• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राजकुमार दिक्पाल
२०७९ जेठ २१ शनिबार ०७:०५:००
सम्झना

भवानी भिक्षुको त्यो डायरी

२०७९ जेठ २१ शनिबार ०७:०५:००
राजकुमार दिक्पाल

‘त्यो फेरि फर्कला ?’ कथा भवानी भिक्षुलाई चिनाउने मूल कथा हो । यो कथा कहिले एसएलसीमा त कहिले आइए तहको पाठ्यक्रममा परेर पनि यसले प्रशस्त पाठक बटुल्यो भने यसको चर्चा पनि शिखरमै पुग्यो । तत्कालीन समय र समाजसापेक्ष यो कथा भिक्षुको कालजयी रचनामध्येको एक हो । 


उनको उपन्यास ‘आगत’ले मदन पुरस्कार (२०३२) र साझा पुरस्कार पायो । वि.सं. १९६६ जेठ २१ गते (प्रचलित जन्म साल १९७१)मा कपिलवस्तुको तौलिहवामा अवधि मातृभाषिक गुप्ता परिवारमा जन्मेका भिक्षु नेपाली साहित्यका क्षेत्रमा चारवटा उपन्यास, चारवटा कथा सङ्ग्रह, तीनवटा कविता सङ्ग्रह, फुटकर निबन्ध तथा एकाङ्की लेखेर नेपाली साहित्यको भण्डार भर्ने साहित्यकार हुन् । २०१४ सालमा स्थापित रोयल नेपाल एकेडेमीमा उनी संस्थापक सदस्य थिए । एकेडेमीको नाम नेपालीमा राख्न छलफल हुँदा ‘प्रज्ञा प्रतिष्ठान’ राख्न प्रस्ताव गर्ने व्यक्ति नै भिक्षु थिए । क्यान्सर रोगका कारण २०३८ साल वैशाख ४ गते उनको देहान्त भयो ।

 

भिक्षु विधुर व्यक्ति थिए । तर, उनी महिलासँगको सम्बन्धकै कारण केही विवादित र चर्चितसमेत थिए । एकातिर उनले ‘सावित्रीको बाख्रो’ कथा लेख्नु र त्यही सावित्री नामकी महिलाले जीवनको अन्त्यसम्म उनको स्याहारसुसार गर्नुले त्यतिखेरका धेरै साहित्यकारले भिक्षुको नाम जोडिरहे । अच्युतरमण अधिकारीको सम्पादनमा ‘उन्नयन’को १०औँ अंक (२०४९, साउन–असोज) ‘भवानी भिक्षु विशेषाङ्क’का रूपमा प्रकाशित गरिएको छ । यसमा विभिन्न लेखकले संस्मरण खण्डमा भिक्षुको जीवनमा अविवाहित रूपमा आइपरेकी महिला सावित्रीका बारेमा चर्चा गरेका छन् । त्यही सेरोफेरो यस लेखमा पस्किने प्रयास गरिएको छ । त्यसवेला केशवराज पिँडाली टेलिफोन कार्यालय, वीरगन्जमा कार्यालय प्रमुख थिए । त्यतिवेला काठमाडौँ, चिसापानीगढी, भीमफेदी, अमलेखगन्ज र वीरगन्ज गरी पाँच ठाउँमा टेलिफोन कार्यालय थिए । 


कुरा पर्‍यो, १९९४ र ९५ सालको । पिँडाली टेलिफोन कार्यालयमा कार्यरत रहँदा उनको कार्यालयमा काम विशेषले पाँच फिटजति अग्लो, सिकुटे र अनुहार छ्याकटे परेको व्यक्ति पुगे । उनको काम थियो, काठमाडौँ जानका लागि राहदानी बनाउनु । त्यसवेला काठमाडौँ प्रवेश गर्न राहदानी अनिवार्य थियो ।राहदानी बनाउन त्यसवेलाका हजुरिया जर्नेल बहादुरशमशेरको अनुमति चाहिन्थ्यो । आफ्नो राहदानीबारे बुझ्न दिनदिनै ती व्यक्ति पिँडालीलाई भेट्न आउन थाले । एउटा मुद्दाका कारण ती व्यक्तिलाई काठमाडौँ जानु जरुरी थियो । पिँडालीले नै हजुरिया जर्नेलका सुब्बा मोहनदासलाई भनिदिएपछि ती व्यक्तिले राहदानी पनि पाइहाले । १९९७ ताका पिँडाली टेलिफोन कार्यालयको जागिर छाडी काठमाडौँ फर्किंदा ती व्यक्ति अर्थात् भवानी भिक्षु ‘शारदा’ पत्रिकामा सम्पादनको काममा व्यस्त थिए । उनी त्यसवेला ‘शारदा’ का प्रकाशक सुब्बा ऋद्धिबहादुर मल्लकै घरमा खानेबस्ने गर्थे ।


