• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
किशोर नेपाल
२०७९ जेठ १४ शनिबार ०७:४५:००
सम्झना

सम्झनाहरूको झरिलो मौसम

२०७९ जेठ १४ शनिबार ०७:४५:००
किशोर नेपाल

सहरको मौसममा बिस्तारै परिवर्तन आउँदै छ । समयका यी क्षणमा सम्झनाहरू झरिलो हुने गरेका छन् । यस्तै झरिलो समयमा मेरो जन्म भएको हुनुपर्छ । जहाँसुकैका कविहरू एकै शब्दमा भन्छन्– जूनको महिना मादक हुन्छ । किनभने यो जुनोको नाममा रहेको महिना हो । गुगल ज्ञानको भनाइमा विवाह भन्ने संस्थाकी संरक्षक र नारीहरूको भलाइकी देवी जुनोको नाममा नामकरण भएको महिना हो जून । जुनो हुन जुपिटरकी पत्नी । जुपिटर अर्थात् सौर्य पद्धतिको पाँचौँ सर्वाधिक ठूलो ग्रह । 


जून महिना संसारका सबै देशमा उत्तिकै महत्वका साथ पूर्ण दिवस मनाइन्छ । अमेरिकाले १७७७ जुन १४ तारीखका दिन वर्तमान झन्डाको ‘झन्डोत्तोलन’ गरेको थियो । त्यसैकोे सम्झनामा झन्डोत्तोलन दिवस मनाउँछन् अमेरिकीहरू । यही महिनामा साइकलप्रेमीहरू विश्व साइकल दिवस मनाउँछन् । अनि, बिरालो पाल्ने देशका मानिसहरू यसै महिना परस्परमा आ–आफ्नो बिरालोलाई आलिंगन गर्ने सुझाबको आदान–प्रदान गर्छन् । घरमा पालेको जनावरको सम्मान त्यताको साँच्चै उत्कृष्ट परम्परा हो ।


परापूर्वकालदेखि अहिलेसम्म मानिसले गरेको सबैभन्दा ठूलो उन्नति र उपलब्धि हो– सूचनाहरूको संग्रह । सूचनाको अभावमा बत्ती आउने र जाने यो काठमाडौं कति उराठ देखिन्छ । काठमाडौंको आफ्नो मौलिक अनुहार लोप भइसकेको छ । एसियाली विकास बैंकको सहयोगमा बागमतीको पुनर्जीवन अभियान चलाइएको छ । बागमतीले पुनर्जीवन पाउने नपाउने कुरामा शंका छ भन्दा एसियाली विकास बैंकको ओठमा कलेटी पर्ला । बैंकका लागि बागमतीको पुनर्जीवन एसियाका विभिन्न देशमा चलेका अनेकन् योजनामध्ये एउटा अर्को योजना हो । कुनै विशेष योजना होइन । बागमती आयोजना सफल पनि हुन सक्छ र असफल पनि । 


एसियाली विकास बैंकका सञ्चालकहरूलाई रिझाउने क्रममा डा. बाबुराम भट्टराई र चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौडेलले बागमतीको सफा पानीमा नुहाइसके । त्यो दृश्य टेलिभिजनहरूले देखाइसके । ती दुवै स्नानकर्तालाई लागेको थियो होला– हामीले बागमतीमा नुहाइ नै सकेपछि यहाँका ‘लाटा–गाँडा’ जनताले बागमती सफा भएको पत्याइहाल्नेछन् । तर, त्यसो भएन । ‘लाटा–गाँडा’ जनताले भट्टराई र पौडेलले उनीहरू नुहाउनका लागि बागमती नदीमा सुरक्षित जलकुण्ड बनाइएको थाहा पाएरै छाडे । 

