• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सन्तोष परियार
२०७९ असार ४ शनिबार ०७:११:००
साहित्य

विद्रोह जन्माउने कविताहरू

२०७९ असार ४ शनिबार ०७:११:००
सन्तोष परियार

साहित्य कसले लेख्छ ? कसका लागि लेखिन्छ ? जसलाई अक्षर पढेकै कारण जिब्रो काटियो, शब्द सुनेकै कारण फलाम पगालेर कानमा हालियो, उनीहरू पढ्न थाले भने के हुन्छ ? लेख्न थाले भने के हुन्छ ? जसरी इतिहास हारेकाहरूले लेखे भने इतिहासको खेलभित्र भएको असली झेलको पर्दाफास हुन्छ त्यसरी नै तीन हजार वर्षदेखि निरन्तर जात–व्यवस्थाले निर्माण गरेको विभेद र बहिष्करणमा पारिएको दलित समुदायले आफ्नो कथा आफैँ लेखे भने स्थापित साहित्यको साँध–सिमाना भत्किन सक्छ । सुन्दर भनिएका साहित्यिक रचना कुरूप लाग्न सक्छन् । लयमा दौडिएका भनिएका शब्दहरूको लय भंग हुन सक्छ ।


जीवनका भोगाइहरूले साहित्य लेखिने हो कि, साहित्यले जीवन ? परम्परागत अवधारणाभन्दा पर, तर जीवनका वास्तविकतासँग निकै नजिक मौलिक साहित्यको आफ्नै धार हुन सक्छ कि सक्दैन ? मान्छेका अनुभूतिहरूको इमान्दार प्रस्तुति साहित्य हो कि, काल्पनिकको स्थापित मूल्य, मान्यता र संरचनाभित्रको प्रस्तुति साहित्य हो ? प्रायजसो साहित्य जीवन भोगाइका संयोगहरूमा लेखिन्छन् तर, दक्षिण यसियाली हिन्दू समाजको दलित जीवन आफैँमा बेजोड साहित्य हो । परम्परागत साहित्यको सौंदर्यशास्त्रभन्दा पर दलनको दर्द र विद्रोहको आगो हो । मानवताको आह्वान हो । 


यसै मेसोमा, कवि हरिशरण परियार आफ्नो पहिलो कविता कृति ‘कैँची’मार्फत बेजोड विद्रोही कविता लिएर आएका छन् । कवितामा समाजले थोपरिदिएको अपहेलनाको गह्रुँगो भारी छ । जातको बन्धनले तोड्न नसकेको प्रेमको आवेग छ । आर्थिक, राजनीतिक र सामाजिक जीवनमा दलितहरूले भोगिरहेको विभेद र बहिष्करणको तीखो सियो छ । कुनै पनि वेला घोच्न सक्ने कथित उच जातीय अहंकारलाई अलिअलि भए पनि छेक्न प्रयास गरिरहेको दलित शील्प, सिर्जनशीलता र ज्ञानको अम्तर्नु छ । 


संग्रहको पहिलो ‘प्रतिबिम्ब’ शीर्षकको कवितामा ऐनाअगाडि उभिएर आफ्नै शरीरको बिम्बबाट दलित जीवनको शील्प र श्रमको भाषा बोल्ने यी हरफले दलित समुदायभित्रको गरिबीको कथा भन्छन् । श्रमको पसिनाले मेट्न नसकेका जीवनका अभावका कथा भन्छन् । जसले खेत जोत्छन् उसका आफ्ना नभएका खलियानहरूको कथा भन्छन् । आर्थिक अभावका कारणले निरस बनाएका भौतिक जीवन त छँदैछन्, कथित उचनिचको जातीय संस्कारले मान्छेबीच बनाएका विपरीत घेराहरूले मानवीय सम्बन्धमा पुर्‍याएका भावनात्मक चोटका कथा भन्छन् । जात–व्यवस्थाले बनाएका दलित जीवनका बेथितिको निन्याउरो कथा भन्छन् । यही व्यवस्थाले थोपरेको समाज कहिले एकीकृत हुन नसक्ने छुवाछुतजस्तो निकृष्ट थितिको कथा भन्छन् । कविताका लय गजबका छन् । दलित जीवनका वास्तविकताबाट सुरु भएका हरफ भविष्यका सम्भावित प्रतिरोधमा सलल बग्छन् । यो जातीय समाजमा दलित आक्रोश कुनै पनि वेला विस्फोट हुन सक्ने सम्भावनाको सावधानी पनि गराउँछ ।


