• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
विष्णु जोशी
२०७९ असार ४ शनिबार ०७:१३:००
सम्झना

डा. भगवान कोइरालालाई अमेरिकामा भेट्दा

२०७९ असार ४ शनिबार ०७:१३:००
विष्णु जोशी

वेलाबखत नेपालमा हराएका भगवान्का मूर्ति अमेरिकामा भेटिन्छन् ! केही मूर्ति नेपाली संघ–संस्थाहरूको पहलमा नेपाल फर्काइएका पनि छन् । आस्थाले हो ढुंगालाई देउता बनाउने । तर, अर्को एउटा पुण्यको काम छ जसले मान्छेलाई ‘भगवान्’ बनाउँछ त्यो हो दुःखी, बिरामीको सेवा ! कैयौँ नेपालीहरू प्रवासमा बसे पनि आफ्नो देशमा केही गर्ने भावले ओतप्रोत हुन्छन् । तर, सबैसँग आफैँ फर्केर केही गर्न समय हुँदैन । कतिलाई साधनस्रोतको कमी पर्छ । गरेको सहयोगको सदुपयोग होला ? भन्ने प्रश्नहरू पनि उठ्छन् । 


२०२२ मे महिनाको उत्तरार्धमा जब प्रा.डा. भगवान कोइराला अमेरिका आइपुगे, यहाँका विभिन्न सहरमा बस्ने नेपालीहरूलाई ढुंगा खोज्दा ‘भगवान्’ भेट्टाएझैँ भयो । उनी नेपालमा शिशु स्वास्थ्य प्रवद्र्धन गर्न ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’अन्तर्गत थालिएका विभिन्न परियोजनाबारे जानकारी गराउन अमेरिका आइपुगेका थिए । अमेरिकामा बस्ने नेपाली समुदायका विद्यार्थी, वैज्ञानिक, डाक्टर, उद्यमीहरूसँग उनकोअन्तर्क्रियामा  भयो । किओचको गैरनाफामूलक अमेरिकी पार्टनरसंस्था ‘के–प्याल्स’को तर्फबाट डा. प्रकाश पौडेलले डा. कोइराला आउनुभन्दा अघिदेखि नै के–प्याल्सप्रति सद्भाव राख्ने व्यक्तिहरूको सक्रियतामा डा. कोइरालाको यात्रासम्बन्धी सूचना प्रवाह गर्न मेसेन्जर समूह बनाएका थिए ।


प्रवासी नेपालीहरू स्वस्फूर्त रूपमा एकत्रित भए । डा. कोइरालाको उपस्थितिमा दुई दर्जनजति अन्तर्क्रियामा  भए । नेपाल र अमेरिकाका जनस्वास्थ्य विज्ञानमा कार्यरत केही विज्ञहरूको समूहगत भेटघाटमा सरिक हुने अवसर यो लेखकलाई पनि प्राप्त भएको थियो । माला, खादाजस्ता औपचारिकतामा समय खर्चेनन्, डा. कोइरालाले । उनले निर्माणाधीन काठमाडौंको केन्द्रीय बाल अस्पताल र प्रदेशहरूमा विस्तार गर्ने योजनाअन्तर्गत पहिलो चरणमा लगभग निर्माण सम्पन्न भएको प्रदेश नम्बर १ को झापा दमकस्थित बाल अस्पतालको बारेमा जानकारी दिए । साथै, नेपालमा शिशु स्वास्थ्य प्रवद्र्धन गर्न, सचेतना फैल्याउन आवश्यक परेको जानकारी दिए । 

२०२२ मेको उत्तरार्धमा प्रा.डा. भगवान कोइराला नेपालमा शिशु स्वास्थ्य प्रवद्र्धन गर्न ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’अन्तर्गत थालिएका विभिन्न परियोजनाबारे जानकारी गराउन अमेरिका आइपुगेका थिए ।


सर्वप्रथम म हार्टफोर्ड कनेक्टिकटमा भएको अन्तर्क्रियामा उपस्थित थिएँ । त्यहाँ स्थानीय समाजसेवी माधव आत्रेयले नेपाली खानासहितको रात्रिभोज राखेका थिए । कामको दिन बिहीबार हुँदाहुँदै पनि डा. कोइराला आउनुअघि नै हलमा सयजनाभन्दा बढी नेपाली उपस्थित थिए । काठमाडौं र दमकमा निर्माणाधीन बाल अस्पतालको बारेमा जानकारी दिनुअघि डा. कोइरालाले नेपालको शिशु स्वास्थ्यसम्बन्धी केही कहाली लाग्दा तथ्यांक सुनाए । उनले भने,‘झन्डै ४०% जनसंख्या (एक करोडभन्दा बढी) १८ वर्षमुनि रहेको नेपालमा बाल मृत्युदर एक हजारमा २५ जना छन् । (अमेरिकामा यसभन्दा झन्डै पाँच गुणा कम अर्थात् प्रतिहजारमा पाँचजना छन्) । दुर्गम स्थान र सीमान्तकृत समुदायमा समस्या बढी छ ।’


