• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोदनाथ प्रश्रित
२०७९ जेठ २८ शनिबार ०६:५३:००
साहित्य

रसिलो महाकाव्य ‘दर्पण’

२०७९ जेठ २८ शनिबार ०६:५३:००
मोदनाथ प्रश्रित

भर्खरै जनता सञ्चार गृहबाट प्रकाशित इन्जिनियर चन्द्रकान्त आचार्यको अत्यन्त रसिलो महाकाव्य ‘दर्पण’ पढेपछि केही लेख्ने मन भयो र यसबाट केही टिपोट गरेको छु । पूर्वाद्र्धमा विज्ञान पढेर इन्जिनियर भई नयाँ–नयाँ बान्कीका सडक, भवन, पुल आदिको रेखाङ्कन र निर्माणको नेतृत्व गर्ने यी अभियन्ता उत्तराद्र्धमा कथाकार, उपन्यासकार र नियात्राकारको रूपमा राम्ररी परिचित थिए । तर, अहिले यिनले रसिलो बृहत् महाकाव्य प्रकाशित गरेर रचना कौशलताको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । 


‘दर्पण’ महाकाव्यको प्रारम्भ शीर्षकमा दिइएको अन्तरिक्ष यात्रीले अन्तरिक्षबाट पहिले हाम्रो देशलाई नै देख्ने गरेको कुरालाई व्यक्त गरेको कविता गौरवलाग्दो छ :
अन्तरिक्ष पुगेका ती झानिवेकव भन्दछन्


तल हेर्दा त्यहाँबाट नेपाल झट्ट देख्तछन्
विन्दु–विन्दु जलै मात्र छैन स्पष्ट कतै पनि
यौटै सगरमाथा जो बताउँछ धरा धनी । (१/३)


सगरमाथाले यस पृथ्वीलाई नै चिनाउने कुरा सुन्दर कविताले बताइसकेपछि नेपालको प्रकृति चित्रण, यहाँका पशुपति, लुम्बिनी आदि विश्वप्रसिद्ध धरोहरहरूको बखान गर्दै कवि आफ्नो  जन्मथलो अर्घाखाँची पुगेका छन् र लेख्छन् :


यो भाग अब पर्दै छ लुम्बिनी जो प्रदेशमा
जनताको मिलापै छ पहाड र मधेसमा ।     


आप्mनो वंश–परम्परा र बाल्यकाल, किशोरकालका रमाइला वर्णनसँगै नेपालको राजनीतिक व्यवस्थाको चिरफार, २०१८ सालमा गुल्मी अर्घाखाँचीमा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको क्रान्ति र त्यसमा होमिएका आफ्ना परिवार र गाउँले युवाका बलिदानी कथाले यस महाकाव्यलाई बढी स्तरीय बनाएको प्रतीत हुन्छ । यसको भूमिकामा वरिष्ठ समालोचक प्रा. गोपीकृष्ण शर्माले लेखेको कुरा ‘प्रस्तुत ‘दर्पण’ महाकाव्य खास सङ्घर्षशील व्यक्तिको साधारणीकृत आत्मवृत्तान्त हो र त्योसँगै देशको वर्तमान समयसम्मको यात्रागत परिदृश्य पनि हो’ सत्य लागेको छ ।

 

पूर्वाद्र्धमा विज्ञान पढेर इन्जिनियर भई नयाँ–नयाँ बान्कीका सडक, भवन, पुल आदिको रेखाङ्कन र निर्माणको नेतृत्व गर्ने यी अभियन्ता उत्तराद्र्धमा कथाकार, उपन्यासकार र नियात्राकारको रूपमा राम्ररी परिचित थिए । तर, अहिले यिनले रसिलो बृहत् महाकाव्य प्रकाशित गरेर रचना कौशलताको राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।


पौरस्त्य साहित्यले खोज्ने रसात्मकता र पाश्चात्य विद्वान्हरूले रोज्ने आनन्द प्राप्तिका प्रसंग यस महाकाव्यमा प्रशस्त देखिन्छन् । भिन्न संस्कृति र भिन्न व्यवस्था भएको विकसित देश सोभियत संघमा पढ्न गएको समयमा प्राप्त हुने सोभियत जनताका स्नेहपूर्ण भावना र युवाहरूका रमाइला क्रियाकलापको सजीव र लालित्यपूर्ण प्रस्तुतिले रसात्मकता र आनन्द प्राप्ति दुवै समावेश भएको यस काव्यमा देख्न पाइन्छ । सर्ग—८ युक्रेन पर्वमा एउटी सुन्दर युवती देखेको प्रसंगमा तिनको सुन्दरताको बखान गरिएका कविता र तिनीसँगको नृत्यमा रमाएको कविको मन प्रफुल्लित हुँदा निस्केका रूपक र उपमा अलङ्कारयुक्त शृङ्गार रसका कवितामध्ये एउटा कविता उद्धृत गर्न उपयुक्त लाग्यो :


