• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
भृकुटी राई
२०७९ असार ४ शनिबार ०८:४०:००
यात्रा

युरोपको सपना पच्छ्याउँदै जाँदा

२०७९ असार ४ शनिबार ०८:४०:००
भृकुटी राई

०७८ चैतको कुनै दिन धरम दास गहिरो निद्राबाट बिउँझदा उनलाई बान्ता आउलाझैँ भयो । कम्मरदेखि पैतालासम्म पीडाको शूल छुटिरहेको थियो । खुट्टा चल्मलाउनसमेत मुस्किल थियो । आफूलाई के भएको हो वा कसरी यस अस्पतालसम्म आइपुगेँ भन्ने उनलाई हेक्का थिएन । केही दिन बित्दै गएपछि स्मृतिका केही झल्को आउन थाले– जंगलैजंगल हिँडेको, एक्कासी लडेको, कतै एकान्तको सडकछेउ मद्दतका लागि गुहारेको, प्रहरीको भ्यानमा चढाइएको, र क्रोएसियाको कुनै अस्पतालसम्म लगिएको । 


दुई महिनाअघि माघमा मात्रै धरम दास आफ्नो गृहनगर जनकपुरबाट क्रोएसियाका लागि प्रस्थान गरेका थिए । इटालीको पूर्वतर्फ पर्ने एड्रियाटिक समुद्रको तटमा अवस्थित देश क्रोएसियाबारे अधिकांश नेपाली बिलकुलै अनभिज्ञ छन् । पछिल्ला ६ वर्षयता बल्कन क्षेत्रको यस देशमा आइपुग्ने नेपालीहरूको निरन्तर लम्बिँदो सूचीमा दासको नाम पनि थपियो । 
वैदेशिक रोजगार विभागका अनुसार सन् २०१४ मा क्रोएसियाका लागि नेपालबाट जारी गरिएको श्रम भिसाको संख्या शून्य थियो । तर, त्यसयता यो संख्यामा निरन्तर वृद्धि भइरहेको छ । सन् २०१६ मा जम्मा वार्षिक ६ वटा श्रम भिसा जारी गरिएकोमा सन् २०२० सम्म आइपुग्दा यो संख्या एक हजार ८७ पुगेको छ । 


धरम दासको भेट काठमाडौंस्थित डुल्सको ह्युमन रिसोर्सका जनकपुर एजेन्ट ललित यादवसँग भयो । उनै यादवले दासलाई क्रोएसियाका बारे बताए– त्यस देशका लागि नेपालीहरूले सहजै भिसा र श्रम इजाजत पाउँछन् । त्यसअघि क्रोएसियाका बारे कहिल्यै नसुनेका दासले युट्युबमा हेर्दा नीला समुद्री तट तथा प्राचीन दुर्गहरूको मनोरम देश देखे । 


दासको परिवारले खर्चिलो भिसा प्रक्रियाका लागि म्यानपावर कम्पनीलाई तिर्न आठ लाख रुपैयाँ ऋण लिए । म्यानपावर एजेन्ट यादवले दासलाई क्रोएसियामा मासिक दुई लाखभन्दा बढी बचत गर्न सकिने बताएका थिए । मेकानिकल इन्जिनियरिङको डिग्री लिएका दासले त्यसवेला कमाइरहेको रकमभन्दा त्यो धेरैगुणा बढी थियो । ‘कमाइ जोगाएर ऋण तिर्न धेरै समय नलाग्ने भएपछि दश लाख खर्च गर्नुपरे पनि राम्रै अवसर हो भन्ने लागेको थियो’ दासले बताए ।


२०७८ माघमा दास क्रोएसिया पुगेर झाग्रेबस्थित यातायात कम्पनीमा काम गर्न थाले । तर, छिट्टै के छर्लंगै भयो भने ठूलो तलब आउने काम पाइन्छ भनेर यादवले देखाएको सपना झूटो थियो । महिनाको एक लाखभन्दा थोरै कमाइ हुन्थ्यो, ओभरटाइमका लागि थप ज्याला पाइन्नथ्यो र महिना सकिएको १५ दिनपछि मात्रै तलब हात पथ्र्यो । 


