चुरे : मधेस र पहाड जोड्ने सांस्कृतिक पुल हो । तर, यी बस्तीहरू हरेक वर्षाको बाढीले चुरेभित्रै थुनिन्छन् र अघोषित ‘लकडाउन’ मा बाँच्न विवश हुन्छन् । यो क्रम ८० वर्षदेखि जारी छ ।
उहिले–उहिले रातभरि हलो जोथ्यौँ, दिनभरि लुक्थ्यौँ । दुःख दिनुसम्म दियो नि ।’ सर्लाही पिपलदमारका ७६ वर्षीय बालिमराम वाइबाले करिब ४० वर्षअघिका कहालीलाग्दा दिनहरू सम्झिँदै भने । करिब ९० घरधुरी भएको पिपलदमार सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा पर्छ । सिन्धुलीको सिमानामा पर्ने पिपलदमार महेन्द्रराजमार्गबाट करिब २५ किलोमिटर उत्तर चुरेभित्र पर्छ ।
स्थानीय चुनावको दोस्रो दिन बालिमरामको गाउँ पुग्दा उनी आफ्ना दौँतरी रामबहादुर लामासँग गफिँदै थिए । आँगनमा चुनावी झन्डा फर्फराइरहेको थियो । अघिल्लो दिन भोट हालेर आएको निसानी दुवैजनाको औँलामा देखिन्थ्यो । ७३ वर्षीय रामबहादुर पनि भन्दै थिए, ‘घरमा आगो लगाइदिन्छ रे भन्यो । अनि मैले पनि राति बगरमा मकै लुकाएँ ।’ बालिमराम र रामबहादुरहरूले किन राति हलो जोत्नुपर्यो ? किन लुके ? उनीहरूलाई दुःख दिने को थियो ? यो प्रश्नका पछाडि लामो कथा छ । पुराना दिनहरू सम्झिन आग्रह गर्दा दुई पाका मान्छे पहिला फिस्स हाँसे, अनि गम्भीर भए ।
भर्खरै सकिएको स्थानीय चुनावताका बालिमरामको गाउँ खुब गुन्जायमान रह्यो । उनको गाउँसँगै सर्लाही र महोत्तरीका भित्री चुरे निकै व्यस्त भयो । रंग–रंगका झन्डा हल्लाउँदै, बाइकको हर्न बजाउँदै, ट्र्याक्टरमा ‘गीत’ घन्काउँदै भोट माग्नेहरू चुरेभित्र लगातार धाइरहे । खयरमारा खोलाबाट पसेको लस्कर चुरेको शिर टेकेर बाँके खोलामा निस्कियो । लखन्ती खोलाबाट पसेको हुल डाइनी खोलामा निस्कियो । कालिन्जोर खोलाबाट पसेको हुल फुल्जोर खोलामा निस्कियो । पिपलदमारमा एउटा हुलले कोणसभा गरिरहँदा लामिदमारमा अर्को हुल माइक फिट गर्दैै थियो । छोड्के दोभानमा एउटा हुलले प्रतिवद्धता पत्र बाँडिरहँदा गर्दी दोभानमा अर्को हुलले आश्वासन बाँड्दै थियो ।
बारीमा काम गरिरहेका किसानहरू, घरमा बसिरहेका गाउँलेहरूले मोटरको कर्कस आवाज आएपछि झस्किँदै खोलाको डिलमा उभिएर मोटरसाइकल, ट्र्याक्टर र बोलेरोको ताँती हेरे । पाखापखेरी रन्किने गरी, चराचुरुंगी भाग्ने गरी पाँच वर्षअघि पनि चुरेभित्र यसैगरी हुलका हुल भोट माग्नेहरू पसेका थिए । त्यसपछि बितेका पाँच वर्ष चुरे फेरि सुनसान भयो । चुरेका गल्छेंडाहरूमा न कुनै माइक बज्यो, न कुनै नेता पुगे ।
पाँच वर्षपछि चुरेभित्र पसेका उम्मेदवारलाई यति थाहा छ, सर्लाही र महोत्तरीका चुरेका पाखापखेरीमा पाँच हजारभन्दा धेरै भोटर बस्छन् । उनीहरूको काम सिर्फ पाँच वर्षमा एकपटक भोट हाल्नु हो । उम्मेदवारलाई यो पनि प्रस्ट थाहा छ, चुरेभित्रको मत जता खस्यो, उसैले मार्नेछ बाजी ।
यसपटक पनि चुरेभित्र बस्ने किसानले भोट हाले । भोट हालेको हप्ता दिनसम्म रेडियोको रेन्टिनामा तार जोडेर, मोबाइलको एअरफोनमा अर्को एअरफोन गाँसेर लगातार समाचार सुनिरहे । आफूले भोट हालेको उम्मेदवार जित्दा खुसीले हाँसे अनि नाचे पनि । अनि मोबाइलको टावर टिप्ने डाँडामा गई जितौरे उम्मेदारलाई फोन गरे । तर, फोन उठेन । भोट दिनेहरूलाई पनि थाहा छ– अब उनीहरू पाँच वर्षसम्म चुरेभित्र फेरि पस्नेछैनन् । बालिमराम र रामबहादुरसँगै चुरेवासीहरू फेरि फर्किए, आफ्नै दैनिकीमा ।
चुरे के हो ?