ती दिनहरू थिए । यी दिनहरू पनि छन् । नेपालको सात दशक लामो प्रजातान्त्रिक अनुभवका उतार–चढाव गनेर, सम्झेर साध्य नै लाग्दैन । दिनहरू कुनै हिसाबले राम्रा देखिँदैनन् । देशमा जनताले गणतन्त्रलाई अनुमोदन गरेका छन् । शासनको लोकतान्त्रिक विधि बनेको छ । तर, लोकतन्त्रलाई ठम्याउनु कठिन भएको छ । जनताको जीवन दिनहुँ खस्किँदो छ ।


जुन ६ । म जन्मेको दिन । मैले नभने पनि फेसबुकले सम्झना गराइहाल्छ : हेप्पी बर्थ डे टू मी ! रमाइलो लाग्छ, आफ्नो जन्मदिनमा कसैले बोलेको ‘हेप्पी बर्थ डे’ शब्दहरू कानमा झङ्कृत हुँदा । सम्झनामा कति कुराहरू आउँछन्–आउँछन् । ती आउने कुराहरू सम्झिएर साध्यै लाग्दैन । के मात्र सम्झिनु र कति मात्र सम्झिनु ! मलाई लाग्छ, बाँच्नु जीवन होइन । जीवन भनेको बाँच्ने रहर हो । खोला तरेर पहाड उक्लिने रहर । जँघार तर्ने रहर । प्रेम गर्ने रहर । अनकण्टार जंगलको बीचमा हराउने रहर । कविता लेख्ने रहर ।


भएभरको रहर बोकेर आएको थिएँ यो सहर
दिन बित्दा नबित्दै रात पो परेछ,
मनमा यति विरानो बत्ती सल्केछ 
बिहान हुँदा–नहुँदै रहरहरू टरेर गएछ ।
हावाले किन सुसेल्नु पर्‍यो
जब तिमी आफैँ अँध्यारोमा सुँक्कसुँक्क गर्दै छ्यौ
मचाहिँ किन यति उदास हुनुपर्‍यो 
जब अँगालोमा तिमी मेरी छँदै छ्यौ ।

 

‘म एकै समयमा आफ्नो दुर्भाग्य र ईश्वरसँग लड्न सक्दिनँ,’ एक दिन बिहान सन्त नेता कृष्णप्रसाद भट्टराईले बताउनुभएको थियो । यो उहिलेको कुरा हो । उहिलेका कुरा बिर्सिनुभन्दा पहिले नै लेखिहाल्नुपर्छ । यो कोरोना प्रभावित समयमा मानिसको स्मृतिको पनि ठेगान हुँदैन । कतिवेला ‘इरेज’ हुन्छ, भन्न सकिँदैन । उहिले अर्थात् १४ मई १९९१ को कुरा हो यो । म प्रायः नियमितजस्तै किशुनजीसँग भेट्न जान्थेँ, उहाँको निवासमा । त्यस दिन बिहान पनि म किशुनजीसँग थिएँ । कुरा सुरु गर्नुभन्दा पहिले, तत्कालीन राजनीतिक परिस्थितिको अलिकति व्याख्या गर्दै किशुनजीले अंग्रेजी भाषामा मार्मिक अभिव्यक्ति दिनुभएको थियो– ‘आई क्यान नट फाइट बिथ माई ओन ब्याड लक एन्ड गड एट अ टाइम ।’ किशुनजीले यो वाक्य मार्क टलीलाई पनि सुनाउनुभएको थियो । मार्क बिबिसी रेडियोका लिजेन्ड थिए त्यतिखेरै । उनी साह्रै असल पत्रकार थिए । मानिसको पीडा बुझ्थे । उनीहरूको अभ्यन्तरको आवाज सुन्थे । 


