• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मनोज घर्तीमगर
२०७९ जेठ २८ शनिबार ०६:३५:००
इतिहास

इतिहास किन पढ्ने ?

२०७९ जेठ २८ शनिबार ०६:३५:००
मनोज घर्तीमगर

कामको सिलसिलामा केही समयअघि एकजना इतिहासका प्राध्यापकसँग भेट भयो । उनीसँग इतिहास विषयबारे लामै कुराकानी भयो । कुराकानीकै बीचमा ती प्राध्यापकले इतिहास विषयप्रति गरेको टिप्पणीले भने मलाई भयंकर अचम्मित बनायो । ‘बढुवा हुनका लागि योग्यता बनाउन आक्कल–झुक्कल कर्मचारी भर्ना हुन्छन् । पक्का इतिहासकै विद्यार्थी छैनन् । धेरैलाई यो पढ्नुपर्ने विषय नै रहेनछ भन्ने लाग्छ ।’ उनले गरेको यस्तो टिप्पणीले मेरो मन खिन्न बनायो । जीवनभर इतिहास पढाएर त्यही पढाएबापत पेन्सन खाइरहेकाले यसो भन्नु स्वयं इतिहासविद्को चेतनामाथि उठ्न नसकेको प्रस्टै भयो । अझ इतिहास विषयप्रति उनको गैरजिम्मेवारीपन र बेवास्ताले प्राध्यापकबाट इतिहास विषयको भयंकर मजाक गरिएजस्तो लाग्यो । त्यही मजाकले पोलेपछि यो आलेख जन्मिएको हो । इतिहास विषयका अनेकौँ दर्शन छन् । ती दर्शनबारे अर्को प्रसंगमा छलफल गरौँला । यो आलेखमा इतिहास विषय के हो र किन पढ्ने ? भन्नेबारे मात्रै चर्चा गरिएको छ । 

 

इतिहासको शाब्दिक अर्थ
इतिहास एउटा महत्वपूर्ण विधा हो, यसको ज्ञानविना मानिसको अध्ययन अपूर्ण हुन्छ । इतिहासले मानव सभ्यताको प्रारम्भदेखि वर्तमानसम्मका जीवनका सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक, राजनीतिक गतिविधिलगायत प्रत्येक क्रियाकलापको स्पष्ट चित्रण गर्छ । यसले मानवता बढी केन्द्रमा राखेर अध्ययन गर्छ । विगतमा के भएको थियो ? भन्ने खोतलेर वर्तमान बुझाउँछ । त्यही वर्तमानले भविष्यमा के गर्ने ? कस्तो गर्ने भन्ने एउटा जग बसाउँछ । अनि भविष्यप्रति सजग र सचेतसमेत गराउँछ । त्यसैले इतिहासको ज्ञानविना मानिसको अध्ययन अपूर्ण हुन्छ भन्दा फरक पर्दैन । इतिहास विषय के हो ? भन्ने जान्नुभन्दा पहिले इतिहास शब्दको व्युत्पत्ति कसरी भएको हो भन्ने थाहा पाउन उपयुक्त हुन्छ । 