मधेसका फाँटहरूभन्दा उत्तर, पहाडका चुचुराभन्दा दक्षिण । उत्तरबाट हेर्दा पहाडको पुच्छरजस्तो, दक्षिणबाट हेर्दा मधेसको सिरानीजस्तो होचाहोचा थुम्काहरू बोकी पूर्वपश्चिम फैलिएर जुगौँदेखि अस्तित्वमा रहेको ठाउँ हो चुरे । भूगर्भविद्हरूले यस क्षेत्रलाई करिब चार करोड वर्षअघि हिमालयको उत्पत्ति हुने क्रममा बनेको सबैभन्दा पछिल्लो पहाड भनेका छन् । इलामदेखि डडेलधुरासम्म ३६ जिल्लामा फैलिएको यो क्षेत्रले नेपालको करिब १३ प्रतिशत भूभाग ओगटेको छ । कतिपय विज्ञले चाहिँ नेपालमा मात्रै नभई पाकिस्तानको इन्डस नदीदेखि भारतको ब्रह्मपुत्र नदीसम्म चुरेको शृंखला फैलिएको भनेका छन् । ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’का अनुसार चुरे क्षेत्रमा ३६ लाख १५ हजार मानिस बसोवास गर्छन् ।
मधेसमा खडेरी प¥यो भने, बाढी आयो भने चुरेको सम्झना आउँछ । नेताहरूलाई पाँच वर्षमा एकपटक मात्रै चुरेको सम्झना आउँछ । भच्र्युअल मिटिङहरूमा वेलावेला सुनिन्छ चुरे । क्रसर मालिकले दिलिपकुमार महतोहरूलाई मार्यो भने सुनिन्छ चुरे । भारतलाई ढुंगा उपहार दिनुपर्यो भने सम्झिन्छ चुरे । तर, जति सम्झिए पनि सधैँ बिर्सिरहने क्षेत्र हो चुरे । चुरेभित्रको मानवशास्त्र, समाजशास्त्र, अर्थराजनीति र सांस्कृतिक पक्षबारे आजसम्म कतै गम्भीर चर्चा सुनिएको छैन । ३६ जिल्लामध्ये सर्लाही र महोत्तरीको चुरेभित्र मात्रै करिब १० हजार मानिस ८० वर्षदेखि बस्दै आएका छन् । त्यहाँभित्रको कथा अर्कै छ ।
चुरे क्षेत्रलाई भूगोलविद्को दृष्टिबाट मात्रै अध्ययन गर्दा अपूरो हुन्छ । पर्यावरणीय चस्माले मात्रै पनि चुरेको भित्री कथा देखिँदैन । तह–तहमा विभाजित चुरेको समाज बुझ्न इन्टरडिसिप्लिनरी एप्रोच (अन्तरविषयात्मक दृष्टिकोण) आवश्यक छ । किनकि चुरेमै कतै अन्नको भन्डार छ, कतै अनिकालको हाहाकार छ । अमेरिकी समाजशास्त्री इम्यानुअल वालेस्टाइनको विश्व व्यवस्था सिद्धान्त (कोर, सेमिपेरिफेरी र पेरिफेरी) बुझ्न चुरेको शोषणको चक्र हेरे पुग्छ । तह–तहमा विभाजित नेपाली समाजको चित्र चुरेका बस्तीमा मनग्य भेटिन्छ । ती तहमा शोषण र अन्तरनिर्भरताका तहहरू जेलिएका छन् । चुरेको भित्री भागलाई चुरे फेदीका गाउँले शोषण गर्छ ।
फेदीलाई बर्दिवास, लालबन्दी, चन्द्रनिगाहपुरजस्ता साना सहरले शोषण गर्छ । ती सहरलाई फेरि जनकपुर, वीरगन्ज, भरतपुरजस्ता सहरले शोषण गर्छ । जनकपुरलाई चलाउने काठमाडाैं छ । यसरी तहहरूको सबैभन्दा तल्लो तहमा चुरेको भित्री भाग पर्छ । यो त्यही तल्लो तहको कथा हो ।यो रिपोर्टिङको क्षेत्र सर्लाही र महोत्तरीमा पर्ने महेन्द्रराजमार्गबाट करिब २५ किलोमिटरभित्रको हो, जसलाई भित्री चुरे, भित्री खोला इत्यादि नामले चिनिन्छ । बाँके, खयरमारा, लखन्ती, कालिन्जोर, फुलजोरजस्ता दर्जनौँ खोला वरपर करिब १० हजारभन्दा धेरै मानिस बसोवास गर्छन् ।
चुरेभित्रको कथा
पिपलदमारको सानो दोकानमा गफिरहेका ती दुई पाका मान्छेले अनिकालका कुरा गरे, वनपालेले खेदेको कुरा गरे । माओवादीले घरै रित्तिने गरी खानेकुरा खाइदिएको कुरा गरे । ती दुई वेलावेला मस्तै हाँस्थे, वेलावेला गम्भीर देखिन्थे ।उनीहरूले भनेका कुरा, चुरेभित्रका अन्य स्थानीयको भनाइ र नेपालमा बसाइँसराइको प्रवृत्ति हेर्दा सर्लाही र महोत्तरीको चुरेभित्र मुख्यतः तीन चरणमा मानिस पुगेको देखिन्छ । पहिलो, वि.सं. १९९० देखि २००७ सालसम्म । दोस्रो, ०२० देखि ०३० सालसम्म । तेस्रो, ०३० देखि ४५ सम्म । तीनै चरणको बसाइँसराइसँग राणा शासनको दमन र बहिष्करण, औलो उन्मूलन, बसाइँसराइको लहर, चर्को गरिबी, बाढीपहिरो र महेन्द्रीय विकासको परिणति अन्तरसम्बन्धित देखिन्छन् ।
पहिलो चरण