साबिकका दिनमा जस्तो, त्यो दिन किशुनजीको कोठामा भिड थिएन । उहाँ एक्लै हुुनुहुन्थ्यो । म पुगेपछि उहाँ खुसी हुनुभयो र सोध्नुभयो, ‘बसमा आयौ कि ट्याक्सीमा ?’ मैले बताएँ, ‘म त हिँडेरै आएको किशुनजी । काठमाडौंमा बस पर्खिने धैर्य छैन मसँग । ट्याक्सी चढ्ने पैसा त झन् के होस् !’ त्यसपछि उहाँले मसँग कुराकानी सुरु गर्नुभयो । उहाँ गम्भीरतापूर्वक कांग्रेस पार्टीसँग केन्द्रित कुनै राजनीतिक घटना बताउँदै हुनुहुन्थ्यो मलाई । भन्दै हुनुहुन्थ्यो, ‘ए बाबु, यी कुराहरू प्रकाशनमा आउनु आवश्यक छ । तिमीलाई त मैले केही भन्नै पर्दैन, तर पनि नहडबडाईकन लेख है ।’ 


त्यतिवेला कांग्रेसको अवस्था ठीक थिएन । पार्टीको सार र शैली खुम्चिन थालेको थियो । प्रजातन्त्र स्थापनाका लागि पैँतालीस वर्षसम्म अनवरत संघर्षमा रहेको पार्टी यसरी अचानक खस्किनु आश्चर्यजनक थियो । प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाले पार्टीमा चाकरीवादलाई प्रोत्साहित गर्नुभयो । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले त्यो प्रवृत्ति रोक्न सक्नुभएन । 


अहिलेको झिलिमिली राजनीतिमा सक्रिय रहेका धेरैले त किशुनजीलाई बिर्सिसकेका होलान् । सत्ताको धन्दा राम्ररी चलिरहेको अहिलेको अवस्थामा उहाँको नाम सम्झेर किन केही बेर मात्रै भए पनि आत्मग्लानिको तातो रापमा पिल्सिन कोही तयार किन होस् ! 


उतिवेला इमानको राजनीतितिरको यात्रामा लाग्दा, ज–जसलाई उहाँले साँचो ज्ञान र स्पष्ट दृष्टि दान गर्नुभएको थियो, तीमध्ये धेरैको आँखा सरकारी सुख–सुविधाका चिप्राले पुरिइसकेका होलान् । उनीहरूको आँखामा अहिले कति पावर छ ? त्यो त डा. सन्दुक रुइतले पनि पत्ता लगाउन सक्दैनन् होला । आँखाको पावरका बारेमा मात्रै छुट्टै केही सोध्ने कुरा पनि भएन । 


नेपाली राजनीतिका सिद्ध पुरुष अर्थात् सन्त नेता कृष्णप्रसाद भट्टराई । सिद्ध पुरुष भन्नाले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका राजनीतिज्ञलाई पिरोलिरहेका ग्रहदशा साम्य पार्न दुई हातका दश औँलामा विभिन्न रत्नजडित औँठी पहिरिन सुझाब दिने ‘मायावी’ व्यक्ति नसम्झिनुहोला । अहिले बजारमासुनको भाउ चुलिएको छ । मानिसको एउटैऔँलामा सजिएको औँठीको मूल्य थोरैमा पनि लाख रुपैयाँ पर्छ । किशुनजी अन्धविश्वास र आडम्बरका विरोधी हुनुहुन्थ्यो । 


किशुनजीलाई वर्तमान पुस्ताका थुप्रै मानिसले एउटा ट्यांका, छाता र सुराहीको प्रतीकमा चिन्न थालेका छन् । यो एउटा सुखद कुरा हो । कवि, कलाकारमाझ लोकप्रिय किशुनजी धेरै कलाकारलाई नामैले चिन्नुहुन्थ्यो । वनारसमा पढ्दापढ्दै नेपाली क्रान्तिमा होमिनुभएका भट्टराई आफ्नो जीवनभरि लोकतान्त्रिक राजनीतिबाट एक पाइलो दायाँ र एक पाइलो बायाँ, अलिकति पनि कतै हल्लिनुभएन । उहाँको जीवन संघर्ष र समर्पणको थियो ।