‘दमिनी आमा’ शीर्षकको अर्को सुन्दर कविता छ । जसको एक हरफ यस्तो छ;


म बुझ्दिनँ
कसरी आमा आमाबीच कोरिन्छ साँध
जसरी कोरिन्छ नक्सा
र, सजिलै एउटी आमा भइदिन्छिन्
दमिनी आमा !


कविले झैँ हामीले पनि बुझेका छैनौँ, कसरी चलिरहेको छ दक्षिण एसियाली समाजमा जात–व्यवस्था गएको तीन हजार वर्षदेखि निरन्तर ? किन चलिरहेको छ ? कसका स्वार्थमा चलिरहेको छ ? जसले मान्छेलाई मान्छे गन्दैन । मान्छे–मान्छेबीच उचनिचको पर्खाल खडा गर्छ । आफैँमा स्वतन्त्र पृथ्वीको भूभागलाई संकीर्ण राजनीतिक व्यवस्थाले नक्सा कोरेर निश्चित सीमामा कैद गरेझैँ मानवीय सम्बन्धको असीमिततालाई सीमित गर्छ । त्यही प्रकृति, त्यही प्रक्रिया र उस्तै प्रयासबाट बनेका आमाहरूलाई कसरी आमा र दमिनी आमामा विभाजित गर्छ । कविताले विभेदको अत्यास लाग्दो भाषा बोल्छ । बहिष्करणले आक्रोसित भएको दलित समुदायको आन्दोलनको कल्पना गर्छ र कैँची, घन, मैरी, सारंगी, राँबो, बेल्चा र गैँतीहरूलाई विद्रोहको आह्वान गर्छ । 


‘भन्नु छ केही तिमीलाई’ शीर्षकको कवितामा उच जातकी प्रेमीकालाई जातीय समाजमा प्रेमले भोगिरहनुपरेको अप्ठ्यारालाई सरल तरिकामा यसरी भन्छन्; 


देखिकी थियौ–
हामीबीच पानीको पर्खाल
अस्प्रिश्यताको गहिरो खाडल
र भनेकी थियौ–
‘निस्पट्ट छ हाम्रो भविष्य’ 


संसारमै द्वन्द्वको प्रमुख कारण घृणा हो । तर, दक्षिण यसियाली हिन्दू समाजको जात–व्यवस्थाले भने प्रेमलाई सबैभन्दा बढ्ता हिंसाको कारण बनाएको छ । एकअर्कालाई जातको घेरा तोडेर प्रेम गरेकै कारण नेपाल र भारतलगायत दक्षिण एसियाली हिन्दू समाजका कैयौँ प्रेमिल जोडीहरूले मारिनुपरेको छ । कवि हरिशरण परियारकी प्रेमिकाले झैँ सायद, नवराज विक र अजित मिजारका प्रेमीकाहरूले पनि पानीको पर्खाल देखेको भए र अस्प्रिश्यताको गहिरो खाडल बुझेर ‘निस्पट्ट छ हाम्रो भविष्य’ भनिदिएका भए, अपमानको भारी बोके पनि, उनीहरूको प्रेमिल छाती चिरा–चिरा परे पनि मर्नुपर्ने थिएन । 

‘कैँची’ कवितासंग्रहकै शीर्ष कविता हो । कविले कैँचीलाई विम्बका रूपमा प्रयोग गरेर आफ्नो काव्यिक क्षमताको सुन्दर प्रस्तुति गरेका छन् । शब्द कैँचीजस्तै चलाएका छन् । भाव कैँचीले जस्तै काटेर धारिलो बनाएका छन् ।