आफू बसिरहेको होस्टेलमा दासको भेट नेपालीहरूको एक समूहसँग भयो जसले उनलाई अरू नेपालीहरू पैदलै पोर्तुगल पुगेकोबारे कथा सुनाए । धेरै दिन पैदल हिँडेर डाँडाकाँडा, वनजंगल, सडक छिचोल्दै छिमेकी देश स्लोभेनिया छिर्दै बिस्तारै इटाली, फ्रान्स र स्पेन पार गरेर पोर्तुगल जानेबारे सुनाए । 


क्रोएसिया युरोपेली संघको सदस्य बनिसकेको भए पनि सेन्जेन क्षेत्रको सदस्य बनिसकेको छैन । सेन्जेन क्षेत्रका सदस्य राष्ट्रहरूबीच बेरोकटोक आवतजावत गर्न सकिन्छ । त्यहाँसम्म पुग्न दासले पहिले गैरकानुनी तवरले स्लोभेनिया छिर्नुपथ्र्यो र त्यसरी नै इटाली छिर्नुपथ्र्याे । तर, दासका नयाँ साथीहरूका अनुसार यात्रा जतिसुकै कठिन भए पनि एकपटक पोर्तुगल पुग्नसके राम्रो ज्याला पाइन्थ्यो, स्थायी बसोवासका उपाय सहज थिए र दासले आफ्नो परिवारलाई पोर्तुगल झिकाउने बाटो खुल्थ्यो । 


‘थप कमाइ हुने, परिवारलाई पोर्तुगल ल्याउन मिल्ने सम्भावना मनपरेको थियो,’ दासले बताए । ‘आखिर दह्रो कमाउँला, राम्रो भविष्य बनाउँला भनेरै त यहाँसम्म आइपुगेको थिएँ ।’


क्रोएसिया आइपुगेको दुई महिना नबित्दै फागुनको ठिहिराउँदो एक बिहान धरम दास आठ अन्य नेपालीहरूको टोलीमा सामेल भए । एकसरो कपडा, थोरै ड्राइ फ्रुट्स, इनर्जी ड्रिंक्स, पानी र राहदानी बोकेका दासले स्लोभेनियाली सीमातर्फको यात्रा सुरु गरे । 


झाग्रेबमा बस चढेर टोली क्रोएसियाको पश्चिमी समुद्र तटमा अवस्थित रिएका सहर पुगेर वास बस्यो । भोलिपल्ट साँझ उनीहरू बाक्लो जंगलले ढाकेका डाँडा छिचोल्दै स्लोभेनियाली सीमातर्फ हिँडे ।

ती दुई हप्ताबारे सोच्न पनि चाहन्नँ । त्यो कहालीलाग्दो यात्रा कुनै हरर फिल्मभन्दा कम थिएन ।


यतिवेलासम्म उनीहरूलाई आफ्नो पहिचाननखोलीकनै एक नेपाली एजेन्टले ह्वाट्सएपमार्फतराति हिँड्नुपर्ने जंगलको नक्सा पठाएर बाटोदेखाइरहेका थिए । उनीहरूलाई स्लोभेनियाको सीमा पार गराउने, त्यसपछि अवैध ढंगले इटाली छिराउने र फ्रान्स अनि स्पेन काट्दै पार्तुगलसम्म लगिदिने जिम्मा उक्त एजेन्टको थियो ।   


स्लोभेनियाली सीमा पार गर्दासम्म कतै नबिसाई हिँडेको ३० घन्टा पुगिसकेको थियो । सबैले बोकेको खानेकुरा र पानी सकिइसकेको थियो । दासको ज्यानले धपेडी सहन सकेन । टोलीका अन्य मानिसको दाँजोमा उनी हिँड्न सकेनन् ।निस्पट्ट अँध्यारोमा भर्खरै एक राजमार्ग पार गरेर अझै अर्को डाँडा उक्लन थाल्दा दासलाई सास फेर्न अप्ठ्यारो महसुस हुन थाल्यो ।


