• वि.सं २०८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
विवेक ओझा
२०७९ असार ११ शनिबार ०८:०४:००
सम्झना

माफी देऊ दुखिया बज्यै

२०७९ असार ११ शनिबार ०८:०४:००
विवेक ओझा

मलाई एक अतिरिक्त कुरा थाहा भयो, ‘दाँतीबुढी बोक्सी हो !’


६–७ वर्षको फुच्चेलाई ‘कसैले’ सुनायो, ‘त्यै बड्डीले आफ्नु पोइ खाई । तीन–तीन तन्नेरी छोरा गायब पारी ।’


त्यसपछि मेरो बालमस्तिष्कमा बहुरुपी कल्पना घुसे । म लोककथाको पारखी नहुँदो हुँ अनेक कल्पना ब्युँतिने थिएनन् ।

लोककथाको थाक्रो चढेर म अनेक चित्र कल्पिन थालेँ,‘उसका नङ लामा र दाँत तीखा होलान् । उसँग जादुइ तागत होला । ऊ पक्कै ‘छु’ गरेर बिलाउन सक्छे । बूढी उड्न सक्छे, लठ्याउन सक्छे, पेट चिरेर आन्द्रा निकाल्न सक्छे, अनि...अनि...!’


दाँतीबुढीलाई मैले ध्यानमा राखेको थिइनँ, तर डरका निम्ति यत्ति काफी थियो, ‘कैलाश–खोला जान्या बाटैमा दाँतीको घर पर्छ ।’


डरका बाबजुद म कैलाश खोला जाने अवसर कुरिरहेको हुन्थेँ । कैलाश खोलाको रौनक नै खास थियो ।


एक दिन म बज्यैको गुन्युको तालसँगै साउती मार्दै घट्ट गएँ । बज्यैका पाउमा चप्पल थिएनन्, कहिल्यै भएनन् । धुलाम्य चिराचिरा परेका बज्यैका पाउहरूको सम्झना धुमिलै सही आइरहन्छ । सायद मेरा कलिला पाउसमेत नांगा थिए । त्यो पहाड थियो । त्यहाँ दुःखका पहाड मान्छेको वरिपरि फेरो लगाइरहन्थे । मैले बाटोमा बज्यैलाई सोधेँ, ‘बज्यै, दाँतीबुढीको घर काँइथी छ ?’ 


बज्यैलाई गहुँको ओजनले थिचेको थियो । थिचिएकै स्वरमा बज्यैले भनिन्, ‘पख् लाटा, मु देखाइदिउँला ।’
केही मिनेट नागबेली बाटो झरेपछि बज्यै ओरालीमा अडिइन् । एक हातले गहुँको भारी थामेर दायाँ हातको चोर औँला सोझ्याइन्, ‘यै हो तुइले भन्याको घर ।’


बज्यै एकछिन त्यहीँ अडिरहिन् मानौँ उनलाई दाँतीसँग भेट्नु छ । सन्चो–बिसन्चो सोध्नु छ । के बज्यैलाई थाहा छैन दाँती बोक्सी हो ? 


बज्यैको गुन्युको धार समाएर मैले पनि दाँतीको घर चिहाएको थिएँ । निकै सुनसान थियो घर । घरले कसैलाई पर्खिरहेजस्तो देखिन्थ्यो । घरका आँखा थिएनन्, तर त्यो हेर्दैमा रुन मात्रै बाँकी उदाषी प्रेमी प्रतीत हुन्थ्यो । गोठ आकारको घरका ढोका खुला थिए । आँगन रित्तो र सुक्खा थियो । ठाउँ–ठाउँमा माटोले लिपिएको भित्ता उप्किएको थियो । सबै कुराको समजोडमा घर निकै मायावी देखिन्थ्यो ।


त्यो समय बज्यैबाट मैले अर्कै कुरा सुनेँ । उनले दाँतीलाई लिएर चुकचुक गरेकी थिइन्,‘पोइ हरायो त्यैमाथि तीनतीन छोरा बम्बैमा हराया, कठै बड्डीको भाग्य ।’ ...मलाई लागेको थियो बज्यैलाई दाँतीको यथार्थ थाहा छैन, थाहा छैन कि दाँती बोक्सी हो । उसलाई टुनामुना आउँछ ।


घर–आँगनमा कोही नदेखिएपछि हामी ओरालो झर्‍यौँ । टेडो ओरालो बाटो झरेसँगै सानो आँपबारी आउँथ्यो । त्यो पाखोभरि आँपका कलिला पातको बास्ना फैलिरहन्थ्यो । आँपबारीभन्दा तलपट्टि बाक्लो सालघारी पथ्र्यो अनि रातीमाटे जमिन आउँथ्यो । त्यसपछि मात्रै भेटिन्थ्यो कैलाश खोलाको किनार ।


कैलाश खोलाको किनारमा टेक्नेबित्तिकै मलाई आनन्द लाग्यो । घट्टनजिकै पुग्दा खोलाको सुस्केरासँगै घट्टालु महिला घट्टको पत्थरलाई देउडाका टुकडा सुनाइरहेका थिए । परदेश गएको पियारालाई सम्झिरहेका थिए–


लैजा कैलाश मेरा आँसु, पुगाइदे बम्मईका छाल ।
त्याइँ छन् मेरा बाज प्यारा, सुनाई दियै मेरा हाल ।।
  ...अनि उँदो जुमाल्याको खालमा केटाहरू फाल हानिरहेका थिए– झ्वाम्म ! 