जंगबहादुर राणाको पालामा मुलुकी ऐनमै मासिन्या मतवाली घोषित गरेपछि धेरै तामाङहरूले आफ्नो थातथलो छाडे । रणबहादुर शाहको पालामा नुवाकोटमा एक हजार तामाङ काटिए । चर्काे गरिबी, राणाहरूको दमन र बहिष्करण आदि कारणले तामाङहरू दक्षिणतिर लागे । सिन्धुलीबाट महोत्तरी पुगेका तामाङहरूले दिनभरि समथर भागमा झाडी फाँडेर राति औलोबाट बच्न चुरेका थुम्कामा बस्न थाले । त्यस्तै लुक्ने ठाउँमध्ये एक थियो, महोत्तरीको चनौटे डाँडा । त्यसवेला झाडी फाँडेर बसेका मंगलीमाया ग्लानका ७५ वर्षीय छोरा बुद्धिमान तामाङ भन्छन्, ‘मेरी आमा र उनका साथीहरू मिलेर दिनभरि तल जंगल फाँड्थे रे ! अनि अउल (औलो) लाग्छ भनेर रातिचाहि चनौटे डाँडामा गएर बस्थे रे !’ २०२४/२५ सालतिर तराईबारे अध्ययन गरेका अध्येता फ्रेडरिक एच.गेज.ले ‘नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता’ पुस्तकमा लेखेका छन्, ‘महोत्तरी–धनुषाको विमवन भनिने ठाउँ राणा प्रधानमन्त्री वीरशमशेरका दुई छोरालाईबिर्ता दिइएको थियो । सन् १९५० को दशकको सुरुतिर ती दुई दाजुभाइले तामाङ र मगरलाई जमिन अधियाँ दिने लोभ देखाएर जंगल फँडानी गर्न लगाए ।’
भांग्रेका गंगाराम गोले (५२) खयरमारा खोलाको शिरमा बस्ने पहिला बासिन्दामध्येका हुन् । २००७ सालअघि सिन्धुलीबाट बसाइँ सरी आउने क्रममा उनका बाआमा सीधै समथरमा झरे । तर, केही तामाङचाहिँ चुरेभित्रै बसेको उनले बाआमाबाट सुनेका थिए । पछि गंगारामका बाआमा फेरि चुरेभित्र पसे । खयरमाराका सबैभन्दा पुराना रैथाने लालबहादुर तामाङ(७२) भन्छन्, ‘यहाँ बस्ती बस्नुभन्दा पहिला नै भित्री खोलामा मान्छेहरू बसिसकेका थिए रे !’
माथिका केही उदाहरणबाट भन्न सकिन्छ, महोत्तरीको चुरेभित्र २००७ सालअघि नै केही मानिस बसिसकेका थिए ।
दोस्रो चरण
००७ सालतिर औलो उन्मूलन सुरु भएपछि दोस्रो चरणको बसाइँसराइ सुरु भयो । देशमा प्रजातन्त्र त आयो, तर सबैका लागि आएन । बसाइँसराइको क्रम झन् बढ्न थाल्यो । पहाडबाट क्षेत्री ब्राह्मण समुदायका मानिस पैसा लिएर मधेस झरे र उनीहरूले झाडी फाँडेर बसेका तामाङबाट जमिन लिए । त्यसपछि तामाङहरू जमिन गुमाएर फेरि चुरेका भित्री खोंचमा पसे । ०२२ सालको नापी आउँदा धेरै तामाङ चुरेभित्र विस्थापित भइसकेका थिए । त्यसवेला गंगारामका बाआमा पनि चुरेभित्र पसिसकेका थिए । उनी भन्छन्, ‘पहिले हामी तल गाउँमा बस्थ्यौँ । त्यहाँको जग्गा बेचेर बाआमा यो जंगलको बीचमा आई बस्न थालेछन् ।’ सर्लाही मटरदोभानका बहादुर वाइबा(६०)का बाआमा पनि पहिला समथलमै थिए । त्यहाँको जमिन गुमेपछि चुरेभित्र पसे ।
दोस्रो चरणमा केही मधेस झरेका तामाङहरू चुरेभित्र फर्किए । पहाडबाट केही तामाङ, मगर र दलितहरू चुरेभित्र पसे । चुरेभित्र ०२२ सालको नापीले थोरै मात्रै जमिन नम्बरी हुन पायो । रामबहादुर भन्दै थिए, ‘नापी आउँदा वनपाले आयो भन्ठानेर कति तामाङ त लुकेको रे ! अनि काँबाट हुनु नम्बरी ।’
तेस्रो चरण
एकातिर पञ्चायतको जगजगी थियो । अर्कोतिर मानिसहरू एकछाक खान रोजीरोटीका लागि बसाइँ सरिरहेका थिए । पहाडे शासक महेन्द्र राजमार्ग बनाउन व्यस्त थियो । दक्षिणतिर उर्वर भूमि, समथर ठाउँ देखेपछि पहाडेहरू मधेस झर्न थाले । सम्पत्ति हुनेहरू सीधै समथरमा पुगे । सम्पत्ति नहुनेहरू केही चुरेभित्र पसे । त्यही वेला ०३० सालतिर चुरेको फेदीमा मधेसी साहुहरू धान लिएर पुगे र तामाङहरूबाट जमिन लिए । खयरमाराका रैथाने बुद्धिमान तामाङ (७६) भन्छन्, ‘मधेसी साहुको घरमा लालपुर्जा बन्दकी राखेर धान ल्याउँथ्यौँ । वेलामा ऋण तिर्न नसकेर धेरै तामाङले मधेसी साहुलाई जमिन बुझाए ।’ जमिन गुमाएका तामाङ फेरि चुरेभित्रै पसे ।
