• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अनु आचार्य
२०७९ जेठ १४ शनिबार ०६:५९:००
समाज

पुस्तान्तरण हुँदै बालविवाह

२०७९ जेठ १४ शनिबार ०६:५९:००
अनु आचार्य

म ९ वर्षकी थिएँ । दुलाहा १२ वर्षका थिए । पुतली खेलेजसरी हाम्रो बिहे भयो ।’ ६० वर्षअघि आफ्नो विवाहको कुरा सम्झिँदा आज पनि सावित्री (नाम परिवर्तन) को आँखा रसाउँछ । सावित्रीको माइतीबाट बिहे गरेर दिइएको रसुवाकै कालिका गाउँ पुग्न एक दिन लाग्थ्यो । ‘मेरो बिहे हुँदा मलाई बिहे के हो भन्ने पनि थाहा थिएन । आफूलाई कहाँ लगिँदै छ भन्ने पनि थाहा थिएन । आमाले डोलीमा चढाएर पठाएको र रुँदै आएको मात्रै सम्झना छ,’ सावित्री भन्छिन् ।सावित्री १६ वर्षकी हुँदा उनको पहिलो बच्चा जन्मियो । २०१० सालमा जन्मेकी सावित्रीले २०२६ सालदेखि लगातार २५ वर्षसम्म लगभग डेढ–दुई वर्षको अन्तरालमा १० सन्तान जन्माइन् । तीमध्ये दुई छोरा सानैमा बिते ।


‘गरिब थियौँ, राम्रो खानेकुरा खान पाइँदैनथ्यो । मिठो–मसिनु खान चाडबाड नै आउनुपथ्र्यो,’ सावित्री भन्छिन् । छोराछोरी जन्मिएपछि शरीरलाई आरामसम्म नदिई कामधन्दा गर्नुपरेको उनी सुनाउँछिन् । ‘सानैदेखि धेरै काम गर्नुपर्‍यो, ज्यानले कहिल्यै आराम पाएन । सानैमा विवाह भएकाले धेरै सन्तान जन्मिए । शरीर कमजोर भएकैले होला पाठेघर खस्यो । शरीर कमजोर भयो । खेतबारीको धुलो र घरभित्रको धुवाँले होला, सास फुल्छ । शरीर रोगको घर भएको छ ।’ अहिले सावित्रीलाई छोराछोरीले हेर्छन् । वृद्धभत्ता पाएकी छिन् ।


घरघडेरी र सानो कोठेबारी मात्रै भएकाले उनले धेरै खेती–किसानी गर्नुपरेन । त्यसैले उनका श्रीमान् भारी बोक्ने काम गर्थे । भारी बोकेर आएको पैसाले पेटमा माड लगाउन जेनतेन पुगे पनि कुनै पनि छोराछोरीलाई पढाउन सकेनन् । ‘कान्छो छोराले एसएलसीसम्म पढ्यो । कान्छी छोरीले एमए गरी । पढाउन सकेको भए अघिकाले पनि त पढ्दा हुन्, तर पढाउनै सकिएन ।’ सावित्रीलाई सबै छोराछोरी पढाउन नपाएकोमा आफैँप्रति गुनासो छ । आफूले भोगेकाले सावित्रीले पछिल्ला सन्तानलाई कहिल्यै चाँडै बिहे गर्नुपर्छ भनिनन् । उनकी कान्छी छोरीले २७ वर्षको उमेरमा हालै विवाह गरेकी छन् । 


केही दशकअघिसम्म पनि बाहुनक्षेत्री समुदायमा महिनावारी नहुँदै कन्यादान गरेमा धर्म हुन्छ र स्वर्गमा गइन्छ भन्ने सोचाइ थियो । कलिली छोरीलाई ‘दान’ गरेर पुण्य कमाउन र छोराको बिहे गरिदिएर घरमा त्यस्तै उमेरकी काम गर्ने मान्छे ल्याउन कसैलाई अप्ठ्यारो लाग्दैनथ्यो । 