ग्रिक सभ्यता संसारको सबैभन्दा पुुरानो मानिन्छ । ग्रिक शब्द हिस्टोरियाबाट अपभ्रंश हुँदै अंग्रेजीमा हिस्टोरी शब्द बनेको हो । हिस्टोरिया को अर्थ ‘ह्वाट ह्याज एक्च्युल्ली ह्यापेन्ड इन द पास्ट’ भन्ने हुन्छ । यही हिस्टोरीलाई नेपालीमा उल्था गर्दा इतिहास शब्द बनेको हो । नेपाली शब्द इतिहासलाई पनि विद्वान्हरूले आ–आफ्नै तरिकाले व्याख्या गरेका छन् । इतिहासका जानकार प्रा. दिनेशराज पन्तले इति+ह+आसबाट इतिहास शब्द बनेको बताएका छन् । जसलाई उनले यसरी अथ्र्याएका छन्, इति–यस्तो,ह–अवश्यै,आस–भएको थियो । यसरी बुझ्दा विगतमा भए गरेका तथ्य घटनाको जानकारी दिने विषयलाई इतिहास भनिन्छ । यो कुरालाई मनन गर्ने हो भने इतिहास विषयभन्दा ठूलो र फराकिलो क्षेत्र अरू कुनै विषय छैन । किनभने हरेक क्षेत्रको इतिहास हुन्छ । त्यसबारे जान्न अध्ययन गरिने विषय नै इतिहास हो । शाब्दिक अर्थमै केन्द्रित भएर बुझ्दासमेत इतिहास के रहेछ भन्ने सजिलै थाहा पाउन सकिन्छ । एक शब्दमा भन्ने हो भने विगतमा घटेका घटनालाई बताउने विषय इतिहास हो । त्यसैले इतिहासका चर्चित फिलोसोफर आरजी कोलिङउड भन्छन्, ‘हिस्टोरी इज अ काइन्ड अफ रिसर्च अफ इन्क्वाइरी’ अर्थात् इतिहास भनेको एक किसिमको अनुसन्धान वा खोज हो ।

 

इतिहासबारे हाम्रो बुझाइ
नेपालको सन्दर्भमा राजामहाराजाहरूका वंशावली, तिनीहरूले जितेका लडाइँ वा सत्ता प्राप्तिका लागि गरिने छिनाझप्टीबारे पढाइने विषय इतिहास हो भन्ने धेरैको भ्रम छ । त्रिभुवन विश्वविद्यालयलगायत इतिहास पढाइ हुने सीमित प्राज्ञिक केन्द्रले बदलिँदो परिवेशअनुसार पाठ्यपुस्तक परिमार्जन नगर्दा यस्तो भ्रम रहिरहनु स्वाभाविक हो । तर, बाहिर टिप्पणी गरेजस्तो हलुका विषय होइन इतिहास । यो त विषयहरूको पनि विषय हो । विषयहरूको आमाको रूपमा बुझिन्छ इतिहासलाई । किन भने कुनै पनि विषयबारे जान्नु छ भने त्यसको संक्षिप्त मात्रै भए पनि इतिहास नजानी सुखै छैन ।

 

तपाईं अंग्रेजी पढ्नुस् वा विज्ञान । समाजशास्त्र अध्ययन गर्नुस् वा नेपाली । गणित पढ्नुस् वा अर्थशास्त्र । लेखा अध्ययन गर्नुस् वा नेपाली । तपाईंले जुन विषय पढ्नुहुन्छ नि त्यसको चुरो कुरो थाहा पाउन इतिहास नपढी धरै छैन । उसो त इतिहास तथ्यहरूको संग्रह मात्रै होइन । विगतका घटनाहरूलाई विश्लेषण गरेर अहिलेको अवस्थाबारे उल्लेख गर्नु नै खास इतिहास हो । इतिहासले वर्तमानमा कहाँनेर पुगेका छौँ, यहाँसम्म हामी कसरी आइपुगेका छौँ भनेर महŒवपूर्ण जानकारी दिन्छ । यति महत्वपूर्ण विषयलाई नेपालमा भने लगभग बेवास्ता गरिँदै आइएको छ । इतिहास विषयबारे नेपालका आमनागरिक, विद्वान् तथा प्राज्ञिक व्यक्तिहरूमा समेत बुझाइ निकै कमजोर रहेको छ । यसको मूल कारण नै इतिहास विषयलाई बेस्ताव गर्नु हो भन्दा फरक पर्दैन । 