कस्तो हो कमलो शरीर तिनको नौनी हुँदो हो कडा
ओठै ती कति लाल मस्त रसिला पीयूषका ती घडा !
आँखा जुध्न पुगे भयो रमरमै आनन्द वर्षा भयो
सासै त्यो नजिकै हुँदा मन भने डुब्द्यौँ त्यहीँ झैँ भयो । (८—८१)


भूमिकामा प्रा. गोपीकृष्ण शर्माले नवौँ सर्ग (रुस पर्व–२) यस महाकाव्यको आत्मा हो भने जस्तै सबभन्दा लामो यस सर्गमा धेरै शृङ्गार रसका कविता हुनुका साथै उर्लिंदो युवा समयको लामो अवधि त्यहाँ बस्ता त्यतै घरजम गर्ने वातावरण सिर्जना हुन सक्ने अवस्थाप्रति कवि सचेत भएको र पिएचडी गर्न अरू समय बस्न

 

अनुकूल वातावरण हुँदाहुँदै पनि
र उता भने देश विज्ञको माग गर्दछ,
सचेतता त्यतै धेरै देश नै अब माग्दछ ।” 


भन्ने देशप्रेमको उद्गारसहित विशेषज्ञ भएर नेपाल फर्केको नायकत्व प्रशंसनीय छ । नेपालमा विदेशी विशेषज्ञले भन्दा राम्रोसँग काम गरेर नाम कमाए पनि चाकडी प्रथामा भिज्न नसकेको र राजनीतिप्रति झुकाव भएको कारण छिटै जागिर छाडेर स्वतन्त्र पेसा अपनाएको कुरा नेपाल पर्व र बहुदल पर्वमा देखाइएको छ, जुन स्वाभिमानी र देशप्रेमी युवाका लागि प्रेरणादायक उदाहरण मान्न सकिन्छ ।


निर्मला पर्व छुट्टै खण्डकाव्य बनाए पनि हुने जस्तो छ । यसमा रुसमा पढेर आउने नायक चन्द्रको मनमा पहिलेदेखि बसेको नायिकाको प्रतिबिम्बसँग अचानक बूढानीलकण्ठ पुगेको समयमा जम्का भेट हुन्छ भने नायिका निर्मलाले पनि त्यसै नायकको प्रतीक्षामा तानसेनबाट एमए पढ्न काठमाडाैं आएको मधुर प्रसंग अति रोमान्टिक छ र यो प्रसंग सुन्दर कवि कल्पनाजस्तो लाग्दछ । तर, यस समीक्षकलाई पनि जानकारीमा आएको यो वास्तविक प्रसंग हो । यस महाकाव्यमा सबै घटना पूर्ण रूपले वास्तविकतामा आधारित छन् र धेरै कविता लालित्य र शृङ्गार रसले परिपूर्ण भएका छन् । कतै कल्पनाको उडानमा बिम्बात्मक प्रस्तुतिले वास्तविक घटनालाई नै सघाउ पुर्‍याएको अनुभव गर्न सकिन्छ । सर्ग–६ ‘किशोर काल’मा रुस जाने समयमा कन्फर्मेसन नआउँदा आमाको आशीर्वाद साइबेरियाका चरीसम्म मेघले पुर्‍याएको कुरा र सर्ग–११ निर्मला पर्वमा जोडी चरीको प्रसंग सुन्दर बिम्बात्मक प्रस्तुति हुुन पुगेका छन् । एउटा उदाहरण यहाँ दिन उपयुक्त लाग्यो :


उड्दैथे कति त्यैँ चरी भरररै जाने उतै हो जसो
त्यै साथै बससङ्ग नै उडिरहून् भेटेर आऊन् यसो
‘भन्देऊ गतिली चरी अब यता कुर्दै छ कोही भनी’
पैले नै मनका कुरा कति गरे सैबेरियाका चरी !  (११— ५६)


सर्ग–१२ बहुदल पर्वमा नेपालमा पञ्चायत व्यवस्थाको राम्ररी चिरफार गरिएको छ र २०४६ सालको क्रान्तिको राम्रो वर्णन छ । यस सम्बन्धका केही कविता यहाँ दिन उपयुक्त लाग्यो :


छब्बीस चैतमा ज्यादै जनता अघि बढ्दियो
महेन्द्र सालिकै तोड्न युवा राम्ररी उर्लियो
काठमाण्डौ उठ्याे पूर्ण सहरै भरिपूर्ण भो
चारतारे, हथौडाका झण्डाले झलमल्ल भो । (१२—७४)
राजा वीरेन्द्रले सोचे अब धेरै ढिलो भयो
प्mयाँकी पञ्चायती खोल नेता डाक्ने विचार भो 
मन्त्री प्रधान बन्नेमा गणेशमान डाकिए
सर्वमान्य तिनी त्यागी ‘प्रधान किसुनै’ भने  (१२–७५)


कवि चन्द्र आचार्य अर्घाखाँचीको सुन्दर र चर्चित वाङ्ला गाउँका शिक्षित र प्रतिष्ठित परिवारमा जन्मे । त्यो घर शिक्षाप्रेमी थियो । गाउँमा स्कुल नहुँदा त्यहीँको आँगनमा छरछिमेकका केटाकेटी आएर पढ्थे । राजनीतिमा सचेत र सङ्घर्षशील परिवार थियो त्यो । बाबुले २०१८ तिरै जेल भोगेका थिए । दाजुले सङ्घर्षका बन्दुक बोकेका थिए । 