०३५ देखि ०४२ साल आसपास सिन्धुली, काभ्रेका धेरै ठाउँमा बाढी–पहिरोले मानिसहरू विस्थापित भए । त्यो विस्थापनपछि धन हुनेहरू सीधै तल फाँटमा गई बसे । धन नहुनेहरू चुरेका भित्री भागमा बस्न थाले । बालिमराम भन्छन्, ‘३८ सालमा सिन्धुलीमा बाढीले सबै सखाप पारेपछि हामी यहाँ आएर बस्न थालेको । त्यसवेला मसँग केही थिएन ।’ उनीसँगै कैयन् विपन्न तामाङ चुरेका खोला छेउछाउका टार क्षेत्र फाँडेर बस्न थाले ।
महोत्तरी खयरमारामा वन थापा नाम गरेका एकजना गोठालो थिए । चुरेको फेदीमा उनको मनग्य जमिन थियो । ठूलो घर र मनग्य जमिनमा सन्तानलाई राखेर उनीचाहिँ सयौँ गाईगोरु लिएर चुरेका खोंचमा महिनौँ हराउँथे । त्यसवेला उनले घुमन्ते शैलीमा कैयन् ठाउँमा गौचरन र गोठहरू बनाएका थिए । विपत्मा परी बास खोज्दै आएका तामाङहरूलाई उनले उक्त क्षेत्र आफ्नो भएको दाबी गरे र बेचे पनि ।
मधेसलाई मरुभूमि हुनबाट बचाउन चुरे जोगाऊँ, चुरे जोगाउन चुरेवासीलाई जोगाऊँ । हाम्रो मौलिक खाद्यवस्तु तामा जोगाऊँ । तामा जोगाउन बाँस जोगाऊँ । बाँससँगै तामा बनाउन जान्ने मान्छे पनि जोगाऊँ ।
यसरी अधिकांश तामाङहरू ऐलानी जमिनमा बसोवास गर्न थाले । हजारौँको संख्यामा चुरेका थुम्काथुम्की, खोंच र टारमा मानिसहरू बस्न थाले । भूगोलविद् हर्क गुरुङका अनुसार तराईमा सन् १९५२/५४ मा तामाङ भातृभाषी ३.३ प्रतिशत थिए भने सन् १९८१ मा पुग्दा १४.१ प्रतिशत पुग्यो । पिपलदमार, लामिदमार, छोड्के, झ्याउरे, भांग्रे, गर्दी दोभान, मटर दोभान, चनौटे डाँडा, गुईडुन डाँडा, पूर्व खोला, नारायण खोला, फुल्चोर खोला, चेपखर्क, शिर कालिन्जोरजस्ता ठाउँमा ०३५ देखि ०४५ आसपास पुग्दा बेग्लै दुनियाँ बन्यो । ९० प्रतिशत तामाङ, बाँकी दलित, मगर र केही सुनुवारहरूको बेग्लै समाज बन्यो । समुद्रको टापुमा एउटा नयाँ सहर बनेजस्तै चुरेको जंगलभित्र सरकारको गणनामा नभएको एउटा नयाँ बस्ती जन्म्यो ।
बेग्लै दुनियाँ
बोनधर्मी तामाङका बोम्बोहरू त्यहीँ पुगे, इतिहास जान्ने ताम्बाहरू, बौद्धधर्मी लामाहरू, कुलपूजा गर्ने लाप्ताबाहरू त्यहीँ पुगे । हिकी (भन्ज्याङको ढुंगामा नाम खोपेर बनाइएको प्रतीक्षालय)हरूमा मेला लाग्न थाल्यो । चुरेका खाेंचहरूमा डम्फुको तालमा तामाङ गीत गुन्जिन थाल्यो । डबकाभरि जाँड र तामाको अचार खाँदै, मकै, गहुँ, धान, जौ, फापर उमार्दै उनीहरू रमाउँदै बसे, हाँस्दै बसे । उनीहरूले चुरेका थुम्कालाई पूजा गरे । जरुवा पानीलाई पूजा गरे, माटोलाई पूजा गरे ।
उनीहरू चुरेभित्र आफू मात्रै रमाएर बसेनन्, चुरेबाहिर बस्नेलाई पनि रमाउन सिकाइरहे । प्रकृतिलाई दोहन होइन, प्रकृतिसँग मिलेर बाँच्नुपर्छ भन्ने सन्देश दिइरहे । उनीहरूले जंगली भोर्लाका पात टिपेर घुम बुन्न, भोजभतेरमा टपरी बुन्न चुरेको फेदी र देहातमा बस्नेहरूलाई दिइरहे । भोर्लाको पात मात्रै दिएनन्, जंगली बाँसका तामा दिए । डोको, नाङ्लो, सोली, डल्ले खुर्सानी, अम्रिसोको कुचो, खसी, बोका र बाख्रा दिए । दाउरा, घाँस, सङ्लो पानी र शीतल हावा दिए । र, दिइरहे, सस्तो श्रममा आफ्ना पाखुरी र पसिना पनि ।
यति मात्रै कहाँ हो र ! चुरेबाहिरका सांस्कृतिक कर्ममा चुरेभित्रकै ताम्बाको माग भयो । बोम्बो, लाप्ताबा, लामाजस्ता सांस्कृतिक प्रतिनिधि चुरेभित्रले नै आपूर्ति गरिरह्यो । चुरे फेदीका रैथाने युवा विराट तामाङ भन्छन्, ‘मेरी बहिनीको बिहेमा ताम्बा भित्री खोलाबाट बोलाएँ । बाहिर त ताम्बा नै छैन ।’पेरोङ्गो बोक्न, सोली बोक्न, पोङ बोक्न चुरेभित्रले नै सिकाइरह्यो । मातृभाषाको आत्मा मर्न चुरेभित्रले नै दिएन । संस्कृति अपहरण हुन चुरेभित्रले नै रोकिरह्यो । एक किसिमले चुरेको भित्री भाग मधेसका जनजातिका लागि सांस्कृतिक भण्डार बनिरह्यो । अनि पो मधेसका बस्तीमा सांस्कृतिक विविधता कायम रह्यो ।
वनपाले
