• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ब्रबिमकुमार
२०७९ असार ४ शनिबार ०७:०७:००
समाज

कर्णाली जगाइरहेको हिरा

कर्णालीमा थिएटर बनाइछाड्ने हिराको सपना अझै कायम छ

२०७९ असार ४ शनिबार ०७:०७:००
ब्रबिमकुमार

 

‘साला, पहाडमें क्या है ?’


उपयुक्त शीर्षकमा कवि मीनबहादुर विष्टको एउटा कविता छ । अभाव, भोक, गरिबी यिनैयिनै मान्छेका पुराना दुःख बोकेर पहाड उभिरहेछन् । कविताले यसै भन्छ । अर्का चल्तीको भनाइ पनि छ,‘पहाडमा पानी र जवानी टिक्दैन ।’ प्रत्येक वर्ष हजारौँ युवा पहाडमा अडिन नसकेर भारततिर लाग्छन् । तथ्यांकहरूले भन्छन्– यसरी नेपालका सुदूर पहाडहरूबाट भारत लाग्नेमा सबैभन्दा बढी दलित युवा पर्छन् ।


सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड र मान्छेका कथालाई २०६५ सालमा ‘कर्णाली दक्खिन बग्दो छ’ नाटकले समेट्ने प्रयास गरेको थियो । नाटक काठमाडौंमा हिट खायो । त्यही नाटक प्रदर्शनको मेसोमा पहिलोपटक भेटेथेँ, हिरा बिजुली नेपालीलाई, नाटकको एक वास्तविक पात्र । १८ वर्षीय निर्दोष उसको आँखामा केही सपना, केही प्रश्न र केही अलमल पढेको थिएँ । सायद, ऊ त्यही बोकेर काठमाडौंमा भौँतारिरहन्थ्यो ।


त्यो हिराको दोस्रो काठमाडौं यात्रा थियो । पहिलोपटक एसएलसी सकेर ऊ कर्णालीबाट काठमाडौं झर्‍यो । सानैमा बुबा बितेर आमाले दोस्रो बिहे गरेपछि सायद हिरालाई देशको राजधानीमै गएर भविष्य बनाउँछु भन्ने लागेको हुँदो हो । त्यसैले उसले अन्य साथीभाइजस्तो मुग्लानको बाटो रोजेन । काठमाडौं आयो, बाँच्नका लागि होटेलमा भाँडा माझ्यो, सरसफाइको काम ग¥यो । त्यतिवेला कर्णालीको पहाडमा नअडिएको हिराको मन काठमाडौंको चमकधमकमा पनि रमाएन । एक शुभेच्छुकसँग बाटो खर्च मागेर हिरा फेरि गाउँ फर्कियो । गाउँमै छँदा उसको भेट गुरुकुल नाट्य टोलीसँग भयो र ‘कर्णाली दख्खिन बग्दो छ’सम्म जोडिन पुग्यो ।


नाटकमा उसले गरेको अभिनय मन परेर त्यतिवेला म कार्यरत रेडियो कार्यक्रमको नाटकहरूमा हिरालाई संलग्न गराएँ । अभावले रन्थन्याएका वेला सायद त्यस्ता छिटफुटे कामले उसलाई मलम लगाउँदो हो । झन्डै ढेड दुई वर्ष नियमितजसो भेटघाट र गफगाफ हुँदा हिरालाई कलाकारितामा कसरी टिकिराख्ने भन्ने धुन मात्र थियो । सन् २०११ ताका हिराले एक दिन फोन गर्‍यो र भन्यो, ‘म अब काठमाडौं छोड्ने भएँ, आफ्नै गाउँ मुगुमा गएर थिएटर बनाउँछु, कलाकारिता गर्छु ।