तर उनका साथीहरू मुख्य राजमार्गको त्यतिनजिक रोकिन चाहन्नथे । गस्ती प्रहरीले उनीहरूजस्ता आप्रवासीहरूलाई पक्राउ गरेर फिर्ता पठाइदिन्थे, कतिले यात्राको क्रममा ज्यान पनि गुमाएका थिए । दासका साथीहरूले त्यसउताको यात्राभरि उनलाई बोकेर लगिदिनेसम्म सल्लाह गरे ।  


‘तर, हामीजस्तो ठाउँमा उक्लँदै थियौँ त्यहाँ मलाई बोकेर लैजान सम्भव छैन भन्ने मैले बुझेको थिएँ,’ उनले भने । ‘म फर्केर जान्छु भनेर बारम्बार भनिरहेँ तर उनीहरूले मलाई फर्कन दिएनन् ।’


सास फेर्न सकिनसकि साथीहरूसँग आफूलाई फर्काइदिन बिन्ती गरिरहेका दास आफू वरिपरि के भइरहेको थियो भन्ने हेक्का नभएको बताउँछन् । तर, एक्कासी आफूबारे साथीहरूबीचको छलफल चर्किएको भने सम्झिन्छन् । टोलीकै कसैले उनको मोबाइल थुतेर त्यहाँबाट पोर्तुगलसम्म जाने तारतम्य मिलाइदिएको एजेन्टसँग ह्वाट्सएपमा भएको वार्तालाप डिलिट गरिदिए । आफूलाई प्रहरीले भेट्टाए साथीहरूबारे पोल खोल्न सक्ने भन्दै त्यहीँ कुटपिट गरेर मर्न छोडिदिने प्रकारको सुझाव आएको थियो कि भन्ने मान्छन् उनी । 

क्रोएसियाको एक अस्पतालमा उपचार गराइरहेका धरम दास ।


‘मेरो होस आउँदै, जाँदै थियो । तर, एकदमै डर लागेको भने सम्झना छ,’ उनले भने ।   त्यसपछिका सम्झना अस्पष्ट र धुमिल छन् । 


०००
अस्पतालको सघन उपचार इकाइबाट छुटेको केही हप्तापछि आफूलाई पहिलोपटक ऐनामा देख्दा दास खङ्ग्रंग भए । उनको शरीरबाट २० किलो वजन घटेको थियो । उनी अब मात्रै ५८ किलोका थिए ।  


‘हाडछाला मात्रै थिए । मेरो अनुहार ८० वा ९० वर्षको मान्छेको जस्तो भएको थियो,’ दासले भने । 


क्रोएसियास्थित गैरआवासीय नेपाली संघको प्रेस विज्ञप्तिका अनुसार दासलाई स्लोभेनियाली प्रहरीले जंगलनजिकै राजमार्गको छेउमा लडेको भेट्टाएका थिए । उनीसँग क्रोएसियाको श्रम इजाजत रहेकाले उनलाई झाग्रेब फिर्ता पठाइयो । झाग्रेबको होस्टेलमा फिर्ता आइपुगेपछि उनको स्वास्थ्य बिग्रँदै गयो । उनलाई अस्पतालमा भर्ना गर्नुपर्ने भयो । न्यूमोनिया फोक्सो र मिर्गाैलासम्म फैलिइसकेको थियो । दासका अनुसार उनी दुई हप्तासम्म कोमामै थिए । 


झाग्रेबको युनिवर्सिटी हस्पिटल अफ इन्फेक्सियस डिजिजेसमा झन्डै दुई महिना बिताएपछि उनको स्वास्थ्य बिस्तारै सुध्रिन थाल्यो । अहिले अलिअलि खोच्याएर हिँड्नु परेपनि लौरोको सहारा लिनु नपर्ने दासले बताए । चाउरिएको अनुहार बिस्तारै भरिन थालेको छ । अहिले दास अरू नेपालीहरू बसेको घरमा सरेका छन् जहाँ उनी दिनभरि आफ्नो कोठामा बसेर छिट्टै नेपाल फर्कन पाऊँ भन्दै कामना गरिरहन्छन् । 