थाहा छैन, सावित्रीका आमा बा कुन स्वर्गमा पुगे, तर सावित्रीले भने बालापनदेखि नै गर्भधारणको बोझ बोक्ने नारकीय पीडा भोगिन् । सावित्री भन्छिन्, ‘शत्रुलाई पनि त्यस्तो नपरोस् नानी ।’ उनी आफैँ आश्वस्त हुन्छिन्, ‘अब त त्यस्तो कसैलाई पर्दैन पनि । भगवान्ले दिएको भन्दै नानी पाएको पायै गर्न अहिले त कसलाई कर छ र !’ उनी आफूले परिवार नियोजनका साधनले दिएको स्वतन्त्रता अनुभव गर्न पाइनन् । र पनि त्यसले अहिलेका महिलालाई दिएको उन्मुक्तिप्रति सकारात्मक छिन् ।


धर्मका नाममा पहिलोपटक रजस्वला हुनुअघि नै छोरीहरूको विवाह गरिदिने चलन बाँकी छैन, तर बालविवाह भई नै रहेको छ । अहिले पनि बालविवाह भइरहने एउटा क्षेत्र हो, रसुवाको माथिल्लो भेग । पाँच वर्षअघि रसुवा हाकुकी कालिका (नाम परिवर्तन) को ११ वर्षको उमेरमै विवाह भयो । केटा पनि उनकै उमेरका थिए ।

 
भूकम्पका कारण हाकुबाट विस्थापित भएर उत्तरगया गाउँपालिकामा बस्दै आएकी कालिका अहिले १६ वर्षकी भइन् । उनी दुई सन्तानकी आमा भइसकेकी छिन् र गर्भमा तेस्रो सन्तान पनि हुर्किंदै छ । किन यति सानै उमेरमा बिहे गरिन् त ? उनी भन्छिन्, ‘हामी दुवैले एक–अर्कालाई मन परायौँ । उसले भागेर बिहे गरौँ भन्यो, मैले पनि मानिहालेँ ।’


कालिकाले लहैलहैमा बिहे त गरिन्, त्यसपछि भने कैयौँ समस्या झेल्नुपर्‍यो । विवाह गरेपछि पढाइ छोडिन् । त्यसपछि दुवैजनाले ज्याला मजदुरी गरे । भन्छिन्, ‘जसोतसो छाक टार्न काम त गर्नैपर्‍यो ।’

६ दशकअघि बालखैमा विवाह गर्दा सावित्रीले भोगेको दुःख र कालिकाले भोगिरहेको दुःखमा समानता छ


बच्चा जन्मेपछि अर्को समस्या आयो । उमेर नपुगेकाले उनीहरूको नागरिकता थिएन । सानैमा बिहे गरेकाले विवाह दर्ता पनि भएन । बच्चाको जन्मदर्ता मुस्किलले बन्यो । १६ वर्ष नपुग्दै आमाबुबा बनेका किशोर–किशोरीको बच्चाको जन्मदर्ता गराउन समस्या भइरहेको उत्तरगया गाउँपालिका–१ का तत्कालीन वडाध्यक्ष बमबहादुर तामाङ बताउँछन् । ‘सरकारले दिने बालपोषणबाट वञ्चित नहोस् भनेर कतिपयलाई हजुरबुबालाई साक्षी राखेर जन्मदर्ता दिइरहेको छु,’ उनी भन्छन् । उनका अनुसार उमेर नपुगी विवाह गर्नेहरू धेरै छन् । बच्चा जन्मेपछि मात्रै विवाह भएको थाहा पाइने गरेको उनी सुनाउँछन् । अहिलेसम्म उमेर नपुगेका ११ जनालाई हजुरबुबा साक्षी बसेर जन्मदर्ता दिइएको वडा कार्यालयको तथ्यांक छ । यस्तो समस्या थुप्रै बालबालिकाले भोगिरहेका छन् । कालिकाले त मन पराएर बिहे गरिन्, तर अझै पनि उमेर नपुगी बिहे गर्ने चलन रसुवाको माथिल्लो भेगमा हटेको छैन । 


जेलिएका समस्याहरू
पुण्य कमाइने र स्वर्गलोकको द्वार खुल्ने अन्धविश्वासले बालखैमा विवाह बन्धनमा बाँधिएका सावित्रीजस्ता महिला अहिले पनि धेरै पाइन्छन् । अन्धविश्वास केही कम भए पनि रसुवाको माथिल्लो भेगमा तामाङ समुदायको सानैमा पोङ खुवाएर मामाचेला फुपूचेलाबीच विवाह गरिदिने परम्पराले बालविवाह भइरहेको देखिन्छ । अहिले यो चलन केही कम भए पनि सामाजिक सञ्जालमा चिनजान हुने र सानो उमेरमा विवाह गर्ने धेरै रहेको वडाध्यक्ष तामाङ बताउँछन् । केही परम्परा र केही आधुनिक प्रचलनले बालविवाह हट्न नसकेको उनको भनाइ छ । सानै उमेरको विवाहले ज्याला मजदुरीमा धकेलिनेदेखि सम्बन्धविच्छेदसम्म हुने गरेको उनी सुनाउँछन् । 


