• वि.सं २०८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अनिता पन्थी
२०७९ असार ११ शनिबार ०७:४८:००
साहित्य

पर्यावरणको अन्तर्बोध दिलाउने कथा

‘भानुजयन्ती सँगसँगै भालुजयन्ती पनि मनाऔँ, मोतीजयन्ती मात्र होइन, माटोजयन्ती पनि मनाऔँ’

२०७९ असार ११ शनिबार ०७:४८:००
अनिता पन्थी

 

विजय हितान को हुन् ? कहाँ बस्छन् ? के गर्छन् ? त्यो थाहा थिएन । बस्, उनी एउटा लेखक हुन्, सामाजिक सञ्जाल र वेलावेलामा अनलाइनमा प्रकाशित हुने उनका लेखहरू पढेर, त्यसरी नै उनलाई चिन्थेँ । चिन्दै गएँ । उनी पर्यावरणीय साहित्यका अभियन्ता रहेछन्, स्थापक रहेछन् । त्यो कुरा पछि थाहा भयो । 


त्यसपछिका समयमा हितानसँग भर्चुअल भेटघाट चलिरहन्छ । चिनारीसँगै साहित्यका संवाद पनि हुन्छन् । उनको लेखन अभिप्राय मैले थाहा पाउँदै गएँ । उनीसँग ठूलो चिन्ता थियो, पर्यावरण बचाउको । बेलायत सरकारको कर्मचारी भएर, वातावरणविद्को रूपमा कार्यरत उनको अवधारणाले म अत्यन्तै प्रभावित भएँ । 


मानव जगत्माथि प्रतिदिन विपत्ति बढ्दै छ । त्यसबाट जोगिनका लागि अब सजग हुनुपर्ने दिन आएको छ । उता सानै उमेरकी ग्रेटा थुनबर्ग पर्यावरण बचाउ अभियानमा, दिनरात धपेडीमा छिन् । आ–आफ्नो ठाउँबाट हामी पनि जागरुक हुनुपर्ने समय आएको छ । यो धर्ती मानवको मात्र होइन, सम्पूर्ण प्राणी तथा चराचर सबैको साझा वासस्थान हो । अब हामीलाई यो कुरा पनि थाहा हुन आवश्यक छ– पर्यावरण बचाउ अभियानमा अभिप्रेरित हुनु भनेकै मानव अस्तित्वको रक्षामा जुट्नु हो । 


बेलायतदेखि पर्यासाहित्य अभियानको स्वर सुसेल्दै २०७८ को जेठमा उनी मातृभूमि आएका थिए । हो, त्यतिवेला उनीसँग प्रत्यक्ष भेट भएको थियो । त्यो भेटघाट अत्यन्तै अविस्मरणीय रह्यो । अन्त्यमा किताब आदान–प्रदान गर्‍यौँ । ‘ब्लु प्लानेट’ पुस्तक त्यतिखेर उनले मलाई दिएका थिए । पर्यावरणीय चेतनाले लेखिएको यस कृतिमा १५ वटा कथा समाविष्ट रहेछन् ।


‘पृथ्वी तातिसक्यो हामी अझै तातेनौँ’ भन्ने चिन्ता भएका हितान पृथ्वीलाई ठन्डा बनाउने अभियानमा लागेका छन् । धेरैलाई यस अभियानमा उनले प्रेरित गर्दै पनि छन् । सन् २००८ देखि फरक धार र दृष्टिकोणमा उनी लागेका छन् । यतिखेर वातावरण चेतनाले आन्दोलनकै रूप लिएको छ । त्यसअनुरूप उनका साहित्य निर्माण भएका छन् । नेपाली वाङ्मयमा उनलाई त्यो श्रेय प्राप्त भएको छ– नेपालमा वातावरणीय साहित्य भित्र्याउने उनी सम्भवतः प्रथम स्रष्टा हुन् । त्यसपछि संयोजक, अभियन्ता, संस्थापकको जिम्मेवारी पनि उनैसँग देखिन्छ । त्यसो त यो जिम्मेवारी कसैले दिएर लिइने कुरा होइन । आफ्नै अन्तर्बोधले ग्रहण गर्ने हो । उनको तत्परता र कर्मले त्यो कुरा देखाउँछ । बेलायतमा रहेर पर्यावरणीय साहित्यको संरक्षण र संवद्र्धनमा अक्षुण्ण लागेका उनी यस धारका प्रतिनिधि स्रष्टा हुन् ।