०००
म पौडिन सक्दिनथेँ । घट्टका लागि भारी उचाल्न सक्दिनथेँ । तर, मलाई सुसेल्दै गरेको कैलाश, त्यहाँ फनफनिरहने घट्टघट्टको फेदबाट हतासिँदै निस्कने दूधजस्तै देखिने पानी र पौडी खेल्न बनाएका नीला खाल, खालमा तैरिने पौडीवाज अद्भुत लाग्थे । वल्लोपल्लो डाँडा गरिरहेका चराचुरुंगीले समेत पर्यावरणमा मधुरता थपिरहन्थे । ओहो, त्यहाँको आनन्द अलौकिक थियो । म त्यो पर्यावरणको केवल दर्शक थिएँ । थप कुरा मलाई पौडी खेल्ने ठूलो रहर थियो । म मेरो पौडी खेल्ने दिन कुरिरहेको थिएँ जसरी कुनै बचेरो उड्नलाई पखेँटा कुरिरहेको हुन्छ, ठीक त्यसैगरी ।

अनायासै कानमा पुरानो देउडाको टुकडा बज्यो–
लैजा कैलाश मेरा आँसु, पुगाइदे बम्मईका छाल
त्याई छन् मेरा बाज प्यारा, सुनाई दियै मेरा हाल ।।


त्यहाँका पौडीबाजमा मेरो दाइ सामेल हुन्थ्यो । त्यो चीसो पानीमा ऊ खुब आनन्दसँग नुहाउँथ्यो । अग्लो चट्टाने ढिस्कोबाट हावामा हातखुट्टा छोड्दै कैलाशको निर्मल पानीमा खस्थ्यो, झ्वाम्म ! मानौँ किनारछेउको अग्लो रूखबाट कुनै मोहक फल छप्ल्यांग खस्छ तालमा । म सधैँ ऊजत्रै हुनुको प्रतीक्षामा थिएँ, त्यो नीलो खालमा मलाई पनि हामफाल्नु थियो ।


कैलाश–खोला पुग्नु मेरा लागि एक संघर्ष थियो । एक्लै बाटो तय गर्न मलाई सम्भव थिएन । जब दाइ, बुबा र आमाको आँखा छलेर जान खोज्थ्यो, म उसको पुच्छर बनिहाल्थेँ । मलाई ऊ घरतर्फ फर्काउन खोज्थ्यो, ‘तू नआ । तूलाईँ गोट्टा(मिठाइँ) ल्याइदिउँला ।’


  – मूलाई गोट्टा चाईदैन ।
घुर्कि लगाएर बाटोमै रोकिन्थ्यो – मू
पन जादैँन ।


ऊ फर्किए म पनि फर्किने निश्चित थियो । म चाहन्थेँ नफर्कियोस् । यद्यपि, म पनि घुर्कि लगाउँथेँ, ‘हुन्छ फर्किउँ ।’ पौडी कल्पेर हिँडेका पौडीबाज सितिमिति फर्किँदैन । उसको त्यही कमजोरी मेरो कैलाश खोलाको पुल बनेको थियो । बनिरह्यो । 


यस्तै, सिलसिलामय समयको एक दिन, दाइका साथीहरूले मलाई उकासे, ‘आइजा । केइ भया हामी छौँ । तू बग्दैनै ।’
ओठको किनारसम्म पुगेको सिँगान नाकैभित्र लिएँ, स्वाँक्क । जोशका साथ उठेँ । कैलाशमा हामफाल्ने मनसायले भेस्ट खोलेँ । दाइ सामुन्ने उभियो । उसको शरीरबाट पानी चुहिँदै थियो । पानीले भिजेका परेला पुछ्दै भन्यो, ‘डम्म गैरो छ । मूलाई त डुबाउँछ ।’


दाइको आँखामा म कैलाशमा हामफालिहाल्छु कि भन्ने डर देखिन्थ्यो । त्यो डर नै आखिर माया रहेछ । त्यो वेला के थाहा, ‘डर’ माया–प्रेमको गर्भबाट जन्मिने जिनिस हो । त्यो वेला मलाई के थाहा माया र प्रेमविना डरको जन्म हुनै सक्तैन । मैले त दाइलाई विरोधी देखेँ । गलाका नसा फुलाउँदै सुनाएँ, ‘आफू  बाउत खेल्न्या । मुलाई नदिन्याँ ?’

