• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रकाश आङदेम्बे
२०७९ असार ११ शनिबार ०७:०२:००
सम्झना

देश नटेकी बिदा भएका देशप्रेमी

२०७९ असार ११ शनिबार ०७:०२:००
प्रकाश आङदेम्बे

जनवरीको पहिलो हप्ता डा. भम्पा राईको बायोग्राफी तयार गर्ने अभिप्रायले डा. तारालाल श्रेष्ठ, डाक्टर राई र म भिडियो कलमा निकै लामो भलाकुसारी गरेका थियौँ । डाक्टर राईसँग जीवनकै अन्तिम संवाद त्यही भयो । त्यसअघि उहाँकै हातबाट कोभिडको दोस्रो लकडाउनको वेला शरणार्थी शिविर बेल्डाँगीमा मेरो कविता कृति ‘म एउटा बिहान हिँडिरहेछु’ र शिविरबाटै प्रकाशित साहित्यिक पत्रिका ‘मुक्त’को सार्वजनिकीकरण गराएका थियौँ । भौतिक रूपमा उहाँसँगको मेरो अन्तिम सामीप्यता त्यही रह्यो । त्यसलगत्तै म नर्बेतिर लागेँ ।


गएको जुन ९ तारिखमा पनि उहाँले म्यासेन्जरमा कल गर्नुभएको थियो । म कक्षामा भएका कारण बोल्न सकिनँ । कक्षाबाट बाहिर निस्किएपछि कलब्याक गरेँ । तर, कल उठेन । सायद साह्रै बिसन्चो हुनुहुन्थ्यो । त्यसपछि हाम्रो संवाद हुन पाएन । असार ५ गते राति उहाँको निधन भयो । जुन समाचार नेपाल फर्किँदै गर्दा दुबई ट्रान्जिटमा थाहा पाएँ । सोचँे, उहाँलाई एकमुट्ठी माटो श्रद्धाञ्जलीस्वरूप दिन दमक गइहाल्छु । विडम्बना, काठमाडौं एअरपोर्टबाहिर निस्किँदा–निस्किँदै उहाँको अन्त्येष्टिका तस्बिर, भिडियो सामाजिक सञ्जालमा आइसकेका थिए । उहाँको भौतिक शरीरलाई बिदा गर्न भ्याइनँ । यसमा बडो खेद लागेको छ । 


०००
डाक्टर भम्पा राई भुटानी शरणार्थी स्वदेश फिर्ती अभियानका अभिभावक । लाखौँ भुटानी शरणार्थीहरू र दमकआसपासका गरिब, असहाय, मजदुरहरूका सेवक । एक साथी, एक डाक्टर, सच्चा देशप्रेमी, एक चिन्तक र मेरा लागि एक रोलमोडल । तत्कालीन दमक– १३, सेतुमारी रोडमा उहाँ र मेरो निवास थियो । भलै निवास किन किरायाको नहोस् । हाम्रो निवासबीचमा मात्र एक घर थियो । लगभग १० वर्ष हामी सँगसँगै बस्यौँ । प्रायः साँझ–बिहानको समय क्लिनिक जाँदा र फर्किँदा छोटो–मीठो कुराकानी भइरहन्थ्यो । कुनै पनि भेटमा उहाँले भुटान र शरणार्थीहरूका बारेमा चिन्ता र चिन्तन गर्न छाड्नुभएन । दसैँमा विशेष अग्रजको नाताले उहाँलाई भेट्न जान्थेँ । उहाँले दुई–तीनपटक मलाई माटोको टीका लगाइदिनुभएको छ, जुन माटो उहाँको भुटानमा अवस्थित आफ्नो आँगनको थियो । जुन बिम्बलाई मैले चलचित्र ‘देश खोज्दै जाँदा’मा प्रयोग गरेको थिएँ ।


स्वदेश फिर्तीका लागि उहाँले गर्नुभएको संघर्षका गाथा । लाखौँ शरणार्थी आफन्तहरूलाई ३० वर्ष निःशुल्क स्वास्थ्य जाँच गरेको कुरा । इमान्दारिता, नैतिकता र इज्जतका लागि उहाँले लिनुभएको चट्टानी अडानसँग प्रायः सबै परिचित छन् । म ती विषयलाई दोहो¥याउन चाहन्नँ । मात्र उहाँसँगका केही अविस्मरणीय पलहरू छोटकरीमा राख्न चाहन्छु । 