त्यसबीच २००१ सालमा पिँडाली भारततिर जान्छन्, उडिसाको रैराखेल स्टेटकी महारानीको निजी सचिवको रूपमा जागिर खान । राणाशासन ढलेपछि उनी स्वदेश फर्के । पहिले रणमुक्तेश्वरमा डेरा गरी बस्ने भिक्षु पुतलीसडक डेरा सरेर पिँडालीकै छिमेकी हुन आइपुगे । 


भिक्षुको प्रायः रासोबासो पिँडालीकै घरमा हुन्थ्यो । एकाबिहानै आँखा मिच्दै आफूसँग भएको नयाँ सिर्जना (कथा वा कविता) लिएर पिँडालीलाई सुनाउन आउनु, रचना सुनाउँदा–सुनाउँदै भावुक भएर आफैँ रुन थाल्नु, नित्यजस्तै थियो, भिक्षुका लागि । महिलाप्रति अलि कमजोर मनस्थितिका थिए, भिक्षु । उनका बारेमा अनेक फूलबुट्टा भरेर पिँडालीलाई सुनाउँथे मानिसहरू । भिक्षु पिँडालीको घरमा पुग्नासाथ पिँडालीपत्नी राज शर्मा उनलाई कराउँदै सातो खान थाल्थिन् । उनीचाहिँ ‘होइन’ भन्दै पचपची किरिया त खान्थे, अनि चकटीमा बसेर निकै बेर रोइरहन्थे (पृ.२–४) ।


घटना २०२२ सालतिरको हिउँद यामको हो । त्यतिखेर भिक्षु प्राज्ञ थिए । नयाँ सडक, पीपलबोट अगाडिको ‘सेन्ट्रल न्युज डिपो’मा साँझपख पत्रिका किन्नेको भिड लाग्थ्यो । भिक्षु पनि त्यस साँझ पत्रिका किन्न पेटीमा उभिरहेका थिए । पुरुषोत्तम बस्नेत, पुण्यप्रसाद सुवेदी र रोचक घिमिरे त्यहाँ उभिएर कुराकानी गरिरहेका थिए । त्यतिखेरै एक युवक त्यहाँ आइपुगे । भिक्षुलाई देख्नासाथ तिनको आङमा भूत चढेझैँ भयो । उनी भिक्षुलाई तथानाम गाली गर्न थाले । रोचक घिमिरेहरू ट्वाल्ल परेर हेर्दै थिए । कुरा के भइरहेको थियो, उनीहरूले पत्तो पाउन सकिरहेका थिएनन् । भिक्षु ती युवकलाई केही भन्न खोजिरहेका थिए । तर, ती युवकले त भिक्षुलाई हातै हाल्न थालेपछि रोचक घिमिरेहरूलाई त्यो उद्दण्डता सह्य भएन । उनीहरू प्रतिकार गर्न तम्से । त्यो वेला सबैका ‘ठुल्दाइ’ थिए, पुण्यप्रसाद सुवेदी (साँगुरीवारी नि हौ, त्यो धारापानी गड्तिरको है हजुर बालुवा... गीतलगायतका रचनाकार) । उनी थिए, ज्यानमा खाइलाग्दो । उनको जिउडाल देखेर ती अशिष्ट युवा केही हच्किएर भुतभुताउँदै आफ्नो बाटो लागे । 