तर समय सधैँ एकनासको रहेन । चुरेका खोंचबाट बग्ने चिसो पानीले राज्यको प्यास मेटिएन । चुरेभित्र ‘वन फँडानी भइरहेको छ’ भनी राज्यलाई कसैले सुराकी लगाइदियो । राज्यलाई लाग्यो, ‘पुर्खाले आज्र्याको मुलुकमा कहाँका मनुवाले जंगल मास्दै छन् ?’ त्यसपछि सुरु भयो, चुरेभित्रको दुर्दिन ।
खास वनको पाले त चुरेवासी नै थिए । चुरे के हो ? चुरेलाई कहाँ दुख्छ ? चुरेबाट कति लिने कति नलिने ? चुरेको श्वासप्रश्वाससँग आफ्नो जीवनचोला कति जोडिएको छ ? त्यो त चुरेवासीलाई नै थाहा थियो । तर, चुरेको वनै नदेखेको मान्छे वनपाले बनेर चुरेभित्र पस्यो । आफ्नै धुनमा बसिरहेका तामाङ, मगर र दलितहरूको भागाभाग भयो । हरियो–हरियो कपडा लगाएर, दुई फुटको लौरो घुमाउँदै वनपाले चुरेभित्र पसेपछि बस्तीमा बस्नेहरू जंगल पस्न थाले । वनपालेले खेदी–खेदी मान्छे समाउन थाले, कुट्न थाले । एउटा त्रासदीको नाम बन्यो, वनपाले । राज्यको डर त अब पो लाग्न थाल्यो । अस्ति राणाले लखेट्यो, हिजो बाढीले लखेट्यो, अब वनपालेले लखेट्न थाल्यो ।
दिनभरि जंगलमा लुकेपछि खेती कहिले गर्ने ? के खाने ? चुरेवासीले जुक्ति निकाले– राति हलो जोत्ने । बालिमराम भन्छन्, ‘धेरैपटक जुनेली रातमा हलो जोत्यौँ, दिनभरि लुक्यौँ । दुःख दिनुसम्म दियो नि ।’
अब वनपालेसँग मिसियो चुरेको फेदीमा बस्ने नेता र ठेकेदारहरू । उनीहरूले फेरि हल्ला फिँजाए, चुरे मासियो, चुरे खाली गर्नुपर्छ । सजिलै मान्छ भने ठीक छ, नत्र घर जलाइदिने ।’ त्यो हल्ला चुरेभित्र डढेलो सरी फैलियो । कोलाहल भयो, मानिसहरू आत्तिए, डराए, रोए । अनि रातभरि हलो जोतेका किसानहरू घरमा थन्क्याएको मकै चुरेका थुम्का, बगर र झाडीमा लुकाउन थाले । रामबहादुर भन्छन्, ‘वनपालेले आगो लगाउँछ भनेपछि बगरमा मकैका घोगा लुकायौँ ।’ अघिअघि नेता, हाकिम र ठेकेदार, पछिपछि वनपाले । उनीहरू रवाफ देखाउँदै चुरेभित्र पसे । घरमा केही नभेटेपछि घरचाहिँ जलाएनन् । अनि फर्किने वेला धम्की दिँदै भने, ‘हरियो वन नेपालको धन । राज्यको सम्पत्तिमा मनपरी गर्न पाइन्न । तुरुन्तै यो ठाउँ छाडेर गइहाल् ।’
कति भाग्नु ? कहाँ भाग्नु ? कहिलेसम्म भाग्नु ? चुरेवासी अब ‘हिकी’हरूमा भेला हुन थाले । राति अबेरसम्म सल्लाह गर्न थाले । अन्तिममा निष्कर्ष निकाले, ‘दारेम् पुङ्दोला ।’ (अब हान्नुपर्छ ।)
एकाध महिनापछि वनपाले फेरि लौरो हल्लाउँदै चुरेभित्र पस्यो । तर, उनीहरूले पहिलेकोभन्दा फरक दृश्य देखे । चुरेवासी त हच्किँदैन पो । डराएर भाग्दैन पनि । सानले लौरो घुमाइरहेको वेला एकजना तामाङ अघि सर्यो । उनको हातमा हँसिया थियो । त्यसैगरी अर्काे खुकुरी बोकेको तामाङ अघि लाग्यो । कटबाँसको लौरो बोकेको मगर र आफैँले सान लगाएर टिलिक्क टल्काएको बन्चरो बोकेको दलित पनि अघि लाग्यो । त्यसपछि एक–एक गरी सयौँको संख्यामा मानिसहरू मुठी उठाउँदै जाइलाग्न थाले । वनपाले डरले थुरुरु काम्न थाल्यो र बगरैबगर दक्षिणतिर बेपत्ता भाग्यो । बालिमराम हाँस्दै सुनाउँछन्, ‘त्यसपछि वनपाले कहिल्यै फर्केर आएन ।’
त्यसपछि समय फेरि सामान्य भएर बित्न थाल्यो । आफ्नै धुनमा रमाउन थाले चुरेवासी । कोही बिरामी हुँदा डोकोमा बोकेर खोलैखोला लालबन्दी, बर्दिबास, हरिवन पुर्याउनुपर्ने बाध्यता त थियो नै । तर उनीहरू आफ्नै पौरखले खाइरहे, नाचिरहे, गाइरहे ।
छापामार
२०५४ सालतिर पुग्दा चुरेभित्र नयाँ मान्छेहरू फाट्टफुट्ट देखिन थाले । उनीहरू वनपाले पनि थिएनन्, ठेकेदार र सरकारी मान्छे पनि थिएनन् । उनीहरूले बास मागे, गाँस मागे, अनि साथ पनि मागे । वर्षहरू बित्दै जाँदा चुरेका कुनाकुनामा बन्दुक बोकेका छापामार छ्याप्छ्याप्ती भेटिन थाले । चुरेका जंगलमा छापामार र पुलिस–आर्मी लुकामारी गर्न थाले । हुँदाहुँदा चुरेभित्रै दर्जनौँ भिडन्त हुन थाले । हरेक साता चुरेभित्र कतै न कतै गोली पड्किएकै हुन्थ्यो । पिपलदमारका स्थानीय युवा सोनाम थोकर भन्छन्, ‘हाम्रै टोलमा भिडन्त भयो । चारजना माओवादी मारिए । गोली पड्किन थालेपछि म घरभित्र रुँदै बसेँ । मर्छु कि जस्तो लागेको थियो । धन्न बाँचेँ । गोलीले छेडेको खाँवा उः त्यही हो ।’