के हो इतिहास ?
इतिहास भाटगिरी होइन । चाहे त्यो राजामहाराजाको होस् कि कुनै देशको । राजनीतिक दल वा नेता र व्यक्तिविशेषको होस् । इतिहास आममान्छेहरूको संघर्षको कथा पनि हो, तिनको व्याख्या र विश्लेषण हो । आजको उपलब्धि हात पार्न हिजो को कसले कति योगदान गरे ? तिनको सकारात्मक र नकारात्मक दुवै पाटा हेरेर मूल्यांकन गर्नु असली इतिहास हो । उत्तरआधुनिकवादले यही कुरा बताउँछ । तर, अहिलेसम्म इतिहासलाई एउटा फ्रेममा रहेर परम्परागत तरिकाले मात्रै बुझिँदै, लेखिँदै आइएको छ । हिजो के–के भयो ? कसरी भयो ? भन्नेबारे उपयुक्त विधि अपनाएर अध्ययन गरेपछि मात्रै हामी बाँचेको जगत्मा परिवर्तन सम्भव थियो, छ र हुनेछ भन्ने थाहा हुनुपर्छ । तर, विडम्बना हाम्रा सन्दर्भमा त्यसो हुन सकिरहेको छैन । 


वंशावली, तिथिमिति र घटनाक्रम कण्ठ पारेर तिनका पुनरावृत्त र अपव्याख्याका भरमा मात्रै पनि इतिहास बन्दैन । आलोचनात्मक चेतसहित समाज बुझ्ने र त्यसको सही व्याख्या गर्नुपर्छ । अहिले पनि धेरै प्रसंगमा इतिहास नपढी हुँदैन भन्ने गरिन्छ । इतिहास विषय पढ्न र जान्न धेरैलाई चासो नै हुँदैन । यसलाई निरस र मितितिथिको सँगालो भनेर धेरैले हेयका दृष्टिले हेर्छन् । विगतका घटनाबारे जानकारी राख्नु र विभिन्न विषयमाथिको गहिरो ज्ञान हुनु इतिहास अध्ययनको सीमाभित्रै पर्ने कुरा हो । तर, यस्तो कार्यले मात्रै केही फरक पार्दैन । ती जानकारी राखिएका र संग्रह गरिएका सूचनाका सकारात्मक र नकारात्मक पाटालाई विश्लेषण गरेपछि मात्रै इतिहासको सही तथ्य बाहिर आउँछ ।

इतिहासका अध्येताहरू लेख्ने र बोल्ने मामलामा अरूभन्दा अगाडि हुन्छन् भन्ने कुरा सही हो । तर, नेपालको सन्दर्भमा यो कुरा पूर्ण रूपमा लागू हुँदैन । नेपालका इतिहासकार, अध्येता र इतिहासका प्राध्यापकहरूको हैसियत कस्तो छ भन्ने जान्न उनीहरूले लेखेका किताब हेरे थाहा लागिहाल्छ । त्यसैले किन पढ्ने इतिहास भन्न बुझ्न जरुरी छ । 

 

इतिहासलाई सूचना र स्रोतको संहग्र मात्रै हो भनेर बुझ्नु नै गलत हो । अहिलेको परिवेशमा जोसँग सूचना बढी हुन्छ उही शक्तिशाली मानिन्छ । त्यही भएर संसारभर थोरै मात्रामा भए पनि इतिहास पढिन्छ र पढ्नैपर्छ । नेपालमा पनि त्रिभुवन विश्वविद्यालयमा एकजना इतिहासका विद्यार्थी नभए पनि इतिहास विषय पढाइ हुन्छ । यसको विभाग हराउँदैन । किनभने इतिहासले नै मानवीय कार्यहरूको संरक्षण गरेको हुन्छ । इतिहासले संरक्षण गरेका त्यस्ता सामग्री व्यक्ति तथा समाजका लागि सधैँ उपयोगी र अपरिहार्य हुन्छन् । त्यो केवल इतिहासले मात्रै सुरक्षित गरेर राखेको हुन्छ । मानिसलाई इतिहासले दिने सबैभन्दा राम्रो र ठूलो उपहार भनेकै यही हो । 