राणाशासनविरुद्धको युद्धमा उहाँ खटाइनुभएको थियो उदयपुर गढीमा । देशबाट राणाशासन त हट्यो । त्यसपछि प्रजातन्त्रको फुर्को जोडेर लस्करै आयो राजाको शासन । राजा त्रिभुवन, राजा महेन्द्र, त्यसपछि तीस वर्ष लामो निर्दलीय शासनभित्र जेलिएका गाउँ फर्क र पञ्चायत नीति जाँचबुझ अभियानहरू । जनमत संग्रह । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र । तैपनि, लोकतान्त्रिक शासन आएन । त्यसपछि माओवादी विद्रोह र दलीय आन्दोलनको संयुक्त अभियान । सबैभन्दा पछिल्लो समयमा ०७२ सालको भुइँचालोलगत्तै देशमा गणतान्त्रिक संविधान लागू भएको छ । र पनि, सम्पूर्णतामा जनताले धक फुकाएर बोल्न, लेख्न र विचार गर्न पाउने नैसर्गिक अधिकार पाएका छैनन् । यो अनौठो स्थिति अहिले पनि जारी छ ।


लोकतान्त्रिक आन्दोलनको लामो समयमा नेपालका धेरै मानिस शान्तिपूर्ण संघर्षका पक्षमा उभिनुभएका किशुनजीको पछि लागे । कत्ति नजानिँदो गरी सुस्त हिसाबले, विनास्वार्थ । भट्टराई जेलमा कोचिएको समयमा त उहाँका अनुयायी झन् बढ्दै गए । 


नेपालको लोकतान्त्रिक राजनीतिमा कृष्णप्रसाद भट्टराईको नाम महामान्य विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशमशेरजस्ता हस्तीसँगै आउँछ । बिपी र गणेशमानजीलाई नजरबन्दमा राखिएका वेला किशुनजी एक्लै निष्ठाको दियो सल्काएर गीता पाठ गर्नुहुन्थ्यो । त्यतिवेला स्वतन्त्रता सुरक्षित थियो । किनभने उहाँ स्वतन्त्रताको पक्षमा प्रतिबद्ध हुनुहुन्थ्यो । 

नेपालको लोकतान्त्रिक राजनीतिमा कृष्णप्रसाद भट्टराईको नाम महामान्य विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशमशेरजस्ता हस्तीसँगै आउँछ । बिपी र गणेशमानजीलाई नजरबन्दमाराखिएका वेलामा किशुनजी एक्लै निष्ठाको दियो सल्काएर गीता पाठ गर्नुहुन्थ्यो । त्यतिवेला स्वतन्त्रता सुरक्षित थियो । किनभने उहाँ स्वतन्त्रताको पक्षमा प्रतिबद्ध हुनुहुन्थ्यो । 


अहिले फेरि एकपटक नेपाली जनताको स्वतन्त्रताविरुद्ध चुनौती खडा हुन थालेका छन् । यो चुनौतीविरुद्ध जनता आफैँ सतर्क र जागरुक रहनुपर्ने समय हो यो । हाम्रा वरिपरि भरोसालाग्दो नेतृत्वको ठूलो अभाव छ । जो नेता मानिएका थिए, ती जोकरको भूमिकामा प्रकट भएका छन् । जो जोकर थिए, ती नेताको भूमिकामा देखिएका छन् ।


एउटा समय थियो, नेपालको राजनीतिक इतिहासमा । महेन्द्रले संसदीय प्रजातन्त्रको चीरहरण गरेपछि सुस्तरी सुरु भएको आन्दोलनका हर्ताकर्ता काठमाडौंका जल्दाबल्दा तन्नेरीहरू थिए । तीमध्ये धेरैजसो भूमिगत ।