सबै राम्रो हुँदाहुँदै प्रजातन्त्र प्राप्तिका लागि त्यस परिवारका सबै लागेको राम्रो समयमा अचानक कान्छो भाइ कृष्ण आचार्यको निधन भएको दुखद प्रसंग सर्ग–१४ ज्ञान पर्वमा दिइएको छ । त्यसबाट करुण रसका केही कविता यहाँ उद्धृत गर्न उपयुक्त लाग्यो :


सुनेँ मैले त्यस्तो खबर कसरी हो बुझिदिने ?
अहो आफ्नो  प्यारो अनुज त्यसरी पो गइदिने !
म ता सुन्दै कस्तो अचल मन यो थर्थर भयो 
खसे आँसू वर्षा धरधर रुने पो समय भो ।  (१४–३०)
मिलाई राम्रो यैँ सब घर जुटाई प्रिय, गयौ
कठै संझी संझी मकन सब यो दर्द भरिद्यौ
सबैलाई गर्ने प्रिय अनुज कस्ता तब रह्यौ
सबै मान्छे रुन्छन् मन सकलका हर्दम जित्यौ । (१४—३२)


दुःखका दिन सुरु भएपछि परिवारबाट आमा, बाबा, कान्छो भाइ मात्र होइन, त्यसपछि जिउँदो सहिद भनेर चिनिने जेठा दाइ यज्ञप्रसाद आचार्य र लोकतान्त्रिक विचारमा प्रतिबद्ध अति असल शिक्षक माइला दाइ ज्ञानहरि आचार्यसमेतको निधन भएको दारुण कथाको मर्मस्पर्शी वर्णनका साथै ज्ञानहरि आचार्यको गुल्मी तम्घास रेसुंगा क्याम्पस परिसरमा सालिक बनेको कुराको पनि वर्णन गरिएको छ । सर्गभरि करुण रस र शान्त रसका कविता प्रशस्त छन् । यस पर्वमा राजा वीरेन्द्रको वंश नाश भएको कुरा र माओवादी आन्दोलनको समेत विस्तृत चर्चा गरिएको छ । दुःखका गाथा जोडिँदै आएको सर्ग १५ दुर्घटना पर्वमा यस परिवारका तीन पुस्ता दाइ जनार्दन श्रीमती र डाक्टर छोरासहित काकी शान्ताको समेत २०७१ सालको अर्घाखाँची बस दुर्घटनामा ज्यान गएको दर्दनाक दृश्यावलीलाई करुण रसको माध्यमबाट मन छुने गरी प्रस्तुत गरिएको छ ।


सर्ग–१६ ‘मानवी पर्व’मा बालसखा शान्ता मानवीको संघर्षपूर्ण जीवन र वीरताका गाथा रचिएका छन् भने अन्तिम सर्ग १७ लेना पर्वमा अन्तर्राष्ट्रिय प्रसंग छन् । अन्तमा कवि चन्द्रकान्तको भावुक हृदयले विश्वलाई नै एउटा मैत्री सन्देश दिन खोजेको आभास हुन्छ । रुस र युक्रेनमा शत्रुता बढेको कुरामा दुखित हुँदै तिनीहरूबीच मिलाप भएर मस्कोबाट पहिलेजस्तै सहज र मैत्रीपूर्ण तरिकाले किभ जान पाउने कल्पना गर्दै कलम बिसाइएको छ ।


अहो मेरो त्यस्तो कति प्रिय थलो कीभ नगरी
बसेको नाचेको सब प्रिय तिनीसाथ कसरी !
गरेको यात्रा त्यो प्रथम जुन थ्यो कीभतिरको
मलाई कस्तो भो सरस दिन त्यो थ्यो नि रसिलो । (१७/५३)
पुराना मीठा ती सब स्मृति फिरे यै मनभरी
भयो मेरो इच्छा अब सब मिलून् यी सजिलरी
गरौँ यात्रा राम्रो सबतिर हुँदै कीभ पुगिने 
चढी रेलै उस्तै सब जनसितै स्नेह गरिने ।    (१७/५५)


श्लोक संख्या १३८२ रहेको यस बृहत् महाकाव्यका बारेमा छोटकरी टिपोट प्रस्तुत गर्दै भन्नुपर्ने हुन्छ– महाकाव्य सहज, सरल र सरस छ । वरिष्ठ समालोचक प्रा. गोपीकृष्ण शर्माको सम्पादनमा तयार भएको हुनाले शुद्धाशुद्धिमा पनि खोट लगाउने ठाउँ त्यति देखिएन ।


यस महाकाव्यमा तत्कालीन सोभियत जनताका विदेशीप्रति स्नेह,सद्भावना र सहयोगका कुरा लालित्यपूर्ण तरिकाबाट प्रस्तुत गरिएको पढ्न पाउँदा ती जनताप्रति कृतज्ञता जाहेर गर्नसमेत उपयुक्त लागेको छ । अस्तु !