यसकारण पढ्ने इतिहास
विश्व परिवेशलाई हेर्ने हो भने इतिहास विषयको ठूलो महत्व छ । नेपालमा मात्रै इतिहास विषयलाई काम नलाग्ने भनेर अपव्याखा गरिँदै आइएको छ । जसले यस्तो तर्क गर्छन् तिनैले इतिहासबारे जान्नुपर्छ भन्ने विरोधाभास कुरासमेत गर्छन् । जसले जे भने पनि इतिहास विषयले धेरै जानकारी दिन्छ । इतिहास पढेका र यसका अध्येताहरूसँग शोध गर्ने सीप, कला र क्षमता हुन्छ । सूचनाको स्रोत पत्ता लगाउन र तिनको सही समीक्षा गर्न उनीहरू सिपालु हुन्छन् । सही प्रमाणका आधारमा सत्यतथ्य पत्ता लगाउने र तिनको मूल्यांकन गर्ने तरिका पनि उनीहरूले जानेका हुन्छन् । इतिहासका अध्येताहरू लेख्ने र बोल्ने मामलामा अरूभन्दा अगाडि हुन्छन् भन्ने कुरा सही हो । तर, नेपालको सन्दर्भमा यो कुरा पूर्ण रूपमा लागू हुँदैन । नेपालका इतिहासकार, अध्येता र इतिहासका प्राध्यापकहरूको हैसियत कस्तो छ भन्ने जान्न उनीहरूले लेखेका किताब हेरे थाहा लागिहाल्छ । त्यसैले किन पढ्ने इतिहास भन्न बुझ्न जरुरी छ । 


के सूचनाको रटान र जानकारी संग्रह गरेर मात्रै इतिहासकार भइराख्न सकिन्छ ? एकथरीले पृथ्वीनारायण शाहलाई बडामहाराधिराज, एकीकरणकर्ता र अर्काथरीले विस्तारवादी भनेर लेख्नु नै दक्ष इतिहासकार भएको प्रमाण हो ? के नेपालको इतिहास विषय पृथ्वीनारायण शाहविना पढाउन सकिँदैन ? नेपालको इतिहास विषय पढाउनु भनेको यति मात्रै हो ? वेलावेलामा अर्को भ्रम पनि रहिरहन्छ के इतिहास विषय पढ्दैमा इतिहास लेख्ने गुण आउँछ ? के राम्रो इतिहासकार हुन इतिहासमा डिग्री गर्नैपर्छ र ? सत्यचाहिंँ के हो भने, इतिहासका नाममा कसैको स्तुतिगान गाउन र झुटका पुलिन्दा लेखेर दुनियाँलाई भ्रममा नपार्नचाहिँ इतिहास विषय पढ्न आवश्यक छ ।

 

लेखेको इतिहास ठीक भयो कि भएन ? कति सब्जेक्टिभ वा कति अब्जेक्टिभ भएर लेखियो ? लेखिएको कुरा कति तथ्य र आलोचत्मक छ ? कहाँनिर चुकियो ? हिस्टेरियोग्राफीले के भन्छ ? इतिहास लेखनको न्यूनतम विधि अपनाइएको छ छैन भनेर जान्नचाहिँ यो विषय नपढी सुखै छैन । इतिहासको विश्वसनीयता कायम राख्न, इतिहास लेखनको विधिबारे जान्न, चाकडी र चाप्लुसी पाराले कसैको देवत्वकरण गर्ने र कसैको राक्षसीकरण गर्न हुँदैन भन्ने जान्न इतिहास पढ्न जरुरी छ । इतिहास विषय पढेपछि सिद्धान्तको फराकिलो ज्ञानले छाति चौडा पारेर वास्तविक र तथ्य इतिहासबारे निर्धक्क बोल्न, लेख्न, परेको ठाउँमा इतिहास विषयका गलत टिप्पणीबारे बहस, पैरवी गर्न तथा डटेर प्रतिवाद गर्न सक्नेचाहिंँ पक्कै बनाउँछ । 

के सूचनाको रटान र जानकारी संग्रह गरेर मात्रै इतिहासकार भइराख्न सकिन्छ ?