‘हजारौँ कथाहरू’ नामक भिडियोमार्फत आफूले हृदयको शल्यक्रिया गरेर नवजीवन पाएका केही बालकको मुस्कानका साथ भविष्यमा उद्यमी र वैज्ञानिक बन्ने सपना साझा गरेको देखाउँदै डा. कोइरालाले थपे,‘एउटा बालकको स्वास्थ्य सेवा नपाएर मृत्यु हुनु भनेको एउटा अथाह सम्भावना भएको कोपिलालाई फक्रन नदिनु हो ।’


सभामा उपस्थित एक दर्शकले भावुक हुँदै डा. कोइरालाले आफ्नी भाउजूको मुटुको शल्यक्रिया गरेर पुनर्जीवन प्रदान गरेको बताए । उनको परिवारले डा. कोइरालालाई ‘भगवान्’ मान्ने गरेको पनि भने । सुनील श्रेष्ठजीले आफ्नो बालक लिओनार्डो एडवार्डको शैशवकालमै क्यान्सरले मृत्यु भएपछि क्यान्सरका लागि उपचाररत बालबालिकाको सहयोग गर्न लिओ एडवार्ड श्रेष्ठ फाउन्डेसन खोलेको बताए । उनले डा. कोइरालाको बाल अस्पताल बनाउने परियोजनाको बारेमा सुनेपछि आफू निकै प्रेरित भई सहकार्य र सहयोग गर्दै आएको बताए । त्यसपछि डा. कोइरालाले केही स्रोताले सोधेका प्रश्नहरूको उत्तर दिए । 


शनिबार अपराह्न बोस्टनको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)को कोक इन्स्टिच्युटमा राखिएको अन्तर्क्रियामा नेपाली समुदाय र अमेरिकाका अस्पताल, युनिभर्सिटीका डाक्टर, वैज्ञानिकहरूको उपस्थिति थियो । कार्यक्रमको सुरुमा डा. कोइरालाले पावरपोइन्टमार्फत अमेरिका आउनुको कारण खुलाए । औपचारिक कार्यक्रमपछि प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । डाक्टर, वैज्ञानिकहरूको बाक्लो उपस्थिति रहेको सभामा डा. कोइरालाले यक्ष प्रश्नकै सामना गर्नुपर्‍यो ।


एमआइटीका वैज्ञानिक डा. सन्दीप अर्यालले यी परियोजनाहरूअन्तर्गत सेवा लिन आउने बिरामीको डिजिटल मेडिकल रेकर्ड राख्न सुझाव दिए । यसो गर्दा अन्य देश–विदेशमा स्वास्थ्य सेवामा कार्यरत संस्थाहरूसँग सहकार्य गर्न सहज हुने र महामारी विज्ञानको अध्ययन गर्न तथ्यांक पनि सजिलै उपलब्ध हुने उनको धारणा थियो । एमआइटीकै अर्का वैज्ञानिक डा. रञ्जन मिश्रको प्रश्न थियो, ‘काठमाडौं चक्रपथमा पार्टी प्यालेसजस्तै ठाउँ–ठाउँमा खुलेका निजी अस्पतालहरूमाझ अर्को अस्पताल किन चाहियो ?’ उनको प्रश्नमा डा. कोइरालाले भने, ‘हामीले समष्टिगत बाल स्वास्थ्य प्रवद्र्धन गर्न एकीकृत सेवा प्रदान गर्ने अवधारणा अघि सारेका छौँ । यसले छरिएर कार्यरत शिशु स्वास्थ्य सेवाका सबै फूलहरू गाँसेर एउटा माला बनाउनेछ ।’ 


यसबाहेक अमेरिकाका केही प्रतिष्ठित चिकित्सा विज्ञान संस्थाका प्रतिनिधिसँग डा. कोइरालाको भेट भयो । हार्वर्ड मेडिकल स्कुलस्थित अन्तर्राष्ट्रिय आनुवंशिक रोग अनुसन्धान केन्द्रका निर्देशक डा. अलिरेजा हघिघी र ब्रिङ्हम एन्ड वोमेन्स हस्पिटलका शोधकर्ता डा. रिचर्ड मासले आफू डा. कोइरालासँग नेपालमा सहकार्य गर्न उत्सुक रहेको बताए । यी भेटघाट र अन्तर्क्रियामा कार्यक्रम अन्य नेपाली समुदायका कार्यक्रमको तुलनामा निकै व्यवस्थित र संगठित देखिन्थे । यसको श्रेय के–पाल्स समूहलाई जान्छ ।


‘औषधं जाह्नवीतोयं वैद्यै नारायणे हरित्’ अर्थात् औषधिको पुण्य गंगाजल प्रदान गर्ने डाक्टर श्री हरि समान हुन्छन् । शिशु स्वास्थ्य प्रवद्र्धन र बाल अस्पताल निर्माणमा जुटेका डा. भगवान कोइरालाको कोसिस सफल रहोस्, शुभकामना ।

(जोशी अमेरिकास्थित युनिभर्सिटी अफ म्यासाचुसेट्सका शोधार्थी हुन् ।)