• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सौरभ कार्की
२०७९ जेठ २८ शनिबार ०६:५१:००
साहित्य

जीवन–बोध

२०७९ जेठ २८ शनिबार ०६:५१:००
सौरभ कार्की

घर छाडेर निस्किँदा रुन्छ्न् 
जसरी पाठेघरको न्यानो छाडेर 
निस्किँदा पृथ्वीमा रुन्छ्न्
नवजात शिशुहरू,
जन्म र रोदन
अस्तित्वको अप्ठ्यारो अनुमोदन

 

गोलो सूर्यको वरिपरि घुमिरहेको
यो गोलो पृथ्वीमा 
मलाई पनि जन्मिनु रहेछ एक दिन
म जन्मिएँ, तिम्रो समाजको स्वीकृतिबिना
अस्वीकारको अभिव्यक्ति
किनारमा राख्न खोज्यौ, म राखिएँ
म किनारमै हुर्किएको फुल हुँ
तिमी मध्यघेरामा उर्लिएर बगिरह्यौ
म दर्शकवृन्दको एउटा हुल हुँ
मुख्य भूमिका खेल्ने तिमी नायक भयौ

 

घाम–पानी सहँदै, 
समयको गतिसँगै बहँदै
म हुर्किँदो क्रममा
मलाई मेरै इन्द्रियले भ्रममा पारे
सिमलको भुवा हो भनी जिन्दगानी 
विश्वास लागेन
अनि फलामे ढुंगाझैँ गर्हुंगो भयो मन

 

हुन त मलाई विरहको धुनले 
लठ्याएको सानैदेखि हो
मलाई जानी–जानी कसैले
बगैंचाबाट उखलेर बगरमा 
रोपिदिएजस्तो मनैदेखि लाग्थ्यो
तर गुनासो कसको, कोसँग पोख्ने ?
ईश्वरको अदालतमा न्याय 
अन्याय कसरी हो जोख्ने ?
तिम्रा हँसी–मजाक, ममाथिको उपहास
म एक्लैले कहिलेसम्म रोक्ने ?
तिम्रो लागि म केवल मनोरञ्जन रे
किन गर्यौ भुल अस्तित्वको मूल्य तोक्ने ?

 

मैले बालुवाको बगरमा 
यति बलियो गरी जरा गाडेछु कि
मेरो धरातल डगमगाउन गाह्रो छ अब
धराले मभित्र यति शक्ति भरिन्छन् कि
म यहीँ फुलेर बगरलाई बगैँचा बनाउँदै छु
मेरो फूलको बास्ना मगमगाउँदै छ वरिपरि 
मैले एक्लै बिताएका दिन,
रात
रापिला घामहरू, भारी बर्षाले
मलाई झन् अटल बनाइदिएछ्न्
मेरा फुलका हरेक पत्रपत्रसँगै
फक्रिएका छन् संघर्षका सुन्दर सारांश

 

आत्मलोचना, आत्मबोध, आत्मकथा
घटना, संयोग, दृष्टान्त समेटिएको
एउटा पुरानो डायरी छ हातमा 
स्मृतिपत्रका पानाहरू
मेरा आफ्नै अक्षरहरू
मेरा आफ्नै यात्राका वर्णन
मेरो चौधौँ जन्मोत्सवमा आमाले 
उपहार दिनुभएको यो डायरीजस्तै
जीवन पनि ईश्वरले दिएको 
एउटा अमूल्य उपहार नै त हो
म जीवनका खाली पाना 
आफ्ना अनुभवले भर्दै छु ।

 

संसारका सबै शास्त्रहरू
भन्दा पनि गहन
यो जीवनको पुस्तक झन् गहन
भइरहेछ
ती शास्त्रका अनेकौँ चरित्रचित्रण
भित्र म आफैंले आफैँलाई भेट्छु
रावणले लंकामा गिज्याउँदै 
जोकरको संज्ञा दिएको हनुमानमा होस् या
दरबारबाट उपेक्षा गरेर लखेटिएका पाण्डवमा होस् 
अग्निपरीक्षा दिइरहेकी सीतामा होस् 
या लाचार बनाई नंग्याइएकी द्रौपदीमा
यी यावत् अवस्था नियाल्दै
सम्झिएँ, मन्दिरभित्रका भगवान्लाई
देखेँ नजिकै बसिरहेका मेरा बा–आमा
मलाई मन्दिरसम्म पुग्न मन लागेन
त्यसपछि फेरि मन्दिर धाउनै परेन ।

 

म हरेक साससँगै जन्मिरहेछु
पुराना पीडा र चीत्कार च्यापेर ओठमा
र निद्रामै बर्बराइरहेछु
कविताका केही नयाँ हरफ

 

पुरानो पुस्तकालयको कुनै एक कुनामा
सदियौँदेखि थन्काइएको पुस्तक,
जसमा धुलोको गाता लागिसकेको छ,
त्यो पुस्तक खोलेर पढ्यौँ र
कतै पुस्तकको बीचमा
सुकेको पुरानो गुलाबको फूल भेट्यौँ भने
सम्झनु ढिलै भएपनि तिमीले मलाई 
भेट्यौ ।


म त्यही फूल हुँ जुन बगरदेखि टिपिएर
आफ्नै आत्मकथाका पानामा
च्यापिएर प्रेमिल निद्रा निदाइरहेछु ।