त्यो दिन भिक्षु आफ्नो घरमा थिएनन् । उनलाई पर्खेर बस्दा ध्रुवले डायरी फेला पारी पल्टाउने अवसर पाए । डायरीमा अनौठा कुरा लेखिएका थिए । घरका किनमेलका पूरै सूची थिए । कतिसम्म भने खुर्सानीको यति पैसासमेत । अर्को पानामा भिक्षुले लेखेका थिए, ‘सावित्री आज पर सरिन् ।’


भिक्षुमाथि भएको त्यो अप्रत्याशित दुव्र्यवहारले आश्चर्यमा परे रोचक घिमिरेहरू । अखबार लिइसकेपछि भिक्षुले उनीहरूलाई नजिकैको ‘रश्मि रेस्टुराँ’मा लिएर गए । आफूप्रति त्यस्तो अभद्रता किन भयो ! भिक्षुले उनीहरूलाई उल्टै जिज्ञासा राखे । चियाको सुर्को तान्दै भिक्षुका असन्तुष्टि र गुनासाहरू सुनिरहेका थिए, उनीहरू । भिक्षु भन्दै थिए, ‘नेपाली भाषा र साहित्यमा सेवा गरेको प्रतिफल आज मैले यसरी सडकमा बेइज्जत भएर पाएँ । बाहिर बरु मेरो कति इज्जत छ, हिन्दीमा मलाई कति तान्न प्रयत्न गरे, तर स्वदेश, राष्ट्रभाषा भनेर यहीँ रमाएँ । तर यहाँ मेरो स्वस्थ मूल्यांकन नै भएन, मान्यता नै रहेन र यसरी म प्रताडित भइरहेछु ।’


त्यो दिन भिक्षुप्रति किन त्यस्तो अभद्र ब्यवहार गरियो ? रोचक घिमिरेहरूले भिक्षुबाट यो रहस्य कहिल्यै सुन्ने अवसर पाएनन् (पृ.६९–७०) । एक दिन भिक्षुले डा. तारानाथ शर्मालाई भनेका थिए, ‘तारा भाइ ! यो काठमाडौँ ज्यादै चिसो छ । यतिका वर्ष मैले मेरा साहित्यिक रचनाकारिताद्वारा यसको सेवा गरेँ, यसलाई समस्त हृदयले माया गरेँ र आफूलाई मेटाएर यसमा म आत्मसात् भएँ, तर यसले मलाई एउटा टुटुल्कोसिवाय अरू केही दिएन ।’


यसो भनिसक्दा गहभरि आँसु पार्दै भिक्षुले आफ्नो निधारमा उठेको टुटुल्को तारानाथलाई देखाए । कुरा के परेछ भने उनी काठमाडौँको कुनै सडकमा हिँड्दै रहेछन् । माथि झ्यालतिर हो वा छानातिरबाट हो, एकजना व्यक्तिले भिक्षुमाथि ढुंगाका टुक्राहरूको वर्षा गरेछन् । र भनेछन्, ‘तँ मदिसे, नेपाली भाषाको साहित्यकार ?’


साहित्यकार भवानी भिक्षुको जीवनमा एकजना पात्रको नाम जोडिने गरेको माथि पनि उल्लेख भइसकेको छ । विधुर जीवन बाँचेर साहित्य सेवामा निर्लिप्त भिक्षुले लेखेको कथा ‘सावित्रीको बाख्रो’ जसरी चर्चित भयो, उसैगरी सावित्री पात्रको नाम पनि भिक्षुसँग जोडियो । श्रीमतीको देहान्त भएपछि भिक्षु एकल पुरुष थिए, तर सावित्री नामकी महिला उनको अन्तिम साससम्म भिक्षुकै घरमा थिइन् । डेरामा पनि सँगै थिइन्, अनि बत्तीसपुतलीको घरमा पनि ।


जब रेडियो नेपालले एक दिन बेलुकीको समाचार बुलेटिनमा ‘कथाकार तथा उपन्यासकार भवानी भिक्षुको आज अपराह्न आर्यघाटमा देहान्त भयो’ भन्ने समाचार प्रसारण ग¥यो, तब यस्तो समाचार सुनेर स्तब्ध हुनेमध्ये साहित्यकार कृष्णप्रसाद पराजुली पनि एक थिए । उनी यही पीडाको अनुभूति लिएर भिक्षुलाई सम्झन थाले । भोलिपल्ट उनी बत्तीसपुतली पुगे, भिक्षु अब ‘सुरुचि भवन’मा थिएनन् । उनी सावित्रीलाई समवेदना प्रकट गरी फर्के (पृ.६३) ।