०००
एकपटक मेरी बहिनीलाई हजारौँमा एकजनालाई मात्रै हुने एकप्रकारको रोग लाग्यो । पूर्वका सबै अनुभवी, नामी डाक्टरहरूलाई देखाइयो । उनीहरूले कति गर्दा पनि रोग पत्ता लगाउन सकेनन् । कैयौँ औषधिउपचारले पनि बहिनीको रोग २० को १९ भएन । बहिनी क्रमशः सिथिल हुँदै गइरहेकी थिइन् । अन्तमा डाक्टर राईकहाँ लग्यौँ । उहाँको सल्लाहअनुसार एक अस्पतालमा लग्यौँ । पटक–पटक ठीक नभएको बिरामी देखेर डाक्टरहरू अवाक भएका थिए ।

 

बिरामीसँगै डाक्टर राईलाई देखेर अन्य डाक्टरहरूले झुकेर अभिवादन गरे । डाक्टर राईले ती डाक्टरहरूलाई सबैको सामु भने, ‘यो नानीलाई यो औषधि चलाऊ । केही भए म रिस्क लिन्छु । लेखेर दिनुपर्छ भने लेखेर पनि दिन्छु ।’ उनीहरूले डाक्टर राईको कुरा काट्न सकेनन् र उहाँले भनेको औषधि चलाएँ । बहिनी क्रमशः निको हुँदै गइन् । अहिले बहिनी नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका भएकी छिन् । 


दमकका प्रायः हस्पिटलमा कार्यरत डाक्टरहरू (अपवादबाहेक) आफूलाई  अरूभन्दा खतरा ठान्थे । उनीहरू प्रसंगवश कुरा गर्दै जाँदा डाक्टर राई शरणार्थी भएकाले उहाँको योग्यताको कुनै अर्थ नभएको कुरा गर्थे । एकपटक म त्यहाँको एउटा प्राइभेट अस्पतालमा बिरामी भएर तीन दिनजति एड्मिट भएँ । म बिरामी भएको खबर सुनेर डाक्टर राई अस्पतालमै आइपुग्नुभयो । ड्युटीमा भएका सारा डाक्टर, सञ्चालक समितिका सदस्य, कर्मचारीहरू उहाँलाई  सम्मान जनाउन हस्याङफस्याङ गर्दै आइपुगे । आउनेहरूमध्ये कतिपय उहाँकै कुरा काट्नेहरू पनि थिए । त्यतिखेर लाग्यो क्षमता, बौद्धिकता, निःस्वार्थता र इमान्दारिता आलोचनाभन्दा निकै अग्लो हुँदोरहेछ ।

 
भुटानी शरणार्थीहरूको तीनवटा ठूला शिविर दमक नगरपालिकाको बेलडाँगीमा थियो । अहिले पनि दुईवटा शिविर यथावत् छन् । त्यहीँ जाने मुख्य बाटो भएकाले दमक चोक उत्तरको बाटो बेल्डाँगी रोड भनेर चिनिन्छ । त्यही रोडको पूर्वपट्टि एउटा सामान्य क्लिनिक छ । त्यही क्लिनिकमा दशकौँदेखि डाक्टर राईले लाखौँ भुटानी शरणार्थी र आर्थिक अवस्था नाजुक भएका अति विपन्न नेपालीलाई ३० वर्षदेखि निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका थिए । यतिसम्म कि पैसा नहुनेलाई औषधि पनि निःशुल्क उपलब्ध गराउँथे । त्यही क्लिनिकमा पुरानो कागजको पन्नामा उहाँको भनाइ टाँसिएको थियो, ‘सारा भुटान र भुटानीलाई ओत दिन सक्ने पृथ्वीजत्रो छाती तिमीसँग छ कि छैन ?’ यो भनाइले म नेपाली हुँ, अमेरिकी हुँ, युरोपियन आदि हुँ भन्ने दम्भको अँध्यारोमा बाँचेर अरूलाई मान्छे नमान्ने प्रवृत्तिलाई गिज्याउँदै प्रश्न गरिरहेको जस्तो लाग्थ्यो । 


‘अनि कि भाइ, एकपटक एकजना आमै आउनुभो । मैले कुरैकुरामा सोधेछु, के भो ? आमैले रिसाउँदै भन्नुभो, त्यही के भो भन्ने पत्ता लगाउन त यहाँ आको ? थाहा पाए किन डाक्टरकहाँ आउँथँे । यसो सम्झेँ, कुरा त सही हो ।’ उहाँ कहिलेकाहीँ यसरी पनि ठट्टा गर्नुहुन्थ्यो ।