अब चुरेभित्रको माहोलै बदलियो । बन्दुकको आवाजले चराचुरुंगी भागे । चुरेका खोल्चाखोल्चीमा छापामारका लास पुरिए । चुरेको जरुवा पानीमा रगत मिसियो ।
दुःख पाए पनि, डर लागे पनि चुरेवासीले वर्षौंसम्म छापामारलाई खुवाए, लुकाए । यति मात्रै होइन, घाइते छापामार, चामल र गोलीगट्ठा बोकी हप्तौँ हिँडेर कहाँ–कहाँ पुर्याए । बालिमराम भन्छन्, ‘उनीहरूको बोली नै मिठो । हामी त कुनै पनि वेला मर्न सक्छौँ, तपाईंका राँगा हामीलाई बेच्नुस् न बा भन्थ्यो । आफ्नो त मन कमलो । बेचिदिन्थेँ ।’
करिब एक दशक चुरेवासीले त्रासमा र आसमा जीवन गुजारे । आसमा किन भने माओवादीले निकै सुन्दर सपना बाँडेर चुरेवासीको चुलोबाट आफ्नो प्राण बचाए । माओवादी सुप्रिमो पुष्पकमल दाहाल जतिवेला प्रचण्डका नामले चर्चित थिए, उनी पनि चुरेभित्र मधेसी भेष धारण गरी पुगेका थिए । ठूलो नेता आउँदै छन् भनेपछि चुरेवासीले दूध, दही र घिउ जोहो गरे । खसी र मन्सुली चामल पनि जोहो गरे । चर्किएको भित्ता लिपपोत गरे । तर, फरक रूप धारण गरी आएका प्रचण्डलाई कसैले चिनेनन् । खसी, कुखुरा, दूध, दही चिरिप्प पारेर गएको महिनाैँपछि पो चुरेवासीले थाहा पाए, प्रचण्ड आफ्नै घरमा बसेका रहेछन् ।
जनप्रतिनिधिजस्तै देखिने डोजरमालिक, क्रसरमालिकबाट चुरेलाई खतरा छ । विकास भनेको बाटो खन्नु हो, भ्युटावर बनाउनु हो भन्ने नेताबाट चुरेलाई खतरा छ । चुरे दिवस मनाउनेहरूबाटै चुरेलाई खतरा छ ।
जब माओवादी नलुक्नुपर्ने दिन आयो, त्यसपछि हिजो लुकेको ठाउँ कसले सम्झिने ! माओवादी सत्तामा पुगेपछि चुरेवासी नेतालाई भेट्न पुगे । चुरेभित्र बिजुली छैन, अस्पताल छैन, राम्रो स्कुल छैन भने । तर, गोल्डस्टार जुत्ता फालेर चिल्लो जुत्ता लगाएका माओवादीले चुरेवासीलाई चिन्दै चिनेनन् । चुरेवासी फेरि फर्किए आफ्नो थातथलोमा । रामबहादुर भन्छन्, ‘आफ्नो गाँस काटेर माओवादीलाई खुवाइयो । अब कहाँ चिन्छ उनीहरूले !’
गणतन्त्र
देशमा राजतन्त्र गयो, गणतन्त्र आयो । सबैभन्दा पहिला काठमाडौँलाई गणतन्त्र आयो । त्यसपछि जनकपुरलाई, अनि बर्दिवासलाई आयो । चुरेको फेदीमा बस्नेलाई पनि अलि–अलि आयो । समाजको तहमा सबैभन्दा माथि जो छ, उसका लागि सबथोक आयो । समाजको तहमा सबैभन्दा भुइँमा जो छ, उसका लागि केही आएन । चुरेवासी दशकौँसम्म टुकीको उज्यालोमा बाँचिरह्यो । गणतन्त्र आएको धेरै वर्षपछि मात्रै चुरेभित्र बिजुली बल्यो । अस्तिदेखि मात्रै चुरेका भित्री भागहरूमा फोन लाग्ने भयो । अहिले पनि चुरेभित्रका कैयन् ठाउँमा फोन लाग्दैन ।
गणतन्त्रपछि चुरेभित्र टेलिकम कसरी पुग्यो भन्ने पनि छुट्टै कथा छ । महोत्तरीको चनौटे डाँडामा बस्ने तामाङ पहिला समथरमै बस्थे । उनीहरूलाई समथरबाट विस्थापित गरी चनौटे डाँडामा पुर्याइयो । समथरमा विकास र समृद्धिको नारा घन्कियो । डाँडाका २३ घरमध्ये अधिकांश त्यहाँको जमिन बेचेर समथरमा झरे । उनीहरू तल झरेको केही समयपछि नै नेपाल टेलिकमको टावर डाँडामा बन्यो । बाटो पनि खनियो । चुनावी रन्को सुरु हुनुभन्दा ठीकअघि डाँडामै पुष्पकमल दाहालले सहिद स्मारक उद्घाटन गरे । सहिदको सम्मानको दृष्टिबाट स्मारक बन्नु ठीक भयो, तर स्थानीय विस्थापित भएर कुनै स्मारक खोलिनु हुन्नथ्यो । ‘विकास’को झिल्को डाँडा उक्लिएपछि तलका स्थानीयले चनौटे डाँडै किने । एकाधबाहेक धेरै जमिनबाहिरका मानिसले किनिसके । त्यहाँ जमिन किन्ने एकजना जग्गाधनी भन्दै थिए, ‘अब डाँडामा भव्य रिसोर्ट बनाउँछु ।’ बेसीमा झरेका केही तामाङले राम्रै घर बनाए । तर, अधिकांश दुःखमसुखम बसिरहेका छन् । एकजना तामाङ मातृभाषी लवजमा भन्दै थिए, ‘हाम्लाई ता चोल्ठेबिल्ठे मात्रै हुन्छा । के भाको, के भाको !’ उनीहरू करिब सय वर्षदेखि निरन्तर विस्थापनदेखि विस्थापनसम्मको अन्त्यहीन यात्रामा रिंगिरहेका छन् । उनीहरूका लागि ‘विकास’ सधँै पछिपछि आउँछ, उनीहरूचाहिँ अघिअघि हुन्छन् ।