महिला अधिकारकर्मी सुनितामाया गुरुङ पनि रसुवाको माथिल्लो भेगमा अझै पनि बालविवाह कायमै रहेको बताउँछिन् । सामाजिक संस्कारसँगै सामाजिक सञ्जालको दुरुपयोगले पनि बालविवाह नरोकिएको उनको भनाइ छ । ‘बिहे गर्नु हुन्छ कि हुन्न भन्ने सोच्न नसक्ने उमेरमै विवाह भइरहेको छ, उनी भन्छिन्, ‘विभिन्न कारणमध्ये हातहातमा भएको मोबाइल एउटा कारण हो ।’


६ दशकअघि बालखैमा विवाह गर्दा सावित्रीले भोगेको दुःख र कालिकाले भोगिरहेको दुःखमा समानता छ । ३० वर्षअघि पनि यस्तै समस्या थियो । यसको उदाहरण हो, युनिसेफले बनाएको फिल्म ‘उजेली’ । यो फिल्म सावित्रीकै गाउँमा छायांकन गरिएको थियो । दीपेन्द्र गौचनको निर्देशनमा बालविवाहकै विषयमा बनाइएको फिल्ममा उमेर नपुगी गर्भधारण हुँदा झेल्नुपर्ने जोखिमको मार्मिक चित्रण छ । 


प्रहरीमा उजुरी आउँदैन
कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नुहुँदैन भनेको छ । यस्तो विवाह गर्ने र गराउनेलाई कारबाहीको व्यवस्था छ । तर, रसुवाका विकट गाउँमा बालविवाह हुने गरे पनि प्रहरीमा उजुरी आउँदैन । उजुरी नै नआउने गरेको अधिकारकर्मी गुरुङ बताउँछिन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार बालविवाहका उजुरी प्रहरीमा आउँदैनन् । आर्थिक वर्ष २०६९ मा एउटा र २०७० मा एउटा मात्रै बालविवाहको उजुरी प्रहरीमा आएको उनी सम्झिन्छन् । भन्छिन्, ‘त्यसयता बालविवाहका उजुरी नै आएको छैन ।’


त्यतिवेला आएका उजुरीमा पनि उमेर पुगेपछि मात्र विवाह गराउनु भनेर अभिभावकलाई सम्झाई–बुझाई पठाइएको थियो । बालविवाह गरेका दुवैजना १६ वर्ष नपुगेको हुँदाहुँदै पनि त्यसवेला कानुनी प्रक्रिया चालिएन । जबकि बालविवाहसम्बन्धी ऐन, २०७५ ले बालविवाह गरेमा तीन वर्षसम्म कैद र ७५ हजारसम्म जरिवाना हुने व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७३ ले बालविवाह निरुत्साहन गर्दै २० वर्षभन्दा कम उमेरमा भएको विवाह स्वतः बदर हुने भनेको छ ।


बालविवाह अन्त्यका लागि सरकारले राष्ट्रिय नीति बनाएको छ, जसमा सन् २०३० सम्म बालविवाहलाई अन्त्य गर्ने उद्देश्य राखिएको छ । तर, बालविवाह रोक्न चेतना जगाउने काम नभएको र सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले यो लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको अधिकारकर्मी बताउँछन् । सानै उमेरमा बिहे गरेकी सावित्री भने बालविवाह गर्दा झेल्नुपर्ने समस्याका विषयमा बालबालिकालाई सचेत गराउनुपर्ने बताउँछिन् । ‘मैले सानै उमेरमा बिहे गरेर दुःख पाएँ,’ उनी भन्छिन्, ‘सक्षम भएपछि मात्र विवाह गर्दा ठीक हुने रहेछ । आफ्नो खुट्टामा उभिएपछि विवाह गरिदिनुपर्ने रहेछ । यसबारे आमाबुबा र बालबालिकालाई सम्झाउनुपर्छ ।’