क्लिनिकमा उपचार गर्न आएका शरणार्थीहरूलाई प्रश्न गर्नुहुन्थ्यो, ‘घर कहाँ हो ?’ कसैले शिविरको ठेगाना र छाप्रा नम्बर बताउँथे । फेरि प्रश्न गर्नुहुन्थ्यो, ‘यो त छाप्रा नम्बर हो, मैले घर सोधेको ।’ अन्तमा उत्तर दिनेले भुटानको ठेगाना बताउँथे । ‘घर र छाप्रा एकै होइन, दिमागमा राख्नू ।’ उहाँ यसरी सम्झाउनुहुन्थ्यो ।

डाक्टर भम्पा राई भुटानी शरणार्थी स्वदेश फिर्ती अभियानका अभिभावक । लाखौँ भुटानी शरणार्थी र दमकआसपासका गरिब, असहाय, मजदुरका सेवक । एक साथी, एक डाक्टर, सच्चा देशप्रेमी, एक चिन्तक र मेरा लागि एक रोलमोडल ।


एकपटक साहित्यकार, कलाकार उपेन्द्र सुब्बाको खुट्टाको अप्रेसन गर्नुपर्ने भयो । हामी उहाँको क्लिनिकमा गयौँ । अप्रेसन गर्नुअघि सिजर हातमा देखाउँदै हामीलाई भन्नुभयो, ‘हुन त जान्नेले यो घाउ बन्चरो, खुकुरी, हँसिया जेले पनि चिर्दा हुन्छ । तर, सबैभन्दा राम्रो कसरी, केले, कुन हतियारले, कम क्षतिमा चिर्न सकिन्छ भनेर लामो खोजपछि यो सिजर निर्माण भएको हो । भोलिका दिनमा यो सिजरभन्दा सजिलो सामग्री पनि आउँछन् । तपाईंहरु पनि साहित्य लेख्नुहुन्छ नि । कलम विभिन्न प्रकारका हुन्छन्, तर आफूलाई सहज लाग्ने कलम प्रयोग गरिन्छ । फेरि पनि कलम त माध्यम मात्र हो, साहित्य होइन । सिजर पनि सामग्री मात्र हो उपचार नै चाहिँ होइन ।’ यसरी बोल्दाबोल्दै उहाँले दुई मिनेटभित्र हाम्रै अगाडि अप्रेसन गरिदिनुभयो । उहाँले उपचारबापतको शुल्क पनि लिनुभएन । 


भुटानी शरणार्थीहरूको तेस्रो देश पुनर्वासको चर्चा चुलिएसँगै उहाँले स्वदेश फिर्तीको आवाज दह्रो गरी उठाउनुभयो । पुनर्वासको विरुद्धमा सम्बन्धित संघ–संस्थालाई प्रश्न उठाउनुभयो । शिविरभित्रै केही अभियन्ता अज्ञात समूहद्वारा दिनदहाडै मारिन थाले । स्थानीय प्रशासनले पनि कुनै नराम्रो घटना नहोस् भनेर डाक्टर राईलाई ‘माहोल ठीक छैन । राति नहिँड्नु होला । गोली चल्न सक्छ’ भन्ने सुझाव दिएछ । प्रशासनको सुझाव उहाँले मान्नुभएन । बरु भन्नुभयो, ‘हिँड्ने राति नै हो । यदि कसैले गोली नै हानिहाल्यो भने पनि अँध्यारोमै गोली मिस हुने चान्स धेरै हुन्छ ।’ 


वेलावेला उहाँ यस्तो पनि भन्नुहुन्थ्यो, ‘ज्ञानको पनि आफ्नो सीमा हुँदोरहेछ । हुन त म आफैँ सर्जन हुँ । मैले लाखौँको अपे्रसन गरेँ । तर, आफ्नै अप्रेसन गर्न नमिल्दोरहेछ । दुनियाँलाई उपचार गरेर निको बनाएँ । तर, आफ्नै श्रीमती, परिवारका मानिसहरूलाई बचाउन सकिनँ । जिन्दगी यस्तै रहेछ भाइ ।’


अमेरिकाबाट नेपाल घुम्न आएका एकजनाले भने, ‘अमेरिका गएपछि जति नै औषधि खाँदा पनि जाति भइनँ । पहिला शिविरमा हुँदा हजुरले दिने गरेको औषधि खाँदाचाहिँ निको भइहाल्थेँ ।’ उनलाई डाक्टर राईले भन्नुभयो, ‘तिम्रो शरीर यहाँको पञ्चतत्वले बनेको हो । त्यसैले यहीँ बनेको औषधिको असर अलिक राम्रोसँग भयो । अर्काको देशले जाबो शरीरको रोग त ठीक पार्दैन भने मनको रोग कसरी ठीक पार्छ ?’