गाउँमा संस्कृतिको अपार काम छ, त्यसलाई जोगाउँछु, त्यसमै काम गर्छु ।’ त्यतिवेला भेट्दा पनि उसको आँखामा सपना, मनमा प्रश्न र केही जिम्मेवारी बोध थिए । काठमाडौंबाट सायद ऊ तिनै कुरा मात्रै बोकेर गाउँ फर्कियो । मैले कार्यरत संस्था छोडेँ, हिराले दोस्रोपटक काठमाडौं छाड्यो । अनि हाम्रो सम्पर्क फेसबुकको स्टेटस लाइकमा अल्झियो ।


यसपटक काठमाडौं छोड्दा पनि हिरासँग गाउँ जाने खर्चको सकस नै थियो । उसको कमाइ भनेको कलाकारितामा लाग्ने आत्मविश्वास थियो, केही सम्बन्ध कमाएको थियो । सबैभन्दा ठूलो उसको पुँजी थियो स्पष्टता र प्रतिबद्धता, पहाडमै गएर कला–संस्कृतिमा काम गर्ने ।


सन् २०१७ मा हिराले कर्णाली थिएटर्सका लागि केही सहयोग जुटाउने अभियान चलाउँदा केही सम्पर्क र सम्बन्ध जोडिदिनेबाहेक यी वर्षहरू हाम्रो सम्बन्ध सामाजिक सञ्जालमा सीमित थियो ।


हिराले आफ्नो गाउँ मुगु फर्केर सडक नाटक गर्‍यो, अन्य युवालाई जोड्यो । काठमाडौंबाट संस्कृति जगेर्ना गर्न गाउँ फर्केको हिरालाई गाउँमा दलितले भोग्नुपरेको संरचनात्मक विभेद देख्दा र भोग्दा संस्कृतिलाई जगेर्ना मात्रै होइन, त्यसमा भएका विभेद र रुढीवादी पक्षलाई प्रश्न गर्नुपर्ने रहेछ भन्ने बोध भयो । हिराले नाटकमार्फत प्रश्न गरिरह्यो । कहिले सुनुवाइ भयो, कहिले भएन । हिराले नाटक गर्न र बोल्न छोडेन । जीविकाका लागि विकासे सडक नाटक पनि ग¥यो, तर त्यसले उसको न पूर्ण रूपमा जीविका चल्यो, न समाज बदलियो ।


मुगुमा सडक नाटकले मात्रै जीविका धानिएन । झन्डै २०० जना कलाकारसँग काम गरेको हिराले हाल औँलामा गन्न मिल्ने थोरै कलाकारसँग काम गरिहेको छ । मुगुको गाउँमा बसेर कलाकारिता गर्दा सन्तुष्टि त हुने, तर खल्ती सधैँ खाली । हिरा जसोतसो टिकिरहेको रहेछ । ऊ जात–व्यवस्थाविरुद्ध, बिचौलियाहरूको बिगबिगी रहेको दलीयकरणका विरुद्ध बोलिरहन्छ, अरूलाई बोल्न लगाइरहन्छ, प्रश्न गरिरहन्छ । संस्कृति जगेर्ना गर्न पहाड फर्केको हिराले संस्कृति बदल्ने जेहाद जारी राखेको छ ।

काठमाडौं आयो, बाँच्नका लागि होटेलमा भाँडा माझ्यो, सरसफाइको काम गर्‍यो । त्यतिवेला कर्णालीको पहाडमा नअडिएको हिराको मन काठमाडौंको चमकधमकमा पनि रमाएन । एक शुभेच्छुकसँग बाटोखर्च मागेर हिरा फेरि गाउँ फर्कियो ।


उसले गरेका यस्तै काम र अभियान प्रायशः म सामाजिक सञ्जालबाटै चाल पाउँथेँ, कहिलेकाहिँ मिडियामा आक्कलझुक्कल लेख्नेबाहेक । ऊ पहाडतिर हुन्थ्यो, म कहिले अफगानिस्तान, कहिले सुडान त कहिले इराक । त्यसैले आक्कलझुक्कल हिरा काठमाडौं आउँदा नि हाम्रो देखभेट भएन ।