मान्छेलाई प्रेम गर्नेहरूले नै समाज बनाउने हो । प्रेममाथि जातको तगारो हुँदैनथ्यो भने जातीय अन्तर्घुलनको एउटा सशक्त प्रक्रिया चलिरहन्थ्यो र जातको विनिर्माण ढिलै भए पनि सम्भव थियो । मानव सभ्यताको इतिहासमा प्रेमलाई सबैभन्दा शक्तिशाली मानवीय भावनाका रूपमा लिइन्छ जसका कारण संसारमा अपत्यारिला परिवर्तन भएका छन् । तर, दक्षिण एसियाली जात–व्यवस्थामा प्रेम निम्छरो साबित भएको छ । प्रेमभन्दा बलियो छ जात, जातीय अहंकार र द्वेष । त्यसैले गर्दा समाज विभक्त छ । मनहरू फाटेका छन् । समाजको पहिरनमा कैयौँ भ्वाङ परेका छन्, तर रफु भर्ने धागो र सियो यही व्यवस्थाका कारण विचलित छन् । 


‘कैँची’ कवितासंग्रहकै शीर्ष कविता हो । कविले कैँचीलाई बिम्बको रूपमा प्रयोग गरेर आफ्नो काव्यिक क्षमताको सुन्दर प्रस्तुति गरेका छन् । शब्दहरू कैँचीजस्तै चलाएका छन् । भावहरू कैँचीले जस्तै काटेर धारिलो बनाएका छन् । लामो र गहिरो अर्थ बोकेको छरितो कविताको एक हरफ यस्तो छ;  


आज थाहा छ मलाई
अरूजस्तै अमानवीय बन्यो भने कैँची
काटिन सक्छ लाजको वस्त्र
काटिन सक्छ मानव तस्बिर
काटिन सक्छन् औँलाहरू
काटिन सक्छन् हातहरू
अनि,
काटिन के बेर राष्ट्रिय झन्डा ?


यो समाज कैँची, घन, मैरी, राँबो बेल्चा र गैँतीजस्ता कथित अछुतहरूले चलाउने औजार र उनीहरूको श्रमले निर्माण गरेको हो । तर, इतिहासले बेइमानी गर्‍यो, श्रम गर्नेहरू आफ्नै श्रमको मूल्यबाट विमुख पारिए । छलकपट र धुत्र्याइँ गर्नेहरूले समाजको व्यवस्था बनाए । उनीहरूले व्यवस्था गरेको समाजमा श्रमलाई घृणा गर्नु जरुरी थियो । त्यसो नगर्दा उनीहरूको अस्तित्व संकटमा पथ्र्याे । तसर्थ, समाजका सबैभन्दा श्रम गर्ने समुदायलाई घृणा गर्ने धार्मिकशास्त्र, सामाजिक विधिविधान र कानुनी राज्यको निर्माण गरियो । कैँची, घन, मैरी, राँबो बेल्चा र गैँतीहरूलाई अछुत करार गरियो ।


जात–व्यवस्थाको अमानवीय अपमान, विभेद र बहिष्करणको जाँतोमा पिँसिदै–पिँसिदै लमजुङको राइनासकोटबाट काठमाडौं झरेका कवि परियार यतिवेला प्रवासमा जीवनका डुकु केलाउँदै छन् । यहीबीचमा प्रवासबाट स्वदेश झरेर कविले आफ्नै अँगेनाबाट लुटिएको फिलिंगोेबाट जातीय विभेदविरुद्ध आगो झोसिदिएका छन् । ‘आगो’ शीर्षकको उनकै कविताको हरफले भनेझैँ असहजतामा सल्किएको यो आगो (कविता लेखन) निभ्नु हुँदैन । आगामी दिनहरूमा मसाल बनेर जलाउनुपर्छ दलितविरुद्धका तमाम अन्याय, अत्याचार र सिंगो जात–व्यवस्थालाई । 


‘वेला पब्लिकेशन’ले प्रकाशित गरेको यो संग्रहमा अपहेलित दलित जीवनका अवयवहरू ४२ कवितामा समेटिएका छन् । संग्रहको भौतिक तौलभन्दा अलि गरौँ छ यसको आर्थिक तौल, तर अपसोच छैन । त्योभन्दा कैयाैँ गुणा गह्रुँगा छन् संग्रहमा संग्रहित कवि हरिशरण परियारका कविताहरू ।
०००