पर्यावरणीय साहित्य र समालोचना उत्तरआधुनिकतावादको अनेक अवधारणामध्ये एक हो । एउटा सिद्धान्त हो, एउटा मार्ग हो । वैश्विक चेतना हो । विद्यमान समयको जल्दोबल्दो बहस हो । मानवेतर जगत्को वकालत गर्ने एक किसिमको न्यायालय हो । स्रष्टा त्यसको न्यायाधीश हो । यहाँ हितान त्यही न्यायालयका एक वकिल भनुँजस्तो लाग्छ ।


‘ब्लु प्लानेट’मा प्रविष्ट हुनुअघि म सोच्दै छु, स्रष्टा हितान यतै नेपालको परिवेशमा हुन्थे भने पर्यावरणीय दृष्टिले साहित्य रच्थे–रच्थेनन् होला ? त्यसो त प्रकृतिको निकट रहेर यहाँ साहित्य नरचिएका होइनन् । प्रा.डा. गोविन्दराज भट्टराईको उत्तरआधुनिक विवर्शमा पर्यावरणीय साहित्य र समालोचनाबारेमा उल्लेख्य पृष्ठ छन् । त्यस विषयमा बोल्ने उनी प्रथम समालोचक तथा सिद्धान्तकार हुन् । त्यही ग्रन्थबाट आफू अभिप्रेरित भएको हितान बताउँछन् । 


हितान प्रायः भनिरहन्छन्, ‘अन्य विषयमा कलम चलाउने हजारौँ स्रष्टा छन् । तर वातावरण लेखनमा लाग्नेहरू औँलामा गन्न पनि नपुग्ने छन् । वातावरणीय समस्या विश्वव्यापी छ । जलवायु परिवर्तनको नकारात्मक असरले मानवीय अस्तित्वलाई खतरामा पु¥याएको छ । वातावरणीय समस्या अरू कसैले नभई हाम्रै मानवीय क्रियाकलापले उब्जिएको हुँदा यसै विषयमा लेखेर हाम्रो समाजमा जागरुकता ल्याउनु, मैले आफ्नो दायित्व सम्झेको छु ।’ 


प्रकृतिको दोहन गरेर लाभ–प्रतिलाभमा भुलेका हामीलाई पर्यावरण खलबलिनुमा थोरै पनि चिन्ता छैन, चासो छैन । गरिबी र अज्ञानताको पहिलो र ठूलो असर प्रकृतिमै परेको छ । त्यस्तै, अर्को ठाउँमा हितानले भनेका छन्,‘भानुजयन्ती सँगसँगै भालुजयन्ती पनि मनाऔँ । मोतीजयन्ती मात्र होइन, माटोजयन्तीको महत्व पनि त्यत्तिकै छ । अब त पृथ्वीनारायण जयन्ती मात्रै कति, पृथ्वीग्रहको जयन्ती पनि मनाऔँ । भुखको मात्रै कति अब रूखको पनि कथा लेखौँ ।’

सन् २००८ देखि फरक धार र दृष्टिकोणमा हितान लागेका छन् । यतिखेर वातावरण चेतनाले आन्दोलनकै रूप लिएको छ । त्यसअनुरूप उनका साहित्य निर्माणभएका छन् ।


प्रकृतिका कुरा गर्ने लेखक उच्च संवेदनशील हुन्छन् । हितान त्यस्तै संवेदनशील छन् । प्रकृतिले भोग्नुपरेको कठोरता र अवसाद उनलाई आफ्नै भोगाइ लागेको छ । उद्वेलित छन्, विचलित छन् । वातावरणको दूर्बोध्य कष्ट, मौनताभित्रको अनन्त पीडाबोध गर्न उनी समर्थ छन् । पर्यावरण उद्धारको आह्वान गर्दै अर्को ठाउँमा फेरि भन्छन्,‘निरंकुश शासनका विरुद्धमा कलम उठाइयो, अब जलवायु परिवर्तनका विरुद्धमा कलम उठाउन जरुरी छ । छङछङ गर्ने झरना र चाँदीझैँ टल्कने क्या राम्रो हिमाल भनेर गीत लेखियो । अब सुक्दै गरेको झरना, पग्लिँदै गरेको हिमाल, लोपोन्मुख हिमचितुवा, वासस्थान गुमाउँदै गरेको भालु, अन्टार्कटिकाको पेङ्गुइनको पनि गीत लेख्न जरुरी छ ।’