दुई दशकभन्दा पहिले बज्यै उभिएकै किनारमा उभिएर दाँतीबुढीको घरतर्फ हेरेँ । त्यहाँ घर त के घरको अवशेषसमेत थिएन । एकैछिन त्यहीँ अडिरहेँ । बालापनको आफ्नै भ्रमलाई लिएर उनीसँग मनमनै माफी मागेँ ।


उसले अनौठो कथा सुनायो, ‘नाना केटाकेटीलाई मसान च्याप्छ । ह्याँ दाँती बुढी पन बाउँत खेल्दी छ ।’


उसो त ऊ पनि १०–११ को थियो । तर, बच्चाहरूको चार वर्षको अन्तर निकै ठूलो हुन्छ । म ऊजत्रो नहुनुमा कताकता पछुताएको थिएँ ।


बल्लतल्ल खुट्टा टेकेको मेरो आँट उसै पनि फुस्रो थियो । नुहाउन तम्सिरहँदासमेत म द्विविधामा नै थिएँ । भित्रभित्रै पानीप्रतिको त्रास थियो । अझ दाइको अवरोध र दाँतीबुढीको किस्साले मलाई निचोर्‍यो । र, म निख्रिएँ ।


यद्यपि, दाइलाई धम्क्याएँ, ‘आज बुबालाई भन्दिन्या हुँ ।’


 ‘भन्दे ।’


भन्न त भनिनँ । तर, मनमनै एक प्रण गरेँ, ‘म पन तँजत्रो भयापछि ह्याँ बाउँत हाल्न्या हुँ । हेरिराख्यै ।’


त्यो वर्षको छेउछाउ हामी तराई झर्‍यौँ । म दाइजत्रो नहुँदै जन्मघर र कैलाशखोलाबाट टाढिएँ । रहर कैलाश खोलाको बगरमा कतै टुहुरो भएर छुट्यो । अनि, मैले गरेको प्रण हृदयको कुनामा कतै लुप्त भएको थियो ।


थाहा थिएन त्यो लुप्त भएको रहरको आयु यति लामो रहला । सयौँ रहर हराइसक्दा, कैयौँ रहर कुहिएर अवशेषशून्य रहँदा, त्यो रहर जसलाई मैले बिर्सिसकेको थिएँ, हृदयमा ताजा रहेछ । त्यो टुहुरो रहर ज्युँदै रहेको थाहा पाउन मलाई दुई दशकभन्दा लामो समय कुर्नुपर्‍यो ।


जब बाईस–तेईस वर्षपछि म जन्मभूमी पुगेँ, सुरुमा त म कैलाश–खोलातिरै बरालिएँ । त्यहाँका घट्टहरू हेरेँ, उसैगरी दुधेपानी फ्याँकिरहेका थिए, चराहरू उसैगरी वल्लोपल्लो पहाड फन्को लगाउँदै थिए । उस्तै नीलो थियो जुमाल्याको खाल । त्यहाँ ससाना बालक पौडी खेल्दै थिए । पौडिन नसक्ने बच्चाहरू पौडिबाजका हर्कत रहरलाग्दो गरी हेरिरहेका थिए । जुन ढिकबाट दाइ हामफाल्थ्यो त्यो ढिकबाट केही बच्चा लहरै हामफालिरहेका थिए । अलि परको गोरेटोमा केही घट्टालुहरू टाउकोमा अन्न बोकेर घट्टतर्फ गइरहेका थिए । अनायासै कानमा पुरानो देउडाको टुकडा बज्यो–


लैजा कैलाश मेरा आँसु, पुगाइदे बम्मईका छाल
त्याइँ छन् मेरा बाज प्यारा, सुनाई दियै मेरा हाल ।।


मेरो खुइलिएको स्मृतिमा रङ भरिँदै गयो बिस्तारै । म अतीतको यादमा हराएँ । एकैछिन त लाग्यो स्मृतिको त्यो पुरानो च्याम्बरमा नै कैद भैजाऔँ । ऋषिमुनिले हजारौँ वर्ष तप गरेजस्तै लामो समय स्मृतिको मुग्धता जप्दै कैलाशको किनारमा जमिदिऊँ ।