तर, उनी नेपाल फर्किहाल्न भने पाउन्नन् । झन्डै २४ लाखबराबरको अस्पतालको खर्च उनले तिर्न बाँकी नै छ । अस्पतालले बिल नतिरी डिस्चार्ज हुन पाइन्न भनेपछि डिस्चार्ज भएपछि उनले अस्पतालको बिल तिर्नेछन् भन्ने आश्वासन दिँदै गैरआवासीय नेपाली संघको क्रोएशिया शाखाले उनकोलागि जमानी बसिदिएको छ । उक्त रकम चुक्ता गरेर दासलाई नेपाल फिर्ता पठाउन हाल गैरआवासीय नेपाली संघले आर्थिक सहयोग जुटाउन लागिपरेको छ ।  

‘नेपाल फर्कन नपाएर मेरो सुद्धि हराइसक्यो,’ दासले भने । ‘जेलमा अड्किएझैँ लागेको छ ।’  


०००
पोर्तुगल पुग्ने कठिन यात्राको अन्तिम बिन्दुसम्म दास पुग्न सकेनन् । तर उनी पोर्तुगल प्रवेश गर्न सफल भएका भए त्यस देशमा हालै भएका नीति परिवर्तनका कारण उनले वैध आप्रवासीको हैसियत पाउन सक्थे । विधि र प्रक्रिया अनुसरण गर्ने हो भने आप्रवासी श्रमिक जुनसुकै बाटो वा तवरले देशको सीमाभित्र प्रवेश गरेका भए पनि कानुनी वैधतातर्फ जान सहजीकरण गर्न थालिएको छ । यद्यपि, कानुनी नीति–नियमभन्दा वास्तविकता अलि फरक छ । वैध आप्रवासीको हैसियत पाउन सोचेजस्तो सजिलो भने छैन । तर, पनि नेपालजस्ता देशबाट पार्चुगल पुग्ने आप्रवासीहरूको संख्या निरन्तर बढ्दो छ । 


पोर्चुगाली सरकारका विभिन्न निकायबारे तथ्यांक संकलन गर्ने डेटाबेस पोरडाटाका अनुसार पछिल्लो दशकमा पार्चुगलमा आवास इजाजत लिने नेपालीहरूको संख्यामा अत्यधिक वृद्धि भएको छ । सन् २०१० मा पोर्तुगलमा बसोवास गर्ने नेपालीहरूको संख्या आठ सयभन्दा कम थियो । तर, सन् २०२० मा आइपुग्दा त्यो संख्या २१ हजार पुगिसकेको छ । तर, वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार लगभग सोही समयमा (सन् २०१३ देखि २०२० सम्म) १३०० भन्दा कम नेपालीहरूले मात्र पोर्तुगलका लागि श्रम स्वीकृति लिएको देखिन्छ । 

‘१२ घन्टासम्म एक थोपा पिउने पानीसम्म पाइएन । बल्लतल्ल एउटा घोडा बाँध्ने तबेलामा डुँडभरि पानी भेट्टाएपछि अनुहार डुबाएरै पानी पिएको थिएँ,’ पैदलै पोर्तुगल हिँडेका सुनीलले सम्झिए । उनका अनुसार शारीरिक थकान यतिसम्म चर्को भयो कि त्यसले मानसिक असर पार्न थाल्यो । उनले भने, ‘सुत्न नपाएर हो कि चारैतर्फ डर र त्रासको वातावरण भएर हो आफूसँग भएका मानिसहरूले मलाई मार्न खोज्दै छन् भन्ने लागिरह्यो ।’


