाउँको सभ्यता उधिन्दै लगेको छ, र छोट्याउँदै लगेको छ गाउँको आयु ।’


कुनै कविता पढिरहँदा लाग्छ, कवि अमृत दुःख वा अभावको एउटा सागर तरेर पुगेका हुन्, आमनेपालीले देख्ने सपनाको एउटा बिन्दुमा । उनलाई दुःख, गरिबी र अभावले आगोले भन्दा ज्यादा कसरी पोल्छ, राम्रोसँग थाहा छ । त्यसैले उनका कविताको आत्मा त्यतै कतै पुग्छ र पोखिन्छ शब्दमार्फत । प्रेमविना गरिने हरेक कुरा अमृतको कवि स्वभावसँग मेल खाँदैन । म निर्धक्क भन्न सक्छु, कुनै दिन अमृतका कवितामा घृणाको कुरा आयो भने पनि प्रेमपूर्वक आउनेछ । बडो संयमित भएर लेख्नेछन्, उनले हतारको कविता पनि । सम्झनाको पवित्र आयुमा प्रेमको रङ घुलेर लेखेका कुनै कविता ज्यादै सुन्दर छन्, ‘उस्तै हामी’ शीर्षकको एउटा कविता यसरी सुरु हुन्छ :


‘तिम्रो र मेरो सहयात्रा 
केवल त्यही चोकसम्म थियो
तैपनि पत्रैपत्रले बेरिएर
हामी पर–परसम्म सँगै हिँड्यौँ ।’

 

कविताका यी पंक्ति पढ्दा जोकोहीको हृदयमा आइपुग्छन् । सँगै सुन्दर सपना देखिएका सहयात्री आँखाहरूको सम्झना जो छुट्न त जीवनबाट छुटिगएका थिए । तर, छन् हृदयको कुनै भूगोलमा अझैसम्म र सायद रहनेछन् भोलिसम्म । 


कविको मान्यता छ, ‘प्रकृति वा समयको सत्य बदल्छु कि कतै मान्छे गरिरहेका अनेक दुष्प्रयास ।’ कोरिरहेछ छुत–अछुतको रेखा । बनाइरहेछ सम्पन्न–विपन्नबीच पर्खाल । गरिरहेछ, जात वा धर्मको राजनीति र मुख्यतः खेलिरहेछ सिँगौरी समयसँग । तर, कवि दृढ छन्, समयलाई जितेर पुग्ने छैन मान्छे अघि । ‘समाज’भित्रका १३ कविताहरू पढ्दा कविताको बहुआयामसँग सजिलै घुल्न सकिन्छ । तर, कतैकतै कविताहरूको भाषा नमिलेको पक्कै छ । एउटै कवितामा जोड्नुपर्ने फरक विषय वा सन्दर्भमा कविले धेरथोरसमेत विचार पुर्‍याएका छैनन् । 


प्रकृतिको आफ्नै स्वरूपमा विश्वास राख्ने स्वभाव कविता लेखनमा समेत देखाएका छन् कविले । त्यसैले कवितालाई कलाले सिँगार्न खोजेका छैनन् । यसैको असर कविता सुन्दर हुँदासमेत आकर्षक देखिएका छैनन् ।


भावना 
संग्रहको तेस्रो खण्ड हो भावना । यो खण्डका ३४ कविताहरू सरसर्ती पढिसक्दा लागेको थियो, कविता सुन्दर र सरल बन्न कविको आफ्नै वैयक्तिक स्वभावले ज्यादै प्रभाव पार्दो रहेछ । लामो समयदेखि म कवि अमृत क्षेत्रीको सरल र मिजासिलो स्वाभावसँग परिचित र प्रभावित थिएँ । मलाई थाहा भएसम्म उनको हृदयमा अँध्यारो छैन । तेस्रो खण्डका कविताले मेरो मान्यतामा अझै बलियो आधार बनाइदिए । 


यो खण्डको शीर्षक ‘भावना’ दिएर कविले बडो सुझबुझ अपनाएका छन् । अरू खण्डमा देखिने लयको समस्या यो खण्डमा उस्तो देखिँदैन । बरु, यो खण्डमा देखिन्छ, भावनात्मक उत्कर्ष र उत्तेजनाको सुन्दर र कुरूप मिसावट । कविको मान्यता छ, ‘समयले फ्याँक्न सक्छ, दुःखको मिसाइल र दिन सक्छ सुरक्षाकवच पनि । परिस्थितिको आत्मसात् र दुःखसुखको स्वीकारोक्ति गर्ने क्षमता मान्छेको आधारभूत आवश्यकता हो ।


भोको इतिहास, बाँकी समयको खोजी, नचिनेको बाटो र अलमल मान्छे जस्ता सुरुवाती कविताहरू औसत छन् । सहरमा शीर्षकको कविताले तीव्र सहरीकरणको ज्यादै सुन्दर चिन्ता गरेको छ । बेपत्ता हामी, दोधार यात्राहरू र फेरि अँध्यारोमा शीर्षकका कवितामा पोखिएको एउटा आममान्छेको कथा । देउताविरुद्धको हाँसो, आफ्नो खोजी, मृत्युको भय, युद्धको बदलामा मुस्कान, मैले पनि चिन्नु छ, शून्य समाधिजस्ता कविताले कविको दार्शनिक आयामको सुइँको दिन्छन् भने फूल पुतली र दियो शीर्षकको सबैभन्दा छोटो कवितामा सबै दर्शन, वाद वा सिद्धान्तको टेकोमा बसेर गर्न सकिन्छ लामो बहस । 


प्रेम 
हृदयले पहिलोपटक प्रेम महसुस गर्ने वेला, जो हुन्छ एउटा सुन्दर छट्पटी वा सपनाको मान्छेलाई बिदाईको हात हल्लाउँदा जो हुन्छ एउटा गह्रौँ मुटु र जब बाँच्नुपर्छ । यादहरूको बमबारीको निसानामा परेर मान्छे कहिले ईश्वरजस्तो बन्छ, कहिले दानवजस्तो । प्रेमका यी सवै आयामलाई ज्यादै लोभलाग्दो तरिकाले प्रस्तुत गरेका छन् कविले ।

 
प्रेमको अभाव वा अविश्वासमा मान्छे कति तड्पिन्छ ? विश्वास जितेपछि एकपटक मान्छे कति इमानदार बन्न सक्छ प्रेमका लागि ? कसरी पर्खिन सकिन्छ आफ्नो मान्छेलाई जीवनको अनन्त कालसम्म ? ज्यादै उत्कृष्ट नमुना पेस गरेका छन् कविले । यति मात्र होइन, प्रेमको विकृति व्यापारमाथि पनि चलेको छ कविको कलम, म पागल शीर्षकको कवितामा, प्रेमले दिन सक्ने दिक्दारी वा डिप्रेसनको लेखाजोखा छ भने ‘फूलको व्यापार’ शीर्षकको कवितामा फूलसँगै प्रेमलाई जोडेर लोभलाग्दो प्रहार गरेका छन्, प्रेमको विकृत स्वरूपबारे । समग्रमा प्रेम खण्डका कविताहरू प्रेमजस्तै छन् ।


समग्रमा, एकान्त भिडभित्रका यी ७९ कविता ज्यादै सरल छन् र सुन्दर छन् । कविताका एकाध भाषिक विचलन र विसंगतिलाई हटाएर भन्न मिल्छ भने यो कविता संग्रहलाई सुन्दर कविता संग्रह भन्दा कत्ति अत्युक्ति हुँदैन । कविलाई आगामी काव्ययात्राको शुभकामना !