केहीअघि ऊ ‘भेरी प्रतिरोध मार्च’मा नाटक नै गर्दै थियो । त्यसै सेरोफेरोमा समाचार आयो, ‘हिराले अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ पाउने भयो । दलित अभियन्ता सुभाष दर्नालको नाममा ‘सरिता परियार ट्रस्ट फण्ड र समता फाउन्डेसन’ले प्रदान गर्ने उक्त अवार्ड यसपालि कर्णालीको पहाड जगाइरहेको हिरा बिजुली नेपाली र अमेरिकास्थित संस्था इक्वालिटी ल्याबले पाए । अवार्ड थाप्न हिरा बिजुली काठमाडौं आएको मेसो पारेर झन्डै १२ वर्षपछि हाम्रो फेरि भेट भयो ।


‘तिमी त जस्ताको तस्तै छौ त’, मैले ठट्टा गरेँ । ‘झन्डै १८ वर्षको उमेरदेखि कलाकारितामा लागेको १४ वर्ष बितेछ । कहाँ उस्तै हुनु !’ हिराले उल्टो प्रश्न फर्कायो । मनमनै गमेँ, हिरा र मेरो भेटघाट भएको पनि त्यत्ति नै भएछ ।


यी १४ वर्षहरूमा हिराले कर्णालीका पहाडहरूमा आफूलाई जोतिरह्यो । फसल अझै लागेको छैन । झन्डै १२ वर्षअघि कर्णालीमा थिएटर बनाउन गाउँ फर्किएको सपना अझै पूरा भएको छैन । काठमाडौंमा दर्जनौँ थिएटर छन्, कर्णालीमा अझै एउटै छैन । “कर्णालीका नाममा गफ कति–कति, गफे सम्मेलन कति–कति, प्रोजेक्ट कति–कति तर खै गाउँ जगाउने, जनता जगाउने थिएटर छ त ?’ हिरा प्रश्न गर्छ । प्रश्न गर्ने उसको बानी फेरिएको छैन । जात–व्यवस्था, संस्कृतिका नाममा भएका विभेद र रुढीवादीविरुद्ध उसका प्रश्न जायज छन् । हो, जिउँदो सपना बोकेर बाँचिरहेको हिरा फेरिएको छैन, जस्ताको तस्तै छ ।


हिरा बोलेर, लेखेर नाटक गरेर प्रश्न गरिरहन्छ । विभेदका विविध आयाम देखेको छ, भोगेको छ । टुहुरो बालक हुँदा भोगेको विभेद, दलित भएर बाबुसाहेबहरूले गरेको विभेद, कर्णालीवासी भएर काठमाडौंले गर्ने विभेद । कलाकार भएर भोग्नुपर्ने विभेद । उसले अर्काे विभेद पनि भोग्छ आजकाल, ऊ कुनै पार्टीको होइन, त्यसैले ऊ कसैको पनि होइन । लोकतन्त्रको कस्तो नमुना हो यो गाउँमा आजकाल बाँच्न पनि दलको फेरो समाउनुपर्ने ? हिराको बेचैनी बढ्दो छ ।अवार्ड थापेर हिरा फेरि कर्णाली फर्किएको छ । कर्णालीमा थिएटर बनाइछाड्ने उसको सपना, प्रतिबद्धता कायम जो छ । यसपालि बिदाइ हुने बेलामा मैले हिरालाई भनेको छु, ‘अब हाम्रो भेट छिट्टै होस्, सकेसम्म तिम्रो पहलले बन्ने कर्णाली थिएटरमै होस् ।’


मैले यो देश, समाज, युवा पुस्ता हेर्दा बाँचिबसेको केही आशा हिरा बिजुलीजस्ता पात्रमा पोखिदिएको छु । कसैले, ‘साला पहाडमा क्या है ?’ भनेर सोध्दा गर्वले भन्न पाइयोस्, ‘हिराले जोतेको पहाडमा एउटा जबर्जस्त थिएटर छ ।’ हिरा तिमीलाई शुभकामना छ ।