नेपाली टाइम्सले सन् २०२० मा प्रकाशन गरेको रिपोर्टका अनुसार सन् २०१९ मा एक हजार दुई सय ८७ नेपालीले पोर्तुगाली लिएका थिए । हाल नेपालीहरू त्यस देशमा नवौँ ठूलो राष्ट्रिय समूह बनेका छन् । 


अनियमित तवरले पोर्तुगल पुग्ने नेपालीहरूको यात्रा कहाँबाट र कसरी हुन्छ भन्ने निक्र्योल गर्न कठिन छ । तर, पोर्तुगलको दक्षिण–पश्चिमी भेगमा रहेको ओदमिरा सहरका नेपालीहरूसँगको वार्तालापले उजागर गरेअनुसार प्रायः नेपालीहरू एजेन्ट र चिनजानका व्यक्तिहरूको सञ्जालमार्फत र प्रायः पर्यटक भिसामा यहाँ आइपुग्छन् । 

पोर्तुगलको एक फर्ममा काम गरिरहेका नेपाली

मैले ओदमिरानजिकैको सहर तबिरा र राजधानी लिस्बाओमा करिब २० नेपालीहरूसँग भेटघाट गरेँ । उनीहरू सबै त्यस्तै बाटोबाट पोर्चुगल प्रवेश गरेका थिए । प्रायः सबैजसोले करिब १३ लाख रुपैयाँ खर्च गरेको बताए । कसैकसैले २० लाख रुपैयाँसम्म खर्च गरेका थिए । र, सरासर पोर्तुगल प्रवेश गर्न नसकेकाहरूचाहिँ, धरम दासजस्तै क्रोएसिया, माल्टाजस्ता देशहरू टेकेर, त्यहाँबाट पैदल र गाडीमा पोर्तुगल पुगेको पाइयो । खर्चचाहिँ उही दश लाखमाथि भने सबैले । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सन् २०२० रिपोर्टले पोर्तुगल जान सुझाएको श्रमिक भर्ती खर्च ६५ हजार रुपैयाँ मात्रै छ ।  


काठमाडौँका सुनील र उनकी पत्नी रिताले पनि क्रोएसियाको राजधानी झाग्रेबबाट थालेको नौ दिन लामो कष्टकर यात्रा पछि पोर्तुगल प्रवेश गरेका थिए । गोपनियताका लागि उनीहरूको नाम परिवर्तन गरिएको छ ।  


दासले झैँ उनीहरूले पनि सन् २०२१ मा क्रोएसिया पुग्न १५ लाख रुपैयाँ खर्च गरेका थिए । अहिले उनीहरू रास्पबेरी फर्ममा काम गर्छन् । उनीहरूले पैदलै स्लोभेनियाका घना जंगल छिचोलेका थिए, इटालीको नाकामा पुगेपछि भागेका थिए, कन्टेनर र ट्रक चढेर फ्रान्स र स्पेनका सीमा पार गर्दै अन्त्यमा लिस्बोआसम्म आइपुगेका थिए ।  


झन्डै ४० वर्षको जीवनमा आफूले गरेको सबैभन्दा गाह्रो काम त्यही नौदिने यात्रा भएको सुनीलले बताए ।  ‘१२ घन्टासम्म एक थोपा पिउने पानीसम्म पाइएन । बल्लतल्ल एउटा घोडा बाँध्ने तबेलामा डुँडभरि पानी भेट्टाएपछि अनुहार डुबाएरै पानी पिएको थिएँ,’ उनले सम्झिए । उनका अनुसार शारीरिक थकान यतिसम्म चर्को भयो कि त्यसले मानसिक असर पार्न थाल्यो । 


‘सुत्न नपाएर हो कि चारैतर्फ डर र त्रासको वातावरण भएर हो आफूसँग भएका मानिसहरूले मलाई मार्न खोज्दै छन् भन्ने लागिरह्यो ।’ सुनीलको अनुभव त्यसरी नै यात्रा गर्ने अन्य नेपालीहरूको अनुभवसँग मेल खान्छ । 