 

कुन इतिहास हो ? कुन इतिहास होइन ? कुन भजन हो कुन गाली हो ? भनेर छुट्याउने र कसरी इतिहास लेख्ने भन्ने ब्रह्मज्ञान कक्षाकोठामा राम्रोसँग पढ्ने हो भने मजाले जानिन्छ । कुन सही इतिहास हो ? कुन इतिहासका नाममा स्तुतीगान हो ? छुट्याउने विवेक आउँछ । पार्टीको झोला बोकेर उसको कार्यकर्ताले गरेझँै इतिहासका नाममा कसैको बचाउ गर्न, गुणगान गाउन, देवत्वकरण गर्न, केही पाउँला र खाउँला, प्राज्ञ बनाइदेलान्, भिसी देलान्, कतै नियुक्ति खान पाउँला भनेर पार्टीकै कुरा लेख्न र त्यसलाई इतिहास हो भनेर रटान लगाउचाहिँ इतिहास विषय नपढ्दा पनि खासै फरक पर्दैन । इतिहास पढ्दैमा सबै जानिन्छ, सबै लेख्न सकिन्छ भन्ने अवश्य होइन, तर के इतिहास हो ? के इतिहास होइन ? इतिहास लेख्नै परे कसरी लेख्ने ? कुन विधि अपनाउने भन्नेबारे प्रशस्त ज्ञान आर्जन गर्न इतिहास विषय पढ्नैपर्छ । इतिहासलाई मैले कसरी बुझेको छु ? आममानिस कसरी बुझ्दछन् ? इतिहास के हो ? भन्ने सैद्धान्तिक ज्ञान लिन र इतिहासको महŒव कति छ ? भन्नेबारे चेतनाको स्तर बढाउनचाँहि यो विषय विश्वविद्यालयमै गएर अध्ययन गर्नैपर्छ । 

 

अब के गर्ने ?
पछिल्लो समय सत्ताको नजिक पुग्न, राजनीतिक आस्थाका आधारमा शक्ति आर्जन गर्न र विश्वविद्यालयमा नियुक्ति र बढुवा खान इतिहास विषय नपढेका, यसको सैद्धान्तिक ज्ञान नभएकाले इतिहासका नाममा विभिन्न कुरा लेखिरहेका छन् । लेखकको नाममा इतिहासको नाम बेचेर कसैको दलाली गर्नेहरूको झुन्डले नेपाली इतिहास जगत् कलंकित हुन थालेको छ । इतिहासबारे न्युनतम जानकारी, विषयगत योग्यता, अनुसन्धान विधिलाई अनुसरण नगरी विभिन्न कुरा लेखिनुले इतिहासको बदनाम भएको छ । त्यसैले इतिहास विषयलाई बचाइ राख्न यसबारे प्रशस्त कलम चलाउनुपर्छ । इतिहास पढेका, इतिहासका जानकार, प्राध्यापक र अध्येताहरूले यसको प्रतिवाद गर्न जरुरी छ । 


गहन तरिकाले इतिहास पढ्छु भन्नेले राम्रोसँग पढ्नै नपाउनु, इतिहासमै केही गर्छु भन्नेहरूले मौका नपाउनु, इतिहास विषय पढ्दा त्यसको उपयोगिता सिद्ध गर्ने स्थान नभेटिनु, जागिर नपाउनु, इतिहासको अनुसन्धान गर्ने परिपाटी नहुनु उत्तिकै दुःखद पक्ष हो । राजनीति गर्ने नेताले दुई चार कुरा बोल्न, समाजबारे बुझ्न चाहने अभियन्ता, आफ्नै कुल, कुलायन र वंशबारे जान्न, हामी यहाँसम्म कसरी आयौँ ? हामी को हौँ ? किन देश बनेन ? देश बनाउन के गर्ने ? शासकले कहाँनेर गल्ती गर्‍यो ? त्यो शासकको गल्ती अर्को शासकले किन सच्याएन ? नसच्याउँदा देशलाई के घाटा भयो ? देश वास्तवमा कसरी चल्छ ? इतिहास विषय हेलाहोचो गरिएजस्तो पक्कै होइन भनेर बुझ्न र इतिहास भनेको विषयको पनि विषय हो भनेर थाहा पाउन जो सुकैले पनि इतिहास विषय पढ्दा फरक पर्दैन ।