मलाई खासमा जुमाल्याको खालमा पौडी खेल्ने योजना थियो । योपटक म दाइको पुच्छर थिइनँ । अब मलाई दाँतीको समेत डर थिएन ।लामो समय केटाकेटीले पौडिएको हेरिरहेँ । स्मृतिको भुलभुलैमा थुनिने प्रयास गरेँ । रहरलाग्दो गरी हेरिरहेका बालकमा आफ्नै अनुहार देखेँ । हाँ । उनीहरू पानीमा हाँस्दै अनेक खेल खेलिरहेका देखेर मेरा ओठ मुस्कुराइरहे । म ती पौडिरहेका केटाकेटीमा आफ्नो दाइको चित्र देखिरहेको थिएँ । अनि नुहाउन नसकेर टोलाइरहेका बालकमा आफ्नै रहर देखिरहेको थिएँ । विचित्रमय ढंगले मुग्ध भएँ । भइरहेँ ।


म नुहाउन सक्थेँ, तर खोलो र खाल मेरा लागि साना भइसकेका थिए । म ढिकबाट छप्ल्यांग हामफाल्न सक्थेँ, तर त्यो ढिक मेरो स्मृतिमा भन्दा निकै होचो भइसकेको थियो । सिर्फ नुहाउनका लागि नुहाइन । प्रियतम स्मृतिलाई त्यति सस्तो तरिकाले बिथोल्न मन लागेन, त्यसको मुग्धतामा ह्रास आउन दिइनँ । बरु आफ्नो प्रणलाई उस्तै थाती राखेँ । राखिरहेँ । कुनै चिज त्यस्तो अप्राप्य हुनेरहेछ जो गुमिसकेपछि फेरि कहिल्यै पाउन सकिन्न । कैलाश–खोलामा पौडिनु आनन्द त्यस्तै गुमेको समयरेखामा पथ्र्यो, जो कहिल्यै भेटिनेछैन ।


नपौडिएरै पुख्र्यौली घरतर्फ फर्किएँ । सालघारी पातलो भइसकेको थियो । पाखोमा पहिलेजस्ता आपका बोटहरू थिएनन् । सुँघ्न खोजेँ पाखोमा बगिरहने आँपका कलिला–पातको वासना । अहँ बास्नाको कुनै नामनिसाना थिएन । अलि माथि टेडो उकालो बाटो आएपछि दाँतीबुढीलाई सम्झिएँ । ...सम्झिएँ कहिलेकसो घरभित्रैबाट निस्किएको उसको आवाज । उनको अंगविन्याससमेत सम्झिएँ जुन टाढाबाट देखेको थिएँ, डरैडरले । अनि आफ्नो डरको आयातन याद आयो । खिस्स हासेँ, तर मनको गहिराइमा उदासी छायो । ओहो ! एक एक्ली बुढीलाई कसैले बोक्सीको उपमा दिएको थियो । मैले उनलाई बोक्सी ठानेको थिएँ ।


दुई दशकभन्दा पहिले बज्यै उभिएकै किनारमा उभिएर दाँतीबुढीको घरतर्फ हेरेँ । त्यहाँ घर त के घरको अवशेषसमेत थिएन । एकैछिन त्यहीँ अडिरहेँ । बालापनको आफ्नै भ्रमलाई लिएर उनीसँग मनमनै माफी मागेँ । मलाई थाहा थियो दाँतीबुढीको दुनियाँमा भौतिक अस्तित्व छैन, तर मैले कामना गरेँ, ‘यदि उनको आत्मा पाखोमा घुमिरहन्छ वा जुमाल्यामा पौडी खेलिरहन्छ भने मेरो आत्मग्लानि सुनोस् । पाखोको हावाले उनी बस्ने स्वर्ग छुन्छ भन्ने सन्देश पुर्‍याओस्, म मेरो अज्ञानतालाई लिएर माफी चाहन्छु ।’ कहिलेकसो माफी माग्नेले माफकर्तासमेत नभेट्टाउँदोरहेछ ।


दाँतीबुढीबारे मनोवाद खेलाउँदै हिडेँ । उनी एक दुखिया बुढी थिइन्, जसले लोग्नेसहित तीन जवान छोरा गुमाइन् । उनैलाई बोक्सी भनेको सुनेका थिए मेरा कानले ।


उनी एक अनुहार थिइन् त्यो ठाउँको । जसका सपना तल कैलाशमा बगिसकेका थिए । जसको हृदय त्यहाँका घट्टमा पिँधिरहन्थ्यो किस्ता–किस्तामा । जसका खुसीहरू बगेको पानीजस्तै नफर्किने रीत बने । उनी एक्लै फतफताइरहेको आवाज उनको तड्पन हुँदो हो । एक्लोपनको सुस्साहट हुँदो हो ।


मैले कति सजिलै विश्वास गरेँ, दाँतीले लोग्ने र छोराहरू खाई । बच्चालाई थाहा पनि हुँदैन, राक्षस हुन्छ कि हुन्न । यो स्मृति लेखेर आफैँले पढिरहँदा लाग्दै छ उनी मसँगसँगै पढिरहेकी छिन् र, मलाई माफी दिइरहेकी छिन् ।