भिक्षुले आफ्नो घर बनाउनुअघि उनको भाडाको कोठामा साहित्यकारहरूको जमघट भइरहन्थ्यो । भिक्षु आफैँ साहित्यकारहरूलाई आफ्नो कोठामा निमन्त्रणा गरिरहन्थे । निमन्त्रितमध्ये एक थिए, रमेश विकल । एक दिन विकललाई भिक्षुबाट निम्तो भयो, ‘आऊ न बाबु एक दिन, मेरो कोठामा केही सुनौँ, केही सुनाऊँ ।’
डिल्लीबजारको उत्तर लङको गणेशस्थानसँगैको एउटा घरको कोठा थियो, भवानी भिक्षुको डेरा । त्यहाँ पाहुनाहरूलाई बोलाएर उनी सावित्रीको हातबाट चिया, निम्की आदि खुवाउने गर्थे । त्यही मौकामा उनी नयाँ कथा, कविता सुनाउँथे (पृ.७५) ।


यस्तै निम्तो प्राप्त भयो, एक दिन बालमुकुन्ददेव पाण्डे (बादेपा)लाई । सुरुमा त बादेपाले आनाकानी गरेका थिए । तर, ज्यादै कर गरेकाले त्यस साँझको पाहुना भएर उनी भिक्षुको डेरामा गए । खानपिन भयो । भिक्षु छिनछिनमा ‘सावित्री ! सावित्री !!’ भनेर बोलाउँथे । सावित्री विभिन्न परिकार राख्थिन्, जान्थिन् । बजारमा भिक्षु र सावित्रीबारे अनेक कुराको कटान हुन्थ्यो । तर, बादेपाले सावित्रीको त्यसवेलाको व्यवहार देख्दा साहित्यिक क्षेत्रमा त्यसवेला हुने गरेको चर्चामा कुनै सत्यता नभएको अनुभव गरे । त्यसवेला भिक्षुले उनलाई आफ्नो बारेमा भएभरको कुरा बताएका थिए (पृ.९७) ।


डा. गणेश भण्डारी त्यसवेला ‘गोरखापत्र’मा उपसम्पादक पदमा रही पत्रकारिता गरिरहेका थिए । कुरा पर्‍यो, २०२० सालतिरको । एक दिन साँझपख जुद्धसडक (हाल न्युरोड)को पानपसलअगाडि पान चपाउँदै गरेका अवस्थामा उनले भिक्षुलाई भेटे । उनको हातमा बिहान र बेलुकीका लागि पनि पानको पोको थियो । उनले गणेशलाई आफ्नो डेरामा निम्तो दिइहाले । भोलिपल्टै शनिबार दिउँसो डेढ बजे उनी भिक्षुको डेरामा पुगे । उनी त्यहाँ पुग्दा भिक्षु चकटीमा बसेर पलङमा पिठ्युँ टेकाइरहेका थिए । उनी त्यो आसनमा बसेर आफू अघिल्तिर बसेकी सावित्रीलाई केही सम्झाइरहेका थिए । गणेशको आगमनपछि सावित्री चियाखाजाको प्रबन्धतिर लागिन् । गणेश र भिक्षु साहित्यिक गन्थनमा मग्न भए ।


२०३२ सालको मदन पुरस्कार भिक्षुको उपन्यास ‘आगत’ले प्राप्त गर्‍यो । यो पुरस्कार घोषणा भएपछि पुरस्कार समर्पण समारोहमा सहभागिताका लागि निम्तो लिएर कमलमणि दीक्षित भिक्षुलाई भेट्न गए । उनले सामान्यभन्दा बढी खुसी देखाएनन् । भिक्षु आफूकहाँ आउने पाहुनालाई चिया नपिलाई फर्किन दिँदैनथे । कमलमणि दीक्षितको आफ्नो घरको त्यो पदार्पणमा भिक्षुले सावित्रीलाई बोलाए, ‘सावित्री, कमलबाबु आउनुभएको छ, चिया खुवाउने होइन ? (पृ.२४)’