गणतन्त्रले चुरेवासीलाई दिएको अर्को ‘उपहार’ हो, इँटाभट्टामा रोजगारी । चुरेवासी वर्षौंदेखि इँटाभट्टा धाइरहेका छन् । छोटे स्याङ्तान भन्दै थिए, ‘चुनापमा भोट हाल्न ठेक्दारले नै गाडीमा हालेर पठाइदियो । अब फेरि फर्किने वेला भो ।’ गंगारामका अनुसार खयरमारा खोलाको भित्री भागमा बस्ने दुई सय घरमध्ये प्रायः घरका मानिस इँटाभट्टामा गएका छन् । इँटाभट्टामा जानुअघि उनीहरू गलैंचा बुन्न जान्थे । भट्टामा नजानेहरू खाडीमा छन् । पिपलदमारका युवा तथा शिक्षक सोमाम स्कुलको फराकिलो आँगन देखाउँदै भन्दै थिए, ‘केही वर्षअघिसम्म यो स्कुलमा चार सय बालबालिका पढ्थे । अहिले जम्मा १७८ जना पढ्छन् । सबैको बाउ विदेश गएपछि आमा र छोराछोरी लालबन्दी, काठमाडौं बस्न थाले । अनि त स्कुल रित्तो भयो ।’
गणतन्त्रअघि चुरेका खोलामा ढुंगा भरिभराउ थियो, गणतन्त्रपछि खोला रित्तो छ । अहिले त झन् काठ र गाँजा तस्कर गर्ने बाहिरियाहरूको अड्डा बन्ने खतरा बढ्दै छ चुरेभित्र ।
राजधानीबाट १७० किलोमिटर दक्षिणको चुरे र काठमाडौं दुई विपरीत यात्रामा यात्रारत छ । काठमाडौंमा मोनो रेल कुदाउने, स्मार्ट सिटी बनाउने छलफल चलिरहँदा, चुरेवासीहरू हातमा चप्पल बोकेर खोला तरिरहेका हुन्छन् । काठमाडौंमा नेताहरू राज्यको ढुकुटीबाट धन झिकेर हेलिकोप्टरमा भ्रमण गरिरहँदा, चुरेभित्रका मानिसहरू ढोकोमा छट्पटाइरहेको सुत्केरी बोकेर उर्लिरहेको बाढी हेरिरहन्छन् ।
‘विकास’ नपुगोस् चुरेमा
चुरेबारे राज्य अनभिज्ञ छैन । ‘चुरेको ढुंगा, माटो, जंगल रित्तियो भने मधेस मरुभूमिमा परिणत हुन्छ’ राज्यको यही निष्कर्ष छ । त्यसैले राज्यले गठन गरेको छ, ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति ।’ तर, दशकौँदेखि जसले चुरे बचायो, उसलाई नचिनेजस्तो गर्छ राज्य । त्यसैले आजसम्म चुरेवासीलाई लालपुर्जा दिन अनकनाउँछ राज्य ।
गणतन्त्रपछि चुरेले राज्यबाट चुरे दिवस पायो । राज्यले चुरे जोगाउने कामलाई राष्ट्रिय गौरवको आयोजना भनी आठ अर्ब खर्च पनि गरिसकेको छ । हरेक वर्षको असार २ गते चुरे दिवस मनाइन्छ । यसपटक पनि चुरे दिवसको सन्दर्भमा एक लाख वृक्षरोपण गर्ने राज्यको योजना छ । तर, दिवस मनाउनेहरूबाटै चुरेलाई खतरा छ । एकातिर लाखौँ रुख रोप्ने, अर्कोतिर चुरेको ढुंगा भारत पठाउन खोज्ने, यस्तो दुईजिब्रे योजना बनाउनेहरूबाटै चुरेलाई खतरा छ । जनप्रतिनिधिजस्तै देखिने डोजर मालिक, क्रसर मालिकबाट चुरेलाई खतरा छ । चुरेवासीलाई लखेटेर चुरेभित्र होम स्टे चलाउने, मनोरञ्जन स्थल बनाउने सोच बोक्नेहरूबाट चुरेलाई खतरा छ । विकास भनेको बाटो खन्नु हो, भ्युटावर बनाउनु हो भन्ने नेताहरूबाट चुरेलाई खतरा छ ।
उदयपुरको चुरे क्षेत्रबाट केही समयअघि पानीको हाहाकार भएपछि बस्ती नै सर्यो । अव्यवस्थित बस्ती भन्दै बेढंगे विकासको बाढी चुरेभित्र पसाइयो भने त्यहाँबाट सुकुम्बासीको हजारौँको लस्कर निस्किनेछ । समाजमा एउटा नयाँ विस्थापित समूह जन्मिनेछ । भूमिहरण र विस्थापन अहिलेको दुनियाँको सबैभन्दा भयानक समस्या हो । यसबाट आदिवासीहरू अझ धेरै प्रताडित भइरहेका छन् । शरणार्थी मामिला हेर्ने संयुक्त राष्ट्र संघको संस्था युएनएचसिआरका अनुुसार सन् २०१८ मा प्रत्येक मिनेटमा २५ जना मानिस आफ्नो थातथलो छाडेर भाग्न विवश थिए । युएनएचसिआरकै अनुसार सन् २०२२को मध्यसम्ममा संसारैभरि १० करोड मानिस जबर्जस्ती विस्थापित गरियो । संयुक्त राष्ट्र संघलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले २०१९ मा लेखेको थियो, भारतमा प्राकृतिक विपत्ति, द्वन्द्व र हिंसाका कारण ५० लाख मानिस देशभित्रै विस्थापित भएका छन् । नेपालमा घरबार खोसिएर विस्थापित भएका जनसंख्याबारे गम्भीर अध्ययन भएको पाइँदैन । आन्तरिक बसाइँसराइमा दर्ता गरेर टार्ने काम भइरहेको देखिन्छ । यदि चुरे मानवरहित भयो भने त्यो ठाउँ वन तस्करहरू लुक्ने अड्डा बन्नेछ र प्राकृतिक स्रोतसाधान निर्ममतापूर्ण लुछ्नेछ । त्यो खतरातिर हामी बढिरहेका छौँ ।