‘ब्लु प्लानेट’भित्र प्रकृतिलाई नायकत्व दिइएका हितानका कथा नौला छन् । वैश्विक चेतका छन् । अझ भनौँ युगचेतका छन् । हुन त नेपाली साहित्यमा प्रकृतिलाई प्रधानता दिएर अघिका दिनमा कृति न रचिएका होइनन् । जस्तो कि लेखनाथ पौडेलको ऋतुविचार, तरुणतपसीकै कुरा गरौँ न । मुकुन्द शरणको प्रकृति पोखरा, उता मोहन कोइरालाको सिमसारको राजदूत छ । अझै प्रागैतिहासको कुरा गर्ने हो भने, कालिदासको मेघदूत छ नि । त्यस्तै, अरू धेरै स्रष्टा छन्, कृति छन् । तथापि ती कृतिहरू स्वच्छन्दतावादको नजिक छन् । प्रकृतिको निर्मलता र सौन्दर्यको वर्णनमा सीमित छन् । त्यस्ता कृतिलाई पर्यावरणीय सिद्धान्तले मूल्यांकन गर्न सकिँदैन । ती अर्कै फाँटका कुरा हुन् । 


पर्यावरण खजमजिएको, दुर्घटित पृष्ठभूमिमा कथाका नायक खतरनाक स्थितिमा छन् । हितानका कथा समस्यामूलक छन् । संकटपूर्ण छन् । कतिको जीवनै समाप्त भएको छ । कति पारिवारिक सम्बन्ध बिग्रिएका छन् । मानवइतरका प्राणीलाई कथाको नायक बनाइएको छ । पशुप्राणीको जगत् प्रिय लाग्छ । तिनीहरूका कुरा एकदम मन पर्छ । त्यसैले पनि होला हितानका कथाले मलाई ज्यादा छोएका । बघिनीको शोकसभा, गैँडालाई चार वर्ष, पर्यावरण सहिद, वार्षिकोत्सवमा रेड पन्डा ... शीर्षक नै कस्ता नवीन लाग्छन् । आकर्षक छन्, कुतुहलता उत्पन्न गर्नेछन् । 


विपत्ति, अवसाद र कष्टपूर्ण स्थिति सिर्जना गरेर, पात्रलाई त्यसको भोक्ता बनाइएको छ । पर्यावरणप्रति सजग नभएमा यस्तै जीवन भोग्नुपर्छ भन्ने अभिप्रायले कथा रचिएका छन् । त्यसो त कति घटना हाम्रै दैनन्दिनका यथार्थ छन् । ‘ब्लु प्लानेट’का कति सन्दर्भलाई डायास्पोरिक दृष्टिले पनि विश्लेषण गर्न सकिन्छ । किन्तु पर्यावरणीय चेत प्रबल हुँदा अन्य दृष्टिकोण ओझेलमा परेका छन् । 


पर्यावरणसम्बन्धी कुरा सबैले बुझून्, ग्रहण गरून्, वातावरणलाई प्रेम गर्न सिकून् भन्ने उद्देश्य मात्र राख्दा त्यो साहित्य शुष्क निरस हुन सक्छ । सोझै पर्यावरण बचाउ अभियानका सन्देश दिएर साहित्य रचना गर्दा पाठकीय रुचि कम्ती हुन्छ भन्ने मनोविज्ञान बुझेका हितानले कथामा पारिवारिक तथा प्रेमका विषयलाई किसमिस बनाएर त्यसमा मुख्य थिमलाई खिपेका छन् ।


‘ब्लु प्लानेट’ पाठक आफैँले रसस्वादन गरून् । अन्त्यमा लेखकीय मनोविज्ञान बुझ्न, अलिकति उनकै वाणी राख्नु ठीक लाग्यो । कथाकारका कथनमा उनी भन्छन्, ‘हाम्रा सबै लेखन मानवकेन्द्रित हुन जाँदा पर्यावरण अन्याय, अत्याचारमा परेको कसैलाई थाहै भएन । वन्यजन्तुका हकअधिकार खोसिएको कसैलाई पत्तै भएन । हामीले प्रकृतिमाथि एकाधिकार लादेर अतिक्रमण गरेको कसैलाई साँचो रहेन । वास्तवमा प्रकृतिको पारिस्थितिक सन्तुलन नै गुम्दै गएको अवस्था छ आज । सिंगोे पृथ्वी नै जीवमण्डलीय क्षयबाट गुज्रिरहेको छ । यी सबैको परिणाम मानवीय अस्तित्व नै खतरामा पर्नु हो ।’