जाडोको समय थियो । बिहानै भिक्षु धोबीधारास्थित लीलासिंह कर्माको डेरामा पुगे । भिक्षुले त्यस दिनको भोजन एकैसाथ गर्ने प्रस्ताव राखे । यस प्रस्तावपछि भिक्षु र कर्मा दुवै भिक्षुको डेरा कालिकास्थानतिर बढे । भर्खरै भिक्षुको कथा ‘सावित्रीको बाख्रो’ छापिएको थियो । यसले राम्रै चर्चा बटुलेको थियो । कथाका पात्र सावित्रीको नाम भिक्षुसँगै जोडेर विशेष चर्चा भइरहेको थियो, त्यो समयको साहित्यको बजारमा ।


भोजन आइपुग्यो, सावित्रीको हातबाट । अखबार ओछ्याएर भोजन सुरु भयो । भोजन स्वादिलो थियो । लीलासिंहले ठट्टा गर्दै ‘बाख्रो खोइ त ?’ भन्दै सोधे । भिक्षुले ‘बाख्रो त दि हाली होली नि’ भनेर हाँसोरहित ढंगबाट ठट्टै गरे । यी संवाद सुनिरहेकी सावित्रीचाहिँ लजाएर कोठाबाहिर लागिन् (पृ.१०३) । 


एक दिन डा. शंकरराज पन्त भिक्षुकहाँ पुगेका थिए । भिक्षु ‘अल इन्डिया रेडियो’बाट हिन्दी समाचार सुन्दै थिए । त्यस्तैमा माथिबाट एउटा नारीस्वर तीखो आवाजमा कोठामा हुत्तियो । एक छिनपछि भिक्षु बुइँगलमा गए । त्यसपछि दुईजनाको मल्लयुद्धको डाङडुङको आवाज सुनियो । ‘ए के भयो’ भन्दै शंकरराज माथि उक्लन खोजे । तर, भिक्षुका एकजना मानिसले उनलाई रोके । तर, आवाज आउँदै रह्यो । दुई–चार मिनेटपछि मन नमानेर उनी बलैले माथि उक्ले । उनले कस्तो दृश्य देखे भने भिक्षु र एकजना युवतीको कुस्ताकुस्ती परिरहेको छ । त्यसपछि शंकरराज झटपट ओर्लिए । उनले भिक्षुका सहयोगीबाट सुने, ‘यहाँ यस्तै भइरहन्छ ।’ त्यो सुनिसकेपछि उनलाई लाग्यो, विधुर भिक्षुले श्रीमती ल्याएछन् क्यार ! पछि–पछि सबै कुरा खुलस्त भयो– ती युवति, जसलाई भिक्षु सावित्री भनेर बोलाउने गर्थे, एक किसिमले भिक्षुकै भएर बसेकी रहिछन् । भिक्षु प्राज्ञ भएपछि बनाएको बानेश्वरको बंगलामा सरिसकेपछि पनि शंकरराजलाई त्यहाँ जाने मौका मिलेको थियो । उनलाई त्यहाँ पनि सावित्री नै गृहिणीको रूपमा रहेकोजस्तो लागेको थियो (पृ.१५३) ।


कथाकार ध्रुव सापकोटा पनि भिक्षुको घरमा गइरहने व्यक्तिमध्येका एक थिए । भिक्षुलाई भेट्न साथीहरूका साथ ध्रुव पनि एक दिन बत्तीसपुतली पुगे । उनीहरूले बरन्डामा पुगेर कलबेल थिचे । अहिलेजस्तो बाक्लो घर बनिनसकेको अवस्थामा भिक्षुको त्यो घर उम्दा थियो । कलबेल बजेपछि भित्रबाट एक अधबैंसे महिलाले ढोका खोलिन् । उनी थिइन्, सावित्री । उनीबाटै थाहा भयो, भिक्षुलाई त्यो दिन सन्चो थिएन । बैठककोठामा बसिरहेका वेला भिक्षुका रचनाका फाइल, डायरीहरू जतनसाथ राखिएका थिए । ध्रुवका साथीमध्ये एकले ‘भिक्षुजी डायरी पनि लेख्नुहुँदो रहेछ’ भनी खासखुस गरे । तर, एकजना साहित्यकारका लागि डायरी लेख्नु सामान्य कुरा नै हुने भयो । कुरा त्यत्तिकैमा सकियो ।