अनि हेर्दाहेर्दै एउटा चहकिलो तारा अस्तायो नभमा । २०४० साल साउन २७ गते । त्यो तारा थियो शंकर घिमिरे । शंकरको मान्यता थियो– नेपालमा संवैधानिक संघर्षबाट प्रजातन्त्र आउँछ । हाम्रा शंकर दाइ सधैँ आन्दोलित रहे । राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित शंकर दाइ रुसोको दर्शन ‘म्यान इज बोर्न फ्री’बाट प्रेरित थिए । त्यतिवेला सहरमा शंकर घिमिरे, दमन ढुंगाना र कमल चित्रकारको ट्रोइका हाबी थियो । योे ट्रोइकाले सस्तो लोकप्रियताको राजनीति कहिल्यै गरेन । ट्रोइका गजबकै थियो । दमन ढुंगाना प्रायः ‘तिमीसँग मेरो जीवनको एक साँझ बित्यो’ भन्ने गीत गुनगुनाइरहेका हुन्थे । उनमा युवा समूहलाई आकर्षित गर्ने क्षमता थियो, शंकर घिमिरेमा आन्दोलनको सुव्यवस्थापन गर्न सक्ने खुबी थियो । कमल चित्रकार थिए, काठमाडौंका स्नेहिल व्यक्तित्व । केलटोलमा थियो, उनको घर । केलटोल त्यतिखेरको ‘खाजा स्ट्रिट’ थियो । 


यी तीनजनाबाहेक उपत्यकाको तत्कालीन नेतृत्वमा साहसी व्यक्ति थिए, वीरनाथ कर्माचार्य । प्रेरणाका बिन्दु थिए, नवीन प्रकाश जंग शाह । जेलमा उनको अवस्था कमजोर थियो । प्रत्येक साता शरीरमा क्याल्सियमको सुई लगाउनुपथ्र्याे । नरम काँटका कडा व्यक्ति थिए नवीन । प्रजातन्त्रको लडाइँमा आमाबुबा दुवैको सहादतले पनि उनी पटक्कै विचलित थिएनन् । बरु, आफैँ आन्दोलनमा होमिएका थिए । 


त्यो समय सबैको आङ सिरिंग तुल्याउने घटनाहरूको समय थियो, मेरा लागि । क्रान्तिकारीहरूको ठूलो समूह थियो कांग्रेसभित्र । मार्शल जुलुम शाक्य, ध्यानगोविन्द रन्जित, तीर्थ डंगोल, राजेन्द्र खरेल, हरिबोल भट्टराई, मनमोहन भट्टराई, दामोदर गौतम– काठमाडौं आफैँमा एउटा ज्वालामुखी बनेको थियो । सहरको चरित्रमा त्यतिवेलासम्म नदेखिएका परिदृश्य देखिन थालेका थिए ।    

 
मलाई काठमाडौं भलादमी सहर लाग्छ । झट्ट हेर्दा यो सहरको चरित्र ‘वामपन्थी’ देखिन्छ । तर, झट्ट हेर्दा मात्र । उतिवेला जनार्दन आचार्य, महेश्वरमान श्रेष्ठ, सीताराम मास्के, निर्मल अर्याल, बालकृष्ण खरेलजस्ता जल्दाबल्दा कम्युनिस्ट युवा थिए, जो अन्ततः राज परिषद्का अध्यक्ष हृषिकेश शाहको नेतृत्वमा सभाको आयोजना गर्दै दिन कटाउँथे । २०३५ पछि एमाले नेता डा. भीम रावल वामपन्थी विद्यार्थी राजनीतिका ‘फोर्स’ थिए । तत्कालीन वामपन्थी नेताहरूको तुलनामा उनको राजनीतिक चरित्र दृढ थियो । किनभने, राजा वीरेन्द्रले निर्दलीय पञ्चायत व्यवस्थालाई संगठित गर्न जाँचबुझ आयोगको झन्डा वितरण गर्दा रावलको हातमा त्यो झन्डा देखिएन । 