चुरेको भूगोल र चुरेवासी नङ र मासुजस्तै जोडिएका छन् । प्रकृतिबाट उनीहरूलाई अलग गर्नु हुन्न । बरु चुरेवासीको स्वास्थ, शिक्षा, रोजगार, यातायात र सांस्कृतिक अधिकारको सम्मान र ज्ञारेन्टी गर्नुपर्छ । चुरे जोगाउने पहरेदार चुरेवासी हुन् । उनीहरूलाई नै थाहा छ, चुरे बचाउने तरिका । राज्य निकुञ्जको वार्डेन बनेर नपुगोस्, रेन्जर बनेर पनि नपुगोस् । सल्लाह लिने साथी बनेर पुगोस् । बालिमरामहरू वनपालेबाट भाग्नुपर्यो । अब उनका सन्ततिहरू निकुञ्जका आर्मी र विकासे डोजरबाट भाग्नु नपरोस् । मधेसलाई मरुभूमि हुनबाट बचाउन चुरे जोगाऊँ, चुरे जोगाउन चुरेवासीलाई जोगाऊँ । हाम्रो मौलिक खाद्यवस्तु तामा जोगाऊँ । तामा जोगाउन बाँस जोगाऊँ । बाँससँगै तामा बनाउन जान्ने मान्छे पनि जोगाऊँ ।
सभ्यता जोड्ने पुल
चुरेभित्र बसोवास गर्ने जनजाति र दलितहरूले आफ्नो मौलिक संस्कृति जोगाएर राखेका छन् । उनीहरूले भाषा, संस्कृति भुलेका छैनन् । किनकि उनीहरू बजारवादको दुनियाँबाट थोरै अलग छन् । चुरेको उत्तरी क्षेत्र जैविक विविधता, भौगोलिक विविधता र सांस्कृतिक विविधता अध्ययन गर्ने थलो बन्न सक्छ । मानिस र प्रकृतिबीचको सम्बन्ध बुझ्न चुरे एउटा पाठशाला बन्न सक्छ । चुरेवासीसँग सांस्कृतिक पुँजी छ । त्यो संस्कृतिले मधेस र पहाडलाई जोड्न सक्छ । चुरेभित्रको बस्ती नभए मधेसमा विविधता मासिन्छ । चुरेको फेदी र मधेसमा सांस्कृतिक तत्वको आपूर्ति चुरेले गरिरहेको छ । भाषा, संस्कृति र सभ्यताको नसा चुरेले जोडिरहेको छ । त्यसैले चुरे मधेसमा पानी पठाउने मुहान मात्रै होइन, चुरे मधेस र पहाडको सभ्यता जोड्ने सांस्कृतिक पुल पनि हो ।
०००
दोकानमा गफिरहेका बालिमराम र रामबहादुरले खिन्न मन बनाएर भने, ‘अब बर्खा लागेपछि गाडी चल्दैन ।’ वर्षासँगै चुरेको भित्री भागमा अघोषित ‘लकडाउन’ नै सुरु हुन्छ । नुनतेल, ओखतीमुलो बर्खे झरीअघि नै जोहो गर्नुपर्छ । हजारौँ मानिसहरू चुरेभित्रै थुनिन्छन् । झरी पर्न थालेपछि सुरु हुन्छ, चुरेभित्र अर्कै दुनियाँ । चुरे दोहनले खयरमारा खोलाको झ्याउरे भांग्रैनिर केही महिनाअघि ठूलो सुक्खा पहिरो गयो । त्यो पहिरोले खोला थुनियो । अब त्यहाँ पानी जमेर ताल बन्न सक्छ । अन्य खोलाबाट पनि ठेकेदारले ढुंगा सिनित्तै उठाएर खोला खुइले बनाएका छन् । अन्त पनि पहिरो जान सक्छ । यस्तो वेला राज्यसँग गंगारामहरूको आग्रह छ, ‘पर्यटक बनेर ताल हेर्न नआउनू । पहिरोले लुछेको घरको फोटो खिचेर बेपत्ता नहुनू ।’
देहातलाई भोर्लाको पात टिपेर दिने बालिमरामको छोरा सुत्केरी श्रीमती लिएर उर्लिरहेको भेलमा हेलिरहेको हुन सक्छ । परीक्षा दिन हिँडेकी गंगारामकी छोरी प्रवेशपत्र बोकेर खोला किनारमा टोलाइरहेकी हुन सक्छे । इँटाभट्टाबाट घरबिदामा आएको छोटे स्याङ्तान साहुले फोन गरेर थर्काएपछि याम्बु जान ज्यान हत्केलामा राखेर बाढी तरिरहेको हुन सक्छ । शिक्षक सोनाम थोकर झोलाभरि नयाँ पाठ्यपुस्तक बोकेर बाँके खोलैखोला भेल तर्दै गइरहेको हुन सक्छ । यस्तो वेला चुरेवासीको बस् यति चाहाना छ– राज्यले पराया ठानी हेलिकोप्टरबाट गोली नहानोस् । ८० वर्षदेखि हरेक वर्षा अघोषित ‘लकडाउन’मा बाँचिरहेको बस्तीलाई आफन्त ठानी सहकार्यको हात बढाओस् ।
०००