अर्को दिन ध्रुव फेरि भिक्षुलाई भेट्न उनको घरमा पुगे । तर, त्यो दिन भिक्षु आफ्नो घरमा थिएनन् । उनलाई पर्खेर बस्दा ध्रुवले डायरी फेला पारी पल्टाउने अवसर पाए । डायरीमा अनौठा कुरा लेखिएका थिए । घरका किनमेलका पूरै सूची थिए । कतिसम्म भने खुर्सानीको यति पैसासमेत । अर्को पानामा भिक्षुले लेखेका थिए, ‘सावित्री आज पर सरिन् (पृ.१३३) ।

भिक्षु पनि त्यस साँझ पत्रिका किन्न पेटीमा उभिरहेका थिए । पुरुषोत्तम बस्नेत, पुण्यप्रसाद सुवेदी र रोचक घिमिरे त्यहाँ उभिएर कुराकानी गरिरहेका थिए । त्यतिखेरै एक युवक त्यहाँ आइपुगे । भिक्षुलाई देख्नासाथ तिनको आङमा भूत चढेझैँ भयो । उनी भिक्षुलाई तथानाम गाली गर्न थाले । रोचक घिमिरेहरू ट्वाल्ल परेर हेर्दै थिए । कुरा के भइरहेको थियो, उनीहरूले पत्तो पाउन सकिरहेका थिएनन् ।


भिक्षुले ‘सावित्रीको बाख्रो’ २०१८ सालमा लेखेका हुन् । त्यतिखेरै साहित्यकारहरूको जमघटमा भिक्षुसँग सावित्रीको नाम जोडेर चर्चा परिचर्चा हुन सुरु भइसकेको थियो । लीलासिंह कर्माले ‘भर्खरै सावित्रीको बाख्रो कथा छापिएपछि भिक्षुको बारेमा विशेष चर्चा हुने गरेको’ उल्लेख गरेकाले सावित्रीले २०१८ वा कथा छापिनुभन्दा अघिदेखि नै सेवा गरेको अनुमान हुन्छ । साहित्यकार कृष्ण पराजुलीले भिक्षुको देहान्तमा सावित्रीमार्फत समवेदना प्रकट गरेको उल्लेख गरेबाट भिक्षुको देहान्तको मिति २०३८ साल वैशाख ४ गतेसम्म सावित्री भिक्षुको सेवामै रहेको देखिन्छ । यताबाट हेर्दा सावित्रीले एउटै छानामुनि बसेर भिक्षुको २० वर्षभन्दा बढी सेवा गरेको देखिन्छ ।


भिक्षुको जीवनको एउटा महत्वपूर्ण पात्र भए पनि भिक्षुको देहान्तपछिको सावित्रीको थप व्यक्तिगत जीवनको पाटो भने अस्पष्ट छ । समालोचक डा. वासुदेव त्रिपाठीले भिक्षुको कथा ‘सावित्रीको बाख्रो’ (२०१८) बारे उल्लेख गर्दा ‘एक्लो स्वास्नीविहीन सहरी घरमालिक र उसकी गार्हस्थ भान्से नोकर्नी नारीबीच स्वामी नोकर्नीका व्यवसाय–सम्बन्धका क्रममा आइपर्ने कतिपय सूक्ष्म नरनारी रँडाका अन्तर्जटिलता–असमञ्जसको सन्दर्भ कथामा रहेको छ’ (समालोचना खण्ड, पृ.४२०) भन्ने उल्लेख गरेका छन् ।


भिक्षुको वैवाहिक जीवन दुःखपूर्ण थियो । अच्युतरमण अधिकारी (पृ४६०–४६१)अनुसार उनकी पहिली पत्नी बेपत्ता भएकी थिइन् । उनको २००८ सालमा दोस्रो विवाह भयो । एक वर्षको दाम्पत्य जीवन व्यतीत नहुँदै उनले पनि संसार छाडेकी थिइन् ।