मलाई लाग्छ, बाँच्नु जीवन होइन । जीवन भनेको बाँच्ने रहर हो । खोला तरेर पहाड उक्लिने रहर । जँघार तर्ने रहर । प्रेम गर्ने रहर । अनकन्टार जंगलको बीचमा हराउने रहर । कविता लेख्ने रहर ।


देशमा त्यतिखेर कम्युनिस्ट पार्टी माले थियो । माले कम्युनिस्ट समूहमा बढी संगठित समूह थियो । तर, यो समूहको राजनीतिक हिसाबकिताबसँग असहमति राख्ने चार वामपन्थी दलको मोर्चा बन्यो– मनमोहन अधिकारीको संयोजकत्वमा । मोर्चामा तुलसीलाल अमात्य, विष्णुबहादुर मानन्धर तथा साहना प्रधान पनि सँगै हुनुहुन्थ्यो । मोर्चाको बैठकमा मनमोहनजीले मोर्चाको धारणा राख्दै भन्नुभएको थियो– अफगानिस्तानमा विदेशी आक्रमण रोकियो भने सोभियत संघ त्यहाँबाट फर्किनेछ । अफगानिस्तानको वैधानिक सरकारले नबोलाएको भए सोभियत सेना अफगानिस्तानमा पस्दैनथ्यो । बैठकमा वरिष्ठ अधिवक्ता तथा वामपन्थी नेता कृष्णप्रसाद भण्डारीको भनाइ थियो– हामी कम्युनिस्टहरूको घुसपैठ हरेक ठाउँमा छ । साम्यवादी व्यवस्थामा राजतन्त्रको भूमिकाका बारे सोचिएको छैन । संविधानले हामीलाई लाठी हिर्काएको पनि होइन । नेपाली कांग्रेससँग चार वामपन्थी मोर्चाको मतभेद थियो । तर, प्रजातन्त्र स्थापनाप्रति कांग्रेसको प्रतिबद्धतालाई अलिकति छड्के हानेर प्रशंसा ग¥यो मोर्चाले, ढोका ढुकेर प्रजातन्त्र आउँदैन ।


ती दिनहरू थिए । यी दिनहरू पनि छन् । नेपालको सात दशक लामो प्रजातान्त्रिक अनुभवका उतार–चढाव गनेर, सम्झेर साध्य नै लाग्दैन । दिनहरू कुनै हिसाबले राम्रा देखिँदैनन् । देशमा जनताले गणतन्त्रलाई अनुमोदन गरेका छन् । शासनको लोकतान्त्रिक विधि बनेको छ । तर, लोकतन्त्रलाई ठम्याउनु कठिन भएको छ । जनताको जीवन दिनहुँ खस्किँदो छ । वैदेशिक रोजगारीमा विदेश जाने प्रवृत्ति प्रत्येक घन्टा उकालो लाग्दै छ । देशमा बन्न थालेका कथित अन्तर्राष्ट्रिय विमानस्थलहरू खाडी र पहाडबीच मात्र सञ्चालन हुने परिस्थिति बनेको छ । मानिसहरू इतिहासमा होइन, पुराना कुरामा रमाउन थालेका छन् । बाजेको पालामा एक मोहोरको एक पाथी चामल पाइन्थ्यो । हामी त्यही रेजिममा किन नजाने ? जनताका नैसर्गिक सामाजिक सम्बन्धहरू ध्वस्त भएका छन् । यो परिस्थितिको मनन सबैले गर्नुपर्छ । देशवासी जनता पुराना कुरामा रमाउन थाले भने देश नयाँ बाटोमा अघि बढ्नै सक्दैन । देश कता जाँदै छ ? एकपटक सोच्नुपर्छ सबैले ।
तर, सोचेर मात्रै पुग्ने अवस्था अब रहेन ।