झन्डै आठ महिनाअघि त्यसैगरी क्रोएसिया पुगेका २७ वर्षीय महेन्द्रनगरनिवासी प्रवीन र उनकी पत्नी प्रियाको अनुभव पनि उस्तै छ । अहिले उनीहरू पनि ओदेमिरामा रास्पबेरी फर्ममा काम गर्छन् । गोपनियताका लागि उनीहरूको पनि नाम परिवर्तन गरिएको छ ।  उनीहरू अहिले पाँचजना नेपालीहरूसँग तीनकोठे भाडा घरमा बस्छन् ।


त्यही घरबाहिर ओदेमिराका डाँडातिरका राता छानाभाका घरहरू हेर्दै उनीहरूले आफ्नो यात्राबारे सुनाए, अनि त्यतिवेला बाटोमा कैद गरेका तस्बिरहरू देखाए, कुनैमा खुट्टाभरि चोट थिए भने कुनैमा कठ्यांग्रिएका हातहरू । ‘हाम्रो यात्रा यस्तो कठिन होला भनेर हामीले सोचेका पनि थिएनाैँ, म ती दुई हप्ताबारे सोच्न पनि चाहन्न, त्यो कहालीलाग्दो यात्रा कुनै हरर फिल्मभन्दा कम थिएन’, प्रिया भन्छिन् । र पोर्तुगल टेकिसकेपछि पनि दुःखले पच्छ्याउन नछोडेको उनीहरूको गुनासो छ । 


‘युरोपको खाडी हो पोर्तुगल, यहाँ सोचेजस्तो रहेनछ’, प्रवीनले भने । प्रवीन र प्रिया शनि बार आइतबार नभनी, हप्ताको सातै दिन, १२ – १२ घन्टा रास्पबेरी फर्ममा काम गर्छन् । त्यति खट्दा पनि महिनामा ठिक मात्र पुग्ने र त्यहाँसम्म आउन लिएको ऋण तिर्न हम्मे हम्मे पर्ने उनीहरू बताउँछन् ।


क्रोएसियाबाट जंगलको बाटो हुँदै अरू तरिकाले पोर्तुगल पसेका नेपालीहरूको अवस्था पनि उत्तिकै दयनीय छ । २६ वर्षीय खोटाङनिवासी धीरज २०७७ सालको मंसिरतिर ‘एग्रिकल्चर भिसा’अन्तर्गत पोर्तुगल आए । गोपनीयताका लागि उनको नाम परिवर्तन गरिएको छ । एकजना चिन्ने ‘शेर्पा दाइ’लाई २०२० झन्डै १४ लाख तिरेर, दिल्लीमा पोर्तुगलको लागि भिसाको अन्र्तवार्ता पार गरेर उनी यहाँ आइपुगे । तर, त्यतिवेला पोर्तुगलका खेतहरूमा जाडोका कारण बढी काम नभएकाले उनले तीन महिना कामविना नै बिताए । 


धीरज ती तीन महिना अरू नेपालीहरूसँग एउटा सानो अपार्टमेन्टमा बसे । त्यहाँ बसाइको क्रममा उनले कल्पना गरेको पोर्तुगल र युरोप वास्तविकतामा कति फरक रहेछ भनेर बल्ल बुझे । १७ जनाका लागि एउटा ट्वाइलेट, सुत्नका लागि खाट त टाढा, भुइँमा म्याट्रेसमा कोचिएर निदाउनुपर्ने बाध्यता, काम र कागजपत्र मिलाउन न त भाषा आउने, न त त्यहाँको सिस्टम बुझेको ।