 

विनाविश्वविद्यालयको पढाइ, स्वअध्ययन, तालिम, ज्ञान र अनुभवको कसीले राम्रो स्थान र पेसागत मर्यादा बनाएका केही अपवाद भने नकार्न सकिन्न । धेरैलाई इतिहास पढ्नु भनेको विशुद्ध इतिहासकार बन्नलाई मात्र हो भन्ने भ्रम अझै विद्यमान छ । वास्तवमा इतिहासका पनि अनेक हाँगाबिँगा छन् । यसको अध्ययनपछि इतिहासकार कहलिने बाटो त खुला हुन्छ नै साथसाथै वैकल्पिक मार्गमा यात्रा गर्ने सुविधा पनि उपलब्ध हुन्छ । जसलाई धेरैले नजरअन्दाज गरेको देखिन्छ । बेकार इतिहास पढिएछ ? भनेर आत्मग्लानी गर्नु, इतिहास पढेर के काम ? भविष्य नै छैन भनेर सामान्यीकरण गर्नु गल्ती हुनेछ । बरु इतिहासका विभिन्न हाँगा समातेर त्यसबारे आफूले सकेको अध्ययन–अनुसन्धान गरी बाहिर ल्याउनुपर्छ । अरू केही गर्न नसकिए पनि आफ्नै इतिहासबारे खोजेर डकुमेन्टेसन गर्ने हो भने पूर्खाको इतिहास भावी पुस्तालाई काम लाग्न सक्छ । पछिल्लो समय मानिसले आफ्नै इतिहास जान्न खोज्ने ट्रेन्डसमेत बढेको छ । यसो गर्दा इतिहास विषय पढ्नेहरूका लागि आफैँबारे खोजबिन गर्ने अवसर आउन सक्छ ।

 

इतिहास विषय पढ्नलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्रबहुमुखी क्याम्पस नेपालगन्ज र विराटनगरमा विद्यार्थी संख्या बढेका छन् । तर, ती विद्यार्थीलाई कक्षाकोठासम्म टिकाइराख्न, उनीहरूलाई परीक्षासम्म डो¥याएर डिग्री पास गराउने र इतिहासकारको रूपमा स्थापित गर्न त्रिविको कुनै योजना नै छैन । उसलाई इतिहास विभागबारे खासै चासो भएजस्तो पनि लाग्दैन । त्यसैले भर्ना भएका विद्यार्थीसमेत परीक्षा हुने वेलासम्म हराइ सक्छन् । त्यसको उदाहरण पंक्तिकार आफैँ हो । अर्कोतिर त्रिविको इतिहास तथा केन्द्रीय विभागले समयसापेक्ष इतिहास विषयको पाठयक्रम परिमार्जन गरेर पढाउने हो र यसको महत्वबारे उजागर गराउने काम गर्ने हो भने इतिहास विषयका विद्यार्थी थामिनसक्नु हुनेमा शंका छैन । यसका लागि त्रिविको इतिहास विभाग प्रमुखले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । विभाग प्रमुखले केवल जागिर खाने र विभागीय प्रमुख भएँ भनेर भित्तामा फोटो टाँसेर जाने मात्रै हो भने त केही हुँदैन । दृढ इच्छाशक्ति देखाएर इतिहास विषयबारे केही न केही गर्छु भन्ने हो भने नसकिने केही छैन । यसबारे सरोकारवाला सबै बसेर निक्र्योल गर्नु बुद्धिमानी हुनेछ । यसो गर्न सकिए इतिहास पढ्ने, पढाउने र इतिहासमै रुचीपूर्वक काम गर्ने, गराउने सबैलाई फाइदा पुग्नेछ । 


(लेखक त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दै छन् ।)