भुटानको दुर्गम गाउँबाँडाबाट तीनजना ड्रुक्पाहरू उहाँको क्लिनिकमा उपचार गर्न आइपुगे । भुटानका अन्य भूभागबाट पनि यसरी नै उहाँलाई खोज्दै आउनेको लर्को लामै लाग्छ । उनीहरू इन्डियाको सिलगुडी, बागडुक्रा, कलकत्ता आदिका अस्पतालमा जान्छु भनेर आउँछन्, तर सुटुक्क डाक्टर राईको क्लिनिकमा उपचार गराएर फर्किन्छन् । ती आएका डु«क्पाहरू हेर्र्दै आर्थिक रूपले कमजोर देखिन्थे । उनीहरूलाई चेक गर्दै उहाँले भन्नुभयो, ‘भाइ यिनीहरू पनि भुटानकै ड्रुक्पा हुन्, तर सीधासाधा । हामी शरणार्थी हुनुमा यिनीहरूको कुनै दोष छैन । दोष त सत्तामा बसेका डु«क्पाहरूको हो । उहिले मैले सेवा दिएको सम्झेर अझै पनि लुकीलुकी यहाँ आउँछन् । उताको सरकारले थाहा पायो भने यिनीहरूलाई पनि बेपत्ता बनाउँछ ।’ उनीहरूलाई सम्झाउँदै भन्नुभयो, ‘तिमीहरूले यता नेपालको सबै कागजपत्र इन्डियातिरै लुकाएर जानु नि । नत्र सरकारले मार्ला !’ डु«क्पाहरूले टाउको झुकाएर हुन्छ भने । त्यसवेला झापामा हडताल भएकाले उनीहरू फर्किन सकेनन् । डाक्टर राईले नै क्लिनिकको म्यानेजरलाई भनी डु«क्पाहरूका लागि खानेबस्ने व्यवस्था मिलाइदिनुभयो । 


एकपटक शिविरका केही सेक्टरमा बिजुलीको लाइन जोडिएको थियो । फुसको छाप्रो, आगलागीको डर देखाउँदै स्थानीय प्रशासन र युएनएचसिआरले बिजुलीको लाइन काटिदिए । यही विषयलाई लिएर दमकमा मिटिङ बस्यो । डाक्टर राईले मिटिङमै भन्नुभयो, ‘हामी शरणार्थीको जीवन त सुँगुर र ब्रोइलर कुखुराको भन्दा पनि तल्लोस्तरको रहेछ नि !’ संस्थाका जिम्मेवार व्यक्तिले सोधे, ‘कसरी ?’ उहाँले भन्नुभयो, ‘जाबो ब्रोइलर कुखुरा र सुँगुरको खोरमा त बिजुली हुन्छ ।’ सम्झाउन आएका व्यक्तिहरू अनुत्तरित भए । 


दमक पूर्व सीतापुरीको कब्रस्तानमा उहाँको बाबाआमाको चिहान थियो । चिहानमा यस्तो भाव लेखिएको थियो, ‘तपाईंहरूको भौतिक शरीर यो बिरानो माटोमा गाडिए पनि तपाईंहरूको आत्मा भने सधैँसधैँ भुटानकै लामीडाँडातिर हुनेछ है ।’ पछि आदिवासी रंगशाला निर्माण गर्ने नाममा राज्यले त्यहाँको कब्रस्तान सबै भत्कायो । हजारौँ अन्य चिहानसँगै उहाँको बाबाआमाको चिहान पनि भत्कियो । यो घटनाबारे उहाँ भन्नुहुन्थ्यो, ‘हामी त देशबाट लखेटिएका मान्छे । चिहान नभत्काऊ भन्न मिलेन । सरकारको निर्णय हो । मन त दुःखेको छ नि । तर, हाम्रो मन दुःखेर के हुन्छ ?’


डाक्टर भम्पा राई जसको सेवा हामीले लिइरह्यौँ र भनिह्यौँ, उनी शरणार्थी हुन् । बाँचुन्जेल हामीले टेक्नका लागि एक पाइला जमिन पनि उहाँलाई दिन सकेनौँ । धन्न मृत्युपर्यन्त चिहान भने दियौँ । सायद हाम्रो जीवित समाजभन्दा चिहानघारी केही सुन्दर होला । किनकि चिहानघारीमा नागरिकता खोजिँदैन ।