घरबाट ल्याएको १२०० युरो सक्न थालेपछि अन्ततः उनले अर्को ठाउँमा चिनजानको साथीमार्फत काम खोजे अनि त्यहाँबाट निस्के । अहिले उनी राजधानी  लिस्बाओ  भन्दा अलि बाहिर एकजना नेपालीको रेस्टुरेन्टमा काम गर्छन् । तर, त्यहाँ पनि उनको ‘बेसिक’ कमाइ मात्र हुन्छ । महिनाको लगभग ७०० युरो उनले सोचेकोभन्दा निकै कम हो । त्यो कमाइले न त उनको ऋण तिर्न पुग्छ, न त पछिको लागि केही जोहो गर्न नै । उमेरले ३० पनि पुगेका छैनन् । तर, यति सानो उमेरमा नै भविष्यबारे सोच्दा पनि उनी आत्तिने बताउँछन् । 


‘समय कति छिटोछिटो बितेको जस्तो लाग्छ, अनि आफु चाहिँ झन् झन् पछि परेको जस्तो, अहिलेसम्म ऋण पनि तिर्न सकेको छैन’, धीरजले भने, ‘मेरो त बिहे पनि भाको छैन, बिहे कहिले होला, घरजम कहिले गर्ने ।’तर, केही नेपालीहरू विभिन्न बाटोबाट पोर्तुगल पुगेकाले र सही जानकारीको अभावले अरू थुप्रै मानिसले पनि यस्तै कष्टकर र जोखिमपूर्ण यात्रा गर्ने प्रेरणा लिइरहेका छन् ।  


‘मलेसिया र खाडी मुलुकजस्ता परम्परागत गन्तव्यको साटो पछिल्ला केही वर्षयता बिस्तारै युरोपतिर जाने प्रचलन बढ्दै छ,’ नेपालदेखि युरोप आप्रवासनलाई नजिकबाट अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय श्रम संगठनको काठमाडौं कार्यालयकी राष्ट्रिय संयोजक नेहा चौधरीले बताइन् । ‘नेपाली आप्रवासी श्रमिकको प्रकारमा फेरबदल हुँदै छ । अहिलेका प्रायः आप्रवासी श्रमिकको महत्वाकांक्षा उच्च छ । उनीहरू खाडी मुलुकमा पूर्वाधार निर्माणका जागिरभन्दा भिन्न अवसरको खोजीमा रहन्छन् ।’ नेपाली आप्रवासीहरूका लागि सबैभन्दा आकर्षक भनेकै पोर्तुगलजस्ता देशको आप्रवासन नीति हुन् जसले पश्चिमा देशमा वैध आवासका लागि सहजै मार्गप्रशस्त गरिदिन्छन् ।  

पोर्तुगलको ओडेमिरामा नेपाली कामदार ।

‘विगतका दुई दशकमा आप्रवासनको ढाँचा प्रायः चक्रीय हुन्थ्यो । श्रमिकहरू विदेश जान्थे, तर अन्त्यमा स्वदेश फर्किन्थे,’ चौधरीले भनिन् । ‘तर, अहिले मानिसहरूले युरोपका देश गएर त्यतै स्थायी बसोवास गर्ने चाहना राखेको देख्न थालेका छौँ ।’ 


तर, युरोपका नयाँ श्रम बजारबारे नेपालमा अत्यन्तै थोरै सूचना उपलब्ध छन् । नेपालीहरूका प्रायः गन्तव्य देशसँग नेपालको दौत्य सम्बन्ध नरहेकाले त्यहाँसम्मको यात्रा जोखिमपूर्ण, अनिश्चित तथा अत्यन्तै महँगो छ ।  नेपालीहरू पोर्तुगलजस्ता देश पुगेपछि पनि श्रम गरेबापत उचित रोजगारीको वातावरण र ज्याला सुनिश्चित नहुनु, भाषागत कठिनाइ आदि विविध बाधाअड्चनको सामना गर्नुपर्छ । 


पोर्तुगलमा आप्रवासी नेपालीहरूको हितका लागि काम गर्ने गैरसरकारी संस्था नियाल्पका संस्थापक कमल भट्टराईका अनुसार धेरै नेपाली सही जानकारी नपाएर नै ठगीमा पर्ने र यहाँ आएपछि पनि दुःख पाउने गरेको बताउँछन् । ‘मान्छेहरूलाई काम चाहिएको त छ, तर सम्बन्धित निकायले रोजगारीका लागि युरोपसम्म आउन यति धेरै पैसा तिर्नुपर्दैन भन्ने जानकारी दिनुपर्‍यो’, भट्टराईले भने, ‘समयमा नियमन गर्न आवश्यक छ ।’


युरोपमा रोजगारीको अवसरसँग सम्बन्धित ठगीका घटना बढ्दै गएकोबारे आफू सचेत रहेको र त्यसैकारण रोजगारी अनुबन्धनपत्रलाई सम्बन्धित देशमा अवस्थित दूतावासबाट प्रमाणीकरण गर्नुपर्नेजस्ता प्रावधान ल्याएको बताउँछन् नेपाल सरकारका अधिकारीहरू । युरोपमा रोजगारीसम्बन्धी ठगीबारे थुप्रै गुनासा आउने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।  


तर, अन्त्यमा सबैकुरा व्यक्तिगत निर्णयमा भर पर्ने उनी बताउँछन् ।  ‘जोखिम र अनिश्चितताबारे थाहा हुँदाहुँदै पनि मानिसहरू दलाल र एजेन्टहरूलाई यति धेरै रकम तिर्छन् । उनीहरू आफैँ थप जिम्मेवार हुनु आवश्यक छ,’ पौडेलले भने । ‘मानिसहरू आँखा चिम्लेर धेरै पैसा तिर्छन् र त्यसले उनीहरूलाई युरोपसम्म लगिदिए उनीहरूलाई पुग्छ । तर, युरोप पुग्न सकेनन् भनेचाहिँ मद्दतका लागि हामीलाई गुहार्छन् ।’  


चौधरीजस्ता विज्ञहरूका अनुसार युरोप जानु अचेल प्रतिष्ठाको विषय बनेको छ । आप्रवासीहरूले पोर्तुगलजस्ता देशसम्म पुग्न अत्यन्तै धेरै रकम खर्च गर्ने हुनाले उनीहरू आफूले गरेको कष्टकर र जोखिमपूर्ण यात्रा तथा रोजगारमा खराब परिस्थितिबारे निर्बाध चर्चा गर्न हिचकिचाउँछन् ।   


पोर्तुगल पुगेर फलफूल फार्ममा काम गरिरहेका सुनीलले आफ्नो परिवारलाई उनको जीविकोपार्जनको माध्यमबारे केही बताएका छैनन् । ‘यहाँ आउन लिएको ऋण तिर्न मात्रै पुग्ने ज्याला कमाउन दिनभरि खेतबारीमा काम गरिरहेको छु भनेर कुन मुखले बताउने ?’ आफ्नो कमाइ कति छ भन्ने केही नखुलाई सुनीलले भने, ‘युरोपमा छ, राम्रै गरिरहेको होला भन्ने सोचेका छन्, र त्यसै सोचिरहून् भन्ने हामी चाहन्छौँ ।’  


तर, आफ्नोजस्तो दुर्गति अरूको नहोस् भन्ने चाहन्छन् धरम दास । गैरआवासीय नेपाली संघको युट्युब च्यानलमा राखिएको एक भिडियोमा दास कसैलाई युरोपेली सपनाको भ्रममा नफस्न बिन्ती गर्छन् । पूर्वी युरोपका देशस्थित एजेन्टहरूद्वारा झुक्याइएर न्यून ज्यालाका जागिरमा फसाइएपछि उनीजस्तै अरू व्यक्तिहरूले पनि फेसबुक र युट्युबमार्फत सबैलाई चेतावनी दिइरहेका छन् ।    

     
तर, चेतावनीले भरिएका यस्ता भिडियोको बगलमै अरू अनगिन्ती पोस्टहरूमा अरू मानिसहरू सोध्दैछन्, ‘क्रोएशियासम्म कसरी पुग्न सकिन्छ ? क्रोएसियाजस्ता देशबाट जर्मनी र पोर्तुगलसम्म कसरी जान सकिन्छ ?’